थारु पत्रकार संघको  केन्द्रीय अध्यक्ष चुनिए सन्तकुमार चौधरी

थारु पत्रकार संघको केन्द्रीय अध्यक्ष चुनिए सन्तकुमार चौधरी

४२३ दिन अगाडि

|

२५ फागुन २०८१

थाकस क्षेत्रीय समिति देउखुरीको अध्यक्षमा गोकुल चौधरी

थाकस क्षेत्रीय समिति देउखुरीको अध्यक्षमा गोकुल चौधरी

४४० दिन अगाडि

|

८ फागुन २०८१

थारु कल्याणकारिणी सभा (थाकस) क्षेत्रीय समिति देउखुरीको नयाँ समिति फागुन ७ गते सर्वसम्मत रुपमा चयन गरिएको छ ।  थाकसको तालिम हल लमही–३ स्थित, उत्तर मजगाउँको तालिम प्राङ्गणमा फागुन ६ गते सुरु भएको १७औ अधिवेशनमा गोकुल प्रसाद चौधरी सभापति चयन भएका हुन् । यस अघि उनी वरिष्ठ उपसभापति थिए । त्यस्तै वरिष्ठ उपसभापतिमा बालगोविन्द चौधरी छानिएका छन् । यस अघि उनी लामो समय सचिव थिए । त्यस्तै, कार्यसमितिको अन्य पदाधिकारीमा चन्द्रा चौधरी, उपसभापति, किरण चौधरी उपसभापति, यम बहादुर चौधरी  सचिव,  शशी कुमारी चौधरी सहसचिव तथा प्रभावती कुमारी चौधरी कोषाध्यक्ष छानिएका छन् । यसैगरी, सदस्यमा मनिराम चौधरी, कर्कट चौधरी, शिव कुमार चौधरी, पुरन प्रसाद चौधरी, श्रीराम प्रसाद चौधरी, बसन्ती चौधरी, मंगल प्रसाद चौधरी, देवमणि चौधरी, निरज चौधरी, राजेन्द्र कुमार चौधरी र कल्पना चौधरी रहेका छन् ।            अधिवेशनको सभापतित्व सभापति प्रकाशकुमार चौधरीले गरेका थिए ।

बरघरको केन्द्रीय अध्यक्षमा पुनः डिल्लीबहादुर चौधरी दोहरिए

बरघरको केन्द्रीय अध्यक्षमा पुनः डिल्लीबहादुर चौधरी दोहरिए

४५१ दिन अगाडि

|

२७ माघ २०८१

मटाँवा, बरघर, भल्मन्सा संघको केन्द्रीय अध्यक्षमा पुनः डिल्लीबहादुर चौधरी चयन भएका छन् ।  दंगीशरण गाउँपालिका–३, चखौरास्थित थारु संग्रहालय परिसरमा माघ २६ र २७ गते भएको मटाँवा, बरघर, भल्मन्सा संघको अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको हो ।  यसैगरी, समितिमा वरिष्ठ उपाध्यक्ष विनयकुमार चौधरी (कैलाली), उपाध्यक्ष धीरेन्द्र डंगौरा (कञ्चनपुर), महासचिव मथुराप्रसाद थारु (बर्दिया), सचिव केशवा थारु (बाँके) चयन भएका छन् । उता सदस्यमा आशाराम थारु (कपिलबस्तु), रामबलि चौधरी (रुपन्देही, सुनिता डंगौरा (कञ्चनपुर), कैलालीबाट यज्ञराज चौधरी, विमला डंगौरा र गणेश चौधरी, बाँकेबाट सुशील चौधरी र फुलकुमारी चौधरी, दाङबाट चन्द्रप्रसाद चौधरी, मनकुकमारी चौधरी, जगवीर चौधरी र यमबहादुर चौधरी, दुर्गाबहादुर थारु (सुर्खेत), बर्दियाबाट लखनप्रसाद वैद्य, माघुराम थारु तथा मोतिराम चौधरी रहेका छन् । विधानअनुसार उपाध्यक्ष, कोषाध्यक्ष, सचिव पद अझै पनि खाली रहेको छ ।  कतिपयले बरघर नभएकाहरु पनि मटाँवा, बरघर, भल्मन्सा संघको कार्यसमितिमा बस्ने लोभ गर्नु अशोभनीय रहेको टिप्पणी गरे । उता, कार्यक्रमको सहजीकरण गरेका वेसका कार्यकारी निर्देशक चूर्णबहादुर चौधरीले कार्यसमितिमा ९९ सय प्रतिशत बरघरहरु नै रहेको बताए । मुख्यमन्त्री भइसकेका डिल्लीबहादुर चौधरी संघको संरक्षक भएर बस्नु पर्नेमा पुनः अध्यक्षको जिम्मेवारी लिनु ठिक नभएको एक सहभागीको भनाई थियो । नयाँ कार्यसमितिको नामावली घोषणापछि निर्वाचन समितिका संयोजक हल्लुप्रसाद चौधरीले शपथ खुवाउन खोजेका थिए । तर, अध्यक्ष डिल्लीबहादुर चौधरी नामावली घोषणा अगावै बाहिरिएकाले शपथ कार्यक्रम नै भएन ।  मटाँवा, बरघर, भल्मन्सा संघको बन्द सत्रको उद्घाटन नेपाली कांग्रेसका नेता बालकृष्ण खाँडले गरेका थिए । त्यस्तै, भेलालाई पूर्वमन्त्री दीपक गिरी, लुम्विनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मेजय तिमिल्सिना लगायतले सम्बोधन गरेका थिए । सत्रको अध्यक्षता लुम्विनी प्रदेश सभाका सभामुख पूर्णबहादुर घर्ती मगरले गरेका थिए । माघ २६ पहिलो दिनको उद्घाटन सत्रमा करिब १४० नाच इन्ट्री गरिएको थियो । समय नपुग्दा कतिपय टोली नृत्य प्रदर्शन नगरी फर्किएको थियो । कार्यक्रमको उद्घाटन पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले गरेका थिए । 

