थारू समुदायमा गीत, नृत्य तथा चित्रकला तीनै माध्यमद्वारा पूजिने एक मात्र पात्र कान्हा

थारू समुदायमा गीत, नृत्य तथा चित्रकला तीनै माध्यमद्वारा पूजिने एक मात्र पात्र कान्हा

१४७६ दिन अगाडि

|

३ भदौ २०७९

‘ट्रान्जेक्सनल पोलिटिक्सः’ थारू आन्दोलनको अर्थराजनीति

‘ट्रान्जेक्सनल पोलिटिक्सः’ थारू आन्दोलनको अर्थराजनीति

१४७७ दिन अगाडि

|

२ भदौ २०७९

अहिले रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टी चर्चामा छ । यो पार्टीले एकै पटक दुई गाउँपालिका तथा दुई नगरपालिकामा विजयको झण्डा गाडेको छ । रेशमको पार्टीले आगामी प्रदेश र संघीय चुनावमा पनि राम्रो परिणाम ल्याउने आँकलन गरिएको छ । यो पार्टी स्थापित हुनु थारू आन्दोलनको देन हो । यहाँनेर एक ज्वलन्त प्रश्न खडा हुन्छ, थारू आन्दोलनको उत्तार चढावबीच यो टीकापुर विद्रोहसम्म पुगेकोले मुभमेन्ट टु पार्टीको अवधारणा जीवित बनेको मान्न सकिन्छ ?  थारू आन्दोलनको जगमा टेकेर पहिलो पटक राजनीतिक दलको रुपमा थरुहट तराई पार्टी नेपाल गठन भएको थियो । हुन त त्यो भन्दा अगाडि केही प्रयत्न २०६६ साल जेठ ३० गते वीरगञ्जमा थरुहट थारुवान संयुक्त संघर्ष समितिको सम्पन्न राष्ट्रिय भेलामार्फत भएको थियो । तर मूर्त रूप लिन सकेको थिएन । प्रारम्भमा लक्ष्मण थारू अध्यक्ष भएर २०६८ सालमा थरुहट तराई पार्टी नेपाल गठन भयो ।  उता सभासद रुकमिणी चौधरीले संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट) गठन गरी २०७० को दोश्रो संविधान सभा निर्वाचनमा रुकमिणी चौधरी समानुपातिक सभासद भइन् । उता थरुहट तराई पार्टी नेपालबाट गोपाल दहित र गंगा सत्गौवा थारू गरी दुई सभासद एक सभासद समानुपातिक तर्फबाट चुनिए ।   यी दुइ पार्टीका सभासदहरु मन्त्रीमा भाग खोजी गर्न प्रतिस्पर्धारत थिए । त्यसैले, थरुहट आन्दोलन सशक्त र एकीकृत बन्नुको सट्टा शिथिल र छरपस्ट हुँदै गएको थियो । थरुहट थारुवान संयुक्त संघर्ष समिति आन्दोलनको अगुवाई गर्न सकी नसकी विरोधका कार्यक्रम तयारी गरेजस्तो गरे । संविधान सभाका तीन मुख्य दलका शीर्ष नेतृत्वबीच सम्पन्न सोह्र बुँदे षड्यन्त्रमार्फत जब फाष्ट ट्रयाकमार्फत संविधान निर्माण प्रक्रिया अगाडि बढ्यो, थारू आन्दोलन टीकापुर (कैलाली) मा राज्यको चक्रव्यूहमा फँस्न पुग्यो । यसरी शान्तिपूर्ण राजनीतिक आन्दोलन एक आतंककारी टीकापुर काण्ड भएर जनमानसमा प्रचारित भयो । संविधानसभाबाट २०७२ असोज ३ गते संविधान जारी गरियो, तर थारू जातिले उक्त संविधान अस्वीकार गर्दै सो दिन कालो दिनको रुपमा प्रदर्शन गरे । आज पनि थारू जातिले संविधान प्रदत्त अधिकार किटानीपूर्वक भन्न सकिने स्थितिमा छैनन् । थारूहरू आन्तरिक उपनिवेशको शिकार भएका छन् । नेपाल राज्यको आन्तरिक औपनिवेशीकरण नीतिले गर्दा थारू जातिको सर्वहाराकरण भयो भने सामाजिक प्रतिरोधी क्षमता कमजोर भई दिनानुदिन संकटग्रस्त बन्दै गएको देखिन्छ । अझ नेपाली नागरिकतालाई राष्ट्रियतासँग जोडेर आधुनिक नागरिक बनाउँदै नेपाली भाषा अनिवार्य बोल्न लगाउने प्रपञ्च खतरनाक सावित भएको पाउँदछौंं । कथित नेपाल एकीकरणको समयमा जमिन र सेना सम्बन्ध स्थापित गर्दै सेना कमाण्डर नजराना, बक्सिस, जागिर प्राप्त गर्नु नै थारूहरूले जमिनबाट स्वामित्व गुमाउनु थियो  ।  यसरी थारू जाति प्राकतिक श्रोत तथा साधनबाट विमुख बन्नु केवल नियति थिएन, उनीहरुलाई आधुनिक शिक्षाको नाममा देशभक्तिप्रति प्रतिवद्ध मात्र होइन, संस्कृतिकरण तथा सहवरणको अवधारणामा आफ्नो पहिचान विलिन गर्न प्रोत्साहित गर्ने काम गरियो । यस अर्थमा थारू आर्थिक तथा सामाजिक–साँस्कृतिक ज्ञानसँग विच्छेद हुन पुगी औपनिवेशिकता स्वीकार गर्न बाध्य भए । औपनिवेशिकतामा बाँच्ने जुन कुनै जातिका सदस्य स्वयम्मा कि निराश हुने गर्दछ कि अवसरवादी । यही कारण हो कि जहिले पनि आन्दोलन एक ‘आउट विडिङ्ग इफेक्ट’मा सीमित बन्न पुग्छ र ‘क्रिमी लेयर’का केही अगुवाहरुले लाभ हासिल गर्ने गरेका हुन्छन् । आजसम्म थारू आन्दोलन माग तथा मुद्दामा उठान भएको पाउँदछौं । वहिष्करण र सिमान्तीकरण विरुद्धको संघर्ष भनेर यसलाई बुझाउन सकिन्छ । समावेशीकरण, आरक्षणलगायत राज्यको मूलधारमा समाहित हुने चाहना केन्द्रमा राखेर आन्दोलनको मोडेल तयार गरिएको हुन्छ । विगतमा यसले ‘सिभिक डिस्अवडिएन्स’को चुनौती त खडा गरेकै हो तर परिणाम निकाल्न सकेन । परिणाम सचेत धक्काले मात्र ल्याउन सकिने तर्क विशेष गरी माक्र्सवादी खेमाका अगुवाहरुले गरिआएका हुन्छन् । सचेत धक्का दिन ‘इपिस्टिमिक डिस्अवडिएन्स’ अनिवार्य शर्त बन्छ । थारू आन्दोलनमा विकल्प सहितको विद्रोह कहिल्यै मन्थनको विषय बनेन । त्यसले आन्दोलनलाई भावत्तेजित त बनायो तर आन्दोलनको अगुवाहरुसमेत त्यही भावले उद्वेलित हुन पुग्दा प्रत्येक थारू आन्दोलन गोलचक्करमा फँसिरह्यो । आज पर्यन्त थारू आन्दोलन संगठन र संघर्षको एकाङ्गी पक्षमा उभिनुलाई नै आफ्नो कार्यभार ठान्दै आएको पाउँदछौं । कतिपय अवस्थामा अल्पज्ञानको प्रभाव पनि यसलाई बुझ्न सकिन्छ । औपनिवेशिकता विरुद्धको संघर्ष राष्ट्रिय मुक्ति क्रान्तिसँग सम्बन्धित छ । त्यसैले राष्ट्रिय उत्पीडनको सवाल हल गर्न राष्ट्रिय मुक्ति क्रान्ति एक अनिवार्य शर्त बन्छ । राज्यको चरित्र बदल्ने कुरो चुनौतीपूर्ण हुने हुँदा राज्यविहीन राष्ट्रहरुले दिने चुनौती यथार्थमा टीकापुर विद्रोह ताका थारूले अनुभूत गरेकै हुनुपर्दछ । सप्तरीका भोलानाथ सुब्बा थारू तात्कालीन प्रधानमन्त्री वीर शमसेर विरुद्ध चुनौती खडा गर्दा वि.स.१९४५ तिर फाँसीमा झुण्डिनु परेको थियो । त्यसबखत पनि सप्तरीका वहुसंख्यक थारू भोलानाथ सुब्बा थारूलाई विद्रोहमा साथ दिएका थिएनन् । त्यस्तै दृष्य टीकापुर विद्रोह भएको वेला पुरै सन्नाटा छाएको प्रतित भयो । त्यो यसकारणले कि राज्य संयन्त्रहरु सबै निश्चित प्रणाली मार्फत सञ्चालिन हुने गर्दछन् । मिडिया राज्य नियन्त्रित हुँदा थारू आन्दोलनबारे गलत सूचना लगातार सम्प्रेषण गरियो ।  हुन त माक्र्सवादीले समेत राष्ट्रिय मुक्ति क्रान्तिको विषय उठान गर्दै तर्क गर्दछन् कि जबसम्म एक जातिले अर्को जाति उपर गर्ने शोषणको अन्त्य हुँदैन, तबसम्म एक व्यक्तिले अर्को व्यक्ति उपर गर्ने शोषणको पनि अन्त्य हुनेछैन । साथै एक वर्गले अर्को वर्ग उपर गर्ने शोषणको समेत अन्त्य हुनेछैन । तर उनीहरुले वर्ग संघर्षलाई प्रधान र बाँकी संघर्षलाई गौण करार गर्छन् । यसबाट जातीय मुक्ति सम्भव नभएर नै लेनिनले जातिको आत्मनिर्णयको अधिकार सम्बन्धि दृष्टिकोण प्रतिवादन गरे । त्यसको विरोधमा थुप्रै माक्र्सवादीहरु यो माक्र्सवादको भ्रष्ट रुप भएको बताए । रोजा यसमा विल्कुल असहमत नै रहे भने ट्रटस्की वोल्सेभिक पार्टीभित्र दुई लाइनको संघर्ष जारी राखे । राष्ट्रिय मुक्ति क्रान्तिबारे आदिवासी जनजातिहरुको दृष्टिकोण फरक पाइन्छ । विकल्प सहितको विद्रोह भनेर यसलाई बुझाउन सकिन्छ । त्यसैले अभियान, संघर्ष र विद्रोहको तीनै मार्ग अबलम्बन गरी यसलाई पुरा गर्न सकिनेछ । म थारू आन्दोलनको निकटमै रही काम गर्दा अनुभव गरेको विषय थुप्रै रहे । ती मध्ये २०७२ भाद्र ७ गते टीकापुर विद्रोह भएको दिन तात्कालीन गृहमन्त्रीको हैसियतले वामदेव गौतम संसदमा वोलेको विषय कुनै पनि थारू सभासदले नोटिस गरेको देखिएन । र, उनीहरुको आन्दोलन प्रतिको जवाफदेहिता केही पाइएन । संविधान जारी गर्नुपर्ने विषय बरु प्रधान भएर गयो । उनीहरु सरकारमा साझेदारी खोज्नतिर लागे ।  उता गाउँमा नेतृत्व प्रदान गरिरहेका भलमन्सा, बरघरहरु प्रशासनको आँखाको तारो बने । संघर्ष समितिका नेतृत्वकर्ता सबै आफ्नो आफ्नो सुरक्षित स्थानतिर गए । शुन्यताको अवस्थामा कफ्र्युको समयमा थारूहरुको घर, पसल छानी छानी भाद्र ८ गते आगजनी हुन पुग्यो । यी घटनाले भलमन्सा÷बरघरहरु नै वास्तविक नेतृत्व रहेको अनुभूति दिलायो । हजारौं प्रदर्शनकारीको नेतृत्व परोक्ष रुपमा तिनै भलमन्सा÷बरघरहरु रहेको बुझ्न कठिन भएन । यही कारण हो बरघर प्रणालीलाई कानुनी मान्यता दिलाउने नाममा  स्थानीय तहबाट राजपत्र प्रकाशन गरेर बरघर सञ्चालन ऐन बनाउन थालेको । राजनीतिक दलको विभिन्न तहमा रही काम गर्ने व्यक्तिहरु अहिले धमाधम बरघर चुनिनुको पछाडि यिनै मनोविज्ञानले काम गर्न खोजेको देखिन्छ । स्थानीय तहबाट प्राप्त हुने आर्थिक सहायता बरघर प्रणालीको लागि वरदान हो कि अभिशाप ? त्यो त आउने दिनमा पुष्टि हुँदै जाला । तर, राजनीतिक दलका स्थानीय कार्यकर्ताहरु यसरी बरघर÷भलमन्सा भई काम गरेसमाजमा अन्तरविरोध पुनरोत्पादन भैआउने पक्का छ । बरघर प्रणालीबारे ज्ञानसत्ता के हो ? भौतिक सत्ताको रुपमा यसलाई सुरुमा कसरी प्रयोगमा ल्याइयो र हाल कसरी प्रयोग गर्न खोजिदै छ ? के साँचिक्कै यसले थारूको राज्यसत्ता अभ्यासबारे स्थान बनाएको छ ? सरसर्ती हेर्दा यो एउटा प्रथाको रुपमा सञ्चालित भएको छ ।  यो प्रथा धान्न थारूहरु वर्षेनी बरघर चुन्ने गरेका छन् र सोही निर्णय बमोजिम समाजव्यवस्था कायम गरेको हुन्छ । तर बरघर प्रणालीको सामाजिक कार्यभार तथा कार्यकारिणी अधिकार हेर्दा यसलाई कार्यपालिका र अदालती दुई कोणबाट विश्लेषण गर्न सकिने ठोस आधार पाउँदछौं । त्यस्तै भौतिक तथा आध्यात्मिक सम्बन्धहरु बरघर प्रणालीभित्र मौजुद रहेको बुझ्न सकिन्छ । त्यसैले उपरोक्त सवालहरुको जवाफ खोजी गर्दा अंशबाट समग्र तथा समग्रबाट अंशको बुझाई बन्न जरुरी छ । यो नै थारू पहिचानको समग्रताको खोजीको ज्ञानसत्ता निर्माण गर्न सघाउने काम गर्छ । यिनै प्रक्रियामा थारूहरु हालसम्म अल्छी बनेर राजनीति मिलान गर्न असक्षम देखिए ।  राजनीतिमा माहिर खेलाडी मानिएका विजय गच्छदारसँग बरघर प्रणालीका विषयमा पटक पटक छलफल भएकै हो । यो पंक्तिकार समावेश रहेको टीम वैकल्पिक राजनीतिको वहसमा विजय गच्छदारलाई साँचिक्कै सहयोग गर्न तयार थियो । तर, उनले चुनाव जितेर आउँदा मात्र नेता हुने तात्कालीन परिवेशलाई आत्माग्रहको रुपमा अपनाए । गच्छदारको स्थिति राजनीतिमा चुनाव जितेर आए पनि कहाँ छ भन्ने सबैले बुझेको हुनुपर्छ । रेशमलाल चौधरी समेत सोही मनोदशाले ग्रस्त भएको पाइन्छ । नागरिक उन्मुक्ति पार्टी आफ्नो भविष्य वर्तमान चुनावी प्रतिस्पर्धाबाट नै सुनिश्चित गर्न खोजेको छ । नागरिक उन्मुक्ति पार्टी कुनै दिन दुई सभासद भएको थरुहट तराई पार्टीको हैसियत प्राप्त गर्ला तर थारूले उन्मुक्ति प्राप्त गर्ने विषय फगत आत्मरति नहोला भन्न सकिन्न ।  थारू आन्दोलन जुन दिन राष्ट्रिय मुक्ति क्रान्तिको धारमा लामबन्द भएर उठने छ, शायद बरघर प्रणाली स्थानीय राज्यसत्ताको स्वरुपमा विकसित बन्दै आधुनिक राज्य व्यवस्थाको खेलको नियम परिवर्तन गर्न सक्षम देखिनेछ । कम्तिमा नेपाल एक वहुलराष्ट्रिय राज्य पक्कै बनेर राज्यको पुनर्संरचना गर्न बाध्य हुने देखिन्छ । त्यसबखत थरुहट प्रदेश गौण र थारूको जातीय स्वशासन तथा आत्मनिर्णयको अधिकार प्रमुख हिस्सा बन्न पुग्छ । यसको आधारमा नै थारूको पहिचान तथा आत्मगौरवलाई संस्थागत गर्न बल पुग्नेछ ।  मलाई फेरि पनि भन्न मन लाग्छ– राणा जहाँनियाँ शासनकालमा थारू मासिने मतवाली बनाइए । लामो समयसम्म थारूको जीवन जगतको बुझाईमा त्यसले प्रभाव पार्यो । रैतीको रुपमा जीवन बाँच्नु थारूको नियति थियो । २००७ सालपछि थारू मतवाला भएर आफ्नो सरकार आफैं छान्ने सिद्धान्तको पछि लागेकै हुन् । त्यसबखत थारूको जीवन जगतको बुझाईमा आधुनिकीकरणले प्रभाव पार्यो र थारू कल्याणकारिणी सभा (थाकस) गठन गरेर सामाजिक कुरीति, अन्धविश्वास, वेथिति हटाउन आधुनिक शिक्षाको लागि बाटो देखाए । यी सबै हुँदै गर्दा औपनिवेशिकता प्रतिको थारूको बुझाई कमजोर बन्यो । साथै औपनिवेशिकतामा बाँच्नु पर्दा थारू जातिको न समृद्धिमा टेवा पुग्यो ,न सुखी बने । फेरि पनि स्थिति ज्युँका त्युँ छ ।  जारी थारू आन्दोलनले आज थारूहरुलाई हिम्मतवाला बनाएको हुनुपर्छ । यस अर्थमा सचेत धक्काको लागि तयारी गर्न सक्नुपर्छ, जुन विकल्प तयार गर्न केन्द्रीत हुनु जरुरी छ । यतिखेर वैचारिक÷सैद्धान्तिक तयारी, राजनीतिक÷कुटनैतिक तयारी, आर्थिक÷भौतिक तयारी, संगठन तथा संघर्षको तयारी अनिवार्य शर्त बन्छ । यिनै तयारीको जगमा थारूको राष्ट्रिय मुक्ति क्रान्ति अगाडि बढाइनु पर्छ । समग्रमा यसले नेतृत्वको तयारी पुरा गर्ने भएको छ । थारू जाति यदि हिम्मतवाला वर्गमा रुपान्तरण भएकै हो भने अब राष्ट्रिय मुक्ति क्रान्तिमा लामबद्ध हुनेबाहेक अर्को विकल्प छैन । यो धरतीमा अस्तित्वको लडाई लड्ने थारूहरुको अन्तिम धक्का हुनेछ, जसले आत्मगौरव प्रदान गर्नेछ । र, गर्वका साथ हामी थारू हौं भन्ने भावनात्मक एकता विकास गर्न मद्दत गर्नेछ ।  

