‘बहादुरपुर...’ नाटकको कथा थारू समुदायसँग मेल खान्छः  सरस्वती चौधरी  

‘बहादुरपुर...’ नाटकको कथा थारू समुदायसँग मेल खान्छः सरस्वती चौधरी  

१३८ दिन अगाडि

|

४ पुष २०८२

थारू मातृभाषामा पत्रकारिताः अनौठो सन्तुष्टी

थारू मातृभाषामा पत्रकारिताः अनौठो सन्तुष्टी

१४७ दिन अगाडि

|

२६ मंसिर २०८२

सन्तोष दहित न त कुनै दाम छ, न कसैको कर। न त निश्चित भविष्यको कुनै भरोसा। तर पनि,  रातदिन यही यात्रामा तन्मय छु। कहिलेकाही आफैलाई प्रश्न  गर्छु,  जानेर लागेको हुँ कि नजानेर ? तर उत्तर भेटिन्न। लेख्दा, टाइप गर्दा, सेटिङ मिलाउँदा समयको होशै रहँदैन। कहिले रातको १ बज्छ, कहिले भाले कुकार्ने बेलासम्म । भोलिको भविष्य के होला ? के खानु, के लाउनु, कुनै ठेगान छैन। तर पनि एउटा अनौठो सन्तुष्टि अनुभूति हुन्छ । यही काममा, यही समर्पणमा। आज लौव अग्रासन साप्ताहिक १८ औँ वर्षमा प्रवेश गरेको छ। यदि यो समय कुनै सरकारी सेवामा बिताएको भए, आज रिटायर्ड हुने बेला नजिकै पुग्थेँ होला। कम्तीमा बुढेसकालको साहारा त हुन्थ्यो। तर मिडियाको यस यात्रामा न आफूका लागि आधार बन्न सकें, न परिवारका लागि। यद्यपि, आत्मसन्तुष्टि भने प्रचुर छ । किनभने यो यात्रा अर्थका लागि होइन, उद्देश्यका लागि हो। थारू भाषा, साहित्य र संस्कृति संरक्षण तथा प्रवर्द्धनको ध्येय बोकेर सुरु गरिएको लौव अग्रासन १७ वर्षअघि एउटा सानो बीज थियो। आज त्यो बीज १८ वर्षको दृढ रुखमा परिणत भएको छ। रचनाकार र स्तम्भकारको अभावका बीच पनि पत्रिका निरन्तर छापिनु आफैंमा ठूलो उपलब्धि हो। आज डिजिटल प्रतिस्पर्धाको युगमा छापा मिडियालाई जोगाउनु सजिलो छैन। त्यसमा पनि मातृभाषामा पत्रिका चलाउनु त फलामको चिउरा चपाउनु जस्तै हो। न पर्याप्त थारू स्तम्भकार छन्, न थारू  भाषामा लेख्ने पत्रकार। विज्ञापन पनि लोककल्याणकारी भावना बोकेका सीमित स्रोतहरूबाट मात्रै। कहिले त्यो स्रोत रोकिएला, अग्रासन बन्द होला । त्यो पनि  थाहा छैन। तर यथार्थ जस्तो भए पनि, हाम्रा संकल्पहरू अटल छन्। हरेक चूनौतिको सामाना गर्दै  लौव अग्रासन साप्ताहिकलाई निरन्तरता दिनेछौं  । हरेक मंगलबार नयाँ अंक छाप्नेछौं, खोजमूलक सामग्री ल्याउनेछौं, छापासंगै  डिजिटल प्लेटफर्म www.agrasankhabar.com  मार्फत दैनिक रूपमा समाचार र सन्देश पुर्‍याइरहनेछौं। अन्त्यमा, यो सुखद अवसरमा हामीलाई अहिलेसम्म साथ दिने सम्पूर्ण मैगर कबिला,  लेखक, स्तम्भकार, पाठक, विज्ञापनदाता र शुभेच्छुक सबैप्रति हार्दिक आभार र कृतज्ञता व्यक्त गर्दछौं। र, लौव अग्रासन साप्ताहिकका सम्पूर्ण परिवारतर्फबाट १८ औं वार्षिकोत्सवको यस अवसरमा सबैमा हार्दिक बधाई र शुभकामना !

