थारू सुमदायमा आज अनत ब्रत मनाइँदै

थारू सुमदायमा आज अनत ब्रत मनाइँदै

९५१ दिन अगाडि

|

११ असोज २०८०

बालेनजी, ई: लाई ढल्न नदिनुस्

बालेनजी, ई: लाई ढल्न नदिनुस्

९५२ दिन अगाडि

|

१० असोज २०८०

नयनराज पाण्डे बिहानै सभागृह पुगें । ई: लाई भेटें । सबैभन्दा पहिला उनको खुट्टामै दृष्टि पुग्यो । उनी फुटपाथमा व्यापार गर्नेहरूलाई रोजगारबाट बन्चित नगरी तिनीहरूको अभिलेख राखी उचित ठाउँमा व्यापार गर्न दिनुपर्छ भनेर कति दिनदेखि उभिएको उभियै छन् । उनी आफ्ना कुराहरू महानगरका मेयरलाई बुझाउन चाहिरहेका छन् । हिजो अन्तिम समयमा सहमति भाँडिएको रहेछ । मैले करिब तीन दशकअघि 'महानगर' भन्ने कथा लेखेको थिएँ । निर्देशक आशान्त शर्माले केही वर्षअघि नाट्य रूपान्तर गरेर मण्डला थिएटरमा मन्चन पनि गर्नु भएको थियो । महानगरमा आफ्नै ज्यान बचाउनेलाई पनि मानिसले बिर्सँदोरहेछ । महानगरको यही स्वार्थी छविका बारेमा त्यो कथा लेखेको थिएँ । ई: को यो अभियानले महानगरको त्यही स्वभाव सम्झाइदियो । बालेनको अझै विश्वास लाग्छ । तर, यतिबेला त उनले खुसी भएर ई: लाई अंकमाल गर्नुपर्ने थियो र भन्नु पर्ने थियो-'ओहो, तपाईंले त मेरै मनका कुरा बोलिदिनु भयो । फुटपाथको उचित ब्यवस्थापन म पनि गर्न चाहन्छु । कसैको रोजगार खोस्नु मेरो पनि नियत होइन । आउनुस्, यो कुरामा तपाईं र म मिलेर काम गरौं ।' म अझै आशावादी छु । बालेनप्रतिको विश्वास म यति चाँडै गुमाउन चाहन्न । भद्रगोल फुटपाथ त मलाई पनि मन पर्दैन । तर, बालेनहरूसित आइडिया छ नि । अलिकति दिमाग चलाउने हो भने फुटपाथ ब्यवसायीहरूलाई केही स्थान र समय निर्धारित गरेर भद्रगोल फुटपाथलाई कलात्मक पनि बनाउन सकिन्छ होला नि ! बालेनको ब्यवस्थापन खुबी यसबाट त अझै प्रखर देखिएला नि ! ०० निम्नवर्ग/निमुखाप्रति राज्य निर्मम भैरहेको अहिलेको समयमा बालेन त्यो वर्गका लागि मसिहा बनून् । यसो सुन्दा यो कुरा अतिरन्जित लाग्ला । कतिले 'फिल्मी' पनि भन्नु होला । तर, यो सम्भव छ । नत्र, महानगरमा एकजना पनि भोकै सुत्छ भने, त्यस्तो महानगर फेरि पनि कुरूप नै हो । ०० बालेनजी, ई:का खुट्टाहरू सुन्निएका छन् । उनलाई ढल्न नदिनुस् । उनी ढले धेरैलाई फेरि उठ्न गाह्रो हुनेछ । त्यसपछि शहरमा उठ्ने छ- तानाशाह !

