Above News Title

थारू संस्कृति जगेर्नासँगै कमाई पनि

४० जनाभन्दा बढी युवायुवतीले सुदूरपश्चिम महोत्सवमा थारू स्टल राखेर मौलिक खानाका परिकार र पहिरनको व्यापार गर्दै आएका छन्
थारू संस्कृति जगेर्नासँगै कमाई पनि

अर्जुन शाह

धनगढी — कैलालीको लम्कीकी विश्वमाया चौधरी १२ कक्षामा अध्ययनरत छिन् । यतिबेला उनी धनगढीमा आएर एक सातादेखि पाहुनालाई थारू परिकार पस्किन व्यस्त छिन् । समुदायको परम्परागत पहिरन र भेषभूषामा चिटिक्क सजिएकी विश्वमाया आफैंले पकाएका थारू परिकारको स्वाद आगन्तुकलाई चखाइरहेकी छन् ।

उनको चुलोमा घोंघीदेखि ढिक्रीसम्म पाकेको हुन्छ । माछाका अनेक परिकार छुट्ने त कुरै भएन । देख्दै खाउँखाउँ लाग्ने गरी उनले टेबुलमा सजाएका एक दर्जन परिकारले जोकोही ग्राहकको ध्यान खिचिहाल्छ ।

विश्वमाया जस्तै स्नातक तहमा अध्ययनरत लम्कीकै कुसुम चौधरीलाई पनि थारू परिकारको व्यापार गर्न भ्याइनभ्याई छ । उनको भान्सामा पनि थारू समुदायका अनेक परिकार तयार भएका छन् । परेवाको मासुदेखि जाँडसम्म, गँगटोको मासुदेखि झिँगे माछाका परिकारहरू । खानपिनका परिकारहरू मात्रै कहाँ हुन् र, थारू समुदायका आकर्षक पहिरनको बजारमा पनि किशोरीहरू खटिएका छन् ।

धनगढीस्थित मोतीचोक घर भएकी अञ्जु र करुणा आफैंले तयार गरेका थारू पहिरन र गरगहना बिक्री गर्न व्यस्त छन् । तीन हजारदेखि दस हजार रुपैयाँसम्म पर्ने थारू पहिरनका सेटहरू किनमेल गर्नेको पनि घुइँचो लागेको छ । धनगढीमा चलिरहेको सुदूरपश्चिम महोत्सवको अवसर पारेर विश्वमायालगायत थारू समुदायका युवकयुवतीलाई आफ्ना परिकार र पोसाक तयार गर्ने र बिक्रीवितरण गरेर आम्दानीसमेत गर्ने मौका मिलेको हो । यतिबेला ४० जनाभन्दा बढी युवकयुवतीले थारू स्टल स्थापना गरेर अधिकांशले मौलिक खानाका परिकार र केहीले पहिरनको व्यापार गरेर आम्दानी गरिरहेका छन् ।

थारू समुदायका खानाका परिकार सबैतिर लोकप्रिय मानिन्छन् । यस समुदायमा ४० भन्दा बढी खानाका परिकार हुने धनगढीका राजकुमार चौधरी बताउँछन् । कुखुरा र खसीको मासुका थुप्रै परिकार, जाँड, अन्डीको रक्सी, मौवाको रक्सी, गंगटाको मासु, परेवा, बटै, मुसाको मासु, थारू आलु, आलुको चटनी, टिमुरको चटनी तयार गरेर बिक्री गरिरहेका छन् । ‘माछाका त धेरै परिकार छन्,’ विश्वमायाले भनिन्, ‘सिद्रा माछा, अनई माछा, झिँगा माछा, डेरुवा माछा, हिले माछा तयार गरेकी छु ।’

थारू समुदायमा माछाका परिकार निकै लोकप्रिय मानिन्छन् । ग्राहकको रोजाइ पनि माछाकै परिकार रहेको उनीहरूले बताए । ‘प्रतिप्लेट दुई सयबाट बिक्री सुरु हुन्छ,’ कुसुम चौधरीले भनिन्, ‘दैनिक दुई सयभन्दा बढी ग्राहकलाई हाम्रा परिकारको स्वाद चखाइरहेका छौं ।’ खानका परिकारहरूले आफ्नो समुदायको संस्कृति जगेर्ना हुनुका साथै आम्दानी पनि राम्रै भएको उनको भनाइ छ ।