थारू भाषाको पत्रकारिताको अवस्था र चुनौती 

थारू भाषाको पत्रकारिताको अवस्था र चुनौती 

१४७८ दिन अगाडि

|

१ भदौ २०७९

१.परिचय मार्टिन चौतारीद्वारा प्रकाशित मिडिया अध्ययन–२ (२०६४) जर्नलका लागि ‘थारू पत्रपत्रिकाको विगत र वर्तमान’ शीर्षकमा यो पंक्तिकारबाट लेख तयार पार्दा छापा माध्यममा कार्यरत थारू पत्रकारहरूको सूची बनाउने क्रममा मुश्किलले २२ जनाको नामावली तयार भएको थियो । सो नामावली प्रायः मातृभाषाको थारू पत्रिकामा आबद्ध पत्रकारहरूको थियो । त्यो सूची तयार भएको करिब डेढ दशकपछि थारू पत्रकारहरूको उपस्थिति करिब २ सय बढी पुगेको देखिन्छ । थारू सञ्चारकर्मीहरूको संख्यात्मक बढोत्तरी भएको देखिए पनि थारू मातृभाषाको पत्रकारिता भने सुकेनासले ग्रस्त छ ।  यसको पहिलो खण्डमा थारू पत्रकारिताको प्रारम्भिक चरण, दोश्रो खण्डमा थारू पत्रकारिताको व्यावसायिकताको बाटो, तेश्रो खण्डमा जनशक्ति र वितरण प्रणालीबारे चर्चा छ । चौथो खण्डमा थारू पत्रकारितामा समेटिएका बिषयबस्तु रहेको छ । यसअन्तर्गत चाडपर्व, संस्कृति, राजनीतिक समाचार, विचार, साहित्यिक स्तम्भ छुट्टै उपशीर्षक दिई चर्चा गरिएको छ । पाँचौ खण्डमा सामाजिक विषयबस्तु, छैठौं खण्डमा भाषा तथा लेखनशैलीको प्रसंग छ । सातौं खण्डमा थारू पत्रिकामा मात्रै सीमित थारू पत्रकार र, अन्त्यमा छोटो उपसंहार दिइएको छ । व्यावसायिक ढंगले प्रकाशित पत्रपत्रिकाको सूची तालिका १ र २ मा दिइएको छ । यो आलेख रेडियो, टेलिभिजनको थारू कार्यक्रम तथा अनलाइन पत्रकारिताबारे नभई छापामा थारू भाषाको व्यावसायिक पत्रकारिताको चुनौतीबारे केन्द्रीत छ ।  २.थारू पत्रकारिताको प्रारम्भिक चरण  २०२८ सालमा दाङबाट प्रकाशित गोचाली थारू भाषाको पहिलो पत्रिका हो । पञ्चायती व्यवस्थाको विरोधमा मिशन पत्रकारिता गरेको गोचाली पहिलो अंकमै प्रशासनको बक्रदृष्टिमा प¥यो । थारू साहित्य सुधार समिति, पश्चिमाञ्चल नेपालले प्रकाशन गरेको गोचालीका सम्पादकमा महेश चौधरी थिए । यसरी मातृभाषा थारूमा पत्रकारिता गर्ने महेश र उनको टिम पहिलो समूह हो भन्नेमा दुइ मत छैन । गोचालीको इतिहासलाई केलाउँदा यसको सम्पादनमा संलग्न महेश चौधरी, सगुनलाल चौधरी र भगवतीप्रसाद चौधरीलाई थारू पत्रकारिताको जग हाल्ने त्रिमूर्तिका रूपमा लिन सकिन्छ । २०४६ सालपछि पनि जेनतेन प्रकाशित भैरहेको गोचालीका सम्पादकमध्ये एक सगुनलाल चौधरीलाई २०५८ साल पुस १२ गते सेनाले बेपत्ता पारेपछि यसको प्रकाशनमा निरन्तरता छैन (चौधरीः २०६२) । बर्दिया, धधवार–६, सेमरहवाको आफ्नै घरबाट सेनाले माओवादीको आरोपमा गिरफ्तार गरेका सगुनको हालसम्म पनि अत्तोपत्तो छैन । सगुनलाल चौधरीका छोराहरू कृष्णकुमार चौधरी, निरन्जन चौधरी, गोचाली परिवारका अध्यक्ष जग्गुप्रसाद चौधरीले गोचालीलाई निरन्तता दिन जेनतेन पहल गरेका छन् तर नियमित छैन ।  पहिलो पत्रिका प्रकाशित भएको पाँच बर्षपछि २०३३ सालमा रामानन्द प्रसाद सिंहको सम्पादनमा थारू संस्कृति पत्रिका प्रकाशन भयो । थारू कल्याणकारिणी सभा (थाकस) को मुखपत्रको रूपमा थारू संस्कृति प्रकाशन भएको थियो । पञ्चायतकालमा करिव आधा दर्जन अङ्क मात्रै निस्किएको यो पत्रिकालाई तात्कालीन महामन्त्री राजकुमार लेखी (२०६३–२०६७) को सम्पादनमा मासिक रूपमा प्रकाशित गरिएको थियो । तर हाल यसको प्रकाशन स्थगित भएको छ ।  सङ्ख्यागत रूपमा हेर्दा छयालिसको आन्दोलन अघि गोचाली (दाङ), थारू संस्कृति र बिहान, (काठमाडौ), औँकश (नवलपरासी), हौली (मोरङ), थारू सँस्कार (सुनसरी), टेंस (बाँके), टेम्ह्री (कैलाली) हमार संस्कृति तथा फुन्गी (चितवन) गरी जम्मा १० ओटा पत्रिका प्रकाशित देखिन्छ (सर्वहारी, २०६४ः ४) । गोचाली साहित्यिक पत्रिका हुँदाहुँदै यसका रचना राजनीतिक बिश्लेषणले भरिएका थिए । कथा, निबन्धमा पनि माया प्रेमभन्दा प्रगतिशीलताको छनक पछिल्लो १५औं अंक (२०६४) सम्म भेटिन्छ । थारू संस्कृति पत्रिकाले गोचालीले तय गरेको बाटो समात्न सकेन, बरू छयालिस अघिको अंकमा यसले राजाका महावाणीलाई स्थान दियो, जुन कि यसको बाध्यता थियो । गोचालीको धरपकडबाट डराएको थारू संस्कृति समूहले त्यो खतरा मोल्न चाहेन, यसले सांस्कृतिक पत्रिकाको रूपमा आफ्नो पहिचान दिन उचित ठान्यो ।  ३. थारू पत्रकारिताको व्यावसायिकताको बाटो  छयालिसपछि संख्यागत रूपले थारू पत्रिका प्रकाशनमा बृद्धि भयो । प्रगतिशील थारू युवा संगठन, काठमाडौंले २०४७ फागुनबाट चीरखा मासिक पत्रिकाको सुरुवात ग¥यो । प्रायः प्रत्येक अंकमा थारू सांसदहरूको अन्तरवार्ता समेट्ने चीरखा पत्रिका मूल रूपमा भने सांँस्कृतिक पत्रिका थियो । २०६१ सालमा कम्पनी रजिष्ट्रारको कार्यालय काठमाडौंमा गुर्वावा प्रकाशन प्रालि दर्ता गरी नेपालगञ्जबाट अग्रासन मासिक पत्रिका प्रकाशन गरिएकोमा २०६२ माघसम्म अग्रासन जम्मा ७ अंक प्रकाशित हुन सक्यो । पछि दाङबाट यसको प्रकाशन हुन थाल्यो ।  थारू पत्रकारितालाई ब्यवसायिक ढंगले अघि बढाउने अगुवा हुन जोखन राम चौधरी । कैलाली, रानामुडाका यी युवा जोखन रत्गैंयाका नामले परिचित थिए । २०४९ सालमा गोचाली परिवार कैलालीको मुखपत्रको रूपमा “मुक्तिक डगर” (मुक्तिको बाटो) बार्षिक पत्रिका जोखन रत्गैयाको सम्पादनमा निस्कियो । गोचाली परिवार कैलालीले नै आफ्नो सहप्रकाशनको रूपमा जोखन रत्गैयाको सम्पादनमा २०५३ साल चैतमा ‘थारू मुक्ति साप्तहिक’ पत्रिका प्रकाशन ग¥यो । यही पत्रिकालाई थारू भाषाको पहिलो व्यावसायिक पत्रिका हुने श्रेय जान्छ । मुक्तिक डगरको पहिलो अंकमा प्रकाशनको उद्देश्यमा थारू भाषा र सँस्कृतिको रक्षा,  समाजमा निहित कुरिती, अन्धविश्वास, रुढीबाढी जस्ता पुरानो चालचलन हटाउन जोड दिने, थारू जातिको सभ्यताको खोजबीन गर्ने, छरिएर रहेका थारूहरूलाई संगठित गराउँदै सामाजिक चेतनाको बिकास गराउने लगायत उल्लेख छ । ‘मुक्तिक डगर’ बार्षिक पत्रिकाकै उद्देश्य अनुरूप ‘थारू मुक्ति साप्ताहिक’ को पनि प्रकाशन भएको हो ।थारू मुक्ति साप्ताहिक ४७ अंकसम्म प्रकाशित भएको देखिन्छ (सर्वहारी, २०६४ः १०) । गोचाली परिवार कैलालीसँग आबद्ध अधिकांश सदस्य तथा थारू मुक्ति साप्ताहिकका सम्पादक जोखन रत्गैंया नेकपा माओबादीको पार्टी अभियानमा संलग्न भएपछि यसको प्रकाशन स्थगित भयो । सुरक्षा कारबाहीमा जोखन रत्गैया मारिएपछि यसको पुनः प्रकाशन हुन सकेन । जोखन रत्गैयाका भाइ जगत रत्गैयाले ‘मुक्तिक डगर’ बार्षिक पत्रिकालाई निरन्तरता दिएका थिए । उनी पनि पछि  सुरक्षा कारबाहीमा मारिए । गोचाली परिवार कैलालीलाई कारबाही गरिएपछि पश्चिम नेपालको थारू पत्रकारिता मात्र होइन थारू भाषा साहित्य उत्थानमा पनि ठूलो धक्का लाग्यो ।  थारू भाषाको दोस्रो साप्ताहिक पत्रिका ‘मैगर हमार सन्देश’ (मायालु हाम्रो सन्देश) हो । थाकस जिल्ला कार्यसमिति बर्दिया प्रकाशक रहेको यस साप्ताहिकका प्रधान सम्पादक गोपाल दहित हुन् । आफू सभाको जिल्ला अध्यक्ष रहेको समयमा दहितले यसको प्रंकाशन थालेका थिए । ब्यवस्थापन मिलाउन नसक्दा १७ अंकसम्म प्रकाशित भई बन्द भयो । मैगर हमार सन्देशमा बिचारमूलक लेख, हाँस्यब्यंग्य, अतिथि कलमको रूपमा नेपाली भाषामा पनि लेख छापिएको पाइन्छ । बाँके,बर्दियामा यो पत्रिका निकै लोकप्रिय थियो । “जिल्ला जनप्रतिनिधिका भ्रष्टाचार, काला कर्तुत राष्ट्रिय स्तरका पत्रपत्रिकामा नछापिदा जनता दिक्क थिए । यो पूर्ति गर्न हामीले आफ्नै भाषाको पत्रकारिता गर्न उचित थान्यो । जति अंक प्रंकाशन गर्न सक्यौ, हामी आफ्नो उद्देश्यमा सफल  रह्यौं ।” मैगर हमार सन्देश साप्ताहिकका सम्पादक सन्तराम धरकटुवा थारू भन्छन् ।   धनगढी कैलालीबाट संगम चौधरीको सम्पादनमा २०५९ सालमा प्रकाशित ‘निसराउ’ साप्ताहिक थारू भाषाको तेस्रो साप्ताहिक हो । तर जम्मा १३ अंक सम्म प्रकाशित भई यसको प्रकाशन पनि हरायो । नियमित रूपमा प्रकाशित भइरहेको एक मात्र थारू भाषाको पत्रिका पहुरा दैनिक हो । पहिले साप्ताहिक रूपमा प्रकाशित भएको यो पत्रिका क्रमगत रूपले हेर्दा यो थारू भाषाको चौथो साप्ताहिक हो । २०५९ साल चैत्र २९ गते यसको पहिलो अंक प्रकाशन भएको थियो । यसको संस्थापक प्रकाशक दिलबहादुर चौधरी, सम्पादक राजकुमार चौधरी हुन् । पछि व्यवस्थापन परिबर्तन भई लोक बहादुर चौधरी ‘लक्की’ सम्पादक÷प्रकाशक भै पहुरा साप्ताहिकलाई निरन्तरता दिए तर पुरानो ब्यवस्थापनले पत्रिका आफ्नै स्वामित्वमा हुनुपर्ने माग राखेकाले पहुरा साप्ताहिकका  प्रकाशक÷सम्पादक  चौधरीले सो पत्रिका स्थगित गरी ‘हमार पहुरा अद्र्ध साप्ताहिक’ नाम राखेर अर्काे पत्रिका जिल्ला प्रशासन कार्यालयमा दर्ता गरे । अद्र्ध साप्ताहिकको रूपमा २०६३ बैसाख ३ गते पहिलो अंक प्रकाशित यो नै थारू भाषाको पहिलो अद्र्ध साप्ताहिक हो । २०६४ साउन १ बाट हमार पहुरा दैनिक रुपमा आयो । अध्ययनको सिलसिलामा लक्की चौधरी काठमाडौं उक्लिएपछि हमार पहुरा दैनिक स्थगित भयो । २०६७ वैशाखबाट स्माइल चौधरीको प्रकाशन तथा प्रेम दहितको सम्पादनमा हमार पहुरा दैनिकलाई पहुरा दैनिकमा रुपान्तरण गरी प्रकाशन थालिएको छ । साप्ताहिक, अद्र्धसाप्ताहिक, दैनिक विभिन्न संस्करण हुँदै पहुरा, हमार पहुरा, फेरि पहुराको नाममा पहुरा दैनिक १९ वर्षदेखि निरन्तर प्रकाशित भइरहेको छ । थारू भाषाको एक मात्र दैनिक यसले थारू भाषामै पहुराडटकम पनि सञ्चालन गरिरहेको छ । थारू भाषाको पाँचौ साप्ताहिक पत्रिका ‘फुलवार साप्ताहिक’ हो । यसका सम्पादक÷प्रकाशक राधेश्याम थारू र प्रधान सम्पादक कमल प्रसाद थारू छन् । डंगौरा र डेसौरी थारू भाषाको विवादबीच डेसौरी भाषाको प्रतिनिधित्व गर्दै प्रकाशित यस पत्रिकाले आफ्नो लोगोमा “शुद्ध थारू भाषाको एक मात्र पत्रिका” उल्लेख ग¥यो । आ–आफ्नो स्थानमा सबै क्षेत्रका थारू भाषा शुद्ध छन् भन्ने बहसपछि यसले शुद्ध शब्द हटाई थारू भाषाको एक मात्र पत्रिका भन्ने लोगो राख्यो । २०६१ साल असोज १७ गते आइतबार पहिलो अंक प्रकाशित फुलवार साप्ताहिकको पहिलो सम्पादकीय शीर्षक ‘फूलवारको लक्ष्य थारू सँस्कृतिको जगेर्ना गर्ने’  रहेको छ ।  