बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

१०३६ दिन अगाडि

|

१७ कात्तिक २०८०

कर्मचारीहरुलाई कानुन विपरीत कुनै पनि काम नगर्न मन्त्री श्रेष्ठको निर्देशन

कर्मचारीहरुलाई कानुन विपरीत कुनै पनि काम नगर्न मन्त्री श्रेष्ठको निर्देशन

१०३६ दिन अगाडि

|

१७ कात्तिक २०८०

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रन्जिता श्रेष्ठले कानुनबमोजिमको अधिकार प्रयोग गरेर आम नागरिकहरुको समस्या समाधान गर्न कर्मचारीहरुलाई कानुन विपरीत कुनै पनि काम नगर्न निर्देशन दिएकी छन् । गुठी संस्थानको ६०औँ वार्षिकोत्सव समारोह शुभारम्भ गर्दै उनले नागरिकको काम छिटोछरितो गरी उनीहरुलाई सहज सेवा प्रदान गर्ने दायित्व कर्मचारीको भएको बताइन् । कतिपय अनियमितताको कार्यमा कर्मचारी नियम मिचेर काम गर्ने गरेको गुनासो आएको बताउँदै उनले त्यस्तो कार्यमा कसैको संलग्नता पाइएमा कारबाही गर्ने प्रतिबद्धता जनाइन् । मन्त्री श्रेष्ठले गलत नियत राखेर जनताको काममा ढिलासुस्ती गर्ने अथवा माथिल्लो निकायको आदेश भनेर कानुन विपरीत काम गर्ने कर्मचारी कारबाहीको भागेदार हुने उल्लेख गरिन् । संस्थानमा कतिपय ऐन कानुनको अभावका कारण जटिलता देखिएको चर्चा गर्दै उनले त्यसको समाधानका निम्ति आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् । गुठीका जग्गा अतिक्रमणका घटना बढ्दै गएकाले त्यसलाई नियन्त्रण तथा नियमन गर्नुपर्नेमा जोड दिँदै मन्त्री श्रेष्ठले भनिन्,  “कतिपय ऐन कानुनका साथै कर्मचारी अभाव छ, ती समस्या समाधान गर्न हामी छिट्टै ऐन संसद्मा पेस गर्ने तयारीमा छौँ ।” कर्मचारीको स्तरवृद्धिका निम्ति आवश्यक विनियमावली स्वीकृतिका लागि मन्त्रालयले प्रक्रिया अघि बढाउने जानकारी दिँदै उनले त्यसपश्चात् संस्थानको रिक्त पद पूर्तिको प्रक्रिया अगाडि बढाउने प्रस्ट पारिन् ।

नेपाली क्रिकेट टोली विश्वकपमा छनोट

नेपाली क्रिकेट टोली विश्वकपमा छनोट

१०३६ दिन अगाडि

|

१७ कात्तिक २०८०

काठमाडौँ । नेपाल ट्वान्टी-२० विश्वकपमा छनोट भएको छ । शुक्रबार मुलपानी क्रिकेट मैदानमा सम्पन्न सेमिफाइनल खेलमा नेपाल संयुक्त अरब इमिरेट्स (यूएई) लाई आठ विकेटले हराउँदै नेपाल टी—२० विश्वकपमा छनोट भएको हो ।  जितसँगै नेपाल एसियाली क्षेत्रको अन्तिम चरणको छनोट प्रतियोगिताको फाइनलमा पनि पुगेको छ । नेपालले अब आइतबार हुने फाइनलमा ओमानसँग उपाधिका लागि भिडन्त गर्नेछ ।  नेपालले दशकपछि ट्वान्टी-२० विश्वकप खेल्न लागेको हो । नेपालले यसअघि पहिलो र पछिल्लो विश्वकप २०१४ मा बंगलादेशमा खेलेको थियो । ९ वर्षअघि विश्वकप खेलेको नेपाली टोलीका सोमपाल कामी अहिले पनि प्रमुख खेलाडीका रूपमा रहेका छन् । ट्वान्टी-२० विश्वकप छनोट एसिया क्षेत्र अघि भएको नेपाल ट्वान्टी२० आई शृंखलामा नेपालले यूएईलाई मूलपानीमा भएको दुवै खेलमा पराजित गरेको थियो । तर कीर्तिपुरमा भएको फाइनलमा यूएईले नेपाललाई ४ विकेटले पराजित गरेको थियो । गत वर्ष ओमानमा सेमिफाइनलमा यूएईसँगै पराजित हुँदा नेपाल ट्वान्टी-२० विश्वकपमा छनोट हुन असफल भएको थियो । यूएईले नेपाललाई ६८ रनले पराजित गरेको थियो ।  

