प्रकाशकीयः पहिचानको लागि पत्रकारिता

प्रकाशकीयः पहिचानको लागि पत्रकारिता

१३५२ दिन अगाडि

|

७ भदौ २०७९

नागरिक उन्मुक्ति पार्टीले संघीयमा १५० र प्रदेश सभामा २५० स्थानमा उम्मेदवार उठाउने

नागरिक उन्मुक्ति पार्टीले संघीयमा १५० र प्रदेश सभामा २५० स्थानमा उम्मेदवार उठाउने

१३५२ दिन अगाडि

|

७ भदौ २०७९

काठमाडौं आगामी मंसीर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीले दुबै तहमा गरी ४ सय स्थानमा उम्मेदवार खडा गर्ने भएको छ । हालसम्म प्रतिनिधि सभाका १५० र प्रदेश सभाका २५० क्षेत्र गरी ४ सय उम्मेदवार तय भएको रेशम चौधरीले सोमबार ढकियाखबरलाई जानकारी दिए । अहिले आफूलाई भेट्न आउने करिब ४० प्रतिशतले टिकट माग्ने गरेको बताउँदै उनले भने, ‘स्थानीय चुनावमा टिकट लिनोस् भनेर हातजोड विन्ती गर्दा पनि उम्मेदवार पाउन गाह्रो थियो, अहिले टिकट कसलाई पो दिने भन्ने गाह्रो अवस्था आएको छ ।’  नागरिक उन्मुक्ति पार्टीले हालसम्म ४१ जिल्लामा उम्मेदवारी दिने तय भैसकेको जानकारी पनि रेशम चौधरीले दिए । तराईसंगै पहाडमा समेत पार्टी उक्लिन थालेको छ । काठमाडौं, ललितपुरबाट समेत उम्मेदवार उठाउने तय गरिएको छ ।  उम्मेदवारी दिने अन्य जिल्लामा कञ्चनपुर, कैलाली, बाँके, बर्दिया, सुर्खेत, दाङ, कपिलवस्तु, रुपन्देही, नवलपुर, परासी, चितवन, बारा, पर्सा, रौतहट, सप्तरी, सर्लाही, महोत्तरी, सिन्धुली, सिरहा, सुनसरी, मोरङ जिल्ला रहेका छन् । त्यस्तै, अछाम, बझाङ, बाजुरा, डडेल्धुरा, दैलेख, दार्चुला, डोटी, हुम्ला, जाजरकोट, झापा, जुम्ला, कालिकोट, मुगु, रामेछाप, उदयपुर, काभ्रे, दोलखा र नुवाकोट पनि छन् । पार्टी संगठन विस्तारकै क्रममा रहेकाले उम्मेदवार हुन सक्ने जिल्ला अझ थपिन सक्ने रेशम चौधरीको भनाइ छ ।

