Above News Title

‘हामीलाई कांग्रेसकै नेतृत्व स्वीकार्य छ’–मेटमणि चौधरी

नेकपा एस कुनै पार्टीसँग एकता प्रक्रियामा नजाने
‘हामीलाई कांग्रेसकै नेतृत्व स्वीकार्य छ’–मेटमणि चौधरी

सहरी विकास मन्त्री तथा नेकपा एकीकृत समाजवादीका नेता मेटमणि चौधरीले हालै सम्पन्न निर्वाचनको नतिजालाई आफूहरुले स्वीकार गरेको बताएका छन् । आफ्नो पार्टीले समानुपातिकतर्फ ‘थ्रेस होल्ड’ कटाउन नसकेको अवस्थामा पनि प्रत्यक्षतर्फ १० सिट जितेकोमा उनी सन्तुष्ट देखिन्छन् ।

उनले तत्काल कुनै पनि पार्टीसँग आफ्नो पार्टीको एकता प्रक्रिया अघि नबढ्ने प्रस्ट पारे । उनले सरकार गठनको प्रक्रियामा अब प्रवेश गर्ने र त्यसमा पनि मोटामोटी सहमति भइसकेको जानकारी पनि दिए । सरकारको नेतृत्व कांग्रेसले नै गर्ने र यही गठबन्धनको सरकार बन्ने उनको भनाइ छ । प्रस्तुत छ, यिनै विषयमा केन्द्रित रहेर उनीसँग गरिएको कुराकानीको सम्पादित अंश–

पार्टी र चुनाव चिह्न नयाँ लिएर चुनावी मैदानमा होमिनुभयो । ५ वर्षअघि एउटा पार्टी र चुनाव चिह्न लिएर जानुभयो । अहिले अर्को पार्टी र चुनाव चिह्न लिएर जानुभयो । यो निर्वाचनको दौरानमा कति गाह्रो भयो ?

अहिले पाँच दलीय गठबन्धन थियो । स्वाभाविक रुपमा धेरै मतदाता हामीसँगै हुनुहुन्छ भन्ने भयो । सामान्य रुपमा त्यति गाह्रो भएन । तर, व्यावहारिक रुपमा नयाँ चुनाव चिह्न, जहाँ जनतामा स्थापित भएको थिएन । भोट हाल्ने जनता त्यसमा बानी परेका थिएनन् । चुनाव चिह्न नयाँ भएकाले चिनाउन अप्ठ्यारो भयो । चुनावका दौरानमा अरु खासै अप्ठ्यारो भएन ।

‘सूर्य चिह्नमा भोट हालौँ, मेटमणि चौधरीलाई जिताउँ’ भनेर नारासमेत लागेछ, हैन ?

कतिपय ठाउँमा यस्तो भएको रहेछ । हामीले थाहा पाएको ठाउँमा आफै पुगेर करेक्सन गर्न लगायौं । त्यसमा हामीले सकेको चिर्ने काम गरियो । तर, धेरै ठाउँमा मेटमणिको चुनाव चिह्न कलम हो । हामीले सूर्य चिह्नमा हाल्नु हुँदैन भन्ने थियो । मेटमणि असल मान्छे हो । हिजो पनि जितायौं, अब पनि जिताउनुपर्छ भनेर भनेको पाएँ ।

गंगा चौधरी तपाईंले उठाएको डमी उम्मेदवार हो, त्यस कारण तपाईंलाई चुनाव जित्न सहज भयो भन्छन् नि, खास के हो ?

