लक्ष्मी राना
संसारको जुनसुकै भाषाले आफैंमा एउटा ठुलो इतिहास बोकेको हुन्छ । तमाम ती भाषाहरूजस्तै थारु भाषाको पनि आफ्नो इतिहास रहेको छ । म थारु भाषी हुँ । त्यसैले, थारु भाषा लोकसंस्कृति, लोकसभ्यता र लोकसाहित्यिक समृद्धिले मलाई आफैँमा गौरव महसुस गराउँदै आएको छ ।
पछिल्लो समयमा थारु भाषा, लोकसाहित्य, संस्कृति संरक्षण र सम्वर्द्धन गर्न र त्यसप्रति मोह जगाउनमा एउटा बलियो आधारको रूपमा राष्ट्रिय थारु साहित्य सम्मेलन रहेको छ । प्रत्येक वर्ष आयोजना हुने यो एउटा फगत कार्यक्रम मात्र होइन, यो एउटा उत्प्रेरणा हो, आफ्नो भाषा साहित्य जागरणप्रतिको । जसले मलाई पनि मेरो भाषा साहित्य प्रतिको कर्तव्य र जिम्मेवारी बोध गराएको छ ।
साहित्यिक यात्राको सुरुवात
नेपाली साहित्यको विद्यार्थी हुँदाहुँदै पनि ममा साहित्य लेखनमा शून्यता थियो । मेरो साहित्यिक यात्रा २०७५ साल चैत २२ र २३ गते रुपन्देहीको सैनामैनामा भएको चौथो राष्ट्रिय थारु साहित्य सम्मेलनबाट भएको हो ।
मलाई सानैदेखि पढाउनु हुने सिताराम चौधरी सरले यसपालि मसँग कार्यक्रमममा जानुपर्छ है, सँगै जीत ‘ट्रासन’ सर पनि जाँदै हुनुहुन्छ भन्दा मनै फुरुङ्ग भयो । र, परिवारको अनुमति लिएर उक्त कार्यक्रममा म पनि जाने भएँ ।
त्यसअघि त्यस्ता साहित्यिक कार्यक्रममा म सहभागी भएकै थिइन । त्यो मेरो पहिलो अनुभव भएकाले मलाई साह्रै रमाइलो लाग्यो । कार्यक्रमको उद्घाटन, मन्तव्य, पुस्तक विमोचन, सांस्कृतिक कार्यक्रम, बौद्धिक व्यक्तित्वहरूका बहस, सन्ध्यामा काव्य साधना, थारु भाषा साहित्यसँग सम्बन्धित विभिन्न पुस्तक प्रदर्शनी आदि आदि प्रत्यक्ष अनुभव गरेँ ।
एक दर्जन बढी स्रष्टाका पुस्तक विमोचन देख्दा मैले पनि यसै गरी पुस्तक विमोचन गराउन पाए कस्तो गज्जब हुँदो भन्ने कुरा मनमा खेल्यो । तर मनको लड्डु घिउसित खाने भन्छन् । मसँग कुनै पुस्तकको पाण्डुलिपि थिएन ।
उक्त कार्यक्रममा पहिलो पटक सहभागी हुँदा पनि एक्लो महसुस कदापि भएन । जतिसँग भेटेँ उहाँहरूको बोलीचालीले सबै पहिल्यै चिनेका जस्तै लाग्थ्यो । त्यही कार्यक्रमको दौरानमा डा कृष्णराज सर्वहारी, सुशील चौधरी, छविलाल कोपिला, मित्थु थारु, बालिका चौधरी, सोम डेमनडौरा, गोपाल दहित, साफी, मोती रत्न, दिल बहादुर थारु, चित्र लक्ष्मी, सत्यनारायण दहित, गीता चौधरी, रामसागर चौधरी, सागर कुश्मीलगायत थारु भाषा साहित्यका धुरन्धर लेखक तथा साहित्यकारसँग साक्षात्कार हुने मौका पाएँ ।
उहाँहरूको जीवनशैली यति सरल, बोली वचन मिठासले भरिएका, आँखामा प्रेमपूर्ण भाव, विनम्र र आदरमय व्यवहारले आफ्नोपनको अनुभव गरेँ । उहाँहरूको आफ्नो भाषा सहित्यप्रतिको साधना र लगाव देखेर मलाई पनि आफ्नो भाषा साहित्यतर्फ कर्तव्यबोध गरायो, भित्रैदेखि झकझक्यायो ।