काठमाडौं उपत्यकाका थारुहरुले पर्यटन बोर्डमा मनाए अस्टिम्की 

काठमाडौं उपत्यकाका थारुहरुले पर्यटन बोर्डमा मनाए अस्टिम्की 

१३५६ दिन अगाडि

|

३ भदौ २०७९

काठमाडौं, भदौ ३ । काठमाडौं उपत्यकाका थारूहरूले भदौ ३ गते शुक्रबार पर्यटन बोर्डमा  अस्टिम्की पर्व भव्यताका साथ मनाएका छन् । राष्ट्रिय थारू कलाकार मञ्चको संयोजनमा काठमाडौंस्थित दर्जन थारू संघसंस्थाहरूको संयुक्त आयोजनामा कार्यक्रम भएको हो  ।  सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि सहरी विकास मन्त्री मेटमणि चौधरीले पानसमा बत्ती बाली कार्यक्रमको उद्घाटन गरे । मन्त्री चौधरीले भने,‘थरुहट भूमि छाडेर काठमाडौंमा रहेका थारु युवाहरु सामूहिक प्रयासमा अस्टिम्की लगायत चाडपर्व संयुक्त रुपले मनाउनु राम्रो काम हो तर यो संगै राजनीतिमा पनि चासो दिनुपर्छ । कुनै  न कुनै पार्टीमा लागेर नेतृत्वमा आउन नसके अघि बढ्न सकिदैन ।’  थारु आयोगका अध्यक्ष विष्णु थारुले जातीय जनसंख्या अनुसार लोकसेवा आयोग लगायतमा आरक्षण हुनुपर्नेमा जोड दिए ।  त्यस्तै, थारु संस्कृतिमा कृष्णचरित्र परम्परा विषयमा विद्यावारिधि गरेका डा कृष्णराज सर्वहारीले अस्टिम्कीबारे प्रकाश पार्दै यसमा गाइने गीतको सारतत्व, विश्लेषणबारे सबै थारु जानकार हुनुपर्ने बताए । उनले अस्टिम्की विशुद्ध चाड मात्रै नभएर यसका मुख्य पात्रहरु कान्हा, राधा, इसरु, जासु लगायतको जीवनशैलीबाट धेरैभन्दा धेरै पाठ सिक्न सकिने धारणा राखे ।    समाजसेवी शिव चौधरीले सहरिया थारुहरुले घरमा नेपाली, अंग्रेजी बोल्ने चलन हावी हुँदै गएकाले थारु भाषा हराउँदै गएकोमा चिन्ता व्यक्त गरे । कार्यक्रममा देशभरिका राष्ट्रिय थारु कलाकारहरुको गीत, नृत्य प्रस्तुति रहेको थियो । सुर्खेतका थारु कलाकारहरु काठमाडौंमा अस्टिम्की मनाउन आइपुगेका थिए । राष्ट्रिय थारू कलाकार मञ्चका अध्यक्ष विनय वैद्यको सभापतित्वमा भएको औपचारिक कार्यक्रम ढिलो सुरु हुँदा अस्टिम्की टिक्ने कार्यक्रम प्रभावित भएको थियो ।    

नागरिक उन्मुक्ति पार्टी कञ्चनपुरको जिल्ला अध्यक्षमा नन्द कुमार राना

नागरिक उन्मुक्ति पार्टी कञ्चनपुरको जिल्ला अध्यक्षमा नन्द कुमार राना

१३५७ दिन अगाडि

|

२ भदौ २०७९

कञ्चनपुर नागरिक उन्मुक्ति पार्टी कञ्चनपुरको जिल्ला अध्यक्षमा नन्द कुमार राना चयन भएका छन् ।  बुधबार एक कार्यक्रमको आयोजना गरी रानाको अध्यक्षतामा २१ सदस्यीय जिल्ला समिति गठन गरिएको छ । जसअनुसार कार्यसमितिमा उपाध्यक्षमा बन्दीराम डंगौरा, सचिवमा पिताम्बर चौधरी, सहसचिवमा पतिराम चौधरीलाई चयन भएका छन् । यस्तै सदस्यहरुमा जगदीश निरौला, लक्ष्मण डंगौरा, राम कुमारी राना, बिन्तु प्रसाद चौधरी, सम्झना चौधरी, हेमन्तराज उपाध्याय, विष्णु चौधरी, खेमराज बडु, बिमल चौधरी, पार्वती चौधरी, सुरेश चौधरी, सुगम चौधरी, डुठा राना, पल्टु राना, राजमान चौधरी, कलावती चौधरी, तिलक चौधरी, ईतवारी राना र सुग्रीब चौधरी चयन भएका छन् । यसै गरी भदौ ११ गते बेलौरीको खुलामञ्चमा नागरिक उनमुक्ति पार्टीले पार्टी प्रबेश कार्यक्रम राखेको जनाएको छ । सोही दिन नागरिक उन्मुक्ति पार्टी कार्यालय कञ्चनपुरकोे उद्घाटन कार्यक्रम पनि रहेको जिल्ला अध्यक्ष नन्दकुमार रानाले जानकारी दिएका छन् । यसै गरी अर्के समाचार अनुसार नागरिक उन्मुक्ति पार्टी कैलाली क्षेत्र नं २ प्रदेश (ख) बर्दगोरिया गाउँपालिका कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रममा बुधबार विभिन्न पार्टी त्याग गरी ५७१ जना नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेको पार्टीका सुदूरपश्चिम संगठन विभाग प्रमुख अरुणकुमार चौधरीले जनाएका छन् । अरुणकुमार चौधरीले कैलाली क्षेत्र नं २ बाट प्रतिनिधिसभा उम्मेदवारीको दावी गरेका छन् । 

