म हारें तर थाकस जित्नैपर्छ
९४६ दिन अगाडि
|
१६ असोज २०८०
यतिबेला थारु कल्याणकारिणी सभा (थाकस) केन्द्र महाधिवेशनको संघारमा छ । त्यसैले, जिल्ला जिल्लामा अधिवेशन भैरहेको छ । यसै क्रममा थाकस कैलालीको जिल्ला अधिवेशन हुनु भन्दा ६÷७ महिना अगावै धनगढीमा एक छलफलको बिचमा आउँदो अवधिको लागि थाकस कैलालीको सभापति कसलाई बनाउने भन्ने कुरा उठेको थियो, जसमा केही सहृदयी मित्रहरुले मेरो नाम प्रस्ताव गर्नु भएको थियो ।
सभापतिमा पुरुष भैसकेपछि सचिवमा महिला भन्ने कुरो प्रस्ताव आएपछि बसन्ती चौधरीको नाम पनि आयो । म सुरुमा त केही बोलिन तर पछि साथीहरुको व्यापक दवावपछि प्रस्ताव स्वीकार्न बाध्य भएँ ।
थाकस कैलाली जिल्ला समितिले २०८० असोज ६ गते अधिवेशन गर्ने भनी समय तोकिसकेपछि साता दिन अगाडि मात्रै सभापतिको उम्मेदवार आफू हुने कुरा म सामाजिक सञ्जालमा जानकारी गराएँ । जानकारी गराउनुको उद्देश्य सम्भावित उम्मेदवार पत्ता लगाउनु र चुनाव नभई सर्वसम्मत अधिवेशन सफल होस् भन्ने मेरो चाहना थियो ।
तर, असोज ६ गते उम्मेदवारी दिंदा कमिटिमा जिल्ला सचिव रहेका देशराम चौधरी र सदस्य रहेका बीर बहादुर चौधरीले पनि उम्मेदवारी दिए । धेरै पहिले मेरो नाम प्रस्ताव हुँदा, चर्चा भैसक्दा ती साथीहरु किन बोलेनन् ? कसको सल्लाहमा उम्मेदवारी दिए ? किन सहमति जुरेन ? पछि मात्रै थाहा भयो ।
सामान्यतयाः अधिवेशन हुँदा त्यही दिन नसकिए रातबिरात भएपनि, त्यो पनि सम्भव नभए बिहानसम्म अधिवेशन सम्पन्न गर्ने चलन छ । तर, दलीय सोंच र दवावका कारण त्यस दिन अधिवेशन हुन नसक्ने पक्कापक्की नै भयो । अर्को शनिवार १३ गते चुनाव गर्ने मिति तोकियो । चाहँदा नचाहँदै आफू पनि नगर कमिटि, क्षेत्रीय कमिति, जिल्ला पार्षदहरुसँग भेट गरी भोट माग्नुपर्ने बाध्यता आइप¥यो ।
असोज १० गते साँझ राजबन्दी रामप्रसाद चौधरी र चुन्नीराम चौधरीसँग भेट भयो । जेलमा हुँदा दलगत स्वार्थ भन्दा आफू माथि रहेको सन्देश दिन प्रयत्न गर्ने मित्रहरु इस बीचमा बढी काँग्रेसी नेता भएको थाहा भयो । भित्री दिलमा बीरबहादुरलाई राखेपनि उनीहरु अझ पनि सहमतिको खोजीमा रहेको बिचार ब्यक्त गरेका थिए ।
प्रचारप्रसारमा निस्किएका हामी (माधव, ईन्दु, बसन्ती र म) सभापतिमा मलाई, उपसभापतिमा एक जना माओवादी र एक जना काँग्रेस, सचिवमा महिला राखौं भन्ने प्रस्ताव ग¥यौं, साथीहरु ठाडै इन्कार गरे । उनीहरु उपसभापतिमा माओवादी विचारकी सुस्मिता चौधरी निर्विरोध चयन भैसकेकीले अब उपसभापतिमा माओवादीका अर्का उम्मेदवार बतासुलाई स्वीकार्न नसकिने, दुइटै उपसभापति पद काँग्रेसलाई दिइनुपर्ने अडान लिए ।
