कन्या स्वतन्त्रताको पर्व ‘चिरैं’
४० दिन अगाडि
|
१३ चैत २०८२
चिरै के हो ?
धेरैलाई थाहा होला आदिबासी जनजाति भनेको सामुहिक पूजामा बिश्वास गर्ने जाति हो । थारु समुदाय पनि सामुहिक पूजामा विश्वास गर्ने गर्दछ । थारु समुदाय रहेका हरेक गाउँमा भलमन्सा, चौकीदार, गुरुवा, चिरकिया हुन्छन् । हरेक गाउँमा सामुहिक पूजा हुने गर्दछ । सामुहिक पूजामा डोरबन्धी, निकासी, चिरै, भजहर, ढुरिया, हरेरी, लवाँगी पूजा पर्दछ । यही सामुहिक पूजामध्येको एक पूजा हो चिरैं । चिरैं विशेष गरी कैलाली र कंचनपुर जिल्लाका थारुहरु मनाउने गर्दछन् ।
आजकाल कतिपय मित्रहरुलाई चिरैं र भजहर एकै पूजाउत्सव हो, पर्व हो भन्ने भान भइरहेको कुरा उनीहरुको बोलाई, लेखाईबाट झल्किरहेको छ । तर चिरैं र भजहर फरक फरक पूजा, त्यौहार हो भन्ने कुरामा प्रष्ट हुन पर्दछ । चिरैं पूजामा कन्याहरुको सिंगारपटार, स्वतन्त्रता भाकल गरिएको हुन्छ भने भजहरमा किसिम किसिमका भोजन भाकल गरिएको हुन्छ । चिरैं चैत्र शुक्ल पक्षमा मनाइन्छ भने भजहर बैशाख शुक्ल पक्षमा मनाइन्छ ।
चिरैंको शाब्दिक अर्थ चरा, पंक्षी हो । चरा स्वतन्त्र हुन्छन् वा हुँदैनन् यो आफ्नो ठाउँमा बहसको बिषय होला । तर क्रियाकलापलाई हेर्ने हो भने चरा, पृथ्वीको एक स्वतन्त्र जीव हो भनी मान्न कर लाग्छ । पंक्षीका बारेमा अध्ययन अनुसन्धान गर्ने चरा बिशेषज्ञहरुका अनुसार चरा एक देशबाट अर्को देशमा रमाउन, केहि समयको लागि पाहुनी खान अर्थात आगन्तुकको रुपमा हिंड्छन् रे । घोरीघोरा तालमा पनि हिउँदको बेला उत्तर एशियाबाट र बर्खा लाग्ने बेला समुन्द्र नजिक बस्ने चराहरु केहि समयको लागि रमाउन आउँछन् भन्ने कुरा बर्ड कन्जरभेशन नेपालका कैलाली प्रतिनीधि हिरुलाल चौधरी बताउँछन् ।
चरा सम्बन्धमा धेरै भाषामा धेरै गीतहरु छन् । हिन्दीमा पनि “मै तो एक पंक्षी हुँ नील गगनका, चल उर जा रे पंक्षी जस्ता” गीतहरु छन् । नेपाली, थारु भाषामा पनि यस्ता गीतहरु छन् । धेरैजसो गीतले चरालाई स्वतन्त्र रहेको कल्पना गर्दछन् । बिचार गर्दा लाग्छ थारु समुदाय पनि चरालाई स्वतन्त्र रुपमा रहेको देख्यौ होला । चरा झैं स्वतन्त्र भएर रमाउने, घुम्ने, खेल्ने यो दिनलाई गुरुवा, भलमन्सा बरघरहरुले चिरैंको नाम दिएका हुन सक्छन् ।
