Above News Title

छोराको सम्झनामा २८ वर्षदेखि पुस्तकालय रूँगिरहेका पूर्णबहादुर

छोराको सम्झनामा २८ वर्षदेखि पुस्तकालय रूँगिरहेका पूर्णबहादुर

संगीता गिरी

धरानको व्यस्त बजारमा एउटा पुरानो पुस्तकालय छ- विमल स्मृति पुस्तकालय।

उक्त पुस्तकालयमा जीवनको आठ दशक पार गरिसकेका सेनाका पूर्व कप्तान पूर्णबहादुर गुरूङको दैनिकी मात्र होइन, जीवन नै बितिरहेको छ।

२८ वर्ष भयो, उनी बिहान ४ बजे पुस्तकालय पुगिरहेका छन्। कति रात पनि उनले पुस्तकालयमै बिताएका छन्।

यो पुस्तकालयको नाम उनको छोरा विमलको सम्झनामा राखिएको हो। विमलको बस दुर्घटनामा मृत्यु भएको थियो। पूर्णबहादुरले छोरालाई समर्पित गर्दै पुस्तकालय खोलेका हुन्।

उनी हरेक दिन आफ्नो छोराको धमिलो याद ताजा बनाउन कसरत गरिरहेका हुन्छन्।

पूर्णबहादुरले छोराको सम्झनालाई किन पुस्तकालयसँगै जोडे त?

विमललाई सानैदेखि साहित्यमा रूचि थियो। कविता लेख्न खुबै रूचाउँथे। पूर्णबहादुरले आफ्नो छोरालाई चिनेको पनि यत्ति नै हो भन्दा फरक पर्दैन। उनी छोराछोरी साना हुँदा पल्टनमा जागिरे थिए। 

छोराछोरीको भविष्य राम्रो बनाउन पल्टन गएका उनले विमललाई होस्टल राखेर पढाएका थिए। यसले पनि उनलाई आफ्ना सन्तानको आनीबानी चिन्न बाधा भयो। राम्ररी बुझ्न र चिन्न नपाउँदै बुबा पूर्णबहादुरले छोरा विमललाई गुमाए।

विमलले जीवनको दुई दशक पनि देख्न नपाउँदै उनको निधन भएको थियो। उनको दुर्घटना हुँदा पूर्णबहादुर ब्रुनाइमा थिए। केही समयपछि नेपाल फर्किए। छोरा गुमाउनु र परिवारसँग समय बिताउन नपाएको पीडाले उनलाई थिच्दै गयो। विमलले आफ्नो रूचिअनुसार केही किताब जोरजाम गरेका रहेछन्। त्यसैमार्फत् पूर्णबहादुरले छोराको सम्झना जिउँदो राख्ने विचार गरेका हुन्।

अचेल उनी हरेक वर्ष ५० हजार रूपैयाँ छुट्याएर किताब किन्छन् र पुस्तकालयमा थप्छन्। तर डिजिटल माध्यमको चलन र लोकप्रियता बढेसँगै पुस्तकालयमा पाठक कम हुँदै गएको उनको अनुभव छ।

पूर्णबहादुरको यो कथा दृश्यमा पनि हेर्न पाइन्छ- २० औं काठमाडौं इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिभल (किम्फ) मा देखाइने फिल्म 'उर्मि' मार्फत्।

उर्मिको कथा पूर्णबहादुरकै जीवन वरिपरि घुम्छ। उर्मिको अर्थ शोक हो। फिल्मका पात्र पूर्णबहादुरको जीवनमा पनि शोकको लहर छ। उनले बुढेसकालको लाठी त झन्डै तीस वर्षअघि गुमाइसके, चार वर्षअघि जीवनसाथी पनि गुमाए। उनकी श्रीमतीको क्यान्सरका कारण मृत्यु भयो।

पूर्णबहादुरकी श्रीमती छोराको वियोगमा तड्पिएरै मृत्युको मुखमा पुगेको 'उर्मि' का निर्देशक प्रणय लिम्बूलाई लाग्छ। प्रणयलाई यो कथा हिमाल खबर पत्रिकाका सम्पादक रविन गिरीले जुराइदिएका हुन्। रविनले उनलाई पाँच मिनेटको भिडिओ अभिलेख मात्रै भए पनि राख्न प्रस्ताव राखेका थिए।