यसरी ब्यावसायिक ढंगले हकर समेत राखी उचित बजार ब्यवस्थापनका साथ आए पनि यसको प्रकाशनको मूल उद्देश्य पनि सँस्कृति जगेर्ना नै देखिन्छ । थारू जातिलाई विश्व सञ्चारसम्म पु¥याउने उद्देश्य समेत बोकेको फुलवार साप्ताहिक तीन महिनामै आफैं सञ्चारविहिन भयो । १२ अंक प्रकाशन भएर यसको प्रकाशन स्थगित भयो । व्यावसायिक रूपले नै प्रकाशन थालिएका मासिक चीरखा, अग्रासन मासिक, उकुवार भेट पनि स्थगित नै छन् । हाल ब्यावसायिक रूपमा नियमित प्रकाशित भई रहेको थारू भाषाको एक मात्र पत्रिका कैलालीको पहुरा दैनिक, दाङको लौवा अग्रासन साप्ताहिक हो । त्यस्तै साहित्यिक पत्रिकामा दाङको त्रैमासिक लावा डग्गर तथा कैलालीको त्रैमासिक हरचाली रहेको छ । यी दुबै साहित्यिक पत्रिका हुन् । २०६८ सालको जनगणना अनुसार १७,३७,४७० जनसंख्या रहेको थारू समुदायका लागि जम्मा ४ वटा पत्रिका मात्र नियमित हुनु अन्यन्त न्यून हो । ४. जनशक्ति र वितरण प्रणाली पत्रिका व्यावसायिक ढंगले जनेतेन निकालेर गाउँघरमा त पठाइन्छ तर रकम उठ्दैन । बजारमा थारू पत्रिका स्टेशनरी पसलमा झुण्ड्याएर बिक्दैन, कारण बजारसम्म गएर पत्रिका पढ्ने पाठक छैनन् । थारू समुदायबाट दक्ष पत्रकारहरू भएकाको तर तिनलाई उचित पारिश्रमिक दिएर राख्न सक्ने क्षमता थारू भाषाका पत्रिकाका सम्पादक÷प्रकाशकहरूको छैन । बर्दियाको गुलरियाबाट आफूले ब्यावसायिक रूपमा थारू भाषाको मैगर हमार सन्देश साप्ताहिकको सम्पादनमा संलग्न हुँदाका क्षण गोपाल दहित  यसरी सम्झिन्छन्– “हाम्रो पत्रिकाको माग ५ हजार थान पुगिसकेको थियो तर १५ सय भन्दा बढी छाप्न सकेनौँ । वितरण प्रणाली मिलाउन र खर्च धान्न नसक्दा पत्रिकाको परिणाम बढाउन पनि सकिएन । यसैका लागि सम्पादन, वितरण, पूर्णकालीन कर्मचारी राख्न नसक्दा पत्रिका १७ अङ्कमै स्थगित भयो ।”  प्रायः थारू पत्रिकाको नियति मैगर हमार सन्देश साप्ताहिकको झैं छ । पत्रिका व्यावसायिक ढंगले निकाल्ने जमर्काे गरिन्छ, टीम पनि बनाइन्छ तर यसको भबिष्यबारे पर्याप्त गृहकार्य गरिदैंन । मैगर हमार सन्देश साप्ताहिककै सम्पादन समूहमा रहेका सुशील चौधरी एउटै ब्यक्तिले समय दिने र गोजीबाट रकम पनि हाल्ने रोगले थारू पत्रिकाको आयु लम्बिन नसकेको जनाउँछन् । त्यसबेला ४ जनाले सम्पादनको जिम्मा लिएकोमा महिनामा एक पटक पालो आउँथ्यो । उनका अनुसार सम्पादन गर्नेले नै सो अंकको खर्च पनि बेहोर्नु पथ्र्यो । भन्छन्, “पछि समय पनि दिन सकिएन, न त गोजीबाट रकम झिक्न सकियो । यसरी बार्षिक मात्रै होइन, साप्ताहिक पत्रिका समेत विना जनशक्ति, तयारी विना सुरु गरेको देखिन्छ । सुनसरीको दुहबीबाट थारू भाषाको साप्ताहिक टिहकारी २०७६ साउन ७ बाट सुरु भएको थियो । २०७७ चैत १८ सम्म यसको ३६ अंकसम्म प्रकाशित भएर हाल स्थगित छ । यसको प्रधानसम्पादक भोलाराम चौधरी २०७७ चैतबाट थारू आयोगको सदस्यको जिम्मेवारीमा आएपछि पत्रिका स्थगित भएको हो । वान म्यान आर्मीजस्तै थारू पत्रिकामा एकजनाको मात्रै जिम्मेवारीमा रहँदा, उ अर्कै काममा अल्झिएपछि पत्रिका स्थगित हुन बाध्य हुनु टिहकारी जस्तो पत्रिकाको नियति हो ।  अहिले काठमाडौंबाट लक्की चौधरीको सम्पादनमा हमार पहुरा अनलाइन, मदन चौधरीको सम्पादनमा थारूवान अनलाइन, नेपालगन्जबाट विश्वराज पछलडंग्याको सम्पादनमा गोचालीखबर अनलाइन, धनगढीबाट उन्नती चौधरीको सम्पादनमा केरनी अनलाइन, राम दहितको सम्पादनमा कैलारी अनलाइन लगायतमा फाट्टफुट्ट थारू भाषाको समाचार आउने गरेको छ । थारू समुदाय केन्द्रीत समाचार भए पनि यी अनलाइनको थारू भाषामै समाचार पस्किने प्राथमिकतामा पर्दैन । पहुरा दैनिकको अनलाइन पहुराडटकम मात्रै थारू भाषामा रहेको छ । हरचाली साहित्यिक अनलाइन, एक परगा लगायतले साहित्यिक खुराक पस्किरहेका छन्, तर नियमित अपडेट छैन । यी पनि ‘वान म्यान आर्मी’जस्तै मात्रै छन्, यिनले थप जनशक्ति राख्ने क्षमता राख्तैनन् ।  लावा डग्गर त्रैमासिकक सम्पादक प्रकाशक छविलाल कोपिला आफ्नो पत्रिका आफैं कम्प्युटर टाइप गरेर सेटिङ गर्छन, प्रेसमा धाउँछन्, ग्राहकप्रति आफैं पु¥याउन दगुर्छन् । यसरी थारू भाषाको पत्रकारिता एक प्रकारको समाजसेवा झैं लाग्छ उनलाई । पत्रिकाकै आम्दानीबाट सम्पादक, ब्यवस्थापक पालिने अवस्था नहुँदासम्म थारू मात्र होइन, अन्य भाषाभाषीको पत्रिकाको पनि भविष्य सुखद देख्दैनन् उनी ।  ५. समेटिएका बिषयबस्तु साहित्यिक पत्रिकामा साहित्य हुने नै भयो तर व्यावसायिक रूपमा प्रकाशन भैरहेको पत्रिकामा पनि साहित्यको खुराक बढी भेटिन्छ । यी दुई खाले पत्रिकामा के कस्तो बिषयबस्तु समेटिएका छन् । समग्र रूपले बँुदागत रूपमा चर्चा गरिन्छ ।  ५.१ चाडपर्व/संस्कृति सबैजसो पत्रपत्रिकामा चाडपर्ब सँस्कृतिको परिचयले प्रर्याप्त स्थान पाएको छ । थारू जातिको प्रचलित गुरहि (नागपञ्चमी), अष्टिम्कि (कृष्ण जन्माष्टमी) अट्वारि, डस्या (दशैं), डेवारि (तिहार), ढुरहेरि (होली), चाडबाहेक खेतीपाती सकिएपछि खाइने पेंड्या, सवनिया, पानी पार्नलाई गोरु बेंह्रना चलनबारे उल्लेख गरिएको भेटिन्छ । ती चाडपर्वमा हुने फजुल खर्चबारे टिप्पणी, मौलिक चाडको ऐतिहासिकताबारे ब्याख्या भने भेटिदैन । थारूहरूको बारेमा थुपै्र विदेशी तथा स्वदेशी लेखकहरूले खोज अनुसन्धान गरेर पुस्तक प्रकाशन गरेका छन् तर तिनीहरूले हाम्रो बारेमा के लेख्छन् ? हाम्रो चाडपर्व, संस्कृतिबारे उनीहरूको टिप्पणी के छ ? यस सम्बन्धी लेख थारू पत्रपत्रिकामा अववादको रूपमा मात्रै भेटिन्छ । थारूहरूको चालचलन संस्कृतिबारे जसले जे लेखे पनि जस्तो ब्याख्या गरे पनि त्यसको समर्थन, खण्डन संशोधनबारे चर्चा नहुनु दुर्भाग्यपूर्ण अवस्था छ ।  चाडपर्ब यसरी मनाइन्छ, उसरी मनाइन्छ भन्ने सतही लेखबाहेक अरु विशद चर्चा परिचर्चा उल्लेख छैनन् थारू पत्रपत्रिकामा । चाडबाडमा फजुल खर्च गर्ने बानीले थारू सामुदायको आर्थिक अवस्था कमजोर रहेको एउटा अहम् तथ्य जगजाहेर छ । तर यस सम्बन्धमा चिरफार गरिएको लेख पत्रपत्रिकामा समेटिन सकेको छैन (सर्वहारी, २०६४ः २४) ।  ५.२ राजनीतिक समाचार, विचार  समाचारमूलक पत्रिकामा पनि राजनीतिक समाचार अत्यन्त न्यून हुनु अचम्मको अवस्था छ थारू पत्रपत्रिकामा । विचार पृष्ठमा पनि सामाजिक बिषयबस्तुलाई प्रायः स्थान दिइएको छ । त्यसमा राजनीतिक लेख अपवादकै रूपमा समेटिएका छन् । सांस्कृतिक लेखले भरिएका छन् विचार पृष्ठ पनि । थारू राजनीतिक कार्यकर्ताका विचार, अन्तरवार्ता समाचारमूलक पत्रपत्रिकामा समेटिन नसकिनु दुर्भाग्यपूर्ण अवस्था छ । जवकि सामयिक संकलनमा रूपमा प्रकाशित चिरखा मासिक, बिहान, नेउता बार्षिक पत्रिकाले थारू सांसदका अन्तर्वार्ता समेटेका छन् । अग्रसान मासिकका संस्थापक सम्पादक श्रीराम चौधरीका विचारमा पत्रिका प्रकाशनसंग सम्बद्ध ब्यक्तिहरू खास गरी साहित्यमा झुकाव राख्नेहरू नै बढी हुँदा राजनीतिक लेखले पत्रपत्रिकामा स्थान पाउन नसकेको हो । उनको भनाईमा केही हदसम्म सत्यता छ । तर लेखको पारिश्रमिक दिन नसक्ने अनि कुराकानीमा आधारित लेख तयार गर्ने जनशक्ति नहुँदा राजनीतिक लेखको खडेरी देखिएको हो । हाम्रा खास पाठक थारू भाषी हुन् । यो पक्ष जगजाहेर हुँदाहुँदै पनि थारू समुदाय, जनजाति समुदाय सम्बन्धि लेखरचनालाई प्राथमिकता नदिई पहुरा थारू दैनिकले प्रायः गोरखापत्र दैनिकको विचार पृष्ठको अनुवादित लेखरचनाले पत्रिकाको पाना भर्ने गरेको छ । यसले थारू समुदायका मुद्दाका वास्तविक बहस ओझेलमा पर्ने गरेको छ । हालै लोकसेवा आयोगमा थारूहरूका लागि छुट्टै कोटा नदिने सर्वोच्चको फैसला आयो । यसबारे जानकारीमूलक समाचार त आए तर यसले पार्ने दुरगामी असरबारे खोजमूलक समाचार, विचार आएन । सुर्खेतको साझा बिसौनी दैनिकमा २०७८ चैत ९ बाट मासिक रूपमा थारू भाषामा एक पृष्ठ फुलवार स्तम्भ सुरु गरेका साहित्यकार मान बहादुर चौधरी ‘पन्ना’ थारू भाषाका पत्रिकाका सम्पादकहरूमा बिषयबस्तुको ज्ञानको अभावको कारण सतही लेख रचनाले पत्रिका भरिएको जनाउँछन् । उनी भन्छन्– केही पत्रकारिता तालिममा मैले सहभागिता जनाएपछि आफ्नै समुदायका थुप्रै  लुकिरहेको मुद्दा कसरी केलाउने भन्ने थाहा पाएँ । थारू पत्रिकालाई राम्रो बनाउन थारू सम्पादकहरूको भेला हुनु अपरिहार्य रहेको उनी देख्छन् । ५.