गणेशप्रसाद गुरागाईं
संसारका धेरैजसो मानिस मदिरापान गर्छन् । कसैले पीडा भुल्ने बहानामा, कसैले प्रेम वियोगको बहानामा, कसैले ठण्डी भगाउने बहानामा, कसैले खुसी साटासाटको बहानामा, कसैले पुरानो मित्र भेटको बहानामा, कसैले मौसम परिवर्तनको बहानामा, कसैले चाडपर्वको बहानामा, कसैले आफ्नो कुनै पनि सफलता र असफलताको बहानामा मदिरा सेवन गर्छन् । यी बहाना प्रतिनिधिमूलक मात्र हुन् । खोज्दै बुझ्दै जाने हो भने विश्वमा रहेका लगभग आठ अर्ब मानवमध्ये चार अर्ब जतिले त यस्ता बहानाको फेहरिस्त नै पेस गर्छन् । तसर्थ सबै बहाना यहाँ उल्लेख गर्न सम्भव छैन ।
बहाना जेसुकै भए पनि मानिसले नशाका लागि वा लागेको बानीलाई त्याग्न नसकेर नै मदिरापान गर्छन् । तामसी गुण अन्तर्गतको पेय पदार्थ हो मदिरा, यो साकाहारी समूहमा पर्छ । श्रीमद्भगवद्गीता अध्याय १७ श्लोक १० मा मानिसले आफ्नो खानपानमा प्रयोग गर्ने मदिरा लगायत तामसी खानाका विषयमा उल्लेख छ ।
‘यातयामं गतरसं पूति पर्युषितं च यत् ।
उच्छिष्टमपि चामेध्यं भोजनं तामसप्रियम् ।।’
अर्थात् ग्रहण गर्नुभन्दा तीन घण्टा पहिले पकाइएको, आधा पाकेको, रसहीन, दुर्गन्धित, बिग्रिएको, सडेको, बासी, जुठो र एकदमै अपवित्र खानेकुरा तमोगुणी मानिसलाई मनपर्छ वा प्रिय लाग्छ ।
उपरोक्त अर्थबाट के बुझिन्छ भने मदिरा, मदिराजन्य पदार्थ र मदिरा समान गुण भएका जति पनि दुर्गन्धित, सडेगलेका, बासी, जुठो र एकदमै अपवित्र पेय पदार्थ र खानेकुरा छन्, ती सबै तामसी समूहमा पर्छन् । यस्ता पेयपदार्थ र खानेकुराले संक्रामक रोग बढाउँछन् । यी पदार्थ सत्त्वगुणी मानिसहरू खाँदैनन् र खान पनि मन पराउँदैनन् ।
त्यसैगरी मदिरापानको लत बसेको मानिस (जसलाई तमोगुणी स्वभावमा स्थित मानिस भनिन्छ)को आनीबानी, चालचलन, स्वभाव, कार्य सम्पादनको तौर–तरिका र कार्य परिणामका विषयलाई प्रस्ट्याउनका लागि श्रीमद्भगवद्गीता अध्याय २ श्लोक ६२ र ६३ को अर्थ र भावलाई उल्लेख गर्नु उपयुक्त हुन्छ ।
‘ध्यायतो विषयान्पुंसः, संगस्तेषुपजायते ।
सङ्गात्सञ्जायते कामः, कामात्क्रोधोक्भिजायते ।।
क्रोधाद्भवति सम्मोहः सम्मोहात्स्मृतिविभ्रमः ।
स्मृतिभ्रंसाद् बुद्धिनाशो बुद्धिनाशात्प्रणश्यति ।।’
अर्थात् विषयहरूको चिन्तन गर्ने पुरुषको तिनै विषयमा आशक्ति पैदा हुन्छ, आशक्तिबाट ती विषयप्रति कामना पैदा हुन्छ र कामनामा विघ्न हुँदा क्रोध उत्पन्न हुन्छ । क्रोधका कारण अत्यन्त मूर्खताभाव उत्पन्न हुन्छ, मूर्खताभावका कारण स्मृतिमा भ्रम हुन जान्छ, स्मृतिमा भ्रम उत्पन्न हुँदा बुद्धि अर्थात् ज्ञानशक्तिको नाश हुन्छ र बुद्धिको नाश भएपछि त्यो पुरुष आफ्नो स्थितिबाट गिर्दछ ।
