माघ टु लौव बरस हुइटो 

माघ टु लौव बरस हुइटो 

१३३० दिन अगाडि

|

२९ पुष २०७९

हौली परिवारको ३७औं साधारण सभा सम्पन्न

हौली परिवारको ३७औं साधारण सभा सम्पन्न

१३३४ दिन अगाडि

|

२५ पुष २०७९

मोरङ र सुनसरीका शिक्षित युवाहरुले थारू भाषा र संस्कृतिको विकास तथा सम्वद्र्धनका लागि २०४२ सालमा ‘हौली परिवार’ संस्था स्थापना गरेका थिए । सोही हौली परिवारको ३७ औं साधारण सभा शनिबार थाकसको सभाहलमा सम्पन्न भएको छ । सभामा अध्यक्ष श्रवण कुमार सुथियार थारूले संस्थाको २०७८÷७९ को बार्षिक प्रतिवेदन तथा आगामी कार्यक्रमहरुबारे प्रकाश पारेका थिए भने कोषाध्यक्षबाट आयब्ययसम्बन्धि प्रतिवेदन र आगामी आर्थिक योजना पेश गरिएको थियो । प्रदेश सभा सदस्य जयप्रकाश चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा थारू कल्याणकारिणी सभाका केन्द्रीय उपाध्यक्ष कनुलाल चौधरी, केन्द्रीय सदस्य उर्मिला चौधरी, थाकस सुनसरीका अध्यक्ष सुरेन्द्र चौधरी, थाकस मोरङका सचिव दुखाराम गच्छदारले शुभकामना दिएका थिए ।  त्यस्तै, हौलीका संस्थापक अध्यक्ष परशुराम भगत, उपाध्यक्ष रुद्रनारायण चौधरी, सचिव रामसागर चौधरी र हौली परिवारका पूर्वअध्यक्षहरु श्यामकुमार चौधरी, सम्पतलाल चौधरी, पूर्व सचिव भरतलाल चौधरी र आजिवन सदस्यहरु,  सल्लाहकारहरु तथा शुभचिन्तकहरुको पनि कार्यक्रममा सहभागिता थियो ।  साधारण सभामा थारू भाषा, साहित्य तथा संस्कृतिको विकासमा विशेष योगदान पुर्याउने परशुराम भगत, श्यामकुमार चौधरी, सम्पतलाल चौधरी र रामसागर चौधरीलाई प्रदेशसभा सदस्य जयप्रकाश चौधरीले सम्मान तथा प्रमााणपत्र प्रदान गरे ।  सोही कार्यक्रममा थारू भाषा, साहित्य, संस्कृति, शिक्षाको विकासमा योगदान पुगोस भन्ने उद्देश्यले रामसागर चौधरीबाट आफ्ना माता पिताको नामबाट पुरस्कार स्थापनार्थ पाँच लाखको अक्षयकोष घोषणा गरे ।  सम्मान ग्रहण गर्दै रामसागर चौधरी, जसले आफ्ना मातापिताको नामबाट पुरस्कार स्थापनार्थ पाँच लाखको अक्षयकोष घोषणा गरे थारू समुदायमा आईपरेको सामाजिक वा ब्यक्तिगत कामलाई सामूहिक रुपमा निःशुल्क श्रम गरेर समपन्न गरिने परम्परालाई हौली भन्दछन् । थारू समुदायको यही असल परम्पराको नामबाट हौली परिवारको नामकरण गरिएको  थियो। यस संस्थाले थारू भाषा र संस्कृतिको समसामयिक संकलनहरु हौली पत्रिका बार्षिक रुपमा प्रकाशन गर्ने लक्षय राखे पनि नियमित प्रकाशन गर्न सकेको छैन । हालसम्म हौली १४ अंक प्रकाशन भएको छ । त्यस्तै, सिल नेपालको सहयोगबाट मध्य–पूर्विया थारू शब्दकोश, मोरङिया थारू किताब प्रकाशन गरेको छ । शिक्षकहरुलाई थारू भाषा प्रशिक्षण सातौं ब्याच सम्म सञ्चालन गरिसकेको छ ।   

गन्तव्य भेटाउन नसकेको ‘गन्तव्य’

गन्तव्य भेटाउन नसकेको ‘गन्तव्य’