३ साहित्यिक स्तम्भ कथा, कविता, साधारण लेख रचनाका अतिरिक्त अब थारू पत्रिकामा नौलो विधाले पनि स्तम्भको रूपमा स्थान पाएका छन् । यसले थारू भाषा साहित्यलाई अझ फराकिलो बनाउने देखिन्छ । मैगर हमार सन्देश साप्ताहिकमा ‘पोक्टा आँरा’ (बिग्रिएको अन्डा नामक ब्यंग्य स्तम्भ नियमित थियो । त्यस्तै समसामयिक जल्दोबल्दो घटना विश्लेषण स्तम्भ ‘सिल्गल आगी’ (सल्किएको आगो) लोकप्रिय थियो ।  त्यस्तै उँकुवार भेट मासिकमा स्वास्थ्य स्तम्भका अतिरिक्त अप्ठ्यारो शब्दको अर्थ ‘पुछो लड्को मनके बाट जोन्हु मामासे’ सोध केटाकेटी मनका कुरा चन्द्रमा मामासंग आदि स्तम्भ राखिएका थिए । पुछो लड्को ... स्तम्भले बाल बालिबालिकालाई कविता लेख्न सिकाउन मद्दत गरेको थियो । लावा डग्गर त्रैमासिकले कविता, कथा, लोककथा, समालोचना, निवन्ध, नाटक, यात्रासंस्मरण, भाषा बहस, पुस्तक समिक्षादेखि धाराबाहिक उपन्याससम्म स्तम्भ राखेको देखिन्छ । पहुरा थारू दैनिकले पनि शनिबारको अंकमा साहित्यिक सामग्री दिने गरेको छ । दाङको नयाँ युगबोध, गणतन्त्र, गोरक्ष यी तीन दैनिकले सातामा एकपटक थारू भाषा पृष्ठ दिने गरेकोमा यसमा पनि प्रायः साहित्यिक लेखकै मात्रा बढी देखिन्छ ।  ५.४ सामाजिक बिषयबस्तु थारू जाति पछि प¥यो, छोरीलाई पनि छोरा सरह पढाऔं, कमैया कमलरीहरूको ब्यथा, जाँडरक्सी कम गरौं गुरुवा धामी भन्दा अस्पताललाई प्राथमिकता आदि बिषयबस्तु प्राय पत्रिकामा समेटिएका छन् । तर यस सम्बन्धमा समेटिएका लेख पनि सतही छन् । फिचर, रिपोर्टका रूपमा आउनु भन्दा सामान्य लेख रचनाका रूपमा ती बिषयबस्तुलाई स्थान दिइएको छ ।  थारू जाति पछि पर्नाका कारण के के हुन् ? कुन पक्षमा सुधार गरे यो समुदायको उन्नति हुन्छ । छोरीले उन्नति गरेर बाबुआमा पालेको उदाहरण कहाँ छ ? मुक्ति अघि कुन कमैया कमलरीलाई कुन जमिन्दारले किन र कसरी दुःख दिए ? मुक्त भएको थोरै समयमा कुन मुक्त कमैया परिवारले उन्नति ग¥यो ? जाँडरक्सीको सेवनले साँच्चिकै थारू समुदाय पछि परेको हो त ? गुरुवाले गलत सल्लाह दिदा कहाँका बिरामीलाई असर पा¥यो । बरघर ऐनको असर लगायत बारेको फिचर, खोजमूलक समाचारको अभाव छ । ६ भाषा, लेखनशैली कुनै पनि भाषिक समुदायले पत्रिका प्रकाशन गर्नुको मूल उद्देश्य भाषा सँस्कृतिको जगेर्ना हो । थारू समुदायले प्रकाशन गरेका पत्रिकाको मूल उद्देश्य पनि यही हो । साठीको दशकमै रेडियो ख्यालमा प्रंसारण भएका सामग्रीको बुलेटिन “ख्याल” मा दन्त्य त थ द ध को कुनै प्रयोग नगरी पुरै तालब्य ट ठ ड ढ को प्रयोग भई समाचार प्रकाशित भएको देखिन्छ । नेपाल आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले २०७३ साउन १ देखि ३ सम्म दाङको घोराहीमा थाकस दाङको सहकार्यमा डंगौरा थारू भाषाको वर्ण निर्धारण गोष्ठी गरेको थियो । सोही गोष्ठीबाट प्राप्त निचोड अनुसार लावा डग्गर त्रैमासिकले २०७३ साउनपछिको अंकबाट  त, थ, द, ध, क्ष, त्र, ज्ञ, ण लगायत वर्ण हटाई तालब्य ट, ठ, ड, ढ को मात्रै प्रयोग, स्थान, नामबाहेक सबै शब्द ह्रस्वमा लेख्ने शैली अपनाएको छ ।  टिहकारी साप्ताहिकले सिल इन्टरनेशनलको सहकार्यमा तयार पारेको मध्य पूर्बैया थारू लेखनशैलीलाई आधार लिएको थियो । यसरी लावा डग्गर त्रैमासिक र टिहकारी साप्ताहिक बाहेक अन्य पत्रिकाले आफ्नो लेखनशैली बनाएका छैनन् । प्रकाशनको दुइ दशक पुग्नै लागेको पहुरा थारू दैनिकको पनि कुनै लेखन शैली छैन । गत वर्ष लेखिका इन्दु थारूको पहुरा थारू दैनिकमा आफ्नो नेपाली भाषाको लेख थारू भाषामा अनुवाद भएर छापिएको थियो । ‘नेपाली व्याकरणको लेखनशैलीमा अनुवाद गरिएको लेखमा कुनै मिठास थिएन । धेरै ठाउँमा अर्थको अनर्थ लाग्ने गरी उल्था थियो,’ उनी भन्छिन्,‘मेरो लेख मात्रै होइन, दैनिक छापिने समाचारमा पनि नेपालीबाट थारू भाषामा उल्था गरेर राख्दा अर्थ नलाग्ने, थारू मौलिक शब्द छँदाछँदै नेपाली शब्दको भरमार प्रयोगले पढ्दै झर्को लाग्ने शैली छ । यसले थारू भाषाको उन्नतिमा टेवा पु¥याउँदैन ।’ ७. थारू पत्रिकामा मात्रै सीमित थारू पत्रकार  थारू पत्रिका सम्बद्ध सम्पादक/प्रकाशकहरूको सूची अन्तर्गत तालिका १ र २ लाई हेर्दा २९ ओटा थारू पत्रिकाको सम्पादक÷प्रकाशक मध्ये मूलधारको नेपाली छापा मिडियामा एक मात्र थारू पत्रकार लोक बहादुर चौधरी ‘लक्की’ गोरखापत्र दैनिकमा कार्यरत छन् । लामो समय कामना प्रकाशन, अन्नपूर्ण पोष्ट दैनिक लगायत छापा पत्रकारितामा रहेका कृष्णराज सर्वहारी हाल मूलधारको अनलाइन रातोपाटी डटकममा आवद्ध छन् । यी दुबै सम्बद्ध थारू पत्रिका पनि स्थगित भइसकेको छ । थारू पत्रिकामा मात्रै सीमित अन्य अनुहार शौखको लागि मात्रै सीमित समयका लागि थारू पत्रकारितासँग सम्बद्ध भएको देखिन्छ । यसले पनि थारू पत्रिकाको आयु लामो देखिन्न । पत्रिकामा मात्रै होइन, रेडियोमा समेत ठूलो जनशक्ति थारू समाचारमा मात्र केन्द्रीत छ । सन्तोषजनक पारिश्रमिक र आवश्यक सेवासुविधा तथा तालिमको अभावमा थारू मात्रै होइन, अन्य भाषाभाषीका कार्यक्रम पनि कामचलाउ रूपमा मात्रै तयार हुने देखिन्छ (सर्वहारीः २०६५ः २३३) । कान्तिपुर दैनिकमा कार्यरत पत्रकार गणेश राईले आफ्नो मातृभाषा वाम्बुले राईमा विगत दुई दशकदेखि लिब्जुभुजु पत्रिका नियमित प्रकाशन गरिरहेका छन् । त्यसैगरी मूलधारमा रहेका थारू पत्रकारहरूले पनि मातृभाषाको पत्रकारितामा होस्टेमा हैंसे गर्नुपर्ने देखिन्छ । मधेश आन्दोलनले मधेशी पत्रकारहरूको दायरा फराकिलो पारे पनि थरूहट आन्दोलनले थारू पत्रकारहरूको आयतनमा कुनै तात्विक परिवर्तन ल्याएन (सर्वहारी, २०६८) ।  ८. उपसंहार  पत्रिका प्रकाशनको पाँच दशक पार गरिसक्दा पनि थारू छापा पत्रकारिता व्यावसायिक रूपमा बामे सर्न सकेको छैन । छापा भन्दा बरु रेडियो, अनलाइन पत्रकारितामा थारू सञ्चारकर्मीहरू अग्रसर हुन थालेका छन् । रेडियोमा संलग्न सक्रिय थारू सञ्चारकर्मी रेडियोमा मात्र सीमित भई कलम नचलाउँदा पनि समुदायको धेरै बिषयबस्तु छापामा समेटिन सकेका छैनन् । प्राविधिक रूपले पत्रपत्रिकाको गुणस्तरमा सुधार आए पनि, संख्यात्मक रूपले पत्रिकाको बढोत्तरी भए पनि बिषयबस्तुको सवालमा छापा पत्रकारिताको गति पाँच दशक पहिलेको गोचाली पत्रिको स्तरभन्दा माथि उठ्न सकिरहेको छैन । ब्यावसायिकतासँगै थारूहरूको हक, अधिकारबारे मिशन पत्रकारिता गर्नु पनि उत्तिकै जरुरी छ, थारू पत्रकारहरूको काँधमा । संख्यात्मक रूपले पत्रिका धेरै भएकोमा नियमित छैन । नियमित हुनेको गुणस्तर उकासिन सकेको छैन । अनुवाद पत्रकारिता बढी छ । एकल अनलाइन खोल्ने अभियानमा थारू पत्रकार पनि छन् । तिनले थारू समुदायका मुद्दा उठाए पनि नेपाली भाषाको माध्यमलाई प्राथमिकता दिएका छन् । यसले थारू भाषाको लेखनशैलीको विकास हुन सकेको छैन । गोरखापत्र जस्तो सरकारी मिडियामा थारू भाषाको पृष्ठ विगत डेढ दशकदेखि आउनु स्वागतयोग्य छ । तर, लेखनशैलीकै कारण थारू भाषाको पृष्ठ संयोजक नै फेरिनु दुर्भाग्यपूर्ण छ ।  नेपाली मिडियामा पनि थारू पत्रकारहरूको उपस्थिति देखिदैछ तर गुणात्मक रूपमा सन्तोष गर्ने ठाउँ छैन । थारू पत्रकारिताको न्वारन गोचाली (२०२८) ले गर्यो । तर प्रकाशनको पाँच दशकपछि पनि यसका प्रधानसम्पादक महेश चौधरी गोचालीकालीन भाषाशैली थारू पत्रकारिताले उपर्युक्त छ भन्ने अभिव्यक्ति दिन्छन् । महेश चौधरीको जस्तो पारम्परिक सोच अनि दुइ दशकदेखि पहुरा थारू दैनिक मार्फत् थारू पत्रकारिता गर्ने समूहको पनि कुनै लेखनशैली नबनाई जे लेखे पनि थारू पाठकले पचाउँछन् भन्ने शैलीले थारू पत्रकारिताको लेखनशैली जहाँको तहीं रहने देखिन्छ । अब थारू भाषाको पत्रिकाका सम्पादक, प्रकाशकहरूले आफै स्वमूल्याङ्कन गर्ने बेला आएको छ । थारू भाषाको पत्रकारितालाई सवल बनाउन पत्रकारितामा एकल अभियान भन्दा पनि सामूहिक अभियानको खाँचो देखिन्छ । २०६७ सालमा स्थापित थारू पत्रकार संघले यस अभियानमा सक्रिय भूमिका खेल्न जरूरी देखिन्छ । सन्दर्भ सामग्री चौधरी, कृष्णराज । २०६२ । वेपत्ता छन् सगुनलाल । मूल्याङ्कन  मासिकः २४(१३८), फागुन, पृ.३० ।                                  सर्वहारी, कृष्णराज । २०६८ । मिडियामा थारू पत्रकारको अवस्था । थारू पत्रकार संघ नेपालद्वारा २०६८ साउन ९ गते काठमाडौंमा आयोजित अवधारणापत्र । सर्वहारी, कृष्णराज । २०६५ । थारू भाषामा रेडियो कार्यक्रमः संख्यामै जोड । स्वतन्त्र रेडियोको एक दशकः विकास, बहस र सामाजिक सरोकार । देवराज हुमागाई, प्रत्यूष  वन्त र कोमल भट्ट, सं., पृ. २११–२४१ । काठमाण्डौँः मार्टिन चौतारी । सर्वहारी, कृष्णराज । २०६४ । थारू पत्रपत्रिकाको विगत र वर्तमान। मिडिया अध्ययन–२ । प्रत्यूष वन्त, हर्षमान महर्जन, देवराज हुमागाई र शेखर पराजुली, सं., पृ. १–३३ । काठमाडौंः मार्टिन चौतारी । प्रस्तुत आलेख प्रेस काउन्सील नेपालको आयोजनामा मिति २०७८ चैत २१ गते दाङको घोराहीमा प्रस्तुत ‘थारू भाषाको पत्रकारिता र आचारसंहिता’ विषयक् गोष्ठीमा प्रस्तुत अवधारणापत्रको संशोधित रूप हो । अवधारणापत्रका मुख्य टिप्पणीकर्ता केवी चौधरी लगायत सुझाव दिने सबैप्रति आभारी छु । 