थारु समुदायका परम्परागत गीत लोप हुने सङ्घारमा

थारु समुदायका परम्परागत गीत लोप हुने सङ्घारमा

१३६१ दिन अगाडि

|

२९ साउन २०७९

कञ्चनपुर, २९ साउन । सङ्कलन र संरक्षणको अभावमा यहाँका  थारु समुदायका मौलिक परम्परा बोकेका गीत लोप हुने सङ्घारमा पुगेका छन् । चाडपर्व, बाली भित्र्याउने बेला र अन्य समयमा गाइने परम्परागत धमार, मैना, बडकिमार, सजना, मागर र वनगितवालगायतका गीत लोप हुने सङ्घारमा पुगेका हुन् । सुख दुःख, खुसियाली, प्रेम र विशेष अवसरमा गाइने यस्ता गीतको आफ्नै विशिष्ट स्थान रहे पनि आधुनिक युवाले पुराना संस्कृति बोकेका गीत विर्सदै जान थालेपछि थारु बुढापाका चिन्तित छन् । युवापिँढी पश्चिमा संस्कृतिको सिको गर्दै आधुनिकतामै हराउन थालेपछि पुराना गीत हराउन थालेको थारु भागीराम चौधरीले बताए । सजना फागुनदेखि साउनसम्म, मैना कात्तिकमा धान काट्ने बेला, धमार ससुराल गएको बेला दुलहादुलहीले भाका हालेर गीत गाउने गरेको उनले बताए । आफनै मौलिकता बोकेका थारु समुदायका गीतको कागजी दस्तावेजसमेत नराखिँदा गीत सङ्कलन र संरक्षण हुन नसकेको थारु अगुवा धनबहादुर चौधरी बताए । उहाँका अनुसार समयसापेक्ष ढङ्गले परम्परागत गीतलाई ढाल्न नसकिँदा नै युवापिँढी अन्य समुदायको गीतसङ्गीतप्रति आकर्षित हुन थालेका हुन । हालसम्म आधादर्जन बढी परम्परागत थारु गीत लोप भइसकेको र त्यतिकै सङ्ख्यामा रहेका गीत लोप हुने सङ्घारमा पुगेका उनले बताए । 

सरकार र थारु कल्याणकारिणीसभाका पदाधिकारीबीच छलफल

सरकार र थारु कल्याणकारिणीसभाका पदाधिकारीबीच छलफल

१३६३ दिन अगाडि

|

२७ साउन २०७९

काठमाडौँ, २७ साउन । नेपाल सरकार र थारु कल्याणकारीणी सभाका पदाधिकारीबीच आज छलफल भएको छ । गृहमन्त्री बालकृष्ण खाणको उपस्थितिमा सिंहदरबारमा भएको छलफलमा सरकारका तर्फबाट खानेपानीमन्त्री उमाकान्त चौधरी, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा ९कोइराला०, महान्यायाधिवक्ता खम्बबहादुर खाती, लुम्बिनी प्रदेशका पर्यटन ग्रामीण तथा सहरी विकास मन्त्री डिल्लीबहादुर चौधरी र गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेल सहभागी भए ।  कल्याणकारिणी सभाका तर्फबाट सभाका उपाध्यक्ष देवीप्रसाद चौधरी, महामन्त्री प्रेमीलाल चौधरी र केन्द्रीय सदस्यद्वय प्रभातकुमार चौधरी तथा रुकमिणी चौधरी सहभागी भए । छलफलमा उक्त सभाले सरकारसँग प्रस्तुत गरिएको मागका सम्बन्धमा कुराकानी भएको थियो । समस्या समाधानका लागि दुवै पक्षले आ–आफ्नोतर्फबाट गृहकार्य गरेर पुनः बैठक बस्ने निष्कर्षसहित आजको बैठक सकिएको गृह मन्त्रालयका प्रवक्ता फणिण्द्रमणि पोखरेलले जानकारी दिए ।   

कहाँ हरायो आदिवासी जनजाति आन्दोलन ?

कहाँ हरायो आदिवासी जनजाति आन्दोलन ?

