सखिया नाचमा रमाउँदै थारू बस्ती

सखिया नाचमा रमाउँदै थारू बस्ती

१०५० दिन अगाडि

|

३ कात्तिक २०८०

थारु भाषा र संस्कृतिको वर्तमान अवस्थाबारे अन्तरक्रिया सम्पन्न

थारु भाषा र संस्कृतिको वर्तमान अवस्थाबारे अन्तरक्रिया सम्पन्न

१०५० दिन अगाडि

|

३ कात्तिक २०८०

थारु आयोगबाट थारु भाषा र संस्कृतिको वर्तमान अवस्थाबारे अन्तरक्रिया कार्यक्रम सुनसरीको गढी गाउँपालिकामा  कार्तिक २ गते विहीवार सम्पन्न भएको छ । सो अवसरमा कार्यक्रमकी प्रमुख अतिथि पूर्वमन्त्री तथा सांसद भगवती चौधरीले कोशी प्रदेशमा सुनसरी, मोरङ, उदयपुर र झापा जिल्लामा थारुहरुको बाहुल्यता रहेकोमा यी जिल्लाहरुमा थारुहरुले इतिहासका विभिन्न कालखण्डमा गरेको संघर्ष र वलिदानलाई कुनै पनि हालतमा बिर्सन नहुने धारणा राखिन् ।  उनले अगाडि भनिन्, पूर्खाहरुको वलिदानलाई बिस्र्यौ भने इतिहासले हामीलाई सराप्ने छ । त्यसैले तराईलाई उर्वर बनाउन हाम्रा पूर्खाहरुले गरेका संघर्षको दस्तावेजीकरण गर्नु आवश्यक छ । थारु आयोगले यसमा काम गर्न सक्यो भने भावी पुस्ताले आफनो वास्तविक कुरा थाहा पाई  अधिकारका लागि आवाज उठाउने छ । “थारु समुदायमा सशक्तिकरण तथा सचेतनाको लागि” भन्ने अभियानअन्तर्गत उक्त अन्तरक्रिया तथा छलफल कार्यक्रम गरिएको हो । कार्यक्रममा थारु भाषा र संस्कृतिमा देखिएका समस्या र चुनौती विषयमा गवनसिंह चौधरीले कार्यपत्र प्रस्तुत गरेका थिए ।  सो कार्यपत्रमा थाकस सुनसरीका जिल्ला सभापति सुरेन्द्र चौधरी, भूपु पालिका उपाअध्यक्ष राजकुमारी चौधरी, हौली परिवारका अध्यक्ष श्रवण सुथियारलगायत थारु अगुवा बुद्धिजीवी दुखाराम चौधरी, लक्ष्मीनारायण चौधरी, सुमित्रा चौधरी, रन्धुलाल चौधरीलगायत वक्ताहरुले आ–आफनो धारणा राखेका थिए । कार्यक्रममा विशिष्ट अतिथि गढी गापाका अध्यक्ष आशनारायण चौधरी थिए । त्यस्तै, पालिकाका जनप्रतिनिधि, महिला सभालगायत विभिन्न संघसंस्थाका प्रतिनिधि बुद्धिजीवीहरुको व्यापक सहभागिता थियो । कार्यक्रमको अध्यक्षता थारु आयोगका सदस्य माननीय भोलाराम चौधरीले गरेका थिए । अहिले थारु भाषा र संस्कृतिमा चारैतिरबाट आक्रमण भई रहेकोमा थारु समाज सचेत हुनु जरुरी देखिन्छ । थारु समुदायबारे लिखित दस्तावेज कम भएकाले भावी पुस्तालाई आफनो भाषा र संस्कतिमा पहुँच पुर्याएर दस्तावेजीकरण गर्न जोड दिनुपर्ने छलफलका बक्ताहरुले भनाई राखेका थिए । 

