Above News Title

जसको जीवन फेरिदियो ढकियाले !

ढकिया बुन्नेहरू भन्छन्- छोराछोरीलाई आफ्नै कमाइ झिकेर दिन पाउँदा धेरै खुसी लाग्ने रहेछ
जसको जीवन फेरिदियो ढकियाले !

नारायण खड्का

बिहीबार दिउँसो सुशीला चौधरीको घर पुग्दा उनी ढकिया बुन्दै थिइन्। दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर- ८ बटवलपुर हो उनको घर।

थारू समुदायका अधिकांश महिला ढकिया बुन्न सिपालु हुन्छन्। यो सीप प्रायः घरकै एक पुस्ताले अर्को पुस्तालाई सिकाउँदै जान्छन्।

३५ वर्षीया सुशीलालाई पनि उनकी आमाले सिकाएकी हुन्। उनी आमाले ढकिया बुनेको देख्दै हुर्किइन्। आमाले ढकियामा लत्ताकपडादेखि महत्वपूर्ण मानिने सामग्री, गरगहना राख्थिन्। कहीँकतै जान परे त्यसमै कोसेली राखेर लैजाने चलन अझै छ।

थारू समुदायले घरायसी प्रयोजनमा ढकिया एकदमै धेरै प्रयोग गर्ने सुशीला बताउँछिन्। 

'ढकिया हाम्रो समुदायको पहिचान नै हो भन्ने लाग्छ,' उनले भनिन्।

कुनै बेला आफूलाई चाहिएअनुसार ढकिया बुन्ने सुशीला अचेल दिनहुँ बुन्छिन्। यसको कारण हो यो ढकिया आम्दानीको स्रोत बन्नु। 

सुशीलाले बुनेका ढकिया अचेल उनको घरछिमेकमा मात्र होइन, विदेशमा पनि सजिन थालेका छन्। अझ ढकिया मात्र होइन, पेन-होल्डर, खानेकुरा बोक्ने हटकेस, पूजाडाली, ह्याट लगायत सामान पनि उनी बनाउँछिन्।

यो काममा सुशीला एक्ली छैनन्। उनीजस्तै महिलाहरू घरको कामधन्दा सकेर फुर्सदमा यी सामान बुनाउँछन्। घरै बसीबसी काम गरेर उनीहरूले आम्दानीको बाटो भेटेका छन्।

सुशीला त ठाउँठाउँमा यस्ता सामान बनाउने तालिम दिन पनि जान्छिन्। तुलसीपुर–१९ वडा कार्यालयले गत वर्ष माघमा सञ्चालन गरेको एकमहिने ढकिया बुन्ने तालिमको प्रशिक्षक सुशीला नै थिइन्।

'तालिम दिएवापत् दैनिक एक हजार रूपैयाँ पारिश्रमिक लिएँ,' उनले भनिन्।

सुशीलाका तीन छोरी छन्। जेठी राप्ती बबई क्याम्पसमा स्नातक पढ्दै छिन्। माइली र कान्छी स्थानीय सरकारी स्कुलमा कक्षा ८ र ७ मा पढ्छन्। श्रीमान ट्र्याक्टर चलाउँछन्। छोरीहरूको पढाइ खर्च सुशीलाले यही कामबाट जोहो गर्दै आएकी छिन्।

'अब पहिले जस्तो श्रीमानको आश गरी बस्नु पर्दैन,' सुशीलाले खुसी हुँदै भनिन्, 'बरू श्रीमानसँग पैसा नहुँदा मसँग माग्नु हुन्छ।'

ढकिया बुन्न थालेपछि पैसासँगै अवसर पनि कमाएकी छन् उनले। विभिन्न ठाउँ घुम्ने र देख्ने मौका जुर्न थालेको छ। पोहोर मंसिरमा उनी जीवनमै पहिलोपटक काठमाडौं गइन्। चार दिन संघीय राजधानी बस्दा बेग्लै अनुभव बटुल्न पाएको उनी बताउँछिन्।

सुशीला २०७७ सालमा गठन भएको 'सूर्योदय महिला ढकिया उद्यमी समूह' की सदस्य हुन्। त्यही साल तुलसीपुर उपमहनगरपालिका कार्यालयले ढकिया बुन्ने निःशुल्क तालिम दिएको थियो। बीसदिने भनिए पनि कोरोना चर्को भएकाले १४ दिन मात्र भयो।

बायाँबाट क्रमशः शर्मा चौधरी, सुशीला चौधरी र पार्वती चौधरी।बायाँबाट क्रमशः शर्मा चौधरी, सुशीला चौधरी र पार्वती चौधरी।