गंगाजीको भोट भनेको १ हजार ९३ मात्रै हो । मेरो बुझाईमा उहाँ हामीसँग हुँदा अप्ठ्यारो हुने थियो । यदि हामीसँगै भएको भए धेरै सेवा र संरक्षण गर्नुपर्ने हुन्थ्यो । म एक्लै हुँदा मलाई चुनाव जित्न सहज भयो । अर्को कुरा, उहाँसँग कुरा नभएको महिनौं भइसक्यो । त्यस कारण उहाँ मेरो डमी उम्मेदवार होइन ।

एमालेका महासचिव शंकर पोखरेल पराजित भएपछि तपाईंले सामाजिक सञ्जालमा प्रतिगमनकारी मतियारको हार भयो भन्ने आशयले लेख्नुभयो । मेटमणि कति असहिष्णु भएका हुन्, शंकर पोखरेल पराजित हुँदा यस्तो टिप्पणी नगरेको भए हुन्थ्यो भन्ने खालको कुरा पनि आयो, तपाईं के भन्नुहुन्छ ?

यस्तो खालको टिप्पणी आउनु स्वाभाविक हो । प्रतिक्रिया पोजेटिभ र नेगेटिभ दुवै आउँछन् । सबै कोणबाट टिप्पणी हुन्छन् । फेरि सत्य कुरा जनतालाई भन्नै पर्छ । हामीलाई पनि कति पीडा होला ? म त्यतिबेला एमाले दाङको इन्चार्ज थिएँ । हामी जस्तो एमालेमा दुःख गरेको नेता पार्टी छोडेर जानुपर्ने अवस्था आयो । यो अवस्थामा लैजान शंकर र केपी ओलीहरुको मुख्य भूमिका थियो । त्यो पीडाको रुपमा बाहिर अभिव्यक्तमात्रै भएको हो । शंकरजीहरु प्रतिगामी हो नि । तत्कालीन नेकपाका झण्डै बहुमत प्राप्त सांसद थियौं । त्यति ठुलो कम्युनिस्ट पार्टीलाई छियाछिया बनाइयो । जननिर्वाचित सांसदहरुको थलोलाई विघटन गर्ने काम गरियो । त्यसमा मलजल गर्ने भूमिका शंकरजीहरुकै थियो ।

मेटमणि आफू जितेकोमा खुसी हुनु स्वाभाविकै हो । तर शंकर पोखरेल हार्दा यस्तो टिप्पणी नगरेको भए हुन्थ्यो भन्ने कुरा नि ?

एउटा बेठिक मान्छेलाई अझ बेठिक बनाउने कुरा स्वाभाविक हो । यो कम्युनिस्ट आन्दोलनलाई ध्वस्त बनाउने नेताको हार हुँदा सिङ्गो देशै हाँसेको थियो । त्यसमा म पनि हाँसे, के बिग्रियो ?

एकीकृत समाजवादीले प्रत्यक्षमा १० सिट जित्यो । समानुपातिकमा थ्रेस होल्ड कटाउन नसक्दा राष्ट्रिय पार्टी बन्न सक्ने अवस्था छैन । यस्तो अवस्थामा पार्टीमा ह्वीप पनि नलाग्ने, जो जता गए पनि हुने भयो भन्ने छ । अब तपाईंहरुले कुनै पार्टीसँग एकता गर्नुहुन्छ कि यसरी नै पार्टी चलाउनुहुन्छ ? 

हाम्रो पार्टी कुनै पार्टीसँग एकता प्रक्रिया अगाडि जाँदैन । यदि सम्भव भयो भने सिङ्गो कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाउने भन्ने छ । एमाले बाहेकका कम्युनिस्ट पार्टीहरुसँग एकीकृत र ध्रुवीकृत हुने अवस्थामा जान सकिन्छ । यद्यपि एमालेभित्रका असल नेता कार्यकर्तालाई एकतामा जोड्ने हुन सक्छ । एउटा पार्टीसंग एकता गर्ने, समन्वय गर्ने सम्भावना छैन । हाम्रो पार्टी राष्ट्रिय पार्टी बन्यो, ठिकै छ । यदि राष्ट्रिय पार्टी बनेन भने पनि ह्वीप नलाग्ने भन्ने हुँदैन । सबै रहन्छ । यो अनावश्यक हल्लामात्रै हो । तत्काल एकताको विषयमा सोचेका छैनौं । एकता हुने प्रक्रियामा छिर्ने अवस्था पनि छैन ।

चुनावमा राष्ट्रिय पार्टी भएन । यो पार्टीमा नेता कार्यकर्ता नै रहँदैनन् भन्ने छ । के जसरी पनि एकतामा जान एकीकृत समाजवादी बाध्य हुँदैन ?

