ओइ बाउ, खोइ मेरो साइकल ?

ओइ बाउ, खोइ मेरो साइकल ?

१३४५ दिन अगाडि

|

१४ भदौ २०७९

खेलको भित्री कथा

खेलको भित्री कथा

१३४९ दिन अगाडि

|

१० भदौ २०७९

  थियो त्यो समय, धारा प्रवाहको  थियो त्यो समय, एक आन्दोलनको । आह्वान थियो आवाजविहीनहरु जुर्मुराउने  भाषण थियो पहिचान दिलाउने  विभेद र शोषण मेटाउने । आहा क्या थियो त्यो त्यो एक सपना थियो ।। कर्मशील भूमिपुत्र  जसलाई बुझाइयो पहिचान के हो भनेर सम्झियो आफ्ना दुःखका दिन सोच्यो अरु जस्तै समान हुने जीवन लाग्यो त्यो पनि पहिचान पाउने ठानेर नेताहरुले भनेको जस्तै मानेर  हुइ टो हुइ, नाइ हुइ टो नाई हुइ लाग्यो अब फरिया कसेर । तर त्यो एक खेल थियो जाल झेल र षड्यन्त्रको दृश्य थियो “सपना”,  अदृष्य थियो “नियम” कालो नियमको अखण्ड निसाना  प्रहार हुने योजना छ । जो जनताको मुटुजस्तै प्यारो थियो  राज्यको नजरमा तारो बन्यो जसको आवाजमा संगीत गुञ्जन्थो जसको व्यवहारमा साझा संस्कृति झल्किन्थो  उ थियो आन्दोलनलाई बोक्न सक्ने  उ थियो अनेकलार्ई एकमा जोड्न सक्ने  उ एक क्रान्ति थियो । जो सानैदेखि सबैको प्यारो थियो  तर शासकको राज्यलार्ई तगारो भयो । उसले आफूलार्ई थारु मात्र सोचेन शाषकले उसलाई थारुबाहेक अरु देखेन  खेल मैदानबाट  जनताको छोरोलाई पाता कसेर लगियो खेल बन्द गरियो  दमन र अत्याचारले सिमा काट्यो  अदृष्य नियमको अदृष्य अपराध चल्यो  भूमिपुत्रलाई जेलनेलको डर तेस्र्याइयो सपना देखाउनेहरु नै नौला शाषक भए नीति सिद्धान्त र कानुन भजाएर खाने नौला ठेकेदार भए पहिचान अब केवल शब्द रह्यो  पहिचानले शाषकको हिसाबमा  नाफा घटाउने भयो । कसैको नखानु, कसैको नबिराउनु  न्यायमा अन्याय  मनभित्र आगो थपियो । ‘‘ शाषकले समयसंगै  अर्को खेलको आयोजना गर्यो । “चुनाव” नेपाली जनताले खेल्न नजानेको परिचित खेल यो खेलको दृश्य थियोः “विकास र समृद्घि” अदृष्य थियोः “सत्ता” विकासले पैसा बाँड्यो सत्ताले शक्ति देखायो  पैसा र पावरले  खेल मेदानको प्रतिस्पर्धा भव्य भयो । भव्य मैदानमा सभ्य नागरिकको उपस्थिति शाषकको कल्पना भन्दा बाहिर थियो । अब हिजोको सबै परिदृष्य एक भएर आयो मनमुटाव एकजुटमा परिणत भयो  हल्ला नगरी सल्लाह भयो साहसी भइ सभ्य भए सहनशील भइ विवेकी भए  त्यहाँ जनता लडाउने कोही नेता थिएन आपसमा लड्ने कोही जनता भएन कसैको सुनेनन्, आफ्नो सुने कसैको भएनन्, आफ्नो भए मत विश्वास थियो विश्वास मत भयो  परिणाम जित थियो । शाषकको खेल जनताको जित  नेपाली इतिहासमा सुनौलौ दिन ।। त्यसैले,  जनविश्वासको अगाडि  अन्यायको हत्कडी धेरैबेर टिक्ने छैन  जनताको खेल जनताले जित्नु पर्छ                                             कैलाली 

रेशमसँगै  म पनि जान्छु जेल

रेशमसँगै म पनि जान्छु जेल

१३५० दिन अगाडि

|

९ भदौ २०७९

 सुरेश चौधरी   नेता नै हुन् बिस्फोट गराउने ज्वाला, कैलाली टीकापुरमा भएको घटनाको मूल्य को स्वीकार्ला, नेताहरु त देशका बफादार भए, नेपाल देशलाई नै बर्बाद पारी भ्रष्टाचार भए, नेपालका नेता मूल वेवकुफ गद्दार भए, राजा बिनाको देशमा सदा जनताका लागि अत्याचार भए, सन्यास लेउ है बूढा नेता देश अब विनाश भए, सबै नेता भत्ता, सत्ताका लागि आज देशमै मरे, जुन नगर्नु पर्ने थियो आखिर देशमा त्यही सिकार गरे, राज्यको वंशलाई मारी नेता आजाद भए, नेताहरुको छैन अब नेपाललाई बनाउने रहर, एक एक नेतालाई खुवाउनु पर्छ विशालु जहर,  कैलाली टीकापुरमा भएको                                          घटनाको मूल्य को स्वीकार्ला ? अब पनि थारु नेता, अगुवाहरु चुप बसे नेपाली जनताले नै नेताहरूलाइ धिक्कार्ला । रेशम चौधरीलाई अझैसम्म थुने म पनि जान्छु जेल । जान्छु जेल ।।              ग्रामथान गाउँपालिका, विराटनगर, मोरङ  

भन्सम डाइ

भन्सम डाइ

१३५० दिन अगाडि

|

९ भदौ २०७९

कौशल के मिश्र  बर्टनक आवाज बरे राटसम् आइटह भन्सक बम्मा चल्टि बा, डाइ भन्सम बाटि । टिन्यो पटोइह्यन आपन आपन कोन्टिम सुट जा चुक्ल, डाइ भन्सम बाटि । डाइक काम बाँकि रहिन, मुले काम सब्के रहिन, मने डाइ आभिन फे सक्कु काम आपन मन्ठि । दूध ढिका क, जुराक, जवाइन डर्ना बा, टाकि बिहन्य छावन ताजा दहि मिलिन, चुल्हम ढरल् भाँरा डाइ किचोठर्ठि चहा दिन बदलजाए, चुल्हा साफ हुइक चाहि । बर्तनक आवाजसे छावा–पटोइह्यक निंड खराब हुइटिन्, बर्का पटोइह्या बर्का छावासे कठि, “टुहाँर डाइहँ निंड निअइठिन् का ?  ना अप्न सुट्ठी ना हमन सुट डेठी” मन्हलि मन्ह्लसे कठि, “आब हेरहो बिहन्य चार बजेसे खनमन सुरु हो जाइ,  टुहाँर डाइहँ चैन नि हुइटिन का ?” छोट्कि छोट्कक् ठे कठि, “प्लिज जाक यि ढोंग बन्द कराउ  कि राटक चुल्हा खालि रहक चाहि” डाइ टबटक वर्टन मिस स्याकल् रठि, लिउह्रल पुट्ठा, आँखर उन्ज्रा, लट्कल छाला, जारम साँसट, आँखिम पाकल मोति बिन्दु, माथम टप्कल पस्ना, ग्वारम उमेरक लग्लगाहट्, मुले, दूधक गरम कराहि उ आभिन फे छुछ्छे हाँठले उठा लेठि, टबो पर हुँकाहार अंग्रि निजर्ठिन्, का कर कि उ डाइ हुइटि । दूध जुर हो चुकल, जवाइन फे लाग स्याकल, घरिक सुइ मिच्छा स्याकल, मने... डाइ फ्रिजमसे डुल्रि निकार्क काट लग्ठि, हुकहिन निंड नि लग्ठिन्, काकर कि उ डाइ हुइटि । कबु कबु सोंच्ठु कि डाइ जसिन विषयम  लिख्ना, बोल्ना, बटैना, जटैना कानूनसे बन्द हुइक चाहि, का कर कि यि विषय निर्विवाद हो, का कर कि यि सम्बन्ध स्वयं परिक्षा हा । राटक बार बजे बिहानिक लाग डुल्रि कट्गैल्, अचानक याद अइलिन कि बिरुवा ट खैले नि हुइ, बित्टारक सिह्रनिक टर ढर्लक ठैलि निकर्लि जोन्ह्यक ओजरारम बिरुवक् रंगक हिसाबसे मुहम डर्लि ओ घटक्क पानी पि लेलि । पन्ज्र एक निंड पुगा सेक्लक बाबा कल, “आ गैल्या” “हाँ, आज ट कौनो काम नि रह” –डाइ जवाफ डेलि ओ ओंडर गैलि, काल्हिक चिन्टम पटा नै निंड अइठिन् कि नाइ मने बिहन्य कौनो मिच्छावन नि रठिन् का कर कि उ डाइ हुइटि बिहन्यक घन्टि पाछ बाजठ्, डाइक निंड पहिलहँ खुल्जैठिन्, पटा नि हुइटिन कि कबु कबु जारम फे, डाइ ढिकाइल पानीले लहाइल् हुइहि हुकिन सर्डि नि लग्ठिन्, का कर कि उ डाई हुइटि । पत्रिका पहर्बे नि कर्ठि मने उठाक लन्ठि, चाइ नि पिठि, मने बनाक लन्ठि, हालहाल खान नि खैठि मने बना डेठि का कर कि उ डाइ हुइटि डाइक बारेम बाट जिन्गि भर नि ओराइ आउर हाँ, यदि पहर्टि पहर्टि  आँखिमसे आँस आ जाइ ट कृपया खुल्क रुइबि ओ आँस पोंछ्क एकचो आपन डाइहँ जादुक उँक्वार जरुर डेबि, का कर कि उ और केक्रो नाइइ, अप्नक्क डाई हुइछि ।   कौशल के मिश्र से लिखल हिन्दी भासाके कविता थारुम सोम डेमनडौरासे उल्ठा हुइलक हो ।

