फायल तस्विर
२३ वर्ष पहिले २०५७ साउन २ मा कमैयाहरूलाई मुक्तिको घोषणा गरिएको थियो । १२ वर्षमा खोला पनि फर्किन्छ भन्छन्, १२ दुना २४ वर्ष हुनै लाग्दा कति कमैयाहरूको जीवनको धमिलो खोला फर्किएर सङ्लो भयो, यसबारे खासै अध्ययन भएको जस्तो लाग्दैन ।
कमैयाहरू प्रायः थारू समुदायकै थिए । यो पंक्तिकार पनि थारू समुदायकै नाताले उनीहरूसँग निकै उठबस गरेको छ । प्रस्तुत आलेखमार्फत् आफ्नै गाउँठाउँका पूर्व मुक्त कमैयाहरूको जीवन चियाउने प्रयास गरिएको छ ।
कृषि थारू समुदायको पुख्र्यौली पेशा । यो पंक्तिकार हलोको चरो समातेरै हुर्कियो भन्दा हुन्छ । मलाई कमैया काका, बरा बाहरूले हलो जोत्न सिकाए । सिक्ने क्रममा कैयो पटक गोरुको खुरमा फाली पारेको छु । क्याम्पसको विदामा घर आउँदा कमैया काका, बरा बाहरूसँग खेतमा काम गर्दै, सँगै खेतको डुम्ना (अग्लो भाग) मा पलेटी कसेर जाँड पानीसहित खाजा खाएको आजै जस्तो लाग्छ ।
मेरा घरमा रहेका कमैयाका दुइ पुस्ताबारे मैले थाहा पाउँछु । उनीहरूसँग हाम्रो पारिवारिक सम्बन्धझैँ थियो । इन्सेकको रिपोर्ट भन्छ, कमैयाहरू थारू भन्दा गैरथारू जमिन्दारबाट बढी पीडित थिए । जमिन्दारहरूकोे र कमैयाहरूको भान्सा अलग थियो । निश्चय नै जमिन्दारको भान्सामा मिठो मसिनो पाक्थ्यो, कमैयाको भान्सामा काचलाउ खान्की ।
म १ कक्षादेखि १० सम्म पढेको बालजनता उच्च मावि, वनगाउँ, दाङदेउखुरीका तात्कालीन हेडसर राजेन्द्रप्रसाद चौधरी थारू कल्याणकारिणी सभा लगायतको विभिन्न कार्यक्रममा भन्ने गर्नु हुन्थ्यो,‘थारू जिमदारको बुहारीले आफ्ना घरका सबै सदस्यलाई जुन खाना ख्वाउँछिन्, त्यही खाना कमैयाहरूलाई पनि ख्वाउँछिन् । अझ रोपाईंको बेला खाना बोकेर खेतमै पुग्छिन् । कमैयाहरूले खाएको खानाको थाल थारू जिमदारको बुहारीले नै माझ्छिन् । वास्तविक समाजवाद त थारू समुदायभित्रै छ । केही जिम्दारले कमैयाहरूलाई बढ्तै दुःख दिएर कमैया प्रणालीकै वदनाम गरे ।’
मेरो घरमा पनि मालिक र कमैयाको खानामा मात्रै होइन, व्यवहारमा पनि कुनै उँचनिच थिएन । मैले सबै कमैयालाई तपाईं भनेर सम्बोधन गर्थे, उनीहरूले पनि मलाई तपाईं नै भन्थे । मेरा काकाले कमैयालाई तँ भन्थे, कमैयाहरूले पनि उहाँलाई तँ नै भन्थे ।
कमैयाहरूले जमिन्दारको घरमा खाएर ज्यालाको रुपमा निश्चित बोरा धान पाउँथे, जसलाई मसौरा भनिन्थ्यो । मैले हामीकहाँ बसेको कुनै कमैया खाना नपुगेर भोकै बसेको कहिल्यै थाहा पाइनँ । जमिन्दारसँग ऋण मागेको थाहा पाइनँ ।