गण्डकी प्रदेशको लोकसेवा आयोगले माग्यो एकैपटक हजार कर्मचारी

गण्डकी प्रदेशको लोकसेवा आयोगले माग्यो एकैपटक हजार कर्मचारी

१०३७ दिन अगाडि

|

१६ कात्तिक २०८०

सधैँ कर्मचारी अभावका कारण कार्यप्रगति नभएको गुनासो गरिरहने स्थानीय र प्रदेश सरकारलाई केही राहत हुने भएको छ । गण्डकीको लोकसेवा आयोगले एकै पटक १ हजार भन्दा बढी कर्मचारी भर्ना गर्न विज्ञापन खुलाएको छ ।  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वीकृत गरेका दरबन्दीमा आयोगले कर्मचारी भर्ना गर्न आवेदन मागेको हो । केही तहमा आन्तरिक बढुवा र केही नयाँ कर्मचारी भर्ना गर्ने तयारी आयोगको छ । १ हजार २ कर्मचारीका लागि आवेदन खुला गरिएको आयोगले जनाएको छ । प्रदेश र स्थानीय तहका लागि अधिकृत सातौँ र सहायक पाँचौँ तहका कर्मचारी भर्ना गर्न लागिएको सदस्य कल्पना लम्सालले जानकारी दिइन् ।  उनका अनुसार विज्ञापन गरिएका पदहरूमा प्रशासकीय अधिकृत, राजस्व अधिकृत, लेखा अधिकृत, तथ्याङ्क अधिकृत, सव–इन्जिनियर, पशु स्वास्थ्य प्राविधिक, मत्स्य प्राविधिक, रेन्जर, भू–संरक्षण सहायक, प्राविधिक सहायक, स्टाफ नर्स, पब्लिक हेल्थ नर्स, हेल्थ असिस्टेन्ट, कविराज, ल्याब टेक्निसियन, मेडिकल रेकर्ड सुपरभाइजर, बायोमेडिकल टेक्निसियन, एनेस्थेसिया सुपरभाइजर, वरिष्ठ प्रशासन सहायक, वरिष्ठ लेखा सहायक, वरिष्ठ आन्तरिक लेखा परीक्षक सहायक लगायत छन् ।  मंसिर ५ गतेसम्म आवेदन दिने म्याद छ । दोब्बर दस्तुर तिरेर १२ गतेसम्म दरखास्त दिन मिल्ने उनले बताइन् । गण्डकी सरकारले यसअघि नै प्रदेश र स्थानीय तहको निजामती सेवा ऐन तथा नियमावली ल्याइसकेको छ । प्रतिस्पर्धामा सबै प्रदेशका नागरिक सहभागी हुन पाउने छन् ।