नत्थुरामको रिक्सा (कथा)

नत्थुरामको रिक्सा (कथा)

१३५४ दिन अगाडि

|

५ भदौ २०७९

चेतना शर्मा एक समयमा नत्थुराम कमैया थियो । अब ऊ ‘मुक्तकमैया’ हो । उसलाई लाग्यो, मुक्त भएपछि उड्न सक्नेछ । त्यसैले मुक्त भएको दिन जमिन्दारको घरबाट जीउमा लगाएको एकसरो लुगाबाहेक केही नलिई बाहिरिएको थियो । “रिक्सा कैसिके टुटल”, लालमतीका आत्तिएका शब्द नत्थुरामका कानमा ठोक्किन्छन् । “कार ठोकल ।”, नत्थुराम यति मात्र जवाफ फर्काउँछ । के, कसरी, किन ? आदि इत्यादि सबै कुराको बिस्तार लाउने जाँगर चलेन उसलाई । रिक्सालाई लतार्दे ल्याउँछ र आँपको रुखमा अडेस लाएर राख्छ । रस्सीले बुनेको चारपाईमा गम्छा फाल्छ र पानीको नल्कातर्फ सोझिन्छ । फर्केर उही चारपाईमा बस्छ । गम्छाले निधार पुच्छ । तराईको अत्यासलाग्दो गर्मीमा नत्थुरामको पसिना र आँसु छुट्टिएको छैन । घरको छतमा काग कराउँछ । उसको ध्यान भङ्ग हुन्छ । ऊ देख्छ, छेउमा लालमती टुक्रुक्क बसेकी छे । लालमती, छोरी त आउँदिन ? काग करायो । “के थाहा ?” आफन्तका नाममा छोरीबाहेक अरु को नै छ र उनीहरुको ?  “आज कोही नआइदिए हुन्थ्यो ।” बसेको ठाउँबाट बरबराउँदै उठ्छ र रिक्सालाई मसार मुसुर गर्छ । “जा हुइल हुइल” लालमतीका सान्त्वनाका दिने शब्द र भावभङ्गीहरुसँग कुनै चासो राख्दैन ऊ । तर अम्खराको पानी एकछिन घटघट् पिएर रित्याउँछ । आफ्नो वरिपरिको सबै थोक निरश र बोझिल लागिरहेका छन् । बस, ऊ थन्किन चाहन्थ्यो, कतै रिक्सालाई थन्क्याएर । तर स्वास चलुन्जेल थन्किने छुट कसरी पाउँछ र उसले ?  “रिक्सा राम्ररी चलाउन जान्दैन ? सडकका भार ।”, चिल्लो कारबाट एउटा मानिस ओर्लेर उसलाई गाली गरिरहेको हुन्छ । “तपाईंको कारको अघि बच्चीलाई जोगाउन खोजेको हुँ ।”, नत्थुराम भन्न खोज्दै थियो । नत्थुरामका पोल्टामा गल्ती हालेर कार घुइँकिन्छ र अलप हुन्छ, उसको नजरबाट । “सडक किन मेरो हुन सकेन कहिल्यै ?”, चिल्लो सडकमा त चिल्ला गाडीमात्रै घुँइकिन्छन् । ऊ आँखाले भ्याएसम्म खाल्डा खुल्डी परेको सडक हेर्छ । उसलाई रिक्साको यसरी माया लाग्यो मानौं त्यो उसको सन्तान हो, जसमाथि उसको निकै आशा र भरोसा थियो । आमाबुवाको सपना चकनाचुर गरेर एउटा सन्तान उसका अघि उभिएको छ । तर त्यो रिक्सालाई छातीमा अठ्याँउन मन लाग्छ, नत्थुरामलाई । रिक्साको पछाडिको एउटा चक्का र अगाडिको एउटा चक्का पूरै बाँगिएको छ । बस्ने सिटको गद्दीमा पनि क्षति पुगेको छ । “लालमती यो सपना भैदिए त हुने नि ।” “त्यसो भए हाम्रो जिन्दगी नै सपना भए हुने नि”, श्रीमतीको आवाज कठोर थियो । सङ्घर्षले या त मानिसलाई हराउँदो रहेछ या त कठोर बनाउँछ भन्ने कुरा उसले नबुझेको होइन । आकाशतर्फ हेर्छ । कति विशाल र कति फराकिलो । आकाशको विशालतामा ऊ समाहित हुन चाहन्छ । उसको नजर रिक्सातर्फ नै जान्छ । रिक्सा र उसको आत्मीय सम्बन्ध उसले मात्रै अनुभव गर्न सक्छ । फिलिममा देखाएजस्तै सम्बन्ध नभए पनि नत्थुराम र लालमती एकअर्काको दुःखका भाषा बुझ्दछन्, सान्त्वना दिन नजाने पनि एकअर्कालाई एकान्तमा छाडिदिन्छन् ।  नत्थुरामलाई थाहा छ, श्रीमती पनि खाली बस्दिनँ । दिउँसो हेल्कामा माछा पार्न जामुनी खोलातर्फ जान्छे । सकेको ल्याउँछे, नसके रित्तो जाल लिएर फर्कन्छे । ससाना माछा सुकाएर सुकुटी बनाउँछे । अब भने सक्ने र नसक्ने उनीहरुको सामथ्र्यमा अस्ताउँदै गएको उमेरले छेकबार लाउँदै गएको छ । सक्ने उमेर त जमिन्दारको पेवा भएर सकियो । एक समयमा नत्थुराम कमैया थियो । अब ऊ ‘मुक्त कमैया’ हो । उसलाई लाग्यो, मुक्त भएपछि उड्न सक्नेछ । त्यसैले मुक्त भएको दिन जमिन्दारको घरबाट जीउमा लगाएको एकसरो लुगाबाहेक केही नलिई बाहिरिएको थियो । मुक्त कमैयाको जमात ठूलो थियो । त्यसपछि त कमैया मुक्ति एउटा नारा बन्यो । कति मुक्त कमैयाको आवाज उँचो भयो, विगतमा भोगेका पीडाहरुलाई शक्तिमा बदल्नुपर्ने अठोट लिन थाले । कति राजनीतिक दलका नेता बने । कमैया बाहेकका मान्छेका लागि पनि कमैया मुक्ति माँगीखाने भाँडो बन्यो । तर नत्थुरामजस्ता भने एउटा भुँग्रोबाट अर्को भुँग्रोमा खसेका मात्र थिए । खेतीकिसानीको राम्रै ज्ञान छ उसलाई । तर खान सक्ने सम्मको खेतीबारी पनि उसँग थिएन । सानो कमैया शिविरको छाप्रामा ऊ अटाएको थियो । एउटा स्वतन्त्रता भने मुक्तिपछि पक्कै पाएको थियो नत्थुरामले । ऊ रिक्सा चलाएर स्वतन्त्रताको स्वाद चाख्न खोज्थ्यो । त्यो रिक्सा आफ्नो होइन मालिकको हो ।  नत्थुरामलाई रिक्सा मालिकले गर्ने व्यवहार नराम्रो लागेर के गर्नु ? उसले बुझेको छ गरिबीको अर्को नाम सहनु पनि हो । उसलाई थाहा भयो यो “मालिक” शब्द उसको जीवनबाट नछुट्ने भयो । दैनिक कमाइको निश्चित रकम रिक्सा मालिकलाई बुझाएपछि बाँकी बचेको रकम आफ्नो हाफपेन्टको खल्तीमा राखेर बेलुका घर फर्कन्थ्यो ऊ । र, निदाउँथ्यो ।  सपनामा आफू मालिक भएको हेर्न चाहना हुन्थ्यो । हो, रिक्सा मालिक । त्यसैले सधैं बाँकी पैसा जम्मा पारेर राख्दथ्यो । बेलाबेलामा गर्मीले बेहाल भएको बेला सडक छेउ छाँयामा रिक्सा ठड्याएर रिक्सामा केहीबेर सुस्ताउँदथ्यो । “नत्थुराम यो रिक्साको मर्मत गरेर मलाई बुझाइ दे ।”, यी शब्द उसका कानमा नपरुन् भन्ने लागेको थियो । तर नसुन्नुको विकल्प थिएन । उग्र रुपमा गरिबी उसको नजिक बढिरहेको थियो । खुइलिएको टाउकोमा गम्छा राखेर अनुनयनको भावमा उभिएको थियो मालिकका सामुन्ने । आज उसले रिक्सालाई जोगाउन सकेन वा रिक्साले उसलाई जोगाउन सकेन ? यो कुरा उसलाई बारम्बार घोचिरहेको छ । खासमा न त रिक्साले उसको सपना जोगाउन सक्यो, न त उसले रिक्सालाई नै । लालामती खाना लिएर उसका अगाडि आउँछे । गब्डा (गाभा)को टिना, रातो खुर्सानी र भातका डल्लाहरु । खान मन कतै छैन उसलाई, अर्को मनले सोच्छ खानाको के दोष ? अब यो खाएर सुत्न जानुछ उसलाई । आज अरु दिनभन्दा लामै निदाउन चाहन्छ ऊ । तर “रिक्सा मालिक” भएको सपना भने देख्न चाहँदैन । साहित्यपोष्टबाट  