'केको बारेमा रहेछ भनेर बुझ्दा छोराको सम्झनामा पुस्तकालय खोलेर बसेको मान्छे हुनुहुँदो रहेछ। गहिराइमा कथा खोतल्दै जाँदा यो डकुमेन्ट्री मात्र नभई राम्रो फिल्म बन्छ भन्ने लाग्यो,' निर्देशक प्रणयले सेतोपाटीसँग भने।

त्यति बेला उनी 'नगरपिता' भनेर चिनिने धरानका पहिलो मेयर ध्यानबहादुर राईको फिल्म बनाउँदै थिए। उक्त कथा थाँति राख्दै उनले पूर्णबहादुरको कथा भन्ने निर्णय गरे। किनकी पूर्णबहादुर त्यो बेलै ८० वर्ष पुगिसकेका थिए।

'ढल्किँदो उमेरका मान्छेको कथा भन्न गाह्रो छ। मसँग नमिठा याद पनि छन्। केही वर्षअगाडि कलाकार बिएस राणाको कथा भन्न मैले दुई वर्ष साक्षात्कार गरेको थिएँ। तीन दिन छायांकन पनि भएको थियो। तर उहाँको निधन भयो,' उनले भने, 'बिएस राणाको फिल्म अधुरै रह्यो। यस्तै घटना नदोहोरियोस् भनेर मैले पूर्णबहादुरको कथा भन्न हतार गरेँ।' 

सबै कुरा सोचेजस्तो सजिलो त कहाँ हुन्छ र!

८० वर्षे वृद्धलाई पर्दामा उतार्न उनलाई निकै चुनौती थियो। 

'उहाँ कलाकार होइन। कलाकारलाई लियो भने जे भन्यो त्यही गर्छन्। आम मान्छेलाई गाह्रो भइहाल्छ। उहाँ पनि सुरूमा क्यामराअगाडि डराउनुभयो। बिस्तारै कुरा गर्दै जाँदा सहज वातावरण बन्दै गयो,' उनले भने।

फिल्म रोचक बनाउन आफूले सक्दो प्रयास गरेको उनले बताए।

भने, 'कुनै कथालाई दीर्घकालीन रूपमा जीवन्त बनाइराख्न कलात्मक तरिकाले नै भन्नु पर्छ। उहाँको कथा जीवन्त बनाउन हामीले केही पात्र पुनर्निर्माण पनि गरेका छौं।'

पूर्णबहादुरको पुस्तकालय यस्तो ठाउँमा छ जहाँ व्यवसायीहरूको नजर परिरहन्छ। त्यो ठाउँबाट पुस्तकालय हटाएर होटल बनाउने प्रस्ताव आइरहन्छ। तर व्यवसायीहरूले यो कुरा क्यामरामा भन्दैनन्। त्यसैले पूर्णबहादुरको कथा पूर्ण बनाउन केही पात्र निर्माण गर्नु परेको प्रणयले बताए।

प्रणय हरेक फिल्म बनाउँदा सम्बन्ध निर्माणमा पनि समय लिन्छन्। पूर्णबहादुरको कथा भन्न पनि उनले दुई वर्ष समय दिएका थिए। उनका सहकर्मीले यसलाई सामान्य मान्छन्। बाहिरी साथीहरूले भने एउटै फिल्मलाई किन यति धेरै समय दिएको भन्दै प्रश्न गर्छन्।

उनका सहकर्मी हुन् चन्दन दत्त र दीपक बज्रचार्य। दीपकले छायांकन गरेको फिल्म चन्दनले सम्पादन गर्छन्। अधिकांश फिल्ममा यी तीन जनाको सहकार्य छ। उर्मिलाई दुई वर्ष समय दिए पनि छायांकन भने ९ दिनमै सकिएको हो। 