१३३५ दिन अगाडि

|

२४ पुष २०७९

मानहादुर पन्ना थारू नेपाली दुबै भाषामा कलम चलाउने स–शक्त साहित्यकार हुन् कृष्णराज सर्वहारी । उनी थारू भाषाका पहिलो उपन्यासकार हुन् । उनका फुटल करम उपन्यास (२०५५), डोसर घर जाइबेर मुक्तक सङ्ग्रह (२०५६), गन्तव्य उपन्यास (२०५९), थारू गुरुवा र मन्त्र ज्ञान अनुसन्धान (२०६९), थारू लोककथा–१ (२०६७), लाल केरनी उपन्यास (२०७४) लगायत करिब ३ दर्जन पुस्तक प्रकाशित छन् ।  थारू संस्कृतिमा कृष्ण चरित्र परम्पराको अध्ययन शीर्षकमा नेपाल संस्कृत विश्वविद्यालयबाट विद्यावारिधि गरेका सर्वहारी साहित्यिक रचनासँगै थारू समुदया बारेको अध्ययन अनुसन्धानमा बढी सक्रिय रहेका छन् । तर यो लेख उनको गन्तव्य उपन्यास चर्चाबारे केन्द्रीत छ । थारूहरुको नयाँ वर्ष माघ (माघी) संघारमा रहेकाले थारू समुदायकेन्द्रीत यो उपन्यासको चर्चा सान्दर्भिक रहेको छ भन्ने पंक्तिकारको ठम्याइ छ ।  सर्वहारी सामाजिक यथार्थवादी उपन्यासकार हुन् । उनका उपन्यासमा थारू समुदायलाई ऐनामा जस्तै छर्लङ्ग देखाइएको हुन्छ । गन्तव्य उपन्यासमा कमैयाहरुले भोगेका यथार्थ समस्यालाई चित्रण गरिएको छ । निम्न वर्गले अधिकार पाउनुपर्छ भन्ने वकालत गरेका सर्वहारी मानवतावादी उपन्यासकारका रुपमा चिन्न सकिन्छ । यसमा मानिस र प्रकृतिको निकट सम्बन्ध देखाइएको छ । आँधी आउनु, अविरल वर्षा हुनु, आगलागी हुनु, आकाश गर्जनु, अनिष्टको सूचकको रुपमा सङ्केत गरेका छन् । उपन्यासमा पात्रहरुको पीडादायी अवस्था र वियोगान्त स्थितिको हृदयस्पर्शी चित्रण पाइन्छ । आधुनिक नेपाली उपन्यासमा सामाजिक यथार्थवाद, मानवतावाद र कारुणिकता प्रकृतिको चित्रण उनको उपन्यासगत विशेषता हुन् ।  कथानक  गन्तव्य उपन्यास नेपालको पश्चिम तराई भू–भाग दाङ बेल्वा बञ्जारीदेखि बुह्रान क्षेत्र कैलाली, कञ्चनपुरसम्मको पेरिफेरिमा केन्द्रीत छ । दाङ बेल्वा बञ्जारी गाउँका सानैमा बुवाआमा गुमाएका बिसराम आजन्म जिवराज जमिन्दारका कमैया हुन्छन् ।  करिब २० वर्ष जिवराजका बँधुवा कमैयाका रुपमा रहेका बिसरामलाई उनकै गाउँका एकजना पढेलेखेका बालकिसुन चौधरीले उनको ऋण तिरी दिएर मुक्त गराइ आफ्नो कमैया बनाउँछन् । तर ४ वर्षमै सबै ऋण चुक्ता भएकोले बिसराम स्वतन्त्र हुन्छन् ।  बालकिसुनले बिसरामको विवाहसमेत गराइदिएर सानो झुपडीसमेत बनाइदिन्छन् । बिसराम स्वतन्त्र भएको देखेर जिवराजलाई असाध्यै पोलिराखेको हुन्छ । गाउँको ककनदार (बरघर) समेत रहेका जिवराजले गाउँमा बाटो खन्ने निर्णय गराएर बिसरामको आधा कठ्ठाको घरखेत फाल्ने प्रपञ्च रचेको हुन्छ । तर, गाउँले जिवराजकै खेतबाट गएको पुरानै बाटो कायम गर्ने निर्णय सरकारी बडाहाकिम झाले समेत गरेकाले उसको केही चल्दैन ।  अन्ततः उसले आफ्ना गुण्डाहरुलाई लगाएर माघ पर्व आउँदै गरेको समयमा राति कोही नभएको समयमा आगो लगाइदिएर बिसरामको झुपडीलाई स्वाहा पारिदिन्छ । भोलिपल्ट एकाबिहानै जिवराजले गोहीको आँसु झार्दै चौकीदारलाई बिसरामको घरको लागि काठ काट्न हाँक पार्न लगाउँछ । आफै बोक्सी आफै धामी भई गाउँले र बिसरामको मन जित्न प्रयत्न गर्दछ ।  भएको सानो झुपडी आगलागीबाट स्वाहा भएपछि बिसरामको मन पनि बेस्सरी जलेको हुन्छ । ऊ त्यस गाउँबाट छारा (बसाइँ सराइ) गरेर बुह्रान (बाँके, बर्दिया, कैलाली, कञ्चनपुर क्षेत्र) जाने निर्णयमा पुग्छ । उसले आफूलाई दुःखमा सहयोग गर्ने बालकिसुन चौधरीसँग गाउँ छाडेर जाने कुरा सुनाउँछ ।                                                                                                                                      समीक्षक मानबहादुर पन्ना दाङ देउखुरीका कतिपय जमिन्दारको अन्याय अत्याचार सहन नसकेर गाउँ नै शून्य पारेर धमाधम बुह्रानतर्फ छारा भइरहेको कुरा बिसरामलाई पनि थाहा थियो । उता बालकिसुनले आफू जन्मिएको गाउँठाउँ छाडेर नजान, यही बसेर संघर्ष गर्न सुझाउँछन् । तर, ऊ आफ्नी श्रीमती भेंग्ली, छोराछोरीलाई लिएर बालकिसुनसँग बिदा भई जान्छ । उसलाई बाटा खर्चका लागि केही रकम बालकिसुनले दिन्छन् । बिसराम बुह्रानतर्फ गन्तव्य बनाउँछ ।  माघीको समयमा सबैले आआफ्नो घरमा रमाइरहेका बेला बिसरामले गाउँ नै छाडेर जाँदा विगतमा जिवराजले छ सात वर्षको उमेरदेखि भेंडा बाख्रा, गाई गोरु चराउँदा दिएको दुःख, खुट्टामा काँडा बिझेर घाउ भएको बेला पनि छुट्टी नदिएको, आफू २०–२५ वर्षको लक्का जवान हुँदासम्म काम गर्दासमेत सौंकी नघटेको, बुवाले लगाएको ऋण ७ हजार ९ सय ८० रुपैया बालकिसुनको घरमा कमैया बस्दा चार वर्षमै चुक्ता भएको थियो । यी सबै कुरा मनमा खेलाउँदै बिसरामका परिवार गन्तव्यमा लम्किरहेका हुन्छन् । ऊ बुह्रान जाने मान्छेहरुसँगै कैलालीको बिजौरा गाउँमा पुग्छ ।  दाङको आफ्ना गाउँबाट आएका पुराना गाउँलेहरुसँगको भेटले ऊ खुशी हुन्छ । गाउँलेकै सहयोगमा त्यहाँ अर्को जिम्दार हेमराजको घरमा कमैया बस्छ । हेमराज पनि एक धूर्त जमिनदार थिए । उनका १७ जना त कमैया थिए । दिनभरि हेमराजको काम गरेर साँझ, बिहान, राति गरी ऐलानी पर्ती जग्गा खन्न जान्छ । यसरी निकै मिहिनेत गरेर ऊ त्यहाँ बस्ने घर र बारी बनाउन सफल हुन्छ ।  