थारु कलाकार मञ्च सुर्खेतको अध्यक्षमा राजु चौधरी चयन

थारु कलाकार मञ्च सुर्खेतको अध्यक्षमा राजु चौधरी चयन

१०५१ दिन अगाडि

|

२ कात्तिक २०८०

राष्ट्रिय थारु कलाकार मञ्च, सुर्खेतको पहिलो जिल्ला अधिवेशन असोज २८ गते वीरेन्द्रनगरमा सम्पन्न भएको छ ।  अधिवेशनले नयाँ कार्य समितिको अध्यक्षमा राजु चौधरी, उपाध्यक्षमा कृष्णा चौधरी, वरिष्ठ उपाध्यक्षमा सुनिल चौधरी, सचिवमा पुर्ण बहादुर चौधरी, कोषाध्यक्षमा जीवन चौधरी, सहसचिवमा सन्ध्या चौधरी चयन भएका छन् । त्यस्तै, सदस्यहरुमा लक्ष्मण चौधरी, सिर्जना चौधरी, सलिना चौधरी, दिक्षा चौधरी, रक्षा चौधरी, दिपिका चौधरी, सुमित्रा चौधरी, सम्झना चौधरी र दिपा चौधरी छानिएका छन् । कार्यक्रमका प्रमुख अतिथि वीरेन्द्रनगर नगरपालिकाका कार्यपालिकाका १० को सदस्य लक्ष्मी चौधरीले सुर्खेतमा रहेका थारु समुदायको कला, संस्कृति, गीत संगीतको विकास गर्न कलाकार मञ्चले महत्वपूर्ण भूमिका खेल्ने कुरामा विश्वास लिएको बताइन् । जिल्लामा थारु कला संस्कृतिलाई संस्थागत विकास गर्न आवश्यकता रहेको बताउदै आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिन् । कार्यक्रममा राष्ट्रिय थारु कलाकार मञ्चका केन्द्रीय अध्यक्ष विनय वैद्य थारुले सम्पूर्ण थरुहटमा रहेका थारु कलाकारहरुलाई संगठित गरी हरेक जिल्लाको थारु कला संस्कृति र सभ्यताको विकासका लागि अभियानमा लागेको बताए । आगामी कार्तिक २२ र २३ गते चितवनमा कलाकार मञ्चको राष्ट्रिय महाधिवेशन रहेको बताउदै अधिवेशनपछि राष्ट्रिय कलाकार महासंघ गठन हुने जानकारी दिए ।  कार्यक्रममा लखागिन थारु उत्थान मञ्च, सुर्खेतका अध्यक्ष एवम् थारु अनुसन्धानकर्मी मानबहादुर चौधरी पन्नाले कला हरेक जाति समुदायको जननी भएकाले आफू बाँचेको संस्कृति र कलालाई संरक्षण गर्न राज्य मात्र नभइ सिङ्गो समुदाय संस्थागत रुपमा लाग्न जरुरी रहेको बताए ।  कार्यक्रममा थारु कल्याणकारिणी सभा सुर्खेतका सभापति बेचुलाल चौधरी, वीरेन्द्रनगर नगरपालिका वडा नं २ का वडासदस्य रमेश चौधरी, सरिता चौधरी लगायतका वक्ताहरुले थारु कला संस्कृतिको उत्थान विकासका लागि एकजुट हुनुपर्ने बताएका थिए ।   

