रमदैयाको घर पुग्दा झिसमिसे अँध्यारो भैसकेको थियो । वरपरका घरहरूमा बिजुली बत्ती बलिसकेका थिए, उनको घर भने अँध्यारै । छिमेकको आँगनमा बलेको बत्तीको उज्यालोमा उनी आफ्नो आँगनमा बेरी (रातिको खाना) पकाउँदै थिइन्, चुलोमा फुफु गर्दै ।
रमदैयाको घर टीकापुर घटनापहिले राति पनि उज्यालै हुने गर्थ्यो । घरमा बिजुली जडान गरिएको थियो, उनका श्रीमान्ले महसुल तिर्थे । टीकापुर घटनामा संलग्नता आरोपमा श्रीमान् गिरफ्तार भएपछि लाइन काटियो । त्यसयता उनका ससाना तीन छोराछोरीले अँध्यारो हुनुपहिल्यै होमवर्क सक्नुपरेको छ ।
मोबाइल फोनको टर्च बाल्दै बहरी (बैठक कोठा) मा बसेर कुराकानी सुरु भयो । रमदैयासँग ती कुरा भए, जुन गर्न वर्जितजस्तै छ । तिनका सत्य कथाहरूले पाउनुपर्ने ध्यान पाउँदैनन् ।
२०७२ को टीकापुर घटनापछि अधिकांश पुरुष भारततिर भागेका थिए भने कोही आफन्तको शरणमा थिए । घरमा महिला र केटाकेटी मात्र रहेको अवस्थामा प्रहरी गस्ती आयो । प्रहरीले छापा मार्दा थारू महिलाले यातना र शोषणको सामना गर्नुपर्यो । सोधपुछका क्रममा अत्यन्त त्रसित र आतंकित बनाइएकी एक पात्र हुन् रमदैया । उनले बहरीमा राखेको कुठ्ली (अन्न राख्ने माटाको भाँडो) देखाउदै भनिन्, ‘उनीहरू (प्रहरी) ले कुठ्ली फुटाइदिए । छुट्टाछुट्टै कुठ्लीमा राखेको धान, गहुँ र चामल एकैमा मिसाइदिए ।’
खस नेपाली बोल्न नसक्ने रमदैयाले डराउँदै ‘अइसिक ना कराडेउ’ (यस्तो नगरिदेऊ) भनी बिन्ती गर्दा उनीहरूले ‘तेरो लोग्नेले पुलिस मार्यो, हतियार कहाँ लुकाएको छ, भन्’ भन्दै छातीमा बन्दुक तेर्स्याए । उनीहरूले बोलेको रमदैयाले धेरै बुझिनन्, तर उनीहरूको आक्रोश, गालीका शब्दहरू उनको सम्झनामा छन् । उनीहरूले आफू र बच्चाहरूलाई जिउँदो छाड्लान् भन्ने रमदैयालाई लागेको थिएन ।
रमदैया थारू भाषामा पनि सानो स्वरमा बोल्छिन् । सोधेको प्रश्नको जवाफ थोरै वाक्यमा दिन्छिन् । उनको मुखले भन्दा आँखाको आँसुले बरु धेरै बोल्छ । आफ्नो भयानक स्मृति सुनाउँदा उनका ओठहरू थरथराइरहेका थिए । खस नेपाली बोल्न नसक्ने उनले अँध्यारो रातमा आक्रोश र बन्दुकले सजिएका पुरुष सिपाहीको सामना कसरी गरिन् होला !
कर्फ्युकै अवस्थामा थारूहरूमाथि भएको राज्य आतंक गैरथारू वृत्तमा बहसको विषय सायदै बनेको होला । सत्तासमर्थक थारूहरू पनि यो विषय नउठाउनुमै बढी फाइदा देख्छन्, अनौपचारिक भेटमा बाहेक सार्वजनिक मञ्चमा यी कुरा उठाउने हिम्मत गर्दैनन् । अझै आन्दोलनमा छौं भन्ने थारूहरूले त्यसरी सम्पत्ति लुटिनु र जलाइनुलाई प्रमुख विषय बनाएर प्रत्येक वर्ष खुला कार्यक्रम गर्दै आएका छन् । थारू महिलाको भोगाइ के रह्यो त भन्नेबारे चासो नगण्य रह्यो ।
टीकापुर घटनामा थारूहरूको सम्पत्ति ध्वस्त गरिएको अभिलेख ढिलै भए पनि व्यवस्थित गरियो । क्षतिपूर्तिका नाममा केही राहत रकम उपलब्ध गराइयो । तर थारू महिलाको कथाव्यथा कतै पनि उल्लेख गरिएन । थारू महिलाको कुनै भोगाइ नभएरै हो त ?