यसरी क्रमिक रुपमा ऊ मिहिनेत गरेर ३ विगहाको मालिक बन्न पाउँदा खुशीको सीमा हुँदैन । उसको छोरा सुख्ला पनि जवान भइसकेको हुन्छ । छोरी भुख्ली पनि तरुनी भइसकेकी हुन्छे । बिसरामले दुबै छोराछोरीको विवाह सँगै गर्ने विचारमा हुन्छ तर विडम्वना सबै चक्नाचुर हुन पुग्छ । छोरा सुख्ला त्यही गाउँमा रनपुरियाकी बुहारी झुम्कीलाई भगाएर लैजान्छ ।  झुम्कीको श्रीमान् असाध्यै सानो उमेर छ सात वर्षका थिए तर झुम्की भने वयस्कले भरिएकी थिई । झुम्कीको शारीरिक जैविक इच्छा तृप्त नहुँदा सुख्लासँग गाउँघरमा मेलापात गर्ने क्रममा मायाप्रेम बसेको हुन्छ । यो कुरा गाउँले थाहा पाएपछि सुख्लाले झुम्कीलाई भगाएको थियो । रनपुरियाले गाउँमा खेल (कचहरी) राखेर जिम्दार हेमराजको आडमा बिसरामलाई एक विगाहा जारी तिराउँछ । बडो दुःख गरेर जोडेको जग्गा दिनुपर्दा बिसरामलाई निकै पीडा हुन्छ । दसैंतिरको समयमा हेमराजको छोरो जयराज भारतको नैनीतालबाट पढाइको छुट्टीमा घर आएको हुन्छ । दाङबाट आउने बित्तिकै बिसरामले अधिया खेत लगाउनका लागि आफ्नी छोरी भुख्लीलाई कमलहरी लगाएको हुन्छ । भुख्ली लक्का जवान भइसकेकी थिई । आफ्नो घरखेत जग्गा जोडिसकेकाले यस पटकको माघीबाट घर बोलाउने र विवाह गर्ने योजना बिसरामको हुन्छ तर दसंैमा हेमराजको छोरो जयराजले एक्लै मौका पारी भुख्लीको चीरहरण गर्छ ।  भुख्लीले जयराजको अनुहार चिथोरेको, कोतरेकाले जयराजकी आमाले एकाबिहानै छोरालाई यस्तो हालतमा देख्दा हेमराजको पटरानीले निकै सोधखोज गरेपछि आमासँग भुख्लीसँग भएको घटना बताउँछ । तर यो कुरा भुख्लीले आफ्नो बुवाआमालाई बताउन सकेको हुँदैन । भुख्ली निकै उदास फुङ्ग उडेको अनुहारमा हुन्छे । यस्तो के भयो भनी उसका आमाबुवाले गुरुवा धामी गर्छन् । भुख्लीको पेटमा जयराजको पाप बढ्दै जान्छ । यो कुरा हेमराजले थाहा पाउने बित्तिकै छोरालाई नैनीताल पठाउँछ ।  यो कुरा सल्टाउनका लागि हेमराजले आफ्नै घरमा कमैया जुगनालाई टाँसो लगाएर उम्कने योजनामुताविक उसको दाजु ठगना र जुगनालाई एक्कासी आफ्नो विशेष बैठक कोठामा बोलाउँछ । जुगना र ठगना आफूलाई बोलाइएकोमा आश्चर्यमा पर्छन् । जुगना अविवाहित हुन्छ । हेमराजले उनीहरुलाई विदेशी डारु पियाउँछ । उसले भुख्लीको विवाह जुगनासँग गर्ने कुरा राख्छ तर भुुख्लीको पेटमा सानो मालिकको बच्चा छ भन्ने कुरा जुगनालाई थाहा थियो । त्यसैले ऊ मान्न तयार हुँदैन ।  हेमराजले ठगना र जुगनालाई उनीहरुको सबै ऋण (सौंकी) मिनाहा गरिदिने भनेपछि ठगनाले भाइलाई मान्न आग्रह गर्दछ । त्यति नै बेला तुरुन्तै हेमराजले बिसरामलाई बोलाउन पठाउँछ । रातिको समयमा जिम्दारको बोलावटमा शङ्का लाग्छ । बाटोमा जुगनाले भुख्लीको वास्तविक कुरा बताइदिन्छ ।  यो कुरा थाहा पाएपछि बिसरामलाई रिङ्गटा लागेझैँ भाउन्न हुन्छ । ऊ जुगनासँगै हेमराजको हवेलीको बैठक कोठामा पस्छ । बिसरामलाई अति नै रिस उठेको हुन्छ । ऊ थाहा नपाएझैँ गर्छ । बिसरामलाई पनि विदेशी डारु दिइन्छ । बिसरामले पनि तनावले गर्दा होला रक्सी निकै पिउँछ । हेमराजले भुख्लीको कुरा झिक्छ । बिसरामले सबै कुरा सुनेपछि मेरो छोरो सुख्ला सहमतिमा झुम्कीलाई भगाउँदा १ विगाहा जग्गा जारी तोक्ने जबर्जस्ती मेरो छोरीको इज्जत लुटिदा कमैयासँग विवाह गराइ उम्कन खोज्ने ? भन्दै रिसाउँछ ।  हेमराजले फकाइ फुल्याइ गरी १ कठ्ठा जग्गा दिने, ऋण माफी गरिदिने सर्त राखेर मनाउँछ । भोलिपल्टै जुगना र भुख्लीको विवाह हुन्छ । फेरि विवाहको लागि खर्च दिई हेमराजले ऋणको नयाँ तमसुक बनाउँछ । रनपुरिया भुख्लीको विवाह जुगनासँग भएकोमा निकै खुशी हुन्छ । रनपुरियाको हेमराजसँग हिमचिम बढेकोले यसै मौका छोपी जिम्दार हेमराजले आफ्नो घरमा बोलाएर भालेको मासु, विदेशी डारु खुवाइ खुवाइ उसलाई खाली कागजमा ल्याप्चे लगाएर लालपुर्जा लिइ बैंकमा धितो राखेर माछापालन गर्न पोखरी खनाउँछ । केही वर्षपछि अचानक बैंक कर्मचारी रनपुरियाको घर आइ जग्गा लिलामको खबरले ऊ पागल बन्न पुग्छ ।  हेमराजका १७÷१८ जना त कमैया मात्र थिए । उनको घरमा बस्ने कमैया बर्सौसम्म काम गर्दा पनि ऋण चुक्ता नहुने झन् झन् अङ्क थपिदै जाँदा दिक्क भएकाले एकजना कमैया रातारात भाग्दा एउटा छोरालाई नै भगाउन बिर्सेर हेमराजकै पिँजडामा कैद हुन पुग्छ । ऊ पाँच छ वर्षको उमेरदेखि २५ वर्षको उमेर पुग्दासम्म त्यही कमैया थियो । जो बाबुले छोडेर भागेका हुन्छन् । उसको नाम इङ्लिश्वा थियो । त्यो पनि एकदिन हेमराजको अन्याय सहन नसकी भाग्यो । तर भारतको सिमाना चौकीमा पक्राउ पर्यो । पुनः हेमराजले घर ल्याइ आँगनको इमिलीको रुखमा सिक्रीले बाँधी कोर्रा लगाउँछन् ।  