मतदातामा काँग्रेसको पकड रहेकोले राजबन्दी साथीहरुको त्यस्तो आवाज आउनु स्वाभाविक लाग्यो । हामी कन्भिन्स गर्न सकेनौं । ११ गते पनि प्रचारमा हिँड्यो । प्रचारको लागि अन्तिम दिन भएकोले बर्दगोरियामा काँग्रेस प्यानल र हाम्रो मिक्स प्यानलको जम्काभेट भयो । नगर कमिटि, क्षेत्रीय कमिटि, जिल्ला पार्षदहरुसँग दुबै प्यानलले आआफ्ना कुरा राखी भोट माग्यौं । त्यहाँबाट हामी हिँड्यो, काँग्रेसका प्यानल कतिबेरसम्म त्यहाँ बस्यो थाहा भएन । तर, त्यस दिन काँग्रेसको दलिय ह्वीप जारी भएको कुरा भने थाहा भयो ।
दुःखको कुरा
उम्मेदवार बीचमा सहमति हुन नसकेकोले निर्वाचन मण्डलले १३ गते मतदानको घोषणा ग¥यो, दुवै पक्ष हामी सकेजति प्रचारप्रसार ग¥यौं । चुनाव भन्ने खेल सम्पन्न भयो, खेलमा एकले जित्छ, अर्कोले हार्छ, त्यो खेलमा म केवल ३ मतले हारें, बिरुले जिते ।
हार्दा मलाई रत्तिभर दुःख छैन । तर प्रचारप्रसारको दौरानमा केही काला दिल भएकाहरुले यो दिललाई लगाएको गलत आरोपले चाहिं मलाई दुःखी बनायो । सधैँ उकुसमुकुस, दुःखमा बाँच्ने ती मनुवाहरुले मलाई ढकिया पार्टी, एमाले पार्टी भनी ठाउँ ठाउँमा आरोप पनि लगाए । तिनले लगाएका आरोपले मलाई छोएन । तर ती काला दिलका मनुवाहरुले मलाई टीकापुरको थारु बिद्रोहमा मारिएको नाबालक साउद थारुहरुले मारेको रिपोर्ट बनाउनमा इन्सेकलाई सल्लाह दिने, सहयोग गर्ने ब्यक्ति दिल बहादुर हो भनी लगाएको गम्भीर आरोपले मलाई साह्रै दुःखी बनायो ।
जबकि म ती नाबालक प्रहरीको गोलीबाट मारिएको कुरा धेरैपटक आफ्नो लेखमा लेखिसकेको छु, बोलिसकेको छु । मेरो बारेमा धेरैलाई थाहा भएपनि सबैलाई थाहा छैन, थाहा नभएकाहरुलाई त्यो कपटी कुरा सही लाग्न सक्छ भनेर दुःखी भएँ ।
रमाइलो कुरा
निर्वाचनको दिनमा मतगणना भइरहेको थियो । प्रतिस्पर्धा कडा थियो । मतगणनाको क्रममा ५÷ ७ मतले म अगाडि बढिरहँदा काँग्रेसका प्यानल बनाउने मित्रहरु आत्तिईरहेका थिए । अन्तिमको २६ मत गन्न बाँकी थियो, त्यही २६ मतमा मलाई ७ र बीरुलाई १८ मत प्राप्त भयो । मेरो र मेरो टिममा रहेका मित्रहरुको हार भएपछि काँग्रेसका मान्छेमा खुशीयाली छायो ।
गम्भीर आरोप लगाउने एक खुराफाती नेता त खुशीले अक्क न बक्क थिए । काँग्रेसको टिम नै बिजयी बनेपछि उनीहरुमा खुशी छाउनु स्वाभाविक थियो । खास गरी सचिव बसन्तीको हारमा उनकै संगठनका एक ब्यक्तिको अनुहारमा निकै चमक देखिन्थ्यो ।
