कैलाली–१ मा जनताको प्रतिक्रिया कस्तो छ ? नागरिक उन्मुक्ति पार्टीबारे उनीहरूको बुझाइ कस्तो छ ?
म एउटा उम्मेदवारको रूपमा ‘फिल्ड’मा खटिरहँदा जनता र मतदाताहरूको साथ र समर्थन राम्रो पाइरहेकी छु । उहाँहरूले धेरै सकारात्मक प्रतिक्रिया दिइरहनुभएको छ, जुन मेरो शक्ति हो । उहाँहरूले हाम्रो पार्टीको नीति, उद्देश्य र भावी योजना पनि हेर्नु भएको रहेछ र त्यसमा हामीलाई सधैँ साथ दिने भन्नुभएको छ । म यहाँ घुमिरहँदा, घर घर पुग्दै गर्दा एकदमै सकारात्मक र हौसलाप्रद प्रतिक्रिया पाएको छु ।
नागरिक उन्मुक्ति पार्टीबारे त उहाँहरू राम्रोसँग जानकार हुनुहुन्छ, गत स्थानीय निर्वाचनमा उहाँहरूले नै हो हाम्रो पार्टी नागरिक उन्मुक्ति पार्टीलाई कैलालीकै ठूलो पार्टी बनाएको । उहाँहरूले रेशम चौधरीको पार्टी नागरिक उन्मुक्ति पार्टी आयो, अब केही गर्छ भनेर भनिरहनु भएको छ ।
२०७४ सालमा त्यहाँबाट रेशम चौधरीले फराकिलो मतान्तरले जित्नुभएको थियो, यसपटक तपाईंले त्यही क्षेत्रबाट उम्मेदवारी दिनुभएको छ, तपाईंले उहाँको साख जोगाउन सक्नुहुन्छ त ?
पक्कै पनि सक्छु । मैले रेशमजीको साख जोगाउन सक्छु भनेरै यहाँ आएकी हुँ । साख जोगाउनै म उठेकी छु यो मैदानमा । हिजोको दिनमा रेशमजीले उम्मेदवारी दिँदै गर्दा पनि म आफैँ जनतामाझ मैदानमा थिएँ । हिजो पनि मेरै आह्वानलाई स्वीकारेर उहाँहरूले रेशमजीलाई जिताउनुभएको हो । यसपटक पनि तिनै मतदाताहरू हुनुहुन्छ । उम्मेदवारको रूपमा म छु । यसर्थ पनि म ढुक्क छु कि मैले जित्नेछु ।
म उहाँहरूकै आग्रहमा पनि उम्मेदवार बनेकी हुँ । एक हिसाबले भन्दा मलाई कैलाली १ ले नै रेशमजीको साख जोगाउन मद्दत गर्नेछ । त्यो क्षमता मलाई यहाँका सबै जनताले दिनुभएपछि मात्रै म उम्मेदवार बनेकी हुँ । यी नै आधारहरूका कारण म भन्न सक्छु कि यसपटक यहाँका जनताको प्रतिनिधित्व मैले नै गर्ने हो । रेशमजीको साख जोगाएर सबै नागरिकका निम्ति लड्ने हो ।
तपाईंले त्यसो भन्दै गर्दा त्यहाँ सत्ता गठबन्धनको तर्फबाट पटक पटक मन्त्री भइसकेका जो साइनोले तपाईंको जेठाजु पनि पर्नुहुन्छ, रामजनम चौधरी तपाईंको मुख्य प्रतिस्पर्धी हुनुहुन्छ र, क्षेत्रमा उहाँको राम्रो पकड छ भनिन्छ, रोक्न सक्नुहोला त तपाईं ?
उम्मेदवार भइसकेपछि स्वाभाविक रूपमा सबैले आफूलाई अब्बल नै देख्छन् । तर, वास्तविकता के छ भने हाम्रो नयाँ दल भएपनि यहाँ कमजोर छैन । यसको तथ्य भर्खरै सम्पन्न स्थानीय निर्वाचनले पनि देखाएको छ । जनताले माया गरेर हाम्रो पार्टी नागरिक उन्मुक्ति पार्टीलाई जिल्लाकै ठूलो पार्टी बनाइ दिनु भएको छ । अहिले पनि उहाँहरू नै मतदाताको रूपमा हुनुहुन्छ । सबैभन्दा पहिलो आधार त यही हो कि मैले निर्वाचन जित्दैछु ।
मतदाताले स्थानीय तहको निर्वाचनमै आफूले कसलाई रोज्ने र कसलाई मतदान गर्ने भन्नेबारे निर्क्यैल गरेका छन् । हाम्रा मतदाता हामीसँगै छन् । प्रतिनिधि सभाको निर्वाचनमा पनि उहाँहरूले हाम्रै पार्टीलाई मतदान गर्नुहुन्छ । यसकारण पनि मैले जित्ने आधार बलियो छ । रामजनमजीलाई मैले व्यक्तिगत रूपमा केही भन्दिनँ । सबै जनताले फैसला गर्नेछन्, उहाँहरूकै हातमा छ निर्णय । मैले अहिले यत्ति मात्रै भन्छु, जनताले मलाई नै चुन्नेछन् ।
तपाईंले यत्ति मतान्तरले जित्छु भनेर केही हिसाब गर्नुभएको छ ?