विचरा कुटाइबाट लखतरान परेको इङ्लिश्वा पिसाब लागेपछि आग्रह गर्दा बिसरामलाई सिक्री खोल्न भन्छन् । रातको समयमा इङ्लिश्वा बेपत्ता भाग्न सफल हुन्छ । इङ्लिश्वालाई भगाएको आरोप बिसरामलाई लाग्छ । यही आरोपमा उसको ऋणमा थपथाप पारी पुनः उसको श्रीसम्पत्ति लिएर कमैया बनाइन्छ । नखाएको विष बिसरामलाई लाग्दा ऊ निकै पीडित हुन्छ । उसको घरबाट इङ्लिश्वा भागे पनि कमैयाको संख्या थपेर १९ पुग्छ ।  समय क्रमसँगै देशमा बहुदलीय प्रजातन्त्र आउँछ । कैलालीको बिजौरा, गेटा गाउँमा केही पढेलेखेका यज्ञबहादुर थारू, बलरामजस्ता युवाहरुले रात्रि कक्षा सञ्चालन गरी साक्षर गराउँछन् । बिस्तारै कमैयाहरु अक्षर चिन्न थालेपछि आफ्नो ऋणको बारेमा बुझ्न सक्ने हुन्छन् । कमैयाहरु आफूमाथि भएको अन्याय अत्याचार, चरम शोषण बुझ्न थालेपछि उनीहरुमा विद्रोहको भावना जागृत हुन थाल्छ ।  यसैको फलस्वरुप गाविस, प्रशासनमा समेत हेमराजको विरुद्धमा निवेदन दिन यज्ञबहादुरको नेतृत्वमा जान्छन् । सुनुवाइ नभएपछि विभिन्न संघसंस्थाहरुको पहलमा आन्दोलन गर्छन् । राजधानीस्थित काठमाडौँ केन्द्रीत आन्दोलन गरेपछि २०५७ साउन २ गते कमैया मुक्ति घोषणा हुन्छ ।  यसरी उनीहरु खुशीका साथ गाउँमा त फर्किन्छन् तर आफ्नो घरबास नहुँदा घर न घाटको हुन्छन् । साउने झरीमा बिसराम, जुगना, ठगवा, सुख्ला, भेंभवा सबै कमैया शिविर वन फँडानी गरी बनाएका हुन्छन् । पानीले पनि निकै सताउँछ । सरकारी निकायका कर्मचारीबाट झुपडी भत्काउने कार्य गरिन्छ ।  एकदिन कमैयाहरु काममा गएको समयमा बस्तीमा आगोसमेत लगाइन्छ । सोही बेला सुख्ला मजदुरी गर्न गएकाले सरकारबाट पाएको रातो कार्ड पनि हराएको हुन्छ । यस्तै समस्यै समस्याका बिच बिसरामको श्रीमती भेंग्लीको निधन हुन्छ । केही दिनपछि चिन्तैचिन्तामा बिसरामको पनि निधन हुन्छ ।  लास छोप्ने कफन नहुँदा झुम्कीले आफ्नो फरिया च्यातेर लास मुश्किलले छोप्छे । सुख्लालाई कमैया मुक्ति घोषणाभन्दा अभाव र मुश्किलले बाँच्नु पर्दाको जीवन कष्टकर लाग्छ । त्यसमा झन् सुख्लाको रातो कार्ड नै हराएकोले चिन्तित हुन्छ । भूमि सुधार कार्यालयमा गएर रातो कार्ड माग्दा खरदारले हकारेर पठाउँछ । बुवाआमाको मृत्युपछि कमैया मुक्ति भएको दोस्रो माघी आइसक्दा पनि धेरै कमैयाहरु जग्गा पाएका हुँदैनन् । सुख्लाको घरमा अन्नको एक गेडो हुँदैन । बिहानै मजदुरी जान्छ । सुख्ला काममा जाँदै गर्दा बाटोमा भेभवासँग भेट भएपछि पुनः कमैया बसेर सजिलो भएको बताउँछ र नयाँ कमैया पनि खोज्न भनेका कुरा सुनाएपछि उसलाई पनि कमैया बसौँ कि जस्तो लाग्छ ।  अत्तरिया बजारमा पुगेपछि सुख्ला रेडियोबाट रातो कार्ड पाएकालाई जग्गा दिने भनेपछि झसङ्ग हुन्छ । किनकि ऊसँग रातो कार्ड नै हुँदैन । अन्ततः काम नपाएपछि भेंभवाको घर मालिकको अगाडि उभिन्छ । उसले मनमनै सोच्छ के हामी साँच्चै मुक्त भएका हौ त ? उत्तर पाउँदैन  । उपन्यासको कथा यही हो । परिवेश  गन्तव्य उपन्यासको परिवेश वा वातावरणलाई हेर्दा भौगोलिक परिवेशको रुपमा नेपालको दाङ बेल्वा बञ्जारी, पश्चिम नेपालको तराई बाँके, बर्दिया, कैलाली, कञ्चनपुरसम्म आएको पाइन्छ । यस उपन्यासमा कालगत परिवेश हेर्दा पञ्चायतकालको अन्त्य र बहुदलीय शासन व्यवस्थाको पहिलो दशक २०५८ सालसम्मको परिवेश आकलन गर्न सकिन्छ ।  उपन्यासमा थारू समुदायका अति विपन्न परिवारका बिसराम, जुगना, ठगना, भेंभवा, इङ्लिश्वा, पदना जस्ता कमैयाहरुको जीवन कष्टकर, पीडादायी, शोषण, दमन भोग्नु परेको यथार्थ छ । प्रजातन्त्र आइसक्दा पनि दासत्व जीवनबाट मुक्त हुन नसकेको सन्दर्भमा सूक्ष्म विश्लेषण गर्दा पश्चिम तराईको थारू समुदायको स–शक्त सामाजिक जनजीवनको परिवेश झल्किएको छ ।  यसका साथै जिवराज र हेमराज जस्ता शोषक सामन्ती प्रवृत्तिका जमिन्दारहरु निरक्षर र गरिबीको फाइदा उठाउँछन् । सोझासाझा इमानदार निश्छल निरक्षर गरिब कमैयाका उत्पीडन, दमन, शोषणको समस्यालाई आन्तरिक परिवेशको रुपमा आएको छ । त्यसै गरी थारू समुदायको हरडह्वा पर्व, माघीको रौनकता, सखिया नाच आदि सांस्कृतिक परिवेशका सन्दर्भ आएका छन् । चरित्र चित्रण  प्रस्तुत गन्तव्य उपन्यासमा धेरै पात्रहरुको प्रयोग गरिएको छ । यसमा जिवराज, हेमराज, शुक्रदेव यादव र जयराज, सिडियो जस्ता कुुटिल, धूर्त, शोषक वर्गको प्रतिनिधि पात्रको उपस्थिति छ भने बिसराम, जुगना, ठगना, रनपुरिया, भेंग्ली, भेंभवा, भुख्ली, झुम्की, इङलिश्वा जस्ता कमैयाहरु दुःखी, गरिब, उत्पीडित, निम्न वर्गका प्रतिनिधि पात्रहरु छन् ।  यसै गरी बालकिसुन चौधरी पुगीसरी जमिनदार भएपनि गरिबहरुप्रति सहयोग गर्ने पात्र पनि आएको पाइन्छ । यज्ञबहादुर थारू, बलराम जस्ता शिक्षित युवा पुस्ताले समाज परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्न सक्ने पात्रहरुको पनि उपस्थितिले उपन्यास सशक्त बन्न पुगेको छ ।  नारी पात्रका रुपमा आएका भेंग्ली, झुम्की, भुख्ली यस उपन्यासका सहायक पात्रका रुपमा आएका छन् । जुगना, ठगवा, इङ्लिश्वा आदि सहायक पुरुष पात्रका रुपमा आएका छन् । प्रमुख पात्रहरु   बिसराम बिसराम आम कमैयाहरुको प्रतिनिधि पात्र हो । उपन्यासमा अत्यन्तै इमानदार, निरक्षर, गरिब, सानैमा बुवाआमा गुमाएको टुहुरो पात्र हो । ऊ अत्यन्तै मिहिनेती छ । बुवाले जिम्दारसँग लिएको ऋण (सौकी) का कारण कमैयाको रुपमा जिम्दार जिवराजको आजन्म बँधुवा कमैया रहेको हुन्छ । जिम्दार जिवराजको २० वर्षसम्म काम गर्दा पनि ऋण तिर्न नसकेको पात्र हो ऊ ।  