थारु आयोगले मनायो सातौ वार्षिकोत्सव

थारु आयोगले मनायो सातौ वार्षिकोत्सव

१७५ दिन अगाडि

|

२७ कात्तिक २०८२

थारु आयोगले आफ्नो सातौ वार्षिकोत्सव कार्तिक २५ गते जिल्ला समन्वय समितिको सभाकक्ष, बबरमहल, काठमाडौंमा एक कार्यक्रम गरी मनाएको छ ।  कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले हाम्रै आयोगको त सिफारिस सरकारबाट कार्यान्वयन भएको छैन, अरु आयोगको के कुरा भन्ने निराशाजनक अभिव्यक्ति व्यक्त गरे ।  थारु आयोगका सचिव रुद्रप्रसाद लामिछाने राजदूतलगायत विभिन्न निकायमा थारु समुदायकालाई नियुक्ति सिफारिस गरिएकोमा कार्यान्वयन नभएको बताए । उनले आफूसम्बद्ध आयोगको मात्रै नभई, दलित, मुस्लिम आयोग लगायतको पनि सिफारिस कार्यान्वयन नभएकोमा दवाव पनि नपुगेको जिकिर गरे ।  आयोगका सचिव लामिछानेले प्रस्तुतिका क्रममा पावर प्वाइन्ट तयार गरेका थिए । तर, त्यसमा भएका तथ्य प्रस्तुत गर्नुभन्दा पनि सबैजसो आयोगमा बजेटै छैन, के गरेर बस्ने ? भन्ने निराशा व्यक्त गरेका थिए । उनले भने, ‘आयोगरुपी बच्चा पैदा भयो, तर जेनतेन सास मात्रै लिएको अवस्था छ । काम गर्ने वातावरण छैन, कर्मचारी बस्न चाँहदैनन् । आयोग यत्तिकै चल्ला भन्ने सरकारको मानसिकता देखिन्छ । विना बजेट आयोग थपना मात्रै राखिएको छ । यसका लागि सामूहिक पहल चाहिन्छ । मुड्की बजारेर भए पनि बजेट ल्याउन सक्नुपर्छ ।  थारु आयोगकी सदस्य शान्ति मोदीले आफ्नो टिम आएको चार वर्षमा बल्ल अरु पनि आयोगका सदस्यलाई वार्षिकोत्सवमा बोलाउन सकिएकोमा सन्तोष मानिन् । उनले अनुवांशिक श्रोतमा पहुँच, लाभको बाँडफाँट र थारु समुदायको सहभागिता विषयक् कार्यपत्र पनि प्रस्तुत गरिन् ।  थारु कल्याणकारिणी सभाका केन्द्रीय अध्यक्ष प्रेमीलाल चौधरीले थारु आयोगको कामको पुनरावलोकनको समय आएको तर केही काम नभएकोमा चिन्ता व्यक्त गरे । थरुहट संघर्ष र बलिदानीबाट आयोग गठन गरिएकोमा सबै एकजुट भएर आयोगलाई डोर्याउनु आजको आवश्यकता भएको उनको जिकिर थियो ।  थारु आयोगका सदस्य भोलाराम चौधरीबाट स्वागत मन्तव्य व्यक्त गरिएको कार्यक्रमको अध्यक्षता थारु आयोगका कावा अध्यक्षता सुबोधसिंह थारुबाट भएको थियो ।  विभिन्न व्यक्तिलाई सम्मान गरिने सोही कार्यक्रममा सदस्य मोदीले आगामी माघको अवसर पारेर थारु आयोगबाट सम्मान गरिनेहरुको नामावलीबारे पनि जानकारी दिइन् ।  थारु रत्नबाट सम्मान गरिनेमा लेखक लक्ष्मण चौधरी (उदयपुर), डा गोपाल दहित (बर्दिया), श्रीपति चौधरी (दाङ), हृदयनारायण चौधरी (बारा), स्वर्गीय भानुराम माझी (मोरङ), परशुराम भगत (मोरङ), सत्यनारायण चौधरी (मोरङ), हौली परिवार (सुनसरी, मोरङ), पहुरा दैनिक (कैलाली) लगायत छन् ।  यसैगरी थारु गौरवबाट सम्मान गरिनेमा थारु आयोगका पूर्व अध्यक्ष विष्णु चौधरी, सदस्य डा उमाशंकरप्रसाद चौधरी, सत्यमोहन जोशी (सप्तरी), युनिका नेपाल (बर्दिया), भगवती चौधरी (सुनसरी), रामसागर चौधरी (सुनसरी), सिनेकर्मी परशुराम चौधरी (सुनसरी), कन्नुलाल चौधरी (मोरङ), देवकुमार चौधरी (झापा), पत्रकार लक्की चौधरी (कैलाली), शान्ति चौधरी (बारा), शान्ता चौधरी (दाङ), प्रदीप भगत (सुनसरी) रहेका छन् ।  त्यस्तै, थारु आयोगका पूर्व सचिव कृष्णकान्त उपाध्याय, पूर्व शाखा अधिकृत जागुराम चौधरी लगायत कर्मचारीलाई प्रोत्साहन पुरस्कार दिइने बताइएको छ । यो अन्तिम सूची नभएकाले पछि अरु पनि थप्न सकिने सदस्य मोदीले जानकारी दिइन् । यसअघि थारु आयोगले पहिलो पटक २०८० सालमा विभिन्न व्यक्तिलाई सम्मान गरेको थियो ।  

