विषय प्रवेश
रेशम चौधरीको नेतृत्वमा नागरिक उन्मुक्ति पार्टीको प्रथम महाधिवेशन टीकापुर, कैलालीमा २०८० पुस २६ देखि २८ सम्म सम्पन्न भएर केन्द्रीय समिति बन्यो । उक्त केन्द्रीय समिति हाल निर्वाचन आयोगद्वारा खारेज गरी पूर्व अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी र उनको कार्यसमितिलाई नै वैधता दिइयो । यो घटनाले पार्टीको आन्तरिक शक्ति संघर्षमा रञ्जिता श्रेष्ठको हात माथि परेको र दुई गुटले अलग अलग काम गर्न थालेको अवस्थामा पुर्यायो । पुष्पकमल दाहाल प्रचण्डले नयाँ गठबन्धन बनाएपछि अझ नाउपाभित्र खिंचलो झन् सतहमै आएको हो ।
रेशम चौधरी निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुगे । कारण देखाऊ आदेश अदालतबाट जारी भयो । त्यसको जवाफ फर्काउने क्रममा रञ्जिता श्रेष्ठले सर्वोच्च अदालतबाट रेशम चौधरीको विषयमा भएको फैसला फौजदारी अभियोगमा दोषी करार गरेको र यसलाई उनले पाएको आममाफीले कैदमिनाहा सम्मको अर्थ मात्र दिने अभिव्यक्ति दिइन् । त्यसको अर्थ रेशम चौधरी राजनीतिको लागि अयोग्य ठहर्छन् । यही वयानको आधारमा नागरिक उन्मुक्ति पार्टीभित्र रेशमको अस्तित्वलाई चुनौती दिएको प्रष्ट हुन्छ । हुन त यो राजनीतिक पार्टीको बीऊसम्म अस्तित्व धारण गरेको राजनीतिशास्त्रीले स्वीकार गर्न मान्दैनन् ।
राजनीतिक खेल जोखिमयुक्त रहने गर्छ । शक्तिको संघर्षमा श्रीमान् तथा श्रीमतीको सम्बन्धले महत्व बोक्दैन । यहाँ त रेशम चौधरीले विवेक प्रयोग गर्न छाडी कार्यनीतिक चाल चल्न खोजेको मात्र देखिन्छ । कार्यनीतिक चाल परिणाम दिन असमर्थ हुँदा निराशाको अभिव्यक्ति दिने काम हुँदै आएको छ । राजनीतिमा शक्तिले ल्याउने परिणाम कार्यकर्ता तथा शुभचिन्तकको लागि अर्थपूर्ण हुनुले रेशम चौधरी थप कमजोर बन्नु नै नागरिक उन्मुक्ति पार्टीको अधोगति हो । अझ थप विग्रेर जाने अवस्था विद्यमान छ ।
पृष्ठभूमि
रेशम चौधरी खास गरी रेडियो पत्रकारितामा जमेको वेला रञ्जिता श्रेष्ठसंग प्रेम विवाह गरे । समय अन्तरालमा काठमाडौ, असन निवासी रञ्जिता टीकापुरको गर्मी खेप्दै जीवनको आधा उमेर विताइन् । उनी पनि श्रीमान् रेशमसंगै पत्रकारिता र पछि मिडिया व्यवस्थापनमा आफ्नो जीवन वाँच्ने तरिका रोजिन् । राजनीतिक जीवन दुवैको लागि नौलो भयो । हुन त रेशमले २०५१ सालको स्ववियु सदस्यको प्रमाण देखाउलान् तर त्यसपछि राजनीतिक जीवनभन्दा पनि व्यवसायिकता प्रमुख रह्यो । त्यसले दुइटैको जीवनलाई सहज बनाएको सत्य हो ।