गुर्जिह्वा गाउँमा चुनिए रमन चौधरी ककन्डार 

गुर्जिह्वा गाउँमा चुनिए रमन चौधरी ककन्डार 

४६३ दिन अगाडि

|

१५ माघ २०८१

माघ १४ गते सोमवार दाङदेउखुरी, लमही नगरपालिका–४, गुर्जिह्वा गाउँको भुरा खेलले ककन्डारमा रमन (जगनारायण) चौधरी चुनिएका छन् ।  विगत २ वर्षदेखि ककन्डार रहेका मंगलप्रसाद चौधरी, वडासदस्य लीला चौधरी लगायतले नवनिर्वाचित ककन्डार रमन तथा टोल अघारीहरुलाई माला, टीका लगाइदिएका थिए ।  त्यस्तै, अघारीमा रगिता चौधरी (गुर्जिह्वा), रामबहादुर चौधरी (भुरीपुर), मनिराम चौधरी (पठरपुरवा), विमला चौधरी (चारघरुवा), स्याने चौधरी (छुटकी घुम्ना) चुनिएका छन् । गुर्जिह्वा, भुरीपुर, पठरपुरुवाको तथा छुटकी घुम्नाको आंशिक कुलोपानी एउटैमा लाग्ने गर्छ । यी गाउँको कुलोपानी एउटैमा लाग्ने भएकाले मूल ककन्डार एकजनालाई चुन्ने गरिएको छ ।  खोज्नी बोज्नी कार्यक्रमले रमन चौधरीको अगुवाईमा कुलो लाग्ने सबै गाउँका अघारी, गुरुवा पनि सदस्य रहने गरी १७ सदस्यीय गाउँ सुधार समिति पनि बनाइएको छ । जसको सल्लाहकारमा पूर्व ककन्डार मंगलप्रसाद चौधरी रहेका छन् ।  कार्यक्रममा थारु साहित्य–संस्कृति प्रतिष्ठानका कार्यकारी निर्देशक डा कृष्णराज सर्वहारील ककन्डार समितिमा महिला, युवाहरुलाई पनि समावेश गरेकोमा प्रशंसा गरे । श्री बाल जनता उच्च माविको व्यवस्थापन समितिका अध्यक्ष विक्रम चौधरी, रेशम चौधरी लगायतले सम्बोधन गरेको कार्यक्रमको सहजीकरण खेमलाल चौधरीले गरेका थिए ।  गाउँको कुलोको ठेक्का रामप्रसाद चौधरीले प्रतिकट्ठा रु ३४९ मा हात पारे । प्रगन्ना कुलोलाई दिइने रु १५ सहित उनले ३६५ रुपैया प्रतिकट्ठा पनकर उठाउन पाउने छन् ।   

