Above News Title

आठ वर्षकै उमेरमा बिहे गरेकी सुनिता मोचीले यसरी गरिन् सांसदसम्मको यात्रा

आठ वर्षकै उमेरमा बिहे गरेकी सुनिता मोचीले यसरी गरिन् सांसदसम्मको यात्रा

तराईमा पहिले पहिले बालविवाह सामान्य मानिन्थ्यो । सांसद सुनिता मोचीको विवाह पनि आठ वर्षकै उमेरमा सिरहा सुखीपुरका रामकुमार मोचीसँग भयो ।

बिहे भएको एक वर्षपछि ससुरालमा बस्न थालेकी सुनिताको काँधमा घरको सम्पूर्ण जिम्मेवारी आइपर्यो । नाबालकमै विरामी सासु ससुराको सेवा गर्दै सुनिताको दिन बित्थ्यो ।

बिहे भएको केही वर्षमै उनको सासु र ससुरा बिते । जेठी बुहारी भएका कारणले घरको सम्पूर्ण जिम्मेवारी उनकै काँधमा थियो । उनी भन्छिन्, त्यतिबेला मेरो उमेर कति थियो याद छैन । सासु–ससुराको निधनपछि मैले छोरी जन्माएकी थिएँ । छोरीसँगै दुई देवरको समेत हेरचाह मेरै जिम्मामा थियो ।’

सुनिताका श्रीमान् रामकुमार काठमाडौँमा जुत्ता सिलाउने काम गर्थे । यता सुखीपुरस्थित घरमा सुनिताले देवरसहित आफ्ना छोरी गरी तीनजना बच्चा एक्लै सम्हाल्थिन् । ‘१० कठ्ठा पुख्र्यौली जमिन थियो । श्रीमान्ले काठमाडौंबाट अलिअलि पैसा पठाउनु हुन्थ्यो । त्यत्तिले खान नपुगेर कहिलेकाहीँ गाउँमा मजदुरीले गर्जो टथ्र्यो । तर, निकै गाह्रो हुन्थ्यो ।’ उनले ती दिनका दुःख सुनाइन् ।

किशोर वयमा जेठो देवरको बिहे भयो । तर, विहे गरेर समस्या समाधान भएन । परिवारमा सदस्य थपिएर झन् खर्च बढ्यो, आम्दानी बढेन । त्यसपछि जे जे दुःख गर्नुपर्छ काठमाडौंमा सँगै गरौंला भनेर सुनितालाई श्रीमान्ले काठमाडौं बोलाए । 

काठमाडौंको यात्रा

सुनिताले आफ्ना छोरी र कान्छा देवरलाई साथमा लिएर काठमाडौं आइन् । त्यतिबेला तत्कालीन राजा ज्ञानेन्द्रको विरुद्धमा काठमाडौंमा आन्दोलन चर्किरहेको थियो, माहोल राम्रो थिएन । त्यस अवस्थामा पनि रामकुमार मोचीले बबरमहलको सडकपेटीमा बसेर जुत्ता सिलाईको काम गरिरहेका थिए । एक दिन जुत्ता नसिलाउँदा घरको चुल्हो बल्दैनथ्यो ।  

गैरीगाउँको सुकम्बासी वस्तीमा महिनाको पाँच सय रुपैँयामा एउटा साँगुरो कोठा भाडामा लिएर बसेका रामकुमारले त्यसैमा श्रीमती, छोरी र भाइलाई साथमा राखे । 

यता, सुनितालाई आर्थिक अवस्थाले मात्र होइन, काठमाडौंको परिवेशले पनि गाह्रो भइरहेको थियो । यहाँको भेषभुसा, भाषाले ‘एडस्ट’ गर्न निकै गाह्रो भइरहेको थियो । उनलाई पछि लाग्न थल्यो, बरु यो भन्दा सुख त सुखीपुर गाउँमै थियो ।  

उनी अधिकांश समय कोठमा नै बिताउँथिन् । छोरी र देवर स्कूल भर्ना भएकाले खर्च ह्वात्तै बढेको थियो । त्यसैले, त्यसरी सधँै कोठामै बिताउनु उचित पनि थिएन । भन्छिन्, ‘आर्थिक रुपले हाम्रो अवस्था दिनदिनै खराब हुँदै गइरहेको थियो । जुत्ता सिउन बस्दा कहिलेकाहीँ नगरप्रहरीले सडकपेटीबाट धपाउँथ्यो । आन्दोलन पनि चलिरहेको थियो ।’ 

अनि बेच्न थालिन् साग

अब आफू पनि केही गर्नुपर्छ भनि श्रीमान्सँग सल्लाह गरेर सुनिताले तरकारी बेच्ने निधो गरिन् । उनी भक्तपुर किसानको बारीमै गएर साग ल्याउँथिन् र काठमाडौं, शान्तिनगरस्थित पिस्टन स्कूलको अगाडि बसेर बेच्थिन् । तीन चार महिना साग बेचेर १८ सय रुपियाँ बचत गरिन् । त्यसले एउटा सानो कठघारा (घुम्ती) किनेर पान पसल चलाउन थालिन् । 

