एक अध्ययनअनुसार २२ प्रतिशत बिरामीले औषधिको पूरा मात्रा नखाई बिचमै छाड्ने गरेको तथा २८ प्रतिशत बिरामीले चिकित्सकको सल्लाहबिनै औषधि किन्ने गरेका छन् भन्ने देखिएको छ ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले हालै सार्वजनिक गरेको ‘नेपालमा एन्टिबायोटिकको प्रयोग र यसको प्रतिरोधको अवस्थागत मूल्याङ्कन’ शीर्षकको अध्ययनमा २८ प्रतिशत भर्ना नगरिएका बिरामीले आफूखुसी औषधि किन्ने गरेको पाइएको हो ।
अध्ययनले ४० प्रतिशत फार्मेसी सञ्चालकले मात्र सञ्चालन अनुमति लिएको देखिएको उल्लेख गरेको छ भने ४८ प्रतिशतले फार्मेसी दर्ता गर्न अरुसँग लाइसेन्स भाडामा लिएको देखिएको छ । त्यसैगरी ४ प्रतिशतले दर्तै नगरी फार्मेसी सञ्चालन गरेको भेटिएको अध्ययनले जनाएको छ ।
चिकित्सक वा स्वास्थ्यकर्मीको सल्लाहबिना बिरामी आफैँले एन्टिबायोटिक औषधि कहिले पनि सेवन गर्न नहुने र सन्चो महसुस भए पनि एन्टिबायोटिक औषधिको निर्धारित मात्रा अनिवार्य रुपमा पूरा गनुपर्ने विज्ञहरू बताउँछन् । भाइरसबाट हुने रुघाखोकीलगायत अन्य साधारण रोगमा एन्टिबायोटिकको प्रयोग नगर्न विज्ञहरूको सुझाव छ ।
औषधिको राम्ररी सेवन नगरेमा रोगका लक्षणहरू नदेखिन सक्छन् तर रोग निको नभई पुनः बल्झिन सक्छ र अरुलाई रोग सर्न पनि सक्छ । एन्टिबायोटिकको पूरा मात्रा प्रयोग नगरेमा ब्याक्टेरियाले एन्टिबायोटिकविरुद्ध लड्ने क्षमता (प्रतिरोध) को विकास गर्दछ र अर्को पटक सो एन्टिबायोटिकको प्रयोग गर्दा रोग निको नहुन सक्ने सम्भावन ज्यादा हुन्छ ।
जिवाणु विज्ञ डा। सन्तोष दुलालका अनुसार विश्वव्यापी रुपमा एन्टिबायोटिक्स अनावश्यक रुपमा ५० प्रतिशत प्रयोग हुन्छन् । दुलाल भन्छन्‚ ‘एन्टिबायोटिक पूरा मात्रा नखाँदा जुन ब्याकटेरियालाई मार्न खोजिएको हुन्छ त्यो नमर्न सक्छ बरु झन् शक्तिशाली भएर अर्को पटक त्यही औषधिको त्यही मात्रा नपुगेर मात्र नै बढाउनुपर्ने हुन सक्छ । अथवा त्यो औषधिले नै काम नगरेर त्यो भन्दा हाई डोजको दिनुपर्ने हुन सक्छ ।’
उनले चिकित्सकको सल्लाहबिना र ल्याब जाँचको रिपोर्टबिना आफूखुसी औषधी खान नहुने बताउँछन् । ‘सामान्य रुघा लाग्दा पनि एजिथ्रोमाइसिन किनेर खाने गरेका छन् । आराम गरेर‚ स्वास्थ्य आहार खाए रुघा केही दिनमै निको हुन्छ । एक दुई डोज औषधि खायो अनि निको महसुस भए छाडिदिने गर्दा रेसिस्टेन्स बढेको छ । जथभावी रुपमा एन्टिबायोटिक प्रयोग गर्ने हो भने कुनै पनि औषधि रहँदैन,’ दुलाल थप्छन् ।
परामर्शबिना जथाभावी रुपमा औषधि पसलहरूबाट एन्टिबायोटिक्स खरिद गरेर खाने नेपाली बानीले पनि यो समस्यालाई थप चुनौतीपूर्ण र जटिल बनाएको देखिन्छ । अत्यधिक वा खानु पर्नेभन्दा बढी औषधि सेवन गरेमा, कम वा खानुपर्नेभन्दा कम औषधि सेवन गरेमा, एन्टिबायोटिक औषधि जथाभावी स्वास्थ्यकर्मीको सल्लाहबिना खाने, स्वास्थ्यकर्मीले तोकिदिएको समय र मात्रामा नखाने, म्याद गुज्रेको तथा देखासिखी गरेर खाने० प्रयोग गर्दा ब्याक्टेरियाको प्रतिरोधात्मक क्षमता बढाउँछ, जसले गर्दा ब्याक्टेरियाहरू शक्तिशाली भई एन्टिबायोटिक औषधिलाई निष्क्रिय बनाउँछ र औषधिले काम नगर्ने हुन्छ ।
