मोनिका वाइबा
सिरहा जिल्लाको लहान, भोटियाटोलमा जन्मिएकी मुना चौधरी पेशाले अध्यापक हुन्।
इतर मातृभाषा र समुदायबाट आएर पनि नेपाली भाषामा उपन्यास लेखेकी उनलाई सफल महिला आख्यानकारका रुपमा समेत चिनिन्छ।
तेस्रो किताब प्रकाशित गर्ने अन्तिम तयारी गरिरहेकी उनका 'जयवर्धन सलहेश' र 'दुलारी' गरी दुई वटा किताब प्रकाशित छन्।
हाम्रो समाजमा छोरीलाई 'अलि राम्रो’ र 'जागिरे’को हातमा दिऊँ भन्ने छ। आफ्नो छोरी सक्षम भइसकेको होस् , या नहोस् ज्वाईं भने जागिरे हुनुपर्छ, छोरीलाई पाल्ने हुनुपर्छ भन्ने सोच नौलो होइन।
मुनाको विवाहको कुरा चल्दा पनि यो यही कुरा उठ्यो। बिहेको कुरा चल्दा अहिलेका उनको श्रीमानको जागिर थिएन। गाउँकै जागिरेहरूले उनलाई माग्न आइरहेका थिए।
साथीभाइको बिहे हुन थाल्यो। उनले परिवारमा आफूले मन पराउने मान्छे छ भनेर भन्न करै लाग्यो। जागिर छैन भने त्यो केटा हुँदैन भनियो। तर, प्रेम विवाह नै भयो उनको।
बिहे भए पनि जागिर नभएसम्म परिवार खुसी भने भएनन्।
उनै मुना अहिले श्रीमानसँग पोर्चुगलमा बस्दै आएकी छन्। नयाँ किताबकै लागि भनेर उनी अहिले नेपालमा आएकी छन्। उनको श्रीमानको काम र आम्दानी पनि राम्रै छ। त्यै भएर घरमा अरू सदस्य पनि खुशी छन्।
बिहेपछि पनि लामो समयसम्म बच्चा नपाउँदा परिवार र स्वयं आफैले पनि सुन्नु परेको वचनसहित उनले आफ्नो प्रसव पीडा र खुशी उकेरासँग यसरी साटिन्।
०००
मेरा बुवा जमिन्दार। त्यै भएर बाल्यकाल राम्रैसँग बित्यो। स्नातकसम्म गाउँमै पढेँ अनि स्नातकोत्तर चाहिँ काठमाडौँमा पढेँ। स्नातक पढ्दै गर्दा मेरो विवाह भयो। लभ म्यारिज भयो। बच्चा भने १५ वर्षपछि भयो।
जागिर र सक्षमताको कुरा पहिल्यैदेखि आएकाले हामीले जबसम्म आफै सक्षम हुँदैनौँ तबसम्म बच्चा नपाउने भनेरै हतार नगरेको हो।
त्यस बीचमा दुवैको घरबाट बच्चा पाउन दबाब नआएको हैन। गाउँमा पनि अहिलेसम्म किन बच्चा भएन ? भाकल गराइदेऊ, बाँझी छ कि क्या हो ? भन्नेसम्मका कुराहरू भएछ। कत्तिले त अहिले नपाए बुढेसकालमा पाउँछेस् समेत भने।
हामीले अझै केही वर्षपछि मात्र बच्चा पाउने योजना बनाएका थियौं। तर, यति धेरै दबाब आयो कि धान्न सकिएन। कोरोनाकाल। लकडाउनको समय पनि थियो। त्यसै समयमा अब बच्चा पाउने योजना बनायौँ। योजनाअनुसारै म गर्भवती भएँ।
गर्भवती भएको सुरुको केही महिना त वान्ता हुने, खाना नरुच्ने, जे पनि गन्हाउने, जिउँ पनि यस्तो गल्ने कि जति खेर पनि सुतिराख्न मन लाग्ने भयो। ओहो ! आमा बन्न यति धेरै गाह्रो रहेछ कि हाम्रो आमाले कसरी त्यति धेरै बच्चा जन्माउनुभयो, हुर्काउनुभयो होला भन्ने लागिरह्यो।