थारू समुदायको ‘बरघर ऐन’ र राजनीतिक चासो

थारू समुदायको ‘बरघर ऐन’ र राजनीतिक चासो

१४७८ दिन अगाडि

|

१ भदौ २०७९

वैशाख ३० को स्थानीय चुनावमा थारू गाउँका अगुवा बरघरलाई हातमा लिन उम्मेदवारहरूको तँछाड मछाड थियो । आगामी मंसिर ४ को प्रदेश तथा प्रतिनिधि सभा चुनावमा पनि यो क्रम दोहरिने निश्चित छ । यसै क्रममा मानवशास्त्री सुरेश ढकालको हिमालखबरको वैशाख अंकमा छापिएको ‘के बरघर बन्ला त चुनावी मुद्दा’ शीर्षकको लेखले थारू समुदायको ध्यान केन्द्रित गरेको छ । अहिले दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर लगायतका थारू बहुल जिल्लाहरूमा केही स्थानीय तहले ‘बरघर÷भल्मन्सा ऐन’ जारी गरेका छन् । नेपालको संविधानको धारा २२१ अन्तर्गत गाउँ सभाको व्यवस्थापकीय अधिकार, धारा २२६ अन्तर्गत कानुन बनाउन पाउने अधिकार छ । सोही अनुरुप स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११(फ) (४) (५) दफा ११ (४)को (ठ) र दफा १०२ अन्तर्गत अधिकार प्रयोग गर्दै अनुसूची ८ अन्तर्गत रहेका स्थानीय अभिलेखीकरण, भाषा संस्कृति, ललितकलाको संरक्षण र विकासको जिम्मेवारीलाई आधार बनाई ‘बरघर÷भल्मन्सा ऐन’ गाउँ÷नगरसभाबाट पारित गरी लागु गरिरहेका छन् ।     यदि यसको वास्तविक उद्देश्य राजनीतिक चासो हो भने बरघर ऐन शंकास्पद देखिन्छ । यसले थारू समुदायको परम्परागत बरघर प्रथालाई दीर्घकालीन प्रतिकुल असर गर्नेछ । र, यस प्रथाको मूल सारलाई मार्न वा पूर्ण रुपमा ध्वस्त पार्न सहयोगी हुने देखिन्छ । विगतको दशकदेखि थारू अध्येता तथा अनुसन्धानकर्ताहरूले बरघर प्रथाको सामाजिक तथा सांस्कृतिक पक्षभन्दा पनि राजनीतिक पक्षमा बढी केन्द्रीत देखिएकाले अहिले परम्परागत बरघर प्रथाबारे नयाँ बहसको विषय बनेको छ ।     नेवारी समुदायको पहिचानसँग जोडिएको गुठीलाई पनि हेर्दा जब मल्ल राजाहरूले नेवाः राज्य कब्जा गरे, नेवारहरूको त्यो विरासतलाई नोक्सान गरेनन् । त्यसपछिका शाहवंशीय हँुदै राणाहरूले पनि यस विरासतलाई विघटन नगरी बल्कि सामाजिक संरचनामा समावेश गर्न उत्प्रेरित गरे । जब वि.स.२०२० सालमा मुलुकी ऐन लागु भयो, त्यसमा गुठीको विषयमा स्पष्ट व्याख्या गरिएको थियो । गुठीको जग्गाको पूर्ण रुपमा कर छुट थियो र राज्यले त्यस्तो जग्गा कुनै पनि परिस्थितिमा जफत गर्न सक्दैनथ्यो ।     भन्न खोजेको कुनै जाति, वर्ग, समुदायको पहिचानसँग जोडिएको परम्परागत प्रथाजनित मान्यतालाई त्यस समयका प्रभावशाली शासकले पनि क्षति गरेनन् । जसरी सञ्चालित छ, त्यही प्रक्रियामा नै रहन दिए । र, त्यसको सुन्दरता पनि त्यसैमा छ । त्यसैले त पहिचानसँग जोडिएका प्रणालीको संरक्षण तथा विकासका लागि थप समर्थन दिएका थिए । तर अहिले थारू समुदायको पहिचानसँग जोडिएको बरघर प्रथालाई राज्यको बैधानिक संरचनामा ल्याउँदा शोषित थारू समुदायहरू पुनः राजनीतिक क्षेत्रमा विशेषाधिकार प्राप्त वर्गका लागि सामाजिक, आर्थिक, राजनीतिक लाभांश प्राप्त गर्न बुद्धिचालको गोटी नबन्लान् भन्न सकिदैन ।     बरघर प्रथा, सामाजिक विकास, सामाजिक न्याय, साँस्कृतिक सद्भाव, परम्परागत सामाजिक मूल्य र मान्यतामा आधारित थियो । जहिले पनि राजनीतिक शोषणबाट टाढै हुन्थ्यो । तर अहिले सयम सापेक्ष नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रको अभ्यास भईराख्दा केही स्थानीय तहले बरघर प्रणालीलाई बैधानिकता दिइरहेका छन्  । अझै पनि थुप्रै थारू बहुल जिल्लामा परम्परागत बरघर, भल्मन्सा, महटावाँ, ककन्डार प्रथा प्रचलित नै देखिन्छ । तर अहिले परम्परागत बरघर प्रथाको गलत व्याख्याले ‘बरघर प्रथा’लाई विकृतिको रुपमा प्रचार गरिदैछ, जसको प्रत्यक्ष असर थारू अगुवाहरूमा पर्दैछ र परिरहनेछ ।     विगतमा थारूहरूको इतिहास हेर्दा अझै पनि राजनीतिक कद बढ्न सकेको छैन । राजनीतिक अवसरबाट थारू समुदाय सधैं विभेदमा पारिए र अझै पनि नेतृत्वदायी भूमिकाबाट बन्चित छन् । सधै कमारा कमारी, कमैया देख्ने राज्यले थारू समुदायलाई हेर्ने नजरिया बद्लिन सकेको छैन । थारू समुदायको रहनसहन, सामाजिक परिवेश हेर्ने हो भने शक्तिको अभ्यास गर्ने एकमात्र थलो भनेकै बरघर÷भल्मन्सा प्रथा हो । तर ‘बरघर ऐन’ले यो अवसर पनि गुम्ने देखिन्छ । किनकि बरघरको योग्यतामा, हरेक नेपाली नागरिक बरघर हुन पाउने ऐनमा उल्लेखत छ । फलस्वरुप, पुस्तौदेखिको धार्मिक विश्वास, सामाजिक मूल्य मान्यता, थारू परम्परा, भाषा संस्कृति, लोककलाको संरक्षणमा थप चुनौती आउन सक्छ ।     बरघर प्रणाली थारू समुदायको विरासत मात्र नभएर समसामयिक पहिचानसँग जोडिएको ऐतिहासिक थारू कविलाको परम्परागत प्रथा हो, जुन प्रचलन नेपालकै अन्य जनजातिमा विभिन्न नाममा पहिले भए पनि हाल कार्यान्वयनमा छैन । त्यसो त ‘बरघर ऐन’ वनाई कार्यान्वयनपछि टोल सुधार समिति बनाइ राख्नुपर्ने जरुरी देखिदैन, जसलाई परम्परागत विकास र आधुनिक विकासको फ्यूजन पनि मान्न सकिन्छ ।      बरघर प्रणाली, थारू कबिलामा सामाजिक न्याय, सद्भाव, मेलमिलाप, भाईचारा, आपसी विश्वासमा आधारित प्रजातान्त्रिक प्रणाली हो, जसले  थारू समुदायलाई सधै स्वतन्त्र राख्दछ । त्यसैले यसको विशेषता पनि खास छ । यो प्रणालीको नेतृत्व गैरथारू समुदायको बागडोरमा जाँदा यसको उपादेयता र महत्व नहुन सक्छ । यस प्रणालीको विशेषता भनेकै कुनै पनि अवस्थामा राज्यको समर्थन विना पनि आफ्नो गाउँ टोलमा सुधारका लागि अहोरात्र खट्ने हो । जस्तै कुलोपानी, नहर विस्तार, पुलपुलेसा निर्माण, बाटोघाटोको विकास, सामुदायिक भौतिक पूर्वाधार निर्माण गर्न सक्ने क्षमता राख्दछ यस प्रणालीले । यो प्रथाप्रतिको जनविश्वास र थारू समुदायले आफ्नो उत्तरदायित्व सामाजिक सेवाभाव बोध गरी यो प्रथाप्रति सदैव जवाफदेही हुन्छन् ।     तर ‘बरघर ऐन’ बमोजिम बरघर प्रणालीलाई राज्यको मूलप्रवाहीकरण गर्ने नाउँमा निश्चित घेरामा बन्द गर्ने हो भने नेपालीले शदिऔं अनुभव गरिरहेको कर्मचारीतन्त्र र राजनीतिक योग्यताको आधारमा बरघर, अगौह्वा, चौकीदार, लिखनदार लगायतका पद नियुक्त गर्दै जाँदा यो प्रणाली पनि अर्धसरकारी निकायजस्तै परनिर्भर हुने निश्चित छ, जसले गर्दा बरघर प्रथाको शाख देखिने छैन ।     हालसम्म पारित भएका ‘बरघर ऐन’मा भएका कमीकमजोरी औंल्याई यस प्रथाप्रति संवेदनशील भई व्यापक ‘कचहरी’ गर्न जरुरी छ । यस ऐनको प्रावधानमा भएको न्यायिक अधिकारको सन्दर्भमा जसरी थारू समुदायका प्रथाजनित कानुन, मानवतामा आधारित निष्पक्ष न्याय निरुपण गर्ने अधिकारको अभ्यास गरिदै आइरहेका छन्, यस ऐनले न्यायिक समितिको कामलाई समेत प्रभावित बनाउने र स्थानीय तहको न्यायिक संरचनालाई चुनौती दिएको देखिन्छ ।     त्यसै गरी, ‘बरघर ऐन’मा आर्थिक श्रोत व्यवस्थापन तथा परिचालन गर्न स्थानीय, प्रदेश, संघीय सरकारको बजेट, स्थानीय ‘पनकर’, जग्गाको ‘विघौटी’, दण्डजरिवाना ‘खारा’ उठाउने प्रावधान भएता पनि वार्षिक राजस्व, सामाजिक लेखापरीक्षण, सार्वजनिक सुनुवाई जस्ता पारदर्शिता तथा जवाफदेहिता सम्वन्धि सुशासनको प्रत्याभूत गर्ने प्रणालीको स्पष्ट जिकिर भने ऐनमा देखिदैन ।     कुनै समुदाय विशेषले स्वस्फूर्तः स्वतन्त्र रुपमा परम्परागत कालदेखि सन्चालित गर्दै आइरहेको प्रथाको महत्व, सामाजिक विशेषताको बारेमा परिचर्चा गर्न आवश्यक छ । यस खालका ऐनले सिङ्गो थारू समुदायलाई पार्न सक्ने दीर्घकालीन प्रतिकुल असरको बारेमा अनभिज्ञ भई राज्यको अधिनमा सन्चालन हुँदा प्रत्युत्पादक हुन सक्दछ । यस ऐनले समग्र बरघर प्रथाको सामाजिक विशेषतालाई पर्याप्त रूपमा व्याख्या गर्न असफल देखिन्छ । कुनै जाति विशेषको पहिचानसँग जोडिएको परम्परागत प्रथालाई समावेशी समाज निर्माणको नाउँमा अनुमोदन गर्दा थारू अगुवाहरू सामाजिक भूमिकाबाट बन्चित हुने निश्चित छ । त्यसैले ‘बरघर ऐन’लाई सम्बन्धित सरोकारवाला, समाजशास्त्री, मानवशास्त्री, विद्वतसभामा छलफल गरी पुनर्लेखन गर्न जरुरी छ ।     स्थानीय तहको यो कदमलाई बरघर प्रणालीमा सुधार गर्नुपर्ने नयाँ बहसको विषय बनाउन जरुरी छ । पहिचानसँग जोडिएका जुनसुकै समुदायका परम्परागत, लोककला, भाषा संस्कृति, रहनसहनको विषयमा संवेदनशील भई बहस गरिएन भने आउने नयाँ पुस्ताले प्रथाजनित परम्पराको महत्व र विशेषता बारेमा अनभिज्ञ हुने निश्चित छ । यस्ता ‘कचहरी’ गर्दा पक्कै पनि थारू समुदायको हितमा हुनेछ । साथै बरघर प्रणालीमा थारू समुदायको सक्रिय सहभागितामा भौतिक विकास, सामाजिक विकास जस्ता सुशासनको अनुपम उदाहरण भनी विश्वमा चिनाउन उत्तिकै जरुरी छ ।     आज जसरी उन्नत राष्ट्रहरूमा राज्य शासन सन्चालनको लागि नागरिक तथा स्थानीय समुदायको सहभागिता अपरिहार्य छ, त्यसरी नै ‘बरघर प्रथा’लाई स्थानीय सामाजिक संरचनाअन्तर्गत नै राखी नेपालको विविधतायुक्त राष्ट्रको रुपमा विश्वभरि चिनाउन जरुरी छ । परम्परागत ‘बरघर प्रथा’लाई विगतको अवशेषको रुपमा नहेरी यसलाई संरक्षण तथा प्रवद्र्धन गर्न सबैको दायित्व बोध हुन जरुरी छ ।  

थारू गीत–सङ्गीतको बाटो कता ?

थारू गीत–सङ्गीतको बाटो कता ?