भाषा जगेर्नाको लागि समयमै ब्युँझौं

भाषा जगेर्नाको लागि समयमै ब्युँझौं

१८८ दिन अगाडि

|

१४ कात्तिक २०८२

नेपाल विविधता र संस्कृतिको बगैंचा हो । यस बगैंचामा तामाङ समुदायको भाषा, संस्कृति र पहिचानले विशेष स्थान ओगटेको छ । तामाङ भाषा केवल संचारको माध्यम होइन; यो समुदायको आत्मा हो, इतिहास हो र पहिचानको जरो हो । तर विडम्बना यो छ कि समय र प्रविधिको छालमा आज यो भाषा क्रमशः हराउँदै गएको छ । गाउँका पुराना बुबा–आमाले बोल्ने तामाङ भाषाको आवाज शहरका छोराछोरीले बुझ्दैनन् । यो स्थितिले हामी सबैलाई सोच्न बाध्य बनाएको छ— तामाङ भाषा कसरी बचाउने र यसका लागि कसले कस्तो भूमिका खेल्ने ? भाषा हराउनु भनेको केवल शब्द गुमाउनु होइन, सम्पूर्ण संस्कृति, सोच्ने तरिका र इतिहास गुमाउनु हो । जब कुनै भाषा हराउँछ, त्यो समुदायको सामूहिक स्मृति पनि मेटिन्छ । तामाङ भाषामा लुकेका कथा, गीत, ऐतिहासिक गौरव, उसको सभ्यता र जीवनशैलीका प्रतीकहरू हराउँछन् । त्यसैले तामाङ भाषाको संरक्षण केवल तामाङहरूको मुद्दा होइन, यो नेपालको सांस्कृतिक अस्तित्वसँग सम्बन्धित विषय हो । तामाङ भाषा ताम्सालिङ क्षेत्रका जनताको जीवनको अङ्ग हो । यस भाषाले केवल गाउँघरको बोली होइन, समाजको आत्मा बोलेको छ । तर विगत केही दशकयता, नेपाली र अंग्रेजी भाषाको प्रभावले यो भाषालाई ओझेलमा पारेको छ । विद्यालयहरूमा मातृभाषा शिक्षाको अभाव, शहरमा रोजगारीका लागि गाउँबाट हुने पलायन र डिजिटल माध्यममा तामाङ भाषाको न्यून उपस्थितिले भाषा सिक्ने र प्रयोग गर्ने अवसर घटाएको छ । तामाङ भाषा बचाउन सबै तहका व्यक्तिहरूले जिम्मेवारी लिनुपर्छ । पहिलो जिम्मेवारी समुदाय आफैंको हो । समुदायका अभिभावकहरूले आफ्ना छोराछोरीलाई बाल्यकालदेखि नै तामाङ भाषामा कुरा गर्न प्रोत्साहित गर्नुपर्छ । घरमा मातृभाषा बोल्ने वातावरण सिर्जना गर्न सकियो भने, भाषा स्वाभाविक रूपमा जोगिन्छ । भाषाको शिक्षा पहिलो विद्यालय घर हो भन्ने कुरा बिर्सिनु हुँदैन । दोस्रो जिम्मेवारी शिक्षालय र शिक्षण प्रणालीको हो । विद्यालयले मातृभाषामा प्रारम्भिक शिक्षा दिने नीति प्रभावकारी रूपमा लागू गर्नुपर्छ । नेपालले बहुभाषिक शिक्षा नीति बनाएको छ तर यसको कार्यान्वयन कमजोर छ । स्थानीय तहले विद्यालयमा तामाङ भाषाका शिक्षक नियुक्त गर्न, पाठ्यपुस्तक विकास गर्न र बालसाहित्य सिर्जना गर्न ठोस पहल गर्नुपर्छ । तेस्रो, राज्यको भूमिका निर्णायक हुन्छ । संविधानले भाषिक विविधताको संरक्षणको अधिकार दिएको छ, तर नीति र बजेटले त्यो प्रतिबद्धता प्रतिबिम्बित गर्न सकेको छैन । राज्यले मातृभाषा सञ्चारका माध्यमहरूलाई प्रोत्साहन गर्नुपर्छ— जस्तै रेडियो, टेलिभिजन, अनलाइन प्लेटफर्महरूमा तामाङ भाषामा कार्यक्रम उत्पादन गर्न सहयोग गर्नुपर्छ । त्यसैगरी, तामाङ भाषाका लेखक, गायक र कलाकारहरूलाई अनुदान र प्रोत्साहन दिनुपर्छ, जसले भाषाको सौन्दर्यलाई जनतासम्म पुर्याउँछन् । चौथो, बौद्धिक वर्ग, लेखक, साहित्यकार र पत्रकारहरूको भूमिका पनि महत्वपूर्ण छ । उनीहरूले तामाङ भाषामा साहित्य, कविता, कथा र नाटक लेख्नुपर्छ । भाषाको विकास लेखन, प्रकाशन र अभिव्यक्तिका माध्यमबाट हुन्छ । युवाले सामाजिक सञ्जालमा तामाङ भाषामा सामग्री सिर्जना गर्नुपर्छ— भिडियो, गीत, ब्लग, वा पोडकास्ट जसले नयाँ पुस्तामा गर्व र लगाव जगाउँछ । पाँचौं, स्थानीय सरकार र गैरसरकारी संस्थाहरूले भाषा संरक्षणका कार्यक्रम सञ्चालन गर्न सक्नुपर्छ । भाषिक उत्सव, कविता प्रतियोगिता, सांस्कृतिक मेला र तामाङ दिवसजस्ता कार्यक्रमले समुदायमा जागरण ल्याउँछ । तर केवल कार्यक्रम र नारा पर्याप्त हुँदैन । भाषा जोगाउन भावना र अभ्यास चाहिन्छ । जबसम्म मानिसहरू आफ्नो भाषामा गर्व गर्दैनन्, तबसम्म त्यो भाषा बाँच्दैन । तामाङ युवाहरूले आफ्नो पहिचानको हिस्सा भनेर भाषालाई पुनः आत्मसात् गर्नुपर्छ । शहरमा पढ्ने वा विदेश जाने तामाङहरूका लागि पनि मातृभाषा सिक्ने र प्रयोग गर्ने अवसर सिर्जना गर्न सकिन्छ— जस्तै अनलाइन कक्षा, मोबाइल एप वा युट्युब च्यानलमार्फत । भाषा संरक्षण केवल अतीतको सम्झना होइन, भविष्यको निर्माण हो । यदि हामीले आज भाषा जोगायौं भने, हाम्रो सन्तानले भोलि आफ्नो जरा बिर्सिँदैन । तर यदि हामी मौन रह्यौं भने, केही दशकपछि तामाङ भाषा इतिहासका किताबमा मात्र बाँकी रहनेछ— “कहिलेकाहीँ बोलिने एउटा पुरानो भाषा” भनेर । त्यसैले हाम्रो आव्हान छ— तामाङ भाषा जोगाउनु सबैको साझा जिम्मेवारी हो । यो केवल भाषाविज्ञ अमृत योन्जन तामाङ, तामाङ डाजाङ परिवार र केही तामाङ समुदायको हैन, यो सम्पूर्ण नेपाली समाजको सांस्कृतिक गौरव हो । भाषाको रक्षा गर्नाले विविधता बचाउँछ; विविधता बचाउँछ भने मात्र हाम्रो अस्तित्व बलियो हुन्छ । साभारः डाजाङको २१८ औं अंकको सम्पादकीय

