नागरिक उन्मुक्ति पार्टीबाट कैलाली क्षेत्र न. २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार अरुण चौधरी यतिखेर चर्चामा छन् ।
प्रतिनिधि सभाको एक कार्यकाल पुरा गरिसकेका एमालेका उम्मेदवार झपटसिंह रावल र संविधान सभा सदस्य रहिसकेका सत्ता गठबन्धन तर्फका माओवादी केन्द्रका उम्मेदवार भगत बडुवाल दुइ जना बलियो प्रतिस्पर्धीसँग कडा प्रतिस्पर्धा गरिरहेकाले उनी चर्चामा छन् ।
आफ्ना बलियो प्रतिस्पर्धी भए पनि अरुण चौधरी यतिबेला ‘ढकिया’ चिन्हको लहर चलेको र यस क्षेत्रका मतदाता आफ्नो पक्षमा रहेकाले आफू जित्ने कुरामा ढुक्क रहेको बताउँछन् ।
को हुन् अरुण चौधरी ?
अरुण चौधरी कैलाली, लम्कीचुहा नगरपाालिका–४ गिढिनिया गाउँका स्वर्गिय बुवा करिङ्गा चौधरी र आमा कल्टीदेवी चौधरीको कान्छा छोरा हुन् । उनी सानैदेखि समाजसेवामा रुचि राख्ने, अरुको सुखदुःखमा सहभागी हुने, मुद्दा मामिला पर्दा सम्बन्धित ठाउँमा दौडिने ब्यक्ति हुन् ।
उनी खास गरी २०६२÷०६३ को जनआन्दोलनदेखि हालसम्म निरन्तर थारुलगायत स्थानीयवासीको हक अधिकारको लागि लडिरहेका ब्यक्ति हुन् । आन्दोलनमै लागेका कारण २०६९ सालमा उनको ट्रयाक्टर समेत जलाइएको थिए । ठूलो क्षति ब्यहोरे पनि तरुण वयका अरुणको समाजसेवा र राजनीतिप्रतिको लगाव कम भएन ।
उनी जनताका प्रतिनिधि हुन दौडिरहे । प्रदेश सभा सांसद तथा नगरपालिकाको मेयरमा लडे, तर सफलता हात पार्न सकेनन् । दुइ चुनावमा हार ब्यहोरिसकेका अरुणमा अहिले पनि जोश जाँगर यथावत छ । उनी अहिले नागरिक उन्मुक्ति पार्टीबाट ढकिया चुनाव चिन्ह लिई प्रतिनिधि सभा सदस्यका लागि चुनावी मैदानमा छन् । हारको ह्याट्रिक हुनबाट जोगिदै चुनावमा पहिलो पटक जितको खाता खोल्न आतुर छन् अरुण ।

अरुणलाई लाग्ने गरेको आरोप
बिपक्षीहरुले उनलाई स्वार्थी र दल बदलुको आरोप लगाएको बारेमा उनी भन्छन्, देशका ठूला दलका ठूला भनिएका नेताहरु ब्यक्तिगत स्वार्थका कारण दल बदलेका छन् । जुँगाको लडाईका कारण पनि उनीहरु दल बदलेका छन् । तर मेरो दल बदलाई फरक छ । म थरुहट आन्दोलनमा होमिएको ब्यक्ति हो, त्यतिबेला थरुहट तराई पार्टी मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) मा मिल्यो, अरुजस्तै म पनि त्यसमा गएँ ।
फोरममा अवस्था राम्रो थियो । तर गच्छदार, रामजनम, गोपाल दहित, योगेन्द्र चौधरीहरुले मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) लाई काँग्रेसमा बिलय गराए । म फेरि काँग्रेस भएँ । तर, काँग्रेसमा थारु, आदिवासी जनजाति, दलित, उत्पीडित वर्गको लागि आवाज उठाउन सक्ने वातावरण भएन । उठाउनेहरु बेवास्तामा पारिन्छन्, हेला गरिन्छन् ।
तसर्थ म जस्तो अधिकारका लागि लड्ने क्रान्तिकारी युवाका लागि त्यहाँ बस्न सम्भव भएन । ठिक यस्तै बेला थरुहट आन्दोलनमा लागेर जेल जीवन बिताइरहेका रेशम चौधरीले नागरिक उन्मुक्ति पार्टी गठन गरे । र, म थारु, दलित, आदिवासी जनजाति, उत्पीडित खस आर्य, उत्पीडित सबै जातजातिको लागि खुलेर आवाज उठाउन नागरिक उन्मुक्ति पार्टीलाई रोजें ।