दाङ बेल्वा बञ्जारीमा बालकिसुन चौधरीले जिम्दार जिवराजलाई ७ हजार ९ सय ८० रुपैँया तिरेर आफूकहाँ राखेर ४ वर्षपछि स्वतन्त्र भएको कमैया हो । आफ्नै बलबुतामा आधा कठ्ठा जग्गामा झुपडी बनाइ घरजम गरी बसेको बिसराम अस्थिर गतिशील पात्रको रुपमा चित्रित छ ।  घरमा आगलागी भएपछि बुह्रानतर्फ सुखको खोजीमा हिँडेको ऊ बुह्रान क्षेत्र कैलालीमा पनि नयाँ जिम्दार हेमराजबाट सताइएको छ । उपन्यासमा सुरुदेखि जमिनदारबाट सताइएकोले सुखको खोजीमा क्रियाशील पात्र हो । शोषण, दमन, थिचोमिचो, उत्पीडनबाट मुक्त हुन ऊ अन्तिमसम्म  क्रियाशील रहदाँ रहदै मृत्युवरण गरेको छ । जिवराज  उपन्यासमा खलपात्रको रुपमा चित्रित जिवराज दाङ बेल्वा बञ्जारीका जमिनदार हुन् । गरिब कमैया परिवारप्रति शोषण गर्ने, विभिन्न जालझेल गरी मानवता नभएका कुटिल पात्र हुन् । गरिब निम्न वर्ग, निरक्षर, सोझासाझा कमैयाहरुलाई पशुवत व्यवहार गर्ने, ऋण (सौंकी)को नाउँमा पुस्तौपुस्तालाई बन्धक बनाइ दास बनाउने पात्रका रुपमा उपन्यासको पूर्वाद्धमा देखिएका धूर्त पात्र हुन् । हेमराज हेमराज यस उपन्यासमा अर्का एक धूर्त, कुटिल, षड्यन्त्रकारी खलपात्रका रुपमा चित्रित छन् । उपन्यासको चौथो परिच्छेददेखि अन्तिसम्म गतिशील पात्र हुन् । गरिब किसान, निरक्षर कमैयाहरुमाथि विभिन्न तरिकाबाट ऋण(सौंकी) का नाममा पुस्तौपुस्ता बँधुवा कमैया बनाइ दास बनाउन माहिर दयामाया नभएको पात्र हुन् ।  कमैयाका छोरी चेली, श्रीमतीहरुलाई विग्लहरी गर्न आएको मौका छोपी यौन शोषण गर्न पछि नपर्ने कपटी स्वभावको पात्र हुन् । सरकारी कर्मचारीहरुलाई समेत आफ्नो प्रभावमा पारी निम्न वर्गको चरम शोषण गर्ने, कमैयाहरुलाई मानसिक, भौतिक यातना दिने बदमास पात्रको रुपमा चित्रित छ ।  भुख्ली  बिसराम र भेंग्लीबाट जन्मिएकी दुई सन्तानमध्ये कान्छी छोरी हुन् भुख्ली । दाङबाट छारा भई बुह्रान जाँदा सानो बालिकाको रुपमा देखा परेकी उपन्यासको मध्य भागतिर अविवाहित तरुनीका रुपमा सिधासादा निकै सुन्दर कमैयाकी छोरीका रुपमा चिनाइएकी पात्र हुन् । उनी थारू समुदायको कमलहरीहरुको प्रतिनिधि पात्र हुन् । उनी जिम्दार हेमराजको छोरो जयराजबाट बलत्कृत भएकी मुक पात्र हुन् ।  आफूमाथि जघन्य यौन शोषण हुँदा पनि अभिभावकसँग भन्न नसक्नु, कुनै प्रतिवाद नगरी कमैयासँग विवाह गर्न राजी हुनु जस्ता कमजोरी भुख्लीमा देखिन्छ । अभिभावकसँग नभनेकाले मानसिक रुपमा पीडित पात्रका रुपमा आएकी छिन् । हेमराजले आफनो छोरोको कर्तुत लुकाउन ऋण मिनाहा गरिदिने प्रलोभनमा कमैया जुगनालाई फकाइ फुल्याइ उसैसँग विवाह गराइ दिएकी पात्र हुन् ।  भाषाशैली  प्रस्तुत उपन्यासको भाषाशैली हेर्दा सरल र सटिक छ । संवादहरु, पात्र, कथानक  परिवेश अनुकूल रहेको पाइन्छ । ठाउँ ठाउँमा थारू समुदायमा बोलिने कथ्य भाषाको समेत प्रयोग भएको छ । साथै उपन्यासको भाषिक बिम्व र प्रतीकको पनि प्रयोग गरिएको पाइन्छ ।  उपन्यासको सुरुवातमै जिम्दार जिवराजले बिसरामको ऋण भएकाले कमैया बसेको देखाउनु, ऋण तिर्न नसकेर कमैया बसेकालाई कम पारिश्रमिक दिई प्रतिवर्ष ऋण घटाउनुको सट्टा अङ्क थपिदै जानाले छोराछोरीसमेत बँधुवा हुनु, जमिनदारबाट शोषित भई छारा (बसाइँ सराइ) भई जाँदा नयाँ ठाउँमा पनि नयाँ जिम्दारबाट शोषित दमित भई बिल्लीबाँठ हुनु, राज्यबाट कमैया मुक्ति भई शिविरमा बस्दा साउने झरी परेको अवस्थालाई दुःखको प्रतीकको रुपमा प्रयोग गरिएको छ ।  गन्तव्य उपन्यास संवादात्मक शैलीमा लेखिएको छ । यसमा भएका संवादका अंशहरु नाटकीय शैलीको मिश्रण पाइन्छ । घटना वर्णनको शैली वर्णनात्मक समास शैलीको रुपमा प्रयोग गरिएको छ । उपन्यासमा घटना तीब्र गतिमा अग्रसर भएकोले अन्तिम एघार, बाह्र तेह्र परिच्छ्ेदतिर कथावस्तु दौडिएझैँ लाग्छ ।  समग्रमा कमैयाहरुप्रति सहानुभूति, कारुणिकता, मर्मस्पर्शी र उनीहरुप्रति न्याय हुनुपर्ने भावना उत्पन्न हुने एवम् जिवराज र हेमराज जस्ता पाशविक व्यवहार मानवीयता नभएको व्यक्तिप्रति घृणा, रिस, क्रोध उत्पन्न गराउने खालको भाषाशैलीको प्रयोग गरिएको पाइन्छ । सरसर्ति उपन्यास पढ्दा कुनै फिल्म हेरेँझै लाग्छ । उद्देश्य विश्व मानवताको २१औँ शताब्दीमा प्रवेश गरिसक्दा पनि नेपालको सामाजिक मानचित्रमा कतिपय समुदायहरुमा मध्ययुगीन बर्बरताको अवशेष अझै जीवित मात्र होइन क्रियाशील पनि छ भन्ने कुरा यस उपन्यासमा पाइन्छ ।  यहाँ मानिसका हातबाट मानिस किनिने र बेचिने अवस्था छ । ऋणका नाममा पुस्तौ पुस्तासम्म कमैयाहरुलाई पशुझैँ अदृश्य किल्लामा बाँधेर दासत्व बनाउने जमिनदारहरु छन् । पश्चिमी भेगको थारू समुदायको नारकीय जीवन बिताउने विवश कथा यस उपन्यासमा छ । देशमा प्रजातन्त्र आयो, गणतन्त्र आयो तर कमैयाहरुको जीवनमा कुनै पनि परिवर्तन ल्याउन नसकेको कुरा अभिव्यक्त गरिएको छ ।   