Above News Title

पहाड उक्लेका प्रदेशी ‘संघारी’हरू

पहाड उक्लेका प्रदेशी ‘संघारी’हरू

मोहन शाही

डोटी — २०५३ सालतिरको कुरा हो, १५ वर्षीय प्रदेशीराम चौधरीका जुंगा रेखी मात्रै बसेका थिए । गाउँका संघारी (साथी) हरू ज्याला मजदुरी गर्न धमाधम पहाड उक्लने क्रम बढ्दो थियो । कैलालीको घोडाघोडी नगरपालिका–१० लठैयाको समथर भूमिमा बाल्यकाल बिताएका प्रदेशीरामलाई पनि पहाड चढ्ने रहर जाग्यो । 

कामको खोजीमा दिपायल आइपुग्दा जताततै अग्ला पहाड र बीचमा सलल बगेको सेती नदीले उनलाई दंग पार्‍यो । सेती बगरमा लम्पसार दिपायल बजार देख्दा छक्कै परे । काम खोज्दै जाँदा उनका लागि भगवान्सरह भेटिए वासुदेव गौतम । गौतमको त्यो बेला फोटो स्टुडियो थियो । उनले प्रदेशीरामलाई पनि फोटो खिच्न जान्ने बनाए, कम्प्युटर सिकाए र जीवनजगत्को संघर्ष पनि बुझाए । ‘जीवनमा बाटो देखाउने नै उहाँ हो, अहिले म जहाँ पुगेको छु, त्यसका लागि उहाँलाई सधैं सम्मान गर्छु,’ उनले भने ।

तीन दशकयताको संघर्षले प्रदेशीराम डोटीमा सबैभन्दा नाम चलेको फोटो स्टुडियो व्यापारीका रूपमा चिनिएका छन् । ०६३ सालमा दिपायलमै घरजम गरेका उनले यहीं पिपल्ला बजारमा स्थायी बसोबास बनाएका छन् । ‘पहाड उक्लेपछि तराई झर्ने कल्पना नै भएन,’ उनले सुनाए, ‘सुरुमा आफन्त नहुँदा नियास्रो लागे पनि अब यतै संघारीहरू बढेका छन्, माया यतैको लाग्छ ।’

प्रदेशीरामकै जस्तो कथा चौधरी समुदायका युवाको छ, जो कामको खोजीमा कुनै समय पहाड उक्लेका थिए र पहाडकै मायाले यतै अड्किएका थिए । ०६३ सालमा एउटा मदिरा कम्पनीको बजार प्रतिनिधि भएर बुझावनप्रसाद चौधरी पहाड उक्लिए । सुरुका तीन वर्ष कम्पनीमै जागिर गरे । त्यसक्रममा यतै संघारीहरू बढे, आफन्त थपिए । तत्कालीन सशस्त्र द्वन्द्वका कारण गाउँबाट झरेकाहरूको बाक्लो बसाइले दिपायलको पिपल्ला बजारको रौनक नै बेग्लै थियो ।

तीन वर्षको बसाइमा बुझावनले आफ्नो भविष्य जागिर होइन, व्यापार भन्ने बुझे । त्यतिबेला व्यवसाय थालेर सुरु भएको संघर्षले उनलाई दिपायलमै स्थापित गरायो । तराईमा बाल्यकाल बिताए पनि युवावस्था भने उनले दिपायलमै काटे । ‘संघारीहरू यतै छन्, यही भूमि प्यारो लाग्छ । खै कसरी कसरी मन यतै अडिन्छ,’ उनले भने । यतै रहँदा बस्दा उनले श्रीमतीलाई स्टाफ नर्स पढाए । उनी लोकसेवा पास गरेर सरकारी कर्मचारी भइन् । बुझावन दिपायलमा सेकुवा कर्नरमार्फत राम्रो व्यापार गरिरहेका छन् । उनले दिपायलमा जमिन पनि जोडिसकेका छन् ।

