वसन्त चौधरीको सैलुन र वसन्तले कपाल काटेरै बनाएको घर
सन्तोष दहित
दाङको घोराही उपमहानगरपालिका-१७, गुलरिया गाउँका ११ जना युवा अहिले घोराही बजारका विभिन्न ठाउँमा सैलुन सञ्चालन गरेर मनग्ये आम्दानी लिइरहेका छन्। तीमध्ये एक हुन्, वसन्त चौधरी।
उनले २०६४ सालदेखि घोराहीको तुलसीपुर चोकमा सैलुन व्यवसाय गर्दै आएका छन्। वसन्तले आफ्ना नियमित ग्राहक बनाएका छन्, जो अरू सैलुनमा जाँदै जाँदैनन्। सैलुन व्यवसायबाट उनले मासिक करीब एक लाख कमाउँदै आएका छन्।
यो डेढ दशकको अवधिमा उनले दाह्रीकपाल काटेरै घरखर्च चलाए। भाइबहिनी र छोरालाई पढाए। जग्गाजमीन जोडेर घर समेत बनाए।
घरको आर्थिक अवस्था कमजोर भएकै कारण पढ्न नपाएका वसन्त कुनै वेला खाडी मुलुक छिर्ने योजनामा थिए। तर गाउँका एक दाइ पर्नेले उनलाई विदेश जानुभन्दा स्वदेशमै बसेर सैलुन खोल्न सुझाव दिएपछि गाउँकै दाइ धर्म चौधरीसँग कपाल काट्न सिकेर उनले घोराहीमा सैलुन सञ्चालनमा ल्याएका थिए।
“आत्मनिर्भर भएसँगै छिमेकी गाउँका दुई दर्जनभन्दा बढी युवालाई यही सीप सिकाएर स्वरोजगार बनाएको छु,” उनी भन्छन्। अहिले पनि उनको सैलुनमा गाउँका दुई जनाले रोजगारी पाएका छन्। लगनशीलता, निरन्तरता र मेहनत गर्ने हो भने यो व्यवसायबाट थोरै लगानीमा मनग्ये आम्दानी हुने उनी बताउँछन्। यद्यपि यो पेशामा आउन जोकोही लाज मान्ने गरेको उनको अनुभव छ।
घोराहीकै दीपशिखा चोकमा गुलरिया गाउँकै विपिन चौधरीको सैलुन छ। विपिनको दंगाली हेयर कटिङ सैलुनमा पनि उनी सहित छिमेकी गाउँका अरू दुई जना काम गर्छन्। काम भ्याइनभ्याइ हुन्छ।
बजारमा १५० भन्दा बढी सैलुन छ। विपिनकै सैलुन वरपर अरू दुई वटा सैलुन पनि छन्। तर ग्राहकको रोजाइमा विपिन नै पर्छन्। भारतीय वा जिल्ला बाहिरका मानिसले सञ्चालन गरेका सैलुनमा स्थानीय जान रुचाउँदैनन्, बरु घन्टौं कुर्न नै किन नपरोस्।
गुलरिया गाउँकै धर्म चौधरीको सैलुन पाठक चोकमा छ। उनले पनि घरखर्च निकालेर छोराछोरीलाई पढाई राम्रो बचत गर्दै आएका छन्। धर्मबाटै वसन्त र विपिनले कपाल काट्न सिकेका हुन्। धर्म पनि आफ्ना चेलाहरूको व्यवसाय चलेको देखेर खुशी छन्।
“अरू गाउँका युवा खाडी मुलुकमा छन् तर हाम्रो गाउँका युवा स्वदेशमै बसेर आफ्नो व्यवसायमा रमाएको देख्दा खुशी लाग्छ। त्यो पनि आफूले सिकाएको सीप अँगालेको देखेर,” उनी भन्छन्।
कपाल काट्न नाम दर्ता
दाङको दंगीशरण गाउँपालिकामा एउटा सैलुन छ- निशान हेयर कटिङ। यहाँ दाह्रीकपाल काट्न दिनहुँ यति भीड लाग्छ कि झट्ट सुन्दा अपत्यारिलो लागे पनि कि फोन गरेर कि त सैलुनमै पुगेर नाम टिपाएपछि मात्रै पालो पाइन्छ, त्यो पनि दुईतीन दिनपछि।
सैलुनका सञ्चालक शोभाकर चौधरी दिनहुँ भीड लाग्न थालेपछि ग्राहकको नाम दर्ता गराएर दाह्रीकपाल काट्न थालेको बताउँछन्। “गाउँघरका सबै चिनजानका छन्, सबैले पहिला मेरो काटिदिनुस् भन्छन्,” उनी भन्छन्, “मेरा लागि सबै ग्राहक भगवान् हुन्, सबै बराबर। कसैलाई काखापाखा नहोस् भनेर नाम दर्ता गराएर दाह्रीकपाल काट्दै आएको छु।”
नाम टिपाउने व्यवस्था लागू भएपछि ग्राहकहरू पनि खुशी भएको शोभाकर बताउँछन्। ज्येष्ठ नागरिक र असहायलाई भने आएकै दिन सेवा दिएर पठाउने गरेको उनी बताउँछन्। “जसलाई दाह्रीकपाल काट्नु छ, उसले दुई दिनअघि नै नाम दर्ता गराउँछन्। सोही अनुसार आलोपालो कपाल काट्दै आएको छु,” उनी भन्छन्।
शोभाकरको सैलुनमा कपाल काट्ने पालो आफूले दुई दिनपछिका लागि पाएको दंगीशरण गाउँपालिका-४ का पूर्व वडाध्यक्ष समेत रहेका नेपबहादुर कुँवर बताउँछन्। तुलसीपुर गएर कपाल कटाउन सकिने भए पनि शोभाकरले त्यहाँभन्दा राम्रो र सस्तो सेवा दिने गरेकाले पनि दुईतीन दिन पर्खेर यहीं कटाउने गरेको उनी बताउँछन्।
स्थानीय कालुराम चौधरी पालिकामा एउटै सैलुन भएकाले पनि भीड लाग्ने गरेको बताउँछन्। उनका अनुसार दंगीशरणका करीब १० गाउँका मानिसको दाह्रीकपाल शोभाकर एक्लैले काट्दै आएका छन्।
शोभाकरले गाउँमै सैलुन व्यवसायबाट मासिक ६० हजारभन्दा बढी कमाउँदै आएका छन्। उनले कपाल काटेको १०० र दाह्री काटेको ८० रुपैयाँ लिंदै आएका छन्, जुन तुलसीपुर बजारमा लाग्नेभन्दा कम शुल्क हो। हिमालखबरबाट ।
प्रकाशित:
१००७ दिन अगाडि
|
१८ मंसिर २०८०
७ दिन अगाडि
|
१५ भदौ २०८३
९ दिन अगाडि
|
१३ भदौ २०८३
९ दिन अगाडि
|
१३ भदौ २०८३
१४ दिन अगाडि
|
७ भदौ २०८३
२३ दिन अगाडि
|
२९ साउन २०८३
३५ दिन अगाडि
|
१८ साउन २०८३
३६ दिन अगाडि
|
१६ साउन २०८३
१४२७ दिन अगाडि
|
२५ असोज २०७९
१४६१ दिन अगाडि
|
२१ भदौ २०७९
१४७१ दिन अगाडि
|
१२ भदौ २०७९
१४२६ दिन अगाडि
|
२६ असोज २०७९
१३७५ दिन अगाडि
|
१५ मंसिर २०७९
१४३१ दिन अगाडि
|
२० असोज २०७९
१३६४ दिन अगाडि
|
२७ मंसिर २०७९