सुनिताले खोलेको पान पसल सोचे जस्तो चलेन । कारण थियो, सुनिता दलित हुनु । वरपरका पसलेहरुले सुनिता दलित भएको जानकारी दिँदा पसलमा विस्तारै ग्राहक आउन छाडे ।  तर, त्यसमध्ये एक ग्राहक थिए, तत्कालीन सद्भावना पार्टीका नेता सुभलाल यादव, जो सुनिताको पान पसल जान कहिल्यै छाडेनन् । 

पान पसलबाट खासै आम्दानी नभएपछि सुनिताको आर्थिक अवस्था फेरि बिग्रिन थाल्यो । पसल सञ्चालनको क्रममा सुनिता मोचीको सम्पर्क विशेश्वर रजक र चन्देश्वर खत्वेसँग भयो । उनीहरुले मधेशी दलित विकास महासंघ गठन गरेका थिए । त्यसमा एकजना महिलाको आवश्यकता थियो, जसमा सुनिता मोचीको नाम इन्ट्री भयो  । 

दलित अभियानमा सक्रियता

महासंघमा सुनिता केन्द्रीय सदस्य भइन् । त्यसमार्फत् उनले मधेशी दलितको अवाज उठाउन थालिन् । उनले बाल्यकालदेखि भोग्दै आएकी छुवाछूतको बारेमा बोल्न थालिन् । महासंघले आयोजना गर्ने कार्यक्रम तथा अन्य कार्यक्रमहरुमा उनी नियमित सहभागी हुन थालिन् । कार्यक्रमहरु जाँदा पाइने भत्ताले उनलाई केही सहज भयो । 

कहिलेकाहीँ कार्यक्रमहरुमा उपत्यका बाहिर पनि जान्थिन् । कार्यक्रममा धेरैसँगको सहकार्यले उनी खुल्दै गइन् । घुमाई पनि र केही आम्दानी पनि हुन थालेपछि सुनिता महासंघमै रमाउन थालिन् । तर, उता उनको पान पसल भने बन्द भयो ।  

महासंघमा सक्रिय भएपछि उनको सम्पर्क विभिन्न राजनीतिक दलका नेताहरुसँग नहुने कुरै थिएन । पार्टीका कार्यक्रममा नेताहरुसँग सम्पर्क बढ्दै गएपछि पहिलो संविधान सभामा तत्कालीन सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले सुनिता मोचीको नाम समानुपातिक सूचीमा समावेश गरेका थिए । उनको नाम एक नम्बरमै थियो तर उनी संविधानसभा सदस्यमा चयन हुन सकिनन् । 

काठमाडौंमा पढाइ 

आठ वर्षमै बेहुली भएपछि सुनिताका लागि शिक्षा कुन चरीको नाम हो थाहै भिएन । उनी दुई वर्षको छँदै उनकी आमाको निधन भयो । उनको लालनपालन दाइ भाउजु र बुवाले गरे । बुवा तत्कालीन गाविसमा कार्यालय सहयोगी थिए । आम्दानी थोरै, खानेमुख धेरै । त्यसमाथि छोरीलाई पढाउने चलनै थिएन । 

तर, जब उनी काठमाडौं टेकिन् र ठूलावडासँग संगत गरिन्, पढाइको आवश्यकता महसुस भयो । साग बेच्न अनि पान पसल सुरु गरेदेखि नै उनलाई हिसाब किताब गर्न गाह्रो भइरहेको थियो । 

त्यसमाथि सामाजिक काममा लागेपछि उनलाई झनै पढाईको आवश्यकता महसुस भयो । एकातिर पान पसल, अर्कोतिर दलित महासंघदेखि राजनीतिक दलको कार्यक्रमकै चटारोबिच उनी ट्युशन पढ्न थालिन् । सुनिता भन्छिन्, ‘पान पसल खोलेपछि मलाई पढाईको आवश्यकता महसुस भएको थियो तर पढ्ने मौका नै मिलिरहेको थिएन । नपढी नहुने भएपछि साइकल चढी मिथिला कर्णको घरमै गएर ट्युशन पढ्न थाले ।’

सुनिता भन्छिन्, ‘मसँग शिक्षाको कुनै पनि औपचारिक सर्टिफिकेट छैन । स्कुल पढेर सर्टिफिकेट लिउँ कि जस्तो पनि लाग्छ तर फुर्सद छैन । ट्युशनबाटै अहिले सबथोक बुझ्ने भएकी छु । नेपालीमा लेखिएका सबै विषयबस्तु पढ्न सक्छु । अलिअलि अंग्रेजी पनि आउँछ, सामान्य हिसाब सबै आउँछ ।’ उनलाई यति भए के चाहियो ।