संकटमा छ बरघर प्रणालीमार्फत् हुने थारु गाउँको पूजाआजा 

संकटमा छ बरघर प्रणालीमार्फत् हुने थारु गाउँको पूजाआजा 

४८७ दिन अगाडि

|

२० पुष २०८१

थारु गाउँका अगुवा बरघरहरुले आफूहरुमार्फत् हुने थारु गाउँको पूजाआजाको व्यवस्थापन संकटमा रहेको बताएका छन् । थारु समुदायका व्यक्तिहरु विभिन्न धर्म मान्न थालेकाले गाउँको सामूहिक देउथान मरुवामा गरिने पूजापाठका लागि रकम नदिदा स्रोत जुटाउन गाह्रो परेको उनीहरुको भनाई छ ।  बाँके, राप्ती सोनारी–४ स्थित वडा कार्यालयको सभाकक्षमा पुस १७ गते भएको ‘बरघर, ककनदारबाट के सिक्ने’ विषयक् अन्तक्रिया कार्यक्रम भएको थियो । यूएसएड, नागरिक सञ्चार CSM को आर्थिक सहयोग, द एशिया फाउण्डेशनको सहकार्य तथा दाङ, लमहीस्थित थारु साहित्य तथा संस्कृति प्रतिष्ठानको आयोजनामा भएको प्यानल छलफल कार्यक्रममा पूर्व अध्यक्ष लाहुराम चौधरीले उक्त अभिब्यक्ति दिएका हुन् । प्रायः बरघरहरुले उनको भनाईमा समर्थन जनाएका थिए ।  सोही कार्यक्रमअन्तर्गत बरघर प्रणालीलाई चलायमान गराउने के छ उपाय भन्ने सेसनमा पूर्व अध्यक्ष चौधरीले अगाडि भने,‘बरघरले गुरुवाको निर्देशनमा गराउने विभिन्न पूजापाठमार्फत् गाउँलेलाई एकसुत्रमा बाँध्छ । तर, अब हामी तिमीहरुको धर्म मान्दैनौ, पूजापाठको लागि रकम पनि दिन्नौ, पूजापाठको कार्यक्रममा सहभागी पनि हुन्नौ भन्ने जमात बढ्दै गएको छ । यसले सतहमा पूजापाठ संकटमा पर्दै गएको देखिए पनिसमग्रमा यो बरघर प्रणाली नै संकटमा पर्दै गएको संकेत हो ।’ राप्ती सोनारी–४ की वडा सदस्य सोहनी थारुले आफू क्रिश्चियन धर्म मान्ने गरेकाले आफ्नो गाउँ दंगपुरवाको थारु मरुवामा हुने पूजापाठका लागि रकम नदिने गरेको स्वीकारिन् । उनले भनिन्,‘धर्म नै फरक परेपछि उहाँहरुको पूजा व्यवस्थापन उहाँहरुले हेर्नुहुन्छ, हामीले चर्चको हेर्छौ । धर्ममा कसैलाई दवाव दिनु हुन्न ।’ सोही कार्यक्रममा सहभागी दाङ, लमही नपा–८, धनपुरवा गाउँकी बरघर सीता चौधरीले थारु गुरुवाले समग्र गाउँको सुरक्षा, पशुदेखि बालीनालीको सुरक्षाका लागि पूजाआजा गर्ने भएकाले जुन धर्म अंगाले पनि गाउँको पूजाका लागि सबैले रकम दिनुपर्ने धारणा राखिन् । उनले अगाडि भनिन्,‘मेरै गाउँमा पनि जयगुरुदेव धर्म मान्नेहरु ९० प्रतिशत छन्, जो शाकाहारी छन् । तर, तिनले पनि पूजाआजाका लागि रकम दिन्छन् । भागप्रसाद आफन्तलाई दिन्छन् । गाउँको पूजाआजा रोकिनु हुन्न ।’ गाउँ गाउँमा पुगेर अभियान चलाउनुपर्ने बरघरमा महिला सहभागिता बढाउन के गर्नुपर्ला भन्ने सेसनमा थारु कल्याणकारिणी सभा, बाँकेको जिल्ला अध्यक्ष संगिता थारुले बरघरहरुलाई हौसला बढाउन, महिला सहभागिता बढाउन थाकसले सहकार्य गर्ने बताइन् ।  युवा किरण कुमारी थारुले गाउँलेले चाहेमा युवाहरु नेतृत्व गर्न तयार रहेको धारणा राखिन् । पाका बरघर भरथारी थारुले भने युवाहरुलाई कसैगरी पनि बरघरका लागि मनाउन नसकिएको अभिव्यक्ति दिए ।  अर्की युवा टीका थारुले दुइ चार दिनको छलफलले बरघरमा महिला, युवा सहभागिता नबढ्ने, यसका लागि गाउँ गाउँमा पुगेर अभियान चलाउनुपर्ने बताइन् । बरघर हरि प्रसाद थारुले माघको बरघर चुन्ने समयमा महिलाहरु नआउने गरेकाले बरघरमा महिला सहभागिता नदेखिएको बताए ।   बरघरमा युवा सहभागिता बढाउन के गर्नुपर्ला भन्ने सेसनमा युवाहरु गाउँमा प्रायः शुन्य अवस्थामा भएकाले पाकाहरु जिम्मेवारी लिने बाध्यता आइपरेको प्रसंग उठ्यो । शिक्षक राम बहादुर थारुले बरघरमा युवाहरुलाई जोड्न आफू जस्ता शिक्षकहरुको पनि जिम्मेवारी रहेको बताए । पूर्व वडाध्यक्ष समेत रहेका कान्छा थारुले आफू युवावस्थामै बरघर बनेको, त्यसैको जिम्मेवारीले पनि वडाध्यक्ष हुन सम्भव भएको जिकिर गरे । उनले अगाडि भने, विडम्वना वडाध्यक्ष हुँदाहुँदै पनि बरघरबाट विदा पाइएन । अहिले पनि बरघर नै छु । कोही महिला, युवा आए बरघरको जिम्मेवारी दिन तयार छु ।’  आयोजक थारु साहित्य–संस्कृति प्रतिष्ठानका अध्यक्ष छविलाल कोपिलाले प्रतिष्ठानले परियोजनाअन्तर्गत केही महिना बरघरमा समावेशिता खोजे पनि यो अभियान दीर्घकालीन हुनुपर्ने धारणा राखे । प्रतिष्ठानका कार्यकारी निर्देशक डा कृष्णराज चौधरी सर्वहारीले संविधानमा महिला हक सुरक्षित भएकाले बरघरमा नेतृत्वमा पनि समयअनुसार परिवर्तन हुनु आवश्यक रहेको बताए ।   

