Above News Title

भानुभक्तीय साहित्यको समसामयिकता 

भानुभक्तीय साहित्यको समसामयिकता 

“बिन्ती डिठ्ठा विचारीसित म कति गरुँ चुप रहन्छन् नबोली 
 बोल्छन् ता स्याल गरे झैँ अति पछि छिनछिन भन्छन् भोलि भोलि
कि ता सक्दिन भन्नु कि तब छिनिदिनु क्यान भन्छन् यी भोलि
भोलि भोलि हुँदैमा सब घर बिति गो बक्सियोस् आज झोली ।”

आदिकवि भानुभक्त आचार्यलाई सम्झँदा नेपाली जनजीवनका अनेक प्रेरणादायी र लोकप्रिय कविताका पङ्क्तितहरु सहजै स्मरणमा आउँछन् । नेपाली भाषामा कवितामै बोल्न, लेख्न र गाउन सक्ने बहुआयामिक क्षमताका धनी आचार्यलाई स्वदेश र विदेशका अध्येता, समालोचक एवं अनुसन्धाताले निरन्तर पछ्याउँदै आएका छन् ।

आफ्नै घर–परिवार र समाजका परिवेशलाई काव्यमालामा उनेर त्यसबाट भविष्यको पुस्ताका लागि समेत मर्मस्पर्शी र प्रेरणादायी सन्देश दिन सक्ने आदिकविका कैयन श्लोकहरु सामान्य किसान र अपठित नेपालीका जनजिब्रोमा झुण्डिएकै पाइन्छन् :

“भर जन्म घाँसतिर मन् दिई धन कमायो
नाम क्यै रहोस् पछि भनेर कुवा खनायो
घाँसी दरिद्र घरको तर बुद्धि कस्तो
म भानुभक्त पनि भैकन आज यस्तो ।”

संस्कृत भाषामा लेखिएको अध्यात्म रामायणलाई विविध छन्दमा नेपाली जनमानसले बुझ्ने गरी सरल नेपाली भाषामा उतारेर र अरु महत्वपूर्ण कृतिका रचनाको माध्यमबाट आदिकवि आचार्यले दिएका योगदानबारे चर्चा कुनै एक आलेखमा असम्भव हुन्छ ।  तत्कालीन समाजको वास्तविक प्रतिनिधित्व हुने रचनाका लागि भानुभक्तको भूमिकालाई नेपाली समाज र साहित्यिक इतिहासले उच्च सम्मान गर्दै आएको छ भने ती रचनाहरु अहिलेका सन्दर्भमा पनि बहुउपयोगी र सन्देशप्रद रहेका छन् । अहिले पनि शासन–प्रशासनमा ढिलासुस्ती र अनियमिता, समाजमा ढाँट–छल तथा राजनीतिक क्षेत्रका यावत् विकृतिहरुको अन्त्य भएका छैनन् । उसबेला भानुभक्तले उठाएका विषयवस्तु र अहिलेका विषवस्तुको परिवेश फरक हुन सक्छन् तर अन्तर्यमा समानता देखिन्छ ।

हुन त युवाकवि मोतीराम भट्टले १९४८ सालमा आदिकवि भानुभक्तको जीवन चरित्र प्रकाशित गरेर भानुभक्तको योगदानको व्यापकता फैलाए । मोतीरामले भानुभक्तका अप्रकाशित पाण्डुलिपिहरुलाई प्रकाशन पनि गराए । आजका नयाँ पुस्ताका लागि पनि धेरै मोतीरामहरु चाहिएको छ, जसले भानुभक्त र त्यस्तै योगदानकर्ता स्रष्टा र सुधारकका रचना एवं अभियानलाई समाजमा पुस्तान्तरण र हस्तान्तरण गर्न सक्रिय भूमिका खेलोस् । भानुभक्तलाई आदिकविको उपाधि पनि मोतीरामले नै दिलाएका थिए ।

भानुभक्तका योगदान र ज्ञान हस्तान्तरणको यही कुराको बोधका साथ नेपाली भाषा साहित्यको माउ संस्था नेपाल प्रज्ञा–प्रतिष्ठानले गत वर्ष २०७९ असार २७ गते २०९ औँ भानुजयन्तीका अवसरमा ‘भानुभक्तको जीवनी विषयक प्रवचन तथा नयाँ पुस्ताबाट भानुभक्तीय रचना वाचन’ कार्यक्रम आयोजना गरेको थियो । सोका माध्यमबाट विद्यालय तहमा अध्ययनरत विद्यार्थीमाझ भानुभक्तको व्यक्तित्व र कृतित्व थप स्थापित गराउन र उनका श्लोकहरुको उत्कृष्ट  वाचनमा प्रशिक्षण पनि दिलाएको थियो ।