कार्यक्रमको केही दिन पछि सिताराम सरले थारु लेखक संघ कैलालीको स्थापना गर्ने तयारीमा रहेको र त्यसको उद्देश्यको बारेमा बताउनु भयो । उहाँको कुरा मलाई साह्रै मन पर्यो । त्यसपछि म पनि संस्थापक सदस्यको रूपमा थारु लेखक संघमा आबद्ध भएँ ।
यही दौरानमा सिताराम सर र जीत सरसँग दोस्रो पटक दाङ देउखुरीको एक साहित्यिक कार्यक्रममा जाने संयोग जुर्यो । पछि सुर्खेतमा आयोजना भएको पाँचौँ राष्ट्रिय थारु साहित्य सम्मेलन, कञ्चनपुरमा सम्पन्न छैटौँ राष्ट्रिय थारु साहित्य सम्मेलन र बाँकेमा सम्पन्न सातौँ राष्ट्रिय थारु साहित्य सम्मेलनमा पनि सहभागी हुने अवसर जुर्यो ।
यसरी कार्यक्रममा सहभागी हुँदाको बखतमा भेटघाट हुने कृष्णराज सर्वहारी, सुशील चौधरी, छविलाल कोपिलालगायत आदरणीय गुरुहरूले आफ्नो भाषा साहित्य र संस्कृति प्रतिको मोह र कथ्यमा मात्र सीमित रहेको रानाथारु लोकसाहित्यलाई दस्तावेजीकरण गर्ने कुरामा सधैँ प्रेरणा दिइरहनु हुन्छ । उहाँहरूकै प्रेरणाको फलस्वरूप मैले पनि बिस्तारै लेख्न सुरु गरेँ ।
बाध्यताबाट जन्मेको रहर
एउटा लेखक हुन काव्य साधना, अभ्यास र प्रेरणाको जरुरत पर्छ नै । तर, मलाई लाग्छ, कतिपय बाध्यात्मक परिस्थितिले पनि साहित्य लेख्न बाध्य बनाउँछ । र, पछि लेख्दै जाँदा त्यो बानीको रूपमा स्थापित हुन्छ । मेरो सवालमा साहित्य लेखनमा मेरो न कुनै रहर थियो, न कुनै सामर्थ्य । तर, आफ्नो कर्तव्य र जिम्मेवारीबाट विमुख हुन सकिनँ ।
प्रत्येक वर्ष विविध साहित्यिक कार्यक्रममा सहभागी हुँदै गर्दा लेख्ने आत्मविश्वास पनि ममा बढ्न थाल्यो । कलमले लेख्न नमान्दा नमान्दै पनि जवर्जस्ती केही कविताहरू कोर्थे । लटरपटर कविता त पुरा हुन्थ्यो तर त्यसमा आत्माको कमी भने खट्किन्थ्यो ।
लेख्ने जिम्मेवारी यसर्थ पनि बोध भयो कि जब स्नातकोत्तर तहको शोधपत्र तयार गर्ने बेला रानाथारू समुदायको बारेमा लिखित स्रोत सामग्री खोज्न धेरै गाह्रो भयो । यो अभाव पुरा गर्न अरूले नलेखे पनि मैले रानाथारू भाषा साहित्यतर्फ सक्दो काम चाहिँ गर्नुपर्छ भन्ने लाग्यो ।
एकदिन विद्यालयमा सिताराम सरले बडो अपेक्षापूर्ण भावले भन्नु भयो कि मिस तपाईंको भाषा साहित्यको बारेमा अरू भाषी समुदायकाले पनि लेख्न सक्छन् । म पनि लेख्न सक्छु तर मैले लेख्नु र तपाईंले लेख्नुमा धेरै फरक हुन्छ । किनकि त्यो तपाईंको आफ्नो भाषा हो । यसर्थ तपाईंले नै लेख्नु पर्छ ।
उहाँको सो कुराले मलाई स्तब्ध बनायो । मैले त्यतिबेला नै जिन्दगीमा केही गर्न न सके पनि एउटा कृति छिट्टै पक्कै प्रकाशन गर्नेछु भन्ने अठोट गरेँ । हो, त्यो वेलाको बाध्यता अहिले भने रहर बनिसकेको छ ।