यस्तै, मदिराको स्वाद, गन्ध, बनाउने प्रक्रिया, यसको सेवनबाट प्राप्त उपलब्धि, उपभोग गर्न मिल्ने समय आदि विचार गर्दा यो पेय पदार्थ तामसी स्वभाव र गुण भएको पेय पदार्थ हो र यसको प्रयोगले मानिसलाई तमोगुणी स्वभावमा पुर्याउँछ । यस स्वभावमा पुग्नुलाई आध्यात्मिक नजरले विश्लेषण गर्ने हो भने मानिस कहिल्यै पनि मोक्ष हुन वा मुक्तावस्थामा पुग्न सक्दैन ।
मानिसले सेवन गर्ने जुनसुकै खाना समूह र प्रकारमा मदिरा परे पनि अन्ततोगत्वा यसबाट प्राप्त हुने मूलभूत तत्त्व भनेको नशा हो ।
तसर्थ मदिराबाट प्राप्त हुने अल्पकालीन नशालाई त्याग गरेर जुन नशा एक पटक मात्र लागेपछि जीवनपर्यन्त लागिरहन्छ त्यो नशाको विषयमा चिन्तनमनन गरौँ । योग, ध्यान र अध्यात्मको विषयमा चिन्तन गरौँ ।
मदिराले कति समयसम्म नशा दिन्छ भन्ने त्यसको मात्रामा निर्भर गर्छ भनेको पनि सुनिन्छ । मदिरा भनेर मात्रै हुँदैन, यसका पनि विभिन्न प्रकार छन् । गुणस्तर अनुसार मूल्य तोकिएको पाइन्छ । मदिराको मूल्य जति परे पनि यसको मूलभूत गुण नशा दिने नै हो । कतिपयले मात्रा मिलाएर गुणस्तरीय मदिरा पिउँदा स्वास्थ्यलाई हानि नगर्ने तर्क पनि गर्छन् ।
उनीहरूको तर्कको आफ्नै विज्ञान होला । तर मदिराले राम्रो गरेको भन्दा नराम्रै गरेको समाजमा देखिँदै र सुनिँदै आइएको छ । मदिराकै कारण झै–झगडा भएको, मानिसले होस गुमाएर गल्ती गरेको, लामो समय मदिरा सेवन गरेका कारण रोगको सिकार भएको हाम्रा लागि नौला होइनन् ।
मदिरापानको बानी लागेकाहरूको तर्क हुन्छ, मदिराको नशा भनेकै आनन्द महसुस गर्नु हो । मदिराको नशाबाट प्राप्त हुने आनन्द अन्य पेय पदार्थबाट प्राप्त हुने आनन्दभन्दा सर्वोच्च छ र यो सर्वसुलभ रूपमा उपलब्ध छ ।
के नशा मदिराबाट मात्रै प्राप्त हुन्छ ? होइन । मानव जीवनका लागि आवश्यक र सबैभन्दा महत्त्वपूर्ण नशा हो– आध्यात्मिक चिन्तन र ध्यान । यसको नशा एक पटक मात्र लाग्यो भने जीवनपर्यन्त छुट्दैन । मानिसले मदिराको नशाभन्दा अभूतपूर्व गहिरो र दीर्घकालीन नशाको विषयमा थाहा पायो भने उसले यो नशालाई चटक्कै छाड्न सक्छ । यस्तो अभूतपूर्व नशाको लतलाई छाडेर मानिस जब मदिरापानको नशामा भुल्न थाल्छ, ऊ मानव भएर जन्मनुको उद्देश्य, कर्तव्य र लक्ष्यबाट च्युत हुन थाल्छ । मदिरापान गर्ने बानी भएको मानिसले एकातिर मानिस भएर जन्मनुको महत्त्वपूर्ण उपलब्धिबाट चुक्नुपर्छ भने अर्कोतर्फ पुनः चौरासी लाखको चक्करमा पनि पर्नुपर्छ ।