आज बणकी अतवार ब्रत

आज बणकी अतवार ब्रत

९५५ दिन अगाडि

|

७ असोज २०८०

मणिराज महतो विभिन्न जिल्ला, क्षेत्रमा अटवारी भदौ ३१ गते मनाइए पनि नवलपुरमा बणकी अतवार असोज-७ गते परेको छ।थारु समुदायको एउटा प्रमुख चाड मध्ये बणकी अतवार ब्रत पनि एक हो । यसलाई पश्चिमा थारुहरुले अटवारी भनेर मनाउँछन् । नवलपुरको थारु समुदायले कजरी तीज पछिको पहिलो आइतबारलाई बणकी अतवार ब्रत मनाउने गर्दछन्। बणकी अतवार पर्व खास गरी थारु पुरुषले व्रत बस्ने पर्व हो तर महिलाहरु पनि ब्रत बस्ने गर्दछन् । बिशेषतः बाँझो महिलाहरुको लागि ब्रत फलदायक मानिन्छ भने शरीरमा घाउ, चोटपटक र छालासम्बन्धि रोग नलागोस् भनेर ब्रत लिने गरेको पाइन्छ। बणकी अतवार पर्व परापूर्वकालदेखि थारु समुदायले मनाउँदै आएको भएपनि त्यसमा कुन देवताको पूजा हुन्छ भन्ने बारेको मतमा एकरुपता देखिदैन । कसैले पाण्डवका पाँच भाइमध्येको एक भाई भीमको पूजा हुने विश्वास गर्छन् । कसैले सो पर्वमा अग्नी देवताको पूजा हुने तर्क गर्छन् । त्यसै गरी कसैले सूर्य भगवानको पूजा हुने विश्वास गर्छन्। भीमले थारु चेलीलाई एक राक्षसबाट जोगाएकाले भीमका लागि थारु समुदायले बणकी अतवारमा ब्रत बस्ने गरेको विश्वास एउटा छ । अर्को, अग्नी देवताले थारु समुदायको भात भन्सामा सहयोग गरेको, अन्नपात र कृषि बालीका लागि सहयोग गरेको बुझाई छ । त्यस्तै, अर्कोतिर सूर्य देवताले थारु समुदायका कृषक तथा चेलीबेटीहरुको काममा सहयोग गरेको, सूर्यको प्रकाशले अन्नबाली सप्रेको, दैनिक कामकाजमा सहयोग पुगेको तर्क छ। ब्रत बिधि: बणकी अतवार पर्वका लागि शनिबारको रात कुखुरा न बास्दै मध्येरातमा डटकट खाने गरिन्छ । घरका महिला सदस्यले राती नै भातभन्सा तयार गरी मीठा परिकारले डटकट खाने व्यवस्था गर्छन् । आइतबारका दिन व्रत बस्नुपर्ने भएकाले राती नै व्रतालुहरु पेटभरी मीठा परिकारसहित खाना खान्छन्। आइतबार विहानदेखि बणकी अतवारमा व्रत बसेकाहरुका लागि तेलमा नपकाइएको रोटी, फलफूल, सर्वत (पेय पदार्थ), काठ दाउरा, सल्लाको धुप, आदि तयारी गरिन्छ र बेलुकी पखसम्म सबै परिकार ब्रतालु आफैले तयार गरिसकेपछि नजिकको नदी, तलाउमा गएर स्नान गर्ने गर्छन् । सूर्यास्त नहुदै ब्रतालुले आफू बस्ने ठाउँलाई गाईको गोबर पानीले लिपपोत गरेर चोखो बनाउँछन् र सोही ठाउँमा काठको चिर्पट्, पिर्का राखेर बसेर फरहर गर्छन्। व्रतालुका लागि खाने परिकार र अन्य तयारी गर्ने ब्यक्ति पनि व्रत बसेका हुन्छन् । आसन अगाडि राखिएको खानेकुरालाई एक भाग छुट्याई अग्नी देवताको पूजापाठपछि मात्र व्रतालुले बनेको रोटी, फलफूल, सर्वत खान्छन् । त्यो दिन नून र तेल खान वर्जित गरिएको हुन्छ । पूजापाठ गरी परिकार खाँदा सूर्य अस्ताउनु अघि नै सबै काम सकिसक्नु पर्ने हुन्छ । सूर्यको अस्त पछि गाई गोरु गोठमा प्रवेश भएपछि खानेकुरामा फेरि प्रतिवन्ध लाग्छ । अर्थात् व्रतालुले खान पाउँदैनन्। पश्चिम तराईमा चेलीबेटीलाई अग्रासन दिने चलन भए पनि नवलपुरमा भने त्यो चलनलाई पहुरा सनेस भनिन्छ। बणकी अतवार ब्रत फल: बणकी अतवार पर्व नितान्त थारु समुदायले मनाउने पर्व हो । बिभिन्न कारणले दुःख पाइरहेका ब्यक्तिहरुले यो ब्रत लिए सबै दुःख कष्ट नाश हुने, घाउ चोटपटक र छालासम्बन्धि रोगबाट मुक्त हुने, धन–यश, मनोकांक्षा पुरा हुने, निःसन्तान महिलाले सन्तान प्राप्त गर्ने जनविश्वास रहँदै आएको छ ।  यसै गरी, देउखुरी उपत्यकाका केही गाउँमा समेत आज अटवारी मनाउन थालिएको छ । थारु कल्याणकारिणी सभा, देउखुरीले असोज ७ र ८ गते अटवारीको अवसरमा कार्यालय बन्द रहने सूचना जारी गरेको छ । कावासोती

थारूलगायत भूमिपुत्रहरु सर्वहाराकरणमा कहिलेसम्म ?

