टीकापुर घटनापछि फरार रहेकै अवस्थामा २०७४ सालमा रेशम चौधरीले चुनाव जितेको कैलाली–१ मा यस पटक उनकी श्रीमती रञ्जिता श्रेष्ठ चौधरी उम्मेदवार बनेकी छन्। रञ्जिता नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय अध्यक्ष हुन्।
यो क्षेत्रमा सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका रामजनम चौधरी र नेकपा एमालेका तपेन्द्रबहादुर रावल प्रतिस्पर्धामा छन्। २०७४ सालमा सांसद निर्वाचित हुँदा चौधरी ३४ हजार ३४१ मत पाएका थिए। प्रतिस्पर्धामा रहेकी एमाले उम्मेदवार मदनकुमारी शाह ‘गरिमा’ ले १३ हजार ४०६ र कांग्रेस उम्मेदवार ईश्वरी न्यौपानेले ११ हजार २०३ मत पाएकी थिइन्।
स्थानीय तहको निर्वाचनको परिणामका आधारमा पनि नागरिक उन्मुक्ति पार्टी नै अगाडि देखिन्छ। टीकापुर नगरपालिका, जोशीपुर गाउँपालिकासँगै जानकी गाउँपालिकाका पाँच र भजनी नगरपालिकाका दुई वडा यो क्षेत्रमा पर्छन्। चारै स्थानीय तहमा नागरिक उन्मुक्ति पार्टीले नै जितेको छ।
त्यस्तै, वडाध्यक्षका उम्मेदवारले पाएको मतका आधारमा पनि उन्मुक्ति पार्टी नै बलियो देखिन्छ। उन्मुक्ति पार्टीका वडाध्यक्षका उम्मेदवारले सबैभन्दा बढी १७ हजार १९३ मत पाएका थिए।
त्यसपछि कांग्रेसका वडाध्यक्षका उम्मेदवारले ११ हजार ११९, एमालेका वडाध्यक्षका उम्मेदवारले नौ हजार नौ सय, माओवादीका वडाध्यक्षका उम्मेदवारले ६ हजार ९३०, राप्रपाका वडाध्यक्षका उम्मेदवारले दुई हजार ७९७, एकीकृत समाजवादीका वडाध्यक्षका उम्मेदवारले दुई हजार ३४३ र जसपाका वडाध्यक्षका उम्मेदवारले एक हजार ८७४ मत पाएका थिए।
आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि यो क्षेत्रमा एक लाख २२३ मतदाता छन्।
यसका आधारमा आकलन गर्दा उन्मुक्ति पार्टीकी उम्मेदवार श्रेष्ठसँग गठबन्धनका उम्मेदवार चौधरीको प्रतिस्पर्धा हुने देखिन्छ। २०४८ सालदेखि निरन्तर संसद्मा उपस्थित हुँदै आएका चौधरी गत निर्वाचनमा भने कैलाली–३ मा माओवादीका गौरीशंकर चौधरीसँग पराजित भएका थिए। यस पटक उनी कैलाली–१ मा उम्मेदवार बनेका छन्।
त्यस्तै, एमाले उम्मेदवार रावल पनि प्रतिस्पर्धामा देखिन्छन्। उनी टीकापूर नगरपालिकाको पूर्व मेयर हुन्।
अहिलेसम्मको चुनावी जोडघटाउमा उन्मुक्ति पार्टीकी उम्मेदवार श्रेष्ठ नै बलियो देखिएकी छन्। निर्वाचित भएर पनि पाँच वर्षसम्म संसद्मा जान नपाएका रेशम चौधरीको विषयलाई पनि उनले मतदातासँग लगिरहेकी छन्। भावनात्मक रुपमा पनि मतदातासँग जोडिइरहेकी उन्मुक्ति पार्टी अध्यक्ष एवं कैलाली–१ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार रञ्जिता श्रेष्ठसँग उन्नती चौधरीले गरेको कुराकानीः
रेशम चौधरीले जितेको क्षेत्रमा उम्मेदवार हुनुहुन्छ। के कस्ता अजेन्डा लिएर मतदातामाझ गइरहनु भएको छ ?
मेरो मुख्य अजेन्डा नै पहिचानको आधारमा संघीयता हुनुपर्छ भन्ने हो। यससँगै प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री भएको शासकीय प्रणाली हुनुपर्छ। सुशासन र समृद्धिका कुरा लिएर मतदातासँग भोट मागिरहेका छौं।
हाम्रो जित्ने आधार भनेकै पहिचान, सुशासन र समृद्धिको मुद्दा हो। हिजोका दिन टीकापुरको घटना राजनीतिक घटना थियो भनेर कुरा उठाई दिने कोही पनि थिएन। अहिले हामी त्यहि कुरा उठाइरहेका छौं। अब सडकसँगै संसद्मा पनि यो कुरा उठाउँछौं। यिनै मुद्दाका आधारमा जनताले हामीलाई जिताउनेछन्।
अन्य उम्मेदवारले पनि त विकास र सुशासनका कुरा गरिरहेका छन्। अरु र तपाईंमा फरक के भयो ?
अन्य पार्टीले विकासका कुरा गरिरहेका छन्। तर, यतिका वर्ष जनताले चुनेर पठाउँदै विकासका काम गरेनन्।हामी विकाससँगै पहिचान, सुशासन र समृद्धिको कुरा गरिरहेका छौं। न्यायको कुरा गरिरहेका छौं। टीकापुर घटना पीडितले न्याय पाउनुपर्छ भनिरहेका छौं। न्यायको विषयमा अन्य उम्मेदवारले खासै रुची देखाएका छैनन्। न्याय र पहिचानका लागि आवाज उठाइरहेका कारण यस क्षेत्रका मतदाताले हामीलाई भोट दिनेछन् भन्नेमा विश्वस्त छु।
मतदाताले त विकास निर्माणबारे पनि चासो दिइरहेका छन्। यो क्षेत्रको विकास निर्माणका विषयमा के सोचिरहनु भएको छ ?
