Above News Title

थरुहट राजनीतिको अनुमोदनः नागरिक उन्मुक्ति पार्टीको सशक्त उपस्थिति हुने आकलन

थरुहट राजनीतिको अनुमोदनः नागरिक उन्मुक्ति पार्टीको सशक्त उपस्थिति हुने आकलन

                                                                                                    कैलाली–३ बाट निर्वाचित भएपछि गंगाराम चौधरी
 तुफान न्यौपाने

 निर्वाचनको प्रारम्भिक परिणाम आउने क्रममा कैलाली–३ मा सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका माओवादीका कृष्णकुमार चौधरीलाई ६ हजार ५ सय मतको फराकिलो अन्तरले हराउँदै नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरी विजयी भएका छन् । कैलाली–३ मा यस पार्टीले क्लीन स्वीप गरेको छ । सोही पार्टीका  उम्मेदवार रन्जिता श्रेष्ठ चौधरी (कैलाली–१), गठबन्धनका उम्मेदवारभन्दा अग्रस्थानमा छन् । उता बर्दिया–२ बाट रेशम चौधरीको बुवा लालबीर चौधरी विजय भएका छन् । 

डिल्लीबजार कारागारबाटै बर्दिया–२ मा उम्मेदवारी दर्ता गराएका रेशम चौधरीको उम्मेदवारी बदरपछि उक्त स्थानमा स्वतन्त्र उम्मेदवार लालवीर चौधरीले  उम्मेदवारी दर्ता गराएका थिए । आफ्नो उम्मेदवारी खारेज हुन सक्ने सम्भावना देखेर रेशमले बाबु लालवीरलाई स्वतन्त्रका रुपमा ‘ब्याकअप’ मा राखेका थिए । निर्वाचित भएपछि उनले उन्मुक्ति पार्टी नै रोज्नेछन् ।

उन्मुक्ति पार्टी समानुपातिकको मतगणना सकिँदासम्म तीन प्रतिशतको थ्रेसहोल्ड पनि पार गर्ने आशामा देखिन्छ। उनीहरूले आशा गरेजस्तो नतिजा आएन भने पनि यो दलले कैलाली र बर्दियाबाट ४ सांसद प्रतिनिधिसभा पठाउन सक्ने सम्भावना देखिएको छ । 

 तत्कालीन राजपाबाट कैलाली–१ बाट रेशम चौधरीले जितेका थिए । जहाँ अहिले नागरिक उन्मुक्ति पार्टी एक्लैले ५ सिट जित्ने अवस्था देखिएको छ ।

थारू नागरिक समाज कैलालीका संयोजक दिलबहादुर चौधरी यो निर्वाचनले प्रतिनिधिसभामा मात्र नभएर सुदूरपश्चिम र लुम्बिनी प्रदेशसभामा पनि नागरिक उन्मुक्ति पार्टीको सशक्त उपस्थिति हुने बताउँछन् । भन्छन्, ‘यो अवस्था कांग्रेस, एमाले, माओवादी जस्ता दलहरूकै कारण आएको हो । यहाँका थारूले आजसम्मको उत्पीडनका लागि प्रमुख दललाई सजाय दिएका हुन् ।’


काठमाडौंको संस्थापनसँग पश्चिम तराईका थारूको असन्तुष्टि २०७२ मा संविधान जारी हुनुपूर्व नै प्रकट भएको थियो । उन्मुक्ति पार्टी गठनको जरो पनि सात वर्षअघिको ‘टीकापुर घटना’ सम्म जोडिएको छ । २०७२ साउन अन्तिम सातादेखि नै संविधानमा प्रस्तावित प्रदेशहरूको सीमांकनप्रति असन्तुष्टि जनाउँदै पश्चिम तराईका थारूले आन्दोलन चर्काएका थिए । हिंसा भड्किएपछि कैलालीको टीकापुरमा ८ जना प्रहरी र एक नाबालकको ज्यान गयो । घटनाको योजनाकार र संलग्नताको अभियोगमा ५८ जनामाथि ज्यान मुद्दा चल्यो । भूमिगत रूपमै चुनाव लडेर रेशमले टीकापुर क्षेत्र पर्ने कैलाली–१ बाट चुनाव जिते । ज्यान मुद्दामा दोषी पाइएपछि उनको सांसद पद निलम्बनमा पर्‍यो ।