सत्य जे होस्, चिरैं त्यौहार कैलाली कंचनपुरका थारुहरुले मनाउने एक बिशिष्ट त्यौहार हो, जहाँ चेलीबेटीहरु नै ग्राह्य हुन्छन् । जसलाई चिरै/चरै/चराईको रुपमा चिन्ने गर्दछन् । बिशेषतः यो त्यौहारका मूल पात्र कन्या हुन्छन् । दोश्रो भर्खर बिबाह गरी ससुराल पुगेका नवबिबाहित चेलीहरु पनि यसमा सामेल हुन पुग्छन् । अन्य महिलाहरुलाई रमाउनबाट कुनै रोकटोक हुँदैन । पुरुष पूजापाठबाहेक यसमा सहभागी हुन सक्तैनन् । उसको भूमिका सहयोगीको हुन्छ । यस पावन दिनमा थारु चेलीबेटीहरु स्वतन्त्र हुन्छन् । गाउँभरीका चेलीबेटीहरु गाउँबाहिरको बगिया (बगैचा) वा रुखबरिख भएको ठाउँमा जम्मा हुन्छन्, दिल खोलेर हाँसखेल, राहरंगी गर्छन् । चिनजान नभएकाहरुबिच चिनजान हुने गर्दछ ।
तपाईं कल्पना गर्नुस्, त्यो क्षण, त्यो बाताबरण कति रमाइलो हुन्छ होला, जब गाउँभरीका चेलीबेटीहरु आफ्नै भेषभूषामा सज्जिन पुग्छन्, एकै ठाउँमा भेला हुन पुग्छन्, तारा चिरौवर, छुर, कोइली दिदी, अत्ता अत्ता पानी गंगा रानी जस्ता पौराणिक खेलहरु खेल्दछन्, नाच्छन्, गाउँछन्, रमाउँछन् । घरका आमा, बुवा, बाजे बज्यै वा अभिभावक त्यस दिन आफ्ना चेलीबेटीहरुलाई खुशी राख्नमा तल्लीन हुन्छन् । त्यसैले नै होला, थारु बुद्धिजीविहरु यसलाई कन्या स्वतन्त्रता दिवस, सखी दिवस एवं नारी दिवसको रुपमा लिंदै आएका छन् ।
कहिले पर्दछ चिरैं ?
चिरै त्यौहार, चैत महिनाको ओजरीया (शुक्लपक्ष) को जुनसुकै दिन मनाए पनि हुन्छ । तर गुरुवा, भलमन्सा, जानकारहरुका अनुसार चैत महिनाको ओजरीया (चैत महिनाभित्रै) को सोमबार, बिहिबार, शुक्रबार मनाउँदा राम्रो हुन्छ भन्छन् । नेपाल रानाथारु समाजका अगुवा जीवन रानाथारुका अनुसार फागु शुक्ल पूर्णिमाका दिन साँझ होलिका दहन गरिन्छ । बिहान अर्थात चैत कृष्ण पक्षको प्रतिपदाका दिनदेखिको आठौं दिनमा राना थारुहरुको खकरेहरा हुन्छ । खकरेहरा राना थारुका महत्वपूर्ण होली मानिन्छ, यहि दिन राना थारुको बिधिवत होली समापन हुन्छ । यसरी गणना गर्दा चैत कृष्ण पक्ष समाप्त हुन्छ र चैत शुक्ल पक्ष लाग्छ । चैत शुक्ल पक्षमा थारुहरु चिरैं पर्ब मनाउँछन् । उसो त चैत शुक्ल पक्षभरी चिरैं पर्ब मनाउँन सकिन्छ, शुक्ल पक्षभरीको सोमबार, बिहिबार, शुक्रबार मनाए पनि राम्रो नै मानिन्छ ।
के के गर्दछन् चिरैमा ?
