जनक विष्ट
थरुहट, थारुवान र अखण्ड सुदूरपश्चिम आन्दोलनका बेला २०७२ सालमा भएको टीकापुर घटनाको जगमा गठन भएको नागरिक उन्मुक्ति पार्टी यो चुनावमा यहाँका ठूला दलहरुका लागि चुनौती बनेको छ ।
३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा पूर्वी कैलालीका चार स्थानीय तह जितेर यो कैलालीको सबैभन्दा ठूलो दल बनेको छ ।
सोही नतिजाबाट उत्साहित यो पार्टीले प्रतिनिधिसभाका ५ र प्रदेशसभाका १० क्षेत्रमा उम्मेदवारी दिएको छ ।
कैलाली क्षेत्र नम्बर ५ मा लक्ष्मण चौधरीको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरिदिएपछि नागरिक उन्मुक्ति पार्टीले स्वतन्त्र उम्मेदवार जगदिश चौधरीलाई समर्थन गरेको छ ।
नागरिक उन्मुक्ति पार्टीले कञ्चनपुरको क्षेत्र नम्बर १ र २ को प्रतिनिधिसभा तथा प्रदेशसभामा उम्मेदवारी दिएको छ भने सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुलाको प्रदेशसभा ९२० र बैतडीको प्रदेशसभा ९२० मा पनि उम्मेदवारी छ ।
सुदूरपश्चिम प्रदेशमा प्रतिनिधिसभाका १६ मध्ये ७ र प्रदेशसभाका ३२ मध्ये १६ क्षेत्रमा चुनावी प्रतिस्पर्धामा उत्रिएको नागरिक उन्मुक्ति पार्टीले देशका अन्य जिल्लामा पनि चुनाव लडिरहेको छ । पार्टी प्रवक्ता दामोदर पण्डितका अनुसार प्रतिनिधिसभाका ३३ र प्रदेशसभाका ५७ क्षेत्रमा यो पार्टी चुनाव लडिरहेको छ ।
राष्ट्रिय पार्टी र प्रदेशमा निर्णायक शक्ति हुने
सुशासन, समृद्धि र पहिचानको मुद्दालाई प्राथमिकताका साथ उठाएको नागरिक उन्मुक्ति पार्टीले अगामी निर्वाचनबाट राष्ट्रिय दल बन्ने लक्ष्य लिएको छ । राष्ट्रिय दलको मान्यता पाउन प्रत्यक्षतर्फ कम्तीमा एक सिट जितेर समानुपातिक पद्धतिमा कुल सदर मतको ३ प्रतिशत मत ल्याउनुपर्छ ।
सुदूरपश्चिम सहित तीन प्रदेशमा सरकार निर्माण गर्ने वा निमार्णमा सहभागी हुनसक्ने दल बन्ने उसको दाबी छ ।
सुदूरपश्चिम प्रदेशमा बहुमत ल्याएर आफ्नै नेतृत्वमा सरकार गठन गर्ने बताउने नागरिक उन्मुक्ति पार्टीका प्रवक्ता दामोदर पण्डित लुम्बिनी र मधेश प्रदेशमा नयाँ शक्तिका रुपमा उदाउने दाबी गर्छन् । राष्ट्रिय दल बन्न आवश्यक पर्ने तीन प्रतिशत मत पनि कैलाली र कञ्चनपुरसहितका जिल्लाबाट ल्याउने यो पार्टीको रणनीति छ ।
‘आगामी निर्वाचनमा समानुपातिकतर्फ कम्तीमा पनि चार लाख मत ल्याएर राष्ट्रिय पार्टीका रुपमा स्थापित हुने लक्ष्यका साथ हामी निर्वाचनमा छौँ’, पण्डितले भने, ‘सुदूरपश्चिममा त हाम्रै नेतृत्वमा सरकार गठन गर्छौं । लुम्बिनी र मधेश प्रदेशमा सरकार निर्माणमा निर्णायक शक्ति बन्छौं । उस्तै परे संघमा पनि सरकारमा सामेल हुन्छौं ।’
