Above News Title

रेशम चौधरीजी चेतना भया 

रेशम चौधरीजीलाई थाहा भएकै हुनुपर्छ कि शक्तिसंघर्ष दुइधारे तरवार हो, जहाँ सिपालु भएर चलाउन जाने विपक्षीलाई परास्त गर्न सकिन्छ, नभए आफैं रेटिन तयार हुनुपर्छ ।
रेशम चौधरीजी चेतना भया 

विषय प्रवेश  

रेशम चौधरीको नेतृत्वमा नागरिक उन्मुक्ति पार्टीको प्रथम महाधिवेशन टीकापुर, कैलालीमा २०८० पुस २६ देखि २८ सम्म सम्पन्न भएर केन्द्रीय समिति बन्यो । उक्त केन्द्रीय समिति हाल निर्वाचन आयोगद्वारा खारेज गरी पूर्व अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी र उनको कार्यसमितिलाई नै वैधता दिइयो । यो घटनाले पार्टीको आन्तरिक शक्ति संघर्षमा रञ्जिता श्रेष्ठको हात माथि परेको र दुई गुटले अलग अलग काम गर्न थालेको अवस्थामा पुर्यायो । पुष्पकमल दाहाल प्रचण्डले नयाँ गठबन्धन बनाएपछि अझ नाउपाभित्र खिंचलो झन् सतहमै आएको हो । 

रेशम चौधरी निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुगे । कारण देखाऊ आदेश अदालतबाट जारी भयो । त्यसको जवाफ फर्काउने क्रममा रञ्जिता श्रेष्ठले सर्वोच्च अदालतबाट रेशम चौधरीको विषयमा भएको फैसला फौजदारी अभियोगमा दोषी करार गरेको र यसलाई उनले पाएको आममाफीले कैदमिनाहा सम्मको अर्थ मात्र दिने अभिव्यक्ति दिइन् । त्यसको अर्थ रेशम चौधरी राजनीतिको लागि अयोग्य ठहर्छन् । यही वयानको आधारमा नागरिक उन्मुक्ति पार्टीभित्र रेशमको अस्तित्वलाई चुनौती दिएको प्रष्ट हुन्छ । हुन त यो राजनीतिक पार्टीको बीऊसम्म अस्तित्व धारण गरेको राजनीतिशास्त्रीले स्वीकार गर्न मान्दैनन् । 

राजनीतिक खेल जोखिमयुक्त रहने गर्छ । शक्तिको संघर्षमा श्रीमान् तथा श्रीमतीको सम्बन्धले महत्व बोक्दैन । यहाँ त रेशम चौधरीले विवेक प्रयोग गर्न छाडी कार्यनीतिक चाल चल्न खोजेको मात्र देखिन्छ । कार्यनीतिक चाल परिणाम दिन असमर्थ हुँदा निराशाको अभिव्यक्ति दिने काम हुँदै आएको छ । राजनीतिमा शक्तिले ल्याउने परिणाम कार्यकर्ता तथा शुभचिन्तकको लागि अर्थपूर्ण हुनुले रेशम चौधरी थप कमजोर बन्नु नै नागरिक उन्मुक्ति पार्टीको अधोगति हो । अझ थप विग्रेर जाने अवस्था विद्यमान छ ।

पृष्ठभूमि 

रेशम चौधरी खास गरी रेडियो पत्रकारितामा जमेको वेला रञ्जिता श्रेष्ठसंग प्रेम विवाह गरे । समय अन्तरालमा काठमाडौ, असन निवासी रञ्जिता टीकापुरको गर्मी खेप्दै जीवनको आधा उमेर विताइन् । उनी पनि श्रीमान् रेशमसंगै पत्रकारिता र पछि मिडिया व्यवस्थापनमा आफ्नो जीवन वाँच्ने तरिका रोजिन् । राजनीतिक जीवन दुवैको लागि नौलो भयो । हुन त रेशमले २०५१ सालको स्ववियु सदस्यको प्रमाण देखाउलान् तर त्यसपछि राजनीतिक जीवनभन्दा पनि व्यवसायिकता प्रमुख रह्यो । त्यसले दुइटैको जीवनलाई सहज बनाएको सत्य हो । 

