दुलारी छोरी
१९२ दिन अगाडि
|
१० कात्तिक २०८२
स्केचः एआइ
नवराज चौधरी
उनी घरबाट रन्थनिएर यसरी निस्किन् कि मानौं अब उप्रान्त, उनी त्यो घरमा कहिल्यै फर्किने छैनन् । डेढ वर्षको सानो छोरालाई छातीमा च्यापी साथै अर्को हातले बडेमानको सुट्केस डोर्याउँदै उनले अटो रिक्सा रोकाइन् ।
सुस्तरी हावाले अटो रिक्सामा उनको रेशमजस्तो नरम केश र सारीको पच्छ्यौरी फरफराइरहेको थियो । उनको आँखामा खपि नसक्नुको आक्रोश र इख झल्किरहेको देखिन्थ्यो । एक हातले काखको छोरोलाई दरो च्याप्दै उनी, अर्को हातले पच्छ्यौरीलाई तानेर सारीको सप्कोमा मिलाइन् । सल्बलाइरहेको नरम घुंम्रिएको केशलाई घरी घरी कान पछाडी बटार्न बिर्सेकी पनि होइनन् । सोंचमग्न अवस्थाकी उनी अझसम्म शान्त देखिन्न थिइन् ।
जाबो ५ किलोमीटर जस्तो दुरी रहेको माइतीघर पुग्न पनि उनलाई आज निकै बेर लागेको भान भैरहेको थियो । माइत पुग्नासाथ आमा र भाउजूसित अनगिन्ती गुनासो पोखेर मन हलुका पार्ने उनको चाहना तीब्र भइरहेको थियो ।
माइतघर अगाडि पुग्नेबित्तिकै उनी हलुका अनि फूरूङ्ग देखिइन् । रिक्सालाई बिदा गरिवरी उनी हतारिंदै घरको डोरबेल थिचिन् । तर भित्रबाट कोही निस्केनन्, केही चालचुल पनि सुनिएन । निकै बेरपछि काम गर्ने दिदी जीताले ढोका खोलिन् ।
लगातार तीन छोरा पछिकी कान्छी छोरी, सबैकी प्यारी हुने नै भइन् अनि उनको नामै प्रिया । उनले रोजेको, खोजेको कुरामा त्यहाँ कसैको ढिपी चल्दैनथ्यो । त्यही स्वतन्त्रताको प्रतिफल भएको थियो, उनको जीवनसाथी रोजाइ, क्षेत्री घरानाकी छोरी भएर पनि उनले थारू केटा रोजेर परिवारको कडा विरोधको वावजुद उनले श्रवण चौधरीसंग प्रेम-विवाह गरिन् । त्यस व्यहोरामा माइती पक्ष प्रियासित सारै रिसाएका थिए । यहाँसम्म कि उनलाई माइत आउन समेत बन्देज गरिएको थियो । दुई वर्षसम्म त माइतीले उनको खोज-खबरै गरेनन् । तर एकमात्र छोरी त्यसमा पनि दुलारी अनि प्याउली, माइती कतिञ्जेल रिसाउन सक्थे र ? प्रियाको छोरो जन्मेपछि भने, माइली भाउजुको प्रयासले पोहोर सालबाट प्रियालाई माइतको ढोका खुला भएको थियो ।
खासै टाढा नभएकोले उनी खबरै नगरिकन पनि माइत आईजाई गरिररहने गर्थिन् । ठूल्दाइ आफ्नो परिवारसहित क्यानडामा बस्थे भने कान्छा दाइ चाहिँ अष्ट्रेलियामा थिए । माइतीको दुलारी उनी माइत आए पिच्छैको खातिरदारी साथै पाइने कोशेली पातले पनि पल्केकी थिइन् ।
क्षेत्रीको छोरी, थारू संस्कार, रितीरिवाज अंगाल्न सुरु सुरुमा प्रियालाई अप्ठ्यारो नपरेको होइन । तर अब उनी अभ्यस्त भैसकेकी थिइन् । यद्यपि बेला-बेलामा माइतमा भोगेकी स्वतन्त्रताले उनलाई थारू बुहारीले निर्वाह गर्नुपने भूमिका चाहिँ बिर्साउने गर्थ्यो । त्यसप्रति परम्परागत सोंच भएकी सासु आमाको गुनासो चैं अलिक बढी नै आउने गर्थ्यो । सासुको मीन-मेखले कहिलेकाहीं प्रियालाई झर्को पनि लाग्थ्यो । त्यही विषयलाई लिएर यस पटक लोग्नेसित उनको ठाकठूक परेको थियो । श्रवणले पनि उल्टै आमाको पक्ष लिएर प्रियालाई एक झापड लगाएका थिए । लोग्नेको त्यो अनपेक्षित हर्कतले उनी स्तब्ध बनेकी थिइन्, मर्माहत थिइन् । क्रुद्ध भएकी प्रियाले अब आफ्नै खुट्टामा उभिएर स्वतन्त्र बाँच्ने विचार गरेकी थिइन् । अरू नभए पनि उनको सहारा आमा, दाजु-भाउजूहरु छन् भन्ने कुरामा उनलाई ढुक्क थियो । उनलाई विश्वास थियो, उहाँहरुबाट पक्कै साथ पाउनेछिन् भनेर !