उपन्यासभित्र जमिनदारको बर्बर दमन शोषणले कमैयाहरुको जनजीवनमा अस्तव्यस्त पारिएकाले कमैया आन्दोलनबाट प्राप्त उपलब्धि पनि सार्थक बन्न सकेको छैन भन्ने दृष्टिकोण आएको छ ।  ऋणको चक्रव्यूहमा आम कमैयाहरु कैदीपूर्ण जीवन बाँच्न विवश छन् । षड्यन्त्रकारी जमिनदारहरु कमैयाहरुलाई प्रपञ्चमा फसाउन कसरी पखेटा काट्छन् भन्ने सामाजिक यथार्थवादी धरातलबाट उपन्यासकारले न्यायिक दृष्टिकोण अघि सारेका छन् ।  बिसराम जस्ता कैयौँ कमैयाहरु आशावादी र उज्यालोतर्फ उन्मुख हुने उद्देश्यले बुह्रान पसे पनि अर्काे नयाँ ठाउँमा पनि जिवराजभन्दा अझै क्रुर सामन्ती, धूर्त जिम्दार फेला पर्नुले हरेक ठाउँमा समस्यै समस्याको चुङ्गुलमा परेको कुरालाई देखाउन खोजिएको छ ।  उत्पीडित निमुखा, निरक्षर निम्न वर्गको संरक्षणभन्दा दमन शोषण गर्न जमिनदारकै पक्षमा सरकारका कर्मचारीहरु गरिब वर्गमाथि नै पीडामाथि पीडा थप्ने यथार्थ यस उपन्यासमा पाइन्छ । संरचना प्रस्तुत उपन्यास १३ परिच्छेद र १०७ पृष्ठमा विस्तारित छ । संरचनामा हेर्दा लघु आकारको छ । थारू समुदायको कमैयाहरुले भोग्नु परेको समस्या र यथार्थलाई आधार बनाइ उपन्यास लेखिएको छ ।  सुरुको दुई परिच्छ्ेदमा दाङको बेल्वा बञ्जारी गाउँमा जिवराजको कमैया भएको बिसरामलाई सोही गाउँको जमिनदार जिवराजबाट सताइएपछि बुह्रान पसेका बिसराम जस्ता कैयौँ कमैयाहरुको जीवन कष्टकर पीडादायी बन्न पुगेको कुरा ११ परिच्छेदसम्म लम्बिएको छ ।  १२ र १३ परिच्छेदमा कमैया मुक्तिका लागि संघर्षहरु उल्लेख गर्दै अन्तिममा उच्च वर्ग जमिन्दारहरुबाट मुक्ति भएपनि सरकारी निकायबाट समेत अधिकार नपाउँदा पुनः कमैया बन्नुपर्ने वाध्यता सिर्जना हुनु विडम्वना हो भन्दै कथा टुङ्ग्याइएको छ ।  शीर्षक सार्थकता  प्रस्तुत उपन्यासको शीर्षक ‘गन्तव्य’ शब्दको निर्माण ‘गम्’ धातुमा ‘तव्य’ प्रत्यय जोडेर बनेको छ । जसको अर्थ गइने ठाउँ, जाने वा पुग्ने स्थान भन्ने बुझाउँछ ।  थारू नेपाली दुबै भाषामा कलम चलाउने कृष्णराज सर्वहारीको चर्चित यो गन्तव्य (२०५९) उपन्यासमा थारू समुदायमा कमैयाहरुको मूलभूत समस्यामा केन्द्रित यथार्थवादी उपन्यास हो । यस उपन्यासमा आधारित विषयवस्तु घटनाका आधारमा शीर्षक राखिएको छ ।  उपन्यासका नायक बिसरामको मूल गन्तव्य कमैया जीवनको उत्पीडनबाट मुक्ति पाउनका लागि सुखका साथ जीवन जिउने नै थियो र त्यो प्राप्त हुन नसक्दा उनको जीवन दुर्घटित भई समाप्त भएको छ । उनको छोरा सुख्लाले पनि गन्तव्यकै क्रममा रहेकाले शीर्षक सार्थक जस्तो लाग्छ ।  यस्तै अन्य कमैया पात्रहरु जुगना, ठगना, इङ्लिश्वाले पनि गन्तव्य उन्मुख पात्र छन् तर गन्तव्यमा पुग्न नपाइ दुर्घटित हुन पुगेकाले प्रतिकात्मक रुपमा शीर्षक उपयुक्त छ  ।  उपन्यासमा सबै पात्रका आआफ्नो गन्तव्यतर्फ उन्मुख देखिन्छन् तर पाठकलाई गन्तव्य भेटाउन नसकेको महसुस हुन्छ । खासमा कमैयाहरु दासत्वबाट मुक्त हुन सकिरहेको देखिदैन । यद्यपि कमैयाहरु संगठित भइ आफ्ना हक अधिकारका लागि, शोषण, दमन, अन्याय अत्याचार, उत्पीडनको विरुद्धमा उभिन जागृत गरेकाले आशावादी दृष्टिकोण यस उपन्यासमा आएको छ । संगठित आन्दोलनकै कारण उपन्यासमा राज्यबाट कमैया मुक्त घोषणा हुनुले गन्तव्य भेटिएको शीर्षक अनुकूल छ । निष्कर्ष  कृष्णराज सर्वहारी थारू समुदायका कला संस्कृति, परम्परा, रहनसहन, मूल्यमान्यता आदि लगायत मूलभूत कमैयाहरुको समस्याहरुबारे बुझेका उपन्यासकार हुन् । थारू नेपाली दुबै भाषामा कलम चलाउने सर्वहारीले यस उपन्यासमा बिसराम, जुगना, ठगना, भेंभवा, पदना, रनपुरिया, सुख्ला आदि कमैयाहरुको माध्यमबाट कमैयाहरुमाथि जमिनदारहरुले गरेको अन्याय, अत्याचार, थिचोमिचो बर्बरताको जीवन्त चित्रण पाइन्छ ।  कमैयाहरुको कथा व्यथा बोकेको यो उपन्यासमा सानो ऋणको थैलीबाट सुरु भएको कमैयाका ऋणमा प्रतिवर्ष अङ्क थपिदै पुस्तौ पुस्तासम्म कमैयाका परिवारहरुसमेत दासत्व जीवन बाँच्नुपर्ने यथार्थ पाइन्छ ।  इमानदार, निश्छल, निरक्षर कमैयाहरु सदैव अबोध हुन्छन् । तिनीहरुमाथि जिवराज, हेमराज जस्ता धूर्त कुटिल शोषकहरु हालीमुहाली गरिरहन्छन् । कमैयाहरु सधैँ जिम्दारका प्यादा बन्दछन् ।  सरकारी निकायका कर्मचारीहरु पनि हेमराज, जिवराज जस्ता जमिनदारहरुको रखौटी बन्नु, कर्मचारीहरु गरिब निरक्षर गाउँबस्तीमा आफ्नो जिम्मेवारी भुलेर उनीहरुको अस्मितासँग खेल्न खोज्नु, गरिबी अभावमा पिल्सिएका वर्गको अनुचित फाइदा लिने उच्च वर्गले दासत्व मनस्थितिबाट माथि उठ्न नसक्नु, जस्ता घटनाले समाजमा न्याय दिने निकाय पनि ठुलाठालुको बन्दी बनेको प्रति उपन्यासकारले प्रश्न उठाएका छन् । उपन्यासमा अधिक पात्रहरुको उपस्थितिले पाठकलाई कथावस्तुको संयोजन बुझ्न हम्मे हम्मे परे पनि सरसर्ति पढ्दा चलचित्र हेरेझैं लाग्छ । वीरेन्द्रनगर, सुर्खेतका लेखक शिक्षण पेशामा आवद्ध छन्

