डा प्रदीप ढकाल
१
उजाड प्रेम
उजाडिएको मौसम
रुखका पात र हाँगा सुकेका छन्
डाँडाकाँडा उजाड छ
हुरीसँगै बगेका धूलोका कणले
वायुमण्डल धुलाम्य छ
अनि, प्रकृतिसँगै
म पनि उजाडिएको छु ।।।
प्रिय,
उजाड मौसममा
तिमी पर गएपछि
आफैभित्र खोतल्दै
उजाडिएका आफ्ना स्वरुप केलाइरहेँ ।।।
प्रिय,
म उजाड जंगल बनेँ
चरीले गुँड बनाउने पात र सिन्का
लिएर गयो
तिमीले सुत्ने खाट,
घर बनाउने रुख, लेख्ने कागज
यही जंगलले दिइरह्यो ।।।।
प्रिय,
म हिमाल भएँ
उजाड मौसममा पग्लिएँ
त्यही पानी बगेको नदीमा
अञ्जुली भरेर पानी पिइसकेर
उजाड डाँडातिर हेर्दै नाक खुम्चाए पनि
तिम्रो जीवनका लागि जल बगिरहन्छ ।।।
म ताल बनेर सुकिरहँदा
त्यही तालको बाफबाट
बर्सिएको पानीले
तिम्रा खेतबारीमा हरियाली छाइरहन्छ ।।।
म हावा बनेर बहिरहँदा
रुख विरुवाका बीजहरु फैलिएर
धर्तीमा हरियाली छाउँदा
फूलबारीका सुगन्धित फूलको वासनामा
तिम्रो मुस्कान छचल्किन्छ प्रिय ।।।
मेरो अस्तित्व रहँदा होस्
मेरो अस्तित्वको स्वरुप परिवर्तन भइरहँदा होस्
वा
मेरो अस्तित्व निमिट्यान्न हुँदा होस्
जीवन निसृत भइरहन्छ ।।।
तर प्रिय,
तिमीलाई मेरो अस्तित्वको बोध छैन
म रेटिँदा तिमी खुशी हुन्छ्यौ
म मेटिँदा तिमी सुखी हुन्छ्यौ
म जलिरहँदा तिमी न्यानो पाइरहन्छ्यौ
म बर्सिरहँदा तिमी शितलता पाइरहन्छ्यौ
तिम्रो हाँसो, तिम्रो मुस्कान र तिम्रो खुशी
मेरो जीवनको सार्थकता यसैमा अन्तरनिहित छ प्रिय ।।।
प्रिय, म मेटिँदा तिमी हाँसिरहनु
म मरिरहँदा तिमी बाँचिरहनु
म जलिरहँदा तिमी चम्किरहनु
अनन्त क्षितिजबाट हेर्दै –
तिम्रै मुस्कानमा म जीवन्त रहिरहन्छु
तिम्रै श्वासमा म बाँचिरहन्छु ।।।
.......................
२
पूर्वस्मृतिले प्रश्न गर्दा
प्रिय,
शीत निद्राबाट व्युँझनासाथ
तिमीले सोध्यौ –
तिमीलाई कस्तो छ र?
शीतनिद्रामा जाँदैगर्दा गरेका
अपमान र हेलाहरु
बहिष्कार र बदनामीहरु
चटक्कै बिर्सेर अनायास सोधिदियौ –
तिमीलाई कस्तो छ ?
मलाई याद छ –
परेवाको पँखेटामा बाँधेर पत्र पठाएँ
मेरो नाम सुन्नासाथ
परेवालाई नै बाणको शिकार बनाइदियौ
कागलाई सन्देश सुनाएर पठाएँ
तिम्रो आँगनीको डिलमा बसेर कराइरहँदा
तिमीले नै मट्याङ्ग्राले हानेर
घाइते बनाइदियौ ।।।
युगौँपश्चात् अनायास व्युँझिएर
क्षितिजबाट चियाउँदै सोध्दछ्यौ,
तिमीलाई कस्तो छ र ?
भन्न त मन छ नि –
एउटा लाशले के जवाफ दिन्छ र प्रिय
लाश त हिँडिरहेको छ
पिलिक पिलिक आँखा झिम्काउँदै
तिमीले नै परिणत गरिदिएको भूत बनेर
भूतलाई कस्ले पो स्वीकार्छ र ?
डर र बाध्यताले मन्साउँदछ दुनिया
भूत बनिसकेपछि कोसँग डराउनु र ?
निडर र निश्चिन्त विचरण गरिरहेछु दुनियामा
मार्गका दुष्टहरु भागिहाल्छन्
दुनिया सोच्दछ
यो बीर छ
तर दुनियालाई के थाहा
भित्रबाट यो बञ्जर बनिसकेको
प्रेमात्मा भड्किएको प्रेमी हो भनेर
जस्ले आन्तरिक अस्तित्वलाई मारिदिएको हो
उसैले तिमीलाई कस्तो छ भनेर सोध्दा
के जवाफ दिने ?