हामीकहाँ धेरै वर्ष गाडा हाँक्ने काममा संग्लग्न ‘लह्रेउना’ले छोराहरू पनि कमाउने भएपछि आफ्नो छुट्टै खेत किने । हाम्रो घरको काम भन्दा आफ्नै खेततिर उनको पाइला बढी हेलिन थालेपछि हजुरबाले माघीमा उनलाई विदाइ गरे ।
छयालीसको परिवर्तनले गाउँघरमा ६ महिने रात्री कक्षा खुल्दै गएको थियो । त्यसमा सहभागी भएर कमैया परिवारका सदस्य साक्षर हुँदै गएका थिए । यो निकै खुशीको कुरा थियो ।
घरका सदस्यझैं भएपछि अरु कमैयाहरूलाई पनि काम अह्राउन गाह्रो हुँदै गएको थियो । बा जागिरे भएर पहाडमै रहेपछि खेती व्यवस्थापनको जिम्मा हजुरबाकै थियो । मैले एकदिन भनें, ‘हजुरबा कमैयाहरूलाई मुक्त गरिदिउँ । बरु खेती अधिया लगाउँ ।’ हजुरबालाई पनि अह्रन खटनमा गाह्रो हुँदै गएको थियो, नाइँनास्ती गर्नु भएन । यसरी २०५७ साउन २ गते सरकारले कमैया मुक्ति घोषणा गर्नु ५÷६ वर्ष पहिल्यै हाम्रो घरबाट कमैयाहरू मुक्त भएका थिए ।
हाम्रो घरमा पुस्तौं कमैया भएकाहरूले जग्गा अधिया कमाउन माँगे तर हजुरबाले दिन मान्नु भएन । म त्यो दिन निकै खिस्रिक्क परेको थिएँ । यसरी कमैयाहरूसँग हाम्रो साइनो टुट्यो ।
कमैयाहरू उमेरमा मात्रै होइन, गाउँघरको साइनोले पनि म भन्दा माथि थिए । म जब जब सहरबाट आफ्नो गाउँ दाङदेउखुरीको छुट्की घुम्ना गाउँ छिर्छु, जसको छत्रछायाँमा हामी हुर्किएका थियौं । ती मुक्त कमैयाहरूलाई भेट्ने प्रयास गर्छु । सेवाढोग गर्छु । जबकि गैरथारू जिमदारले आफ्नो पूर्व कमैयालाई ढोगेको परिकल्पनासम्म गर्न सकिन्न ।
एकपटक काठमाडौं आउँदा आफ्नो एक पूर्व कमैयाबाट मैले सापटी पनि माँगेको छु । हामीलाई सापटी भए पनि सहयोग गर्न पाउँदा ती कमैया काका निकै खुशी देखिएका थिए । मनले भन्यो, सापटी लिने भन्दा दिने खुशी, वाह क्या जिन्दगी ।
मेरो गाउँको घरलाई जमिन्दारको ट्याग लागेको छ । तर, अहिले मेरो घर भन्दा मेरा पूर्व कमैयाहरूको घर अहिले चिटिक्क परेको देख्न सकिन्छ । तिनका छोराछोरी भलै पढ्न सकेनन् । पढ्ने वातावरण नै भएन । तर, अहिले तिनका छोराहरू कोही गाडी लाइनमा छन् । कोही घर बनाउने मिस्त्री भएर राम्रो आम्दानी गरिरहेका छन् । कोही कुखरा फर्ममा काम गरिरहेका छन् । कुनै समय मासु खान चाड कुर्नुपर्ने तिनीहरूको घरमा अहिले माछामासु खान कुनै आइतवार कुर्नुपर्दैन ।
मेरो घरमा एक कमैया थिए, तिनको नाम थियो राजा । गाउँमा प्रदर्शित नाटकमा राजा पात्रको भूमिका निभाएपछि उनको नाम राजा भएको थियो । मैले थाहा पाएदेखि उनी हामीकहाँ भैँसी गोठाला थिए । तिनका तीनै भाइ पनि हामीकहाँ कमैया रहे ।