दसैँका लागि घर सजाउँदै थारू समुदाय

दसैँका लागि घर सजाउँदै थारू समुदाय

१०५१ दिन अगाडि

|

२ कात्तिक २०८०

यतिबेला थारू समुदायका महिलाहरु दशैंका लागि घर सजाउन व्यस्त छन् । दसैँका लागि घर चिटिक्क पार्ने, आँगन सजाउने, माछामासु र दाउराको जोहो गर्ने र किनमेल गर्ने जस्ता कार्यमा यो समुदायका व्यक्ति व्यस्त देखिन्छन् ।   यसै क्रममा कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ का देवी चौधरी घर लिपपोत गर्नमा व्यस्त हुनुहुन्छ । उहाँले थारू समुदायमा दसैँमा घर लिपपोत गरेर सजाउनु अनिर्वाय जस्तै भएकाले घर, आँगन सजाउन लागेको बताए। ‘अहिले घर लिपपोत गर्नेदेखि किनमेल गर्ने चटारो छ’, उनले भने, ‘दशैं सुरु हुनुभन्दा अगाडि नै हामी सबै तयारी गरिसक्छौँ, दशैंमा सखिया नाच्ने र रमाउने हो ।’ उनले गाउँमा रहेका अधिकांशले घर लिपपोत गरेर सजाइसकेको बताए ।  थारू समुदायमा दसैँ  विशेष चाड भएकाले यसको रौनक एक महिनाअघि देखि नै हुने गर्दछ । ‘दसैँमा पूजा गर्दा कुखुराको मासु, माछा, कुभिन्डो, ढिक्री, रक्सी आदि चाहिन्छ’, उनले भने, ‘पूजा सएिपछि सबैजना सखिया नाच्ने र रमाइलो गर्ने गर्दछन ।” अन्य समुदायको भन्दा यो समुदायमा दशैं मनाउने चलन पृथक रहेको उनले बताए । पछिल्लो समय सामुदायिक वनले जङ्गलबाट माटो ल्याउन निषेध गरेपछि समस्या भएको उनले बताए । ‘माटोले लिपपोत गरेर खरले छाएका घर थारू समुदायका पहिचान हुन्’, उनले भने, ‘सामुदायिक जङ्गलले माटो ल्याउन निषेध गरेपछि यी घरहरु हराउन थालेका छन् ।’ स्थानीय लक्ष्मीराम चौधरी दसैँका लागि सामान जुटाउन व्यस्त छन् । उनले केही दिनअघि देखि माछाको जोहो गर्न लागेका छन् । ‘घरमा महिलाहरु घर लिपपोत गर्न लागेका छन्, म माछाको जोहो गर्दैछु’, उनले भने, ‘दसैँमा सुकाएको माछा र रक्सी थारू समुदायको विशेष हो ।’ उनले पछिल्लो समय पक्की घरहरु बन्न थालेपछि विगतको जस्तो रौनकता भने नभएको बताए । स्थानीय सीता चौधरीले दसैँका बेला थारू समुदायमा सखिया नाच महत्वपूर्ण भएको बताए । ‘दसैँको बेला सखिया नाच रातभरि हुने गर्दछ, यो नाचमा भगवान्को मात्रै महिमा हुन्छ’, उनले भने, ‘पछिल्लो समय विभिन्न कारण एक महिना खेलिने यो नाँच छोटिँदै गएको छ ।’ टीका लगाइसकेपछि सबै गाउँले भेला भएर सखिया नाच नाच्ने चलन छ । पछिल्लो समय यो नाच लोप हुँदै गएको छ । ‘पहिलेको जस्तो रातभर नाच्ने गाउने चलन त हराइसकेको छ’, उनले भने, ‘अहिले संस्कृति जोगाउनलाई भए पनि कार्यक्रमको आयोजना गरी सखिया नाच्ने गरिन्छ ।’ पछिल्लो पुस्ता आधुनिकतामा रमाउन थालेपछि सखिया नाचको मौलिकता हराउँदै गएको थारू समुदायका पाका पुस्ता बताउँछन् ।