सद्भावना पार्टी छाडेर सुनिता तत्कालीन मधेशी जनअधिकार फोरम पार्टीमा प्रवेश गरेकी थिइन् । फोरममा गएपछि उनले महिला संगठनमा काम गर्न थालिन् । संविधानमा मधेसको अधिकार सुनिश्चित गराउन फोरमले काठमाडौँकेन्द्रीत आन्दोलन गरेको थियो । त्यसमा सुनिताको सक्रिय सहभागिता थियो । 

आन्दोलनको हरेक ठाउँमा उनको उपस्थिति रहन्थ्यो । विहानै उठ्ने, खाना पकाउने, बच्चाहरुलाई स्कूल पुर्याएर कोठाबाट निस्केपछि एकैपटक राती फर्किन्थिन् । पसलमा समय न दिन सकेपछि १३ सयमा पान पसल बेचिन् । त्यही पैसाले श्रीमान्को पसल सडकपेटीबाट सटरमा लगिन् । बरु त्यो पसल राम्रो चल्न थाल्यो । मान्छेको हेराइमा पनि परिवर्तन भयो ।   

दोस्रो संविधान सभाको चर्चादेखि प्रदेशसभा सदस्यसम्म

२०७० मा भएको दोस्रो संविधान सभा चुनावमा पनि फोरमले सुनिता मोचीको नाम समानुपातिक सूचीमा राखेको थियो । तर जब सूचीबाट उम्मेदवार चयन गर्ने कुरा भयो, उनको नाम आएन । तैपनि उनी बिचलित भइनन् । उनी झन सक्रिय भएर राजनीतिमा लागिन् । 

उनले भनिन्, ‘समानुपातिकमा मेरो नाम दुई दुई पटक राखियो तर संसदमा जान सकिएन । त्यसले मलाई दुःख लागेन । बरु, मेरो मेहनत पुगेन कि, मेरा बेला अझै भएको छैन कि सोचेर राजनीतिमा झनै सक्रिय भएँ ।’

२०७४ को चुनावमा फोरमले सुनिताको नाम प्रदेश सभाको समानुपातिकमा राख्यो । अनि, प्रदेश सभा सदस्यमा चयन पनि भइन्, त्यो दिन उनका लागि सबैभन्दा खुशीको दिन थियो । सुनिताभन्दा पनि बढी उनका श्रीमान् रामकुमार मोची खुशी थिए । दुबैलाई बधाईको ओइरो लाग्यो । सुनिता भन्छिन्, ‘यसपाली पार्टीले ममाथि ठूलो विश्वास गर्यो ।’ साधारण परिवारका बुवा मकुन चमार र आमा रामरती चमारका छोरी सुनिता सांसद भएकी थिइन् । 

प्रदेश सभामा गएपछि सबैभन्दा बढी मधेसी दलितको चेतनाका लागि काम गरिन् । विभिन्न कानुन, ऐन निर्माण हुँदा त्यहाँ मधेसी दलितको अधिकार कसरी सुरक्षित गर्न सकिन्छ, त्यसका लागि उनले निकै मेहनत गरिन् । 

पछिल्लो २०७९ मंसिर ४ को चुनावमा सुनिताको नाम पार्टीले समानुपातिकमा राखेन । त्यसमा उनको कुनै चित्त दुखाई थिएन । उनको ईच्छा त प्रत्यक्ष चुनाव लड्ने थियो तर आर्थिक अवस्थाका कारण त्यो संभव थिएन ।  

उनी अहिल्यैदेखि नै २०८४ को चुनावको तयारीमा लागेकी छिन् । पार्टीले समानुपातिकमा राख्यो भने ठिकै छ, नभए जेमा टिकट दिन्छ, त्यसैमा चुनाव लड्ने बताउँछिन् । 

सुनिताका एक छोरी र एक छोरा छन् । छोरीको विहे भइसकेको छ भने छोरा काठमाडौंमै ब्याच्लर अध्ययन गरिरहेका छन् । काठमाडौंमा उनको श्रीमान्को जुत्ता पसल छँदैछ । अहिले गाउँमै पक्की घर बनाएकी उनको सोच काठमाडौको पसल गाउँमै चलाउने योजना छ ।  

श्रीमान् रामकुमार मोचीले बालबच्चा सम्हाल्नेदेखि घरका अन्य काममा पनि सहयोग गरेपछि सुनिता बाहिर राजनीतिलगायत पढाई, सामाजिक कार्यक्रम भ्याइन् । र, आज यो अवस्थासम्म आइपुगेकी छिन् । रामकुमार मोचीले भने, ‘सुनिताले जे गरिरहनु भएको छ, त्यो हाम्रो सोचभन्दा धेरै टाढाको कुरा थियो । तर, उहाँले गरेर देखाई दिनुभयो, त्यसमा मलाई गर्व छ ।’ रातोपाटीबाट

प्रकाशित:

१०४७ दिन अगाडि

|

९ कात्तिक २०८०

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४२७ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४६१ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४७१ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४२६ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३७५ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४३१ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३६४ दिन अगाडि

|

२७ मंसिर २०७९