थारूलगायत भूमिपुत्रहरु सर्वहाराकरणमा कहिलेसम्म ?

९८१ दिन अगाडि

|

१२ भदौ २०८०

                                                                                                                                            तस्विरः लखन दहित पश्चिम नेपालको यात्रा पश्चात मलाई थारुको परिभाषा स्पष्ट भयो । उतातिर एउटा कहावत सुनिन्थ्यो, थारु गोरु भित्ता फोरु । यसो भन्नुको पछाडि कारण के भनेर खोजी गर्न सकिन्छ ।  मेरो अनुमानमा पहिलो मत त थारु मान्छे त हो तर गोरु जस्तै भन्ने हो । अर्थात् ज्ञान भएको मान्छे होइन । त्यो हो भने पूर्ववैदिक युगमा थारु जतिको ज्ञानी मान्छे तुलना गरेर अर्को हेरौं न । थारुसंग उही वेला गुर्बाबक् जल्मौती थियो, जसको आधारमा यो सृष्टिको व्याख्या गर्न सक्ने क्षमता राख्थे ।  जबकि आर्यहरु त वेद रचनापश्चात मात्र सृष्टिसम्बन्धि बुझाई ठोस बनाए । उनीहरु तर्कशील पनि भए । उपरोक्त सन्दर्भ उठानको आशय भूमिपुत्र थारुहरु आज सुकुम्बासी बने । महोत्तरीको भंगहा नगरपालिका– ४ थारु टोल बनरा नामले जानिने उक्त गाउँ अवस्थित जग्गा लगायत ४५ विघाको दुई कित्ता हाल सयौं कित्ताकाट भएको छ ।  मनमोहन अधिकारी प्रधानमन्त्री भएको वेला गठन भएको सुकुम्बासी समस्या समाधान आयोगले सो कित्ताकाट गर्यो तर काँग्रेस तथा राप्रपाको संयुक्त सरकारले आयोग पुनर्गठन गर्दा आयोगका महोत्तरी जिल्ला अध्यक्षलगायत प्रशासनले सबै कित्ताहरु रहेको जग्गा वास्तविक सुकुम्बासी कायम भएका स्थानीय थारुलगायत दलितहरुको नाममा दर्ता नगरेर आफन्त, नातागोता तथा अन्जान जग्गाधनी कायम गरे । त्यसको सुइको समेत बनरा थारु टोलका बासिन्दालाई दिएनन् ।  हाल यो समस्या थप जटिल बन्यो । पूर्व वडाध्यक्षले जग्गाधनी पूर्जा प्राप्त व्यक्तिकै भोगचलन रहेको सिफारिश कार्यालयबाट उपलब्ध गराएर विचौलिया दलालहरुलाई खेल्ने ठाउँ दिए । कतिपय कित्ता विक्री भएर अन्य व्यक्तिहरुमा पुगिसकेको छ भने यो तीब्र गतिमा अगाडि बढेको देखिन्छ । यही समस्यालाई लिएर पीडितहरुको डेलिगेसन टोली काठमाण्डौ आइपुगेर ध्यानाकर्षण गराउन चाहेको छ । तर, मिडियाका मित्रहरु आएर छलफल त गर्छन्, त्यसको सत्य तथ्य बाहिर ल्याउन कञ्जुस्याई गर्दै आएक छन् । हुन सक्छ, उनीहरुको लागि यी समाचार बजार प्रबद्र्धन गर्न नसक्ला । समस्याको गहिराई खोजी गर्ने हो भने यो देशका थारूलगायत भूमिपुत्रहरु सर्वहाराकरणमा परेको कारणहरु पक्कै भेट्न सक्छौं । आखिर यो कहिलेसम्म ?