चिरै त्यौहारमा घरका कन्या केटीहरु बिहानै नुहाई धुवाई गरी आफ्नो भेषभूषामा सजिन्छन् । त्यस दिन उनीहरु स्वतन्त्र हुन्छन् र घरको अरु कामसँग मतलब हुँदैन । घरका महिलाहरु नुहाई धुवाई गरी खाना, खुरमा, बरीया तयार गर्दछन् । खाना खाई, आफ्नो भेषभूषामा सजिएका चेलीबेटीहरु घर घरबाट निस्कन्छन् र गाउँ भन्दा बाहिर बगिया (आँपको बगैचा), बरपिपल वा कुनै रुखबरीख जसको छहारी हुन्छ, जुन छहारीमा गाउँभरीका केटीहरु बस्न सक्छन्, रमाउन सक्छन्, खेल्न सक्छन्, त्यसलाई रोज्छन् र त्यहाँ आश्रय लिन्छन् । त्यहाँ उनीहरु पुराना खेलहरु तारा चिरौवर, कोइली दिदी, छुर, अत्ता अत्ता पानी गंगारानी आदि पौराणिक खेल खेल्दछन् । आ आफ्नो उमेर समुह वा साना ठूला कुनै पनि उमेर समुहका केटीहरु दिल खोलेर हाँस खेल गर्दछन्, चिना परिचय गर्दछन्, रमाइलो गर्दछन् । उनीहरु एकदम स्वतन्त्र हुन्छन्, सडकमा गई बाटोमा आउने जाने मान्छेलाई रोकी स्वैच्छिक दान दक्षिणा पनि लिन सक्छन् । खेतमा भएको चना, केराऊ पनि खान सक्छन् । त्यस दिन कन्याहरुलाई दान दक्षिणा दिंदा, खुशी पार्दा देवी देवता खुशी हुन्छन् र दान दक्षिणा दिनेको श्री सम्पत्ति, अमनचयन, यशमा बृद्धि हुन्छ भन्ने मान्यता छ । कन्याहरुले खाएको बाली घट्दैन, त्यसमा बर्कत आउँछ भन्ने मान्यता छ ।
त्यस दिन घरका चेलीबेटीहरुलाई दुख लाग्ने, चित्त दुःखाउने कुनै कुरा गर्नुहुँदैन, उनीहरु खुशी रहे, देवी देवता खुशी रहन्छन्, रोगब्याध लाग्दैन, आपत्ति पर्दैन भन्ने आम मान्यता भएकोले उनीहरुलाई खुशी राख्नु हरेक अभिभावक आफ्नो कर्तव्य ठान्दछन् । चेलीबेटीहरु भोकभोकै नरहून् भनी घरका आमा, काकी, बज्यै वा कुनै पनि नाता पर्ने महिलाले उनीहरुका लागि मिझनी (दिउँसोको खाना, नास्ता) लिएर उनीहरु भएको ठाउँमा जान्छन्, खुवाउँछन् । स–साना नानीहरुलाई ख्याल गरिदिन्छन्, यसो गर्नु, खेल्नु, झगडा नगर्नु, सिकाउँछन्, सम्झाउँछन् र आफू पनि बालापनको दृश्यावलोकन गरी धन्य हुन्छन् । रामायणमा जसरी राम, लक्ष्मण, भरत, शत्रुघनको बालापनबाट काक भुसुण्डी मन्त्रमुग्ध हुन्छन्, दशरथ पुत्रहरु र काकभुसुण्डीको लुकामारी खेलबाट देवताहरु लालायित हुन्छन्, त्यसैगरी मिझनी दिन जाने आमाहरुको मातृबात्सल्य हेर्न लायक हुन्छ । अभिभावकहरु चेलीबेटीहरु खेलेको, रमाएको देखेर मन्त्रमुग्ध हुन्छन् । त्यतिबेलाको क्षणले, बाताबरणले केवल आमाहरु मात्र होइन, स्वर्गका देवी देवताहरु पनि मन थाम्न सक्तैनन्, खुशी हुन्छन्, मोहित हुन्छन् होला । लाग्छ देवदेवीहरु पनि अदृश्य रुपमा उनीहरुसँग रमाउँछन् र आशिर्बाद दिन्छन् होला ।