राजा जन्मैदेखि एक आँखा देख्दैनथे । त्यसैले, तिनले बेहुली नि पाएनन् । तिनको स्वरमा अनौठो जादु थियो । जब गाउँको पश्चिमतर्फको खेतमा भैँसी चराउँदै वैशाख जेठमा सजना गीत उराल्थे, तब भान्सेहरूले उनको स्वरमा हराएर पकाइरहेको रोटी नै जलाउन पुग्थे । अहिलेजस्तो मोवाइलको जवाना थिएन, उनको स्वर रेकर्ड गर्न नसक्ता अहिले पनि थकथक लाग्छ ।
राजाका तीनै भाइहरूको घरको व्यवस्थापन अहिले राम्रो छ । एकजना त सरकारी कर्मचारी नै छन् । तिनको घरपरिवारको उचित व्यवस्थापन देख्दा सन्तोख लाग्छ ।
यी त भए मेरो घरमा कुनै समय कमैया रहेकाहरूको गन्थन । पुछारमा सँगै पढ्ने एक साथीको सफलताबारे फुर्को जोड्न चाहन्छु ।
चेतलालको मेहनत
मेरो छिमेकी गाउँ दाङदेउखुरी भैस्कोर्माका चेतलाल चौधरी कक्षा १ देखि १० सम्मका सहपाठी थिए । घरबासबाहेक तिनको घरको जग्गा थिएन । तिनका बुवा, दाजुहरू कमैया थिए । निमाविदेखि उनी विज्ञान शिक्षकको भाँडा माझेर पढे । २०४५ सालमा हामीले सँगै एसएलसी सकायौं । केटाकेटीलाई ट्युसन पढाएर तिनले बीए सके । म एमए पढ्न कीर्तिपुर आउँदा बीएडको जाँच दिन आउँदा मेरै डेरामा बसे ।
अहिले मित्र चेतलाल हामी कक्षा १ देखि १० सम्म सँगै पढेको बाल जनता उच्च मावि, बनगाउँ, देउखुरीको प्राचार्य छन् । आफ्नो लागि अलग अनि बुवा, दाजुहरूलाई अर्को पक्की घर बनाइ दिएका छन् । बजारमा घडेरी जोडेका छन् । उनको प्रगति देख्दा आफैले प्रगति गरेको जस्तो महसुस हुन्छ ।
हो, कुनैबेला म जिमदारको छोरा थिएँ । रोटेपिङ झैं जिन्दगी फनफनी घुम्दै गरेको नियाल्दै गर्दा आज मेरा पूर्व कमैयाहरू जिम्दार भएका छन् । कमैया पृष्ठभूमिका चेतलाल जस्ता मेरा बालसहपाठीहरू जिमदार भएका छन् । उनीहरू मनमौजी जिन्दगी बाँचिरहेका छन् । कुनै बेलाका कमैया उनीहरू जिमदार अनि आठघण्टे ड्युटीले आज म कमैया भएको छु ।
...
अझै पनि कमैया शब्दलाई दासको रुपमा परिभाषित गरिन्छ । धेरैलाई थाहा नहुन सक्छ, कमैया शब्दको परिभाषा । काम प्लस अइया अर्थात् काममा आउनेवाला नै कमैया हो । काममा रमाउने, आफ्नो काम कुशलतापूर्वक निभाउनेलाई कमैया भनिन्छ । त्यसैले, हर कोहीले आफूलाई कमैया भन्दा ग्लानीबोध हुनु जरुरी छैन ।
प्रकाशित:
११४५ दिन अगाडि
|
२ साउन २०८०
५ दिन अगाडि
|
१५ भदौ २०८३
७ दिन अगाडि
|
१३ भदौ २०८३
७ दिन अगाडि
|
१३ भदौ २०८३
१३ दिन अगाडि
|
७ भदौ २०८३
२२ दिन अगाडि
|
२९ साउन २०८३
३३ दिन अगाडि
|
१८ साउन २०८३
३५ दिन अगाडि
|
१६ साउन २०८३
१४२५ दिन अगाडि
|
२५ असोज २०७९
१४६० दिन अगाडि
|
२१ भदौ २०७९
१४६९ दिन अगाडि
|
१२ भदौ २०७९
१४२४ दिन अगाडि
|
२६ असोज २०७९
१३७४ दिन अगाडि
|
१५ मंसिर २०७९
१४३० दिन अगाडि
|
२० असोज २०७९
१३६२ दिन अगाडि
|
२७ मंसिर २०७९