कांग्रेसले कति धेरै ठाउँमा लडेको थियो । पछि धेरै ठाउँमा पराजय भयो । माओवादी कति धेरै ठाउँमा लडेको थियो । पछि कति जित्यो ? एमाले कति धेरै ठाउँमा लडेको थियो । अहिले यति आयो । हामीले जम्मा १९ क्षेत्रमा मात्रै चुनाव लडेका थियौं । हामीले १० क्षेत्रमा चुनाव जित्यौं । हामीले ५० प्रतिशतभन्दा बढी क्षेत्रबाट चुनाव जितेका छौं । यसरी उम्मेदवारी दिएका  ५५ प्रतिशतभन्दा बढी चुनाव जितेको अरु पार्टी छैन । जति ठाउँमा उम्मेदवारी दिएको थियो, त्यसका आधारमा हेर्दा हामीले उपलब्धि हासिल गरेका छौं । यद्यपि हामीले १५ देखि १७ सिट जित्छौं भन्ने थियो । चुनावी नतिजामा त्यस्तो देखिएन । समानुपातिकमा १० लाखभन्दा बढी मत ल्याउँछौ भन्ने थियो । तर तीन लाख पुग्न पनि अप्ठ्यारो भइराखेको छ । पुग्न त हाम्रो पार्टीको ३ लाखभन्दा बढी मत ल्याउने देखिन्छ । हामीले जुन अपेक्षा र अनुमान गरेका थियौं, त्यो पूरा भएको छैन ।

तपाईंहरुले भने बमोजिम किन नतिजा ल्याउन सक्नु भएन ?

अहिले राष्ट्रिय रुपमै समस्या देखिएको छ । कांग्रेस, माओवादी, एमालेसहित सबै दलको सिट संख्या र मत घटेको छ । केपी ओलीले एक सय सिट कटाउँछौ भन्थे । समानुपातिकमा ४० लाखभन्दा बढी ल्याउँछौ भन्थे । अन्तिममा हावा खाए । नेपालको राजनीतिमा यति धेरै स्वतन्त्र उम्मेदवार आउलान् भन्ने थिएन । उनीहरुप्रति यति धेरै सकारात्मक मनोविज्ञान होला भनेर सोच्दै सोचिएन ।  मेरो निर्वाचन क्षेत्रमा घण्टीले १३ हजारभन्दा बढी मत ल्यायो । जहाँ सहरी क्षेत्र थिए, त्यहाँ घण्टीले चुनाव जित्यो । यो कुनै दलले अनुमान गरेको थिएन । हामीले अनुमान गरेको भन्दा फरक नतिजा आयो । जुन हामीले कल्पनासमेत गरेका थिएनौं । जसले गर्दा हामीले सोचेको सिट र समानुपातिकमा मत आएन ।

वाम लोकतान्त्रिक गठबन्धन बनाएर चुनावमा जाँदा सफल भयो कि भएन ?

यो गठबन्धनलाई असफल भन्न मिल्दैन । मैले गठबन्धनबाटै चुनाव जितेको छु । पार्टीबाट १० जनाले गठबन्धनबाटै चुनाव जितेका छन् । माओवादी साथीहरु गठबन्धनबाटै चुनाव जितेर यो ठाउँमा हुनुहुन्छ । कांग्रेस पनि गठबन्धनकै कारण यति ठुलो पार्टी भयो । गठबन्धन धेरै ठाउँमा सफल नभए पनि मुल रुपमा सफल भएको छ । अहिले समानुपातिकमा एमाले ठुलो पार्टी देखिएको छ । प्रत्यक्षतर्फ पनि पहिलो पार्टी बन्ने थियो । त्यसैले अहिले थोरै सिटमा खुम्चेको छ । समग्र रुपमा हेर्दा गठबन्धन सफल भएको छ । जति हुनुपर्ने हो, अपेक्षा गरिएको थियो, त्यति हुन सकेन । जति भोट एक आपसमा ट्रान्सफर हुनुपर्ने थियो, त्यति हुन सकेन ।

त्यसो भए गठबन्धनबाट सबैभन्दा बढी फाइदा एकीकृत समाजवादीलाई भयो ?