प्रिया माइत आएको दुई दिन भैसकेको थियो, तापनि आमा-भाउजूसित तिनको मन माझ्ने धोको अधुरै थियो । खोइ किन, यसपटक दाजु, भाउजू, भदा, भदैनीले तिनीसित त्यति खुलेर बातचीत गरेका थिएनन् । सबैजना विभिन्न व्यस्तताको बहाना गर्दै प्राय उनिबाट पञ्छिए झैँ लाग्दथ्यो । आमा समेतले पनि उनीसित धेरै कुराकानी गर्न नचाहेको कुरा प्रियाले नबुझेकी होइनन् ! त्यसैले होला, यसपल्ट माइतमा उनी आफू बेवास्ता र अपमानित भएको महसुस गर्न थालेकी थिइन् । आज पनि स-परिवार बिहे भोजमा गएका थिए ।
' कस्तो त ! जान्छेस कि भनी आमाले समेत एक-वचन सोध्नु भएन । मन पनि कति कठोर ? जीतालाई चैं लानु हुने मलाई नहुने रे ? आखिरमा काम गर्ने मान्छे चाहिँ यहाँका सदस्य रैछ्न्, म पो रैनछु ! आ, कसैको नभा'को निम्ता ? बिहेपछि माइतमा छोरीको हक लाग्दैन भन्थे, हो रैछ ! यिनीहरूको घर रुङ्न पो म आ'की रैछु !'
प्रियाको मनमा अनेक कुराहरु मडारिरहेका थिए । उनी खिन्न र उदास थिइन् । कता-कता उनी निस्सासिए झैँ पनि देखिन्थिइन् । आज किन-किन प्यारो माइतीघर पनि उनलाई बिरानो र नरमाइलो लागिरहेको थियो । छेवैमा मस्त निन्द्रामा छोरालाई घरि घरि मुस्कुराएको देखेर प्रियाको मन त्यतै बग्यो । छोरोको मुस्कानले एक पलको लागि भएपनि उनी आनन्दित हुन पुगिन् । उनले छोरालाई निकै बेर नियालिन् । मुस्कान पनि ठ्याक्कै बाउको जस्तै ! त्यही मुस्कानले त तिनी फसेकी थिइन् । उनलाई त्यो मुस्कान कूटिल र निकै खतरनाक लाग्न थाल्यो । ' निष्ठूरी ' प्रियाको वाक्य एकाएक फूट्यो ।
विगत घटेका दृश्यहरु प्रियाको आँखामा सचित्र बनेर चल्न थाल्यो । तिनलाई निकै राम्रो लागेर, त्यो दिन रहरले छोराको लागि पाँच-छ जोर लुगा किनेर ल्याएकी थिइन् । त्यही फूर्माइसप्रति सासुले आपत्ति जताएकी थिइन् ।
'बेकार मे यत्ना फजूल खर्चा ? बढेवला धियापुता याइछ, एक-दुई जोर नौवा किन्त्यै त, भ्या जेत्यै ?' (बेकारमा यत्तिको फजूल खर्च ? बढ्ने केटाकेटी हुन्, एक-दुई जोर लुगा किनेको भए, भै हाल्ने ?)
प्रियालाई सासुले कटाक्ष गरेजस्तो लाग्यो अनि उनी पनि सासुलाई कर्कश वचन फर्काउन बाँकी राखिनन् ।
"डाहा पनि कति लागेको हौ ? मैले मेरो छोरालाई जेसुकै किनि दिऊँ ? कसैसित हात पसारेकी छुइन क्यारे ? सम्पत्ति भएर पनि राम्रो खान-लाउन नजान्ने, यस्ता गंवारहरुलाई जीउनुको अर्थ के थाहा ? धन्न मेरो माइती छन् र मैले इच्छा अनुसार बाँच्न पाएकी छु । "
कति दिन देखिको उकुस मुकुस कुण्ठालाई त्यसबेला उनले पोखी पठाइन् । त्यो दिन मर्यादा भूलेर प्रिया सासुसित चर्चरी बाझेकी थिइन् । त्यही विवाद बढ्दै जाँदा श्रवणले प्रियालाई एक थप्पड हिर्काएका थिए ।
अहिले मन हलुका भएर होला, ती कुराहरु सम्झिदै उनी ग्लानी महसुस गर्न पुगिन् ।
"सासु आमाको बोली नै रूखो छ भन्ने कुरा मैले नजानेकी हुँ र ? उहाँले फजूल खर्च गर्नुहुन्न पो भन्नु भएको ! मै मोरीलाई त्यो दिन कुन अलक्षिना लागेको थियो कुन्नी ? किन जवाफ फर्काएछु नी ? मेरी आमा पनि त कडा छिन् । यदि उहाँले भाउजूहरुबाट त्यस्तो अपमान सहनु पर्यो भने, के दाजुहरु चुप लागेर बस्नुहोला त ?"