मदिरापान गर्ने मानिसबाट प्राप्त हुन सक्ने जवाफको अनुमान गर्दा पाण्डव गीताको श्लोक ५८ र ५९ लाई यहाँ दृष्टान्तको रूपमा प्रस्तुत गर्न सकिन्छ । जस अनुसार –
‘जानामि धर्मं न च मे प्रवृत्ति–
र्जानामि पापं न च मे निवृत्तिः ।
केनापि देवेन हृदिस्थितेन
यथा नियुक्तोक्स्मि तथा करोमि ।।
यन्त्रस्य मम दोषेण शम्यतां मधुसूदन ।
अहं यन्त्रं भवान् यन्त्री मम दोषो न दीयताम ।।’
अर्थात् ‘म धर्मलाई जान्दछु तर यसमा मेरो प्रवृत्ति हँदैन, यसतर्फ मेरो मनै जाँदैन । यसरी नै म पापलाई पनि जान्दछु तर उसबाट मेरो निवृत्ति हँदैन, मनले त्यो बाटो छोड्नै मान्दैन । हृदयमा बसेको कुनै देव जस्ताले जे प्रेरणा दिन्छ, म त्यही गर्दछु । हे मधुसुदन ! म यन्त्र हुँ र तपाईं यन्त्री (यन्त्रको प्रेरक) हो । यसकारण यन्त्ररूप मेरो दोषबाट तपाईं शान्त हुनुहोस् । मलाई दोष नदिनु, किनकि यन्त्रका सबै क्रियाहरू त्यसको प्रेरकको अधिनमा हुन्छन् ।’
यो श्लोकको अर्थको विश्लेषण गर्दा यस्तो अर्थ लाचार र व्यभिचारी मानिसबाट मात्र अपेक्षा गर्न सकिन्छ । साथै उनीहरूले आफ्नो कार्यदोषको परिणामको जिम्मा ईश्वरलाई लगाउने प्रयास गरेको देखिन्छ । ईश्वर भनेको यस्तो तत्त्व हो, जो सारा जीवको भावमा मात्र उपलब्ध हुन्छ । चाहे सात्त्विकी, राजसी र तामसी गुण र स्वभाव भएको जीव किन नहोस् । उसले कहिल्यै पक्षपात गर्दैन र सबैमा समभावमा रहन्छ, साक्षीको रूपमा मात्र रहन्छ । जो व्यक्तिकृत संकल्पित छ, ऊ आफ्नो कर्तव्य पथबाट डगमगाउँदैन, यस्तो अर्थको पछाडि दौडिँदैन, कसले यो अर्थ लगायो त्यसको खोजी गर्दैन, आफू पनि त्यस्तो अर्थ लगाउँदैन र अरुलाई पनि यस्तो अर्थ लगाउन प्रोत्साहन गर्दैन ।
तसर्थ मदिराबाट प्राप्त हुने अल्पकालीन नशालाई त्याग गरेर जुन नशा एक पटक मात्र लागेपछि जीवनपर्यन्त लागिरहन्छ त्यो नशाको विषयमा चिन्तनमनन गरौँ । योग, ध्यान र अध्यात्मको विषयमा चिन्तन गरौँ । त्यही नशालाई आफ्नो जीवनको मूलप्रवाहको रूपमा अँगाल्दै जीवन सफल बनाऊँ । आनन्दका नाममा अल्पकालीन आनन्दको कुलतमा नफसौँ र यसका पछि नलागौँ । दीर्घकालीन आनन्दका बारेमा चिन्तन गरौँ । रातोपाटीबाट
प्रकाशित:
१०११ दिन अगाडि
|
१४ मंसिर २०८०
७ दिन अगाडि
|
१५ भदौ २०८३
९ दिन अगाडि
|
१३ भदौ २०८३
९ दिन अगाडि
|
१३ भदौ २०८३
१४ दिन अगाडि
|
७ भदौ २०८३
२३ दिन अगाडि
|
२९ साउन २०८३
३५ दिन अगाडि
|
१८ साउन २०८३
३६ दिन अगाडि
|
१६ साउन २०८३
१४२७ दिन अगाडि
|
२५ असोज २०७९
१४६१ दिन अगाडि
|
२१ भदौ २०७९
१४७१ दिन अगाडि
|
१२ भदौ २०७९
१४२६ दिन अगाडि
|
२६ असोज २०७९
१३७५ दिन अगाडि
|
१५ मंसिर २०७९
१४३१ दिन अगाडि
|
२० असोज २०७९
१३६४ दिन अगाडि
|
२७ मंसिर २०७९