सेवा भट्टराई
गीत सङ्गीतमा धनी छ, थारू समुदाय। शुभकार्यमा मागर, दशैंमा बर्कीमार र सखिया, माघीमा धमार र मघौटा। सन्दर्भ अनुसार बेग्लाबेग्लै गीतहरू यो समुदायमा पाइन्छन्।
त्यति मात्र नभएर पूर्वदेखि पश्चिम तराईसम्म फैलिएको थारू समुदायमा ठाउँ पिच्छे फरक फरक गीत पनि पाइन्छन्। तिनैमध्ये केही विधा व्यवसायीकरणसँगै अझ लोकप्रिय बनिरहेका छन् भने केही विधा ओझेलमा छन्।
थारू गीत गाएर नाम कमाएकी दाङकी बसन्ती चौधरीले यी सबै किसिमका गीत गाउने गरेकी छन्। उनीसँगको कुराकानीमा आधारित रहेर यहाँ थारू समुदायमा गाइने केही गीतको चर्चा गर्दै छु।
नचाउने झुम्रा
दशैं लगायत चाडबाड र अन्य रमाइलो अवसरमा गाइने गीत हो, झुम्रा। विगतमा झुम्रा नाच पुरूषले मात्र नाच्ने गर्थे। हुन त थारू समुदायमा महिला ननाच्ने होइनन्। समूहमा जम्मा भएर गाउँभरका केटीहरू सखिया र बर्कीमार जस्ता नाचमा रमाउने गर्छन्। तर, झुम्रा रमाउनका लागि नभई प्रदर्शनका लागि नाच्ने गरिन्छ।
यसको अर्थ हो, थारू समुदायमा ‘उत्सव’ र ‘प्रदर्शन’ का नृत्यमा फरक छ। “सखिया वा बर्का नाचमा सबै साथीहरू सँगै नाच्दा कुनै समस्या हुँदैनथ्यो, तर झुम्रामा दुई जना मात्र नाच्ने हुँदा अभिभावकहरू पठाउन चाहँदैनथे,” बसन्ती भन्छिन्, “त्यसैले झुम्रा गीतमा पुरुषले नै महिलाका लुगा लगाएर सबैलाई मनोरञ्जन दिने प्रचलन रहेको थियो।”
अचेल झुम्रा गीतमा सबै जना नाच्ने गर्छन्। थारू गीतको बजार बढ्दै जाँदा बसन्तीले थुप्रै झुम्रा गीत रेकर्ड गराएकी छन्, जुन चाडबाड र उत्सवमा बजाउने गरिन्छ। साथै, यात्रामा जाँदा गाडीमा पनि सुन्न पाइन्छ।
आफ्नी हजुरआमाबाट प्रभावित भएर झुम्रा नाच्न थालेको बताउँछिन् बसन्ती। “मेरी आमाकी आमा आफ्नो जमानामा निकै अगाडि हुनुहुन्थ्यो। उहाँ चाहिं मादल बजाएर, हार्मोनियम बजाएर सबलाई नचाउनुहुन्थ्यो, तर अरू चाहिं केटा मात्रै नाचेको देख्थें। उहाँलाई नै सम्झिएर पछि मैले पनि झुम्रा नाच्न र गाउन थालें,” उनी भन्छिन्।
अचेल थारू चलचित्र र महोत्सवमा समेत झुम्रा निकै लोकप्रिय भएको छ। यूट्युबमा पनि यसका भिडिओहरू पाइन्छन्। “झुम्रामा रङ्गीन दुनियाँ छ किनभने सबैलाई नचाउन र रमाइलो गर्न यो गीत गाउने गरिन्छ,” बसन्ती भन्छिन्।
व्यावसायिक रूपमा उनले गाएको एउटा झुम्रा गीत यस्तो छः
केटा
लागि टे लागि कलक्टर भर रूपियाँ
रूपनी बठनियाँ नहिँ छोरबु।
केटी
नचदी अँगनामे अँगिया सौंपिदेहबुँ
रूपवा रूपिया लेके सटबुँ।
केटा
बक्साभरि रुपैयाँ लागे पनि लागोस्,
राम्री केटी छोड्दिनँ
केटी
आँगनमा आँग हल्लाएर नाचिदिन्छु
तर रूप चाहिं रुपैयाँ लिएर मात्र साट्छु।०
‘सजना’ जोगाउने प्रयास
बसन्ती आफ्ना समुदायका गीत जोगाउने काममा पनि सक्रिय छिन्। अहिले उनी सङ्गीत उत्सव ‘इकोज् इन द भ्याली’ को सहयोगमा अरू सङ्गीतकारहरू सिम्मा राई र हिसी डोल्मा शेर्पासँग मिलेर सजना भाका जोगाउन लागिपरेकी छन्।