पहिचानको आन्दोलनले रेशमलाई पनि छोयो । भावनात्मक अवस्था नै सही रेशम चौधरी थरुहट आन्दोलनमा सहभागीता जनाउने काममा लागे । दोश्रो संविधान सभामा सद्भावना पार्टीबाट टीकापुर क्षेत्रबाट उनी उम्मेदवार पनि भएकै हो तर सन्तोषजनक मत आएन । थरुहट थरुवान संयुक्त संघर्ष समिति २०७२ सालमा आन्दोलन शुरु गरेपश्चात टीकापुर क्षेत्रको संयोजक भएर रेशम चौधरीले विशाल आमसभा साउन २६ गते आयोजना गरे । त्यसले उनको नेतृत्वलाई स्वीकार गर्न माहोल तयार गरेको थियो ।
उनै रेशम चौधरीले टीकापुरमा २०७२ भदौ ७ गतेको विरोध कार्यक्रममा सहभागी बन्न अपील गरेका थिए, जहाँ राज्यले षड्यन्त्रमुलक ढंगले घटना घटायो । त्यसबेला थारु आन्दोलनकारी नैतिक हिसाबले कमजोर बनेका थिए भने डेढ वर्षे एक नावालकको हत्या भएको राज्य प्रायोजित घटनाले मानव अधिकारवादी संघसंस्था समेत राज्यको बोली बोल्न थालेका थिए । टीकापुर घटनापछि रेशम चौधरी भारतमा निर्वासन हुन बाध्य भए, यता थारु अगुवालाई छानि छानि मुद्दा लगाउने क्रम निरन्तर चलिरह्यो ।
२०७४ सालको आमनिर्वाचनमा रेशम राष्ट्रिय जनता पार्टी (राजपा)बाट उम्मेदवार भई भारी मतले विजयी हासिल गरे । रञ्जिता श्रेष्ठलाई आफ्नो वारेस बनाएर त्यो निर्वाचनमा उतारेका रेशम निर्वाचनमा विजयी भएसंगै जिल्ला अदालत कैलालीमा आत्मसमर्पण गर्न पुगे । राजपाले रेशमलाई जेलमुक्त गर्न पटक पटक संसद अवरुद्ध गर्यो । सरकारले समेत यस विषयमा सकारात्मक हुँदै जाँदा शपथ ग्रहणसम्म गराए । दुर्भाग्य संसदमा उभिएर एक जनप्रतिनिधिको हैसियतले कहिल्यै बोल्न पाएनन् ।
रेशम चौधरी जेल सजाय काटिरहेकै समयमा यता छुट्टै राजनीतिक दल खोल्ने भए । अन्ततः रञ्जिता श्रेष्ठको नेतृत्वमा नागरिक उन्मुक्ति पार्टी गठन गरेर २०७९ को स्थानीय तथा आमनिर्वाचन उपयोग गरे । दुइटै निर्वाचनमा जनसमर्थन प्राप्त गरेसंगै शक्ति सन्तुलनमा आफ्नो हैसियत स्थापित गरे । राष्ट्रिय दलको मान्यता प्राप्त नगरेता पनि पार्टीको संसदमा चार सांसद तथा सुदूरपश्चिम प्रदेशमा ७ जना अर्थात् निर्णायक संख्याको विधायक निर्वाचित गरे । लुम्बिनी प्रदेशमा समेत चार विधायक निर्वाचित गराएसंगै पार्टीको नेता रञ्जिता श्रेष्ठ सर्वस्वीकार्य भएको हो ।
रेशम चौधरीको बिना शर्त रिहाइको माग लिएर सडक तथा संसदमा आवाज उठ्न थालेपश्चात सर्वोच्च अदालतको फैसलाको पूर्ण पाठसमेत वाहिर नआउँदै गृहमन्त्रालयको सिफारिशमा मन्त्रीपरिषद्बाट माफी दिने निर्णय भयो । उक्त निर्णय सम्माननीय राष्ट्रपतिबाट स्वीकृत भएसंगै गणतन्त्र दिवसकै दिन उनी जेलमुक्त भए । पार्टीको संरक्षक रहेका रेशम चौधरी जीतको अनुभूत गरे । लगत्तै टीकापुरमा मारिएका इन्सपेक्टरको श्रीमतीले नेपाल सरकारको निर्णय बदर गराई पाऊँ भनि सर्वोच्चमा मुद्दा दायर गरेको मुद्दा अदालतमा विचाराधिन छ ।
समस्या कहाँ छ ?