त्यसैले चिरैं त्यो पावन त्यौहार हो, जसले केटीको आवश्यकता, महत्व दर्शाउँछ, महिला स्वतन्त्रता दर्शाउँछ । जुन घरमा छोरी हुँदैनन्, त्यो घरलाई त्यस दिन छोरीको अभाव खट्कन्छ । चेलीबेटी नभएका घरले कास ! मेरो घरमा एक छोरी भएको भए म पनि पठाउँथे भनी पछुताउने गर्दछन् । कतिपयले छरछिमेक वा ईष्टमित्रका चेलीबेटीलाई बोलाई, खानपिन, पोशाकको ब्यबस्था गरेर आफ्नो घरको तर्फबाट चिरैमा प्रतिनीधित्व गराउँदछन् ।
चेलीबेटीहरु गाउँबाहिर जम्मा भैसकेपछि गाउँले पुरुषहरु गुरुवालाई लिएर चेलीबेटीहरु भएको ठाउँतिर जान्छन् र पुजा गर्दछन् । पहिलो पूजा सबै घरबाट प्रतिनीधि आइसकेपछि खुरमा, बरिया चढाई दिउँसो १२ बजे अगावै हुन्छ भने साँझ पुनः पुजा गरी बाटोमा नघान (बाटोमा आगो बालेर नाघिने कार्य, जुन कार्य गर्दा भूत, प्रेत, पिसाच वा कुनै पनि संकटबाट छुटकारा पाइने मान्यता) काटी चेलीबेटीहरुलाई घर जाने अनुमति दिइन्छ । गुरुवाले पुजा गर्दा मन्त्र पढी चारै दिशा, आकाश र पातालतिर धनुषबाण चलाउँदछन् । जसले रोग, ब्याध, दुःखबिमार, अनिष्टको नाश गर्दछ र गाउँ समाजमा सुख शान्ति छाउँछ भन्ने जनबिश्वास रहेको छ । केटीहरु रुखको स–साना हाँगा, पात टिपेर हातमा लिएका हुन्छन् र घरतिर लाग्दछन् । घर पुग्नु अगावै भलमन्साको घरको छानामा फाल्दै हरियर हो, हरियर हो (हरियाली होस्, हरियाली होस्) भन्दै फाल्दछन् । त्यसपछि आ–आफ्नो घरमा पुग्दा छानामा फाल्दै हरियर हो, हरियर हो भन्दै फाल्दछन् । यसले घरको श्री सम्पत्ति बढ्दछ, सुख शान्ति, यश बढ्दछ भन्ने जनबिश्वास रहेको छ ।
ऐतिहासिक पक्ष
भनिन्छ, भुईको सृष्टि सँगसँगै नै भुइँहारको पनि सृष्टि भएको हो । भुइँहार नै थारु समुदायको धर्मगुरु हो । धर्मगुरु गुरुवाहरुका अनुसार परापूर्वकालमा कुनै गाउँमा महामारी जस्तो ठूलो बिपत्ति आयो । त्यतिबेला गाउँका भलमन्साले गुरुवालाई बोलाएर गाउँलाई ठिक पार, सुख शान्ति कायम गर, अन्यथा तिमीलाई पनि सजाय हुन्छ भन्दा गुरुवाले गुरैपाटी गरे । उनले रातभरी लगातार गुरैपाटी गरे, आछतबीरा हेरे । ध्यानलाई केन्द्रित गरी पुनः पाटीमा बसे र पुजाबिधि पत्ता लगाए । देबी–देवतासँग प्रार्थना गरे, भाकल गरे कि हे देवी, हे देव, मेरो गाउँ गिराउँको रक्षा गर, कुनै गल्ती भए माफ गर । चैत शुक्ल पक्षको सोमबार यहाँहरुको म पुजा गर्छु, गराउँछु । देवी रुप कन्याहरुको सम्मान गर्छुु । सपनामा पनि उनले देवी देवताबाट आदेश पाए, चैत महिनाको शुक्ल पक्षको सोमबार पुजाको लागि उत्तम