बरल टीकापुर                                

बरल टीकापुर                                

१३५५ दिन अगाडि

|

४ भदौ २०७९

‘बखारि’ भरि भरि अधिकार अरुलाई नै देऊ सरकार हामीलाई त ‘डेल्वा’, ‘ढकिया’  भरि दिए पुग्छ । तर तिमीले त ‘गडौरि’ भरि एक ‘चिक्टि’ पनि  अधिकार दिन आनकानी गर्छौ । त्यसैले त हामीलाई भन्न कर लाग्छ जिम्दारहरुले जसरी सताए थारुहरुलाई ए सरकार, तिमी पनि उही जिम्दारकै  ‘जोंइकाहा’ जस्तो पो देखिन्छौ ।  ..... हिजोका हाम्रा कमैयाहरुले अधिकार माग्ने ? सिंगै थरुहट प्रदेश माग्ने ? यस्तै हुंकार गर्दै  २०७२  भदौ ८ मा जलाइए टीकापुरमा  थारुका घर, पसल छानी छानी ठाने होलान् उनीहरु जलायौ दुश्मनका घर लौ हेरौ, कसरी पो उठ्छन् थारुहरु ? तर, तिमीले जलाएको घरको ‘भौगर’ बाँकी छ, अझैसम्म । याद राख,  तिमीले जलाएको घरको ‘भौगर’ ‘जिउगर’ हुँदैछ ‘चिटगिन’ बनेर त्यो ‘चिटगिन’को लपेटामा  पर्न सक्छ, तिम्रो घर पनि  किनकि, राखेनौं तिमीले हेक्का  सिसाको घरमा बस्नेले  छिमेकीको घरको सिसामा ढुंगा हान्नु हुँदैन ।  लडाइमा ‘डब्निभिराउ’को  ‘सुरसुरिया’ तिमीले नै फुक्यो  तर अचम्म, लडाईको मैदानमा तिमीले पहिले नै टेकिसक्यो ‘ठेहुनि’ ‘चिटगिन’को लपेटामा पर्नु अगावै तिमीलाई भयो भयंकर डर त्यसैले त छाडीसक्यो घर तिम्रो घर बनिसक्यो खण्डहर । हामीलाई अर्को ‘बुह्रान’ जान गरेको तिम्रो चक्रब्यूहमा  अहिले तिमी आफै फसेका छौ । हामी त चाहन्छौ अझै पनि  भाइ भाइ मिलेर बसौ  तर, शायद तिमी अन्तै बसेर  थारु उपर बज्रप्रहार गर्न चाल्दैछौ शकुनी पासा बुझिसके सबैले तिम्रो भाषा खबरदार,  ‘केंचुर’ फेर्नेलाई चिनिसक्यो टीकापुरले अब टीकापुर पटक पटक जल्नेछैन बरु, अब टीकापुर ‘चहकार’ बल्नेछ जाज्वल्यमान भएर आफ्नो गुमेको अधिकार लिएरै छाड्नेछ बरल टीकापुर आब,  बरल टीकापुर । बरल टीकापुर ।।             कीर्तिपुर, काठमाडौं थारू लेखक संघ नेपालद्वारा ‘बरल टीकापुर’ साहित्य अभियान २०७९ अन्तर्गत रचिएको कविता ।  