भगवान भरोसे भगवानपुरे किसानहरू

भगवान भरोसे भगवानपुरे किसानहरू

१०२० दिन अगाडि

|

५ साउन २०८०

भुवन चौधरी पहिले पहिले बर्षात्को समयमा लगातार झरी परेपछि खेतीपातीको समस्या हल भै हाल्थ्यो । यसरी धान रोपेको खेतमा चिरा फाटेको देख्न मिल्दैनथ्यो ।  हालको घोराही उपमहानगरपालिका–१३ बाह्रकुने दह, उत्तर बगालेदेखि माथि सिरान भएको सेवार खोला फराकिलो थियो । भगवानपुरे कुलोको बाँध हालको घोराही–१४ झिंगौरा र घोराही–१६ तेरौटे गाउँको बिचमा (अटो भिलेजदेखि उत्तर) थियो । त्यस भन्दा माथि राजपुरे कुलोको बाँध, त्यस भन्दा माथि झिंगौरे कुलोको बाँध, त्यस भन्दा माथि रतनपुरे कुलोको बाँध, त्यस भन्दा माथि घोराही कुलोको बाँध, त्यस भन्दा माथि बाहुनडारे कुलोको बाँध लगायतका थुप्रै कुलाका बाँधहरु थिए ।  माथि उल्लेखित सबै कुलोहरुमा सेवार खोलाको पानी पुगेर पनि भगवानपुरे कुलोमा बर्षात्को समय मात्रै नभएर असोज कार्तिक महिना हिउँदमा समेत थोर बहुत पानि बग्ने गर्दथ्यो । याने कि हिउँदे बालीनालीमा समेत पानी सिँचाई गर्न सकिन्थ्यो ।  अर्कोतर्फ बर्षात्को समयमा दुइ तीन पटक झरी गरेपछि घोराही उपमहानगरपालिका–१६ को कार्यालयदेखि पूर्वतर्फ पर्ने खरिच्य सोता हँुदै दक्षिण बघी सोतामा सिम अर्थात् पानीको मूल उठ्ने गर्दथ्यो । सो सिम पानीले पनि भगवानपुर गाउँका डाबरहरुमा धान रोपाई गर्न सहज हुने गर्दथ्यो ।  तर, अहिलेको स्थिति बिलकुल फरक छ । बगालेदेखि दक्षिण आउँदै गर्दा सेवार खोला साँगुरो साँगुरो हँुदै तलतिर बगेको छ । तल अटो भिलेजसम्म आइपुग्दा त सेवार खोलो हो कि सेवार कुलो हो भन्ने छुट्याउन सकिदैन ।  खोलोबाट कुलोमा परिणत भएपछि सिम (मूल) त त्यसै सुक्ने नै भयो । खोलो भनाउँदोमा मूल सुकेपछि कुलोमा पानी कसरी वग्ला ? अर्कोतर्फ जग्गाधनी र जग्गा खरिद बिक्री गर्ने जग्गा कारोबारीहरुले खरिच्यदेखि दक्षिण बघी सोता (सिम उठ्ने सोताहरु) सबै प्लटिङ गरी डोजर र जेसिभीले पुरेर घडेरी बनाएपछि सिम (मूल) त त्यसै सुक्ने नै भयो । खोलाको, सोताको मूल सुकेपछि म जस्ता भगवानपुरे किसानहरु मर्ने नै भए । भगवान भरोसे हुने नै भए ।  