म भूत हुँ भनुँ वा म देवदूत हुँ भनुँ ?
तर प्रिय,
म तिमीलाई दोष दिन सक्दिन
मेरो आफ्नै संयमता छ
मेरो प्रेमको आफ्नै नियम छ
प्रेमलाई स्मृतिमा सजाएर
बाँचिरहेको एक पथिक हुँ
अतीतका स्मृतिका छालसँगै
मुसुक्क मुस्काइदिन्छु जीवनयात्रामा ।।।
तिमी छैनौ
तर, म जहाँ जान्छु
तिम्रो स्मृति साथमै हुन्छ
तिमी थियौ र त स्मृति छ
तिमी थियौ र त अधुरोपन छ
तिमी थियौ र त आफूमा पूर्णता भर्न
दौडिरहेछु यता र उता ।।।
तिमीले नै भन्थ्यौ –
सेवाको प्रचार हुनुहुँदैन
तिनै मौन हृदयको आशिर्वादले
जीवनपथमा लम्किरहेको छु ।।।
तिम्रो स्मृति पोखिएका ठाउँभरी
तिमी समाहित भएकै हुन्छ्यौ
मेरा वाणीमा, मेरा कर्ममा
मेरो सोचमा, मेरो यात्रामा
सर्बत्र तिमी हुन्छ्यौ ।।।
पत्थरको मूर्ति बनाएको छु
तिम्रो प्रतिरुपको
त्यसमै रमाउँछु
सौन्दर्य चेतनाको रुप
शान्ति र कान्तिको प्रतिरुप
त्यसमै कुँद्छु तिम्रा गुणहरु ।।।
चन्द्रको कान्ति र शीतलता
त्यसमै समाहित छन्
सूर्यको सुनौलो किरणले
कपाल सजिएका छन् ।।।
म त्यही मूर्तिमा समाहित छु
म त्यही मूर्तिसँग कुरा गर्छु
मनका रहर र कल्पनाका
मिठा मिठा कुरा सुनाउँछु
कालीगढ बनेरै
आफ्नो प्रेमलाई त्यही मूर्तिमा
समाहित गरेको छु ।।।
सायद, प्रेमीको संसार अर्कै हुन्छ
प्रेमीहरु मौन रहनै रुचाउँछन्
प्रेयसीका संसार ध्वस्त गर्दैनन्
उनीहरुको जीवन सुखमय बनोस्
यही कामना र प्रार्थनामा
जीवन बिताइदिन्छन्
अनि आफ्ना लागि केवल
स्मृतिमात्रै बाँकी राख्दछन्
तिनै स्मृतिलाई अगाडि राखेर
प्रेममय जीवन व्यतीत गर्दैछु भन्ने भ्रममा
सारा जीवन बिताइदिन्छन् ।।।
प्रिय, म सँग स्मृति छन्
सँगै बिताएका पलहरु
सँगै देखेका सपनाका अवशेषहरु
सँगै कल्पिएका रहरका डोरीहरु
त्यही मूर्तिमा कुँदेर
त्यही पत्थरको मूर्तिमा जीवन समर्पित गर्दै
तिम्रै आराधनामा जीवन बिताइरहेको छु ।।।
३
जिन्दगीसँग वार्तालाप
मैले जिन्दगीसँग सोधेँ–
ए जिन्दगी,
यही हो जीवनको स्वरुप ?
जिन्दगीले मुस्काउँदै भन्यो–
सहजै विश्वास गर्ने,
सरल र निश्छल मान्छे
समाजमा अडिन सक्छन् कि सक्दैनन्
भनेर हेरिरहेको थिएँ
परीक्षणका लागि नै
थरीथरीका मानिस पठाइरहेको थिएँ–
हात समाएर हिँडिरहेको मान्छेले
खाडलमा धकेलेको देख्यौ ?
खाडलबाट निस्किन नसकोस् भनी
माटो, बालुवा र पानी हालेर
त्यहीँ पुर्न गरेको मेहनत देख्यौ र ?
सिंहजस्तो प्रत्यक्ष होइन
पछाडिबाट लुछ्ने
जंगली कुकुर र ब्वाँसोको स्वभाव देख्यौ र ?
अब त साँच्चिकै देख्यौ हैन
मानव स्वभावको चित्र र चरित्र ?
