Above News Title

नेपाली काँग्रेसले राधाकृष्ण थारूलाई सम्झियोः परशुनारायण ‘आउट’

को थिए राधाकृष्ण थारू ?
नेपाली काँग्रेसले राधाकृष्ण थारूलाई सम्झियोः परशुनारायण ‘आउट’

नेपाली काँग्रेसले शनिबार पार्टी कार्यालय सानेपामा आगामी प्रतिनिधि र प्रदेश सभाको घोषणापत्र सार्वजनिक गरेको छ । 

सो घोषणापत्रमा पार्टीको पथप्रदर्शक भनेर विभिन्न व्यक्तिहरुको नाम दिइएको छ । जसमा राधाकृष्ण थारूको नाम अँटाएको छ । तर परशुनारायण चौधरीको नाम छैन । 

त्यस्तै, थारु, भूमिहीन, कमैया समुदाय लगायतको शान्तिपूर्ण संघर्षलाई आत्मसाथ त गरिएको छ । तर थरुहट मुद्दा, आन्दोलनबारे केही प्रसंग छैन । 

मुक्त कमैया, कमलरी लक्षित रोजगारी कार्यक्रम, नेपालका सबै जातजातिका भाषामा पठनपाठनको व्यवस्था गरिने लगायत योजना छ ।

को थिए राधाकृष्ण थारू ?

बर्दिया, रत्नापुरका राधाकृष्ण थारू भूमिहीन किसान सुकुम्बासीका अगुवा थिए २०१५ सालमा बर्दिया क्षेत्र नं ६४ बाट प्रतिनिधि सभामा नेपाली काँगे्रसबाट सांसद भएका राधाकृष्णको त्यहाँका भूमिहीनहरूलाई अधिकार दिलाउनमा ठूलो योगदान छ । 

पछि राधाकृष्णका दुई भाइ छोरा पनि सभासद भए । २०५६ को प्रतिनिधि सभामा मंगलप्रसाद थारू कांगे्रसबाट सांसद चुनिएका थिए भने अर्का छोरा गोविन्द थारू नेपाल सद्भावना पार्टी (आनन्ददेवी) बाट २०६३ मा आन्तरिक विधायक चुनिएका थिए । यसरी थारु समुदायबाट एकै घरका ३ जना सांसद हुने श्रेय राधाकृष्ण थारूको परिवारलाई मात्र छ । 

आगामी चुनावमा बर्दिया १ (क) मा प्रदेश सभातर्फ उनै राधाकृष्ण थारूका छोरा श्यामप्रसाद थारु नागरिक उन्मुक्ति पार्टीको तर्फबाट उम्मेदवार तय भएका थिए । अहिले बर्दियामा नागरिक उन्मुक्ति पार्टीको माहोल राम्रो छ । श्यामप्रसाद थारु विजयी भएको भए एकै घरका ४ जना सांसद हुने रेकर्ड कायम हुनेथियो । तर अन्तिम समयमा उनी टिकटबाट वञ्चित भए ।

२०१५ सालमा बीपी कोइरालाले राधाकृष्ण थारूलाई मन्त्री मण्डलको सदस्य बनाउन प्रस्ताव गर्दा उनले परशुनारायण चौधरीलाई सिफारिस गर्दै भनेका थिए– परशुबाबु पढे, लेखेका शिक्षित गे्रजुएट छन् । म सामान्य साक्षरभन्दा उहाँ मन्त्री बन्न उपयुक्त छ ।

परशुनारायण तत्काल शिक्षा मन्त्री बनाइए पनि । परशुनारायण नेपाली काँगे्रसको महामन्त्रीसम्म रही पछि पञ्चायत प्रवेश गरेर मन्त्री भई सुविधाभोगी राजनीतिमा लागे तर राधाकृष्ण थारू काँगे्रसको राजनीतिक लिकबाट कहिल्यै टसमस भएनन् । 
विसं १९६७ मा जन्मिएका राधाकृष्ण थारूको २०४५ साल मंसिर २५ गते निधन भयो, त्यसबेलासम्म उनी नेपाली काँगे्रस बर्दियाको सभापति थिए । 

राजा महेन्द्रले लोकतान्त्रिक सरकारलाई २०१७ पुस १ गते ुकुु गरी निरकुंश पञ्चायती व्यवस्था थोपरे । त्यसबेला राधाकृष्णको बर्दियाको कोठिया र रत्नापुर गाउँस्थित घर प्रशासनले सिल गरेको थियो । पक्राउ पूर्जी जारी गरिएका उनी सपरिवार भारत प्रवास हुन बाध्य भए । पछि सुवर्णशमशेरको वक्तव्यपछि राजाले आममाफीको घोषणा गरेपछि उनी २०२५ सालमा नेपाल आए।