पहिलो त टीकापुर क्षेत्रको विकासका लागि नीति निर्माण तहमै पहल गर्नुपर्छ। त्यसका लागि हामी संसद्मा पनि आवश्यक छ।
अर्को, यो क्षेत्रको शिक्षा, स्वास्थ्य, यातायात, रोजगार र भौतिक पूर्वाधार निर्माणका लागि सम्बन्धित क्षेत्रका विज्ञसँग छलफल र समन्वय गरिरहेका छौं। यसमा कसरी सुधार ल्याउन सकिन्छ भनेर सरोकारवाला र विज्ञहरूको सुझावका आधारमा अगाडि बढ्नेछौं।
यो क्षेत्रमा गठबन्धनबाट कांग्रेसका नेता एवं पूर्व मन्त्री रामजनम चौधरी र एमालेको तर्फबाट टीकापुरका पूर्व मेयर तपेन्द्रबहादुर रावल प्रतिस्पर्धामा छन्। कतिको चुनौती महसुस गर्नु भएको छ ?
मलाई चुनाव जित्न एकदमै सहज छ। किनकि, दुवै उम्मेदवारले आफू सत्तामा हुँदा केही काम गरेका छैनन्। जनताले राम्रोसँग बुझेका छन्। दुवै जना जनतामा परीक्षण भइसकेका व्यक्ति हुन्। उनीहरूले आफ्नो कार्यकालमा समाजमा प्रभाव पार्ने गरी काम गरे जस्तो मलाई त लाग्दैन, केही काम देखिँदैन पनि।
अहिले जनता पुरानोसँग दिक्क भइसकेका छन्, नयाँ अनुहारको खोजीमा छन्। त्यसैले दुवै जनासँग कुनै चुनौती महसुश गरेको छैन। जनताले मलाई आफ्नो अमूल्य मत दिएर जिताउनेछन् भन्ने पूर्ण विश्वास छ।
गत निर्वाचनमा त मतान्तर धेरै थियो। यो पटक तपाईको मुख्य प्रतिस्पर्धी को हो जस्तो लाग्छ ?
मेरो प्रतिस्पर्धा त सबैसँग हो नि। स्वतन्त्र उम्मेदवाहरू पनि प्रतिस्पर्धा गर्नकै लागि चुनावी मैदानमा उत्रिएका छन्। त्यसैले मेरो लागि सबै उम्मेदवार बराबरीका प्रतिस्पर्धी हुन्।
बारम्बार चुनाव जित्छु भनिराख्नु भएको छ। कति मत पाउँछु जस्तो लाग्छ ?
अहिले नै यति मत ल्याएर जित्छौं भन्दिनँ। यति भन्न सक्छु, म राम्रो मत ल्याएर जित्छु। मतदाताले मलाई अत्याधिक मत दिएर विजय गराउँनेछन्। रेशम चौधरीजीले पाएको भन्दा बढी मतले जित्छु।
नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष पनि हुनुहुन्छ। तपाईको पार्टीले जम्मा कति सीट जित्छ भन्ने आकलन छ ?
नागरिक उन्मुक्ति पार्टीबाट प्रतिनिधि सभामा प्रत्यक्ष र समानुपातिक गरी कम्तिमा २० सांसद उपस्थित हुन्छन्। प्रदेशमा त हामी ठूलो पार्टी बन्छौं। बहुमत नआए पनि सुदूरपश्चिम प्रदेश सरकार हाम्रै पार्टीको नेतृत्वमा बन्छ भन्नेमा आशावादी छौं।
अन्त्यमा, मतदातालाई केही भन्नु छ ?
सामाजिक न्याय प्राप्त भएमा सबैलाई फाइदा हुन्छ। पहिचानको माग भन्नाले कुनै जातिलाई मात्रै अवसर र सुविधा दिने विषय होइन, सबैको समान अधिकार र पहिचानको कुरा हो। तसर्थ, हामी सामाजिक न्याय, पहिचान सहित सुशासनको पक्षमा छौं। हाम्रो देशमा व्याप्त भ्रष्टाचार र बेथितिलाई अन्त्य गर्ने वैकल्पिक शक्तिका रुपमा आएका छौं। यस पटक हामीलाई साथ र सहयोग गर्न आग्रह गर्छु। हिमालखबरबाट
प्रकाशित:
१३९७ दिन अगाडि
|
२६ कात्तिक २०७९
९ दिन अगाडि
|
१५ भदौ २०८३
११ दिन अगाडि
|
१३ भदौ २०८३
११ दिन अगाडि
|
१३ भदौ २०८३
१७ दिन अगाडि
|
७ भदौ २०८३
२६ दिन अगाडि
|
२९ साउन २०८३
३७ दिन अगाडि
|
१८ साउन २०८३
३९ दिन अगाडि
|
१६ साउन २०८३
१४२९ दिन अगाडि
|
२५ असोज २०७९
१४६४ दिन अगाडि
|
२१ भदौ २०७९
१४७३ दिन अगाडि
|
१२ भदौ २०७९
१४२८ दिन अगाडि
|
२६ असोज २०७९
१३७८ दिन अगाडि
|
१५ मंसिर २०७९
१४३४ दिन अगाडि
|
२० असोज २०७९
१३६६ दिन अगाडि
|
२७ मंसिर २०७९