सबैलाई फाइदा भएको छ । गठबन्धन भनेको एक अर्कालाई सहयोग गर्ने  हो । हामै्र कारण अधिकांश ठाउँमा कांग्रेसले चुनाव जितेको छ । दाङ–२ मा रेखा शर्मा १९३ मतले जित्नुभयो । घोराही उपमहानगर हामीले स्थानीय तहमा उम्मेदवार मात्रै उठाउँदा ११ सयभन्दा बढी मत ल्याएका थियौं । अहिले त्यो संख्या थपिएको होला । यो माओवादीमात्रै होइन, कांग्रेसको हकमा पनि लागु भएको छ । हामो हकमा पनि लागु भएको छ । यो गठबन्धनले सबैलाई फाइदा पुगेको छ । यस्तै गठबन्धनले एमालेलाई समेत फाइदा पुगेको छ । गठबन्धन भएकाले कांग्रेस, माओवादी, समाजवादीमा रिसाएको मान्छेहरुले भोट हालेर एमालेको धेरै मत आयो ।

गठबन्धन बनाएर चुनाव लड्दा एमालेले यति धेरै सिट जितेको छ । सबै एक्लाएक्लै चुनावमा गएको भए त एमालेले एकलौटी पार्ने रहेछ, हैन ?

हामीले एमालेले धेरै सिट ल्याउने आकलन मात्रै गर्छौं । त्यसको ठिक उल्टो रिजल्ट आउन सक्थ्यो । अहिले घण्टी र स्वतन्त्रहरुले ल्याएको मत कांग्रेसबाट भोट ट्रान्सफर भएको छ । यदि गठबन्धन नभएको भए कांग्रेसमै रहने थियो । जुन भोट जहाँ थियो त्यहीँ रहँदा एमाले कमजोर हुन सक्ने पनि हुन सक्थ्यो । गठबन्धनबाट असन्तुष्टको मत एमालेमा थपिएकाले बलियो भयो । सबै पार्टीले गठबन्धन नगरेर आ–आफ्नो पार्टीबाट चुनाव लडेको भए भोट ट्रान्सफर हुने थिएन । यस्तो हुँदा कांग्रेस झन् अगाडि आउने र एमाले साइजमा हुने अवस्था हुन सक्थ्यो ।

राष्ट्रिय स्वतन्त्र पार्टी र स्वतन्त्र उम्मेदवारबाट एमालेलाई फाइदा भएको भन्न खोज्नु भएको हो ?

एमालेलाई फाइदा भएको छ । कांग्रेसको भोट ट्रान्सफर भयो तर एमालेको भोट जहाँको त्यहीँ रह्यो । त्यसो हुँदा कांग्रेसको भोट डाउन भयो । एमालेको भोट माथि आयो । त्यसैले घण्टी र स्वतन्त्र उम्मेदवारबाट धेरै फाइदा भएको छ ।

अब एकीकृत समाजवादी कति दिन रहन्छ भन्ने छ । यस्तो अवस्थामा एमालेसँग एकता हुने कति सम्भावना छ ?

एमालेसँग तत्काल एकता हुँदैन । अरु पार्टीका नेताभन्दा हामीलाई मुख्य दुष्मन ओलीले लिएका छन् । राजनीतिमा सबै कुरा असम्भव भन्ने हुँदैन । तर यति चाँडै एमालेसँग एकता हुने सम्भावना छैन । कार्यकर्ता पनि त्यसरी एमालेमा फर्किने अवस्था छैन । ओलीहरु सरकारमा नगएपछि बरु ओलीका कार्यकर्ताहरु हामीतिर आउँछन् ।

एकीकृत समाजवादीले तत्काल एकता गर्दैन तर गर्नै परेमा माओवादीसँग एकता गर्छ, हो ?