त्यतिबेलाको पीडा सम्झिँदा त आफ्नो आमाप्रति झन् माया र सम्मान बढेर आउने रहेछ।
गर्भ बसेको बेलामा यस्तो असजिलो भयो कसैले गर्भवती हुँदाको पीडा सुनाएको भए बच्चा नै पाउँदैनथेँ भन्नेसम्म भएको थियो। एकदम कमजोर अनुभव हुने। चार महिनासम्म त खान नरुच्ने, बान्ता मात्र हुने भयो।
त्यो बेला आइसक्रिम धेरै मन पर्ने। दिनमा एउटा आइसक्रिम अनि सुन्तलाको एक गिलास जुसबाहेक अरू केही नखाई बित्यो। त्यै भएर मेरो तौल पनि एकदम कम भएको थियो। त्यसपछिको दुई महिना चाहिँ फेरि खाना रुच्न थाल्यो। आफूलाई खान मन लागेको खाने कुरा पाएन भने पागल नै होलाजस्तो पनि भयो।
त्यो बेला छिनछिनमा पिसाब लाग्ने। बाथरूम पनि जान नपरे हुन्थ्यो, ओछ्यानमै ट्वाइलेट गरौ जस्तो हुने। पेट पनि एकदम भारी भएर आउने। हिँड्न मन नलाग्ने। खान खायो भने पनि पेट चर्किने। पेट नै फुट्लाजस्तो हुने।
धेरैजसो त फलफूल मात्र खाएर बित्यो नौ महिना। बिस्तारै ब्रेस्ट, पेट ठूलो हुन थालेपछि म फेरि पहिलाकै जस्तो हुन्छु कि हुदिनँ भन्ने पनि सोचाइ आयो। त्यै भएर गर्भवती समयमा पनि धेरै योगा गरेँ। योग गर्न नपाएको समयमा पार्क गएर एक घण्टाजति घुमेर बस्थे। त्यसबेलादेखि नै राति सुत्दा तेल लगाएर सुत्न थालेँ।
२० तारिखको मिति दिएको भए पनि एक तारिखतिरै मलाई व्यथा लाग्लाजस्तो भयो। धेरै व्यायाम गरेर पनि होला, पार्कमा हिँड्दा हिँड्दै मेरो 'वाटर ब्रेक’ भयो। धन्न त्यस समयमा श्रीमान् पनि साथमै हुनुहुन्थ्यो। अनि हस्पिटल गइहाल्यौं। तर डाक्टरले आज होइन भोलि बिहान हुन्छ भन्नुभयो। तर, मलाई व्यथाचाहिँ लागेको रहेनछ।
राति व्यथा लाग्ने सुई दिएको रहेछ। त्यसपछि त झन् छिनछिनमा पिसाब लाग्ने, दिसा लाग्ने भयो। ट्वाइलेटमै बसिराख्न मन लाग्ने। व्यथा धेरै भयो भने पछि फेरि ढाडमा सुइ हाल्ने भन्यो। मैले मानिनँ। त्यो सुइ लगायो भने धेरै समयसम्म ढाडमा समस्या हुन्छ, हड्डीमै असर गर्छ भन्ने सुनेको थिएँ।
व्यथा पनि अचम्म खालको हुने रहेछ। अर्कै खालको पेट दुख्ने। लास्टमा चै कन्ने खालको दुखाइ हुने रहेछ। यस्तो पीडा भयो कि पेट र घुँडा नै शरीरबाट छुट्टिएलाजस्तो भयो। त्यो चाहिँ सहन नसकेपछि मैले अब मलाई ढाडमा सुइ हाल्दिनु भने।
तर, नर्सहरूले अब त लास्ट स्टेजमा हो भनेर सुइ हाल्न मानेनन्।
त्यतिबेला श्रीमानलाई पनि भित्र बोलाइदिनुभयो। अनि नर्सहरूले नै मेरो कपाल सुम्सुम्याउन लगाउनुभयो। उहाँको अनुहार देखेपछि अलिकति भए पनि सहज भयो।
बच्चा जन्मिने बित्तिकै मेरो छातीमा राखिदियो। अनि त एकदम भोक लाग्यो। तर, टाँका लगाएको भएर चार पाँच घण्टा नखाऊ भन्नुभयो। त्यो दिन केही अनुभव नभए पनि भोलिपल्ट त घाउ यस्तो दुख्यो कि !