जागिर तथा व्यापारका सिलसिलामा पहाड चढेका यी दुई पात्र उदाहरण मात्र हुन् । पछिल्लो समय घरजम गरेर बसेका थारू समुदायको संख्या दिपायलमा बढ्दो छ । स्थानीय युवा रोजगारी छैन भन्दै भारत र विदेश पलायन भइरहेका बेलामा थारू तन्नेरीहरू भने पहाडतिर सोझिएका छन् । इमानदार र परिश्रमीका रूपमा चिनिने थारू समुदायका युवा यहाँ ठेक्कापट्टा, व्यापार, कम्प्युटर, लेखापाल, गाडी चालकजस्ता पेसामा छन् । ‘इमानदारी र मिहिनेती भएकाले उहाँहरूलाई अधिकांशले विश्वास गर्छन्’, डोटी उद्योग वाणिज्य संघका अध्यक्ष विक्रम साउदले भने, ‘बरु यताका युवामा विचलन बढी छ, कामको सम्मान नगर्ने प्रवृत्ति भएकाले अधिकांश व्यापारी थारूकै युवालाई काममा राख्न रुचाउँछन् ।’ अहिले दिपायल मात्र २ सयभन्दा बढी थारू समुदायका व्यक्ति काम गरिरहेको हुन सक्ने साउदले अनुमान सुनाए । कतिपय थारू डोट्याल भाषामा पोख्त रहेको बताउँदै साउदले उनीहरू यतैका मौलिक परिकार र रीतिरिवाजमा रमाइरहेको बताए ।

दिपायल उक्लेका थारूहरू धेरैजसो कैलालीबाट आएका छन् । केहीले घरजग्गा जोडिसकेका छन् । कतिपय भने अस्थायी रूपमा ज्यालामजदुरीका लागि आउने र वर्षात्मा घर फर्कने पनि गर्छन् । वर्षभरि यता मजदुरी गरेर खेतीपातीका लागि तराई जाने गरेको सुवास चौधरीले बताए । आर्थिक अवस्था कमजोर हुँदा कक्षा ९ को पढाइ छोडेर आइपुगेका रामप्रसाद चौधरी पनि अहिले दिपायलमै परिवारसहित फेन्सी पसल सञ्चालन गरिरहेका छन् ।

गणेश इन्टरप्राइजेजमा युवावस्थामै जागिरका लागि आएका जग्गु चौधरी पनि डेढ दशकदेखि दिपायलमा संघर्ष गरिरहेका छन् । उनले पनि अहिले आफ्नै कम्प्युटर तथा फ्लेक्स प्रिन्टको पसल खोलेका छन् । ‘बेइमानी र झूट बोल्न जान्दैनौं, बालापनदेखि नै संघर्ष गर्नुपर्छ भन्ने पाठ सिकेका छौं,’ जग्गुले भने, ‘जुन ठाउँमा रोजगारीका लागि आउँदा माया ममता र जीवन पायौं त्यही ठाउँमा रमाउन पाउँदा खुसी छौं ।’ यतैको बासिन्दा झैं भएकाले यहाँको विकास निर्माणका सवालमा समेत आफूहरूको चासो रहने सुरेन्द्र चौधरी बताउँछन् । उनी दिपायलमा लेखापरीक्षणको काम गर्दै आएका छन भने श्रीमती ललिता ब्युटिपार्लर खोलेर बसेकी छन् । उनले यहाँको शिक्षा, स्वास्थ्य, पूर्वाधार लगायत सवालमा राज्यपक्षलाइ दबाब दिन आफूहरू कहिल्यै पछि नपरेको बताए । कान्तिपुरबाट

प्रकाशित:

८८९ दिन अगाडि

|

१७ चैत २०८०

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४२५ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४६० दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४७० दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४२५ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३७४ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४३० दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३६३ दिन अगाडि

|

२७ मंसिर २०७९