थारू किसानहरूको हरडहुवा अर्थात् हरढोवा

थारू किसानहरूको हरडहुवा अर्थात् हरढोवा

१०२५ दिन अगाडि

|

३१ असार २०८०

अहिले असार अन्तिम चलिरहेको छ, आर्थिक बर्षको अन्त्य भैरहेको छ । नेता कर्मचारी, ब्यापारी, संघ संस्थाहरु हिसाब मिलानमा ब्यस्त छन् । पश्चिमका थारुहरुमा भने हरडहुवा अर्थात् हरढोवाको रौनक छाएको छ ।  असार अन्तिम साता भएकोले पनि होला, गाउँहरुमा दिनैपिच्छे हरढोवा चलिरहेको छ । सबैभन्दा बढी हरढोवा असार ३० मा देखिएको छ । कतिपय गाउँमा असार अन्तिम दिनमा पनि हरढोवा मनाउने समाचार प्राप्त भएको छ ।  आदिवासी थारुहरुले मनाउने हरढोवाबारे धेरैलाई थाहा नभएको पनि हुन सक्छ । हरढोवा भनेको धानबाली रोपाईं सकिएपछि मनाउने विशेष पर्व हो भनी बुझ्नु पर्दछ ।  आदिवासी थारुहरुको मूलपेशा कृषि हो । कृषि ब्यवसाय उनीहरुको जीवनको मूलआधार हो । उनीहरुका बालबालिकाहरु खेतीबारीको हिलो माटोसँग लडीबुडी गरी हुर्किन्छन् । जीवनको शुरुवात र अन्त्य खेतीपाती गर्दै बित्ने हुँदा कृषिमा गरिने धेरैजसो क्रियाकलापलाई उनीहरु पर्वको रुपमा मान्ने गर्दछन् ।   धान खेतीको शुरुवातमा ढुरिया पूजा (धर्ती पूजा, हरोट लेहाई), रोपाई गरिसकेपछि हरढोवा, धान हरियो भैसकेपछि हरेरी, धान काटिसकेपछि औली, धान डाईं गरिसकेपछि पेंडिया उनीहरुले खेतीपाती गर्दा बखतका पर्व हुन् ।  अहिले खेतीपातीका लागि ट्रयाक्टर उपलब्ध छ । तर, पहिले पहिले खेतीपाती गर्दा उनीहरुको महत्वपूर्ण हतियार भनेको हलो हुन्थ्यो, जसलाई उनीहरु ‘हर’ भन्दछन् । हर (हलो) कृषिमा नभई नहुने महत्वपूर्ण साधन हो, जसलाई उनीहरु धान रोपाईंपछि धोई पखाली, सरसफाई गरी जतनका साथ राख्ने गर्दछन् ।  रोपाईं सकिएपछि त्यही हर (हलो धुवाई) ढोवाई नै थारुहरुका लागि पर्व बन्न पुग्यो र हरढोवाको नामले परिचित हुन पुग्यो । त्यही हरढोवा बोलीचालीमा अपभ्रंश भई कतै कतै हरडहुवा हुन पुग्यो । बोलीचालीमा हरढोवा, हरडहुवा जे भनेपनि यो हर धुवाई उत्सव नै हो ।   किसानका लागि गहुँ, मसुरो, तोरी वा अन्य अन्नबाली भन्दा पनि धानबाली रोपाईं गर्दा सार्है मिहिनेत चाहिन्छ । धानखेतीमा मेनपावर पनि बढी लाग्ने, गर्मी अति हुने, कहिले लगातार परेको पानीले खेतमा टिक्नै गार्हो हुने, हातखुट्टा पानीले पाक्ने हुँदा धानबाली रोपाईलाई कठिन कार्यको रुपमा लिने गरिन्छ ।  