दुलारी छोरी

दुलारी छोरी

१९२ दिन अगाडि

|

१० कात्तिक २०८२

                                                                                                                                                                                       स्केचः एआइ नवराज चौधरी  उनी घरबाट रन्थनिएर यसरी निस्किन् कि मानौं अब उप्रान्त, उनी त्यो घरमा कहिल्यै फर्किने छैनन् । डेढ वर्षको सानो छोरालाई छातीमा च्यापी साथै अर्को हातले बडेमानको सुट्केस डोर्‍याउँदै उनले अटो रिक्सा रोकाइन् । सुस्तरी हावाले अटो रिक्सामा उनको रेशमजस्तो नरम केश र सारीको पच्छ्यौरी फरफराइरहेको थियो । उनको आँखामा खपि नसक्नुको आक्रोश र इख झल्किरहेको देखिन्थ्यो । एक हातले काखको छोरोलाई दरो च्याप्दै उनी, अर्को हातले पच्छ्यौरीलाई तानेर सारीको सप्कोमा मिलाइन् । सल्बलाइरहेको नरम घुंम्रिएको केशलाई घरी घरी कान पछाडी बटार्न बिर्सेकी पनि होइनन् । सोंचमग्न अवस्थाकी उनी अझसम्म शान्त देखिन्न थिइन् । जाबो ५ किलोमीटर जस्तो दुरी रहेको माइतीघर पुग्न पनि उनलाई आज निकै बेर लागेको भान भैरहेको थियो । माइत पुग्नासाथ आमा र भाउजूसित अनगिन्ती गुनासो पोखेर मन हलुका पार्ने उनको चाहना तीब्र भइरहेको थियो । माइतघर अगाडि पुग्नेबित्तिकै उनी हलुका अनि फूरूङ्ग देखिइन् । रिक्सालाई बिदा गरिवरी उनी हतारिंदै घरको डोरबेल थिचिन् । तर भित्रबाट कोही निस्केनन्, केही चालचुल पनि सुनिएन । निकै बेरपछि काम गर्ने दिदी जीताले ढोका खोलिन् ।  लगातार तीन छोरा पछिकी कान्छी छोरी, सबैकी प्यारी हुने नै भइन् अनि उनको नामै प्रिया । उनले रोजेको, खोजेको कुरामा त्यहाँ कसैको ढिपी चल्दैनथ्यो । त्यही स्वतन्त्रताको प्रतिफल भएको थियो, उनको जीवनसाथी रोजाइ, क्षेत्री घरानाकी छोरी भएर पनि उनले थारू केटा रोजेर परिवारको कडा विरोधको वावजुद उनले श्रवण चौधरीसंग प्रेम-विवाह गरिन् । त्यस व्यहोरामा माइती पक्ष प्रियासित सारै रिसाएका थिए । यहाँसम्म कि उनलाई माइत आउन समेत बन्देज गरिएको थियो । दुई वर्षसम्म त माइतीले उनको खोज-खबरै गरेनन् । तर एकमात्र छोरी त्यसमा पनि दुलारी अनि प्याउली, माइती कतिञ्जेल रिसाउन सक्थे र ? प्रियाको छोरो जन्मेपछि भने, माइली भाउजुको प्रयासले पोहोर सालबाट प्रियालाई माइतको ढोका खुला भएको थियो । खासै टाढा नभएकोले उनी खबरै नगरिकन पनि माइत आईजाई गरिररहने गर्थिन् । ठूल्दाइ आफ्नो परिवारसहित क्यानडामा बस्थे भने कान्छा दाइ चाहिँ अष्ट्रेलियामा थिए । माइतीको दुलारी उनी माइत आए पिच्छैको खातिरदारी साथै पाइने कोशेली पातले पनि पल्केकी थिइन् ।  क्षेत्रीको छोरी, थारू संस्कार, रितीरिवाज अंगाल्न सुरु सुरुमा प्रियालाई अप्ठ्यारो नपरेको होइन । तर अब उनी अभ्यस्त भैसकेकी थिइन् । यद्यपि बेला-बेलामा माइतमा भोगेकी स्वतन्त्रताले उनलाई थारू बुहारीले निर्वाह गर्नुपने भूमिका चाहिँ बिर्साउने गर्थ्यो । त्यसप्रति परम्परागत सोंच भएकी सासु आमाको गुनासो चैं अलिक बढी नै आउने गर्थ्यो । सासुको मीन-मेखले कहिलेकाहीं प्रियालाई झर्को पनि लाग्थ्यो । त्यही विषयलाई लिएर यस पटक लोग्नेसित उनको ठाकठूक परेको थियो । श्रवणले पनि उल्टै आमाको पक्ष लिएर प्रियालाई एक झापड लगाएका थिए । लोग्नेको त्यो अनपेक्षित हर्कतले उनी स्तब्ध बनेकी थिइन्, मर्माहत थिइन् । क्रुद्ध भएकी प्रियाले अब आफ्नै खुट्टामा उभिएर स्वतन्त्र बाँच्ने विचार गरेकी थिइन् । अरू नभए पनि उनको सहारा आमा, दाजु-भाउजूहरु छन् भन्ने कुरामा उनलाई ढुक्क थियो । उनलाई विश्वास थियो, उहाँहरुबाट पक्कै साथ पाउनेछिन् भनेर !  प्रिया माइत आएको दुई दिन भैसकेको थियो, तापनि  आमा-भाउजूसित तिनको मन माझ्ने धोको अधुरै थियो । खोइ किन, यसपटक दाजु, भाउजू, भदा, भदैनीले तिनीसित त्यति खुलेर बातचीत गरेका थिएनन् । सबैजना विभिन्न व्यस्तताको बहाना गर्दै प्राय उनिबाट पञ्छिए झैँ लाग्दथ्यो । आमा समेतले पनि उनीसित धेरै कुराकानी गर्न नचाहेको कुरा प्रियाले नबुझेकी होइनन् ! त्यसैले होला, यसपल्ट माइतमा उनी आफू बेवास्ता र अपमानित भएको महसुस गर्न थालेकी थिइन् । आज पनि स-परिवार बिहे भोजमा गएका थिए ।  ' कस्तो त ! जान्छेस कि भनी आमाले समेत एक-वचन सोध्नु भएन । मन पनि कति कठोर ? जीतालाई चैं लानु हुने मलाई नहुने रे ? आखिरमा काम गर्ने मान्छे चाहिँ यहाँका सदस्य रैछ्न्, म पो रैनछु ! आ, कसैको नभा'को निम्ता ? बिहेपछि माइतमा छोरीको हक लाग्दैन भन्थे, हो रैछ ! यिनीहरूको घर रुङ्न पो म आ'की रैछु !' प्रियाको मनमा अनेक कुराहरु मडारिरहेका थिए । उनी खिन्न र उदास थिइन् । कता-कता उनी निस्सासिए झैँ पनि देखिन्थिइन् । आज किन-किन प्यारो माइतीघर पनि उनलाई बिरानो र नरमाइलो लागिरहेको थियो । छेवैमा मस्त निन्द्रामा छोरालाई घरि घरि मुस्कुराएको देखेर प्रियाको मन त्यतै बग्यो । छोरोको मुस्कानले एक पलको लागि भएपनि उनी आनन्दित हुन पुगिन् । उनले छोरालाई निकै बेर नियालिन् । मुस्कान पनि ठ्याक्कै बाउको जस्तै ! त्यही मुस्कानले त तिनी फसेकी थिइन् । उनलाई त्यो मुस्कान कूटिल र निकै खतरनाक लाग्न थाल्यो । ' निष्ठूरी ' प्रियाको वाक्य एकाएक फूट्यो ।  विगत घटेका दृश्यहरु प्रियाको आँखामा सचित्र बनेर चल्न थाल्यो । तिनलाई निकै राम्रो लागेर, त्यो दिन रहरले छोराको लागि पाँच-छ जोर लुगा किनेर ल्याएकी थिइन् । त्यही फूर्माइसप्रति सासुले आपत्ति जताएकी थिइन् ।  'बेकार मे यत्ना फजूल खर्चा  ? बढेवला धियापुता याइछ, एक-दुई जोर नौवा किन्त्यै त, भ्या जेत्यै ?' (बेकारमा यत्तिको फजूल खर्च ? बढ्ने केटाकेटी हुन्, एक-दुई जोर लुगा किनेको भए, भै हाल्ने ?)   प्रियालाई सासुले कटाक्ष गरेजस्तो लाग्यो अनि उनी पनि सासुलाई कर्कश वचन फर्काउन बाँकी राखिनन् ।  "डाहा पनि कति लागेको हौ ? मैले मेरो छोरालाई जेसुकै किनि दिऊँ ? कसैसित हात पसारेकी छुइन क्यारे ? सम्पत्ति भएर पनि राम्रो खान-लाउन नजान्ने, यस्ता गंवारहरुलाई जीउनुको अर्थ के थाहा ?  धन्न मेरो माइती छन् र मैले इच्छा अनुसार बाँच्न पाएकी छु । " कति दिन देखिको उकुस मुकुस कुण्ठालाई त्यसबेला उनले पोखी पठाइन् । त्यो दिन मर्यादा भूलेर प्रिया सासुसित चर्‍चरी बाझेकी थिइन् । त्यही विवाद बढ्दै जाँदा श्रवणले प्रियालाई एक थप्पड हिर्काएका थिए ।  अहिले मन हलुका भएर होला, ती कुराहरु सम्झिदै उनी ग्लानी महसुस गर्न पुगिन् । "सासु आमाको बोली नै रूखो छ भन्ने कुरा मैले नजानेकी हुँ र ? उहाँले फजूल खर्च गर्नुहुन्न पो भन्नु भएको  ! मै मोरीलाई त्यो दिन कुन अलक्षिना लागेको थियो कुन्नी ? किन जवाफ फर्काएछु नी ? मेरी आमा पनि त कडा छिन् । यदि उहाँले  भाउजूहरुबाट त्यस्तो अपमान सहनु पर्‍यो भने, के दाजुहरु चुप लागेर बस्नुहोला त ?" यस्तै कुरा खेलाउँदै जाँदा उनलाई नगर्नु पर्ने व्यहोरा गरि पठाएछु भनी पछुतो लागेर आयो । त्यो थकथकी भुलाउन प्रिया अवचेतन अवस्थामै, कोठाको कुनामा रहेको टेलिभिजन खोल्न पुगिन् । त्यहाँ एक पलेटी संगीत कार्यक्रममा गीत गुञ्जिरहेको थियो... " सोँचे जस्तो हुन्न जीवन, सम्झे जस्तो हुन्न जीवन   जस्तो भोग्यो उस्तै हुन्छ, देखे जस्तो हुन्न जीवन.."  प्रिया त्यो सुमधुर गीत-संगीतमा मग्न भइन् । उनलाई  गीतका ती मर्मस्पर्शी शब्दहरुले कता कता आफैंलाई सान्त्वना दिइरहेको झैँ लागिरहेको थियो । एकाएक डोर-बेलको आवाजले प्रियाको ध्यान तान्यो । ढोका खोलेर हेर्दा,  बाहिर श्रवण ठिङ्ग उभिएको थियो । अप्रत्याशित, आफ्नो लोग्नेलाई सामुन्ने पाउँदा एकपल त प्रिया उज्याली भइन् तर छिनभरमै ठूस्किएको नाटक गर्दै बोल्दै नबोली फर्किन् । ढोका ढप्काएर, श्रवण पनि आफ्नो स्वास्नीलाई पच्छ्याउँदै भित्र पसे । भित्री कोठामा मस्त निदाइरहेको छोरोलाई देखेर श्रवण पुलकित हुँदै निहार्न पुग्यो । उसलाई छोरालाई दुलार्न, म्वाइ खान मन नभएको होइन तर निन्द्रा खल्बलिएला भन्ठानी उनले छोरालाई चलाएनन् बरु त्यो अबोधलाई मायालु नजरले एकटक लाएर निकैबेर नियाली रहे । उसको अनुहारमा गद्गदी खुशी झल्किएको थियो ।  