थारु समुदायको डस्या : हराउँदैछ मौलिकता

थारु समुदायको डस्या : हराउँदैछ मौलिकता

१०४७ दिन अगाडि

|

६ कात्तिक २०८०

मानबहादुर चौधरी 'पन्ना' थारु जातिको बसोबास भएको कर्णालीको एक मात्र जिल्ला हो, सुर्खेत । वीरेन्द्रनगर उपत्यकाको रत्नराजमार्ग र जुम्लारोड हाइवेभन्दा दक्षिणतर्फ ३६ गाउँ र राजमार्गको उत्तरतर्फ २ वटा गरी ३८ वटा थारु गाउँहरू रहेका छन् । दाङबाट बसाइँ सराइ गरेर आएकाले सुर्खेती थारुहरू दंगौरा हुन् । दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, सुर्खेतका दंगौरा थारुहरुको चाडपर्व मनाउनेमा एकरुपता देखिन्छ ।  थारु समुदायले डस्या अर्थात् दसैँ अन्य समुदाय भन्दा मौलिक र फरक तरिकाले मनाउने गर्दछन् । तर, पछिल्लो समय थारु समुदायमा दसैँ पर्वको मौलिकता हराउँदै आएको समुदायका अगुवाहरू बताउँछन् ।  घटस्थापनाको दिनलाई थारुले ‘जिउरा ढैना’ दिन भन्छन् । बिहान गरढुरिया (घरमुली) बिहानै नुहाएर छिट्नी वा झौहामा मलिलो माटो ल्याएर (डेहुरार) देउथानको प्रकाश कम लाग्ने छायामा मकैको जमरा राखिन्छ । जमरा राखिसकेपछि घरको जेठो छोराले नङ, कपाल, जुङ्गा, दारी केही पनि काट्न  मिल्दैन । यो पूर्खाप्रतिको सम्मान हो भन्ने गरिन्छ । दशैँको चौथो दिनसम्म खासै केही हुन्न । पञ्चमीको दिन दहित कुल थर भएका थारु समुदायले पितृपूजा गर्दछन्, जसलाई सराढक दिन भन्छन् । थारुले सप्तमीको दिनबाट मात्र विशेष रूपमा दसैँ मनाउँछन् । त्यो दिनलाई ‘पैनस्टोपी ढोइना दिन’ भनिन्छ । यो दिन घरको पनि सरसफाइ गरिन्छ । त्यसैले, झोल झरैना दिन पनि भनिन्छ ।  अष्टमीमा पुर्खाहरूलाई पुज्ने जमरा, बाबरीसँगै ढिक्री  हो, जसलाई ढिक्रह्वक दिन भनिन्छ । चामलको पिठोको ढिक्री बफाएर ममजस्तै पकाइन्छ ।  नुहाइ धुवाइ गरेपछि महिलाहरूले कपाल समेत कोर्न मिल्दैन, सप्तमीको दिनदेखि अष्टमीको दिनसम्म । किनकि पितृको भागमा रौँ पर्न सक्छ भन्ने जनविश्वास छ । जसरी दसैँमा नयाँ लुगाको महत्व छ, त्यसैगरी थारु समुदायमा देवीदेवताहरूलाई दसैँमा नयाँ सिंगारपटार गरिन्छ । नयाँ लुगाको रूपमा धागोले तीन–तीन पटक फेरा गरेर बाँटिन्छ । उनीहरुले पूजा गर्ने सौँरा भनेको गणेश तथा घरकी मैयाँ भनेको पार्वती हो ।  पौवा, दाउरा भारी, रोटी, गोलाकारलगायत आकारमा देउतालाई चढाइने ढिक्री पाँच किसिमको हुन्छ, जसले आफ्नो पुर्खाहरूको त्यो बेलाको सामान प्रयोग र स्थितिलाई चित्रण गर्छ । त्यो दिन विशेष खालको मादल पनि बजाइन्छ ।  भरलाको पातमा ढिक्री बेरेर घरका ढोका, छानामा घुसाइन्छ । त्यो भनेको पितृहरू रातमा आएर खाना खान्छन् भन्ने जनविश्वास छ । मादल बजाएर देउतालाई ढिक्री चढाएपछि लगभग एक घण्टाजति केही खाइन्न । देवताहरू खाँदैछन्, उनीहरूले खाइसकेपछि मात्र प्रसादको रूपमा हामीले खानुपर्छ भन्ने भनाई छ ।  नवमीको दिनलाई ‘मुर्गी पुज्ना दिन’ अर्थात् मुर्गह्वा भनिन्छ । यो दिनमा पितृहरूलाई पिण्ड दिइन्छ । बिहान उठ्ने बित्तिकै सबैले नुहाई धुवाइ गर्ने, त्यसपछि घरमुलीले बाबरीको फुल, जमरा, सिरुको कुचो अनिवार्य चढाउँछन् ।  अघिल्लो दिन बली चढाएको भेडोरुपी कुभिण्डो र बेलको डाँठमा उनिएको ढिक्री पूर्वपट्टिको ढोकाको छानामाथि फालिन्छ । दहित थरका थारु बाहेकका थारूहरू नवमीका दिन पुर्खाहरूले गर्दै आएको चलनअनुसार बलि पनि चढाउने काम हुन्छ । बलिका रूपमा सबैजनाले भाले चढाउँछन् । अष्टमीको दिनमा बनाएको कुभिण्डोको भेडोलाई बिहानका पहिलो प्रहरमै देउताको थानमा रहेको तरबारले एकै पटकमा छिनाल्ने र रक्सी चढाउने गरिन्छ । महिलाले नुहाई धुवाइ गरी भान्सा लितपोत गरी भात, मासको तरकारी, कुखुराको मासु, माछाको तरकारी, मास, सिमी, कुभिण्डो पकाएर पूजाकोठामा लगेर राख्ने गरिन्छ । त्यसपछि पिट्टर बोलाउने गरिन्छ ।  