थारू भाषाको पत्रकारिताको अवस्था र चुनौती 

थारू भाषाको पत्रकारिताको अवस्था र चुनौती 

१३५८ दिन अगाडि

|

१ भदौ २०७९

१.परिचय मार्टिन चौतारीद्वारा प्रकाशित मिडिया अध्ययन–२ (२०६४) जर्नलका लागि ‘थारू पत्रपत्रिकाको विगत र वर्तमान’ शीर्षकमा यो पंक्तिकारबाट लेख तयार पार्दा छापा माध्यममा कार्यरत थारू पत्रकारहरूको सूची बनाउने क्रममा मुश्किलले २२ जनाको नामावली तयार भएको थियो । सो नामावली प्रायः मातृभाषाको थारू पत्रिकामा आबद्ध पत्रकारहरूको थियो । त्यो सूची तयार भएको करिब डेढ दशकपछि थारू पत्रकारहरूको उपस्थिति करिब २ सय बढी पुगेको देखिन्छ । थारू सञ्चारकर्मीहरूको संख्यात्मक बढोत्तरी भएको देखिए पनि थारू मातृभाषाको पत्रकारिता भने सुकेनासले ग्रस्त छ ।  यसको पहिलो खण्डमा थारू पत्रकारिताको प्रारम्भिक चरण, दोश्रो खण्डमा थारू पत्रकारिताको व्यावसायिकताको बाटो, तेश्रो खण्डमा जनशक्ति र वितरण प्रणालीबारे चर्चा छ । चौथो खण्डमा थारू पत्रकारितामा समेटिएका बिषयबस्तु रहेको छ । यसअन्तर्गत चाडपर्व, संस्कृति, राजनीतिक समाचार, विचार, साहित्यिक स्तम्भ छुट्टै उपशीर्षक दिई चर्चा गरिएको छ । पाँचौ खण्डमा सामाजिक विषयबस्तु, छैठौं खण्डमा भाषा तथा लेखनशैलीको प्रसंग छ । सातौं खण्डमा थारू पत्रिकामा मात्रै सीमित थारू पत्रकार र, अन्त्यमा छोटो उपसंहार दिइएको छ । व्यावसायिक ढंगले प्रकाशित पत्रपत्रिकाको सूची तालिका १ र २ मा दिइएको छ । यो आलेख रेडियो, टेलिभिजनको थारू कार्यक्रम तथा अनलाइन पत्रकारिताबारे नभई छापामा थारू भाषाको व्यावसायिक पत्रकारिताको चुनौतीबारे केन्द्रीत छ ।  २.थारू पत्रकारिताको प्रारम्भिक चरण  २०२८ सालमा दाङबाट प्रकाशित गोचाली थारू भाषाको पहिलो पत्रिका हो । पञ्चायती व्यवस्थाको विरोधमा मिशन पत्रकारिता गरेको गोचाली पहिलो अंकमै प्रशासनको बक्रदृष्टिमा प¥यो । थारू साहित्य सुधार समिति, पश्चिमाञ्चल नेपालले प्रकाशन गरेको गोचालीका सम्पादकमा महेश चौधरी थिए । यसरी मातृभाषा थारूमा पत्रकारिता गर्ने महेश र उनको टिम पहिलो समूह हो भन्नेमा दुइ मत छैन । गोचालीको इतिहासलाई केलाउँदा यसको सम्पादनमा संलग्न महेश चौधरी, सगुनलाल चौधरी र भगवतीप्रसाद चौधरीलाई थारू पत्रकारिताको जग हाल्ने त्रिमूर्तिका रूपमा लिन सकिन्छ । २०४६ सालपछि पनि जेनतेन प्रकाशित भैरहेको गोचालीका सम्पादकमध्ये एक सगुनलाल चौधरीलाई २०५८ साल पुस १२ गते सेनाले बेपत्ता पारेपछि यसको प्रकाशनमा निरन्तरता छैन (चौधरीः २०६२) । बर्दिया, धधवार–६, सेमरहवाको आफ्नै घरबाट सेनाले माओवादीको आरोपमा गिरफ्तार गरेका सगुनको हालसम्म पनि अत्तोपत्तो छैन । सगुनलाल चौधरीका छोराहरू कृष्णकुमार चौधरी, निरन्जन चौधरी, गोचाली परिवारका अध्यक्ष जग्गुप्रसाद चौधरीले गोचालीलाई निरन्तता दिन जेनतेन पहल गरेका छन् तर नियमित छैन ।  पहिलो पत्रिका प्रकाशित भएको पाँच बर्षपछि २०३३ सालमा रामानन्द प्रसाद सिंहको सम्पादनमा थारू संस्कृति पत्रिका प्रकाशन भयो । थारू कल्याणकारिणी सभा (थाकस) को मुखपत्रको रूपमा थारू संस्कृति प्रकाशन भएको थियो । पञ्चायतकालमा करिव आधा दर्जन अङ्क मात्रै निस्किएको यो पत्रिकालाई तात्कालीन महामन्त्री राजकुमार लेखी (२०६३–२०६७) को सम्पादनमा मासिक रूपमा प्रकाशित गरिएको थियो । तर हाल यसको प्रकाशन स्थगित भएको छ ।  सङ्ख्यागत रूपमा हेर्दा छयालिसको आन्दोलन अघि गोचाली (दाङ), थारू संस्कृति र बिहान, (काठमाडौ), औँकश (नवलपरासी), हौली (मोरङ), थारू सँस्कार (सुनसरी), टेंस (बाँके), टेम्ह्री (कैलाली) हमार संस्कृति तथा फुन्गी (चितवन) गरी जम्मा १० ओटा पत्रिका प्रकाशित देखिन्छ (सर्वहारी, २०६४ः ४) । गोचाली साहित्यिक पत्रिका हुँदाहुँदै यसका रचना राजनीतिक बिश्लेषणले भरिएका थिए । कथा, निबन्धमा पनि माया प्रेमभन्दा प्रगतिशीलताको छनक पछिल्लो १५औं अंक (२०६४) सम्म भेटिन्छ । थारू संस्कृति पत्रिकाले गोचालीले तय गरेको बाटो समात्न सकेन, बरू छयालिस अघिको अंकमा यसले राजाका महावाणीलाई स्थान दियो, जुन कि यसको बाध्यता थियो । गोचालीको धरपकडबाट डराएको थारू संस्कृति समूहले त्यो खतरा मोल्न चाहेन, यसले सांस्कृतिक पत्रिकाको रूपमा आफ्नो पहिचान दिन उचित ठान्यो ।  ३. थारू पत्रकारिताको व्यावसायिकताको बाटो  छयालिसपछि संख्यागत रूपले थारू पत्रिका प्रकाशनमा बृद्धि भयो । प्रगतिशील थारू युवा संगठन, काठमाडौंले २०४७ फागुनबाट चीरखा मासिक पत्रिकाको सुरुवात ग¥यो । प्रायः प्रत्येक अंकमा थारू सांसदहरूको अन्तरवार्ता समेट्ने चीरखा पत्रिका मूल रूपमा भने सांँस्कृतिक पत्रिका थियो । २०६१ सालमा कम्पनी रजिष्ट्रारको कार्यालय काठमाडौंमा गुर्वावा प्रकाशन प्रालि दर्ता गरी नेपालगञ्जबाट अग्रासन मासिक पत्रिका प्रकाशन गरिएकोमा २०६२ माघसम्म अग्रासन जम्मा ७ अंक प्रकाशित हुन सक्यो । पछि दाङबाट यसको प्रकाशन हुन थाल्यो ।  थारू पत्रकारितालाई ब्यवसायिक ढंगले अघि बढाउने अगुवा हुन जोखन राम चौधरी । कैलाली, रानामुडाका यी युवा जोखन रत्गैंयाका नामले परिचित थिए । २०४९ सालमा गोचाली परिवार कैलालीको मुखपत्रको रूपमा “मुक्तिक डगर” (मुक्तिको बाटो) बार्षिक पत्रिका जोखन रत्गैयाको सम्पादनमा निस्कियो । गोचाली परिवार कैलालीले नै आफ्नो सहप्रकाशनको रूपमा जोखन रत्गैयाको सम्पादनमा २०५३ साल चैतमा ‘थारू मुक्ति साप्तहिक’ पत्रिका प्रकाशन ग¥यो । यही पत्रिकालाई थारू भाषाको पहिलो व्यावसायिक पत्रिका हुने श्रेय जान्छ । मुक्तिक डगरको पहिलो अंकमा प्रकाशनको उद्देश्यमा थारू भाषा र सँस्कृतिको रक्षा,  समाजमा निहित कुरिती, अन्धविश्वास, रुढीबाढी जस्ता पुरानो चालचलन हटाउन जोड दिने, थारू जातिको सभ्यताको खोजबीन गर्ने, छरिएर रहेका थारूहरूलाई संगठित गराउँदै सामाजिक चेतनाको बिकास गराउने लगायत उल्लेख छ । ‘मुक्तिक डगर’ बार्षिक पत्रिकाकै उद्देश्य अनुरूप ‘थारू मुक्ति साप्ताहिक’ को पनि प्रकाशन भएको हो ।