धान रोपाईं समयमै गर्न सकिएन भने वष दिनको कमाई सकिन्छ, भोकै मर्नुपर्ने अवस्था हुन्छ । त्यसैले रोपाईं सकिएपछि सबैजना रमाउने र “अब वर्षभरी मुखमा माड लाग्ने भयो” भनी ढुक्क हुन्छन् र खुशी ब्यक्त गर्ने गर्ने गर्दछन् । त्यही कठिन कार्यमा सफलता प्राप्त गरेपछिको खुशियाली हो हरढोवा भन्दा फरक नपर्ला ।   हरढोवा गाउँभरीका मान्छे सँगै मनाउने गर्दछन् । घर घरमा मीठो खानेकुरा, परिकार तयार गर्दछन् । खेतीपातीको काममा सहयोग गर्नेहरु, जान्नेसुन्ने, सम्मानित ब्यक्तित्वहरु, चेलीबेटीहरुलाई घरमा बोलाउँछन्, खानपिन गर्दछन् र रमाउँछन् ।  हरढोवाको कुनै निश्चित तिथी, मिति वा बार छैन । यो गाउँभरीका किसानहरु धानबाली रोपाईं गरिसकेपछि सल्लाह गरेर मनाइने पर्व हो । कोही अघि, कोही पछि रोपाईं कार्यको थालनी गरे पनि गाउँमा सबैको रोपाईं सकिएपछि हरढोवा मनाइन्छ । रोपाई सकिने दिनमा पनि घर परिवार समान्य उत्सव मनाउने गर्दछन् । तर हरढोवा गाउँभरीका किसानहरु रोपाईं सकिएपछि सँगै मनाउने पर्व मानिन्छ ।  पश्चिममा प्रायः असार महिनाभित्र रोपाई सम्पन्न हुन्छ । त्यसैले, असार अन्तिम सातातिर कुनै दिन कुनै गाउँमा, कुनै दिन कुनै गाउँमा पर्व मनाइएको पाइन्छ । २०८० मा यो पवै असार ३० गते धेरै गाउँमा मनाइएको देखियो । असार ३१ गते पनि कतै कतै देखिदैछ । यसले यो बर्षको हरढोवा पर्वमा केही एकरुपता देखिएको छ, जुन जरुरी छ ।  वनविनाशका कारण वातावरण पर्यावरणमा आएको परिवर्तनले यस वर्ष वषातर्् निकै कम भइरहेको छ । असारमा धानबाली रोपार्इं गर्न सकिएन भने असोजमा धान पाक्न सम्भव हुँदैन र अर्को बाली उत्पादनमा पनि समस्या हुन्छ । त्यसैले, किसानहरु सकेसम्म असार महिनाभित्रै ट्युबवेल, बोरिङ्ग, कुलो, नहर लगायतको स्रोतबाट धानबाली रोपाई गरिसक्ने मनस्थितिमा रहन्छन् । अगावै खेती सक्नेले रोपाईंमा पछि भएकालाई सख्लहरा भई सघाउँछन्, जुन निशुल्क हुन्छ । यसले संगै हरढोवा मनाउने कार्यक्रम सफल हुन्छ ।  एकरुपतामा बल पुग्छ ।  कहिले यो गाउँ, कहिले त्यो गाउँ आलोपालो हरढोवा मनाउनु भन्दा पनि सँगै धेरै गाउँ मनाउँदा राम्रो हुन्छ । आगामी दिनमा कम्तीमा जिल्लाभरी सँगै हरढोवा होस् भन्ने कामनासहित सबैमा हरढोवा पर्वको शुभकामना ।      