त्यहाँ फेरि बच्चाको सबै स्याहार आमाले नै गर्नुपर्ने रहेछ। दिनभरि आफ्नो प्याड चेन्ज गर्नु, बच्चाको डाइपर चेन्ज गर्नु। ओहो कस्तो सकस ! साथमा कोही भइदिएको भए हुने भन्ने भयो। श्रीमान् आधा घण्टा आएर जानुहुन्थ्यो। हस्पिटलमा त्यो चार दिन सम्झिँदा अहिले पनि नराम्रो लाग्छ।
समय पुग्नु अगाडि नै जन्मिएको भएर मेरो त दूध पनि आएन। तर, जब आउन थाल्यो फेरि बच्चाले खानै मानेन। हरेक दुई घण्टामा त्यस्तो घाउ भएको शरीरले बच्चालाई दूध खुवाउन पर्दा एकदम गाह्रो भयो।
पहिलो पटक राति नसुतेको त्यसै समयमा हो। बच्चा फेरि दिउँसो सुत्ने। अनि रातभर नसुत्ने। बच्चालाई हेर्दाहेर्दै आफ्नो लागि त समय नै छुट्याउन पाइनँ। त्यो बेला चै मेरो अनुहारमा पनि पोतो आउने, रिंकलहरू आउने भएको थियो।
बच्चा देखेपछि अलग्गै किसिमको माया लाग्ने रहेछ। त्यै भएर आफूलाई भन्दा पनि बढी समय बच्चालाई दिन पाउँदा खुशी नै लाग्यो। बच्चा हिँड्दा, हाँस्दा, रुँदासमेत उसको गतिविधि देखेर आनन्द आउने रहेछ। घरमा पनि बच्चा भयो भनेपछि सबै जना खुशी हुनुभयो।
अहिले ६ महिनाका लागि यता नेपाल आएको छौँ। सबै जनाले मलाईभन्दा पनि बढी माया बच्चालाई गर्छन्। किताबको काम सकेपछि उतै पोर्चुगल फर्किन्छौँ। बाबुको पढाइ पनि उतै गर्ने हामीले प्लान गरेका छौं। उकेराबाट
प्रकाशित:
११८७ दिन अगाडि
|
२२ जेठ २०८०
४ दिन अगाडि
|
१५ भदौ २०८३
६ दिन अगाडि
|
१३ भदौ २०८३
६ दिन अगाडि
|
१३ भदौ २०८३
१२ दिन अगाडि
|
७ भदौ २०८३
२१ दिन अगाडि
|
२९ साउन २०८३
३२ दिन अगाडि
|
१८ साउन २०८३
३४ दिन अगाडि
|
१६ साउन २०८३
१४२४ दिन अगाडि
|
२५ असोज २०७९
१४५९ दिन अगाडि
|
२१ भदौ २०७९
१४६८ दिन अगाडि
|
१२ भदौ २०७९
१४२३ दिन अगाडि
|
२६ असोज २०७९
१३७३ दिन अगाडि
|
१५ मंसिर २०७९
१४२९ दिन अगाडि
|
२० असोज २०७९
१३६१ दिन अगाडि
|
२७ मंसिर २०७९