अवसर पाए पुरुष भन्दा दरिलो गरी बरघर चलाउन सक्छन् महिला

अवसर पाए पुरुष भन्दा दरिलो गरी बरघर चलाउन सक्छन् महिला

४९३ दिन अगाडि

|

१४ पुष २०८१

थारु समुदायको माघ पर्व नजिकिएसंगै थारु गाउँको नेतृत्वका बारेमा बहस हुन थालेको छ । यसै क्रममा देउखुरीदाङ, लमही–३, उत्तर मजगाउँमा पुस १२ गते शुक्रवार विभिन्न गाउँका बरघरहरुले बरघर समयअनुसार समावेशी हुनुपर्ने अभिव्यक्ति दिएका छन् ।  यूएसएड, नागरिक सञ्चार ऋक्ः को आर्थिक सहयोग, द एशिया फाउण्डेशनको सहकार्य तथा थारु साहित्य तथा संस्कृति प्रतिष्ठानको आयोजनामा भएको प्यानल छलफल कार्यक्रममा बरघरहरुले त्यस्तो अभिव्यक्ति दिएका हुन् । बरघरमा महिला सहभागिता बढाउन के गर्नुपर्ला भन्ने सेसनमा धनपुरुवा गाउँकी बरघर सीता चौधरीले देश हाँकिरहेका महिलाहरुले अवसर पाए गाउँको नेतृत्व गर्न नसक्नै प्रश्नै नरहेको धारणा राखिन् । उनले गाउँलेले चाहे आगामी वर्ष पनि गाउँको बरघरको नेतृत्व लिन तयार रहेको बताइन् । उनले कारण खुलाइन्, ‘गाउँलेहरुले पुरुषभन्दा पनि राम्रो तरिकाले तिमीले गाउँको अगुवाइ गर्यो, हराउँदै गएको संस्कृति पुनर्जागरण गर्यो, अर्को वर्ष पनि तिमी नै ककनडार (बरघर) बन्नुपर्छ भनेका छन् । त्यसैले पुनः गाउँ हाँक्ने मन बनाएकी छु ।’ सोनपुर गाउँकी टोल बरघर शर्मिला चौधरीले आफू ८ वर्षदेखि टोल बरघर चलाएको अनुभवले आगामी माघमा गाउँको मूल बरघरमा दावी रहने बताइन् । महिलाहरुलाई नेतृत्व दिने सवालमा पुरुष अनिच्छुक देखिएको, यसका लागि महिला आफै अग्रसर हुनुपर्ने उनको जिकिर थियो ।  कमानपुर युवा क्लवकी सचिव सृष्टि चौधरीले आफूहरुले गाउँको विकासकै लागि क्लव खोलेकोमा बरघर बन्न आग्रह आए पछि नपर्ने बताइन् ।  उता ससुरा विरामी परेर निकै वर्ष कार्यबाहक बरघर रहेकी उचानिम्बु गाउँकी देवी चौधरीले गाउँको विकासको लागि महिला, पुरुष दुबैको भूमिका बरोबर रहेको धारणा राखिन् ।   बरघरमा युवा सहभागिता बढाउन के गर्नुपर्ला भन्ने सेसनमा युवाहरु विभिन्न सभा, बैठकमा पाकाहरु भन्दा बढी सक्रिय रहेको प्रसंग उठ्यो । जोगिया प्रगन्नाअन्तर्गत २२ गाउँका प्रधान तथा उत्तर मजगाउँका बरघर छुनिलाल चौधरीले भने,‘सामूहिक कामको लागि नकुदेको दिनै हुन्न । म ४० भन्दा तल छु । उमेर छिप्पिएको भए कहाँ दौडधुप गर्न सक्दो हुँ ।’  भुरीपुर गाउँका बरघर मंगल चौधरी गाउँमा रहेको युवाहरु बरालिएर हिँड्नुभन्दा कुनै पदीय जिम्मेवारीमा बसे अनुशासित रहने तर्क गरे । थारु कल्याणकारिणी सभा (थाकस), लमही इकाइका अध्यक्ष शिवप्रसाद चौधरीले बरघरहरुलाई एकजुट गराउन थाकस दिलोज्यान दिएर लागेको बताए ।  बरघर प्रणालीलाई चलायमान गराउन के छ उपाय भन्ने सेसनमा थाकस क्षेत्रीय समिति तथा लमही नगरपालिकाका कानूनी सल्लाहकार अधिवक्ता हल्लुप्रसाद चौधरीले बरघर विधयेक समयमा नबन्दा बरघरहरुले हीनताबोध महसुस गरेको बताए । उनले बरघर प्रणालीलाई चलायमान गराउन यसको विधेयक अपरिहार्य रहेको बताउँदै यसका लागि अझ दवाव बढाउनुपर्ने जिकिर गरे ।  लमही नगर बरघर समितिका अध्यक्ष पुनाराम चौधरीले गाउँमा मिश्रित समाजको बसोबास बढ्दै गएकाले गैरथारुहरुको पनि विश्वास जितेर काम गर्नुपर्ने अवस्था आएको बताए । ८ वर्षदेखि बरघर हाँकिरहेका लंगडी गाउँका बरघर कान्तुप्रसाद चौधरीले बरघर बन्न तँछाड मछाड हुनुपर्नेमा नयाँ पुस्ताको अरुचि निकै खट्किएको महसुस गरेको बताए । उता, पूर्व गाउँपालिका अध्यक्ष रोहित चौधरी बरघरको बैठक माइन्यूट नेपाली भाषामा लेखिएकोमा भाषा संरक्षणका लागि आफ्नै मातृभाषा थारु प्रयोग गर्न आग्रह गरे । संस्कृतिसंगै भाषा संरक्षणमा पनि बरघरहरु लाग्नु पर्नेमा उनको जोड थियो ।  आयोजक थारु साहित्य तथा संस्कृति प्रतिष्ठानका अध्यक्ष छविलाल कोपिलाले माघमा छनोट हुने बरघरबारे पुसमै छलफल हुनसके सवल नेतृत्व आउने धारणा राखे । प्रतिष्ठानका कार्यकारी निर्देशक डा कृष्णराज चौधरी सर्वहारीले बरघरहरु गाउँको सानो दायरामा सीमित नभई बरघरको अनुभव अन्य क्षेत्रमा पनि लगाउन आग्रह गरे ।   

बारबर्दियाका बरघरहरुको प्रश्नः मेयरसाब, बरघर विधेयक खै ?

बारबर्दियाका बरघरहरुको प्रश्नः मेयरसाब, बरघर विधेयक खै ?