बसन्तीका अनुसार माघको सरस्वती पूजादेखि भदौको हरेरी पूजासम्म गाइने गीत हो( सजना भाका। “यो गीत पानी नपरेको वेला पानी पार्न गाइन्छ वा बैरागिएकी महिलाले आफ्नो माइती याद गर्दै श्रीमान्, नन्द, आदिलाई सुनाउन पनि यो गीत गाउँछन्,” बसन्ती भन्छिन्।
सजना भाका जोगाउने क्रममा बसन्तीले सिम्मा र हिसीलाई थारू गीत जान्ने निर्मलासँग भेट गराएकी थिइन्। निर्मलासँग मिलेर यी तीन जनाले सजना भाका सिकेर रेकर्ड गराए जुन अहिले यूट्युबमा उपलब्ध छ।
साथै, तीनै जनाले गत चैतमा काठमाडौंमा भएको ‘इकोज् इन द भ्याली’ उत्सवमा पनि यो गीत गाएका थिएः
अरी मछरी मरन हम्रे गइलि ना री
मरली राप्ती लदिया
अरी अंगरीमे काटि अंगरकटवा
ढिकवा बैठल रोइबुँ
भौजी मोरे लेलिन टपिया ना री
ननदी लेलिन हेलका
भौजी मरलिन रैनी मछरिया
ननदी झिंगा झोकलिन।
हामी माछा मार्न राप्ती नदीमा गयौं
औंलामा अंगरकटुवा कीराले टोक्यो,
नदीतिरमा बसेर रोएँ।
भाउजूले टपिया ९एक खालको भाँडा० लिइन्,
नन्दले हेलका ९एक खालको भाँडा० लिइन्
भाउजूले रैनी माछा मारिन्,
नन्दले झिंगा माछा छोपिन्।
नदीमा माछा मार्न जाने थारू महिलाको दैनिकी यो गीतमा वर्णन गरिएको छ। यस्ता केही गीतले नयाँ श्रोता पाउन थाले पनि थारू समुदायका रीतिरिवाजमा प्रयोग गरिने र ‘विशेष’ अवसरमा मात्र सुनिने गीत भने समुदायमै सीमित भएको पाइन्छ।
ओझेलमा गम्भीर गीत
थारू सङ्गीत परम्परामा मनोरञ्जन मात्र छैन, जीवनका गूढ रहस्य बोकेका भजन पनि छन्। त्यस्तै एउटा भजन बसन्तीले पनि गाएकी छन्। कोही कसैको मृत्यु भएपछि उसको घरमा गएर गाइने यो भजनले दक्षिणएशियामा लोकप्रिय निर्गुण दर्शनको सार खिचेको छ।
चलो रे हंसा वहि देश
जहाँ सट्गुरू बालम बसे
हंसा हो हंसा
कउने बने लेहतो बसेरा
भूलिगयो टु मायाके बखेरा
हंसा हो
चलो रे हंसा वहि देश
जहाँ सट्गुरू बालम बसे
आधा पापि किनारे लागे
आधा पार्थिव मझेढार हो
चलो रे हंसा ओहे देश
जहाँ सट्गुरू बालम बसे।
बसन्तीले सुनाएको यो भजनको अर्थ यस्तो छ( जसको श्रीमान् वा श्रीमती बितिसक्यो, आधा गयो भने आधा घरमै छ, उसलाई कसरी खुशी पार्नेरु आधा शरीर यहाँ छ, आधा त गइसक्यो। हाम्रो पार्थिव शरीर पापी त हो। एक दिन यहाँ छ, अर्को दिन त गइजान्छ नि। जन्मेपछि मरण अवश्य छ।’
गायिका बसन्ती चौधरी
“थारू संस्कृतिका भजन एकदमै मन छुने छन्। उजाडिएको जिन्दगीलाई हामी त्यही गीत(सङ्गीतको माध्यमबाट जगाउन सक्छौं,” बसन्ती भन्छिन्।
बसन्तीले भने जस्तै यो गीतले पार्थिव शरीरलाई पापी एवं नाशवान् र आत्मालाई अमर एवं पापबाट मुक्त मानेको छ। गीतमा संसारलाई मायाजाल, झमेला भनिएको छ भने मृत्युलाई मुक्ति। यो पापी संसारबाट छुटकारा पाएर ‘हंस’ दैवी शक्तितर्फ जानुमै खुशी छ।
गीतमा ‘निर्गुण’ भन्ने शब्दको प्रयोग गरिएको त छैन, तर शरीर र आत्मालाई अलग रूपमा बुझ्ने दक्षिणएशियाको निर्गुण परम्पराको भाव बोकेको छ। यो परम्परामा मृत्युलाई अन्त्यभन्दा पनि परिवर्तनको प्रक्रियाका रूपमा लिइन्छ, जहाँ आत्माले पापी संसारबाट मुक्ति पाउँछ र आध्यात्मिक यात्रामा जान्छ।