राधाकृष्णको राजनीतिक यात्रा केलाउँदा धार्मिक अभियानबाट सुरु गरेको देखिन्छ । राणाकालमा सभा, भेला गर्न, गराउन पाइँदैनथ्यो । तर २००१ सालमा उनले बर्दियाको मैनापोखरमा थारू भक्त (शाकाहारी)हरूको सम्मेलन गराए । सभामा आफू पनि शाकाहारी भएको घोषणा गरे । उनले रैतीहरूको नाममा जग्गा हुनुपर्ने आवाज उठाए । 

२००३ सालमा उनले रैतीहरूबाट सही छाप गराएर उनीहरूको नाममा जग्गा हुनुपर्ने भनी विन्तीपत्र चढाउन श्री ३ पद्मशमशेरकहाँ काठमाडौं गए । व्यवस्था विरोधी काँगे्रसी भएको विरोधीहरूले बात लगाएपछि डिठ्ठा भद्रमान चित्रकारको रक्तकालीस्थित घरमा पाहुना भई बसेका उनलाई आठपहरियाहरूले पक्राउ गरे। उनले श्री ३ समक्ष विन्ती चढाए– हामी व्यवस्था विरोधी होइनौँ। थारू रैतीहरूको वारेस भई उनीहरूको नाममा जग्गा जमिन हुनुपर्यो भनेर विन्ती चढाउन आएका हौं।

त्यसपछि राधाकृष्णले छुटकारा पाए। उनले चढाएको विन्ती पत्रले काम गर्यो २००४ सालमा बर्दियामा दौडाहा टोली आइपुग्यो। टोलीले १३ हजार विगाहा जग्गा भूमिहीन रैतीहरूको नाममा गरिदियो । तर उनीहरूले सो जग्गा एक वर्ष पनि राम्ररी उपभोग गर्न पाएनन् । राधाकृष्ण थारूले पुनः आन्दोलन चलाए । पछि अधिकार सम्पन्न आयोग बर्दियामा पठाइयो, जसले २५ हजार विगाहा जग्गा भूमिहीनहरूको नाममा गरिदियो। त्यसपछि उनी जमिनदारविरुद्ध अर्थात् बेठबेगारीविरुद्ध अभियानमा पनि लागे।

राणा शासन ढलाउन २००७ सालको सशस्त्र आन्दोलनमा राधाकृष्णकै अगुवाईमा बर्दियाको राजापुर र गुलरिया बजार कब्जा गरिएको थियो। क्रान्तिकारीहरूले बजार कब्जा गरेपछि उनकै अध्यक्षतामा स्थानीय प्रशासन चलाउन स्थानीय क्रान्तिकारी सरकारका रूपमा समितिसमेत गठन गरिएको थियो। 

मेलमिलापको नीतिपछि स्वदेश फिर्ता भएका राधाकृष्ण थारू अस्वस्थ थिए। तर ४ वर्ष लगातार प्रशासनमा तारेख धाए। पछि केही साथीहरूको सल्लाहमा २०२९ सालमा उपप्रधानपञ्चको उमेदवारी दिएपछि उनलाई प्रशासनले दुःख दिन छाड्यो। 
त्यसबेला प्रशासनलाई लाग्यो, राधाकृष्णले पञ्चायतको समर्थन गर्यो तर उनको मनमा काँगे्रसबाहेक अर्को राजनीतिक आस्थाले स्थान पाएन। 

२०१७ सालको कुमा जफत गरिएको सेफ प्रशासनले उनको छोरा मंगलप्रसाद २०५६ मा सांसद भएपछि मात्रै फिर्ता गयिो । अर्को छोरा गोविन्द थारूका अनुसार सेफभित्र आमाको बिहेका कपडाबाहेक अरु केही थिएन । चालीसौँ वर्षसम्म प्रशासनको चौरमा राखिएको सेफ खियाले थोरै खाएको थियो तर राधाकृष्णको परिवारले साँचो फेला नपर्दा, फुटाएर पनि सम्भव नभएपछि सेफ खोलेर हेर्न सकिएन ।

राधाकृष्ण थारूको सम्मानमा बर्दियाको सदरमुकाम गुलरियाको मुख्य चोकलाई राधाकृष्ण चोक नामकरण गरिएको छ। चोकमा उनको अर्धकदको शालिक पनि ठड्याइएको छ । उनको नाममा राधाकृष्ण थारू जनसेवा केन्द्र संस्थासमेत खोलिएको छ। संस्थाका अध्यक्ष दिनेशप्रसाद श्रेष्ठले राधाकृष्णको नाममा पार्क बनाउने घोषणा गरे पनि त्यो गर्भमै छ ।

उता परशुनारायण चौधरीको गाउँ देउखुरी गोवरडिहामा भने शालिक समेत ठडिन सकेको छैन । काँग्रेसले पनि उनलाई सम्झनाबाट ‘आउट’ गरेको छ । 
 

प्रकाशित:

१४०५ दिन अगाडि

|

१२ कात्तिक २०७९

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४२३ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४५८ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४६७ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४२२ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३७२ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४२८ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३६० दिन अगाडि

|

२७ मंसिर २०७९