थारू समुदायलाई आरक्षणमा अलमल

थारू समुदायलाई आरक्षणमा अलमल

१०५९ दिन अगाडि

|

२४ असोज २०८०

नवराज मैनाली  सरकारी सेवाको भर्नामा थारू समुदायसहितलाई छुट्टै आरक्षण तोकेर भर्ना खुलाउन सर्वाेच्च अदालतले फैसला गरेको नौ महिनासम्म सरकारले प्रावधान नबनाउँदा यस वर्ष सुरक्षा निकाय, निजामती र संस्थामा भर्ना प्रक्रिया नै रोकिएको छ । सर्वोच्चले २४ माघ ०७९ मा थारूलाई स्वतन्त्र समुदायका रूपमा छुट्टै आरक्षणको व्यवस्था गर्न परमादेश दिएको थियो । तर, सरकारले कानुन संशोधन गरेर आरक्षणको नयाँ सिद्धान्त बनाउन नसक्दा लोकसेवा आयोगले आर्थिक वर्ष ०८०/८१ का लागि खोल्नुपर्ने सबै विज्ञापन अवरुद्ध भएका हुन् ।  यो समस्या तत्काल समाधान हुने सम्भावना पनि देखिँदैन । सरकारी सेवा प्रवेशको तयारीमा रहेका हजारौँ सर्वसाधारण प्रभावित बनेका छन् । साथै, समयमै भर्ना र तालिम नहुँदा निजामती सेवा, सुरक्षा निकाय तथा संगठित संस्थामा पनि तालिम तथा जनशक्ति अभावको समस्या बढेको छ ।  हाल प्रधानन्यायाधीश रहेका तत्कालीन न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र डा. आनन्दमोहन भट्टराईको इजलासले नौ महिनाभित्र संघीय निजामती ऐन ल्याउन र त्यसमा थारूका लागि छुट्टै आरक्षणको व्यवस्था गर्न भनेको थियो । साथै, आर्थिक वर्ष ०७९/८० मा थारू समुदायका लागि छुट्टै आरक्षण नभएकाले त्यसलाई समेत जोडेर ०८०/८१ मा भर्ना गर्न परमादेश थियो । निजामती मात्र नभई सबै निकायमा यो व्यवस्था लागू गर्न भनिएको थियो ।  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बललगायत निकायले विज्ञापनका लागि माग पठाए पनि सर्वाेच्च अदालतको फैसलाअनुसार नयाँ व्यवस्था नहुँदा लोकसेवा आयोगले भर्ना प्रक्रिया रोक्दै आएको छ । जबकि आयोगको वार्षिक कार्यतालिकामा साउन, भदौ र असोजमा धेरै विज्ञापनको सूचना प्रकाशन भइसक्नुपर्ने थियो । ‘विशेष कारणले यस वर्षका विज्ञापन रोकिएका छन्,’ लोकसेवा आयोगकी प्रवक्ता गीताकुमारी होमागाईं भन्छिन्, ‘हामी सम्बन्धित निकायसँग छलफलमै छौँ ।’  कार्यतालिकामा नेपाली सेनाको अधिकृत क्याडेट तथा पदिक तथा बिल्लादार अधिकृत क्याडेटको साउन–भदौमा र प्राविधिक अधिकृतको कात्तिकमा सूचना निकालिने उल्लेख छ । नेपाल प्रहरीका प्रहरी निरीक्षक र सहायक निरीक्षकको साउनमै विज्ञापन प्रकाशन हुनुपर्नेमा अझै प्रकाशित भएको छैन । सशस्त्र प्रहरीको अधिकृत तहमा पनि भदौमै विज्ञापन हुनुपर्नेमा रोकिएको छ ।  संगठित संस्थानअन्तर्गत नेपाल आयल निगम, नेपाल धितोपत्र बोर्ड, औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र, सांस्कृतिक संस्थान र सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रको विज्ञापन साउनमा हुने कार्यतालिकामा उल्लेख छ ।  त्यस्तै, भदौमै काठमाडौं उपत्यका खानेपानी लिमिटेड, काठमाडौं उपत्यका विकास प्राधिकरण, जनक शिक्षा सामग्री केन्द्र लिमिटेड, नेपाल पुनर्बिमा कम्पनी, नेपाल विद्युत् प्राधिकरण, सामाजिक सुरक्षा कोषको भर्ना हुनुपर्ने तोकिएकोमा प्रक्रिया अझै सुरु हुन सकेको छैन ।  नेपाल प्रहरीका प्रवक्ता डिआइजी कुबेर कडायत थारू क्लस्टरको विषयकै अन्योलले प्रहरीको भर्ना रोकिएको बताउँछन् । ‘यस वर्ष प्रहरीको भर्नाको प्रक्रिया सुरु हुन सकेको छैन,’ उनले भने, ‘यो विषयमा विभिन्न निकायसँग छलफल भइरहेको छ ।’  