अहिले कुनै पार्टीसँग एकता हुँदैन । सहकार्य हुन सक्छ । मोर्चाबन्दी हुन सक्छ । एकता कुनै राजनीतिक दलसंग हुँदैन ।

यसरी मोर्चा वा सहकार्य गर्दा एमालेसँग हुन्छ कि हुँदैन ?

एमालेसँग कुनै हालतमा एकता हुँदैन । हामीलाई मुख्य दुस्मनकै रुपमा हेर्न थालेपछि कसरी सहकार्य हुन्छ ? कसरी एकता हुन्छ ?

आगामी सरकार कसको नेतृत्वमा बन्दैछ ?

अब सरकार पाँच दलीय गठबन्धनकै बन्छ । सरकारमा सीके राउत नेतृत्वको जनमत पार्टी थपिन सक्छ । यो गठबन्धनमा १ सय ४८ सांसद रहन्छन् । यो भनेको सुविधाजनक बहुमत हो । प्याकेजमै सहमति गरेर गठबन्धकै सरकार बन्छ । अबको पाँचै वर्ष अगाडि जानेगरी सहमति भइसक्यो ।

प्रधानमन्त्री कसलाई बनाउनुहुन्छ ?

यो गठबन्धन पार्टीको मुख्य साझेदार दल कांग्रेस हो । कांग्रेस संसदीय दलको नेता नै प्रधानमन्त्री बन्छ । हामीलाई कांग्रेसकै नेतृत्व स्वीकार्य छ । हाम्रो पार्टीबाट प्रधानमन्त्रीमा कसैको दाबी छैन ।

राष्ट्रिय स्वतन्त्र पार्टीलाई यतिधेरै भोट कसरी आयो भन्ने विश्लेषण गर्नुभएको छ ?

यो हामीप्रतिको विद्रोह हो । दलहरुप्रतिको विद्रोह हो । तिमीहरु काम लाग्दैनौं । तिमी जस्तो उम्मेदवारको काम छैन । हामीले २०४८ सालदेखि चुनाव जिताएर पठायौं । जनताले के पाए भन्ने भयो । यी सबै दलप्रतिको विद्रोह वा रोष प्रकट हो । दलप्रतिको आक्रोस बाहेक केही होइन । घण्टी पार्टीले केही गर्छ भनेर जनताले भोट दिएको होइन ।

नो भोटको सिस्टम भएको भए घण्टी वा लौरो जस्तामा जाने थिएन । नो भोटको अप्सन नभएपछि ती पार्टीहरुले मत पाएका हुन । जसले गर्दा हामी सबैलाई करेक्सन गर्ने अवसर दिएका छन् जनताले । हामीलाई स्थानीय चुनावदेखि प्रेसर दिइसकेका थिए । स्थानीय र संघीय चुनावको जुन समय थियो, त्यो छोटो भएकाले करेक्सन गर्ने मौका पाएनौं । यो हामीलाई निरन्तर प्रेसर हो । यसलाई म नकारात्मक रुपमा लिन चाहन्न । हामीलाई सच्याउन, करेक्सन गर्न मौका दिएका छन् यदि त्यसो नगरेमा समाप्त हुन्छौ भन्ने सन्देश हो । अब हामी कि सिद्धिने कि सच्चिने दुई वटा अप्सनमात्रै छन् । हामी सच्चिएर जानुको विकल्प छैन ।

यदि दलहरु सच्चिएन भने सकिन्छन् । २०४८ साल र २०५१ सालदेखि लगातार चुनाव जितेको नेता एकदमै कम चुनाव जितेका छन् । अहिले अधिकांश फ्रेस अनुहार भएकाले जितेका छन् । लगातार चुनाव जित्नेले नराम्रो काम नगरे पनि चुनाव हारेका छन् । जसले गल्ती गरेको छैन, आरोप लगाउने ठाउँ छैन । तर पनि चुनाव हारेका छन् । उहाँहरुले जनताको सेवा गर्न सक्नु भएको छैन भन्ने बुझ्नुपर्छ ।