१४७९ दिन अगाडि

|

३१ साउन २०७९

                                                        १. विषयप्रवेश भनिन्छ, भाषाको विकास हुनुभन्दा पहिले ध्वनिको विकास भएको थियो । त्यही प्रकृतिमा पाइने मीठो ध्वनिहरूको मानिसहरूले पत्ता लगाइ संयोजन गरी प्रयोगमा ल्याए । ललितकलाका विधाहरू चित्रकला, मूर्तिकला, वास्तुकला, नृत्यकला, नाट्यकला, साहित्यमध्ये सङ्गीतकला पनि एक हो । आफ्नो मनमा रहेका विविध भावनालाई सुर, ताल र लयको माध्यमबाट कलात्मक तरिकाले पोख्नुलाई सङ्गीत भनिन्छ । साधारणतयः सङ्गीत भन्नाले केवल गायन मात्र हो भनेर बुझिने गरिन्छ तर शास्त्रीय आधारमा हेर्ने हो भने गीत, वाद्य तथा नृत्य यी तिनै कलाको समुदायलाई सङ्गीत भनिन्छ । प्राचीनकालमा गायन, वादन तथा नृत्य कलाहरूको प्रयोग प्रायः एकैसाथ हुन्थ्यो । आजकाल गायन, वादन तथा नृत्य कलाहरूले आ–आफ्नो क्षेत्रमा छुट्टै महत्व राखेको पाइन्छ । विश्वको इतिहास पल्टाउने हो भने सङ्गीत प्राचीन कालदेखि नै स्वतन्त्र रुपमा प्रयोग भएको पाइन्छ ।  नेपालमा शास्त्रीय सङ्गीतको सुरुवात लिच्छवि कालदेखि नै भएको पाइन्छ । संसारमा अहिले लगभग तीन प्रकारका सङ्गीत प्रचलित छन्– शास्त्रीय सङ्गीत, आधुनिक सङ्गीत र लोक सङ्गीत । सङ्गीतले हामीलाई मानसिक तथा आध्यात्मिक दुबै किसिमको आनन्द दिलाउँछ । चाहे सुखमा होस् या दुःखमा या मनोरन्जनका लागि होस्, हामीले सङ्गीत श्रवण गर्ने गर्दछौँ ।  यसले हामीलाई सकारात्मक उर्जा प्रदान गर्दछ । भाषा नबुझे पनि श्रोताले सङ्गीत सुनेर आनन्द लिन सक्छन् । त्यसैले सङ्गीतलाई विविधतायुक्त अन्तर्राष्ट्रिय कला भन्दा फरक पर्दैन ।  सङ्गीतले पहिचान, रितिरिवाज, भाषा, र संस्कृति झल्काउने काम गर्छ । झन् थारू समुदाय त गीत सङ्गीत बिना नै अपूरो हुन्छ । २०१६÷०१७ सालतिरै बाराका संगीत उस्ताद रामप्रसाद राय थारूले थारू समुदायको छाता संगठन थारू कल्याणकारिणी सभामार्फत् गाउँ गाउँमै गीत गाउँदै गीतमार्फत् जनचेतना फैलाउने काम गरे । लोकगीतमा सीमित थारू गीतलाई आधुनिक गीतमा छिराउने श्रेय उनै रामप्रसाद राय थारूलाई जान्छ । उनको थरुहटके बौवा और बहुरिया (२०१९) पुस्तकमा जनचेतनाका लागि गाइएका गीत समेटिएका छन् । थारू गीत–सङ्गीतको बाटो शीर्षक दिइएको यस लेखमा थारू गीत सङ्गीतको इतिहास भन्दा पनि अवस्थालाई बुँदागत रुपमा नियाल्ने प्रयास गरिएको छ । २. थारू समुदायः लोकगीतको भण्डार  खास गरी पश्चिमा थारू समुदायमा सजना, मैना, होरी, अस्टिम्की, सख्या, सुर्खेल, ढमार, मघौटा, बरमासा, रतनचवा, दिननचवा, बिरहैन जस्ता अनेक थरि लोकगीतको भण्डार रहेको छ । थारू जातिको हरेक महिना र पहरमा गाउने विभिन्न खालका गीत छन् । जस्तो कि बैशाखमा सजना, राम जलम, बहला झुल्ना गीत, जेठमा सजनी, सजना गीत, असार तथा साउनमा सिङग्रु, राजा चरिवल, घोघर, बैठाउन गीत, भदौमा अस्टिम्की, उदासी, गीत गाइन्छ । त्यस्तै, असोज र कार्तिकमा सख्या, फूलवार, बर्किमार, जितिया, झमटा गीत, जर्माैटी, करनौटी, लाला, डफक गीत, ढमार, बिरहैन चाँचर गीत, मंसीरमा साँची, जर्मौटी गीत, पुस र माघमा मघौटा, मैना, लगुनी, बनगीत, फागुनमा माँगर, होरी (ढुरहेरी गीत) र चैतमा सजना र सजनी गीत रहेका छन् । यसैगरी बरमास्या नाच र बरमास्या गीत भने बाह्रै महिना गाउन र नाच्न मिल्छ । यसरी नाच नगरी सोभैm गाइने गीतहरू पनि प्रशस्त रहेका छन् (दहितः २०६२ः १३४) । एक पहरमा गाइने गीत अर्को पहरमा गाउन पाइँदैन । हुरडुङ्वा नाचमा राम कहरा (दिउँसो गाइने गीत), लटिया (साँझपख गाइने गीत), बिहग्रा (झिसमिसे बिहान गाइने गीत) बर्किमार (बिहानमा उज्यालोमा गाइने गीत) हुन् । थारू लोकगीत गेयात्मक र लयात्मक छन् । गायन सँगसँगै नृत्यका रूपमा पनि गीत प्रस्तुत गरिएका पाइन्छन् । सामान्यतया ६ श्लोकदेखि लिएर बृहत महाकाब्य स्तरका लामा प्रकारका गीत पनि छन् । थारू लोकगीतलाई विभिन्न आधारमा वर्गीकरण गर्न सकिन्छ । फनिश्याम थारूले (२०७०ः १६) ऋतुगीत, सामाजिक गीत, धार्मिक गीत तथा अन्य गरी चार वर्गमा वर्गीकरण गरेका छन् । त्यस्तै, गोविन्द आचार्यले संस्कार गीत, चाडपर्व गीत, ऋतु गीत, श्रम गीत र बाह्रमासे गीत गरी पाँच वर्गमा वर्गीकरण गरेका छन् (आचार्य, २०६३ः ३७) । त्यस्तै, दिवस र प्रधानले पनि गायनको आधारमा संस्कार गीत, चाडपर्व गीत, ऋतु गीत, श्रम गीत तथा बाह्रमासे गीत गरी पाँच वर्गमा विभाजन गर्न सकिने मत राखेका छन् (दिवस र प्रधान, सं. २०६५ः २३६) ।  ३. थारु लोकगीतको दस्तावेजीकरण मौखिक रुपमा रहेको थारू समुदायको लोकगीत अब लिखित रुपमा दस्तावेजीकरण हुन थालेको छ । थारू आयोगले २०७८ सालमा ‘थारू लोक गित मोट्री’ प्रकाशन गरेको छ, जसमा २५३ थान लोकगीत समेटिएको छ । यसमा राना, कठरिया, डेसौरी, डंगौरा, चितवनिया, नवलपुरिया, पूर्वीया सबै क्षेत्रका गीत समेटिएका छन् । यो पुस्तक थारू लोकगीत क्षेत्रमा कोशेढुंगा हो भन्दा फरक परोइन । यसमा संकलित प्रायः लोकगीत भने रेकर्ड हुन सकेको छैन । यदि यी गीत समयमा रेकर्ड भएन भने यी गीतको भाका पनि लोप हुँदै जाने देखिन्छ ।  थारू समुदायको चाडपर्व मनाउने तौरतरिकादेखि विवाह संस्कारमा पनि निकै फेरबदल आएको छ । आम नेपाली समुदायको दसैं तिहार आयो भने त्यससँग सम्बन्धित सयौं गीत रेडियो, टिभीबाट बज्न थाल्छ । तर थारू समुदायको माघी, अस्टिम्की लगायत चाडमा थरुहट क्षेत्रका एफएम रेडियोमा खै ती चाडसँग सम्बन्धित थारू लोकगीतको झंकार ? किनकी त्यस्ता गीत नै रेकर्ड भएका छैनन् ।  थारूहरूको विवाहमा विभिन्न गीत गाइन्छ, जसलाई माँगर भनिन्छ । मुख्य विवाहको अघिल्लो साँझ डिउली डर्ना संस्कार सम्पन्न गर्दा, दुलहालाई लुगा लगाइदिदा, दुलहा जन्ती हिँड्दा, दुलहा ससुराल पुग्दा, सम्धी मिलन अनि दुलही निकाल्दा फरक फरक लयको माँगर गाइन्छ । तर यी माँगर गीत रेकर्ड हुन सकिरहेको छैन । जसले युवा पुस्ताले यी गीत बिर्सिदै गएको छ भने थारूहरूको बिहेभोजमा हिन्दी, भोजपुरी, नेपाली गीत घन्किन थालेको छ ।  कृषि थारू समुदायको पुख्र्यौली पेशा हो । खेतीपातीका बेला गाइने गीत भरमार छन् । विभिन्न सुमदायमा श्रम गर्दागर्दै या श्रमको अघिपछि गीत गाउने चलन छ । यसले श्रमिकको थकान मेटाउँछ । थारू समुदायमा पनि श्रम गीत रहेका छन् । खेतीपाती सकिएपछि एक नवदुलही माइत जाने विचार गर्छिन् । यस श्रम गीत सजनामा माइत गइरहेकी श्रीमतीलाई श्रीमान्ले सम्झाएका छन् । यस्तो भरिएको नदीमा तिमी कसरी माइती जाउली भन्दा आफैँ डुंगा बनाए जाने बताएकी छन् ।      डेस गइलुँ डेस डुनियाँ रे, कि छैंला पटुरिया । कौने बिढि उटरुँ मै पार, नैहर बरि डुसे ।।१।। नैहर–नैहर जिनि करो ढनियाँ रे, नैहर बरि डुसे । डस कोस नडी भरियाइ, चौंरासि कोस बनवाँ ।।२।। काठ कटैबुँ पाँडन फरहि रे, नडि रे बिचे ढरबुँ । उटरि जैबुँ नडि कइ पार्हे, नैहर हिरकि जैबुँ ।।३।।               स्रोत ः ईश्वर (सागर) चौधरी, लमही नपा–१, नर्ती देउखुरी–दाङ उदाहरणको रुपमा दिइएको यस्ता मौलिक सजना गीतहरु पनि रेकर्ड हुन सकिरहेको छैन । यो दुःखद पक्ष हो ।  ४. थारू गीत सङ्गीतमा व्यावसायिकता  हालको अवस्थालाई नियाल्ने हो भने थारू गीत सङ्गीत व्यावसायिक ढंगले अगाडि लम्किदैछ भन्दा फरक परोइन । परशुराम चौधरीको निर्देशनमा २०४९ सालमा बनेको थारू भाषाको पहिलो फिल्म करमपछि थारू गीत सङ्गीतको बाटोमा व्यावसायिकता थपिएको मान्न सकिन्छ । तर पचासको दशकमा जुन हिसाबले थारू गीत सङ्गीतको बाटो फराकिलो हुनुपर्ने हो, त्यो भएन । त्यसो त २०५४ सालमा रेशम चौधरीले भुवर विहान, युनिक नेपाल, बर्दियाले ओजरार डगर तथा थारू साँस्कृतिक समाज, ललितपुरले घर भेलै कोशीके पार थारू गीति क्यासेट ल्याएका थिए । २०५७ सालमा सुशील चौधरी र सुमित्रा चौधरीको लखारगीन, २०५८ सालमा प्रेम म्यूजिक, कैलालीको विछोड, २०५९ सालमा पतिराम चौधरी, प्रमिला चौधरीको माधो सुन्दरी लगायत औंलामा गन्न सकिने थारू गीति क्यासेट मात्रै  पचासको दशकमा आएको देखिन्छ (दहित र सर्वहारी, सन् २००६ः ५१–५५) । संघीय राजधानी काठमाडौंमा २०५९ सालमा पहिलो पटक माघी महोत्सव मनाउन सुरु गरिएपछि स्टेजमा थारू गीतको जोडदार उपस्थिति हुन थाल्यो । साठीको दशक थारू गीत सङ्गीतको स्वर्णिम काल हो । कैलालीबाट आएको चम्पा फुलवारे (२०६०) क्यासेटले थारू गीतमा एक किसिमको मानकता बनायो । यही गीति क्यासेटबाट मनिराम चौधरीको नाम हिट भयो । अहिले उनलाई थारू लोकमहागायक समेत भन्न थालिएको छ । कैलालीबाट मोर चम्पा फूलवारे, रोजल दुल्हनिया, दुलहा घुमे मरुवा, हमार बगिया, चमेलीक फूला, सोल सिंगार, पुर्खा सैडान, टुटल अस्रा, जानकी कुँवारी, बर्दियाबाट दिलके आवाज, हमार अर्जी, साँवर गोरिया, सुग्घर साली जस्ता गीति क्यासेट, दाङबाट दाङसे बुह्रान, राउट डमन्ड्वा, साली भाटु, सुर्खेतबाट भ्याँवक घर लगायत गीति क्यासेटले थुप्रै लोकगायक जन्मायो (दहित र सर्वहारी, सन् २००६ः ५१–५५) । यी गीतमा गैरथारू गायकहरूको पनि स्वर रह्यो । जनआन्दोलन २०६२÷६३ पछि अधिकार, पहिचानकेन्द्रीत गीतको सुरुवात त भयो तर यसले निरन्तरता पाउन सकेन, बरु माया प्रेमकै चर्चा गरिएका साली भाटुको गीतको बर्चस्व रह्यो ।  प्रविधिले मारेको फड्कोले सत्तरीको दशकबाट गीत सुन्ने मात्रै होइन, हेर्ने प्रणालीको विकास भएको छ । गीत रेकर्ड गरी भिडियो बनाई रिलिज गर्ने परम्परा बसेको छ । यसबाट थारू गीतसङ्गीत पनि अछुतो छैन । २०७८ माघ २७ गते सुवेश कठरियाको शब्द, गणेश चौधरीको सङ्गीत अनि अन्नु चौधरी र आरके थारूको स्वर रहेको ‘मन लागेना’ थारू गीतले थारू सङ्गीतको इतिहासमै पहिलोचोटि १ करोड भ्यूज रेकर्ड राख्न सफल भएको छ । तर पछिल्लो समय थारू गीतहरूमा गैर थारूहरूको अत्यधिक मात्रामा प्रयोग भएको पाइन्छ । थारू गीतहरूमा थारू संगीतकार, एरेन्जर तथा भिडियोमा कलाकारलाई नै प्राथमिकतामा राखी अभिनय गराए सुनमा सुगन्ध थपिने थियो । ५. खै थारू बालगीत ? बालबालिकाहरूलाई उनीहरूको मातृभाषामा उनीहरूको शब्द सुहाउँदो गीत गाएर सुनाउँदा, अभ्यास गराउँदा भाषा, साहित्य सिकाउन धेरै नै मद्धत गर्छ । त्यसैले थारू बालगीतहरू आउन निकै जरुरी देखिन्छ । तर थारू सङ्गीत जगत्मा बाल गीतको खडेरी नै छ भन्दा फरक नपर्ला । इन्दु थारूको शब्द र निर्देशन अनि सीएल चौधरीको संगीत संयोजन, मनिष थारू र मिस्मिता चौधरीको गायन रहेको ‘हमार बाल अधिकार’ नामक् थारू गीत रेकर्ड भएको पहिलो थारू बालगीतको रुपमा चिनिन्छ । यो गीत सन् २०१९ मा रेकर्ड भए पनि युट्यूबमा सन् २०२१ मात्र अपलोड भएको हो ।  भिन्सरहिया उठ्क ग्वाबर ना करहाउ आने घर छेगरि भेरि चरहाइ ना पठाउ स्कुल पठाउ ग्यान गुनके बाट सिखब पह्र लिख पैना ट हो बालअढिकार सजना, माँगर, ढमार गिट गैना मन लागठ सखिया, झुमरा मँुगरहवा फे नच्ना मन लागठ यो गीतले बालबालिकाको हक अधिकारको कुरा गरेको छ । २०७८ माघको दोस्रो सातामा हमार म्यूजिक बगियाको युट्यूब च्यानलबाट ‘बेबी आउ ना खेले’ भन्ने गीत अपलोड भयो जसमा शेखर (छोटा ¥यापर) नाम गरेको नाबालकको दुरुपयोग भएको देखिन्छ । उनले ‘नाच छैली नाच’ जस्ता थारू ¥याप गीत पनि गाइसकेका रहेछन् । यी दुबै गीतमा उमेरभन्दा भारी शब्द उनलाई गाउन लगाइएको छ । यस्ता गीतसंगीतले बालबालिकामा नकारात्मक असर त पर्छ नै बालमस्तिष्कले भविष्यमा कस्तो आकार लिन्छ ? सोचनीय विषय हो । बालबालिकालाई कस्तो गीतमा सहभागी गराउने हामीले सोच्ने बेला आएको छ । यो पक्कै पनि गम्भीर विषय हो ।  अर्को थारू बालगीत ‘उक्रुङ्ग बुक्रुङ्ग’ (सन् २०२०) इन्दु थारूकै शब्द, सङ्गीत, अनि निर्देशन, सी.एल चौधरीको संयोजनमा रहेको यो गीतमा मनिष थारू र अमृता चौधरीको आवाज रहेको छ । यसपछि कुनै पनि थारू बाल गीतहरू सुन्नमा आएनन् । संगीतकार सीएल चौधरकिा अनुसार अब चाँडै नै इन्दु थारूकै शब्द रहेको अर्को बालगीत ‘हमन जन्ना हक बा’ रेकर्ड भई रिलिज हुने तयारीमा छ । थारू समुदायले पनि नयाँ पुस्ताहरूलाई थारू गीत सङ्गीतको अभ्यास गराउन आवश्यक छ । थारू बालबालिकाहरूलाई मौका दिए उनीहरूले पनि यस क्षेत्रमा टेवा पु¥याउन सक्छन् । यसो गर्दा हाम्रो गीत सङ्गीत, भाषा, संस्कृति सधैँ जीवित रहनेछ । अनि नयाँ पुस्ताले थारू सङ्गीतको माटोलाई मलिलो बनाउन कहिले कसर छाड्ने छैनन् ।  ६. आधुनिक प्रभाव पछिल्लो समय केहि थारू साँस्कृतिक गीत आए तापनि आधुनिक गीत नै हाबी बनेको छ । अहिले युट्यूबमा थारू ¥याप गीत सर्च गर्ने हो भने छ्याप्छ्याप्ती पाइन्छन्, जुन सबैजसो बेअर्थका शब्द संयोजन गरिएका छन् तर अपवादमा भने ‘कमैया’ शीर्षकको गीतले ¥यापमा नै थारू समुदायको कथा उठाएको छ, जसलाई राम्रो प्रयास मान्न सकिन्छ ।  थारू सङ्गीत अझै पनि एउटै धारमा बगिरहेको छ । यसो झट्ट मात्रै सुन्ने हो भने थारू गीत सुनेको भान हुँदैन । आधुनिक प्रभावले मौलिक स्वादको अभाव देखिन्छ । माया प्रेमका गीतहरू अधिक मात्रामा फस्टाइरहेको छ । ‘आदिवासी थारू हम्रे’, कौनो किल्लामे नै छुट्लि जस्ता केही अपवादका गीतहरूले मात्र पहिचान अनि अधिकारका कुरा उठाएको छ । थारू इतिहास, कमैया कमलरीको कथाव्यथा बोकेको रेशम चौधरीको थारू फिल्म ‘कमैया’ मा समावेश गीत ‘माटिके ओरहौना, माटिके बिछौना’ सुन्दा सायद जो कोहीको मन भक्कानिन्छ ।  ‘लाल लाल बायो, सबके रगटवा कोहि मालिक, कोहि कमैया हो’ उनले गीतमार्फत् सबैको रगत रातो छ, तर कोही मालिक त कोही कमैया किन ? भन्ने प्रश्न गरेका छन् । तर अहिले साँच्चै उनलाई सरकारले कमैयाकै व्यवहार देखाएको छ । पहिचान रहे मात्र हाम्रो अस्तित्व रहन्छ । के हामी थारू अधिकारका लागि पछि हटिरहेका त छैनौँ ? वास्तवमा कमैया फिल्मका गीतले जति थारू समुदायको आवाज बोलेको छ, अरु थारू सिनेमामा खास थारू मौलिकता भेटिदैन । सबैभन्दा बढी थारू सिनेमा बनाउने परशुराम चौधरी लगायत थारू फिल्म निर्माताहरूको यतातिर ध्यान जानु जरुरी देखिन्छ ।   ७. उपसंहार पहिले पुर्खाहरूले रातीदेखि झिसमिसे बिहानसम्म पनि गाउँथे । विभिन्न चाडपर्व अनुसार गीतहरू गाइन्थ्यो र बाजा बजाएर नाच्ने गरिन्थ्यो । अहिले गाउँमा पुर्खाहरूले गुनगुनाउने ती धुनहरू सुन्न पाइदैन । अनि धुनसँगै लय मिलाउँदै लहङगा फरफराएर कसले नाचिदिने ? नयाँ पुस्ताहरू यहाँ डिजेकै धुनमा कम्मर मर्काइरहेका छन् ।  आधुनिकताको नाउँमा थारू गीत सङ्गीतले विकृति र विसङ्गतिको रुप लिइरहेको छ । थारू मौलिकपन बोकेको लोकगीतहरू नयाँ पुस्तामा हस्तान्तरण हुनुको साटो ओझेलमा परिरहेका छन् । परम्परागत गीतलाई आधुनिकताले छोपेर क्यासेट नृत्यले ओझेल पार्दैछ । यसको संरक्षणका लागि यी लोकगीतको प्रतियोगितादेखि रेकर्ड पनि गरिनु आवश्यक छ । समय परिस्थिति अनुसार परिवर्तन हुन जरुरी छ तर पहिचान नै भत्किने गरी परिवर्तन भए थारू गीत सङ्गीत भविष्य ओझेलमा पर्नेछ । त्यसैले थारू गीत संगीतलाई आत्मसत, संरक्षण गर्ने जिम्मा एवम् कर्तव्य अब नयाँ पुस्ताको हो ।  सन्दर्भ सामग्री थारू, फनि श्याम । २०७० । थारू लोकसांहित्यः एक अध्ययन, सुनसरीः श्यामाकुमारी  थारू । दहित,  गोपाल    । २०६२ । थारू संस्कृतिको संक्षिप्त परिचय, ललितपुरः आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ।  दहित,  गोपाल र कृष्णराज सर्वहारी     । सन् २००६ । बिब्लियोग्राफी अफ इन्डिजिनियस इथ्निक थारू ।  काठमाडौंः थारू बौद्धिक तथा राष्ट्रिय अनुसन्धान केन्द्र नेपाल । दिवस, तुलसी र प्रमोद प्रधान (सम्पा.)  । २०६५ । थारू लोक वार्ता तथा लोक जीवन, काठमाडांैः नेपाली लोकवार्ता तथा संस्कृति समाज ।  स्रोतः स्मारिका २०७९ (पृ.९३–९७), थारू आयोग  