‘ए जिन्दगी, के तिमीलाई सपनाविहीन केटीको माया लाग्दैन ?’

‘ए जिन्दगी, के तिमीलाई सपनाविहीन केटीको माया लाग्दैन ?’

१०८३ दिन अगाडि

|

५ जेठ २०८०

बालिका चौधरी दिन यसै बितिरहेको छ । न कुनै सिर्जनात्मक काम, न कुनै व्यस्तता । केवल दिन बितिरहेको छ रातको पर्खाइमा । रात पनि यसै बितिरहेको छ, भोलि बिहान झिसमिसेको पर्खाइमा ।  लौ, केही काम छैन भने कुनै कथा लेखेर त बसु भन्छु, त्यो पनि कलम सर्दैन । केही पुस्तक त पढेर बसु भन्छु, पुस्तकतिर हातै सर्दैन । नयाँ नयाँ पुस्तक किनेर ल्याएको पनि महिनौँ बितिसक्यो, किन हो तिनलाई छुनै मन लाग्दैन ।  के भा हो आजभोलि कुन्नि ? दिन सोचेर बितेको छ । अनि रात सुतेर बितेको छ । धन्न एक छाक खान र एक जोर कपडा जुरेको छ । साथै, रात काट्नको लागि सानो एउटा टुटेको पटरा विच्छाएको, माटोको देवाल भएको कोठामा एक जोर बिछ्यौना छ । त्यसैमा आरामको निन्द्रा नै हाबी भएको छ जस्तो लाग्छ अचेल ।  हो, म धेरैको नजरमा एक बुद्धिजीवी महिला कहलिन्छु । एक साहसी बालिका अनि सङ्घर्षशील र आत्मविश्वास भएकी बालिका भनेर मलाई धेरै ठाउँमा धेरैले सम्बोधन गर्ने गरेका छन् । त्यसैले, कुनै सार्वजनिक कार्यक्रममा अनुभव शेयर गर्न पनि डाकिने गरेकी छु ।  तर आम मानिसको नजरमा मेरोबारे जे छाप परेको छ, आजभोलि त्यो सबै छाप कता कता हराएको जस्तो लाग्छ । आफै रनभुल्लमा परेकी छु जस्तो लाग्छ । आजकाल उद्देश्य विनाको मानिस भएकी छु जस्तो लाग्छ ।  जीवनको कुनै लक्ष्य नै नभएको, दिमाग सादा पानाजस्तै भएको छ आजकाल मेरो ।  समय समयमा विभिन्न क्याम्पसमा युवाहरूलाई मोटिभेशन कक्षा लिई दिनु पर्‍यो भनेर निम्तो आइरहेको हुन्छ । कतै कतै संघर्षका कथा सुनाई दिनु पर्‍यो भनेर निम्तो आउँछ त, कतै जीवन जिउने कला सिकाइदिनु भनेर निम्तो आउँछ ।  तर के गर्नु आफ्नै माई डियर जिन्दगीलाई सम्झेर लाज लाग्छ । के बोल्ने होला, के विषयमा बोल्ने होला भनेर चिन्तन पनि गर्न सकिरहेको हुँदैन हिजोआज । म यसरी शून्यमा झरेकी छु कि महाकवि देवकोटाको म शून्यमा शून्यसरि बिलाएँ कविताको पङ्क्तिको मात्रै माया लागेर आउँछ । कोसँग के बोल्ने होला भन्नेसम्म पनि मेसो पाउँदिन । मानिसहरूले त्यसै भनेनन् होला खाली दिमाग सैतानका घर भनेर ।  त्यही खाली दिमाग सैतानले नभरियोस् भनेर केही लेख्न खोजिरहेकी छु । म को हुँ आफैलाई खोज्न कोसिस गरिरहेकी छु । यो धर्तीमा मेरो के भूमिका छ ? अब मैले कस्तो खालको भूमिका निर्वाह गर्नुपर्छ भनेर सोचिरहेकी छु ।  कहिलेकाहीँ लाग्छ, एउटा राम्रो खतरा लेखक भएर निस्कूँ कि क्या हो ! फेरि लाग्छ, हैन लेखक हुनको लागि टाउकोमा भरिएको गिदीमा लेख्न लायकका खुराकहरू पनि त हुन प¥यो नि । मेरो दिमागमा गिदी भए पनि गुदी भने छैन, यो कुरा पक्का हो ।  यदि मेरो दिमागमा गुदी हुँदो हो त भविष्य सम्झिएर किन असुरक्षित हुन परेको छ त ? हैन भने जे आइपर्छ, सबै काम सहज रूपमा गर्न सक्छु भन्ने हिम्मत किन हराएको होला त ? खै कहाँ गयो पो गयो, कता पो गयो त्यो साहसी बालिका ? कता हरायो हिम्मतवाली बालिका ? लाजमर्दो कुरा भएन र ? कठै बालिका, रुन्चे बालिका भन्दा !  थारू लेखक संघका केन्द्रीय अध्यक्ष सर्वहारी दाइले मलाई बारम्बार लेख्न घोचिरहन्छन् । तर म छु कि गैँडाको छालाजस्तो । जति घोचे पनि सहने खालको ! ए, सर्वहारी दाजै, तपाईंले बालिका हरायो भन्नुहुन्थ्यो । म त साँच्चिकै हराएँ । कता पो हराएँ, आफैलाई समेत थाहा छैन ।  दिमाग पुरै शून्य छ । म वैशाख महिनामा चलेको तातो हावामा हराएँ कि, अन्धविश्वासले जकडिएको समाजमा हराएँ ? कि घर घरकी कहानीमा हराएँ ? थाहा पत्तो छैन ।  