आध्यात्मिक प्रेम  

आध्यात्मिक प्रेम  

१३४२ दिन अगाडि

|

१७ पुष २०७९

प्रेममा मन कस्तो हुन्छ ? सिमलको भुवाजस्तै कोमल हुन्छ  नदीको पानीजस्तै कञ्चन हुन्छ  समुद्रको छालजस्तै तरंगित हुन्छ  हिमालबाट बहेको वायुजस्तै शीतल हुन्छ  मन त समयजस्तै हो  कुनै सिमाना हुँदैन  ब्रह्माण्डमा डुल्दछ आकाशमा दौडिन्छ शून्यतामा पौडिन्छ  वायुसँगै बग्दछ बर्षासँगै बर्सिन्छ  स्वच्छ र निर्मल हुन्छ  त्यही मनले प्रेमको लहर बनाउँदछ  त्यही लहरले पात्र खोज्दछ त्यही प्रेम प्रसारित हुन्छ तिमी र ममा  अनि, समयको चक्रकै बीचमा त्यही प्रेमले तन र मनको  सम्पूर्ण अस्तित्व एकाकार गरी  शून्य बनाइदिन्छ  तन बिछोडिएपनि मनको प्रवाहमा  जीवन्त बनेर प्रेम प्रवाहित भइरहन्छ  प्रिय,  तिमी साँच्चिकै निर्दयी बनिदिएको भए हुने तिम्रो प्रेममा अलिकति अधूरोपन  बाँकी राखिदिएको भए हुने नि  तनले त्यागेर गएपनि  अन्तरहृदयको गहिराइबाट  चुपचाप प्रेम प्रवाह गरिरह्यौ दूर क्षितिजबाटै पनि  मौनरुपमै तिमीले प्रेम गरिदियौ  त्यही प्रेमको लयमा  हामी एक भइरहेका रैछौँ नि  हेर त प्रिय,  युगौँको बिछोडमा तनले  उमेरको आफ्नो प्रकृति छोडेन  समयको चक्रमा पुलुक्क हेर्दै तिम्रो प्रेमीको तन बिसर्जित हुने आशामा  पर्खेर बसेका जीवले  अब के खालान् त ?  चिहान खनेर पनि के पाउलान् र ?  अग्निमा जलेर धुँवा बनी बहँदा पनि  वायुका जीवले केही नपाउने भए नि .  भौतिक अस्तित्व समाप्तिमा  आफ्नो जीवनको आधार बनाउने  धमिरा र कमिलाको भाग पनि बाँकी नराखीकन  मनले नै रित्याइदियौ तिमीले  ती आशाले हेरिरहेका नजरलाई निरास पार्दैै  सम्पूर्ण अस्तित्व खिचिदियौ तिमीले .  गिद्ध बलियो छ  स्यालहरु फूर्तिला छन्  हुँडारहरु कुइँकुइँ गरिरहेकै छन्  किराहरु सकपकाइरहेकै छन्  आफ्नो भाग आउने आशामा  तर ती सबैलाई तिमीले  निरास बनाइदिएकी छौ प्रिय   प्रिय,  तिम्रो ममताको मापन नै छैन  तिम्रै प्रेममा लीन भएर  तिम्रै प्रेममा बिलीन भएर  शून्य आकाशमा मनलाई डुलाइरहेको छु  धर्तीमा आशा गरेर बसिरहेका जीवलाई  निराश पारेर .  प्रिय,  तिम्रो प्रेमको प्रचण्ड रापले  हाड मक्किइसकेको छ  छाला चाउरिइसकेको छ  मांस डढिसकेको छ  नशा सुकिसकेका छन्  मस्तिष्क खुम्चिइसकेको छ  जीवन अस्तित्व मेटिइरहेको छ  अनन्त यात्रारम्भ अगाडि  दुई अस्तित्वको पुनर्मिलनको आशामा तिम्रा क्षितिजतर्फ हेर्दै नजरहरु पर्खिरहेका छन्   अब एकपटक फेरि फर्केर आऊ भो प्रिय,  अनन्तमा प्रस्थान हुनु अगावै अँगालोमा लपेटिएर  अनन्त आकाशमा कावा खाँदै  प्रेममा लीन हुन ।

छोराको जन्मदिनमा रेशम चौधरीको कविता ‘आभू तिम्रो जन्मदिनमा’

छोराको जन्मदिनमा रेशम चौधरीको कविता ‘आभू तिम्रो जन्मदिनमा’

१३४३ दिन अगाडि

|

१६ पुष २०७९

रेशम चौधरी तिमी आएपछि संसार उज्यालो भयो रात बिलाएर गयो सूर्य उदाएर आयो बिस्तारै किरणहरु पुञ्जभै फक्रिदै जाँदा आकाश मात्रै खुलेन, चरा चुरुङ्गीको चिरविराहटले जग गुञ्जायमान भएर आयो हामी मुस्कुरायौँ  तिम्रो बालसुलभ रुवाइमा कोख साटासाट गर्दै काखमा तिमी खिलेको क्षण स्वप्न स्वप्न झैँ रहेन स्वर्गानुभूतिको रस्स्वादनमा हामीले भरपूर रसपान गर्‍यौं – आभू, तिम्रो जन्मदिनमा नरुच्ने केही थिएनन् नपच्ने केही थिएनन् अमृतझैँ मानेर घुटुघुटु दूध पिउँथ्यौ तिमी पिठो होस कि लिटो कपाकप कुपुकुपु खान्थ्यौ तिमी सन्तोषले सातु खाएर होला तिमी मोटु बनेर गोलु कहलियौ बडेमान अजीव अजङ्गको गोलुलाई तिम्री आमाले गुन्द्रीमा बसाइदिँदा तिमी ढुनमुन्न भै पछारिन्थ्यौ पछारि“दा पनि नरुने गोलु देखेर हामी पेट मिचिमिचि हाँस्थ्यौँ आज जेलको एकान्तले यही सम्झिरहेछुँ – आभू, तिम्रो जन्मदिनमा हामी जन्मिदा जन्मदिन मनाउने चलन थिएन केक त कलेज पढ्दा मात्रै खाइएको हो तर तिम्रो जन्मदिन हाम्रा लागि हर साल उत्सव बनेर आउँछ एकदिनको भएपनि पर्व बनेर आउँछ संयोग यस्तै भो एकवर्ष तिमी दुईसालको थियौ क्या रे ! फूलवारी महोत्सवको उमङ्गमा कलाकार बाटिकाभित्र बरिष्ठ कालकार नीर शाह, कवि राजेन्द्र थापा, द्वन्द्व निर्देशक राजेन्द्र खड्गी महानायक राजेश हमाल, नायक आर्यन सिग्देलको बीचमा तिम्रो जन्मदिनको केक काट्ने सुरसार गर्दैथियौँ हामी रन्जिता र म आतिथ्यका लागि कतै अलमलिएको बेला मैनबत्ती नबुताई, तारतम्यै नगरी अगाडि राखेको केक बाल अन्जानले तिमी कपाकप खाइदिँदा मज्जाले हाँसेका थियौँ हामी आज त्यही सम्झेर डिल्लीबजार जेलमा खितखितिइ रहेको छुँ म – आभू, तिम्रो जन्मदिनमा एक विहानी मर्निङ वाकमा टीकापुरको खड्ग चोकमा अचानक ढल्यौ तिमी श्रावणको महिना झरिले हिलाम्यै बाटोमा लड्दा सकि नसकि समिपको अस्पताल पुर्‍यायाएँ तिमीलाई डाक्टरको प्रतिकृया आयो जत्ति छिटो नेपालगञ्ज लैजाउ आमाको कोखमा छटपटाउँदै तिमीले फुस्रो आँखा लगाउँदा हामी बाटोभरी डाँको छोडी–छोडी रोयौँ कुल देवता, इष्ट देवता, भएभरका देवता पुकार्‍यौँ त्यस भयङकर दिन दैवले पनि भयङकरै परीक्षा लियो, हामीसँग श्रावणको भेलले बर्दिया राष्ट्रिय निकुञ्ज भेलमय थियो त्यो भेलको भङ्गालोमा तिमीलाई कोखमा बोकेर तार्ने शक्ति कहाँबाट आयो कुन्नी ? ईश्वरको भरोसामा अस्पताल पुर्‍याउँदा एक इन्जेक्सनले तिमी तङ्ग्रिएको सम्झिँदा आजपनि सिरक गुटुमुटु पारेर भक्कानिन्छु – आभू, तिम्रो जन्मदिनमा समयको हुण्डहरुले झेल गर्‍यो तिमी काठमाण्डौं रह्यौ, म प्रवासमा लागेँ तिम्रो मागका अगाडि नतमस्तक हुने मेरो बानी थाहा भएरै यतैबाट एकदिन आफ्नो जन्मदिनको फर्माइसमा साइकल माग्यौं प्रवासमा पनि तिम्रो वचन मैले कसरी टार्न सक्थेँ र ? थाहा छ आभू ? तिम्रो त्यो साइकल उपहार प्राप्तिका लागि मैले कति गुहारेँ ? कति साथीसँग हातपाउ जोडेँ ? अन्ततः त्यो पुकार पनि मेरा दयालु मित्रले सुने र तिम्ले साइकल पायौ जन्मदिनको उपहारमा पाएको साइकल कुदाएको भिडियो पठाउँदा दिल्लीमा म कति भावुक भएँ – आभू, तिम्रो जन्मदिनमा आज म निर्दोष भएपनि सदरखोरमा छुँ तिमी कहिलेकाहीँ आउँछौ बाबा ! घर जाउँ भन्छौ म जेललाई होष्टल भनेर ढाँट्छु पढाइ सिद्धियो भने आउँछु, भन्छु कहिलेकाहीँ त बाबासँगै सुत्छु भन्छौ फकाइ फुल्याइ पठाउँछु पठाएपछि तिम्रा ममत्वले कत्ति छाती चिरिन्छ, थाहा छ ? जेलको जीवन न हो न डाँको छोडेर रुन सक्छुँ न हात समाएर तिमीसँग हिड्न सक्छुँ आखिर एक बाउ न हुँ ईश्वरसँग सदासर्वदा एउटै प्रार्थना गर्छु“ प्रभु ! दशरथ भएर मर्न नपरोस् यसपालीको तिम्रो जन्मदिनमा पनि ताली बजाउन पाइन हेप्पी बर्थ डे आभू भन्न पाइन पुस्तक बेचेको पैसा थोरै सँगालेर पठाइदिएको छुँ उपहार आफै किन्नु छोरा- आभू, तिम्रो जन्मदिनमा आशीर्वाद सदा कुशल, सक्षम रहनु धर्तीमा जुनी रहेसम्म इच्छाएका मनोकामना पूरा होस् आफूले सधैं चिताएसम्म दुबो झैँ जीवन होस् बेली झैँ सुगन्ध फैलोस् जन्मदिनको शुभकामना आभूषण तिमीलाई म, मेरो जुनी यस जगमा रहेसम्म ! शुभकामनाका लावा बनुन् मेरा यी अक्षर- आभू, तिम्रो जन्मदिनमा सुख शान्ति समृद्धिको सदा आगमन होस्- आभू, तिम्रो जन्मदिनमा !! सदरखोर, डिल्लीबजार, काठमाडौं  