‘सोरठ’को शयर
एकदिन सिताराम सरले फोनमा भन्नु भयो कि मिस तपाईंसँग रानाथारु लोककथा छ ? यदि छ भने पठाउनु, प्रकाशन गर्नुछ । मैले ‘छ’ भनी दिएँ तर त्यति बेला मसँग सङ्कलित कथाहरू थिएनन् ।
पछि लोककथा खोज्ने क्रममा हजुरआमाले सुनाउनु भएको सोरठ कथा याद आयो । त्यो कथा रेकर्डिङसमेत गरेको थिएँ । तर कारणवश, त्यो डिलिट भएकोले मलाई लेख्नै समस्या भयो । त्यो कथा र कथाको बीच बीचमा आउने सोरठ साखी मेरो स्मरणमा रहेनन् । तै पनि जति याद आयो, त्यति लेख्दै गएँ ।
पछि गाउँका अन्य बुढापाकाहरूलाई सोधेँ तर तिनले पनि पुरा कथा भन्न सकेनन् । जो जो सँग सोधेँ, तिनले भनेकै आधारमा सबैको मिलाएर कथा तयार पारेँ र सरलाई पठाएँ । त्यो मेरो पहिलो आख्यान लेखन थियो ।
केही दिनपछि सोरठ लोककथा थारु भाषाको पहुरा दैनिक पत्रिकामा प्रकाशित भयो ।
कथा प्रकाशित भएलगत्तै म राममती रानाजीलाई भेटेँ । उहाँले सोरठ कथा सुनाउनु भयो तर पहिला भन्दा अलि फरक तरिकाले । अनि सोही कथालाई पुनः सम्पादन गरेँ । र, त्यो कथा रानाथारु डटकममा प्रकाशित भयो ।
मलाई लाग्छ, लोककथा संकलनको क्रममा सोरठ कथा सबैभन्दा बढी पटक सच्याएँ । सोरठ लोक दास्तान सङ्ग्रहमा सङ्कलन भइसक्दा पनि अझै सच्याउनु पर्ने देखिएको छ । मलाई औधी खुशी लागेको छ कि सोरठ पुस्तकले थारु लेखक संघ नेपालको २५ हजार नगदसहित उत्कृष्ट थारु साहित्य पुरस्कार (२०७९) हात पारेको छ ।

कैलारी गापा–९, गदरियास्थित जनता माविमा म शिक्षिका छु । स्कुल लागेको बेला म गदरियाको घरमै बस्छु । स्कुल बिदामा भने धनगढी बसाइँ हुन्छ ।
धनगढीमा एक कार्यक्रमको दौरानमा रानाथारु भाषामा प्रकाशित हुने अर्धवार्षिक पत्रिका सबेरोको टिमसँग परिचय भयो । उहाँहरूले लोककथा सङ्कलन गराउनमा मलाई सक्दो सहयोग गर्नुभयो । निकै समय लगाएर म कैलाली र कञ्चनपुरको विभिन्न गाउँहरू घुम्दै कथा सङ्कलन गर्न सके । अझै धेरै कथा सङ्कलन गर्न बाँकी नै छ ।
मलाई लोककथा सङ्कलन, लेखन र सोरठ लोककथा सङ्ग्रहको रूपमा प्रकाशन गर्न झन्डै तीन वर्ष लाग्यो । यसमा डा कृष्णराज सर्वहारी, सीताराम चौधरी, जीत ट्रासन, सत्यनारायण दहित, नन्दलाल राना, मित्थु थारु, बासमती रानाजी लगायतको विशेष प्रेरणा र सहयोग रह्यो । अन्ततः २०७९ माघ तेस्रो साता बाँकेको राप्तीसोनारी गाउँपालिका–२, सिधन्वामा आयोजना भएको सातौँ राष्ट्रिय थारु साहित्य सम्मेलनमा सोरठ लोक दास्तान सङ्ग्रह संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीलगायत अतिथिहरूबाट भव्यताका साथ संयुक्त रूपमा विमोचन भयो ।