उकुसमुकुस वातावरणमा दवावमा परेर हक अधिकारका कुरा उठाउन सम्भव हुँदैन । समाजसेवा गर्न जहाँबाट सम्भव छ, म त्यही संगठनमा आबद्ध भएँ । दल बदलुको आरोप लगाउनेहरु काँग्रेसमा रहेर थारुको, दलितको, अल्पसंख्यकको, उत्पीडित खस आर्यको लागि खुलेर आवाज उठाउन म सम्भव देख्दिन, उनी प्रष्ट्याउँछन् ।
बलियो उम्मेदवार
क्षेत्र न. २ मा १ लाख ४ हजार ९०६ मतदाता छन् । त्यसमा ३४ हजार ४ सय थारु, करिब १० हजार भन्दा बढी दलित र बाँकी ब्राह्मण, क्षेत्री लगायतका अन्य जातजातिका मतदाता छन् । यस क्षेत्रमा ९ जना उम्मेदवार प्रतिनिधि सभाका लागि प्रतिस्पर्धा गरिरहेका छन् । देउवा, ओली दुवै गठबन्धनले प्रदेश र प्रतिनिधि सभामा थारु उम्मेदवार नदिएका कारण धेरै थारुहरुको रोजाईमा अरुण चौधरी परेको स्थानीय बुद्धिजीविहरु बताउँछन् ।
अरुणका दुइ प्रतिस्पर्धीहरु सांसद भै एक कार्यकाल बिताइसकेका छन् । आफू नयाँ भए पनि काम गर्ने जोश जाँगर भएको ब्यक्तिका कारण पनि धेरैको रोजाईमा परेको उनी बताउँछन् ।
अरुणको लुकेको पाटो
अरुण थारु समुदायका सक्रिय युवा हुन् भनेर धेरैले चिनेका छन् । तर अरुण पहाडीका ज्वाईं पनि हुन् भन्ने कुरा कमैलाई थाहा छ । उनी स्थानीय सरस्वती धामी चौधरी (सानु) सँग विवाह गरेका कारण थारुसँग मात्रै होइन, पहाडी समुदायसँग पनि उनको उत्तिकै घुलमेल, मेलमिलाप, घनिष्टता र नजिकको नाता सम्बन्ध छ ।

श्रीमती सरस्वती धामी चौधरी (सानु) सँग अरुण
थारुका छोरा, पहाडीका ज्वाईं परेका कारण उनी थारु–पहाडी दुबै समुदायका लागि प्यारा छन् । अरुण भन्छन्, माया प्रेमको अगाडि, जातभात भन्ने कुरा गौण हुने रहेछ । जातीय, क्षेत्रीय, भेकीय कुरा संकीर्ण सोचका उपज हुन् । मानवता, सत्य, न्याय ठूलो कुरा हो । हामी सबै एक हौं, सबैले सबैको अधिकारको लागि लड्नु पर्दछ ।
ठूलाले सानालाई माया गर्नुपर्दछ, अघि बढेकाले पछि परेकालाई उठाउनु पर्दछ । सबैले सबैलाई साथमा लिएर अगाडि बढ्नु पर्दछ भन्ने मान्यता राख्ने ब्यक्ति हुँ । म थारु–पहाडी दुबैको साझा ब्यक्ति हुँ । दुबै समुदायबिच घनिष्ट मित्रता, मायाप्रेम देख्न चाहनाका कारण मेरो चुनाव चिन्ह ढकियामा भोट ओइरिन्छ भन्नेमा विश्वस्त छु ।
प्रकाशित:
१३९५ दिन अगाडि
|
२८ कात्तिक २०७९
९ दिन अगाडि
|
१५ भदौ २०८३
११ दिन अगाडि
|
१३ भदौ २०८३
११ दिन अगाडि
|
१३ भदौ २०८३
१७ दिन अगाडि
|
७ भदौ २०८३
२६ दिन अगाडि
|
२९ साउन २०८३
३७ दिन अगाडि
|
१८ साउन २०८३
३९ दिन अगाडि
|
१६ साउन २०८३
१४२९ दिन अगाडि
|
२५ असोज २०७९
१४६४ दिन अगाडि
|
२१ भदौ २०७९
१४७३ दिन अगाडि
|
१२ भदौ २०७९
१४२८ दिन अगाडि
|
२६ असोज २०७९
१३७८ दिन अगाडि
|
१५ मंसिर २०७९
१४३४ दिन अगाडि
|
२० असोज २०७९
१३६६ दिन अगाडि
|
२७ मंसिर २०७९