उत्पीडनमा परेका वर्ग, जाति र समुदायका मुद्दालाई मूल विषय बनाएको बताउने यो पार्टीले देशभरबाट आदिवासी जनजातिको मत पनि आफूहरुलाई आउने दावी गरेको छ ।
थारु समुदायको पहिचान सहितको प्रदेशको माग गर्दै भएको आन्दोलन चर्किदा हिंसात्मक रुप लिएको टीकापुर घटनामा रेशम चौधरीलाई दोषी बनाएर जेल हालिएपछि देशभरका आदिवासीमा अद्भूत एकताको भावना आएको प्रवक्ता पण्डित दावी गर्छन् ।
स्थानीय तहको मतभार
३० वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा वडाध्यक्षहरुले पाएको मतका आधारमा कैलालीमा नेपाली कांग्रेस पहिलो, नेकपा एमाले दोस्रो, माओवादी केन्द्र तेस्रो र नागरिक उन्मुक्ति पार्टी चौथो दल बनेको देखिन्छ ।
कांग्रेसका वडाध्यक्षका उम्मेदवारले पाँच वटै निर्वाचन क्षेत्रमा ८९ हजार ६१९ मत प्राप्त गर्दा दोस्रो बनेको एमालेको मत ७६ हजार ५४१ छ । माओवादी केन्द्रका उम्मेदवारले ४४ हजार ७९१, नागरिक उन्मुक्ति पार्टीका उम्मेदवारले २७ हजार ६९४, नेकपा एकीकृत समाजवादीले १२ हजार ५६२, राप्रपाले सात हजार ६८२ र जसपाले चार हजार ११३ मत पाएको छ ।
यो मतलाई आधार बनाउँदा पाँच लाख ३५ हजार ५१४ मतदाता रहेको कैलालीमा अहिले पनि कांग्रेस, एमाले र माओवादी केन्द्र प्रमुख शक्तिका रुपमा कायम देखिन्छन् भने नागरिक उन्मुक्ति पार्टी चौथो स्थानमा छ ।
थारु मतलाई आफ्नो जितको प्रमुख आधार बनाएको नागरिक उन्मुक्ति पार्टी क्षेत्रगत रुपमा हेर्दा कैलाली क्षेत्र नम्बर १ मा सबैभन्दा धेरै मत पाएर पहिलो स्थान कायम रहेकोमा क्षेत्र नम्बर २ र ३ आंशिक प्रभाव भएपनि ४ र ५ मा भने उसको प्रभाव न्यून देखिन्छ ।
यो हिसाबले हेर्दा नागरिक उन्मुक्ति पार्टीको दाबी अनुसार अगामी निर्वाचनमा जित्न निकाल्न र समानुपातिकमा थ्रेस होल्ड कटाउने गरी मत प्राप्त गर्न मुश्किल पर्ने देखिन्छ । त्यसमा पनि सत्तारुढ गठबन्धन र एमालेबीच मुख्य प्रतिस्पर्धा हुने ठानिएका बेला ती पार्टीले पनि थारु प्रभावित क्षेत्रमा सोही समुदायबाट उम्मेदवार खडा गरेका छन् ।
नागरिक उन्मुक्ति पार्टीको बढी प्रभाव रहेको क्षेत्र नम्बर १ मा रेशम चौधरीकी पत्नी तथा पार्टी अध्यक्ष रन्जिता श्रेष्ठ प्रतिस्पर्धामा छिन् । उनका विरुद्ध सत्तारुढ गठबन्धनको समर्थनमा नेपाली कांग्रेसका रामजनम चौधरी उम्मेदवार छन् । चौधरी नातामा श्रेष्ठका जेठाजु पर्छन् । २०७४ को निर्वाचनमा रेशम चौधरी भूमिगत अवस्थामै जसपाबाट उम्मेदवारी दिएर यो क्षेत्रमा ३४ हजार ३४१ मत पाएर विजयी भएका थिए ।