पहिचानको आन्दोलनले रेशमलाई पनि छोयो । भावनात्मक अवस्था नै सही रेशम चौधरी थरुहट आन्दोलनमा सहभागीता जनाउने काममा लागे । दोश्रो संविधान सभामा सद्भावना पार्टीबाट टीकापुर क्षेत्रबाट उनी उम्मेदवार पनि भएकै हो तर सन्तोषजनक मत आएन । थरुहट थरुवान संयुक्त संघर्ष समिति २०७२ सालमा आन्दोलन शुरु गरेपश्चात टीकापुर क्षेत्रको संयोजक भएर रेशम चौधरीले विशाल आमसभा साउन २६ गते आयोजना गरे । त्यसले उनको नेतृत्वलाई स्वीकार गर्न माहोल तयार गरेको थियो । 

उनै रेशम चौधरीले टीकापुरमा २०७२ भदौ ७ गतेको विरोध कार्यक्रममा सहभागी बन्न अपील गरेका थिए, जहाँ राज्यले षड्यन्त्रमुलक ढंगले घटना घटायो । त्यसबेला थारु आन्दोलनकारी नैतिक हिसाबले कमजोर बनेका थिए भने डेढ वर्षे एक नावालकको हत्या भएको राज्य प्रायोजित घटनाले मानव अधिकारवादी संघसंस्था समेत राज्यको बोली बोल्न थालेका थिए । टीकापुर घटनापछि रेशम चौधरी भारतमा निर्वासन हुन बाध्य भए, यता थारु अगुवालाई छानि छानि मुद्दा लगाउने क्रम निरन्तर चलिरह्यो ।

२०७४ सालको आमनिर्वाचनमा रेशम राष्ट्रिय जनता पार्टी (राजपा)बाट उम्मेदवार भई भारी मतले विजयी हासिल गरे । रञ्जिता श्रेष्ठलाई आफ्नो वारेस बनाएर त्यो निर्वाचनमा उतारेका रेशम निर्वाचनमा विजयी भएसंगै जिल्ला अदालत कैलालीमा आत्मसमर्पण गर्न पुगे । राजपाले रेशमलाई जेलमुक्त गर्न पटक पटक संसद अवरुद्ध गर्यो । सरकारले समेत यस विषयमा सकारात्मक हुँदै जाँदा शपथ ग्रहणसम्म गराए । दुर्भाग्य संसदमा उभिएर एक जनप्रतिनिधिको हैसियतले कहिल्यै बोल्न पाएनन् ।

रेशम चौधरी जेल सजाय काटिरहेकै समयमा यता छुट्टै राजनीतिक दल खोल्ने भए । अन्ततः रञ्जिता श्रेष्ठको नेतृत्वमा नागरिक उन्मुक्ति पार्टी गठन गरेर २०७९ को स्थानीय तथा आमनिर्वाचन उपयोग गरे । दुइटै निर्वाचनमा जनसमर्थन प्राप्त गरेसंगै शक्ति सन्तुलनमा आफ्नो हैसियत स्थापित गरे । राष्ट्रिय दलको मान्यता प्राप्त नगरेता पनि पार्टीको संसदमा चार सांसद तथा सुदूरपश्चिम प्रदेशमा ७ जना अर्थात् निर्णायक संख्याको विधायक निर्वाचित गरे । लुम्बिनी प्रदेशमा समेत चार विधायक निर्वाचित गराएसंगै पार्टीको नेता रञ्जिता श्रेष्ठ सर्वस्वीकार्य भएको हो । 

रेशम चौधरीको बिना शर्त रिहाइको माग लिएर सडक तथा संसदमा आवाज उठ्न थालेपश्चात सर्वोच्च अदालतको फैसलाको पूर्ण पाठसमेत वाहिर नआउँदै गृहमन्त्रालयको सिफारिशमा मन्त्रीपरिषद्बाट माफी दिने निर्णय भयो । उक्त निर्णय सम्माननीय राष्ट्रपतिबाट स्वीकृत भएसंगै गणतन्त्र दिवसकै दिन उनी जेलमुक्त भए । पार्टीको संरक्षक रहेका रेशम चौधरी जीतको अनुभूत गरे । लगत्तै टीकापुरमा मारिएका इन्सपेक्टरको श्रीमतीले नेपाल सरकारको निर्णय बदर गराई पाऊँ भनि  सर्वोच्चमा मुद्दा दायर गरेको मुद्दा अदालतमा विचाराधिन छ ।
समस्या कहाँ छ ?