साहित्यिक कार्यक्रममा झल्याक झुलुक्क देखिए पनि मेरो भौतिक शरीर मात्र देखिन्छ । मन त कता कता उडेको हुन्छ, सिमलको भुवाझैँ । आफैले पत्तै पाउँदिन । सिमलको भुवाझैँ म नि उड्छु । कता पो उड्छु, त्यो त सिमलको भुवाले नै जानोस् ।  साहित्यिक कार्यक्रममा जाँदा प्रायः साथीहरूको सिर्जनात्मक काम कुरा अनि उपलब्धिमूलक प्रस्तुति देख्दा आफैलाई फर्केर नियाल्छु, मेरो प्रस्तुति लाजमर्दो लाग्छ । मलाई किन यस्तो भइरहेको छ, कतै भूत त लागेन ? त्यसको लागि गुरुवा धामीकहाँ गएर अक्षता हेराउने हो कि झैं लागिरहेको छ ।  सङ्गत गुनाको फल भनेझैं आजभोलि खास खास मान्छेहरूसँगको सङ्गत नभएर पनि होला मेरो दिमाग खोक्रो भएको ।  म करिब ३ वर्ष युएन संस्थामा कार्यरत रहेँ । जागिर अवधिभर कुनै कार्यक्रममा बोल्न पनि नपाइने, लेख्न पनि नपाइने भन्ने उर्दी जारी थियो । हैन भने जागिर चैट ! यदि कुनै कार्यक्रममा निम्तो छ, त्यहाँ गएर बोल्नु छ भने पहिला के बोल्ने भनेर लेखेर पठाउने, लेखेको कुरा एप्रुभ भयो भने मात्र जे लेखेको छ, त्यति मात्र बोल्ने भन्ने आचारसंहिता थियो ।  युएनमा कार्यरत रहेकै बेला साहित्यिक कार्यक्रममा सेसन चलाउने भनेर मेरो नाम पनि राखिएको थियो । मैले बोल्न मिल्दैन दाइ, मलाई नराख्नु भनेर नाम कटाएको थिएँ । कार्यक्रमका हर्ताकर्ता सर्वहारी दाइ तीनछक्क पर्नु भएको थियो ।  अरू पनि त आइएनजीओमा काम गर्छन्, सबैले बोलिरहेका छन् । यसको कस्तो खालको संस्था हो, बोल्न मिल्दैन भन्छे त भनेर उहाँ चकमन्न पर्नु भएको थियो ।  पछिल्लो पटक जब लेखक शेखर दहित पनि युएनले स्पोन्सर गरेको कार्यक्रम सहजीकरण गर्न जानुभयो, उहाँले पनि आफ्नो अनुभव मलाई सुनाउँदै भन्नुभएको थियो कि यो पनि नबोल्नु, त्यो पनि नबोल्नु भनेर सबै प्रश्न काँटछाँट गरिदिए । कार्यक्रमप्रति सन्तुष्ट भइएन ।  त्यसबेला आफू अनुकुल बोल्न नि नपाइने संस्थाको जागिर नै छोडौँ कि भन्ने पनि नलागेको होइन । तर जागिर त पुरै अवधि खाइयो । अहिले कुनै संस्थाको बन्धन छैन । अब जे बोल्न, लेख्न पनि छुट छ । तर खै त लेखनमार्फत गाँठो फुकाउँछु भन्दा भन्दै अरू अरू पो गाँठोको सुर्किनो कसिदै गएको छ ।  लेखन कार्य त युएनको जागिरको बेला पनि छोडिन । डायरीमा कैद छ । तर प्रकाशनमा भने ल्याउन सकिन । मेरो लकडाउनको डायरी पनि उस्तै छ । यो उमेरमा आएर त्यो पनि लकडाउनमा महिनावारी बार्नु परेको कथा त्यस्तै छ ।  मान्छेको जीवन हो, सबथोक भोग्नुपर्ने रहेछ । आफूले भोगेका अनुभव गरेका सबै कुराहरू लेख्दा अरूलाई ठेस लाग्न पनि पुग्छ । सायद यही कारण होला, मैले लेखे भने अरूलाई के असर पर्छ भन्ने डरले होला प्रकाशनमा ल्याउन नसकेको ।  यसरी आन्तरिक आफ्नो समस्या त छँदैछ, बाह्य अरू थुप्रै कारण पनि छ, मेरो दिमाग खोक्रो हुनुमा ।  राजनीतिले मलाई कतै न कतै पीडित बनाएको छ । यसको बारेमा छुट्टै कथा छ । कुनै दिन त्यो पनि लेखुला । तर जबसम्म समस्याको जरो कारण पत्ता लगाउन सकिँदैन, तबसम्म समाधानको उपाय भेटाउन सकिँदैन भनेझैँ के चिजले मलाई अप्ठ्यारो पारेको छ भन्ने कुरा थाहा भएर पनि आफू अगाडि बढ्न सकिरहेकी छैन ।  समस्याको मूल जरो थाहा पाएर नि जब कसैले मनलाई भित्रभित्रै भुसको आगोझैँ जलाइरहेको हुन्छ । सबै चिज थाहा हुँदाहुँदै पनि आफैले केही गर्न नसक्ने अवस्था हुँदो रहेछ । त्यो सबैभन्दा खतरनाक समस्या हो । हो, अहिले म यही माझ धारको चौरस्तामा उभिएकी छु ।  मलाई आफ्नै निबन्धको पुस्तक ‘जीवनका वक्र रेखाहरू’को श्यामश्वेत कभरझैं जीवन रंगीन होइन, सादा जस्तो लाग्छ । त्यसैले त मेरा कुनै रंगीन सपना छैनन् । डियर जिन्दगी । ए जिन्दगी, के तिमीलाई सपनाविहीन बालिका केटीको माया लाग्दैन ?