विज्ञका अनुसार एन्टिबायोटिक पशुपन्छीलाई छिटो हुर्काउने वा तौल बढाउने औषधिको रुपमा प्रयोग गर्नुहुँदैन। पशुपन्छीमा एन्टिबायोटिक प्रयोग गर्दा पशु स्वास्थ्यकर्मीरचिकित्सकले सिफारिस गरेअनुसार नै गनुपर्छ र मात्रा पूरा नगरी बिचैमा छाड्नु हुँदैन ।अनुसन्धान परिषद्को अध्ययनमा ६० प्रतिशत भेटरिनेरी फर्मासिस्टले पशुहरूलाई कुन औषधि दिए भनेर तथ्यांक नै नराखेको देखाएको छ । त्यसैगरी ‘कोलिस्टिन’ जसले ब्याकटेरियल इन्फेक्सनमा काम गर्छ त्यो करिब २ प्रतिशतले प्रयोग गरेको अध्ययनमा देखिएको छ जबकि पशुहरूका लागि यो निषेध गरिएको छ ।
के हो एन्टिमाइक्रोबियल रेसिसटेन्स (प्रतिजैविक प्रतिरोध) ?
मानिस वा पशुपन्छीको शरीरमा व्याक्टेरियाको वृद्धि र विकास रोक्न वा ब्याक्टेरियालाई मारेर संक्रमण रोक्न प्रयोग गरिने औषधिलाई एन्टिबायोटिक भनिन्छ । प्रतिजैविक प्रतिरोध भनेको जिवाणुले एन्टिबायोटिकविरुद्ध देखाउने प्रतिरोधात्मक क्षमता हो ।
जब संक्रमण गराउने ब्याक्टेरिया, भाइरस, फंगस (ढुसी) तथा परजीविहरूले औषधिप्रति प्रतिक्रिया नदेखाउनु भनेको ती जीवमा कुनै औषधिविरुद्ध एन्टिमाइक्रोबियल रेसिसटेन्स (एएमआर) को विकास भयो भन्ने हो । जब संक्रमण गराउने ब्याकटेरिया, भाइरस तथा परजीविहरुले औषधिहरुप्रति प्रतिक्रिया देखाउन बन्द गर्छन्, तब एन्टिमाइक्रोबियाल रेसिस्टेन्सको विकास हुन्छ ।
एन्टिमाइक्रोबियल रेसिस्टेन्स ९एएमआर० विश्वभर नै गम्भीर स्वास्थ्य समस्या बन्दै गएको छ । एन्टिबायोटिक्स औषधिहरूको अधिक र जथाभावी प्रयोगले मानिसमा मात्र नभई जनावर तथा कृषिमा पनि यसले प्रभाव पारिरहेको छ । डब्लूएचओले सन् २०५० सम्म वार्षिक १ करोड मानिस यसको सिकार हुने अनुमान गरेको छ ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार जब विभिन्न खाले सूक्ष्म जीवाणुहरूको संक्रमण रोकथामका लागि प्रयोग गरिने औषधिविरुद्ध नै जीवाणुहरुले प्रतिक्रिया जनाउन थाल्दछन्, तब त्यस्ता जीवाणुहरूमा औषधि प्रतिरोधी क्षमता विकास भएको भनेर बुझिन्छ ।औषधिप्रति जीवाणुहरुको प्रतिरोधी क्षमता बढ्दै जाँदा उपचार खर्च त बढ्छ नै, लामो समयसम्म अस्पताल बस्नुपर्ने बाध्यतासँगै मृत्युदर पनि बढ्ने चिकित्सकहरूको भनाइ छ ।
खास गरी, जीवाणुहरूमा एमएमआर विकास हुने धेरै कारणमध्ये अहिले देखिएको प्रमुख कारण एन्टिबायोटिक्स औषधिको दुरुपयोग र अत्यधिक प्रयोग नै हो । जसले गर्दा त सामान्यतया कुनै संक्रमणका लागि प्रयोग गरिँदै आएको औषधिले नै ती जीवाणुविरुद्ध काम गर्न नसक्ने अवस्था सिर्जना हुँदैगएको गएको चिकित्सकहरू बताउँछन् ।
त्रिभुवन विश्वविद्यालयका माइक्रोबायोलोजी केन्द्रीय विभागका सहप्राध्यापक डा। मेघराज बञ्जाराले विभिन्न अध्ययनहरूले प्रतिजैविकको प्रयोग चाहिनेभन्दा बढी प्रयोग भइरहेकाले ब्याक्टेरिया मार्नका लागि प्रयोग गर्ने एन्टिबायोटिकले काम नगरिहेको बताउँछन् । उनी भन्छन्‚ ‘विगत ३६ वर्षदेखि नयाँ एन्टिबायोटिकको आविष्कार भएको छैन । जति एन्टिबायोटिक छन् उनीहरुलाई चाहिने ठाउमा मात्र प्रयोग गर्यौं भने यी प्रतिजैविकहरू लामो समयसम्म संक्रमणको उपचारमा प्रयोग गर्न सकिन्छ । चिकित्सकले पनि प्रेस्कृप्सन सही तकिारले नगर्ने र बिरामीले पनि सल्लाहबिना नै खाने गर्दा एन्टिबायोटिकको दुरुपयोग भएको देखिन्छ ।’
कसरी रोकथाम गर्न सकिन्छ ?