थारू मुक्ति साप्ताहिक ४७ अंकसम्म प्रकाशित भएको देखिन्छ (सर्वहारी, २०६४ः १०) । गोचाली परिवार कैलालीसँग आबद्ध अधिकांश सदस्य तथा थारू मुक्ति साप्ताहिकका सम्पादक जोखन रत्गैंया नेकपा माओबादीको पार्टी अभियानमा संलग्न भएपछि यसको प्रकाशन स्थगित भयो । सुरक्षा कारबाहीमा जोखन रत्गैया मारिएपछि यसको पुनः प्रकाशन हुन सकेन । जोखन रत्गैयाका भाइ जगत रत्गैयाले ‘मुक्तिक डगर’ बार्षिक पत्रिकालाई निरन्तरता दिएका थिए । उनी पनि पछि  सुरक्षा कारबाहीमा मारिए । गोचाली परिवार कैलालीलाई कारबाही गरिएपछि पश्चिम नेपालको थारू पत्रकारिता मात्र होइन थारू भाषा साहित्य उत्थानमा पनि ठूलो धक्का लाग्यो ।  थारू भाषाको दोस्रो साप्ताहिक पत्रिका ‘मैगर हमार सन्देश’ (मायालु हाम्रो सन्देश) हो । थाकस जिल्ला कार्यसमिति बर्दिया प्रकाशक रहेको यस साप्ताहिकका प्रधान सम्पादक गोपाल दहित हुन् । आफू सभाको जिल्ला अध्यक्ष रहेको समयमा दहितले यसको प्रंकाशन थालेका थिए । ब्यवस्थापन मिलाउन नसक्दा १७ अंकसम्म प्रकाशित भई बन्द भयो । मैगर हमार सन्देशमा बिचारमूलक लेख, हाँस्यब्यंग्य, अतिथि कलमको रूपमा नेपाली भाषामा पनि लेख छापिएको पाइन्छ । बाँके,बर्दियामा यो पत्रिका निकै लोकप्रिय थियो । “जिल्ला जनप्रतिनिधिका भ्रष्टाचार, काला कर्तुत राष्ट्रिय स्तरका पत्रपत्रिकामा नछापिदा जनता दिक्क थिए । यो पूर्ति गर्न हामीले आफ्नै भाषाको पत्रकारिता गर्न उचित थान्यो । जति अंक प्रंकाशन गर्न सक्यौ, हामी आफ्नो उद्देश्यमा सफल  रह्यौं ।” मैगर हमार सन्देश साप्ताहिकका सम्पादक सन्तराम धरकटुवा थारू भन्छन् ।   धनगढी कैलालीबाट संगम चौधरीको सम्पादनमा २०५९ सालमा प्रकाशित ‘निसराउ’ साप्ताहिक थारू भाषाको तेस्रो साप्ताहिक हो । तर जम्मा १३ अंक सम्म प्रकाशित भई यसको प्रकाशन पनि हरायो । नियमित रूपमा प्रकाशित भइरहेको एक मात्र थारू भाषाको पत्रिका पहुरा दैनिक हो । पहिले साप्ताहिक रूपमा प्रकाशित भएको यो पत्रिका क्रमगत रूपले हेर्दा यो थारू भाषाको चौथो साप्ताहिक हो । २०५९ साल चैत्र २९ गते यसको पहिलो अंक प्रकाशन भएको थियो । यसको संस्थापक प्रकाशक दिलबहादुर चौधरी, सम्पादक राजकुमार चौधरी हुन् । पछि व्यवस्थापन परिबर्तन भई लोक बहादुर चौधरी ‘लक्की’ सम्पादक÷प्रकाशक भै पहुरा साप्ताहिकलाई निरन्तरता दिए तर पुरानो ब्यवस्थापनले पत्रिका आफ्नै स्वामित्वमा हुनुपर्ने माग राखेकाले पहुरा साप्ताहिकका  प्रकाशक÷सम्पादक  चौधरीले सो पत्रिका स्थगित गरी ‘हमार पहुरा अद्र्ध साप्ताहिक’ नाम राखेर अर्काे पत्रिका जिल्ला प्रशासन कार्यालयमा दर्ता गरे । अद्र्ध साप्ताहिकको रूपमा २०६३ बैसाख ३ गते पहिलो अंक प्रकाशित यो नै थारू भाषाको पहिलो अद्र्ध साप्ताहिक हो । २०६४ साउन १ बाट हमार पहुरा दैनिक रुपमा आयो । अध्ययनको सिलसिलामा लक्की चौधरी काठमाडौं उक्लिएपछि हमार पहुरा दैनिक स्थगित भयो । २०६७ वैशाखबाट स्माइल चौधरीको प्रकाशन तथा प्रेम दहितको सम्पादनमा हमार पहुरा दैनिकलाई पहुरा दैनिकमा रुपान्तरण गरी प्रकाशन थालिएको छ । साप्ताहिक, अद्र्धसाप्ताहिक, दैनिक विभिन्न संस्करण हुँदै पहुरा, हमार पहुरा, फेरि पहुराको नाममा पहुरा दैनिक १९ वर्षदेखि निरन्तर प्रकाशित भइरहेको छ । थारू भाषाको एक मात्र दैनिक यसले थारू भाषामै पहुराडटकम पनि सञ्चालन गरिरहेको छ । थारू भाषाको पाँचौ साप्ताहिक पत्रिका ‘फुलवार साप्ताहिक’ हो । यसका सम्पादक÷प्रकाशक राधेश्याम थारू र प्रधान सम्पादक कमल प्रसाद थारू छन् । डंगौरा र डेसौरी थारू भाषाको विवादबीच डेसौरी भाषाको प्रतिनिधित्व गर्दै प्रकाशित यस पत्रिकाले आफ्नो लोगोमा “शुद्ध थारू भाषाको एक मात्र पत्रिका” उल्लेख ग¥यो । आ–आफ्नो स्थानमा सबै क्षेत्रका थारू भाषा शुद्ध छन् भन्ने बहसपछि यसले शुद्ध शब्द हटाई थारू भाषाको एक मात्र पत्रिका भन्ने लोगो राख्यो । २०६१ साल असोज १७ गते आइतबार पहिलो अंक प्रकाशित फुलवार साप्ताहिकको पहिलो सम्पादकीय शीर्षक ‘फूलवारको लक्ष्य थारू सँस्कृतिको जगेर्ना गर्ने’  रहेको छ ।  यसरी ब्यावसायिक ढंगले हकर समेत राखी उचित बजार ब्यवस्थापनका साथ आए पनि यसको प्रकाशनको मूल उद्देश्य पनि सँस्कृति जगेर्ना नै देखिन्छ । थारू जातिलाई विश्व सञ्चारसम्म पु¥याउने उद्देश्य समेत बोकेको फुलवार साप्ताहिक तीन महिनामै आफैं सञ्चारविहिन भयो । १२ अंक प्रकाशन भएर यसको प्रकाशन स्थगित भयो । व्यावसायिक रूपले नै प्रकाशन थालिएका मासिक चीरखा, अग्रासन मासिक, उकुवार भेट पनि स्थगित नै छन् । हाल ब्यावसायिक रूपमा नियमित प्रकाशित भई रहेको थारू भाषाको एक मात्र पत्रिका कैलालीको पहुरा दैनिक, दाङको लौवा अग्रासन साप्ताहिक हो । त्यस्तै साहित्यिक पत्रिकामा दाङको त्रैमासिक लावा डग्गर तथा कैलालीको त्रैमासिक हरचाली रहेको छ । यी दुबै साहित्यिक पत्रिका हुन् । २०६८ सालको जनगणना अनुसार १७,३७,४७० जनसंख्या रहेको थारू समुदायका लागि जम्मा ४ वटा पत्रिका मात्र नियमित हुनु