मैले ठ्याक्कै यत्ति मतले जित्छु भनेर त हिसाब गरेको छैन । तर, म कहाँनेर चाहिँ विश्वस्त छु भने मैले जित्दै गर्दा फराकिलै मतान्तर हुनेछ । म तोकेर संख्यामा भन्दिनँ । तर, जनताको फैसला मेरै पक्षमा हुनेछ । स्थानीय निर्वाचन केही अगाडि मात्रै हामीले पार्टी खोलेर चुनावमा जाँदा जनताले कैलाली जिल्लाकै ठूलो पार्टी बनाउनुभएको छ । जहाँ हामीले झन्डै १८ हजार मत पाएका छौँ । अहिलेलाई यत्ति भन्छु— जित मेरै हुन्छ । म अरुको विरुद्धमा बोल्दिनँ ।
तपाईंको पार्टीको घोषणापत्रमा आरक्षित निर्वाचन क्षेत्रदेखि नमूना देशको अवधारणाहरू छन्, यो भनेको के हो र यसको कार्यान्वयन कति सम्भव होला ?
पक्कै पनि नेपालले आफूलाई कसैको सिको नगरीकन नमूना बनाउन सक्छ । हामीले पहिचान, सुशासन र समृद्धि भनेका छौँ । यी विषयहरूलाई नै केन्द्रमा राखेर हामी संसद्मा जाने छौँ । घोषणापत्रमा धेरै कुराहरू लेखिएका छन् । ती घोषणाहरूको अक्षरसः पालना भएमात्रै पनि देश आफैँ नमूना बन्नेछन् । हामीले भनेका छौँ कि ठूला देशका उदाहरण दिनुभन्दा हामीसँग जे छन्, ती स्रोत र साधनहरूको सही उपयोग गर्नुपर्छ । यदि यसो भयो भने मात्रै पनि नेपाल आफैँमा नमूना हुन सक्छ ।
अनि हामीले निर्वाचन क्षेत्र पनि आरक्षित हुनुपर्छ भनेर चाहिँ किन भनेको भन्दा संसद्मा सबैको प्रतिनिधित्व हुनुपर्छ भनेर हो । यदि आरक्षित निर्वाचन क्षेत्र भयो भनेचाहिँ त्यहाँ सबैको उपस्थिति हुने भयो । यसो हुने बित्तिकै पनि नमूना भइहाल्छ । यत्ति मात्रै होइन, अन्य थुप्रै अवधारणाहरू छन् हामीसँग । यी अवधारणाहरूको कार्यान्वयन हामी विस्तारै गर्दै जानेछौँ ।
प्रस्तुतिः धनबल राई, नेपाल भ्युज
प्रकाशित:
१४०४ दिन अगाडि
|
१९ कात्तिक २०७९
९ दिन अगाडि
|
१५ भदौ २०८३
११ दिन अगाडि
|
१३ भदौ २०८३
११ दिन अगाडि
|
१३ भदौ २०८३
१७ दिन अगाडि
|
७ भदौ २०८३
२६ दिन अगाडि
|
२९ साउन २०८३
३७ दिन अगाडि
|
१८ साउन २०८३
३९ दिन अगाडि
|
१६ साउन २०८३
१४२९ दिन अगाडि
|
२५ असोज २०७९
१४६४ दिन अगाडि
|
२१ भदौ २०७९
१४७३ दिन अगाडि
|
१२ भदौ २०७९
१४२८ दिन अगाडि
|
२६ असोज २०७९
१३७८ दिन अगाडि
|
१५ मंसिर २०७९
१४३४ दिन अगाडि
|
२० असोज २०७९
१३६६ दिन अगाडि
|
२७ मंसिर २०७९