७ औं राष्ट्रिय थारु साहित्य सम्मेलन बाँकेको फत्तेपुरमा हुने

७ औं राष्ट्रिय थारु साहित्य सम्मेलन बाँकेको फत्तेपुरमा हुने

१३४७ दिन अगाडि

|

१२ पुष २०७९

७ औं राष्ट्रिय थारुसाहित्य सम्मेलन बाँकेको राप्ती सोनारी गाउँपालिका–६, फत्तेपुर सिधन्वामा हुने भएको छ ।  थारु लेखक संघ नेपालले थारु गोचाली समाज फत्तेपुर, बाँकेको सहकार्यमा आगामी माघ २०, २१ र २२ गते ३ दिने राष्ट्रिय सम्मेलन आयोजना गर्न लागेको हो ।  यस बर्ष बाँकेमा राष्ट्रिय सम्मेलन हुने भएपछि साहित्यमा रुझान रँखने बाँकेका थारु युवाहरु उत्साहित भएका छन् । राष्ट्रिय सम्मेलनको लागि सहआयोजक थारु गोचाली समाज फत्तेपुरले विभिन्न चरणमा तयारी बैठक थालेको छ । यसै क्रममा थारु गोचाली समाजका अध्यक्ष देखलाल थारुको अध्यक्षतामा शनिबार बसेको बैठकले थारु राष्ट्रिय साहित्य सम्मेलन आयाजेनाको मिति तय गर्नुका साथै सम्मेलनका लागि विभिन्न तयारी समिति गठन गरी जिम्मेवारी बाँडफाँट गरेको छ ।  थारु लेखक संघका सदस्य शेखर दहितको संयोजकत्वमा प्रस्तावना तयारी समिति, गोविन्द दहित चौधरीको संयोजकत्वमा ब्यवस्थापन समिति, सोमनाथ थारुको संयोजकत्वमा स्वागत सत्कार समिति, कालुराम थारुको संयोजकत्वमा समन्वय तथा सहकार्य समिति, सुन्दरलाल थारुको संयोजकत्वमा आर्थिक संकलन समिति, सुनिता थारुको संयोजकत्वमा साँस्कृतिक समिति गठन गरिएको थारु गोचाली समाजका महासचिव कालुराम थारुले जनाए ।  सम्मेलनमा झापादेखि कञ्चनपुर सम्मका थारु साहित्यकारहरुको सहभागिता रहने थारु लेखक संघ नेपालका केन्द्रीय सदस्य तथा जंग्रार साहित्यक बखेरीका केन्द्रीय अध्यक्ष सोम डेमनडौराले जानकारी दिए । सम्मेलनमा विभिन्न विधाका साहित्य वाचनसँगै सम्मेलन आयोजना हुने जिल्ला तथा स्थानीय स्तरको एजेण्डालाई विशेष प्राथमिकता दिएर ब्यापक बहस, प्यानल छलफल गरिने उनले बताए ।  ७औं राष्ट्रिय थारु साहित्य सम्मेलनमा समग्र बाँके जिल्ला र राप्ती सोनारीको मुख्य समस्या तथा समाधानको उपाय, शिक्षाको अवस्था, बरघरहरुको एजेण्डा, नयाँ जनप्रतिनिधिहरुको कामको प्राथमिकता लगायतका विषय उठान गर्न सकिने बखेरीका अध्यक्ष डेमनडौराको सुझाव थियो ।  तयारी बैठकमा थारु लेखक संघ नेपालका केन्द्रीय सदस्यद्वय शेखर दहित, बालिका चौधरी, सम्मेलनका संयोजक लक्ष्मी चौधरी, सहसंयोजक श्रीदेवी थारुलगायत स्थानीय युवाहरुको सहभागिता थियो । थारु लेखक संघ नेपालले प्रत्येक बर्ष फरक फरक जिल्लामा आयोजना गर्दै आएको राष्ट्रिय सम्मेलन सम्बन्धित जिल्लाका थारु समुदायसँग सम्बन्धित संस्था, क्लव तथा समूहलाई स्थानीय स्तरमा आयोजक तथा ब्यवस्थापनको जिम्मा दिने गरेको छ । यसमा प्यानल छलफ, संयुक्त रुपमा पुस्तक विमोचन, पुस्तक मेला, साहित्यकारहरुलाई पुरस्कार, सम्मान प्रदान गरिन्छ ।  दाङको घोराहीमा २०७३ सालमा पहिलो राष्ट्रिय थारु साहित्य सम्मेलन गरी कृष्णराज सर्वहारीको अध्यक्षतामा थारु लेखक संघ नेपाल गठन गरिएको थियो । दोस्रो राष्ट्रिय थारु साहित्य सम्मेलन कैलालीको पटेला, तेस्रो सम्मेलन बर्दियाको बढैयाताल, चौथो सम्मेलन रुपन्देहीको सैनामैना, पाँचौ सम्मेलन सुर्खेतको वीरेन्द्रनगरमा भएको थियो । त्यस्तै गत वर्ष २०७८ मा कञ्चनपुरको सिंहपुरमा छैठौ सम्मेलन भएको थियो । छैठौ सम्मेलनको स्मारिका प्रकाशनको तयारी भइरहेको थारु कल्याणकारिणी सभा, कञ्चनपुरकी जिल्ला अध्यक्ष सुनिता चौधरी सानुले जनाइन् ।