अन्यन्त न्यून हो । ४. जनशक्ति र वितरण प्रणाली पत्रिका व्यावसायिक ढंगले जनेतेन निकालेर गाउँघरमा त पठाइन्छ तर रकम उठ्दैन । बजारमा थारू पत्रिका स्टेशनरी पसलमा झुण्ड्याएर बिक्दैन, कारण बजारसम्म गएर पत्रिका पढ्ने पाठक छैनन् । थारू समुदायबाट दक्ष पत्रकारहरू भएकाको तर तिनलाई उचित पारिश्रमिक दिएर राख्न सक्ने क्षमता थारू भाषाका पत्रिकाका सम्पादक÷प्रकाशकहरूको छैन । बर्दियाको गुलरियाबाट आफूले ब्यावसायिक रूपमा थारू भाषाको मैगर हमार सन्देश साप्ताहिकको सम्पादनमा संलग्न हुँदाका क्षण गोपाल दहित  यसरी सम्झिन्छन्– “हाम्रो पत्रिकाको माग ५ हजार थान पुगिसकेको थियो तर १५ सय भन्दा बढी छाप्न सकेनौँ । वितरण प्रणाली मिलाउन र खर्च धान्न नसक्दा पत्रिकाको परिणाम बढाउन पनि सकिएन । यसैका लागि सम्पादन, वितरण, पूर्णकालीन कर्मचारी राख्न नसक्दा पत्रिका १७ अङ्कमै स्थगित भयो ।”  प्रायः थारू पत्रिकाको नियति मैगर हमार सन्देश साप्ताहिकको झैं छ । पत्रिका व्यावसायिक ढंगले निकाल्ने जमर्काे गरिन्छ, टीम पनि बनाइन्छ तर यसको भबिष्यबारे पर्याप्त गृहकार्य गरिदैंन । मैगर हमार सन्देश साप्ताहिककै सम्पादन समूहमा रहेका सुशील चौधरी एउटै ब्यक्तिले समय दिने र गोजीबाट रकम पनि हाल्ने रोगले थारू पत्रिकाको आयु लम्बिन नसकेको जनाउँछन् । त्यसबेला ४ जनाले सम्पादनको जिम्मा लिएकोमा महिनामा एक पटक पालो आउँथ्यो । उनका अनुसार सम्पादन गर्नेले नै सो अंकको खर्च पनि बेहोर्नु पथ्र्यो । भन्छन्, “पछि समय पनि दिन सकिएन, न त गोजीबाट रकम झिक्न सकियो । यसरी बार्षिक मात्रै होइन, साप्ताहिक पत्रिका समेत विना जनशक्ति, तयारी विना सुरु गरेको देखिन्छ । सुनसरीको दुहबीबाट थारू भाषाको साप्ताहिक टिहकारी २०७६ साउन ७ बाट सुरु भएको थियो । २०७७ चैत १८ सम्म यसको ३६ अंकसम्म प्रकाशित भएर हाल स्थगित छ । यसको प्रधानसम्पादक भोलाराम चौधरी २०७७ चैतबाट थारू आयोगको सदस्यको जिम्मेवारीमा आएपछि पत्रिका स्थगित भएको हो । वान म्यान आर्मीजस्तै थारू पत्रिकामा एकजनाको मात्रै जिम्मेवारीमा रहँदा, उ अर्कै काममा अल्झिएपछि पत्रिका स्थगित हुन बाध्य हुनु टिहकारी जस्तो पत्रिकाको नियति हो ।  अहिले काठमाडौंबाट लक्की चौधरीको सम्पादनमा हमार पहुरा अनलाइन, मदन चौधरीको सम्पादनमा थारूवान अनलाइन, नेपालगन्जबाट विश्वराज पछलडंग्याको सम्पादनमा गोचालीखबर अनलाइन, धनगढीबाट उन्नती चौधरीको सम्पादनमा केरनी अनलाइन, राम दहितको सम्पादनमा कैलारी अनलाइन लगायतमा फाट्टफुट्ट थारू भाषाको समाचार आउने गरेको छ । थारू समुदाय केन्द्रीत समाचार भए पनि यी अनलाइनको थारू भाषामै समाचार पस्किने प्राथमिकतामा पर्दैन । पहुरा दैनिकको अनलाइन पहुराडटकम मात्रै थारू भाषामा रहेको छ । हरचाली साहित्यिक अनलाइन, एक परगा लगायतले साहित्यिक खुराक पस्किरहेका छन्, तर नियमित अपडेट छैन । यी पनि ‘वान म्यान आर्मी’जस्तै मात्रै छन्, यिनले थप जनशक्ति राख्ने क्षमता राख्तैनन् ।  लावा डग्गर त्रैमासिकक सम्पादक प्रकाशक छविलाल कोपिला आफ्नो पत्रिका आफैं कम्प्युटर टाइप गरेर सेटिङ गर्छन, प्रेसमा धाउँछन्, ग्राहकप्रति आफैं पु¥याउन दगुर्छन् । यसरी थारू भाषाको पत्रकारिता एक प्रकारको समाजसेवा झैं लाग्छ उनलाई । पत्रिकाकै आम्दानीबाट सम्पादक, ब्यवस्थापक पालिने अवस्था नहुँदासम्म थारू मात्र होइन, अन्य भाषाभाषीको पत्रिकाको पनि भविष्य सुखद देख्दैनन् उनी ।  ५. समेटिएका बिषयबस्तु साहित्यिक पत्रिकामा साहित्य हुने नै भयो तर व्यावसायिक रूपमा प्रकाशन भैरहेको पत्रिकामा पनि साहित्यको खुराक बढी भेटिन्छ । यी दुई खाले पत्रिकामा के कस्तो बिषयबस्तु समेटिएका छन् । समग्र रूपले बँुदागत रूपमा चर्चा गरिन्छ ।  ५.१ चाडपर्व/संस्कृति सबैजसो पत्रपत्रिकामा चाडपर्ब सँस्कृतिको परिचयले प्रर्याप्त स्थान पाएको छ । थारू जातिको प्रचलित गुरहि (नागपञ्चमी), अष्टिम्कि (कृष्ण जन्माष्टमी) अट्वारि, डस्या (दशैं), डेवारि (तिहार), ढुरहेरि (होली), चाडबाहेक खेतीपाती सकिएपछि खाइने पेंड्या, सवनिया, पानी पार्नलाई गोरु बेंह्रना चलनबारे उल्लेख गरिएको भेटिन्छ । ती चाडपर्वमा हुने फजुल खर्चबारे टिप्पणी, मौलिक चाडको ऐतिहासिकताबारे ब्याख्या भने भेटिदैन । थारूहरूको बारेमा थुपै्र विदेशी तथा स्वदेशी लेखकहरूले खोज अनुसन्धान गरेर पुस्तक प्रकाशन गरेका छन् तर तिनीहरूले हाम्रो बारेमा के लेख्छन् ? हाम्रो चाडपर्व, संस्कृतिबारे उनीहरूको टिप्पणी के छ ? यस सम्बन्धी लेख थारू पत्रपत्रिकामा अववादको रूपमा मात्रै भेटिन्छ । थारूहरूको चालचलन संस्कृतिबारे जसले जे लेखे पनि जस्तो ब्याख्या गरे पनि त्यसको समर्थन, खण्डन संशोधनबारे चर्चा नहुनु दुर्भाग्यपूर्ण अवस्था छ ।  चाडपर्ब यसरी मनाइन्छ, उसरी मनाइन्छ भन्ने सतही लेखबाहेक अरु विशद चर्चा परिचर्चा उल्लेख छैनन् थारू पत्रपत्रिकामा । चाडबाडमा फजुल खर्च गर्ने बानीले थारू सामुदायको आर्थिक अवस्था कमजोर रहेको एउटा अहम् तथ्य जगजाहेर छ । तर यस सम्बन्धमा चिरफार गरिएको लेख पत्रपत्रिकामा समेटिन सकेको छैन (सर्वहारी, २०६४ः २४) ।  ५.