एकजना पत्रकारमा पनि खुशी चरम उत्कर्षमा थियो, उनको खुट्टा भुइँमा थिएन, ठूलो स्वरमा कराइरहेका थिए, म बीरुलाई बधाई दिन जाँदा ती पत्रकार एक्कासी सम्हालिन पुगेका थिए । बिरुलाई बधाई दिन जाँदा उनी खुशीले गदगद थिए र मलाई २, ३ पटक अँगालो मारेका थिए ।
अनि मलाई लाग्यो, सर्वसम्मतिले चुनाव टुंग्याउँदा मान्छेमा जति खुशी हुन्छ, त्यो भन्दा धेरै बढी खुशी प्रतिस्पर्धा गर्दा हुने रहेछ । काँग्रेस उम्मेदवारका समर्थक, शुभचिन्तकमा छाएको खुशी हेर्न लायक थियो । म जितेको भए मेरा समर्थक, शुभचिन्तकहरुमा पनि त्यही खुशी प्रकट हुन्थ्यो होला ।
थाकस जित्नै पर्छ
चुनाव हुँदा परिणाम निस्कँदा ताकाको क्षण चर्मोत्कर्षमा पुगेको हुन्छ । मान्छेका हाउभाउ, बोली, ब्यबहारमै केही क्षणका लागि भए पनि परिवर्तन आइदिन्छ, त्यो देखियो ।
चुनावी खेलमा ब्यक्ति हार्छ तर संस्थालाई हार्ने छुट हुँदैन, उसले जित्नै पर्दछ । त्यसैले म हारें, तर थाकस. जित्नै पर्दछ, उसलाई हार्ने छुट छैन । जुन लक्ष्य, उद्देश्य लिएर थाकस गठन भएको छ, त्यो लक्ष्य उद्देश्य बोकेर थाकस अगाडि लम्कनै पर्दछ, बढ्नै पर्दछ ।
थाकस कुनै पनि संगठनका दादा, बाबा वा सुप्रिमोहरुका दबाब, प्रभाव, बार, बन्धन वा ह्वीपबाट मुक्त हुनै पर्दछ । यही नै उसको जित हो ।
मार्गदर्शक सिद्धान्त र मूलाधार
मानवअधिकारकर्मीहरु मानवअधिकारसम्बन्धी विश्वव्यापी घोषणा पत्रलाई आफ्नो मार्गदर्शक सिद्धान्त मान्ने गर्दछन् । थाकस पनि एक अधिकारवादी संगठन भएकोले मानवअधिकारसम्बन्धी विश्यव्यापी घोषणा पत्र उसको मार्गदर्शक सिद्धान्त हुँदै हो ।
थारु आदिवासी भएकोले आदिवासी जनजातिहरुको मानव अधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघीय घोषणा पत्र र आईएलओ महासन्धि न. १६९ पनि थाकसको मार्गदर्शक सिद्धान्त हो, जसको आधारमा उसले देशको संविधानमा आदिवासीहरुको अधिकार समेट्न दवाव दिन्छ । संविधानमा समेटिसकेपछि संविधानको आधारमा ऐन कानुन बनाउन सरकारलाई दबाब दिने गर्दछ । कुनै पार्टीको विधान थाकसको मार्गदर्शक सिद्धान्त बन्न सक्तैन ।
विशेष परिस्थितिमा थाकस आवश्यक
हाम्रा कतिपय नेताजीहरु थारु कल्याणकारिणी सभा एउटा संस्था भएकोले यसको काम छैन, यसले केही गर्न सक्तैन भन्ने आसयले कुरा गरेको देखिन्छन् । दल बराबर संस्थाले काम गर्न सक्तैन भनी अवमूल्यन पनि गरिरहेका देखिन्छन् ।
हो, दलीय ब्यवस्थामा दलको महत्व ठूलो हुन्छ, दलहरुले नै सरकार बनाउने हो, राज्य संचालन गर्ने हो । नेताहरुको सोंच विचार, योजना राम्रो भयो भने दल सबैथोक हो । तर, दल हाँक्ने नेताहरुको सोंच बिचार संकीर्ण भइदियो भने के गर्ने ?