पूर्णबहादुरको कथा भन्न पाउँदा प्रणय आफूलाई भाग्यमानी ठान्छन्।

'पूर्णबहादुरको कथा कसै न कसैले भन्नुपर्थ्यो, त्यो अवसर मैले पाएँ। यस्ता कथा बाहिर आउनु पर्छ किनकी आउँदो पुस्तालाई यस्तो पनि हुन्थ्यो भन्ने ज्ञान हुन्छ,' उनले भने।

प्रणय विगत २२ वर्षदेखि फिल्म क्षेत्रमा सक्रिय छन्। उनी अमेरिकामा फिल्ममेकिङ पढेर आएका हुन्। आख्यान र गैरआख्यान दुवै फिल्म बनाउन रूचाउँछन्।

सन् २००७ मा उनको 'फरगिभ, फरगेट नट' ले किम्फमा उत्कृष्ट फिल्मको अवार्ड पाएको थियो।

माओवादी द्वन्द्वकालमा माओवादीनिकट भएको भन्दै भाइकाजी घिमिरेलाई बेपत्ता बनाइएको थियो। करिब डेढ वर्षपछि उनी फर्किएका थिए। तर उनले यातना दिने सेनाको अनुहार कहिल्यै देखेनन्।

'भाइकाजीले उनलाई यातना दिने सेनाको अनुहार कहिल्यै देखेनन् रे। हामीले उनको अनुभव पर्दामा उतार्न क्यामरामा पट्टी बाँधेर खिचेका थियौं। यो प्रयोगात्मक थियो, त्यसैले पहिलो पुरस्कार पाएको होला,' उनले भने।

त्यसपछि सन् २०१७ मा 'गाउँ गाउँबाट उठ' का गायक रामेशको कथा लिएर प्रणय किम्फमा पुगेका थिए।

'उर्मि' किम्फमा देखाइने उनको तेस्रो फिल्म हो।

यो फिल्म साउथ एसियन फिल्म फेस्टिभलमा पनि देखाइएको थियो। फिल्म बाहिरिएसँगै यसै वर्ष भदौ १५ गते पूर्णबहादुरलाई नेपाल सरकारले 'उत्कृष्ट पुस्तकालय प्रेमी' का रूपमा सम्मान गरेको थियो। उक्त सम्मान कार्यक्रममा फिल्मको ट्रेलर पनि सार्वजनिक गरियो।

ट्रेलर सार्वजनिक भएपछि पूर्णबहादुरले भनेका थिए, 'यही हो फिल्म!'

विभिन्न फेस्टिभलमा देखाइए पनि पूर्णबहादुरले अझै आफ्नो फिल्म हेर्न पाएका छैनन्। केही समयपछि धरानमै च्यारिटी-शो गर्दै उनलाई फिल्म देखाउने योजना रहेको निर्देशक प्रणयले बताए।

प्रणयले थुप्रै फिल्म बनाइसकेका छन्। तर फिल्मको प्रतिक्रियाले आफ्नो कामको मापन गर्न नसक्ने उनको भनाइ छ।

'म फिल्म बनाउनुअघि शतप्रतिशत दिन्छु। फिल्म बनेपछि धेरै कुरा सोच्दिनँ। कला भनेको कहिल्यै यही हो भन्ने हुँदैन। त्यही कुरा कतिलाई मन परिरहेको हुन्छ, कतिलाई मन पर्दैन। यसलाई फिल्मकर्मीले सफाइ दिइरहन आवश्यक लाग्दैन,' उनले भने, 'तर लामो समय फिल्म क्षेत्रमै आबद्ध भएपछि फिल्मकर्मीको दायित्व हुने रहेछ। कथामा जीवन हुँदो रहेछ। कतिपय कुरालाई सतही रूपमा प्रस्तुत गर्न नहुने रहेछ। कुनै कथाको गहिराइमा गएर कसरी कलात्मक रूपमा प्रस्तुत गर्ने भन्ने फिल्मकर्मीको दायित्व हुँदो रहेछ।' सेतोपाटीबाट

प्रकाशित:

१३६४ दिन अगाडि

|

२३ मंसिर २०७९

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४२३ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४५८ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४६७ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४२२ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३७२ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४२८ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३६० दिन अगाडि

|

२७ मंसिर २०७९