समूहमा दस जना थिए, सबैले तालिम लिए। उनीहरूसँग परम्परागत रूपमा ढकिया बुन्ने सीप पहिल्यै थियो। तालिममा आकर्षक र व्यावसायिक कसरी बनाउने भनेर थप सिक्न पाए। ढकियासँगै अरू सामग्री पनि बनाउन सिके।

समूहकी कोषाध्यक्ष ३६ वर्षीया पार्वती चौधरीले भनिन्, 'तालिमबाट हामीलाई सीपसँगै आत्मविश्वास बन्न सिकायो।'

घरायसी प्रयोजनका लागि जस्तो भेट्यो त्यस्तै र थोरै कच्चा पदार्थले ढकिया बुन्दा हुन्थ्यो। व्यावसायिक बनाउन राम्रो र धेरै चाहियो। मुख्य कच्चा पदार्थ भनेको काँसको पात हो। राम्रो काँस बर्दियामा पाइन्छ। २५ देखि ३० वटासम्म पात भएको मुठोको सय रूपैयाँ पर्छ। खर भने दाङमै पाइन्छ।

समूहलाई बर्दिया पुगेर काँस ल्याउन मुश्किल थियो। उनीहरूले तत्कालीन मेयर घनश्याम पाण्डेलाई आग्रह गरे। उनले घाँस लिन उपमहानगरपालिककै गाडी पठाइदिए। महिलाहरूले आपसमा रकम संकलन गरे र दुई-चार जना बर्दिया पुगे। दस हजार रूपैयाँको काँस किनेर ल्याए। उठाएको पैसाअनुसार समूहमा भागबन्डा गरे।

त्यसपछि सुरू भयो घरै बसेर उद्यमी बन्ने यात्रा।

सामानहरू रंगीन बनाउन सुरूमा धूलो रङलाई पानीमा हालेर तताइन्छ। मनतातो भएपछि काँसका पात हालेर झन्डै आधा घन्टा जति उमालिन्छ। रङ गाढा देखिएपछि निकालेर सुक्न दिइन्छ। अनि फलामको ठूलो सियोको मद्दतले ढकिया बुनिन्छ।

सुशीला, पार्वती र अरू महिलाहरू यसैगरी ढकिया र अरू सामान बनाउँछन्। सामान बेच्न बजार खोज्न धेरै दुःख छैन। ग्रीन फाउन्डेसन नामक संस्थाले बिक्रीमा सहजीकरण गरिदिन्छ। यो संस्थाका केन्द्रीय अध्यक्ष तुलसीपुरका पूर्व मेयर घनश्याम पाण्डे नै छन्।

यो फाउन्डेसनले उनीहरूबाट सामान किन्छ। मागअनुसार विदेशमा निर्यात पनि गर्छ। गत साउनयता झन्डै दुई सय वटा सामान थाइल्यान्ड पठाइएको पाण्डेले जानकारी दिए।

'त्यहाँ हुने मेलाहरूमा प्रदर्शनीका लागि भनेर माग आएको थियो। हामीले समन्वय गरी पठाएका हौं,' उनले भने, 'चीन र अस्ट्रेलियाबाट पनि माग आएको छ। चाँडै पठाउँछौं।'

यसबाहेक विभिन्न संघसंस्था, पालिकाहरू र तुलसीपुर उपमहानगरपालिकाले उपहारका लागि यी सामान लैजान्छन्। व्यक्तिहरू नै पनि उपहारकै लागि किन्न आउँछन्।

ग्रीन फाउन्डेसनले उद्यमी महिलाहरूलाई देशका विभिन्न ठाउँमा हुने गोष्ठी, समारोह र प्रदर्शनीमा पनि सहभागी गराउँछ। खाने, बस्ने र यातायात खर्च संस्थाले बेहोर्ने भएकाले उनीहरूले बेचेका सामानको पैसा बचत हुन्छ। संस्थाले समूहलाई आर्थिक सहयोग पनि गर्छ। पोहोर कच्चा पदार्थ किन्न ३० हजार रूपैयाँ सहयोग गरेको समूहकी कोषाध्यक्ष पार्वतीले बताइन्।

यो समूहको नेतृत्व ५१ वर्षीया शर्मा चौधरीले गरिरहेकी छन्। उनका अनुसार उनीहरूलाई यो कामबाट राम्रै आम्दानी भइरहेको छ। शर्माले बर्दियाबाट दुई हजार रूपैयाँको काँस ल्याएकी थिइन्। त्यसबाट बनाएका सामान बेचेर हालसम्म ४५ हजार कमाइसकिन्। केही सामान बनाउन पुग्ने काँस बाँकी नै छ।