मधेश प्रदेश दिएका नेताहरुले थरुहट प्रदेश दिएनन्, दलका भातृ संगठनले मात्रै गर्न सक्दो हो त थारुवान प्रदेश पाइहालिन्थ्यो नि तर पाइएन । त्यसैले, समय र परिस्थितिअनुसार संघ, संस्थाको पनि महत्व हुन्छ ।
कुनैबेला दलका बाबा, दादाहरुले शासक जातिहरुको लागि मात्र अधिकारको ब्यबस्था गरिदिन सक्छन्, जनताको अधिकार खोसिदिन सक्छन् भन्ने थियो । शाहकाल, राणाकालमा त्यही भएको हो । २०४७ देखि अहिलेसम्म अलिअलि मात्रै सुधार भएको छ । थारुहरुको धेरै माग सम्बोधन भएको छैन ।
थाकसले गर्नुपर्ने काम
थाकस सबै दल र सबै थारुहरुको भएकोले यसप्रति थारुहरुको विश्वास जगाउन यसमा प्रवेश गरेका जुनसुकै ब्यक्ति दलगत स्वार्थ भन्दा माथि उठेर आवाज उठाउन जरुरी छ । यो आँट सबै पदाधिकारीहरुमा हुनै पर्दछ । स्थानीय तह, प्रदेश सभा वा प्रतिनिधि सभाको चुनावमा उठ्ने बेला थाकसको कमिटिबाट राजीनामा दिनु आवश्यक छ ।
त्यसैगरी, अहिले कतिपय जिल्लामा थाकसका कमिटिमै रहेका पदाधिकारीहरुले बहुविवाह गरी बसेको कुरा चर्चामा छ । यदि साँच्चै हो भने थाकस कमिटि त्यस्ता पदाधिकारीलाई राजीनामा दिन लगाउनु पर्दछ वा कमिटिबाट निष्कासन गर्न सक्नु पर्दछ ।
थाकस अधिकारवादी संगठन भएको र २०७२ मा जारी भएको गणतान्त्रिक संविधानमा बहुविवाहलाई सामाजिक अपराध मानिएको छ । त्यसैगरी थाकसको बिधानमा बहुविवाहको अन्त्य गर्ने कुरालाई उद्देश्यमा राखेको र बहुविवाह गर्ने ब्यक्ति थाकसको लागि अयोग्य ठहरिने कुरा उल्लेख भएकोले त्यसो गर्न आवश्यक छ ।
त्यसैगरी, थाकस कैलालीले दर्जन भन्दा बढी ब्यक्तिहरुबाट २०७५ सालमा आजीवन सदस्यता शुल्क बुझी हिनामिना गरेको र सदस्यता शुल्क तिर्ने ब्यक्तिहरुमा थाकसप्रति बितृष्णा बढिरहेकोले थाकसले हिनामिना गर्ने ब्यक्तिलाई कारवाही गर्न जरुरी छ ।
यदि कारवाही गर्न नसके थाकसका पदाधिकारीहरुले नै रकमको जोहो गरी केन्द्रमा बुझाउने र शुल्क तिर्ने ब्यक्तिहरुलाई आजीवन सदस्यता दिन जरुरी छ । बिरु पहिले पनि जिल्ला सदस्यमा रहेको र अहिले झन जिल्ला सभापति भएकाले समस्या सल्टाउन जरुरी छ । त्यसैगरी, सहकार्य र समन्वय गरी धेरै काम गर्न सकिन्छ ।
समापनमा,
समापनमा के भन्न चाहन्छु भने थाकस कैलालीको जिल्ला अधिवेशन अहिले ऐतिहासिक रुपमा सम्पन्न भएको छ । बिशेष गरी, थारु राष्ट्रिय मुक्ति मोर्चामा बिशेष ध्यान दिने माओवादीमा लागेका थारुहरुको पनि यो बर्षदेखि थाकसमा ध्यानाकृष्ट भएको देखिएको छ ।
काँग्रेसको त के कुरा गर्नु र ! उसले त सहसचिवबाहेक जिल्ला कमिटिका सबै ठूला पदमा आफ्नो प्यानललाई जिताउन सफल भएको छ । यसबाट उ धेरै उत्साहित भएको छ । यदि यही उत्साह टिमको काममा पनि रहिरह्यो भने पक्कै पनि थाकस कैलालीले धेरै क्षेत्रमा सुधार गर्न सक्नेछ ।
गुण र दोषको आधारमा कमिटिको मूल्यांकन पछि होला । अहिले चाहिं नवनिर्वाचित सबै पदाधिकारीहरुलाई हार्दिक बधाई दिन र कार्य सफलताको कामना गर्न चाहन्छु ।
साथै, कुनै दलको सदस्यता नलिएको, गुण र दोषको आधारमा मूल्यांकन गर्ने दलबिहीन म जस्ता स्वतन्त्र ब्यक्तिलाई काँग्रेसको ह्वीप अगाडि कडा प्रतिस्पर्धी बनाउने मेरा साथीहरु, शुभचिन्तक, हितैषी सबै मतदाताहरुलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु, सबैप्रति आभार ब्यक्त गर्न चाहन्छु ।
शान्तिपूर्ण रुपमा मतदान गर्ने सबै मतदाता, निर्वाचनमा खटिएका प्रहरी र निर्वाचन मण्डल, आयोजक कमिटि सबैलाई धन्यवाद दिन चाहन्छु । सबैको जय होस् ।