डा विप्लव ढकाल
हतार छ मलाई आज
भ्यागुताको बिहेमा जन्त जानु छ !
सिमसारमा
बजिरहेको होला नौमती बाजा !
शिरमा बाबरी फूलको मुकुट लगाएर
पाल्कीमा चढिसके होलान् दुलाहा राजा !
जलकुम्भी झारको गुन्द्रीमा बसेर
जुहारी खेलिरहेका होलान्
आदिवासी चराहरु !
छमछम बजाउँदै भुइँफूलको पाउजु
उडिसके होलान् लोकन्ती भँवरा !
हिलोमा ‘ट्यार्र ! … ट्यार्र !!’
मङ्गल गीत गाउँदै
सङ्गीतका राजकुमारीहरुले
बोकिसके होलान् सगुनको थाली !
हे गाइने किरा !
अँधेरी खोलामा जानु छ मैले
सिमसारतिर जानु छ,
हतार छ मलाई आज
भ्यागुताको बिहेमा जन्त जानु छ !
म एउटा बूढो शङ्खे किरा
अहिलेसम्म बाटोमै घस्रिरहेको छु !
मेरो वरिपरि बसेर
रोइरहेका छन् धानचरीहरु !
बाटो छेकेर उनीहरु
प्रश्न गर्छन् मलाई—
‘हामीले त रोपेका थियौँ
कलकलाउँदो धानको बोट,
तर आज खेतमा
कसरी फल्यो प्लास्टिकको चामल ?
गोठमा भैँसी दुहुन गएकी थिइन् राजमती
तर आज बाल्टीमा
कसरी भरियो कोकाकोलाको झोल ?
काउलीको फूलमा बसेको माहुरी
पातमाथि झर्छ किन ?
निधारबाट पसिना खस्दा
दुबोको मुना मर्छ किन ?’
हे दमाईं किरा !
गैरी खेतमा जानु छ मैले
तालतलैया जानु छ,
हतार छ मलाई आज
भ्यागुताको बिहेमा जन्त जानु छ !
बारीभरि लटरम्म फलेका छन्
चाउचाउका प्याकेटहरु !
जङ्गलमा किन दुश्मनहरु रोइरहेछन् ?
चिम्सा आँखाहरु रोइरहेछन् कतै
चुच्चा नाकहरु रोइरहेछन् !
अङ्गोछा खोलेर रोइरहेछन् कोही
टोपी झिकेर रोइरहेछन् !
उनीहरुको आँसुमा भरिएको छ साइनाइड
उनीहरुको शरीरबाट
झरिरहेको छ अजिनोमोतो !
गोजीमा नागरिकता जस्तो सुसाइड नोट बोकेर
सिमाना काटी कहाँ हराए तिनका सन्ततिहरु ?
जलकुम्भीको आहालभित्र
को गर्दै छ भातको राजनीति ?
साइत नबिगार भन्छु
सुन्दै सुन्दैनन् उनीहरु !
हे फकिरा !
लेकैको कानेमा जानु छ मैले
औलको मानेमा जानु छ !
हतार छ मलाई आज
भ्यागुताको बिहेमा जन्त जानु छ !
प्रकाशित:
११८९ दिन अगाडि
|
२० जेठ २०८०
४ दिन अगाडि
|
१५ भदौ २०८३
६ दिन अगाडि
|
१३ भदौ २०८३
६ दिन अगाडि
|
१३ भदौ २०८३
१२ दिन अगाडि
|
७ भदौ २०८३
२१ दिन अगाडि
|
२९ साउन २०८३
३२ दिन अगाडि
|
१८ साउन २०८३
३४ दिन अगाडि
|
१६ साउन २०८३
१४२४ दिन अगाडि
|
२५ असोज २०७९
१४५९ दिन अगाडि
|
२१ भदौ २०७९
१४६८ दिन अगाडि
|
१२ भदौ २०७९
१४२३ दिन अगाडि
|
२६ असोज २०७९
१३७३ दिन अगाडि
|
१५ मंसिर २०७९
१४२९ दिन अगाडि
|
२० असोज २०७९
१३६१ दिन अगाडि
|
२७ मंसिर २०७९