सोही कार्यक्रममा सोरठ लोक दास्तान सङ्ग्रहका लागि थारु साहित्यको सबैभन्दा ठुलो पुरस्कार थारु साहित्य पुरस्कारद्वारा पुरस्कृत तथा सम्मानित पनि भइयो, जसले मेरो साहित्य लेखनमा अझ प्रेरणा र ऊर्जा थपिएको छ । सोरठ दास्तान अन्य भाषी समुदायलाई बुझ्न कठिन भएकोले यसलाई नेपाली भाषा साहित्यसम्म पुर्याउने मेरो अठोट रहनेछ ।
लोकसाहित्य प्रतिको मोह
रानाथारू लोकसाहित्य अत्यन्त समृद्ध रहेको छ तर त्यो प्रायः अलिखित छ । समय क्रमसँगै त्यो साहित्य जान्ने व्यक्तिहरू बिस्तारै घट्ने क्रममा छन् । त्यसैले, आफ्ना मौलिक संस्कार संस्कृति जोगाउन लेखनकार्यमा लाग्न यही समुदायकै युवावर्ग लाग्न नितान्त आवश्यक देखिन्छ ।
पछिल्लो समयमा पदम रानाको फगुनी उपन्यास, इन्द्र चौधरीको रानाथारू समुदायमा प्रचलित लोककथा तथा मिथक, बम्मन रानाको नाच गीत सङ्ग्रह, गुलाबी रानाको होरी गीत सङ्ग्रह जस्ता केही कृतिहरू प्रकाशित भएका छन् तर दस्तावेजीकरण गर्न अझै धेरै बाँकी छ । रानाथारूका विविध साहित्यिक विधामा कलम चलाउन जरुरी छ ।
मलाई लाग्छ, हामी आफूलाई जति प्रेम गर्छौ, त्यति नै प्रेम आफ्नो भाषा साहित्यलाई पनि गरौँ र राम्रा कुराहरू आफ्नो समुदायमा मात्र सीमित नराखी अन्य समुदायसम्म पनि पुर्याउन अत्यावश्यक छ ।
अन्तमा,
रानाथारु भाषा साहित्य जोगाउन नेपाल राना थारु समाज, आँगन बारी मिडिया प्रालि, राना लेखक समाज, राना कलाकार मञ्चले विविध साहित्यिक कार्यक्रमहरू गर्दै आएको देखिन्छ । तर पनि युवाहरूलाई साहित्य लेखनतर्फ जोड्न सकेको देखिँदैन ।
जसरी मलाई राष्ट्रिय थारु साहित्य सम्मेलनले एउटा गोरेटो देखाएको छ र त्यो गोरेटोमा हिँड्न हरदम पथप्रदर्शन गरेको छ, त्यस्तै अन्य व्यक्तिहरूलाई पनि आफ्नो भाषा, संस्कृति, लोकमान्यता, लोकसाहित्य लेखनमा प्रेरणा र सहयोग गर्दै एउटा एउटा खुड्किलो थप्दै जानुपर्छ । जसको लागि हाम्रा समुदायका शिथिल बौद्धिकवर्ग गतिशील हुनुपर्ने जरुरी देख्छु ।
मौखिक परम्परामा रहेको लोकसाहित्यलाई दस्तावेजीकरण गर्नु त छँदैछ, साथसाथै विविध विधामा सिर्जनात्मक रचनाको भण्डार भर्न पनि उत्तिकै जरुरी देखिन्छ । त्यसको लागि राना लेखक समाजले अन्य लेखक समूहसँग पनि सहकार्य, होस्टेमा हैँसे गर्नु अपरिहार्य देखिन्छ ।
कैलारी गापा–९, गदरिया, कैलाली
प्रकाशित:
१२०१ दिन अगाडि
|
१३ जेठ २०८०
९ दिन अगाडि
|
१५ भदौ २०८३
११ दिन अगाडि
|
१३ भदौ २०८३
११ दिन अगाडि
|
१३ भदौ २०८३
१७ दिन अगाडि
|
७ भदौ २०८३
२६ दिन अगाडि
|
२९ साउन २०८३
३७ दिन अगाडि
|
१८ साउन २०८३
३८ दिन अगाडि
|
१६ साउन २०८३
१४२९ दिन अगाडि
|
२५ असोज २०७९
१४६३ दिन अगाडि
|
२१ भदौ २०७९
१४७३ दिन अगाडि
|
१२ भदौ २०७९
१४२८ दिन अगाडि
|
२६ असोज २०७९
१३७८ दिन अगाडि
|
१५ मंसिर २०७९
१४३४ दिन अगाडि
|
२० असोज २०७९
१३६६ दिन अगाडि
|
२७ मंसिर २०७९