थारू समुदायको मुख्य चाड माघी पनि नजिकिँदै छ । यो समुदायमा ढिक्रीको महिमा कम हुने कुरै भएन । ढिक्री थारू समुदायको विशेष परिकार मानिन्छ । चामलको पिठोलाई मुछेर थरीथरीका आकार दिएर ढिक्री तयार गरिन्छ । बाफबाट पकाइने ढिक्री यस समुदायका विशेष समारोहमा अनिवार्य हुने धनगढीका जनम चौधरी बताउँछन् । ‘पर्व, विवाहलगायत शुभ कार्य तथा उत्सवमा ढिक्रीको पूजासमेत गर्ने चलन छ,’ जनमले भने ।

घोंगी थारू समुदायमा खानाको अर्को लोकप्रिय परिकार हो । खेत, पोखरी, तलाउलगायत पानी जम्ने ठाउँमा घोंगी पाइन्छ । ‘एक प्लेट घोंगी एक सय रुपैयाँमा बिक्री गरिरहेका छौं,’ कुसुमले भनिन् । यस्तै गँगटोको मासु यस समुदायको अर्को महत्त्वपूर्ण परिकार हो । गँगटोलाई फ्राई बनाएका छन् उनीहरूले । थारू समुदायमा पोसाकको पनि उत्तिकै महत्त्व छ । यो समुदायमा महिला र पुरुषको मौलिक पोसाक हुने भए पनि पुरुषको पोसाक भने झन्डै लोप हुने अवस्थामा पुगको छ ।

युवतीहरू भने विशेष कार्यक्रममा थारू पोसाकमै सजिएका देखिन्छन् । आकर्षक पनि देखिने भएकाले युवतीले आफ्नो परम्परागत पहिरनमा रुचि राखिरहेकै हुन् । प्रयोग गर्ने चलन घट्दै गएकाले उत्पादनमा पनि कमी आएको धनगढीका शेरबहादुर चौधरी बताउँछन् । ‘पुरुषहरू त पर्व विशेषमा मात्र मौलिक पहिरन लगाउँछन् । महिलाहरू अझ युवतीमा भने हाम्रो परम्परागत पहिरनको आकर्षण कायमै छ,’ शेरबहादुरले भने ।

थारू महिलाको मौलिक पहिरन चोली र लेहेंगा हो । यो सेतो वा रंगीचंगी हुन्छ । चोलीसँगै अघ्रहानलाई घाँटी हुँदै ढाडमा फुन्हाले बाँधिन्छ । थारू पहिरनमा पोसाकसँगै गरगहनाको पनि विशिष्टता छ । शिरमा मंगिमा, पाखुरामा वाक र टगिया अनि नाडीमा कक्नी लगाउने चलन थारू समुदायमा छ । थारू पोसाक र गरगहना तयार गर्दै आएकी मोतीचोककी दुर्गा चौधरीका अनुसार थारू गरगहना धेरै प्रकारका हुन्छन् । घाँटीमा सुटिया, गट्टिया माला, टौंक, हैकल, कन्सेरी र खुट्टामा चुर्ला, काँरा र पाउजु लगाउने चलन रहेको उनले बताइन् । ‘केही वर्षअघिसम्म पहिरन लोप हुने अवस्थामा पुगेको भए पनि अहिले फेरि थारू पहिरनको माग र व्यापार बढेको छ,’ दुर्गाले भनिन्, ‘पहिरन तयार गर्ने सीप पनि युवायुवतीहरूमा हराउँदै गएका बेला जाँगरिला केही तन्नेरीमा अहिले आएर आकर्षण बढ्नुले हाम्रो समुदायको खानपान र पहिरनको संस्कृतिको जगेर्नामा मद्दत पुग्नेछ ।’ कान्तिपुरबाट

प्रकाशित:

९९२ दिन अगाडि

|

३ पुष २०८०

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४२७ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४६१ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४७१ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४२६ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३७५ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४३१ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३६४ दिन अगाडि

|

२७ मंसिर २०७९