पार्टी विधिले चल्नुपर्ने मान्यता त हुन्छ नै । अहिले रेशम चौधरी अथवा रञ्जिता श्रेष्ठ विधि मिचेकोले समस्या आएको बुझाइ पनि देखिन्छ । त्यसैले होला कार्यकर्ताहरु यी श्रीमान्–श्रीमती मिले मात्रै पार्टी सशक्त बन्ने भन्दैछन् । साथै भर्खरै रेशम र रञ्जिताबीच महासचिव ठाकुरसिंह थारुलाई साक्षी राखी बालुवाटारमा भएको भेटले राहत पाएको कार्यकर्तापंक्तिले महसुस गरेको छ । यो भावनात्मक पक्ष भएको बुझ्न जरुरी छ तर मुख्य विषय पार्टीको वैचारिक–सैद्धान्तिक धार स्पष्ट नहुँदा कार्यकर्ताको मनोविज्ञान खण्डित रहेको छ । वैचारिक–सैद्धान्तिक तयारी बिना मनोवैज्ञानिक आधार बन्दैन, न त अनुभूतपूर्ण आधार नै । त्यसैले, नागरिक उन्मुक्ति पार्टीभित्र समस्या मुख्य रुपमा वैचारिकीमै रहेको देखिन्छ । यो तथ्यलाई मनन गर्दा पार्टी एक ढिक्का बनाउन अब वैचारिक–सैद्धान्तिक तयारी नगरी धरै छैन । 

वैचारिक–सैद्धान्तिक तयारीबारे 

नेपालको सरहदभित्र बडा नागरिक र छोटा नागरिकको अवस्थिति छ । नागरिकको समान हक संविधानले ग्यारेन्टी गरेको भन्दै गर्दा यहाँ आर्य खसको परिभाषा संविधानमा छ । त्यसैगरी, उच्च पहाडी भूगोलका पहिचानका संकेतहरु नेपाली सम्बोधन गरिए । भर्खरै सुन्तलालाई राष्ट्रिय फल घोषणा गर्न पुगेको जागजाहेर छ । यी सबका बावजुद परम्परागत संस्कृतिलाई संरक्षण गर्ने नाममा हिन्दू मठमन्दिरहरुको निर्माणसंगै तिनको आत्मगौरव बढाउने चिनारीको प्रवद्र्धन गर्न तीनै तहको सरकार क्रियाशील छन् । 

राज्य औपनिवेशिकताले पहिचानको आन्दोलनमा लागेका समुहलाई राज्यविहीन बनाएको र उनीहरुको संस्कृतिलाई वस्तुकरण गरी बजारको साधन बनाउने प्रयत्न गरे । पर्यटन प्रवद्र्धनको नाममा देशभरि नै यसको उपभोग गर्ने गरेको सर्वविदितै छ । साथै सामाजिक प्रतिरोधी क्षमता विस्तारै कमजोर बनाउने परिपाटी विकास गर्न दलाल पूँजिवाद भित्र्याएको छ । संस्कृति लुट्ने क्रमसंगै भूमिप्रति गिद्देनजर लगाए । आदिवासी जनताको भूमि र प्राकृति श्रोतसंगको सम्बन्ध पहुँचविहीन बनाएको परिवेशमा शक्तिको श्रोत हाम्रो लागि के हो खुट्याउन सक्नुपर्छ । यी सब वैचारिक–सैद्धान्तिक धाराले स्पष्ट गर्छ । कारण कार्यदिशा, रणनीति र कार्यनीति यही वैचारिकीको जगमा ठोस गर्न सघाउँछ । 

नागरिक उन्मुक्ति पार्टीले आफ्नो कित्ता स्पष्ट गर्नु परेको छ । त्यो भनेको उदारवादी धार, कम्युनिष्ट मार्क्सवादी धार अथवा पहिचानको धार के हो किटानी गर्न सक्नुपर्छ । मलाई लाग्छ, पार्टीको एजेण्डा पहिचानको धार बोकेको बुझाउँछ । त्यसो हो भने पहिचानको धार कुन वैचारिकीको जगमा व्याख्या गर्ने हो ? यो दार्शनिकीय सवालको हल खोज्न नयाँ ज्ञानमिमांशा आवश्यक पर्छ । 