पार्टी विधिले चल्नुपर्ने मान्यता त हुन्छ नै । अहिले रेशम चौधरी अथवा रञ्जिता श्रेष्ठ विधि मिचेकोले समस्या आएको बुझाइ पनि देखिन्छ । त्यसैले होला कार्यकर्ताहरु यी श्रीमान्–श्रीमती मिले मात्रै पार्टी सशक्त बन्ने भन्दैछन् । साथै भर्खरै रेशम र रञ्जिताबीच महासचिव ठाकुरसिंह थारुलाई साक्षी राखी बालुवाटारमा भएको भेटले राहत पाएको कार्यकर्तापंक्तिले महसुस गरेको छ । यो भावनात्मक पक्ष भएको बुझ्न जरुरी छ तर मुख्य विषय पार्टीको वैचारिक–सैद्धान्तिक धार स्पष्ट नहुँदा कार्यकर्ताको मनोविज्ञान खण्डित रहेको छ । वैचारिक–सैद्धान्तिक तयारी बिना मनोवैज्ञानिक आधार बन्दैन, न त अनुभूतपूर्ण आधार नै । त्यसैले, नागरिक उन्मुक्ति पार्टीभित्र समस्या मुख्य रुपमा वैचारिकीमै रहेको देखिन्छ । यो तथ्यलाई मनन गर्दा पार्टी एक ढिक्का बनाउन अब वैचारिक–सैद्धान्तिक तयारी नगरी धरै छैन ।
वैचारिक–सैद्धान्तिक तयारीबारे
नेपालको सरहदभित्र बडा नागरिक र छोटा नागरिकको अवस्थिति छ । नागरिकको समान हक संविधानले ग्यारेन्टी गरेको भन्दै गर्दा यहाँ आर्य खसको परिभाषा संविधानमा छ । त्यसैगरी, उच्च पहाडी भूगोलका पहिचानका संकेतहरु नेपाली सम्बोधन गरिए । भर्खरै सुन्तलालाई राष्ट्रिय फल घोषणा गर्न पुगेको जागजाहेर छ । यी सबका बावजुद परम्परागत संस्कृतिलाई संरक्षण गर्ने नाममा हिन्दू मठमन्दिरहरुको निर्माणसंगै तिनको आत्मगौरव बढाउने चिनारीको प्रवद्र्धन गर्न तीनै तहको सरकार क्रियाशील छन् ।
राज्य औपनिवेशिकताले पहिचानको आन्दोलनमा लागेका समुहलाई राज्यविहीन बनाएको र उनीहरुको संस्कृतिलाई वस्तुकरण गरी बजारको साधन बनाउने प्रयत्न गरे । पर्यटन प्रवद्र्धनको नाममा देशभरि नै यसको उपभोग गर्ने गरेको सर्वविदितै छ । साथै सामाजिक प्रतिरोधी क्षमता विस्तारै कमजोर बनाउने परिपाटी विकास गर्न दलाल पूँजिवाद भित्र्याएको छ । संस्कृति लुट्ने क्रमसंगै भूमिप्रति गिद्देनजर लगाए । आदिवासी जनताको भूमि र प्राकृति श्रोतसंगको सम्बन्ध पहुँचविहीन बनाएको परिवेशमा शक्तिको श्रोत हाम्रो लागि के हो खुट्याउन सक्नुपर्छ । यी सब वैचारिक–सैद्धान्तिक धाराले स्पष्ट गर्छ । कारण कार्यदिशा, रणनीति र कार्यनीति यही वैचारिकीको जगमा ठोस गर्न सघाउँछ ।
नागरिक उन्मुक्ति पार्टीले आफ्नो कित्ता स्पष्ट गर्नु परेको छ । त्यो भनेको उदारवादी धार, कम्युनिष्ट मार्क्सवादी धार अथवा पहिचानको धार के हो किटानी गर्न सक्नुपर्छ । मलाई लाग्छ, पार्टीको एजेण्डा पहिचानको धार बोकेको बुझाउँछ । त्यसो हो भने पहिचानको धार कुन वैचारिकीको जगमा व्याख्या गर्ने हो ? यो दार्शनिकीय सवालको हल खोज्न नयाँ ज्ञानमिमांशा आवश्यक पर्छ ।
तर, हाल वैकल्पिक तथा नयाँ भनिएका दलहरु समेत कि उदारवादी धार बोकेका छन् कि कम्युनिष्ट मार्क्सवादी धार । यसले अन्यौलपूर्ण भविष्यको यात्रातिर डोर्याउँदै छ । सबै दलहरु संसारभर देखिएका अन्यौलपूर्ण अवस्थाको निकास दिन नसक्ने भइसके । उदारवाद तथा कम्युनिष्ट मार्क्सवाद एक हदसम्म सिमा ‘फेस’ गर्दैछ । थप पृथ्वी माताको अधिकार संयुक्त राष्ट्रसंघले पारित गरेपश्चात शासकीय वल्र्ड अडर बदल्न शुरु गरेको छ ।