एक्कासी भाँडाकुँडाको ठ्याङ्ठूङ सुनेर श्रवण सरासर भान्सा कोठातिर पसे । प्रिया दुईवटा कपमा चिया छानिरहेकी थिइन् । श्रवणले मौका छोपेर पछाडिबाट प्रियालाई अंगालोमा बेर्दै भने "अझैसम्म रिसा'की छ्यौ ..?" प्रियाले पनि त्यही मौकामा श्रवणको औंला तातो चियामा चोपी दिइन् । प्रियाको त्यो बदला भाव श्रवणले राम्ररी बुझेका थिए । वास्तवमा प्रियाको त्यस्तै नखरामै त ऊ फिदा थियो । "तिमीबिना घर सुनसान छ, प्रिय !" रोमाञ्चित हुँदै उसले प्रियालाई आफूतिर फर्काएर बलिया अंगालोमा बेरे । प्रिया पनि लजाउँदै लोग्नेको छातीमा आफ्नो अनुहार लुकाउन पुगिन् । ढोकाको ताल्चा लगाइवरी "छिमेकीकोमा चाभी छाडेकी छु ।" को चिट प्रियाले छेस्किनीमा अल्झाइ दिइन् अनि छोरा बोकेर लोग्नेको पछि लागिन् । बडेमानको सुटकेश मोटरसाइकलको पछाडि बाँधिएको थियो । प्रियाले एक हातले छोरा च्यापेकी थिइन् भने अर्को हातले श्रवणलाई समातेर लिपिक्क टाँसिएकी थिइन्, बस्ने जगह साँघुरो जो थियो ! गुडिरहेको गाडीमा दुबै दम्पती हर्षित देखिन्थे । दुबैको ढुक-ढुकीमा सुमधुर गीत-संगीतको आभास भैरहेको थियो .. "नयाँ नयाँ सजाउँ है संसार,  सुख दुख बाडौं है मिलेर  घामको पहिलो किरण, छुन्छ गरा-गरा  आफ्नै गाउँ सारा, आफ्नै डाँडा-काडा..."  ओछ्यानमा सुटकेशका लुगाहरु छरपस्ट थिए । लुगाहरु मिलाउँदै गरेकी प्रियाले माइतमा भोगेकी कुराहरू सम्झिन पुगिन् । उनलाई कता-कता नमिठो लागेर आयो अनि मनलाई दरो बनाउँदै मनन गर्न थालिन् । "आ, मलाई के कमी छ र ? यो घर मेरो हो । मेरो घरको हरेक सुख दु:ख मैले नै सकार्ने हो । बेकारमा घरको कुरा बाहिर किन फैलाउनु ? आफै हेपिनु रैछ !" लुगा पट्याउँदा पट्याउँदै अचानक उनले एउटा चिट्ठी भेटिन्।  मेरी प्यारी छोरी प्रिया तिमी हामीसित सारै रिसाएकी छौ भन्ने कुरा मलाई थाहा छ । छोरी तिम्रो बाबा बित्नु हुँदा तिमी बालखै थियौ । तिम्रा दाइहरु भने अलिक हुर्किसकेका थिए । हाम्रो दु:खका दिनहरू तिमीले त्यति सारो थाहा पाएनौ, जति तिम्रा दाइहरुले भोगे । एक्ली चेली, त्यसमा पनि कान्छी भएकीले  दाइहरुबाट तिमीले निकै लाड-प्यार पायौ । तिम्रो हरेक चाहना पूरा गर्न उनीहरूले कुनै कसर बाँकी राखेनन् । हाम्रो मञ्जुरी बेगर तिमीले आफू-खुशी प्रेम विवाह गर्‍यौ । त्यसमा हामीलाई सारै चित्त दुखेको थियो । तर ज्वाईं सारै भलाद्मी हुनुहुँदो रहेछ । अब हाम्रो कुनै गुनासो छैन । हेर छोरी, कुनै बा-आमा, माइतीले आफ्नो छोरीचेलीको घर बिग्रेको देख्न चाहदैनन् । जुन दिन तिमी सासुसित झगडा गरेर घर छाडेकीथ्यौ, तिमी माइत पुग्यौ-पुगेनौ भनेर ज्वाईंले फोन गर्नु भएको थियो । ज्वाईं कहिल्यै झूटो बोल्नु हुन्न भन्ने कुरा तिम्रो दाइलाई थाहा रैछ । सम्पुर्ण कुरा बुझ्दा, तिम्रै गल्ती देखियो अनि तिमीलाई सबक सिकाउन हामी बाध्य भयौं । तिमी अवश्य माइत आउँछ्यौ भन्ने कुरा जानेरै त्यतिबेला हामी सासू-बुहारी किनमेल गर्ने भनी बजार निस्किएका थियौं । जीतालाई ढोका खोल्न निकैबेर लाग्नु, हामीबाट तिमी बेवास्ता हुनु, त्यो योजना थियो । छोरी आडम्बर भन्दा सामान्य जीवनयापन उत्तम हुन्छ । हो, त्यो सामान्यत: तिम्रो घरमा छ । बिचरी सम्धिनीज्युलाई बैंशमै विधवा हुनुपर्यो तर पनि उहाँ डगमगाउनु भएन । वास्तवमा उहाँकै अडान र दृढताले ज्वाईंको पैतृक अंशमा पक्षपात हुन पाएन, होइन भने त्यतिका बाठा देवर-जेठाजुले सम्पत्ति हत्याउन पनि सक्थे । सम्धिनी एक्लैले ज्वाईंलाई पढाइ-हुर्काइ गराउनु भयो । उहाँले अहिलेसम्म सम्पति नमासी राखि दिनुभएको छ, जुन तिमीहरूकै लागि हो । तिमी सारै भाग्यमानी छौ छोरी । एक्लो छौ, त्यसमा पनि सानो सुखी परिवार ! हेर छोरी, तिम्रो सासुआमा देवी हुन् । जन्म दिने आमा म भएपनि कर्म दिने आमा उहाँ हुनुहुन्छ । जुन आँखाले तिमी मलाई हेर्छ्यौ, त्यही आँखाले एक पटक उहाँलाई पनि हेर त, तिमीलाई तिम्रो घर-संसार औधी प्यारो लाग्नेछ । वास्तवमा तिम्रो घर स्वर्ग हो छोरी । त्यसलाई कायमै राख्ने जिम्मा अब तिम्रो हो । यसपल्ट  हामीले तिम्रो चित्त सारै दुखायौं, त्यसमा माफ गरिदेऊ है छोरी ! चिट्ठी पढि सिध्याउँदा प्रियाको गहभरी आँसु थियो । टेबुल छेउमा रहेको मोबाइलतर्फ प्रियाको हात एकाएक लम्कियो । विराटनगर-३, भुपी मार्ग साभारः 'उदघोष' दैनिक