हुन्छ, पुजा गर, चेलीबेटीको सम्मान गर । बिहान भलमन्साले गुरुवालाई सोधे के गर्नुपर्छ गुरुवा महाराज । गुरुवाले भने भलमन्सा ज्यू “चैत महिनाको शुक्ल पक्षको पहिलो सोमबार पुजाको लागि उत्तम छ, गाउँ भरीका अबिबाहित चेलीबेटीहरुलाई सोर्हो सिङ्गार गरेर गाउँबाहिरको बगिया, बगैचा, बर, पिपल, पकडिया छहारी भएका रुखहरु तल जम्मा हुन लगाउनु, उनीहरुलाई खुशी पार्नु, उनीहरु खुशी भए भने देबी खुशी हुन्छन् ।” गुरुवाले भने अनुसार भल्मन्साले गाउँलेहरुलाई गर्न लगाए र गाउँमा सुख शान्ति छायो । त्यसबेलादेखि चिरंैको शुरुवात भएको हो ।
त्यसैगरी थारु गुरुवा चमारीका अनुसार जसरी रामलाई सामान्य मानिस ठानी ईन्द्रपुत्र जयन्त सीताको पाउमा चुच्चो हानी भागेका थिए र पछि रामद्वारा दण्डित भए, त्यसैगरी राजा बिजय भाठका छोरीहरु (दुर्गा, कालिका, मरी, घोटैली, सौंरी, चौध्रिनिया, पितराइन) राजा तत्वलको बगैचामा सिंगारपटार गरी घुम्न, खेल्न गएका गएका थिए, त्यतिबेला मयासुर दानवका पुत्र सुगा चराको भेषमा उनीहरुलाई छेडछाड गरेका थिए । त्यो दुष्ट चरा मार्न बर्हो बर्दियालाई बोलाए । उनीहरु मार्न नसकेर भगवान रामसँग प्रार्थना गरे । तर राम आफू त्यहाँ नआई धनुष बाण पठाए र त्यस धनुषबाट दुष्टको संहार भयो । त्यसबेलादेखि चिरैं पूजाको शुरुवात भएको हो । सात बहिनीहरु सखिया सहेलियासँग जसरी बगैंचामा खेल्न, घुम्न गएका थिए, त्यसरी नै अहिले गाउँका केटीहरु गाउँबाहिर भेला भई नाच्ने, खेल्ने, रमाइलो गर्ने गर्दछन् । पुजा गर्दा गुरुवाले धनुष बाणले दुष्टको संहार गर्ने गर्दछन् भन्ने उनको भनाई छ ।
यस सम्बन्धमा कैलालीका पूर्बी क्षेत्रमा बसोबास गर्ने गुरुवा सोमै, थारु मिथोलाजीसँग जोड्दै भन्छन्, “चिरैंमा पूजा गर्दा ७ ध्वजा, ७ खप्पर, तीर धनुष, काजल, सिन्दुर, धूप, १ दिया, छाँकी (दारु, पानी वा ल्वाङ, पानी), गाईको दूध आवश्यक हुन्छ, यसमा ७ बहिनिया देवी (दुर्गा, कालिका, मरी, घोटैली, सौंरी, चौध्रिनिया, पितराइन) र उनीहरुको ७ लहराको पुजा हुन्छ । गुरुवा चमारीका अनुसार यसमा देवीहरुसँगै बर्होबर्दियाको पनि पूजा हुन्छ ।
गुरुवाहरुका भनाईबाट के प्रष्टिन्छ भने चिरैं पूजामा ७ बहिनी र उनका सखिया सहेलियाकै रुपमा केटीहरु बाहिर बगैंचामा भेला हुने, खेल्ने, रमाइलो गर्ने गर्दछन् । चेलीबेटीहरुका लागि यो पूजा उत्सव सब भन्दा महत्वपूर्ण पूजाउत्सव बनिसकेको छ । यसमा रोकावटको कुरा गर्नु, चेलीबेटीहरुको स्वतन्त्रता र खुशीमा लगाम लगाए जस्तो, खोसे जस्तो महशुश हुन्छ । त्यसैले अभिभावकहरु चिरैको