खासमा टीकापुर घटनापछि नै थरूहट आन्दोलन रक्षात्मक अवस्थामा पुगेको हो । २०६२र६३ पछि बढी मुखरित भएर १० वर्षमै उत्कर्षमा पुगेर सुस्ताएको करिब सात वर्षपछि थरूहट राजनीति गत वैशाखको स्थानीय तह निर्वाचनपछि एकाएक नयाँ रूपमा प्रकट भयो, जसलाई यही ४ मंसिरमा सम्पन्न संसदीय निर्वाचनले नयाँ उचाइ दिएको छ ।

‘टीकापुर घटनामा संलग्न भन्दै मुद्दा चलाइएकाहरू अदालत र कानुनको नजरमा दोषी देखिए । उनीहरूलाई जेल हालियो । तर, यहाँका रैथाने थारूका नजरमा उनीहरू दोषी थिएनन्,’ थारू नागरिक समाज कैलालीका संयोजक चौधरी भन्छन्, ‘माओवादी युद्धमा हजारौं मानिस मार्नेलाई उन्मुक्ति भयो, तर हाम्रो राजनीतिक आन्दोलनमा लागेकालाई फसाइयो भन्ने भावना यहाँ छ । हामी अब पनि अगाडि नसरेर कतिन्जेल यिनै पार्टीको गुलामी गर्ने भन्ने प्रश्नले सबैलाई जुरुक्कै उठायो ।’

संयोजक चौधरीले नागरिक उन्मुक्ति पार्टीका उम्मेदवारले जनतासँग मत माग्दा ‘हामीलाई यी पार्टीहरूले, सरकार र अदालतले न्याय दिएन, अब अन्तिम न्यायाधीश तपाईंहरू नै हो, तपाईंहरूबाटै न्याय होस्’ भनेर मागेको र त्यसबाट मतदाता प्रभावित भएको बताउँछन् ।

नागरिक उन्मुक्ति पार्टीले अहिले पाएको सफलताको आधार गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमै तयार पारेको थियो । गत वर्षको पुस १९ मा निर्वाचन आयोगमा दर्ता भएको उक्त पार्टीले चार महिनापछिको निर्वाचनमा कैलालीको सबैभन्दा ठूलो दलका रूपमा आफूलाई स्थापित गराएको थियो । १३ पालिका रहेको कैलालीमा उन्मुक्ति पार्टीले चार पालिका प्रमुख टीकापुर र भजनी नगरपालिका तथा जोशीपुर र जानकी गाउँपालिका र तीन पालिकामा उपप्रमुख प्रमुख जितेकामध्ये टीकापुरबाहेक जितेको थियो । जिल्लाभर वडाध्यक्ष तथा वडा सदस्यसमेत गरी उन्मुक्ति पार्टीका ९९ जनप्रतिनिधि निर्वाचित भएका छन् ।

त्यसलाई विस्तार गर्दै पार्टीले प्रतिनिधिसभामा आफ्नो सशक्त उपस्थिति बनाएको छ । मतगणना सुरु नभएकाले प्रदेशसभातर्फको तस्बिर अहिले स्पष्ट छैन । तर प्रतिनिधिसभाका सिट जितेका क्षेत्रमा पार्टीले प्रदेशसभातर्फ पनि जित निकाल्न सक्ने अनुमान गरिएको छ । समानुपातिकतर्फ प्रदेशसभाको थ्रेसहोल्ड प्रतिनिधिसभाको भन्दा आधा अर्थात् १.५ प्रतिशत मात्र छ । जसलाई नागरिक उन्मुक्ति पार्टीले कम्तीमा लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा पार गर्न सक्ने अवस्था देखिन्छ ।