२ राजनीतिक समाचार, विचार  समाचारमूलक पत्रिकामा पनि राजनीतिक समाचार अत्यन्त न्यून हुनु अचम्मको अवस्था छ थारू पत्रपत्रिकामा । विचार पृष्ठमा पनि सामाजिक बिषयबस्तुलाई प्रायः स्थान दिइएको छ । त्यसमा राजनीतिक लेख अपवादकै रूपमा समेटिएका छन् । सांस्कृतिक लेखले भरिएका छन् विचार पृष्ठ पनि । थारू राजनीतिक कार्यकर्ताका विचार, अन्तरवार्ता समाचारमूलक पत्रपत्रिकामा समेटिन नसकिनु दुर्भाग्यपूर्ण अवस्था छ । जवकि सामयिक संकलनमा रूपमा प्रकाशित चिरखा मासिक, बिहान, नेउता बार्षिक पत्रिकाले थारू सांसदका अन्तर्वार्ता समेटेका छन् । अग्रसान मासिकका संस्थापक सम्पादक श्रीराम चौधरीका विचारमा पत्रिका प्रकाशनसंग सम्बद्ध ब्यक्तिहरू खास गरी साहित्यमा झुकाव राख्नेहरू नै बढी हुँदा राजनीतिक लेखले पत्रपत्रिकामा स्थान पाउन नसकेको हो । उनको भनाईमा केही हदसम्म सत्यता छ । तर लेखको पारिश्रमिक दिन नसक्ने अनि कुराकानीमा आधारित लेख तयार गर्ने जनशक्ति नहुँदा राजनीतिक लेखको खडेरी देखिएको हो । हाम्रा खास पाठक थारू भाषी हुन् । यो पक्ष जगजाहेर हुँदाहुँदै पनि थारू समुदाय, जनजाति समुदाय सम्बन्धि लेखरचनालाई प्राथमिकता नदिई पहुरा थारू दैनिकले प्रायः गोरखापत्र दैनिकको विचार पृष्ठको अनुवादित लेखरचनाले पत्रिकाको पाना भर्ने गरेको छ । यसले थारू समुदायका मुद्दाका वास्तविक बहस ओझेलमा पर्ने गरेको छ । हालै लोकसेवा आयोगमा थारूहरूका लागि छुट्टै कोटा नदिने सर्वोच्चको फैसला आयो । यसबारे जानकारीमूलक समाचार त आए तर यसले पार्ने दुरगामी असरबारे खोजमूलक समाचार, विचार आएन । सुर्खेतको साझा बिसौनी दैनिकमा २०७८ चैत ९ बाट मासिक रूपमा थारू भाषामा एक पृष्ठ फुलवार स्तम्भ सुरु गरेका साहित्यकार मान बहादुर चौधरी ‘पन्ना’ थारू भाषाका पत्रिकाका सम्पादकहरूमा बिषयबस्तुको ज्ञानको अभावको कारण सतही लेख रचनाले पत्रिका भरिएको जनाउँछन् । उनी भन्छन्– केही पत्रकारिता तालिममा मैले सहभागिता जनाएपछि आफ्नै समुदायका थुप्रै  लुकिरहेको मुद्दा कसरी केलाउने भन्ने थाहा पाएँ । थारू पत्रिकालाई राम्रो बनाउन थारू सम्पादकहरूको भेला हुनु अपरिहार्य रहेको उनी देख्छन् । ५.३ साहित्यिक स्तम्भ कथा, कविता, साधारण लेख रचनाका अतिरिक्त अब थारू पत्रिकामा नौलो विधाले पनि स्तम्भको रूपमा स्थान पाएका छन् । यसले थारू भाषा साहित्यलाई अझ फराकिलो बनाउने देखिन्छ । मैगर हमार सन्देश साप्ताहिकमा ‘पोक्टा आँरा’ (बिग्रिएको अन्डा नामक ब्यंग्य स्तम्भ नियमित थियो । त्यस्तै समसामयिक जल्दोबल्दो घटना विश्लेषण स्तम्भ ‘सिल्गल आगी’ (सल्किएको आगो) लोकप्रिय थियो ।  त्यस्तै उँकुवार भेट मासिकमा स्वास्थ्य स्तम्भका अतिरिक्त अप्ठ्यारो शब्दको अर्थ ‘पुछो लड्को मनके बाट जोन्हु मामासे’ सोध केटाकेटी मनका कुरा चन्द्रमा मामासंग आदि स्तम्भ राखिएका थिए । पुछो लड्को ... स्तम्भले बाल बालिबालिकालाई कविता लेख्न सिकाउन मद्दत गरेको थियो । लावा डग्गर त्रैमासिकले कविता, कथा, लोककथा, समालोचना, निवन्ध, नाटक, यात्रासंस्मरण, भाषा बहस, पुस्तक समिक्षादेखि धाराबाहिक उपन्याससम्म स्तम्भ राखेको देखिन्छ । पहुरा थारू दैनिकले पनि शनिबारको अंकमा साहित्यिक सामग्री दिने गरेको छ । दाङको नयाँ युगबोध, गणतन्त्र, गोरक्ष यी तीन दैनिकले सातामा एकपटक थारू भाषा पृष्ठ दिने गरेकोमा यसमा पनि प्रायः साहित्यिक लेखकै मात्रा बढी देखिन्छ ।  ५.४ सामाजिक बिषयबस्तु थारू जाति पछि प¥यो, छोरीलाई पनि छोरा सरह पढाऔं, कमैया कमलरीहरूको ब्यथा, जाँडरक्सी कम गरौं गुरुवा धामी भन्दा अस्पताललाई प्राथमिकता आदि बिषयबस्तु प्राय पत्रिकामा समेटिएका छन् । तर यस सम्बन्धमा समेटिएका लेख पनि सतही छन् । फिचर, रिपोर्टका रूपमा आउनु भन्दा सामान्य लेख रचनाका रूपमा ती बिषयबस्तुलाई स्थान दिइएको छ ।  थारू जाति पछि पर्नाका कारण के के हुन् ? कुन पक्षमा सुधार गरे यो समुदायको उन्नति हुन्छ । छोरीले उन्नति गरेर बाबुआमा पालेको उदाहरण कहाँ छ ? मुक्ति अघि कुन कमैया कमलरीलाई कुन जमिन्दारले किन र कसरी दुःख दिए ? मुक्त भएको थोरै समयमा कुन मुक्त कमैया परिवारले उन्नति ग¥यो ? जाँडरक्सीको सेवनले साँच्चिकै थारू समुदाय पछि परेको हो त ? गुरुवाले गलत सल्लाह दिदा कहाँका बिरामीलाई असर पा¥यो । बरघर ऐनको असर लगायत बारेको फिचर, खोजमूलक समाचारको अभाव छ । ६ भाषा, लेखनशैली कुनै पनि भाषिक समुदायले पत्रिका प्रकाशन गर्नुको मूल उद्देश्य भाषा सँस्कृतिको जगेर्ना हो । थारू समुदायले प्रकाशन गरेका पत्रिकाको मूल उद्देश्य पनि यही हो । साठीको दशकमै रेडियो ख्यालमा प्रंसारण भएका सामग्रीको बुलेटिन “ख्याल” मा दन्त्य त थ द ध को कुनै प्रयोग नगरी पुरै तालब्य ट ठ ड ढ को प्रयोग भई समाचार प्रकाशित भएको देखिन्छ । नेपाल आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले २०७३ साउन १ देखि ३ सम्म दाङको घोराहीमा थाकस दाङको सहकार्यमा डंगौरा थारू भाषाको वर्ण निर्धारण गोष्ठी गरेको थियो । सोही गोष्ठीबाट प्राप्त निचोड अनुसार लावा डग्गर त्रैमासिकले २०७३ साउनपछिको अंकबाट  त, थ, द, ध, क्ष, त्र, ज्ञ, ण लगायत वर्ण हटाई तालब्य ट, ठ, ड, ढ को मात्रै प्रयोग, स्थान, नामबाहेक सबै शब्द ह्रस्वमा लेख्ने शैली अपनाएको छ ।  टिहकारी साप्ताहिकले सिल इन्टरनेशनलको सहकार्यमा तयार पारेको मध्य पूर्बैया थारू लेखनशैलीलाई आधार लिएको थियो । यसरी लावा डग्गर त्रैमासिक र टिहकारी साप्ताहिक बाहेक अन्य पत्रिकाले आफ्नो लेखनशैली बनाएका छैनन् । प्रकाशनको दुइ दशक पुग्नै लागेको पहुरा थारू दैनिकको पनि कुनै लेखन शैली छैन । गत वर्ष लेखिका इन्दु थारूको पहुरा थारू दैनिकमा आफ्नो नेपाली भाषाको लेख थारू भाषामा अनुवाद भएर छापिएको थियो । ‘नेपाली व्याकरणको लेखनशैलीमा अनुवाद गरिएको लेखमा कुनै मिठास थिएन । धेरै ठाउँमा अर्थको अनर्थ लाग्ने गरी उल्था थियो,’ उनी भन्छिन्,‘मेरो लेख मात्रै होइन, दैनिक छापिने समाचारमा पनि नेपालीबाट थारू भाषामा उल्था गरेर राख्दा अर्थ नलाग्ने, थारू मौलिक शब्द छँदाछँदै नेपाली शब्दको भरमार प्रयोगले पढ्दै झर्को लाग्ने शैली छ । यसले थारू भाषाको उन्नतिमा टेवा पु¥याउँदैन ।’ ७. थारू पत्रिकामा मात्रै सीमित थारू पत्रकार  थारू पत्रिका सम्बद्ध सम्पादक/प्रकाशकहरूको सूची अन्तर्गत तालिका १ र २ लाई हेर्दा २९ ओटा थारू पत्रिकाको सम्पादक÷प्रकाशक मध्ये मूलधारको नेपाली छापा मिडियामा एक मात्र थारू पत्रकार लोक बहादुर चौधरी ‘लक्की’ गोरखापत्र दैनिकमा कार्यरत छन् । लामो समय कामना प्रकाशन, अन्नपूर्ण पोष्ट दैनिक लगायत छापा पत्रकारितामा रहेका कृष्णराज सर्वहारी हाल मूलधारको अनलाइन रातोपाटी डटकममा आवद्ध छन् । यी दुबै सम्बद्ध थारू पत्रिका पनि स्थगित भइसकेको छ । थारू पत्रिकामा मात्रै सीमित अन्य अनुहार शौखको लागि मात्रै सीमित समयका लागि थारू पत्रकारितासँग सम्बद्ध भएको देखिन्छ । यसले पनि थारू पत्रिकाको आयु लामो देखिन्न । पत्रिकामा मात्रै होइन, रेडियोमा समेत ठूलो जनशक्ति थारू समाचारमा मात्र केन्द्रीत छ । सन्तोषजनक पारिश्रमिक र आवश्यक सेवासुविधा तथा तालिमको अभावमा थारू मात्रै होइन, अन्य भाषाभाषीका कार्यक्रम पनि कामचलाउ रूपमा मात्रै तयार हुने देखिन्छ (सर्वहारीः २०६५ः २३३) । कान्तिपुर दैनिकमा कार्यरत पत्रकार गणेश राईले आफ्नो मातृभाषा वाम्बुले राईमा विगत दुई दशकदेखि लिब्जुभुजु पत्रिका नियमित प्रकाशन गरिरहेका छन् । त्यसैगरी मूलधारमा रहेका थारू पत्रकारहरूले पनि मातृभाषाको पत्रकारितामा होस्टेमा हैंसे गर्नुपर्ने देखिन्छ । मधेश आन्दोलनले मधेशी पत्रकारहरूको दायरा फराकिलो पारे पनि थरूहट आन्दोलनले थारू पत्रकारहरूको आयतनमा कुनै तात्विक परिवर्तन ल्याएन (सर्वहारी, २०६८) ।  ८. उपसंहार  पत्रिका प्रकाशनको पाँच दशक पार गरिसक्दा पनि थारू छापा पत्रकारिता व्यावसायिक रूपमा बामे सर्न सकेको छैन । छापा भन्दा बरु रेडियो, अनलाइन पत्रकारितामा थारू सञ्चारकर्मीहरू अग्रसर हुन थालेका छन् । रेडियोमा संलग्न सक्रिय थारू सञ्चारकर्मी रेडियोमा मात्र सीमित भई कलम नचलाउँदा पनि समुदायको धेरै बिषयबस्तु छापामा समेटिन सकेका छैनन् । प्राविधिक रूपले पत्रपत्रिकाको गुणस्तरमा सुधार आए पनि, संख्यात्मक रूपले पत्रिकाको बढोत्तरी भए पनि बिषयबस्तुको सवालमा छापा पत्रकारिताको गति पाँच दशक पहिलेको गोचाली पत्रिको स्तरभन्दा माथि उठ्न सकिरहेको छैन । ब्यावसायिकतासँगै थारूहरूको हक, अधिकारबारे मिशन पत्रकारिता गर्नु पनि उत्तिकै जरुरी छ, थारू पत्रकारहरूको काँधमा । संख्यात्मक रूपले पत्रिका धेरै भएकोमा नियमित छैन । नियमित हुनेको गुणस्तर उकासिन सकेको छैन । अनुवाद पत्रकारिता बढी छ । एकल अनलाइन खोल्ने अभियानमा थारू पत्रकार पनि छन् । तिनले थारू समुदायका मुद्दा उठाए पनि नेपाली भाषाको माध्यमलाई प्राथमिकता दिएका छन् । यसले थारू भाषाको लेखनशैलीको विकास हुन सकेको छैन । गोरखापत्र जस्तो सरकारी मिडियामा थारू भाषाको पृष्ठ विगत डेढ दशकदेखि आउनु स्वागतयोग्य छ । तर, लेखनशैलीकै कारण थारू भाषाको पृष्ठ संयोजक नै फेरिनु दुर्भाग्यपूर्ण छ ।  नेपाली मिडियामा पनि थारू पत्रकारहरूको उपस्थिति देखिदैछ तर गुणात्मक रूपमा सन्तोष गर्ने ठाउँ छैन । थारू पत्रकारिताको न्वारन गोचाली (२०२८) ले गर्यो । तर प्रकाशनको पाँच दशकपछि पनि यसका प्रधानसम्पादक महेश चौधरी गोचालीकालीन भाषाशैली थारू पत्रकारिताले उपर्युक्त छ भन्ने अभिव्यक्ति दिन्छन् । महेश चौधरीको जस्तो पारम्परिक सोच अनि दुइ दशकदेखि पहुरा थारू दैनिक मार्फत् थारू पत्रकारिता गर्ने समूहको पनि कुनै लेखनशैली नबनाई जे लेखे पनि थारू पाठकले पचाउँछन् भन्ने शैलीले थारू पत्रकारिताको लेखनशैली जहाँको तहीं रहने देखिन्छ । अब थारू भाषाको पत्रिकाका सम्पादक, प्रकाशकहरूले आफै स्वमूल्याङ्कन गर्ने बेला आएको छ । थारू भाषाको पत्रकारितालाई सवल बनाउन पत्रकारितामा एकल अभियान भन्दा पनि सामूहिक अभियानको खाँचो देखिन्छ । २०६७ सालमा स्थापित थारू पत्रकार संघले यस अभियानमा सक्रिय भूमिका खेल्न जरूरी देखिन्छ । सन्दर्भ सामग्री चौधरी, कृष्णराज । २०६२ । वेपत्ता छन् सगुनलाल । मूल्याङ्कन  मासिकः २४(१३८), फागुन, पृ.३० ।                                  सर्वहारी, कृष्णराज । २०६८ । मिडियामा थारू पत्रकारको अवस्था । थारू पत्रकार संघ नेपालद्वारा २०६८ साउन ९ गते काठमाडौंमा आयोजित अवधारणापत्र । सर्वहारी, कृष्णराज । २०६५ । थारू भाषामा रेडियो कार्यक्रमः संख्यामै जोड । स्वतन्त्र रेडियोको एक दशकः विकास, बहस र सामाजिक सरोकार । देवराज हुमागाई, प्रत्यूष  वन्त र कोमल भट्ट, सं., पृ. २११–२४१ । काठमाण्डौँः मार्टिन चौतारी । सर्वहारी, कृष्णराज । २०६४ । थारू पत्रपत्रिकाको विगत र वर्तमान। मिडिया अध्ययन–२ । प्रत्यूष वन्त, हर्षमान महर्जन, देवराज हुमागाई र शेखर पराजुली, सं., पृ. १–३३ । काठमाडौंः मार्टिन चौतारी । प्रस्तुत आलेख प्रेस काउन्सील नेपालको आयोजनामा मिति २०७८ चैत २१ गते दाङको घोराहीमा प्रस्तुत ‘थारू भाषाको पत्रकारिता र आचारसंहिता’ विषयक् गोष्ठीमा प्रस्तुत अवधारणापत्रको संशोधित रूप हो । अवधारणापत्रका मुख्य टिप्पणीकर्ता केवी चौधरी लगायत सुझाव दिने सबैप्रति आभारी छु ।