राज्यले थारूहरूको आन्दोलनलाई आन्दोलन नै देखेन । बरु आन्दोलनकारी थारूहरूलाई आतंककारीका रूपमा हेर्यो । सुरक्षा कायम गर्ने नाममा थारू समुदायलाई पूर्ण रूपमा नियन्त्रण गरियो । के सुरक्षा अन्य कसैको असुरक्षा निर्माण गर्ने विषय हो ? रमदैयाजस्तै कैयौं थारू महिलाले सुरक्षाघेराभित्र असुरक्षित महसुस गरे । थारू महिलाका अनुभवको दृष्टिकोणबाट सुरक्षाको परिभाषा नै बदलिन सक्छ र तिनका लागि सुरक्षा विकृत असुरक्षामा परिवर्तित हुन सक्छ । ‘थारूहरूले प्रहरी मारे’ भनी हल्ला गर्दै बदलामा थारू महिलामाथि सरकारी पुरुषत्वको प्रदर्शन के उत्तम विकल्प थियो ?
राज्य आतंकले ग्रसित रमदैया, रिमा, यमुनाका भोगाइहरू कहिल्यै बाहिर आएनन्, किनभने तिनले आधिकारिक कहानीलाई ‘काउन्टर’ गर्छन् । महिलाका कथा कहिल्यै बाहिर आउँदै नआउने होइनन् । महिलाका कथा त्यस बेला लेखिन्छन्, जब त्यसले राज्यसत्तालाई पोसिरहेको हुन्छ । जब महिलाका कथाहरू यस्तो गर्न असफल हुन्छन्, तिनलाई विभिन्न माध्यमबाट चुप लगाउने प्रयास गरिन्छ र त्यो प्रयास धेरै हदसम्म सफल बनाइन्छ पनि । कसलाई कसरी समावेश गर्ने वा नगर्ने र कसलाई कसरी प्रस्तुत गर्ने भन्ने कुरा बडो कलात्मक रूपमा सम्पादन गरिन्छ र विभिन्न माध्यमबाट बाहिर ल्याइन्छ । यो कुरा टीकापुरको सन्दर्भले प्रस्ट पार्छ ।
टीकापुरका थारू महिलालाई दिइएको यातना वैधानिक बनाउन एक थरी महिलाको आँसुलाई छापा र अनलाइनमा व्यापक बनाइयो । आधिकारिक रूपमा आएका समाचारका कथाहरूले राज्यनिकट रहेका महिलाका लागि नयाँ ठाउँ बनाए भने थारू महिलाको रोदनलाई बेवास्ता गरे । राज्य सञ्चालकहरूको यस्तो गतिविधिले मानवअधिकारकर्मीका साथै महिला अधिकारवादीमा समेत हानिकारक प्रभाव पार्यो । हैन भने टीकापुरमा कर्फ्युका बेला थारू महिलामाथि केके भयो, किन खोजिएन ? सदियौंदेखि जातीय–लैंगिक उत्पीडन खेपिरहेका थारू महिला अन्वेषणको केन्द्रमा किन कहिल्यै परेनन् ?