यस क्रममा मालुको पातको पाँचवटा टपरी बनाइएको हुन्छ । एउटा दुनामा जल, एउटामा रक्सी, पाँचवटा तरकारी हालेर भाग छुट्टयाइन्छ । खाना दिँदा कसैले उत्तरपट्टी दिन्छन् त कसैले दक्षिण । तर, पस्कदा देब्रे हातले दिनुपर्छ । प्रसाद दिइसकेपछि बान दिने भन्ने हुन्छ । त्यो भनेको शरीरको विभिन्न भागहरू चिरेर निकालिएको रगत हो । त्यो दिइसकेपछि बल्ल परिवारका सबै सदस्यले खाना खान्छन् ।  बिहानको खानापछि पूजा गरिएको सामग्री पात, टपरी तथा अन्य सबै फोहोर बढारेर २÷३ बजेतिर पुर्खाहरूको सम्मान गर्दै नाचगान गर्दै वर्षदिनको मेलामा रूपमा गाउँभरिका मान्छेहरू सँगै नजिकको घाट तथा खोलामा गएर पिण्ड सेलाउन (पिट्टर अस्रैना) जान्छन् । पिट्टर सेलाउन खोलामा जाँदा गाइने गीतको उदाहरण यस्तो छः मोर पिहा गइल उई पुरु पाटन हो... ए हो मोर लग लनही सेन्डुरा बेसार... रि सिल पटिय नक.. सिल सिल पटियक भाली भाली लोर सेन्डुर पहिरी धनि अङ्गना बहार हो.. ए हो सवटि बिरहन मरजी जा महिलाहरूले परम्परागत पहिरनमा सजिएर ढकियामा तरकारी, रक्सी लगेका हुन्छन् । महिलाले सामूहिक गीत गाउँदै ‘पिट्टर पुहैना’ कार्य गर्छन् । जसलाई अन्य समुदायले पितृ पुज्ने भन्छन् । खोलामा पिट्टर दिएको भाग सेलाएर रक्सी चढाउँछन् ।  ढकियामा लगेको खानपिन, रक्सी खोला किनारमै खान्छन् । त्यो दिन दुनामा खान मिल्दैन, मालुको पातमा खान दिइन्छ । खानपिन गरेर फेरि नाचगान गर्दै घरमा फर्किन्छन् ।  दशमीको दिन बिहान फेरि धुमधामका साथ पूजापाठ गरिन्छ । गाउँको साझा ठन्वा÷मरुवा मन्दिर जस्तै हो । गाउँका एक घरका एकजना एक बोटल रक्सी, जमरा, बाबरी लिएर ठन्वामा जान्छन् । त्यहाँ विशेष पूजाआजा गरिन्छ ।  घरमा पारिवारिक टीका सकेपछि गाउँका अगुवा बरघर तथा गुर्वा (धामी) को घरमा पनि एक बोटल रक्सी, जमरा, बाबरी लिएर सामूहिक रूपमा गाउँलेबाट टीका लगाइन्छ । अन्य समुदायले रातो टीका लगाउने भएपनि थारु समुदायले भने सेतो टीका मात्र प्रयोग गर्छन् । अब आएर भने रातो टीकाको पनि प्रयोग हुन थालेको छ । बरघरको आँगनमा टीका लगाउने क्रममा सखिया नाच घन्किरहेको हुन्छ हुन्छ । महिलाहरू बरघरको पत्नीलाई टीका लगाइदिन्छन् । टीकासँगै थारु समुदायको दसैँ सकिन्छ । हराउँदै दसैँको मौलिकता अन्य समुदायले कोजाग्रत पूर्णिमाको दिनसम्म टीका, जमरा लगाउने गर्दछन् तर थारूहरुको दसैँ दशमीकै दिन सकिन्छ । अहिले अन्य जातिको प्रभावमा यो पर्वको मौलिकतामा कमी आएको देखिन्छ । अहिले कतिपय थारूहरूले पहाडियालाई विवाह गरेका छन्, उनीहरूमा केही फरकपना आएको देखिन्छ । समाज पनि समावेशी बन्दै गएकाले अन्य समुदायको प्रभाव थारु समुदायमा आएकोे हो । विगतमा सबै समान खालको हैसियतमा थिए, सबैको साधारण तरिकाको जनजीवन थियो । प्रत्येक थारु गाउँमा संस्कृति थियो, नाचगान भैराख्थ्यो । सखिया नाच, हुर्डुङ्ग्वा नाच, छोक्रा नाच दसैँमा अपरिहार्य जस्तै मानिन्थ्यो, पहिला । अहिले कुनै कुनै गाउँमा मात्र भेटिन्छ । सुर्खेतमा विभिन्न संघसंस्थाको पहलमा केही गाउँमा थारु संस्कृति संरक्षणको प्रयास भइरहेको छ ।  पुर्खाहरूले पाउ, घुँडादेखि कान हुँदै शिरमा टीका लगाई आर्शिवाद दिने गर्थे । तर, अहिलेको पुस्ताले आर्शिवाद फलाक्न समेत जान्दैनन् । साथै, अहिले ठन्वामासमेत पूजाआजा गर्ने प्रचलनमा कमी आएको देखिन्छ ।  पित्तर सेलाउन जाँदा पहिला सबै एकजुट भएर जान्थे । अहिले ससानो समूह बनाई सुटुक्क आफ्नै तरिकाले जाने गरेका छन् । यसरी कविला परम्परामा हुर्केका थारूहरूमा पनि सामूहिकताको कमी हुन थालेको देखिन्छ ।’