१३६६ दिन अगाडि

|

२४ साउन २०७९

नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) ले मंगलबार नेपाल प्रज्ञा प्रतिष्ठानमा २८औँ विश्व आदिवासी दिवस मनायो । वर्षमा एक पटक आदिवासी दिवस मनाउने कर्मकाण्डी बाहेक नेफिन अहिले सुतेको जस्तो देखिन्छ । नवलपरासीमा हालै सम्पन्न नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) को दसौँ महाधिवेशनबाट काँग्रेस समर्थित ग्याल्जेन लामा शेर्पा महासंघको अध्यक्षमा चुनिएका छन् । निवर्तमान अध्यक्ष जगत बराम त गुमनामै भए, बरु निवर्तमान उपाध्यक्ष गोविन्द छन्त्यालले संस्थालाई केही चलायमान बनाए । महासंघका पूर्व अध्यक्ष राजकुमार लेखीलाई रातोपाटी प्रतिनिधिले मंगलबार सम्पर्क राख्दा उनी एमालेको भातृसंगठन लोकतान्त्रिक आदिवासी जनजाति महासंघको जिल्ला अधिवेशनको सिलसिलामा पर्सामा थिए । ‘तपाईं त आदिवासी जनजाति महासंघको केन्द्रीय कार्यक्रममा हुनुपर्ने होइन र ?’ भन्ने प्रश्नमा उनले भने, ‘हो, हुनुपर्ने हो । तर समयअनुसार जिम्मेवारी फरक हुन्छ । विश्व आदिवासी दिवसमा सहभागिता नजनाए पनि आदिवासी जनजातिहरुकै इस्युमा सक्रिय छु ।’ लेखीले महासंघ नेफिनको गतिविधि सुस्त रहेको जिकिर गर्दै भने, ‘बरु एमालेको भातृसंगठन लोकतान्त्रिक आदिवासी जनजाति महासंघ सक्रिय भएको छ । अब हाम्रो सक्रियताले नेफिन पनि सक्रिय हुन्छ कि ?’ महासंघमा राजनीतिक रंग महासंघ पहिले महासचिव प्रणालीमा चलेको थियो । महासंघको संस्थापक महासचिव सुरेश आले मगर थिए, जो अहिले पनि माओवादी पार्टीमा सक्रिय छन् । उनको कार्यकालपछि परशुराम तामाङ महासचिव भए । उनले दुई कार्यकाल अर्थात् ६ वर्ष काम गरे । चौथो महाधिवेशनबाट बालकृष्ण माबुहाङ निर्वाचित महासचिव बने । माबुहाङले आफूपछि डा ओम गुरुङलाई महासंघको महासचिव बनाउने प्रस्ताव प्रा सन्त गुरुङसँग राख्दा उनले दिएको जवाफ अहिले पनि सम्झिन्छन् । ‘ओम मसाल हुन्, हामीलाई आन्दोलनकारी चाहिएको छ । नेफिनलाई मसाल बनायो भने त खत्तम हुन्छ ।’ माबुहाङले ओम आन्दोलनकारी नै भएकाले उपयुक्त व्यक्ति भएको सन्तसँग तर्क राखे । साथै, उनले ओमलाई महासचिव हुने भए आफ्नो पार्टीको सम्पूर्ण दायित्वबाट मुक्त हुन दवाव नै दिए । यसरी महासंघको पाँचौं महाधिवेशनबाट डा ओम गुरुङ निर्विरोध महासचिव बने । माओवादी सशस्त्र सङ्घर्ष, राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासन, १९ दिने शान्तिपूर्ण जनआन्दोलन डा गुरुङको पदावधिको समयमा पर्यो । त्यसको असर जनजाति आन्दोलनमा पनि पर्नु स्वभाविकै थियो । तर महासंघको नेतृत्व के हुने भन्ने विषयमा डा ओमले खासै आन्तरिक परामर्श गरेनन् । माबुहाङका अनुसारपासाङ शेर्पा ओमको सचिवालयमा दाहिने हात थिए । यसै बीच महासंघको महासचिव बन्न पासाङ शेर्पाले तात्कालीन एमाले महासचिव माधवकुमार नेपालको आशीर्वाद ल्याएको हल्ला चल्यो । छैटौँ महाधिवेशनमा