देउखुरी सामुदायिक पुस्तकालयको हरिबिजोग देख्दा मन रुन्छ

देउखुरी सामुदायिक पुस्तकालयको हरिबिजोग देख्दा मन रुन्छ

१९४ दिन अगाडि

|

९ कात्तिक २०८२

हरि पोख्रेल आजका मितिसम्म मेरो तीन दर्जन बढी संस्थाहरुमा सहभगिता रह्यो जसमध्ये २७ वटा संस्थामा पदाधिकारीको भुमिकामा रहेर काम गरें भनें चारवटा संस्थाको नेतृत्व पनि लिएँ । यी मध्ये देउखुरी सामुदायिक पुस्तकालय  गढवा र देउखुरी साहित्य मञ्च, लमहीमा  मेरो अलि धेरै लगानी छ। मेरै नेतृत्वमा भवन निर्माण पनि भए र यी दुबै संस्थाहरु राष्ट्रिय स्तरमा धेरै हिसाबले परिचित पनि छन् । यो मेरो आत्मालाप मात्र नभएर आत्मसन्तुष्टि पनि हो। अब प्रसङ्गमा जाऊँ:  पुस्तकालयमा नेतृत्व लिएर तीन वर्ष पछि मैले उपाध्यक्षलाई जिम्मेवारी सुम्पिएको हुँ। त्यो बेला कार्यक्रमबाट बचाएर राखेको ७ लाख पचासी हजार रुपियाँ बैंक खातामा सुम्पिएर संस्था दिगोरुपमा अगाडि बढोस्  भन्ने कामना पनि गरेको हुँ।  स्मरण रहोस् : संस्था दर्ता गर्दा मैले आफ्नो निजी खर्च गरेको हुँ, पुस्तकालय निर्माण गर्दा ३४ दिन बिदा लिएको हुँ, समुद्घाटनका बेला समय जुधेर आयोगको परीक्षा छुटाएको हुँ र दौडधुपमा खुट्टा मर्किएर हस्पिटल पनि चाहारेको हुँ। तेस्रो पटक पदाधिकारी चयन हुदा संस्था पुरै राजनीतिमय बन्यो। संस्थापकको कुरै छाडौं,संस्थागत मूल्यमान्यता र न्युनतम परामर्शका च्याप्टरहरु  समेत समाप्त भए । सबै राजनितिक दललाई भाग पुग्नेगरी पदहरु बण्डा लगाइयो र दुई धारको घमासान घोषणा भयो ।जब निर्वाचनको चरमोत्कर्ष देखा पर्यो तब केही महानुभावहरुमा "संस्थापक अध्यक्ष पनि छ  नि त "भन्ने चेत खुल्यो र लगत्तै फकाउने खालका भेटघाट शुरु भए । त्यसपछि के भयो भन्न जरुरी छैन। मूलत: यो समाजमा महिलाले नेतृत्व लिनु राम्रो पक्ष थियो र उहाँको जित भएपछि म जति खुसी भएँ त्यति आशावादी पनि भएँ। अघिल्लो समितिका आठओटा कमजोर पक्षको बारेमा जानकारी पनि गराएँ र सुधार गर्ने शुभकामना पनि दिएँ। दुर्भाग्य त्यो कार्यकालमा र त्यो अघिको कार्यकालका ६ वर्ष सम्मका बैठकहरुमा मलाई कुनै आमन्त्रण छैन।( यो कुरा झुट बोल्न हुदैन कि  पुस्तकालयका बाहिरी कार्यक्रमहरूमा  शतप्रतिशत निमन्त्रणा छ।) तर  यो पनि बुझ्न जरुरी छ कि बैठक योजना निर्माणको बसाई हो जसमा संस्थापकको उपस्थिति अनिबार्य जस्तै मानिन्छ। कार्यक्रम भनेको निम्ता हो फुर्सद भए जान सकिन्छ नत्र नजादा पनि केही बिग्रन्न। संस्थाका बारेमा केही  प्रश्नहरु अघिल्लो कार्यकालदेखि उठ्न थालेका हुन् ।संस्थापक हुँ भन्ने नैतिकताका आधारमा मैले धेरै कुरा सार्वजनिक गरिन र अहिले पनि गर्दिन। सबै प्रश्नहरु सत्यमा आधारित नहुन पनि सक्छन भन्ने हेक्का मैले राखेकै छु।  दोस्रो कार्यकालका अध्यक्षलाई पुस्तकालयमै पुगेर केही गुनासो राक्गेको हुँ।तेस्रो कार्यकालकी अध्यक्षलाई पनि तपाईको समितिमाथि प्रश्नहरु छन भनेर जानकारी गराएको हुँ र एउटा विशेष कार्यक्रमको आयोजना गर्न अनुरोध पनि गरेको हुँ ,हुन्छ पनि भन्नु भएको हो तर कार्यक्रम भएन बरु एकैपटक एक्कासी  अधिवेशन भयो। सरोकारवालाबाट मसङ्ग आएका केही प्रश्न जुन धेरैजसो आर्थिक जिम्मेवारीसङ्ग जोडिएका छन्  तिनको जवाफ अब कसले  दिनुहुन्छ मलाई थाहा छैन । पुस्तकालय आज चौथो अध्यक्षको खोजिमा छ ।