यस्तै कुरा खेलाउँदै जाँदा उनलाई नगर्नु पर्ने व्यहोरा गरि पठाएछु भनी पछुतो लागेर आयो । त्यो थकथकी भुलाउन प्रिया अवचेतन अवस्थामै, कोठाको कुनामा रहेको टेलिभिजन खोल्न पुगिन् । त्यहाँ एक पलेटी संगीत कार्यक्रममा गीत गुञ्जिरहेको थियो...
" सोँचे जस्तो हुन्न जीवन, सम्झे जस्तो हुन्न जीवन
जस्तो भोग्यो उस्तै हुन्छ, देखे जस्तो हुन्न जीवन.."
प्रिया त्यो सुमधुर गीत-संगीतमा मग्न भइन् । उनलाई गीतका ती मर्मस्पर्शी शब्दहरुले कता कता आफैंलाई सान्त्वना दिइरहेको झैँ लागिरहेको थियो ।
एकाएक डोर-बेलको आवाजले प्रियाको ध्यान तान्यो । ढोका खोलेर हेर्दा, बाहिर श्रवण ठिङ्ग उभिएको थियो । अप्रत्याशित, आफ्नो लोग्नेलाई सामुन्ने पाउँदा एकपल त प्रिया उज्याली भइन् तर छिनभरमै ठूस्किएको नाटक गर्दै बोल्दै नबोली फर्किन् । ढोका ढप्काएर, श्रवण पनि आफ्नो स्वास्नीलाई पच्छ्याउँदै भित्र पसे । भित्री कोठामा मस्त निदाइरहेको छोरोलाई देखेर श्रवण पुलकित हुँदै निहार्न पुग्यो । उसलाई छोरालाई दुलार्न, म्वाइ खान मन नभएको होइन तर निन्द्रा खल्बलिएला भन्ठानी उनले छोरालाई चलाएनन् बरु त्यो अबोधलाई मायालु नजरले एकटक लाएर निकैबेर नियाली रहे । उसको अनुहारमा गद्गदी खुशी झल्किएको थियो ।
एक्कासी भाँडाकुँडाको ठ्याङ्ठूङ सुनेर श्रवण सरासर भान्सा कोठातिर पसे । प्रिया दुईवटा कपमा चिया छानिरहेकी थिइन् । श्रवणले मौका छोपेर पछाडिबाट प्रियालाई अंगालोमा बेर्दै भने "अझैसम्म रिसा'की छ्यौ ..?"
प्रियाले पनि त्यही मौकामा श्रवणको औंला तातो चियामा चोपी दिइन् । प्रियाको त्यो बदला भाव श्रवणले राम्ररी बुझेका थिए । वास्तवमा प्रियाको त्यस्तै नखरामै त ऊ फिदा थियो ।
"तिमीबिना घर सुनसान छ, प्रिय !" रोमाञ्चित हुँदै उसले प्रियालाई आफूतिर फर्काएर बलिया अंगालोमा बेरे । प्रिया पनि लजाउँदै लोग्नेको छातीमा आफ्नो अनुहार लुकाउन पुगिन् ।
ढोकाको ताल्चा लगाइवरी "छिमेकीकोमा चाभी छाडेकी छु ।" को चिट प्रियाले छेस्किनीमा अल्झाइ दिइन् अनि छोरा बोकेर लोग्नेको पछि लागिन् ।
बडेमानको सुटकेश मोटरसाइकलको पछाडि बाँधिएको थियो । प्रियाले एक हातले छोरा च्यापेकी थिइन् भने अर्को हातले श्रवणलाई समातेर लिपिक्क टाँसिएकी थिइन्, बस्ने जगह साँघुरो जो थियो ! गुडिरहेको गाडीमा दुबै दम्पती हर्षित देखिन्थे । दुबैको ढुक-ढुकीमा सुमधुर गीत-संगीतको आभास भैरहेको थियो ..
"नयाँ नयाँ सजाउँ है संसार,
सुख दुख बाडौं है मिलेर
घामको पहिलो किरण, छुन्छ गरा-गरा
आफ्नै गाउँ सारा, आफ्नै डाँडा-काडा..."