दिनमा उनीहरुलाई खुशी राख्नु आफ्नो कर्तव्य ठान्छन्, उनीहरु खुशी हुँदा देवी खुशी भएको ठान्छन् र उनीहरुले बाटो छेकी पैसा माग्दा समेत रित्तो हात फर्काउँदैनन् । क्षमता अनुसार दिएरै जान्छन् । यसरी चिरैं, कन्याहरुको स्वतन्त्रता, हाँसखेल गर्ने दिन भएकोले जानकारहरु यसलाई कन्या स्वतन्त्रता दिवस, सखी दिवसको रुपमा पनि अथ्र्याउने गरेका छन् ।
चुनौती
यो पूजा पहिले पहिले चैत्र शुक्ल पक्षको पहिलो सोमबार, बिहिबार वा शुक्रबार मनाउने गर्दथे । तर यतिबेला पूजाका मूलपात्र केटीहरु बिद्यालय जाने भएको र उनीहरुका लागि बिदाको दिन कुर्नुपर्ने कारणले पहिलेको जस्तो निश्चित दिनमा हुन सकिरहेको छैन । एउटा भुइँहार धेरै गाउँमा जानुपर्ने, आफ्नो सहयोगी तयार गर्न नसकेका कारण सबै गाउँमा एकै दिन पुग्न सकिरहेका छैनन् । भलमन्सा र समुदायका लागि यो चुनौती भएको छ ।
समस्या
कतिपय ठाउँमा बाटो छेकी जबर्जस्ती रकम टोकेर माग्ने, दिन नचाहे जान नदिने ब्यबहार पनि कतिपय गाउँमा देखिएका छन् । खोट खोजिरहनेका लागि यो गरम मसला साबित हुन्छ । कुनै दुर्घटना भए टाउको दुखाई पनि हुन्छ । यो एउटा समस्या भएकोले भलमन्साहरुले यसमा ध्यान पुर्याउनु पर्दछ ।
टुङ्गयाउनी
टुङ्ग्याउनीमा के भन्न सकिन्छ भने चिरैं पूजा बिशेषतः चेलीबेटीहरुको पूजाउत्सव हो, त्यौहार हो । यसमा अविवाहित चेलीबेटीहरुको श्रृङ्गार, स्वतन्त्रता र खुशी भाकल गरिएको हुन्छ । चेलीबेटीहरु खुशी हुँदा देवी खुशी हुन्छन् र दुःख, पीडा, समस्या, रोग, ब्याध नाश भएर जान्छ भन्ने मान्यता छ । यही मान्यताका कारण यो पर्वको दिनमा चेलीबेटीहरुलाई खुशी राख्नु हरेक अभिभावकले कर्तव्य ठान्दछन् । कन्या स्वतन्त्रता दिवसको रुपमा मान्दछन् । घरको चूलो, चौका, घर धन्दा लगायतका बन्धनमा बाँधिएका, स्वतन्त्र रुपले घुम्न नपाउने अवस्थामा रहेका चेलीबेटीहरु यो दिनमा एक ठाउँमा भेला हुने, चिनापरिचय गर्ने, सुखदुःखका कुरा साटासाट गर्ने ठूलो अवसरका रुपमा लिने गर्दछन् । यो एकदम सकारात्मक पक्ष हो ।
चेलीबेटीहरु कसैलाई ठेस पुग्ने, दुखी बनाउने ब्यबहारलाई बन्द गर्नुपर्दछ भने कोइली दिदी, तारा चिरौवर, अट्टा अट्टा पानी गंगा रानी, छुर जस्ता पुराना खेलहरु, भलिबल, फूटबल जस्ता आधुनिक खेलहरुमा जोड दिनु पर्दछ । बाताबरणलाई अझ रमाइलो बनाउन, परिवारमा खुशी बाँड्न सक्नु पर्दछ । त्यसैगरी हरेक गुरुवा, भलमन्सा, बुद्धिजीवि, जानकारहरु यसमा भएका साना कमी कमजोरीलाई बढाईचढाई गर्नुहुँदैन, न्यूनीकरण गर्दै राम्रो बनाउँदै लानु पर्दछ । धन्यबाद !