निजामती सेवा, नेपाल स्वास्थ्य सेवा, व्यवस्थापिका संसद् सेवा र राष्ट्रिय मानव अधिकार आयोग सेवामा असोजको अन्तिम बुधबार राजपत्रांकित प्रथम श्रेणी, राजपत्रांकित द्वितीय श्रेणी तथा स्वास्थ्य सेवाको एघारौँ र नवौँ तहको विज्ञापन गरिने उल्लेख छ । तर, मंगलबारसम्म यस विषयमा निर्णय हुन नसकेको लोकसेवा आयोग स्रोत बताउँछ । आयोगका अध्यक्ष माधव रेग्मी भन्छन्, ‘बुधबार यस विषयमा केही निर्णय आउँछ ।’  सर्वाेच्चमा रिट दायर गर्नेमध्ये एक प्रेमीलाल चौधरी सरकारले सर्वाेच्चको परमादेशअनुसार कानुनहरू संशोधन नगरेको बताउँछन् । ‘शिक्षा विधेयकमा केही कुरा समेटिएका छन्,’ उनले भने, ‘निजामती ऐन रोकिएको छ, जसकारण नयाँ भर्ना हुन सकेको छैन ।’ थारू समुदायको जनसंख्या ६.२ प्रतिशत भएकाले त्यही आधारमा छुट्टै आरक्षणको व्यवस्था हुनुपर्ने उनी बताउँछन् ।  संविधानमा टेकेर सर्वाेच्चको फैसला  सर्वाेच्चले संविधानको धारा १८ र ४२ मा टेकेर थारू समुदायलाई आदिवासी जनजातिभित्र नराखी स्वतन्त्र समुदायका रूपमा मान्यता दिई सोहीअनुसार आरक्षण दिन भनेको छ । हाल थारू समुदायले आदिवासी जनजाति समुदायका रूपमा आरक्षण पाउँदै आएका छन् । त्यसले गर्दा आदिवासी जनजातिका अन्य समुदाय हाबी हुने गरेको भन्दै थारू अगुवाले छुट्टै आरक्षण माग्दै आएका छन् ।  संविधानको धारा ४२ मा सामाजिक न्यायको हकसम्बन्धी व्यवस्था छ । जसमा भनिएको छ, ‘आर्थिक, सामाजिक वा शैक्षिक दृष्टिले पछाडि परेका महिला, दलित, आदिवासी जनजाति, मधेशी, थारू, मुस्लिम, पिछडा वर्ग, अल्पसंख्यक, सीमान्तीकृत, अपांगता भएका व्यक्ति, लैंगिक तथा यौनिक अल्पसंख्यक, किसान, श्रमिक, उत्पीडित वा पिछडिएको क्षेत्रका नागरिक तथा आर्थिक रूपले विपन्न खस–आर्यलाई समानुपातिक, समावेशी सिद्धान्तका आधारमा राज्यका निकायमा सहभागिताको हक हुनेछ ।’  धारा १८ मा समानताको हकसम्बन्धी व्यवस्था छ । १८ (३) मा भनिएको छ, ‘राज्यले नागरिकहरूका बीच उत्पत्ति, धर्म, वर्ण, जात, जाति, लिंग, आर्थिक अवस्था, भाषा, क्षेत्र, वैचारिक आस्था वा यस्तै अन्य कुनै आधारमा भेदभाव गर्नेछैन । तर, सामाजिक वा सांस्कृतिक दृष्टिले पिछडिएका महिला, दलित, आदिवासी, जनजाति, मधेशी, थारू, मुस्लिम, उत्पीडित वर्ग, पिछडा वर्ग, अल्पसंख्यक, सीमान्तीकृत, किसान, श्रमिक, युवा, बालबालिका, ज्येष्ठ नागरिक, लैंगिक तथा यौनिक अल्पसंख्यक, अपांगता भएका व्यक्ति, गर्भावस्थाका व्यक्ति, अशक्त वा असहाय, पिछडिएको क्षेत्र/आर्थिक रूपले विपन्न खस–आर्यलगायत नागरिकको संरक्षण र सशक्तीकरण वा विकासका लागि कानुनबमोजिम विशेष व्यवस्था गर्न रोक लगाएको मानिनेछैन ।’ यी दुई धारामा थारू समुदायलाई आदिवासी जनजातिमा नराखी स्वतन्त्र समुदायका रूपमा पहिचान दिएकाले सोही आधारमा उनीहरूलाई सरकारी निकायको भर्नामा पनि छुट्टै आरक्षण दिनुपर्ने व्याख्या सर्वाेच्चले गरेको हो ।  हालको निजामती सेवा ऐनको प्रावधानअनुसार कुल रिक्त पदमध्ये ४५ प्रतिशतमा समावेशी आरक्षणका आधारमा विज्ञापन हुन्छ । ४५ प्रतिशतमध्येबाट ३३ प्रतिशत महिला, २७ प्रतिशत आदिवासी जनजाति, २२ प्रतिशत मधेसी, नौ प्रतिशत दलित, पाँच प्रतिशत अपांगता भएका व्यक्ति तथा चार प्रतिशत पिछडिएको क्षेत्रलाई छुट्याउने गरिएको छ । सर्वाेच्चको परमादेशपछि अब यो आरक्षणको समीकरण हेरफेर गर्नुपर्ने हुन्छ, जुन निकै जटिल र संवेदनशील विषय भएकाले सरकारले यसमा निर्णय गर्न सकेको छैन । सरकारले संघीय निजामती ऐन संसद्मा लैजाने निर्णय गरे पनि विवादका कारण अझै अघि बढाउन सकेको छैन । नयाँपत्रिकाबाट