चुनावी अभियानका क्रममा कैलाली(१ बाट नागरिक उन्मुक्ति पार्टीकी उम्मेदवार रञ्जिता श्रेष्ठ ।
टीकापुर नगरपालिका, जोशीपुर गाउँपालिका, जानकी गाउँपालिका पाँच वडा ९१,३,४,६ र ७० तथा भजनी नगरपालिकाका ६ र ८ नम्बर वडा यो क्षेत्रमा पर्छन् ।
यी चारवटै पालिका नागरिक उन्मुक्ति पार्टीले जितेकाले यहाँ उसको प्रभाव राम्रो छ । अहिलेको निर्वाचनमा श्रेष्ठले यहाँबाट ४० हजार मत कटाएर जित हात पार्ने दाबी यो पार्टीको छ ।
यो बाहेक क्षेत्र नम्बर २ र ३ मा नागरिक उन्मुक्ति पार्टीेको प्रभाव कम देखिएको छ भने ४ र ५ मा न्यून छ । स्थानीय चुनावपछि यो पार्टीप्रतिको आकर्षण घट्दो क्रममा रहेको यहाँका स्थानीय नेताहरु बताउँछन् ।
तर, कैलालीका थारु समुदायका एक प्राध्यापक चुनावी नतिजालाई प्रभावित गर्न थारु समुदायकै मत निर्णायक रहेको बताउँछन् ।
‘सैद्धान्तिक रुपमा जो जहाँ जोडिएको भएपनि चुनावमा भने अधिकांशले भावनात्मक निर्णय लिएर मत दिने चलन छ । यसले गर्दा नागरिक उन्मुक्ति पार्टीले राम्रै मत ल्याउन सक्छ’ उनले भने ।
तर नागरिक उन्मुक्ति पार्टीले दाबी गरे जस्तो नतिजामा उथलपुथल हुने आफूले नदेखेको ती प्राध्यापक बताउँछन् । ‘कैलालीको चुनावी नतिजामा थारु समुदायको मत विगतदेखि नै निर्णायक हुने गरेको सत्य हो । जुनसुकै दलमा आवद्ध भएपनि प्रायजसो मानिसहरु व्यक्ति हेरेर मत दिने गर्छन्’, ती प्राध्यापकले भने ।
आफ्नो समुदायबाट प्रतिनिधित्व गर्ने उम्मेदवार भए धेरै मत बाहिर नजाने उनको भनाइ छ ।
‘थारु समुदायको ठूलो मत उन्मुक्ति पार्टीले पाउने देखिएको छ । तर, त्यो मत नै जितका लागि पर्याप्त हुन्छ कि हुन्न भन्न सकिन्न’ उनी भन्छन् । अनलाइनखबरबाट
प्रकाशित:
१३९३ दिन अगाडि
|
३० कात्तिक २०७९
९ दिन अगाडि
|
१५ भदौ २०८३
११ दिन अगाडि
|
१३ भदौ २०८३
११ दिन अगाडि
|
१३ भदौ २०८३
१७ दिन अगाडि
|
७ भदौ २०८३
२६ दिन अगाडि
|
२९ साउन २०८३
३७ दिन अगाडि
|
१८ साउन २०८३
३९ दिन अगाडि
|
१६ साउन २०८३
१४२९ दिन अगाडि
|
२५ असोज २०७९
१४६४ दिन अगाडि
|
२१ भदौ २०७९
१४७३ दिन अगाडि
|
१२ भदौ २०७९
१४२८ दिन अगाडि
|
२६ असोज २०७९
१३७८ दिन अगाडि
|
१५ मंसिर २०७९
१४३४ दिन अगाडि
|
२० असोज २०७९
१३६६ दिन अगाडि
|
२७ मंसिर २०७९