तर, हाल वैकल्पिक तथा नयाँ भनिएका दलहरु समेत कि उदारवादी धार बोकेका छन् कि कम्युनिष्ट मार्क्सवादी धार । यसले अन्यौलपूर्ण भविष्यको यात्रातिर डोर्याउँदै छ । सबै दलहरु संसारभर देखिएका अन्यौलपूर्ण अवस्थाको निकास दिन नसक्ने भइसके । उदारवाद तथा कम्युनिष्ट मार्क्सवाद एक हदसम्म सिमा ‘फेस’ गर्दैछ । थप पृथ्वी माताको अधिकार संयुक्त राष्ट्रसंघले पारित गरेपश्चात शासकीय वल्र्ड अडर बदल्न शुरु गरेको छ । 

पहिचानको धारप्रति झुकाव राख्ने दलहरुसमेत एकल आयामिक तवरले व्याख्या गर्ने परम्परागत बाटो लिएपछि उनीहरुसमेत अन्यौलमा छन् । त्यसको परिणाम हो कि वैचारिक–सैद्धान्तिक पक्षलाई वेवास्ता गरेर संगठन तथा संघर्षको बुझाइमार्फत् राजनीतिक दल बनाउन प्रयत्न गर्दै आएको । यथार्थमा थारु पहिचान आन्दोलनले थरुहट तराई पार्टी तथा नागरिक उन्मुक्ति पार्टी जस्ता राजनीतिक दलको गठन गराउने काम पुरा गर्यो तर लक्ष्यविहीन देखिदा सरकारमा हानथाप बढेको स्पष्ट छ । यसले पार्टी बनाउने चाहना योजनामा बदल्न नसकेर स्वार्थ समूह बनेको ठहर भयो । रेशमजी यो विषय गहिराईमा बुझुन् ।

अन्त्यमा, पार्टी स्थापना गर्ने र यसलाई उद्देश्यमुलक बनाउने जिम्मेवारी नेतृत्वको हो । रञ्जिता श्रेष्ठ पार्टी अध्यक्ष हुन् । उनको सीप र क्षमता राजनीतिक शक्ति निर्माणको लागि आवश्यक ज्ञान तथा अनुभवप्राप्त विज्ञको रुपमा होइन । रेशम चौधरीले आफूलाई सक्षम मान्नु उनको कमजोरी होइन तर आउने दिनमा पार्टीलाई नयाँ दिशा प्रदान गर्न वैचारिक–सैद्धान्तिक तहमा काम गर्न सक्नैपर्छ । पार्टी अध्यक्ष पदको लागि प्रतिस्पर्धा गर्ने कामले निरन्तरता पाए भएको शक्तिसमेत खेर जाने स्थिति बन्छ । त्यसबखत आफू पनि कमजोर भएको र शक्ति संघर्षमा अर्को संकट व्यहोर्न तयार हुने हो भने रेशम चौधरीलाई योजनाविहीन ढंगले काम गर्न छुट छ । 

भावनाले नेतृत्व प्रदान गर्न कठीन छ । अर्थात् नेतृत्व नै भावनात्मक ढंगले अगाडि बढ्न थाले, जुनै बेला पनि समस्या निम्तिन सक्नेछ । त्यसबखत समस्या समाधान गर्न सक्ने ठोस उपाय उनीसंग नहुने र सिंगो संगठन निराशामा फँस्ने छ । 

राजनीतिमा परिणाम सचेत धक्काले प्राप्त गर्ने हो । त्यसैले, स्वस्फूर्ततालाई माथ गरेर सचेतताको जग हाल्न समेत वैचारिक धार स्पष्ट हुनुपर्छ । रेशम चौधरीजीलाई थाहा भएकै हुनुपर्छ कि शक्तिसंघर्ष दुइधारे तरवार हो, जहाँ सिपालु भएर चलाउन जाने विपक्षीलाई परास्त गर्न सकिन्छ, नभए आफैं रेटिन तयार हुनुपर्छ । यी दुईबाहेक अर्को विकल्प हुन्न शक्ति संघर्षमा । त्यसो हो भने रेशमजी टीकापुर थारु विद्रोहको वेला सुटुक्क मोबाइल अफ गरे जस्तो सजिलो छैन है, चेतना भया ।
    

प्रकाशित:

८५८ दिन अगाडि

|

१८ वैशाख २०८१

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४२५ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४६० दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४६९ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४२४ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३७४ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४३० दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३६२ दिन अगाडि

|

२७ मंसिर २०७९