प्रज्ञा–प्रतिष्ठानका सदस्यसचिव डा धनप्रसाद सुवेदी विगतको तुलनामा आदिकवि भानुभक्तबारे युवा पुस्तामा बुझाइ केही कमी भए पनि त्यसलाई घटोत्तरी भएको मान्न नमिल्ने बताउँछन् । ‘भानुभक्तको समग्र योगदानले देश विदेशमा रहेका नेपालीहरुका लागि सम्बन्ध सूत्रको काम गरेको छ । पाठ्यक्रम र पाठ्यपुस्तकमा उहाँका रचना नियमित पढाइएकै छ,’  सदस्यसचिव डा सुवेदीले भने, ‘हुन त शिक्षण संस्थाको ज्ञानले मात्रै धान्दैन तर आदिकविको मान्यता तथा देश विदेशमा उहाँको लोकप्रियता हुनुले उहाँलाई चिरस्थायी बनाएको छ । त्यस अर्थमा उहाँ भाग्यमानी हुनुहुन्छ कि यस प्रकारको लोकप्रियताको उचाई अरु स्रष्टाले आजसम्म पाएका छैनन् । खासगरी नेपाल बाहिर रहेका स्रष्टाहरुले अझ अधिकमात्रामा सम्मान गर्ने र उहाँका विषयमा अध्ययन–बहस र गतिविधि गर्ने काम गरिरहेका छन् । यसलाई नेपाली साहित्यको सम्पतिका रुपमा लिनुपर्छ ।’

त्रिभुवन विश्वविद्यालयका पूर्व सहप्राध्यापक तथा अनुसन्धानकर्ता विधान आचार्य अहिलेको नेपाली भाषाको व्याकरण र भानुभक्तका रचनामा समाविष्ट भाषिक प्रयोगमा कालक्रमिकका हिसाबले पनि एक प्रकारको खाडल रहेकाले नयाँ पुस्तामा उनका रचनालाई बुझ्न सहजता नहुने ठानेर भानुभक्तीय रामायणलाई सम्पादनसहित प्रकाशनमा ल्याइएको जानकारी दिए ।

अध्येता आचार्यले ‘एक दिन नारद सत्य लोक पुगिगया लोकको गरौँ हित भनी…’ राणाकालमा लेखिएका यस्ता  भानुभक्तका हरफहरु अहिलेको लोकतान्त्रिक गणतन्त्रमा पनि त्यही लोकको हितको सन्दर्भसँग मेल खाने पाइनु आदिकविको समाज जागरणको सोच र सन्देश भएको जनाउँछन् । त्यस अर्थमा आदिकविलाई कवि मात्र नभई एक सामाजिक अभियानकर्ता र रुपान्तरणकर्ता मान्न सकिने उनको तर्क छ ।

‘उहाँको ‘लोकको हित गरुँ भनी’ भन्ने भावभित्र सामाजिक न्याय, समानता, समृद्ध नेपाल, सुखी नेपालीदेखि समाजवादसम्मको परिकल्पना प्रष्ट भेट्न सकिन्छ’, आचार्यले भने, ‘त्यसबेलाको समाज बढी धार्मिक र कम शिक्षित भएकाले भक्तिरसमा रचना गरेर भानुभक्तले नागरिकका कर्तव्य, राज्यको दायित्व र सामाजिक न्यायका कुरालाई धार्मिकतासँग जोडेर अशल चरित्रको सन्देश दिएको पाइन्छ । अहिलेको पुस्तालाई यो ज्ञान पस्कने गरी भानुभक्तीय रचनाहरुको महत्व बुझाउन सक्नुपर्छ ।’

महाकाव्यकार चन्द्रप्रसाद न्यौपानेले नयाँ पुस्ताले गहन र वास्तविक अध्ययनमा आफूलाई लिन गराएर भानुभक्तका योगदानलाई स्मरण गर्नुपर्नेमा जोड दिन्छन् । उनको विचारमा सूचना प्रविधिको व्यापकतासँगै अध्ययन र सामग्री संकलनमा परिनिर्भरता देखिएकाले आदिकवि भानुभक्त जस्ता समाज र साहित्यका लागि योगदान दिनेहरुका बारेमा विश्वविद्यालय नै खडा गरेर अध्ययन अनुसन्धान गराउन आवश्यक छ ।