प्रेस काउन्सिलद्वारा महिला पत्रकारिता क्षमता अभिवृद्धि तालिम सुरु

प्रेस काउन्सिलद्वारा महिला पत्रकारिता क्षमता अभिवृद्धि तालिम सुरु

१०५९ दिन अगाडि

|

२४ असोज २०८०

सरला चौधरी प्रेस काउन्सिल नेपालद्वारा आयोजित ३ दिने महिला पत्रकारिता क्षमता अभिवृद्धि तालिम असोज २२ गतेबाट काठमाडौं, सिनामंगलस्थित मातृभूमि होटेलमा सुरु भएको छ । कार्यक्रमकी प्रमुख अतिथि सूचना तथा सञ्चार मन्त्री रेखा शर्माबाट कार्यक्रम समुद्घाटन भएको हो ।  सो अवसरमा मन्त्री शर्माले जुनसुकै क्षेत्रमा ३३ प्रतिशत महिला सहभागिता अझै पनि कमी रहेको र सञ्चार क्षेत्रमा महिलाको सहभागिता बढाउनुपर्नेमा जोड दिइन् । उनले पत्रकारितालाई सहज बनाउनको लागि राज्यका नीतिनियमहरु राम्रो बनाउनु पर्ने कुरामा आफू लागि परेको र पत्रकारहरुको हकहितका लागि प्रेस काउन्सिल नेपाल, नेपाल पत्रकार महासंघसँग समन्वय गरी अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिन् । कार्यक्रममा नेपाल पत्रकार संघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेलले मन्तव्यको क्रममा पत्रकारले पत्रकारिताको माध्यमबाट सामाजिक रुपान्तरणमा महत्वपूर्ण भूमिका खेल्ने र  पत्रकारिताले समाजको वास्तविक जीवन्त तस्बिर पस्किनको लागि समावेशी पत्रकारिताको आवश्यकता रहेको बताए । साथै, उनले पत्रकारिता प्रविधिमैत्री हुनुपर्ने विचार व्यक्त गरे ।  प्रेस काउन्सिल नेपालको अध्यक्ष बालकृष्ण बस्नेतको अध्यक्षतामा सम्पन्न समुद्घाटन कार्यक्रममा उनले तालिमको उद्देश्यमाथि प्रकाश पारेका थिए । कार्यक्रममा सञ्चारिका समूहका अध्यक्ष विमला तुम्खेवा, प्रेस काउन्सिलका सदस्यद्वय लालबाबु शेख र दुर्गा भण्डारी लगायत बक्ताहरुले शुभकामना मन्तव्य दिएका थिए भने कार्यक्रमको सहजीकरण शरद अधिकारीले गरेका थिए ।  तालिममा २० जना महिला पत्रकारहरुको सहभागिता रहेको छ । तालिमको पहिलो दिन नेपाल प्रेसका सम्पादक मातृका पौडेल, शिलापत्रका सम्पादक जनक नेपालले आजका समाचार, हुनुपर्ने समाचार, अनलाइन समाचार, कमेन्टका विकृति र व्यवस्थापन जस्ता विषयमा प्रशिक्षण दिएका थिए ।

आजबाट हट्यो नेपालगन्जमा कर्फ्‍यु र निषेधाज्ञा 

आजबाट हट्यो नेपालगन्जमा कर्फ्‍यु र निषेधाज्ञा 

१०६० दिन अगाडि

|

२३ असोज २०८०

जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगन्ज बजारमा लगाएको कर्फ्‍यु र निषेधाज्ञा मंगलबारबाट पूर्ण रुपमा हटाएको जनाएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले विज्ञप्ती जारी गर्दै असोज १६ गते दिउँसो १ बजेदेखि लगाइएको कर्फ्‍यु र निषेधाज्ञा आजदेखि पूर्ण रुपमा हटाएको हो । यसका साथै, कुनै अमुक व्‍यक्तिले गरेको कुनै क्रिकलापलाई लिएर सम्पूर्ण समुदायलाई नै आक्षेप लगाउने, सर्वसाधारणलाई भड्काउने वा धार्मिक, सामाजिक सद्‍भावमा खलल पुर्‍याउने कुनै पनि काम नगर्न सबैमा प्रशासनले अपिल पनि गरेको छ । यसअघि फेसबुकमा लेखिएको विषयलाई लिएर हिन्दू र मुस्लिम समुदायबीच तनाव बढ्ने संकेत देखिएपछि जिल्ला सुरक्षा समितिको बैठकले अनिश्चितकालीन कर्फ्यु जारी गरेको थियो ।