एकछिनको सन्नाटापछि
जिन्दगीले फेरि भन्यो–
प्राकृतिक धर्म निभाउने शिकारी
गिद्धजस्तै ढुकेर बसिरहन्छन्
अनि सास सकिएर ढलिसकेपछि
लुछेर खान थाल्छन् ।।।
तर मानव सभ्यताका शिकारी
गिद्धजस्तो धार्मिक पनि हुँदैनन्
श्वास चल्दाचल्दै नै लुछेर चपाउँछन् ।।।
शिकारीका कोही मित्र हुँदैनन्
सँगसँगै मुस्काउँदै हिँडिरहँदा
कुनैपनि पल मूल स्वभावमा पुगी
झम्टिन थाल्दछन्
कमजोर छ भन्ने थाहा पाउनासाथ
लुछ्न र लुट्न थाल्दछन्
सास अझै बाँकी छ भन्ने थाहा हुँदासम्म
चिथोर्छ थाल्दछन् ।।।
मैले भनेको थिएँ नि–
सबैलाई एउटै तराजुमा नराख
परीक्षण पछि मात्रै विश्वास गर
तर तिमीले मानेनौ नि ।।।
विश्वासको प्रतिफल पायौ हैन र ?
मान्छेको चरित्र थाहा पायौ हैन र ?
कि अझै पनि विश्वास गर्छौ ?
मैले भनेँ–
आफ्नै जाति मानिसमा विश्वास नगरे
कस्लाई गर्नु र र?
ईश्वरले शिक्षा दिन पठाएका पात्र भनेर
क्षमा गरिरहेँ
परीक्षण गरेर व्यवहार गर्न थाल्दा त
जिन्दगी नै सिद्धिने रैछ नि
सामाजिक जीवन स्वीकार गरिसकेपछि
धोका, बेइमानी, झुट सबै समाजका चरित्र रैछन्
त्यसैले, क्षमा गर्न कठिन हुँदाहुँदै
ईश्वरका प्रसाद भनेर सहिरहेँ ।।।
आशा त केवल यत्तिमात्र रह्यो कि–
आफ्नो यात्रामा अबिरल लागिरहँदा
थाकेछौ है भन्दै निधारमा हत्केला राखिदिने
जिन्दगी यस्तै हो भनेर ढाडस दिने
निराश भएर लम्पसार पर्दा
क्षितिजतर्फको बिशालता देखाइदिने
कोही भइदिए
चट्टान फोरेर हिरा, समुद्रमा डुबुल्की लगाएर
मोती टिपेर ल्याइदिन्थेँ नि ।।।
जिन्दगी थकित हुँदै सुस्केरा हालेर
मुस्काउँदै भन्न थाल्यो–
हो है, मानिससँग रहँदा बस्दा
म नै थकित थिएँ सायद
ईश्वरको बिधान नै यस्तै होला
उनै बिधाताको ईच्छामा
तिमी अझै अडिन सिक
जिन्दगीको स्वरुप देख्न सिक भनेर
पाठ पढाइरहेको थिएँ
बाटो बदल्नुभन्दा पनि केहीपल अझै
अडिन सिक भनेर
खाल्डाखुल्डीका मार्ग हिँडाएको थिएँ
जीवनको स्वरुपलाई स्वीकार गर भनेर
मार्गमा काँढा बिछ्याइरहेको थिएँ
व्युँझेपछि सुनौलो बिहानीमा हिँड्नका लागि
शीतका बुँदहरु ओछ्याइदिएको थिएँ
दुष्टतालाई कुल्चिएर
जिन्दगीको यात्रामा
सत्यको शंखघोषका साथ अगाडि बढ्नु
तिम्रो यात्राका लागि शुभकामना ।।।
यति भनिसकेर जिन्दगी मौन रह्यो
म टोलाइरहेको थिएँ
एकछिनमा जिन्दगी
चुपचाप ममा समाहित भयो
म मौनता तोडेर
आफ्नो आवाज परीक्षण गरिरहेँ ।।।।
पशुपति विकास कोषका पूर्व सचिव कवि डा ढकाल नागरिक उन्मुक्ति पार्टीमा आवद्ध छन्
प्रकाशित:
१४३५ दिन अगाडि
|
१४ असोज २०७९
४ दिन अगाडि
|
१५ भदौ २०८३
६ दिन अगाडि
|
१३ भदौ २०८३
६ दिन अगाडि
|
१३ भदौ २०८३
१२ दिन अगाडि
|
७ भदौ २०८३
२१ दिन अगाडि
|
२९ साउन २०८३
३२ दिन अगाडि
|
१८ साउन २०८३
३४ दिन अगाडि
|
१६ साउन २०८३
१४२४ दिन अगाडि
|
२५ असोज २०७९
१४५९ दिन अगाडि
|
२१ भदौ २०७९
१४६८ दिन अगाडि
|
१२ भदौ २०७९
१४२३ दिन अगाडि
|
२६ असोज २०७९
१३७३ दिन अगाडि
|
१५ मंसिर २०७९
१४२९ दिन अगाडि
|
२० असोज २०७९
१३६१ दिन अगाडि
|
२७ मंसिर २०७९