प्रतिनिधिसभाका लागि कैलाली–५ मा उम्मेदवारी दर्ता गराएका लक्ष्मण थारू ‘उत्पीडनमा पारिएका सबै समुदाय’ को पनि आवाज बुलन्द पार्ने आफ्नो पार्टीका सांसदहरूको प्रमुख कार्यभार हुने बताउँछन् । टीकापुर घटनामा संलग्न रहेको भन्दै उच्च अदालतले जन्मकैद सजाय तोकेकाले लक्ष्मणको उम्मेदवारीलाई निर्वाचन आयोगले बदर गरिदिएको थियो । ‘नेताले निर्वाचन जित्ने तर जनताको जीवनस्तरमा कुनै परिवर्तन नआउने निरन्तरको प्रक्रियालाई जनताले यो निर्वाचनमार्फत बदलेका छन् । आफूहरूलाई विकल्प प्राप्त भएका सबै क्षेत्रमा जनताले नयाँ र आसलाग्दा पार्टी र उम्मेदवारलाई जिताएका छन्,’ उनले भने, ‘त्यसैक्रममा पश्चिम तराईमा नागरिक उन्मुक्ति पार्टीले जित पाएको छ । जनताको यो अपेक्षालाई मर्न नदिने दायित्व हाम्रो काँधमा आएको छ ।’

२०६८ को जनगणनाअनुसार ६.६ प्रतिशत जनसंख्या भएका थारू  चौथो ठूलो जातीय समूह हो । तर, राष्ट्रिय र क्षेत्रीय राजनीतिमा थारूको प्रतिनिधित्व जनसंख्याको यो अनुपातमा हुन सकेको छैन । जसलाई प्रतिनिधिसभा र प्रदेशसभामा हुने नागरिक उन्मुक्ति पार्टीको उपस्थितिले केही हदसम्म बदल्नेछ । ‘उपस्थितिमात्र आफैंमा ठूलो होइन, कत्तिको सशक्त भूमिका निर्वाह गर्न सक्छन् भन्नेमा नै उनीहरूको औचित्य स्थापित हुने हो,’ थारू नागरिक समाज कैलालीका अध्यक्ष चौधरी भन्छन् । उनी नागरिक उन्मुक्ति पार्टीका सांसदहरूले रेशम चौधरीलगायतको रिहाइको मागमा मात्र आफूलाई सीमित नराखी सामुदायिक हित र प्रतिनिधित्वका अन्य फराकिला विषयमा केन्द्रित गर्नुपर्ने सुझाव दिन्छन् ।

राजनीतिक र प्रशासनिक निकायमा थारू प्रतिनिधित्वका लागि संविधानले छुट्टै क्लस्टरका रूपमा स्वीकार गरे पनि व्यावहारिक रूपमा त्यसको कार्यान्वयन बाँकी छ । लोकसेवा आयोगले गर्ने विज्ञापनमा आरक्षणका लागि थारूलाई मधेसीको कोटाभित्र राख्ने गरिएको छ । यस्ता अभ्यास बदल्न नागरिक उन्मुक्ति पार्टीका सांसदले भूमिका खेल्नुपर्ने चौधरीको सुझाव छ ।

मधेसमा स्थापित जसपा तथा लोसपाजस्ता पुराना दल यो निर्वाचनपछि खुम्चिएका छन् । पहाडमा पहिचानवादी समूहहरू राजनीतिक दलका रूपमा उदाउन सकेका छैनन् । यस्तो अवस्थामा पहिचानवादी राजनीति, सामाजिक न्याय र समावेशीकरणका मुद्दाको अगुवाइ गर्नुपर्ने जिम्मेवारी नागरिक उन्मुक्ति पार्टीमा आएको उक्त पार्टीका संस्थापकमध्येका एक सुरेन्द्र चौधरी बताउँछन् । दाङ–१ मा उम्मेदवार रहेका चौधरी भन्छन्, ‘थारू मात्रै नभएर समग्र उत्पीडित समुदायको आवाज मुखरित गर्ने जिम्मेवारी आएको छ । उत्पीडनका साझा मुद्दाको अगुवाइका लागि सशक्त रूपमा उभिनेछौं ।’ कान्तिपुरबाट, नयाँ अपडेटसहित

प्रकाशित:

१३८६ दिन अगाडि

|

७ मंसिर २०७९

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४२९ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४६४ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४७३ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४२८ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३७८ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४३४ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३६६ दिन अगाडि

|

२७ मंसिर २०७९