धादिङमा भूकम्पबाट २० घर भत्किए, ७५ वटा चर्किए

धादिङमा भूकम्पबाट २० घर भत्किए, ७५ वटा चर्किए

१०४८ दिन अगाडि

|

५ कात्तिक २०८०

धादिङ । आज बिहान गएको भूकम्पका कारण धादिङको ज्वालमुखी गाउँपालिका-५, कुमालटारीमा २० वटा घर भत्किएका छन् । भुइँचालोबाट ७५ घर चर्किएको छ । भूकम्पबाट भएको क्षतिको विवरण आउनेक्रम जारी रहेको पूर्ववडाध्यक्ष कृष्णप्रसाद काप्रीले बताए । पटक-पटक चार रेक्टरस्केलभन्दामाथिका परकम्प गएका कारण मानिसहरू घर बाहिर बसेको स्थानीय राजेश अधिकारीले बताए । ६ वटा घरमा भने पूर्ण क्षति पुगेको प्रहरीको भनाइ छ । जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख एसपी गौतम मिश्रका अनुसार भूकम्पका कारण ज्वालामुखी ५ का भक्कि कुमाल, रमेश कुमालको कच्ची घरको पछाडिको गारो पूरै भत्किएको छ । त्यसै गरी पुन्टे कुमालको घरको भित्ता चर्किएको छ भने खाना पकाउने चिम्नि बांगिएको छ । सोही ठाउँका प्रताप कुमालको ढुङ्गा माटोले बनेको कच्ची घरको चिम्नी बांगिनुको साथै भित्ता चर्किएको छ । ज्वालामुखी-७, चैनपुरबेँसीका ७३ वर्षीय बलबहादुर दनाईको चिम्नी खसेको छ । त्यस्तै ज्वालामुखी-१, माझीटारका मंगलसिंह माझीको गोठ भत्किनुका साथै एउटा खसी घाइते छ । भूकम्पको कम्पनले ज्वालामुखी ५ बुङकोटघाट सिम्लेमा पहिरो खस्दा दुई वटा घर जोखिममा छ । वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीले भूकम्पपछि लगातार जसो पराकम्प आइरहेकाले सचेत हुन आग्रह गरेका छन् । धादिङका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले भूकम्पको केन्द्रबिन्दु खरी क्षेत्रमा भएको क्षतिको आवश्यकताअनुसार राहतको तत्काल व्यवस्था गर्ने गरी अवस्था बुझ्न घटनास्थलतर्फ टोली पठाइएको बताए । भूकम्प गएको ठाउँ गोरखासँग सीमा जोडिएको बूढीगण्डकी नदीको तटीय क्षेत्र हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी सन्तुलालप्रसाद जैसवारले चर्किएका घरहरूको विस्तृत विवरण संकलन जारी रहेको बताए । धादिङको साविक खरी गाविस केन्द्रबिन्दु भई आज बिहान ७:३९ मा ६.१ रेक्टरस्केलको भूकम्प गएको थियो ।