जनजाति महासंघको नेतृत्वमा राजनीतिक दलको प्रत्यक्ष उपस्थिति किन ?

जनजाति महासंघको नेतृत्वमा राजनीतिक दलको प्रत्यक्ष उपस्थिति किन ?

१४८५ दिन अगाडि

|

२५ साउन २०७९

नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) को दसौँ महाधिवेशन नवलपरासीमा हालै सम्पन्न भएको छ । दसौँ महाधिवेशनबाट ग्याल्जेन लामा शेर्पा महासंघको अध्यक्षमा चुनिएका छन् । यो सानो लेखमा जनजाति महासंघको नेतृत्वमा राजनीतिक दलको प्रत्यक्ष उपस्थिति किन ? भन्ने प्रश्न गरिएको छ । तर त्यसभन्दा पहिले आदिवासी जनजाति महासंघमा आफ्नो उपस्थितिको चिर्कटो राख्छु ।  महासंघ पहिले महासचिव प्रणालीमा चलेको थियो, अध्यक्षको पद नै थिएन । महासंघको संस्थापक महासचिव सुरेश आले मगरले विधानतः आफ्नो एक कार्यकालपछि सही सलामत परशुराम तामाङलाई महासचिव छोडे । परशुरामले विभिन्न बहानामा दुई कार्यकाल गरे, असन्तोषको जरो यहींनेर रोपियो । त्यही असन्तोष चिर्न मलाई अघि सारियो, मैले उम्मेदवारी दिन पर्यो । चौथो महाधिवेशनबाट म निर्वाचित महासचिव बनें ।  ३ वर्षे कार्यकाल सकें । अनि कसलाई महासचिव बनाउने भन्ने मेरो मनमा खेल्न थाल्यो । मेरो मनमा गुरुङ जनजाति आयो । कारण डा हर्क गुरुङ, प्राध्यापक सन्त गुरुङ, डा ओम गुरुङ, डा शेखर गुरुङ, एकसे एक व्यक्तिहरू थिए, त्यो समुदायबाट । महासंघको नेतृत्व आन्दोलन गर्ने भएकाले बौद्धिक, भौतिक, आर्थिक तथा राजनीतिक आधारशिला गुरुङको राम्रो भएकोले उचित हुने मेरो विचार थियो । महासंघको सदस्य तमु बौद्ध सेवा समितिका प्रा सन्त गुरुङ थिए । उनको हातमा गुरुङको नेतृत्व थियो । एक दिन प्रा सन्तसित कुरा गरेँ, ‘महासंघ गुरुङ्ले नेतृत्व लिन पर्यो ।’ उनले सोधे, ‘सम्भावित महासचिव को सोच्नु भएको छ ? माबुहाङ जी ?’ मैले भने, ‘त्यो त तपार्ईंंहरूले सोच्ने हो ।’ उनले भने, ‘त्यै पनि आफ्नो सक्सेसर त तपार्ईंंले नै सोच्नु भा होला नि ?’ डा ओमसित यसबारे एक पटक कुरा गरिसकेको थिएँ । डा ओम र प्रा सन्तको राजनीति अलि मिल्दैनथ्यो । प्राध्यापक सन्तलाई भनें, ‘डा ओम नमान्लान् कि भन्ने थियो तर मजाले माने ।’  प्रा सन्तले भने, ‘हुन त ओम मसाल हुन्, हामीलाई आन्दोलनकारी चाहिएको छ ।’ मैले भनें, ‘त्यसैकारण उनी उपयुक्त व्यक्ति हुन् ।’ सन्तले भने, ‘नेफिनलाई मसाल बनायो भने त खतम छ ।’ मैले प्रा सन्तलाई आश्वस्त पार्दै भनें, ‘नबनाउनु पर्ने हो ।’ उता ओमलाई भनें, ‘तपार्ईं नै महासचिव हुने हो । तर आफ्नो पार्टीको दायित्वहरूबाट तपाईं मुक्त हुनुपर्छ ।’ महासंघको चौथो महाधिवेशनमा मसित पराजित भएता पनि पुरै कार्यकाल एकदम सहयोगी बनेका मल्ल के सुन्दरको नाम मैले लिन सकिनँ । कारण गैरनेवार जनजातिले नेवारलाई एकदम एडभान्स जनजाति मान्ने र नेवारमा जनजाति होइनौँ भन्ने भावना कतै कतै अझै थियो । मैले जनजाति वौद्धिक वर्गबीच पटक पटक बैठक राखें । अन्तिम बैठक बौद्धमा बसियो, डा गणेश योञ्जनको घरमा । डा हर्क गुरुङले मल्ललाई यो पटक ओमलाई छोड्न कारण सहित भने । डा गुरुङले मल्ललाई कृष्ण सुन्दर भन्थे, हामीले मल्ल के सुन्दर भन्थ्यौँ । महासंघको पाँचौं महाधिवेशनबाट डा ओम गुरुङ निर्विरोध महासचिव बने । मेरो कार्यकालमा ईएसपीलाई प्रोपोजल लेखेर, पटक पटक डिफेण्ड गरी डेढ वर्ष लगाएर प्राप्त १९ करोडको जेप प्रोजेक्टसहित डा ओमलाई महासचिव जिम्मा दिएर महासंघ सुम्पे । डा ओमको कार्यकालमा जेप परियोजनासहित ३ वर्ष परियोजनाको छेलोखेलो भयो । माओवादी सशस्त्र सङ्घर्ष, राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासन, १९ दिने शान्तिपूर्ण जनआन्दोलन उनको पदावधिको समयमा पर्यो । त्यसको छिर्का जनजाति आन्दोलनलाई पनि पर्यो । तर महासंघको नेतृत्व के हुने भन्ने विषयमा महासचिव डा ओमले खासै आन्तरिक तयारी वा परामर्श गरेनन् । बरु चर्चा के थियो भने विधान संशोधन गरेर महासचिव दोह्र्याउने सोचमा डा ओम छन् । छैटौँ महाधिवेशनमा मल्ल के सुन्दर महासचिवको लागि आकाङ्क्षी थिए । तर मल्ललाई आफ्नो सक्सेसर बनाउन ओमले कुनै भूमिका खेलेनन् । बरु मल्लप्रति उनको सकारात्मक सोच बनेन । त्यसो त पासाङ शेर्पा ओमको सचिवालयमा दाहिने हात नै थिए । यसै बीच महासंघको महासचिव बन्न पासाङ शेर्पाले एमालेको महासचिव माधवकुमार नेपालको आशीर्वाद ल्याएको हल्ला चल्यो । अरु पनि नेपालकहाँ पुगेको पनि हल्ला चल्यो । तर ‘यो पटक पासाङजी हाम्रो पार्टीको महासचिव हुन्’ भनेर माधवकुमार नेपालले आधिकारिक रूपमा नै भनेको हल्ला बजारमा आयो । काँग्रेस यतिन्जेल महासंघको राजनीतिमा बेपत्ता थियो । छैटौँ महाधिवेशनमा मल्ल के सुन्दरको उम्मेदवारी विरुद्ध पासाङ शेर्पाले उम्मेदवारी दिए । म पदेन सल्लाकार थिएँ । मल्लको पक्षमा खुलेर मत माग्न थालें । तर स्वयम् मल्ल लगायत पासाङ हुनु हुन्न भन्नेहरूले ग्राउन्ड छोडेर घर, घर लागि सकेको थाहा पाएपछि म पनि घर लागें । त्यसपछि राजनीतिक दलको लागि महासंघमा ढोका खुल्यो । महासचिव प्रणाली हटेर अध्यक्ष प्रणाली आएपछि पासाङ शेर्पा अध्यक्ष भए । त्यसपछि राजकुमार लेखी, नगेन्द्र कुमाल, जगत बराम र दसौँ महाधिवेशनबाट ग्याल्जे लामा शेर्पासम्म हेर्दा राजनीतिक दलको नाममा जनजाति समुदायका पार्टीका व्यक्तिले महासंघ क्याप्चर गरेको अवस्था देखिन्छ । न सम्बन्धित पार्टीको नीति तथा सिद्धान्त नेपाल आदिवासी जनजाति महासंघको नीति तथा सिद्धान्तसित मिल्छ, न अनुहार मिल्छ । तर पार्टीको तर्फबाट महासंघको अध्यक्ष बन्ने जोड चाहिँ बडो विचित्र तरिकाले काँग्रेस, एमाले, माओवादी सबैको मिल्छ । त्यसो त दलका नामबाट निर्वाचित पदाधिकारीले जनजाति महासंघलाई आआफ्नो पार्टीको नीति सिद्धान्तको पनि बनाउन प्रयत्न गरेको वा बनाएको पनि छैनन् । त्यसो भए जनजाति महासंघमा दलको प्रत्यक्ष उपस्थिति किन ?  महासंघको नाममा रहेको सामाजिक, आर्थिक, भौतिक, राजनीतिक वा वैयक्तिक जुन पुँजी छ, त्यसमा उनीहरूको आँखा लागेको हुनुपर्छ । स्वार्थपूर्तिबाहेक अरू लाभ वा उन्नति के होला त ? बहसको चर्चा गर्नु मनासिव होला । महासंघ नितान्त जनजातीय संस्था हो, सदस्य जनजातीय संगठन हुन्छ । राजनीतिक पार्टीमा व्यक्ति चौवन्नी सदस्यता लिएर बन्छन्, महासंघ ठिक उल्टो हो । जनजातीय संगठनमा लागेको व्यक्तिलाई महासंघको ‘राजनीति’मा लाग्दा बरु हानी हुनु पर्नेमा किन राजनीतिक पार्टीको बिल्ला प्रयोग गरिरहेछन् ? यसबारे निर्मम बहस जरुरी छ । अझ सम्मको विश्लेषणमा महासंघको प्लेटफर्मलाई स्प्रिङ बोर्ड बनाउने पहिलो उद्देश्य हो । राजनीतिक लाभ भन्दा, अरू लाभ लिनलाई महासंघलाई दुरुपयोग गर्ने, दोस्रो उद्देश्य हो । महासंघ वा जनजातिको सङ्गठनको प्लेटफर्म प्रयोग गरेर विदेश घुम्ने, घुमाउने र उस्तै परे मान्छे ओसारपसार गर्ने सम्मको हरकत नहोला भन्न सकिन्न ।