ओछ्यानमा सुटकेशका लुगाहरु छरपस्ट थिए । लुगाहरु मिलाउँदै गरेकी प्रियाले माइतमा भोगेकी कुराहरू सम्झिन पुगिन् । उनलाई कता-कता नमिठो लागेर आयो अनि मनलाई दरो बनाउँदै मनन गर्न थालिन् ।
"आ, मलाई के कमी छ र ? यो घर मेरो हो । मेरो घरको हरेक सुख दु:ख मैले नै सकार्ने हो । बेकारमा घरको कुरा बाहिर किन फैलाउनु ? आफै हेपिनु रैछ !"
लुगा पट्याउँदा पट्याउँदै अचानक उनले एउटा चिट्ठी भेटिन्।
मेरी प्यारी छोरी प्रिया
तिमी हामीसित सारै रिसाएकी छौ भन्ने कुरा मलाई थाहा छ । छोरी तिम्रो बाबा बित्नु हुँदा तिमी बालखै थियौ । तिम्रा दाइहरु भने अलिक हुर्किसकेका थिए । हाम्रो दु:खका दिनहरू तिमीले त्यति सारो थाहा पाएनौ, जति तिम्रा दाइहरुले भोगे । एक्ली चेली, त्यसमा पनि कान्छी भएकीले दाइहरुबाट तिमीले निकै लाड-प्यार पायौ । तिम्रो हरेक चाहना पूरा गर्न उनीहरूले कुनै कसर बाँकी राखेनन् । हाम्रो मञ्जुरी बेगर तिमीले आफू-खुशी प्रेम विवाह गर्यौ । त्यसमा हामीलाई सारै चित्त दुखेको थियो । तर ज्वाईं सारै भलाद्मी हुनुहुँदो रहेछ । अब हाम्रो कुनै गुनासो छैन । हेर छोरी, कुनै बा-आमा, माइतीले आफ्नो छोरीचेलीको घर बिग्रेको देख्न चाहदैनन् ।
जुन दिन तिमी सासुसित झगडा गरेर घर छाडेकीथ्यौ, तिमी माइत पुग्यौ-पुगेनौ भनेर ज्वाईंले फोन गर्नु भएको थियो । ज्वाईं कहिल्यै झूटो बोल्नु हुन्न भन्ने कुरा तिम्रो दाइलाई थाहा रैछ । सम्पुर्ण कुरा बुझ्दा, तिम्रै गल्ती देखियो अनि तिमीलाई सबक सिकाउन हामी बाध्य भयौं । तिमी अवश्य माइत आउँछ्यौ भन्ने कुरा जानेरै त्यतिबेला हामी सासू-बुहारी किनमेल गर्ने भनी बजार निस्किएका थियौं । जीतालाई ढोका खोल्न निकैबेर लाग्नु, हामीबाट तिमी बेवास्ता हुनु, त्यो योजना थियो ।
छोरी आडम्बर भन्दा सामान्य जीवनयापन उत्तम हुन्छ । हो, त्यो सामान्यत: तिम्रो घरमा छ । बिचरी सम्धिनीज्युलाई बैंशमै विधवा हुनुपर्यो तर पनि उहाँ डगमगाउनु भएन । वास्तवमा उहाँकै अडान र दृढताले ज्वाईंको पैतृक अंशमा पक्षपात हुन पाएन, होइन भने त्यतिका बाठा देवर-जेठाजुले सम्पत्ति हत्याउन पनि सक्थे । सम्धिनी एक्लैले ज्वाईंलाई पढाइ-हुर्काइ गराउनु भयो । उहाँले अहिलेसम्म सम्पति नमासी राखि दिनुभएको छ, जुन तिमीहरूकै लागि हो ।
तिमी सारै भाग्यमानी छौ छोरी । एक्लो छौ, त्यसमा पनि सानो सुखी परिवार ! हेर छोरी, तिम्रो सासुआमा देवी हुन् । जन्म दिने आमा म भएपनि कर्म दिने आमा उहाँ हुनुहुन्छ । जुन आँखाले तिमी मलाई हेर्छ्यौ, त्यही आँखाले एक पटक उहाँलाई पनि हेर त, तिमीलाई तिम्रो घर-संसार औधी प्यारो लाग्नेछ । वास्तवमा तिम्रो घर स्वर्ग हो छोरी । त्यसलाई कायमै राख्ने जिम्मा अब तिम्रो हो । यसपल्ट हामीले तिम्रो चित्त सारै दुखायौं, त्यसमा माफ गरिदेऊ है छोरी !
चिट्ठी पढि सिध्याउँदा प्रियाको गहभरी आँसु थियो । टेबुल छेउमा रहेको मोबाइलतर्फ प्रियाको हात एकाएक लम्कियो ।
विराटनगर-३, भुपी मार्ग
साभारः 'उदघोष' दैनिक