४९८ दिन अगाडि

|

९ पुष २०८१

बारबर्दिया नगरपालिकाका थारु गाउँका अगुवा बरघरहरुले पालिकाले पहिलो पटक बरघर ऐन पारित गरेको तर विधेयक नबनाउँदा बरघर सञ्जालमार्फत् कुनै काम गर्न नसकेको पीडा पोखेका छन् । लमही–५, दाङस्थित थारु साहित्य संस्कृति प्रतिष्ठानको आयोजनामा पुस ८ गते सोमवार बर्दियाको बारबर्दिया नगरसभा हल,जयनगरमा बरघरहरुको  समावेशी मापन भेलामा उक्त पीडा पोखिएको हो ।  करिब एक सय जना बरघरहरुको उपस्थिति रहेको सो कार्यक्रममा बारबर्दिया नगर बरघर सञ्जालका निवर्तमान अध्यक्ष कालीराम चौधरीले बरघर विधेयक पारित नहुँदा बरघर सञ्जालको नाममा छुट्टै खाता खोल्न नसकिएको, पालिकामै पनि कुनै प्रोपोजल दिन नसकिएको बताए ।  उता, बरघर सञ्जालका अध्यक्ष बहादुर बैरागीले सकेसम्म सबै बरघरलाई पारिश्रमिकको व्यवस्था हुनुपर्ने, नगर बरघर सञ्जालका पदाधिकारीलाई इन्धन, रिचार्जको व्यवस्था हुनुपर्ने आवाज उठाए । उनले अब बरघरहरु भोकभोकै लामो समय खट्न नसक्ने, पारिश्रमिकको व्यवस्था नगरिए बरघर प्रणाली नै धरापमा पर्न सक्ने बताए ।  नगर बरघर सञ्जालका निवर्तमान सचिव कृष्णप्रसाद चौधरी सवालले बरघरहरुले पहिलेको जस्तो सामाजिक सम्मान नपाएको, पालिकाले समेत विधेयक नबनाएकाले मान्यता दिएको अनुभूति नभएको धारणा राखे ।  कार्यक्रममा बारबर्दिया नगरपालिकाका प्रमुख छविलाल चौधरीले पालिकाले बरघर विधेयक पारित गर्ने तर यसबारे पर्याप्त गृहकार्य हुन नसकेको बताए । नगर बरघर सञ्जालका पदाधिकारीहरु सार्वजनिक कार्यक्रममा गुनासो गर्नुभन्दा विधेयक मस्यौदामा सघाउन उनको आग्रह थियो । साथै, मरुवा, भूइहार थानमा पूजा पुज्ने गाउँका बरघरहरु नै असली बरघर भएकाले विधेयकमा मरुवाको प्रसंग थपिने उनको भनाई थियो । उनले बरघरहरु पनि सरकारकै एक अंग भएकाले हीनताबोध महसुस गर्न नहुने धारणा राखे ।  बारबर्दिया–७, बौद्धनगर (मरघट्टी) की बरघर गीता चौधरीले पुरुषहरुको तुलनामा गाउँलेहरुले महिला बरघरलाई नटेरेको गुनासो गरिन् । तर यसो भन्दैमा महिलाहरु नेतृत्व लिने सवालमा पछि पर्न नहुने, केहीले जिम्मेवारी पाए अरु महिलालाई पनि हौसला बढ्ने भएकाले पुरुषहरु महिलालाई गाउँको जिम्मेवारी दिन तयार हुनपर्ने उनको भनाई थियो । २ नं वडाका वडाध्यक्ष रामफेरन थारुले आफूले कुनै काम गर्नुअघि आफ्ना वडाका बरघरहरुसंग सल्लाह लिने गरेकोमा बरघरहरुसंग सहकार्य गरेर जनप्रतिनिधिहरु सदैव अघि बढ्न तयार रहेको बताए । उनले ६० प्रतिशत बरघरहरु टोल विकास समितिमा पनि रहेकाले विकासको काममा वाधा नरहेको जिकिर गरे ।  थारु साहित्य संस्कृति प्रतिष्ठानका अध्यक्ष छविलाल कोपिलाको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिष्ठानका कार्यकारी निर्देशक डा कृष्णराज चौधरी सर्वहारी तथा फिल्ड अधिकृत विमला चौधरीले बरघरमा महिला तथा युवाहरुको सहभागितामा जोड परियोजनाबारे प्रकाश पारेका थिए । कार्यक्रममा प्रतिष्ठानका कार्यसमिति सदस्य यम चौधरीले स्वागत गरेका थिए ।