पहिचानको धारप्रति झुकाव राख्ने दलहरुसमेत एकल आयामिक तवरले व्याख्या गर्ने परम्परागत बाटो लिएपछि उनीहरुसमेत अन्यौलमा छन् । त्यसको परिणाम हो कि वैचारिक–सैद्धान्तिक पक्षलाई वेवास्ता गरेर संगठन तथा संघर्षको बुझाइमार्फत् राजनीतिक दल बनाउन प्रयत्न गर्दै आएको । यथार्थमा थारु पहिचान आन्दोलनले थरुहट तराई पार्टी तथा नागरिक उन्मुक्ति पार्टी जस्ता राजनीतिक दलको गठन गराउने काम पुरा गर्यो तर लक्ष्यविहीन देखिदा सरकारमा हानथाप बढेको स्पष्ट छ । यसले पार्टी बनाउने चाहना योजनामा बदल्न नसकेर स्वार्थ समूह बनेको ठहर भयो । रेशमजी यो विषय गहिराईमा बुझुन् ।
अन्त्यमा, पार्टी स्थापना गर्ने र यसलाई उद्देश्यमुलक बनाउने जिम्मेवारी नेतृत्वको हो । रञ्जिता श्रेष्ठ पार्टी अध्यक्ष हुन् । उनको सीप र क्षमता राजनीतिक शक्ति निर्माणको लागि आवश्यक ज्ञान तथा अनुभवप्राप्त विज्ञको रुपमा होइन । रेशम चौधरीले आफूलाई सक्षम मान्नु उनको कमजोरी होइन तर आउने दिनमा पार्टीलाई नयाँ दिशा प्रदान गर्न वैचारिक–सैद्धान्तिक तहमा काम गर्न सक्नैपर्छ । पार्टी अध्यक्ष पदको लागि प्रतिस्पर्धा गर्ने कामले निरन्तरता पाए भएको शक्तिसमेत खेर जाने स्थिति बन्छ । त्यसबखत आफू पनि कमजोर भएको र शक्ति संघर्षमा अर्को संकट व्यहोर्न तयार हुने हो भने रेशम चौधरीलाई योजनाविहीन ढंगले काम गर्न छुट छ ।
भावनाले नेतृत्व प्रदान गर्न कठीन छ । अर्थात् नेतृत्व नै भावनात्मक ढंगले अगाडि बढ्न थाले, जुनै बेला पनि समस्या निम्तिन सक्नेछ । त्यसबखत समस्या समाधान गर्न सक्ने ठोस उपाय उनीसंग नहुने र सिंगो संगठन निराशामा फँस्ने छ ।
राजनीतिमा परिणाम सचेत धक्काले प्राप्त गर्ने हो । त्यसैले, स्वस्फूर्ततालाई माथ गरेर सचेतताको जग हाल्न समेत वैचारिक धार स्पष्ट हुनुपर्छ । रेशम चौधरीजीलाई थाहा भएकै हुनुपर्छ कि शक्तिसंघर्ष दुइधारे तरवार हो, जहाँ सिपालु भएर चलाउन जाने विपक्षीलाई परास्त गर्न सकिन्छ, नभए आफैं रेटिन तयार हुनुपर्छ । यी दुईबाहेक अर्को विकल्प हुन्न शक्ति संघर्षमा । त्यसो हो भने रेशमजी टीकापुर थारु विद्रोहको वेला सुटुक्क मोबाइल अफ गरे जस्तो सजिलो छैन है, चेतना भया ।
प्रकाशित:
८५८ दिन अगाडि
|
१८ वैशाख २०८१
५ दिन अगाडि
|
१५ भदौ २०८३
७ दिन अगाडि
|
१३ भदौ २०८३
८ दिन अगाडि
|
१३ भदौ २०८३
१३ दिन अगाडि
|
७ भदौ २०८३
२२ दिन अगाडि
|
२९ साउन २०८३
३३ दिन अगाडि
|
१८ साउन २०८३
३५ दिन अगाडि
|
१६ साउन २०८३
१४२५ दिन अगाडि
|
२५ असोज २०७९
१४६० दिन अगाडि
|
२१ भदौ २०७९
१४६९ दिन अगाडि
|
१२ भदौ २०७९
१४२४ दिन अगाडि
|
२६ असोज २०७९
१३७४ दिन अगाडि
|
१५ मंसिर २०७९
१४३० दिन अगाडि
|
२० असोज २०७९
१३६२ दिन अगाडि
|
२७ मंसिर २०७९