अध्यक्षको पद हाइलाइटेड छ भनौं अध्यक्षको निकै ठुलो महत्व छ। निर्वाचन समिति बनेको छ। गत असारमा कर्मचारीले मलाई पुस्तकालयमा बोलाई  आफ्नो निजी पैसाले चिया खुवाउदै "यो अवस्थामा हामीले कार्यसमितिको साथ पाएनौं,तलब पाएनौं,हामी एक्लै भयौ , बोलाउदा कोही आउनुहुन्न, यही बाटो हिड्नुहुन्छ, परबाट हेर्नुहुन्छ, कोही सदस्यले त एक वर्षदेखि पाइला टेक्नुभएको छैन ,अब पुस्तकालय बन्द गरौं कि के गरौं  संस्थापक अध्यक्षलाई नसोधेर कसलाई सोधौं"भनेर  गुनासो गरेपछि  मेरो इज्जतका लागि भए पनि एक महिना ताला नलगाऊँ  म केही गर्छु भनेर मैले बोलेपछि पुस्तकालय ताला लाग्नबाट बचेको हो। मैले यो कुरा किन गर्दैछु भनें अबका पदाधिकारीका दावेदार ब्यक्तिहरुले पुस्तकालयको औचित्य, उद्देश्य र दिगोपना सम्झिनु पर्नेछ, इतिहास जति निमोठेपनि मर्दैन भन्ने बुझ्न जरुरी छ। नेतृत्व पो मेरो थियो, समर्पण र सहयोग त  आजीवन सदस्य,सहयोगदाता ,सल्लाहकार र   सिङ्गो समाजको हो नि!  राजनितिक चेतना म मा पनि छ । जति कुरा गरेपनि त्यहाँ जाने ब्यक्ति राजनितिक आस्था भएकै जाने हुन्  । तर राजनीति गर्नेहरुले कम्तिमा यो कुरा सोच्नु पर्थ्यो कि हामीले पठाएको मान्छे यो संस्थाका लागि योग्य छ । तर त्यसो हुदै भएन ।एउटा दलले पठाएको उपाध्यक्षले अहिले अध्यक्ष सम्हाल्नु पर्थ्यो अहँ सम्हाल्नुभएन,अध्यक्षको अनुपस्थितिमा जवाफदेही पनि बन्नुभएन।अर्को दलले लगातार सचिव पठायो, दुई कार्यकाल सचिव सम्हालेपछि तेस्रो कार्यकालमा सचिवको चुनाव लड्न जरुरी थिएन ,सचिव बन्नेले अध्यक्ष बन्ने हिम्मत गर्नुभएन बरु १० वर्ष बिताएर भर्र्याङ्  बनेको  आफ्नो होस उतार्नुभयो, झसङ्ग हुनुभयो। अर्को दलले कोषाध्यक्ष बनाएर पठायो । कोषाध्यक्षको पदीय दायित्व थियो ?अहँ थिएन उहाँले अझैपनि धेरै प्रश्नको जवाफ दिन सक्नुहुन्न ?  उपस्थिति पल्टाएर हेर्नेभो भने सदस्यको  उपस्थिति टिठ लाग्दो छ। कतिलाई त म कुन जिम्मेवारीमा छु भन्ने पनि थाहा रहेनछ ,नाम नभनौ ।संस्थामा  फरक पदहरु किन राखिन्छन ? यति कुराको हेक्का संस्थामा काम गर्छु भन्नेले हेक्का राख्नु पर्दैन ? मेरो अनुरोध छ: राजनितिक चेतना लिएर संस्थामा जानुस्  तर लापर्बाही नगरिदिनुस। यदी तपाईं योग्य र दक्ष हुनुहुन्छ भनें ५ जनाको लस्करमा लाइन लाग्नै पर्दैन । सोंच्नुस "कतै म कुनै कारणले अयोग्य छु कि? "अहिले उपाध्यक्ष हुनेले अर्को पटक अध्यक्ष सम्हाल्नुस, सचिव उपाध्यक्ष बन्नुस तर पटक पटक सचिव नबन्नुस ,आर्थिक क्षमता भएकोले मात्र कोषाध्यक्ष सम्हाल्नुस, सदस्य बन्नेहरुले एक एक वटा कार्यक्रम र कक्षहरु सम्हाल्नुस ,सद्स्य भएकोमा गर्व गर्नुस। आगामी दिनमा त्यसो भएन र गरिएन भनें विधान परिवर्तन हुनेछ र " कुनै पनि आजीवन सदस्य संस्थाको पदाधिकारी बन्न सक्नेछ" भन्ने प्रावधान ल्याइनेछ । म बाहिर नभएको भए सायद यो प्रस्ताव यसै अधिवेशनमा ल्याउथे । त्यसैले साथीहरु योजना बनाउनुस, ठाउँ ठाउँमा प्रस्ताव पेश गर्नुस। आजीवन सदस्यको रकम एक रुपियाँ पनि नमास्नुस। अक्षयकोष स्थापना गर्नुस।यो संस्था कसैले मिहिनेत गरेर जन्माएको हो भनेर सोंच्नुस, पुस्तकालय स्थापना गर्दाको पुस्तकमा के के लेखिएको छ ,योजना कस्तो छ त्यो पनि खोजेर पढ्नुस, मुल्यांकन गर्नुस् ,मनमा केही जाग्छ भने परामर्श गर्नुस् । अधिकतम बैठक राख्नुस, कार्यक्रमको पैसा जोगाउनुस,यो कमाउने ठाउँ होइन भन्ने सम्झिनुस। मलाई आफ्नो सन्तान जत्तिकै यो संस्थाको माया छ। बन्दाबन्दैको भवनमा रात बिताएको छु, संस्थाको हितमा ब्यक्तिगत दुश्मनी पनि भए होला, कसैको चित्त दुखाइए होला, खाजा  सम्म नखाँदा छुचो बनिए होला। धेरैले ब्यक्तिगत प्रस्तावमा नेतृत्व लिन आग्रह  पनि गर्नुभएको छ।म चाहेर पनि केही समय जिम्मेवारीमा आउन सक्दिन।   मलाई सम्झिने सबैप्रति नतमस्तक छु, सम्मानभाव प्रकट गर्दछु । समयले कुनै दिन फेरि फर्काउन सक्छ।पुस्तकालय बाँचोस तपाई हाम्रो इज्जत बढोस् । शुभकामना ।                  लेखक गढवास्थित देउखुरी सामुदायिक पुस्तकालयका  संस्थापक अध्यक्ष हुन् ।