रमदैया र कैयौंले आफूमाथि भएको व्यभिचारको रिपोर्ट नगर्नुमा उनीहरूको सचेत छनोटभन्दा पहुचको कमीले बढी भूमिका खेलेको छ । टीकापुर घटनापछि जसरी एकपक्षीय गलत प्रचारबाजी भयो, थारूहरूले न्याय पाउने निकाय कतै देखेनन् ।
रमदैयाका अनुसार, उनका श्रीमान् साइकलमा चिप्स, सुर्ती, बिस्कुट आदि राखेर गाउँगाउँमा बेच्ने गर्थे । श्रीमान्ले दिनभरिको व्यापारबाटै बिरामी रमदैया र तीन छोराछोरीको पेट भर्नुपर्थ्यो । आधा कट्ठा जमिनमा सानो घर छ, बाँकी थोरैमा सागसब्जी । खस नेपाली बोल्न नसक्ने, आन्दोलनबारे केही थाहा नभएका उनका श्रीमान्लाई टीकापुर घटनाको दोषी भन्दै जेलमा कोचियो । रमदैया भन्छिन्, ‘आन्डोलन करुइयन मन्टरी बन्लइ, संसद बन्लइ । मोर मनैन् जेलम डरलै ।’ (आन्दोलन गर्नेहरू मन्त्री बने, सांसद बने, मेरो मान्छेलाई जेलमा कोचे ।)
शक्ति आर्जन गर्नका लागि डेमागग नेताहरूले थारूहरूलाई उक्साएको र त्यसपछि त्यो शक्तिलाई सर्वाधिक दुरुपयोग गरेको उदाहरण हो— थरुहट–थारूवान (टीकापुर) आन्दोलन । थारूभित्रका राजनीतिक सम्भ्रान्तहरू भुइँतहका थारूहरूलाई कसरी प्रयोग गर्छन् भन्ने एउटा गतिलो दृष्टान्त बन्यो टीकापुर आन्दोलन ।
केही थारू नेताले केवल मन्त्री पदका लागि सम्झौता गरे । कैद मिनाहा गरी आफू जेलबाट छुटे तर काम नगरी खान नपुग्ने थारूलाई जेल कोचे । यसले संकेत गर्छ, राजनीतिक सम्भ्रान्तहरूले जुनसुकै दलीय विचार वा समुदायलाई प्रतिनिधित्व गरून्, तिनले रमदैयाजस्ता निम्नवर्गीयहरूको सवाल कहिल्यै उठ्न दिँदैनन् । बरु सारा शक्ति दुरुपयोग गरि तिनैलाई फसाउँछन् ।
केन्द्र (काठमाडौं) बाट आन्दोलन गर्न उक्साउने थारू नेताहरूमा नैतिकता हुन्थ्यो भने थारू महिलामाथि भएको दमनविरुद्ध वकालत गर्थे, तिनको न्यायका लागि आवाज बुलन्द बनाउँथे । कुर्सीसँग थारूका मुद्दा साट्ने थिएनन् । तर थारू आन्दोलन दबाउन खोज्ने गैरथारू सम्भ्रान्त र थारू आन्दोलनको नेतृत्व गर्ने थारू सम्भ्रान्तले आखिर टीकापुर घटनापछि काठमाडौंमा कागजी सम्झौता गरे । अभिजात वर्गका पुरुषप्रधान सम्झौतामा जडित बुँदाहरूमा महिलाका सवाल कहिल्यै उल्लेख भएनन् ।
रमदैयाले आफू थारू भएकाले बजार जाँदा हेपिनुपरेका कथाहरू सुनाइन् । टीकापुर घटनापछि घरमै आइपुगेका सुरक्षाकर्मीले बोलेका शब्द उत्तिकै अपमानजनक थिए । रमदैयाको प्रश्न छ, ‘टीकापुर घटनाको छानबिनबिना थारूहरू नै अपराधी हुन् भन्ने फैसला कसरी सम्भव भयो ?’ रमदैयालाई खस नेपाली बोल्न आउँदैन भन्नुको मतलब उनले विभेद महसुस गर्न सक्दिनन् भन्ने होइन, उनले प्रश्न गर्न सक्दिनन् भन्ने होइन । उनमा अनुभव छ, आदिवासी ज्ञान छ र त्यो अर्गानिक छ । राज्य आतंक भोगेकामध्ये थोरै महिलाले मात्र आफ्नो कथा सुनाउन सक्छन् । ती कथालाई गम्भीरताका साथ लिइनुपर्छ । कान्तिपुरबाट
प्रकाशित:
१०९६ दिन अगाडि
|
१८ भदौ २०८०
४ दिन अगाडि
|
१५ भदौ २०८३
६ दिन अगाडि
|
१३ भदौ २०८३
६ दिन अगाडि
|
१३ भदौ २०८३
१२ दिन अगाडि
|
७ भदौ २०८३
२१ दिन अगाडि
|
२९ साउन २०८३
३२ दिन अगाडि
|
१८ साउन २०८३
३४ दिन अगाडि
|
१६ साउन २०८३
१४२४ दिन अगाडि
|
२५ असोज २०७९
१४५९ दिन अगाडि
|
२१ भदौ २०७९
१४६८ दिन अगाडि
|
१२ भदौ २०७९
१४२३ दिन अगाडि
|
२६ असोज २०७९
१३७३ दिन अगाडि
|
१५ मंसिर २०७९
१४२९ दिन अगाडि
|
२० असोज २०७९
१३६१ दिन अगाडि
|
२७ मंसिर २०७९