मल्ल के सुन्दरको उम्मेदवारी विरुद्ध पासाङ शेर्पाले उम्मेदवारी दिए । अन्ततः जित हासिल गरे । माबुहाङका अनुसार पासाङको प्रवेशसँगै राजनीतिक दलको लागि महासंघमा ढोका खुल्यो । महासचिव प्रणाली हटेर अध्यक्ष प्रणाली आएपछि पासाङ शेर्पा पहिलो अध्यक्ष भए । त्यसपछि राजकुमार लेखी, नगेन्द्र कुमाल, जगत बराम र दसौँ महाधिवेशनबाट ग्याल्जेन लामा शेर्पा अध्यक्ष भएका छन् । राजकुमार लेखी अध्यक्ष रहेको बेला एमाले परित्याग गरी आफ्नै अध्यक्षतामा नेपाल नागरिक पार्टी बनाएका थिए । पछि सद्भावना, राजपा, जसपा, लोसपा हुँदै लेखी पुनः एमालेमै फर्किएका छन् । महासंघको अध्यक्ष रहिसकेका पासाङ शेर्पा, नगेन्द्र कुमाल तथा महासचिव रामबहादुर थापा मगर क्रमशः एमाले, काँग्रेस र माओवादीबाट सांसदसमेत भए । रामबहादुर थापा मगर अहिले आदिवासी जनजाति आयोगको अध्यक्षको पनि जिम्मेवारी पाएका छन् । माबुहाङका अनुसार हालसम्म हेर्दा राजनीतिक दलको नाममा जनजाति समुदायका पार्टीका व्यक्तिले नेफिन क्याप्चर गर्दै गएको अवस्था देखिन्छ । न सम्बन्धित पार्टीको नीति तथा सिद्धान्त नेफिनको नीति तथा सिद्धान्तसित मिल्छ । तर पार्टीको तर्फबाट महासंघको अध्यक्ष बन्ने जोड चाहिँ बडो विचित्र तरिकाले काँग्रेस, एमाले, माओवादी सबैको मिल्छ । महासंघ नितान्त जनजातीय संस्था हो, सदस्य जनजातीय संगठन हुन्छ । राजनीतिक पार्टीमा व्यक्ति चौवन्नी सदस्यता लिएर बन्छन्, महासंघ ठिक उल्टो हो । जनजातीय संगठनमा लागेको व्यक्तिलाई महासंघको ‘राजनीति’मा लाग्दा बरु हानी हुनु पर्नेमा किन राजनीतिक पार्टीको बिल्ला प्रयोग गरिरहेछन् ? यसबारे निर्मम बहस जरुरी ठान्छन् माबुहाङ । अधिकार मागमा अगाडि, कार्यान्वयनमा पछाडि नेफिनका पूर्व अध्यक्ष राजकुमार लेखी नेफिन अधिकार प्राप्ती आन्दोलनको मागमा अगाडि भए पनि कार्यान्वयन गराउनमा पछाडि रहेको जिकिर गर्छन् । छयालीसको आन्दोलनपछि नेफिन लोकतन्त्र, संघात्मक शासन व्यवस्था, सबै जाति, भाषीका लागि जातीय जनसंख्याअनुसार अधिकार लगायत माग, मुद्दा उठाउँदै आन्दोलन गर्यो । तर २०७२ को संविधान जारी भई लागु भएपछि कार्यान्वयन पक्ष अत्यन्त फितलो भयो । ‘नेफिनले अब दुइ दशक अघिको मुद्दा बोकेर हुँदैन । बौद्धिक व्यक्तिहरुसँग नियमित छलफल चलाई नयाँ एजेन्डा खोज्न सक्नुपर्छ,’ लेखी भन्छन्,‘तर यो सँगसँगै व्यवस्था भैसकेको ऐनको कार्यान्वयन पक्षमा पनि उत्तिकै दवाव दिनुपर्छ ।’ प्रदेशस्तरीय संवैधानिक आयोग, प्रज्ञा प्रतिष्ठान किन गठन भएन ? थारूलाई छुट्टै क्लस्टर बनाए पनि लोकसेवा आयोगको परीक्षामा किन छुट्टै कोटा दिइदैन ? लेखीको प्रश्न छ । नेफिन सामाजिक संस्था भए पनि उसले सामाजिक मुद्दा सँगसँगै राजनीतिक मुद्दा पनि उठाउने हो । त्यसैले, राजनीतिक व्यक्तिहरु पनि नेफिनमा रहनु स्वभाविक ठान्छन् लेखी । उनले दुवै मुद्दालाई बरोबर ढंगले उठाउनु उपर्युक्त