बिरामी भएको अवस्थामा स्वास्थ्यकर्मीको सल्लाह लिने, स्वास्थ्यकर्मीको सिफारिस गरेको अवस्थामा मात्र एन्टिमाइक्रोबियल औषधिहरूको सेवन गर्ने, स्वास्थ्यकर्मीहरुको सिफारिसबमोजिम औषधिको पूरा मात्रा लिने, संक्रामक रोगविरुद्धको खोप लिने, हात धुने बानी बसाल्ने, सुरक्षित यौन अभ्यास पालना गर्नुपर्ने डब्लूएचओको सुझाव छ ।
सरकारले ‘नेसनल एक्सन प्लान फर माइक्रोबियल रेसिसटेन्स’९ २०२१–२०२६ को ड्राफ्ट बनाएको अवस्था छ तर कार्यान्वयन आउन सकेको छैन । कार्यन्वयनमा नआउँदा जथाभावी एन्टिबायोटिक्सको सिफारिस र बिक्री वितरण रोकिन सकेको छैन ।
त्रिवि शिक्षण अस्पतालमा आईसीयू प्रमुख प्रा।डा। सुवास आचार्यले औषधिको नियमन नहुँदा यो समस्या बढ्दै गइरहेको बताउँछन् । उनले कसले कस्तो औषधि सुझाउन पाउने भनेर वर्गीकरण नहुँदा औषधिको जथभावी प्रयोग भइरहेको बताउँछन् ।
भन्छन्‚ ‘ठूला डोजको एन्टिबयोटिक पनि फर्मासिस्टले दिएका छन् जबकि विशेषज्ञले मात्र चलाउन पाउँछन् । एन्टिबयोटिक्स प्रेस्क्रिप्सनको रेस्ट्रिक्सन नै छैन हाम्रोमा ।’ उनी एन्टिबायोटिकको जथाभावी प्रयोग रोक्न अस्पतालमा ‘एन्टिमाइक्रोबियल स्टेवार्डसिप (एएसटी) प्रोग्राम’ लागू गर्नुपर्ने बताउँछन् । ‘यो लागू गर्नेमा सरकारको तत्परता देखिन्न । प्राइभेन्ट इन्स्टिच्युटमा मात्र लागू भएको छ । यो कार्यक्रम सञ्चालन भयो भने एन्टिबायोटिकको सही प्रयोग हुन्छ ।कुनै हाई डोजको एन्टिबायोटिक चलाउन अनुमति लिएर मात्र चलाउन पाइन्छ । प्रादेशिक अस्पतालमा यो नीति राख्नुपर्छ,’ उनी भन्छन् । कान्तिपुरबाट
प्रकाशित:
११२७ दिन अगाडि
|
१९ साउन २०८०
४ दिन अगाडि
|
१५ भदौ २०८३
६ दिन अगाडि
|
१३ भदौ २०८३
६ दिन अगाडि
|
१३ भदौ २०८३
१२ दिन अगाडि
|
७ भदौ २०८३
२१ दिन अगाडि
|
२९ साउन २०८३
३२ दिन अगाडि
|
१८ साउन २०८३
३४ दिन अगाडि
|
१६ साउन २०८३
१४२४ दिन अगाडि
|
२५ असोज २०७९
१४५९ दिन अगाडि
|
२१ भदौ २०७९
१४६८ दिन अगाडि
|
१२ भदौ २०७९
१४२३ दिन अगाडि
|
२६ असोज २०७९
१३७३ दिन अगाडि
|
१५ मंसिर २०७९
१४२९ दिन अगाडि
|
२० असोज २०७९
१३६१ दिन अगाडि
|
२७ मंसिर २०७९