दक्षिण एशियाका हिन्दू समुदायमा निर्गुण परम्पराको लामो इतिहास छ। सांसारिक गतिविधिलाई ‘झमेला’ वा ‘दुःख’ मान्ने, संसारलाई ‘पापी’ र ‘मोहमायायुक्त’ मान्ने, सांसारिक दुःखबाट मुक्ति खोज्ने, शरीरलाई क्षणिक र आत्मालाई अमर मान्ने, यो परम्पराका केही विशेषता हुन्।
पूर्वीय दर्शनमा महाभारतको भागवद् गीतादेखि लिएर बुद्धको दर्शनसम्ममा यो अवधारणाका जराहरू पाइन्छन्। नेपालमा भानुभक्तको रामायणमा लगायत विभिन्न रचनामा यी अवधारणा उल्लेख गरिएका छन्। ‘निर्गुण’ भन्ने शब्द प्रयोग नगरे पनि यस्तो बृहत् दर्शनलाई यो गीतले सटीक ढङ्गले समेटेको छ।
सङ्गीत मनोरञ्जन मात्र नभई मानव जीवनका विविध पक्ष दर्शाउने माध्यम पनि हो र यो भावनाको गहिराइमा पुग्न सक्छ भन्ने उदाहरण पनि हो यो गीत। आत्माको अमरता सांसारिक जीवनको क्षणभङ्गुरता, जीवन र मृत्युको चक्रबाट मुक्तिको इच्छा र अलौकिक, दैवी शक्तिसँग एकाकार हुने चाहना यो गीतमा व्यक्त गरिएको छ।
थारू भाषाका थुप्रै मनोरञ्जनात्मक विधाको व्यवसायीकरण र प्रचारप्रसार भइरहँदा यस्ता दर्शन बोकेका गीत भने समुदायमा मात्र सीमित छन्। “कसैको मृत्यु भएको छ भने हामी त्यो घरमा पालैपालो सुत्न जान्छौं। त्यति वेला यस्ता गीत गाएर परिवारका मानिसलाई सान्त्वना दिन्छौं,” बसन्ती भन्छिन्, “यो गीतलाई मराठी भजन भनिन्छ र यो थारू गीत अहिलेसम्म कसैले रेकर्ड गरेको मलाई थाहा छैन।”
यस्ता गीतको ‘गम्भीर’ विषय र समुदायमा विशेष प्रयोजनका कारणले यो सन्दर्भ बाहिर यी गीत लोकप्रिय हुन नसक्लान् कि भन्ने एउटा पूर्वधारणा हुन सक्छ। तर, छिमेकी देश भारतमा भने यस्ता दर्शन बोकेका गीतले चलचित्रमा र शास्त्रीय सङ्गीतमा ठाउँ पाएको पाइन्छ। त्यसैले यी प्राचीन दर्शन पनि नयाँ पुस्तामाझ पुगिरहेका छन्। कबिरले रचेको मानिने गीत ‘उड जाएगा हंस अकेला’ नेटफ्लिक्समा प्रदर्शनमा आएको चलचित्र कलामा समावेश गर्नु यस्तो अभ्यासको पछिल्लो उदाहरण हो।
जग दर्शनका मेला
उड जायेगा हंस अकेला।
बसन्तीको गीतले यस्ता गीत नेपालमा पनि छन् भन्ने उदाहरण दिन्छ। विडम्बना प्रचारप्रसारको अभावमा ती ओझेलमा परिरहेका छन्।
थारू समुदायमा आफ्नो भाषाका गीतको बजार विकास भइरहेको छ। त्यो त्यस्तो आधुनिक बजारमा धेरैजसो मनोरञ्जनात्मक विधा, लय र शब्द पुगे पनि जीवन दर्शन बोकेका गीतले ठाउँ पाइरहेका छैनन्। हिमालखबरबाट
प्रकाशित:
११४४ दिन अगाडि
|
२ साउन २०८०
४ दिन अगाडि
|
१५ भदौ २०८३
६ दिन अगाडि
|
१३ भदौ २०८३
६ दिन अगाडि
|
१३ भदौ २०८३
१२ दिन अगाडि
|
७ भदौ २०८३
२१ दिन अगाडि
|
२९ साउन २०८३
३२ दिन अगाडि
|
१८ साउन २०८३
३४ दिन अगाडि
|
१६ साउन २०८३
१४२४ दिन अगाडि
|
२५ असोज २०७९
१४५९ दिन अगाडि
|
२१ भदौ २०७९
१४६८ दिन अगाडि
|
१२ भदौ २०७९
१४२३ दिन अगाडि
|
२६ असोज २०७९
१३७३ दिन अगाडि
|
१५ मंसिर २०७९
१४२९ दिन अगाडि
|
२० असोज २०७९
१३६१ दिन अगाडि
|
२७ मंसिर २०७९