 भानु जयन्ती मनाइँदै

आदिककवि भानुभक्तको २१० औँ जन्मजयन्तीका अवसरमा प्रज्ञा प्रतिष्ठानले यस वर्ष विगतमा झैँ भानु प्रतिष्ठानको सहकार्यमा असार २९ गते कुलपति भुपाल राईसहित प्रज्ञा प्रतिष्ठानको परिसर कमलादीदेखि प्रभातफेरि गरी दरबार हाइस्कुलसम्म हुँदै पुनः प्रतिष्ठानको परिसरमा पुगेर त्यहाँ रहेको भानुभक्तको प्रतिमामा माल्यार्पणलगायतका कार्यक्रम गर्दैछ ।

आदिकवि आचार्यका बारेमा विश्वविद्यालयका विभिन्न तहमा कैयन् शोधपत्रहरु तयार हुनाका साथै उनका बारेमा कविता लेखन् र जीवनी प्रकाशन नभएका होइनन्, नयाँ पुस्तका लागि ती मात्र पर्याप्त नहुन सक्छन् ।

भानुको जन्मस्थल तनहुँको चुँदीरम्घामा आदिकवि भानुभक्त जन्मस्थल विकास समितिको आयोजनामा काठमाडौँ र मुलुकका विभिन्न स्थानबाट पुग्ने स्रष्टाहरुको सहभागितामा असार २८ र २९ गते कार्यक्रम आयोजना हुँदैछ । नेपाल बाहिर भारतका विभिन्न स्थान र विश्वका अन्य स्थानमा पनि भानु जयन्ती मनाइन्छ ।

चुँदी रम्घामा हुने कार्यक्रममा भानुभक्तीय रामायण वाचन प्रतियोगिता र खुला कविता प्रतियोगिता साथमा विभिन्न कविहरूको कविता वाचन तथा गजल प्रस्तुत हुने छ  । असार २९ गते भानुको जन्मस्थलको कार्यालयबाट बिहान ७ बजे झाँकी प्रदर्शनीसहित प्रभातफेरि शुरू भई चुँदी रम्घास्थित आदिकवि भानुभक्त आचार्यको शालिकमा माल्यार्पण गरिने छ ।

कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलगायतको उपस्थिति हुनेछ । समितिद्वारा पहिलोपटक प्रकाशित भानुभक्तको रामायण ग्रन्थको विमोचन पनि सोही कार्यक्रममा गरिनेछ । भानुभक्तको रामायणको यस प्रकाशनलाई विधान आचार्य  र प्रभा भट्टराई आचार्यले सम्पादन गरेका छन् ।

पिता धनञ्जय आचार्य र माता धर्मावतीदेवीका पुत्रको रूपमा तनहूँको रम्घामा १८७१ असार २९ गते जन्मिएका भानुभक्त आफ्ना बाजे श्रीकृष्ण आचार्यबाट शिक्षा पाई पठित र समाजसेवी बन्न सफल भएका थिए । । उनले स्थानीय एक घाँसीको घाँस काटेर पाटी पौवा बनाउने इच्छाबाट प्रभावित भई ‘घाँसी दरिद्र घरको तर बुद्धि कस्तो, म भानुभक्त धनी भैकन किन यस्तो’ लेखेका थिए ।

आदिकवि भानुभक्तले १९१० सालमा ‘भानुभक्तीय रामायण’ महाकाव्य लेखेपछि उनको काव्यिक व्यक्तित्व थप सुपरिचित भएको थियो । उनले ‘प्रश्नोत्तर’, ‘भक्तमाला’, ‘वधूशिक्षा’ लगायतका महत्वपूर्ण कृतिहरू र अन्य फुटकर कविताहरू लेखेका छन् ।

‘जिउँदै मर्याको भनी नाम्छ कस्को ?
उद्यम् विना बित्तछ काल जस्को’ 

भनेर लोकलाई केही गरेर मात्रै भौतिक चोला बिसाउन उपदेश दिने आदिकवि भानुभक्तको निधन १९२५ असोज ६ गते तनहुँको सेतीघाटमा भएको थियो ।

आदिकवि आचार्यका बारेमा विश्वविद्यालयका विभिन्न तहमा कैयन् शोधपत्रहरु तयार हुनाका साथै उनका बारेमा कविता लेखन् र जीवनी प्रकाशन नभएका होइनन्, नयाँ पुस्तका लागि ती मात्र पर्याप्त नहुन सक्छन् । रासस

प्रकाशित:

११५० दिन अगाडि

|

२९ असार २०८०

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४२५ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४६० दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४७० दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४२५ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३७४ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४३० दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३६३ दिन अगाडि

|

२७ मंसिर २०७९