'घर धन्दाको काम सकेर फुर्सदमा मात्र बुन्न पाइन्छ। त्यसैले धेरै समय लाग्छ,' शर्माले भनिन्, 'दिनभर सरासर बुन्न पाए त चाँडै सकिन्थ्यो। कमाइ पनि बढ्थ्यो।'

समूहका महिलाले बनाएका पेन होल्डरदेखि ढकियासम्मको भाउ फरक छ; पाँच सयदेखि पन्ध्र सय रूपैयाँसम्म बेच्छन्। विशेष प्रकारको झुम्के ढकियाको आठ हजार रूपैयाँसम्म पर्छ। यसमा मेहनत पनि धरै नै लाग्छ।

शर्माका अनुसार झुम्के ढकियाको बाहिरी भागमा सुतही (पानीमा पाइने जीव) को बाहिरी भाग राखेर सजाइएको हुन्छ। सुतही उनीहरू बबई नदीबाट खोजेर ल्याउँछन्। पानीमा उमालेर भित्रको मासु खान्छन् र बाहिरको खोल रंगाएर झुम्का बनाउँछन्।

'ढकिया बुन्न थालेदेखि श्रीमानसँग हात थाप्नु परेको छैन,' उनले भनिन्, 'उल्टै श्रीमानले माग्छन्।'

यो समूहमा अहिले १५ जना छन्। समूहका सबै महिला छोराछोरीको पढाइ खर्चदेखि घरमा चाहिने सरसामान आफैं किन्न सक्ने भएको उनले बताइन्। उनीहरूको आत्मविश्वास पनि बढेको छ। देख्ने, सुन्ने र आफ्ना कुरा भन्ने अवसर पाएका छन्। समूहमा आवद्ध भएपछि नै शर्मा पनि पहिलोपटक काठमाडौं पुगेकी थिइन्। महिलाहरू स्वतन्त्र हुँदै गएको उनको अनुभव छ। 

कोषाध्यक्ष पार्वतीले पनि पोहोर सामान बेचेर २७ हजार रूपैयाँ कमाइन्। यो वर्ष दुई पटक गरी झन्डै ४० हजार रूपैयाँ बराबरको सामान पठाइसकिन्। उनकी छोरी निजी कलेजमा कक्षा ११ मा र छोरा निजी स्कुलमा कक्षा १० मा पढ्दै छन्। श्रीमान अटोरिक्सा चलाउँछन्। उनले पनि श्रीमानलाई आवश्यक पर्दा आर्थिक सहयोग गर्छिन्।

'पछिल्लो समय त घर व्यवहार मैले नै चलाउँदै आएकी छु,' उनले भनिन्, 'सीप भएपछि आत्मविश्वास बढ्दो रहेछ। केटाकेटीले कहिले कापीकलम, कहिले खाजा किन्ने पैसा माग्छन्। आफ्नै कमाइ झिकेर दिन पाउँदा धेरै नै खुसी लाग्ने रहेछ। हाम्रो त जीवन नै फेरिएको छ।'

फुर्सदको समय सदुपयोग गरेर कमाइ गर्न सफल भएकामा उनी मख्ख छिन्। २०७८ सालमा दंगीशरण गाउँपालिकाले आयोजना गरेको ढकिया बुन्ने दसदिने तालिममा उनी पनि प्रशिक्षक भएर गएकी थिइन्। 

यस्ता तालिम वा प्रदर्शनीमा कसलाई पठाउने भन्ने कुरा समूहमा छलफल गरेर निधो गरिन्छ। छनोट गर्दा आलोपालो तरिका अपनाइने अध्यक्ष शर्माले बताइन्। 

यो समूहको आफ्नै भवन पनि छ जुन उनीहरू आफैंले श्रमदान गरेर बनाएका हुन्। सरकारबाट पाँच लाख रूपैयाँ सहयोग समूहले पाएको थियो। सिमेन्ट ब्लकको गारो लगाएर जस्तापाताको छानो हालेको भवन ६ मिटर चौडाइ र १२ मिटर लम्बाइको छ।

यही भवनमा हरेक महिनाको २ गते नियमित बैठक हुन्छ। सबैले मासिक पाँच सय रूपैयाँ बचत गर्छन्। समूहका कसैलाई अप्ठ्यारो परे एक प्रतिशत ब्याजदरमा नगद सहयोग पनि पाउँछन्। सेतोपाटीबाट

प्रकाशित:

१३३२ दिन अगाडि

|

२ माघ २०७९

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४२९ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४६३ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४७३ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४२८ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३७८ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४३४ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३६६ दिन अगाडि

|

२७ मंसिर २०७९