भए पनि त्यसो हुन नसकेको जिकिर गर्छन् । संविधानमा सुरक्षित भई पाइसकेको अधिकार आदिवासी जनजातिले नपाउनुमा नेफिनको आन्दोलन फितलो भएको तर्क छ उनको, ‘हाम्रो पालामा गाउँको कुना कन्दरामा समेत आन्दोलन हुन्थ्यो । अहिलेको आन्दोलन सहरमा सीमित भएको छ । पहिचानको राजनीति गर्ने भनेर एमाले छाडेका लेखी पुनः एमालेमा आउनुको कारण के कति पदको लोभमा हो त ? लेखी यस प्रश्नमा लामो समय हाँस्दै भन्छन्, ‘कुनै पदको लोभ होइन । पार्टीको केन्द्रीय सदस्य छु । १५ वर्ष पहिले गठन भएको एमालेको भातृसंगठन लोकतान्त्रिक आदिवासी जनजाति महासंघको संस्थापक सदस्य हुँ । पार्टीले उचित ठान्यो भने सांसदको टिकट देला या समानुपातिकबाट ल्याउला ।’ उनका अनुसार भदौ ६ भित्र लोकतान्त्रिक आदिवासी जनजाति महासंघको मधेस प्रदेशको आठै जिल्लामा अधिवेशन सकाएर प्रदेश अधिवेशन गराउने योजना रहेको छ । लेखी आफू नेफिनमा भन्दा बढी सक्रिय रहेर पार्टीमा  आदिवासी जनजातिहरुको हक अधिकारको वकालत गरिरहेको बताउँछन् । स्वायत्त क्षेत्रका लागि जोडः आयोग आदिवासी जनजाति आयोगको अध्यक्ष रामबहादुर थापा मगर पनि आदिवासी जनजाति आन्दोलनको बलले प्राप्त उपलब्धि प्राप्त गर्न नसकेको विडम्वनापूर्ण अवस्था रहेको जिकिर गर्छन् । आदिवासी जनजाति आयोग, थारु आयोग, समावेशी आयोग बन्नु आन्दोलनकै देन हो । तर कुनै क्षेत्र विशेषलाई स्वायत्त क्षेत्र बनाउन सकिएको छैन, जबकि यो संविधानमै उल्लेख छ । यसमा नेफिन लगायतको दवाव नै पुगेन । अध्यक्ष मगरका अनुसार आदिवासी जनजाति आयोगले विशेष स्वायत्त क्षेत्र घोषणा लगायतको विषयमा राष्ट्रपति कार्यालयलाई ध्यानाकर्षण गराएको छ । त्यस्तै, स्थानीय निकाय, प्रदेश लगायतले आदिवासी जनजाति लक्षित कार्यक्रममा के कति प्राथमिकता दिएका छन्, वडा तहदेखि स्थानी निकायले मातृभाषामा वडापत्र राखेका छन् कि छैनन् ? सो लगायतको अनुगमन गर्ने कार्यक्रम आयोगको रहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आदिवासी जनजातिहरूको भाषा, संस्कृति र लिपिको संरक्षण गर्नु राज्यको दायित्व भएको बताएका छन् । मंगलबार नेपाल आदिवासी जनजाति महासंघले २८ औँ विश्व आदिवासी दिवसको अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सरकार गम्भीर रहेको बताएका हुन् । तर सरकार कुरामा मात्रै गम्भीर छ, व्यवहारमा होइन । सरकारलाई गम्भीर बनाउन नसक्नुमा आदिवासी जनजाति आन्दोलनको दवाव अझ नपुग रहेको प्रष्ट छ । निश्चय पनि आदिवासी जनजाति आन्दोलनको बलले आदिवासी जनजाति आयोग, थारू आयोग, समावेशी आयोग लगायत आयोग बन्यो तर यी आयोग हात्तीको देखाउने दाँत भएका छन् । जबसम्म प्राप्त उपलब्धिको कार्यान्वयनका लागि आदिवासी जनजाति आन्दोलनको दवाव पुग्दैन, तबसम्म प्राप्त अधिकार कागलाई बेल पाक्यो, हर्ष न बिस्मात हुनेछ । विडम्वना नेपाल आदिवासी जनजाति महासंघ नेतृत्व निद्रामा छ ।