एउटा कुरा तिमीहरु मात्रै छैनौ, अरु पनि छन् भन्ने सन्देश दिएका छन् । अर्को, तिमीहरु सच्चिएर जनताको सेवा गर भनेका छन् । यसले हामीलाई दबाब महसुस भएको छ । अहिले यसअघि सांसद भएका ६० भन्दा बढीले चुनाव हारेका छन् । अरु नयाँ अनुहार आएका छन् । यो राम्रो पक्ष हो । एउटै व्यक्तिको दादागिरी हुने राम्रो पक्ष पनि होइन । मैले २ पटक चुनाव जितिसकेँ । उमेरले ४९ वर्षको भएँ । अब एक पटक उठेपछि बारम्बार उठ्ने राम्रो हुँदैन । योभन्दा माथि पुग्छु भन्ने कार्यकर्ता र मतदाताले मनोविज्ञान बनाएमा जिताउन सक्छन् । नभए जनताले नै जिताउँदैनन् । मैले त्यस्तो अवस्थामा छोड्दिनु पर्छ र  अरुलाई अवसर दिनुपर्छ ।

एमालेले सरकार बनाउने कसरत जारी राखेको छ । कतै वामपन्थीहरुको सरकार बन्ने त होइन ?

यो कुनै सम्भावना छैन । यो लेखेरै राख्नुस्, कुनै हालतमा बन्दैन ।  राजनीतिमा सबै बाटा खुला हुन्छन् । अहिलेको अवस्थामा वामन्थीहरुको सरकार बन्ने बाटो बन्द छ । माओवादी, एकीकृत समाजवादी र जनमोर्चा हुन् । यी तीन पार्टी ओलीको पार्टीमा मिल्न चाहँदैनन् । ओलीको पार्टीको नेतृत्वलाई नेता मान्दैनन् । ओलीले पनि तीन पार्टीलाई प्रहार गरेर कमजोर बनाउन खोजेका छन् ।

केपी ओलीले प्रचण्ड वा माधव नेपाललाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरे मान्ने अवस्था हुन सक्छ कि ?

त्यो पनि सम्भावना छैन । हामीलाई नैतिक रुपमा त्यसो गर्न मिल्दैन । चुनाव पाँच दलीय गठबन्धनबाट जित्ने, सरकार एमालेसँग बनाउन मिल्दैन । जसका विरुद्ध चुनाव लडेर यो ठाउँमा आएको छ, उसैसँग मिलेर सरकार बनाउने भन्ने अवस्था छैन । प्रधानमन्त्रीको कुर्सी नै ठुलो कुरा हो भन्ने होइन । मन्त्री नै सबैथोक हो भन्ने होइन ।

पदहरुको बाँडफाँट कसरी हुँदैछ ?

प्रधानमन्त्री लिडिङ पार्टीको हैसियतले कांग्रेसको हुन सक्छ । यो कांग्रेसभित्रको आफ्नो कुरा भयो । त्यसपछि माओवादी ठुलो पार्टी हो, त्यसले राष्ट्रपति वा सभामुख छनोट गर्नसक्छ  । तेस्रो लार्जेस्ट पार्टी हामी हौं । माओवादीले सभामुख लिएमा हामीले राष्ट्रपति लिन्छौं । राष्ट्रपति माओवादीले लिए सभामुख हामीले लिन्छौं । त्यसपछि उपराष्ट्रपति, उपसभामुख लगायत दलहरुले लिन सक्छन् । अब राजनीतिमा लिन के छ ? सबैलाई मिलाएर अगाडि बढ्ने हो । रातोपाटीबाट

प्रकाशित:

१३७७ दिन अगाडि

|

१७ मंसिर २०७९

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४३० दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४६५ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४७४ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४२९ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३७९ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४३५ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३६७ दिन अगाडि

|

२७ मंसिर २०७९