थारु आन्दोलनः  जिसकी लाठी–उसकी भैंस

थारु आन्दोलनः जिसकी लाठी–उसकी भैंस

७९२ दिन अगाडि

|

२३ फागुन २०८०

यो के अचम्म, दाहसंस्कार पनि गर्न नपाइने ?

यो के अचम्म, दाहसंस्कार पनि गर्न नपाइने ?

८३१ दिन अगाडि

|

१२ माघ २०८०

जागिरे जिन्दगीको विश्रामपछि गाउँमा बस्न थालेको अहिले मेरो  अढाई वर्ष पुगेको छ । गाउँलेहरुलाई कस्तो महसुस हुन्छ, थाहा भएन । मलाई भने छिमेकी गाउँको ब्यवहारमा ठूलो बद्लाव आएको महसुस भएको छ । अढाई वर्षमा गाउँको धेरै दुःखसुखमा सहभागी भएँ । सुखमा रमाइयो पनि, दुःखमा सहानुभूति समवेदना पनि जाहेर गरियो । आफ्नो मान्छे आफ्नो आफन्त गुमाएको पीडा कस्तो हुन्छ, पर्नेलाई थाहा हुन्छ ।  अढाई वर्षमा छिमेकी गाउँले जुन निर्लज्जता प्रदर्शन गरिरहेको छ, त्यो अचम्मलाग्दो छ । पीडामाथि पीडा थप्ने काम गरिरहेको छ । कसको सोंच, योजनामा त्यो गरिरहेको छ ? बुझ्न बाँकी छ । गाउँमा भलमन्सा छन्, बुद्धिजीवि छन्, जनप्रतिनिधि छन्, तिनले त्यसो गरे होलान् जस्तो मलाई लाग्दैन । यदि गाउँका अन्य केही मानिसहरुले गरेका हुन् भने भलमन्सा, बुद्धिजीवि, जनप्रतिनिधिले सम्झाउन सक्नुपर्ने हो, कचेहरीमा बोलाएर समन्वय गर्नुपर्ने हो ।  यो अढाई वर्षमा ३ ब्यक्तिको दाहसंस्कारमा सहभागी भइयो । पहिलो २ जना मान्छे मर्दा छिमेकी गाउँलेले खोला किनारमा लाश जलाउन नदिने खबर पठाएको कारण पीडित परिवारले लाश आफ्नो जमिनमा गाड्नु परेको जानकारी पनि पाइयो, त्यतिबेला केही भनिएन । सानातिना कुरा कहिलेकाहीं हुन्छ भनेर चुप लागियो । तर तेश्रो ब्यक्ति बित्दा आफूले पनि त्यो ब्यवहार देखें ।  २०८० माघ ११ गते खोला किनारमा लाश जलाउन जाँदा छिमेकी गाउँको चौकीदार आएर यहाँ लाश जलाउन दिइरहेका छैनन् भन्ने खबर लिएर आए । हामीले लाश जलाउन नदिने ब्यक्ति को हुन् पठाउदिनु भनेर फर्कायौ ।  छिमेकी गाउँको ब्यवहारमा आएको यो परिवर्तनले म अचम्मित छु । मान्छे मर्दाको पीडा कस्तो हुन्छ ? थाहा पाउनुपर्ने हो । फेरि नदीवारी त परापूर्वकालदेखि हाम्रो गाउँको सिमाना हो । आफ्नो गाउँको सिमानामा त सम्बन्धित गाउँको हक हुन्छ । फेरि श्मशान घाट सबैको साझा हुन्छ । त्यो काठमाडौंको आर्यघाट होस् या जुनसुकै नदीमा बनाइएको आर्यघाट होस्, मान्छे लाश जलाउँछन् अवरोध हुँदैन । फेरि हाम्रो गाउँले त परापूर्वकालदेखि लाश जलाउन त्यो घाटको उपयोग गर्दै आइरहेको छ । त्यतिबेला त रोकतोक थिएन । अहिले किन भैरहेको छ ?   निरंकुश पंचायती ब्यवस्थाका कारण हामी लाश गाड्ने मरघट (श्मशान घाट) गुमाएका छौं । मरघट गुमाएर लाश आफ्नो खेतबारीमा गाड्न बाध्य छौं । तर अब भने लाश जलाउने ठाउँ गुमाउने पक्षमा छैनौं । छिमेकी गाउँको यो ब्यवहार हाम्रो लागि असह्य छ । यसलाई बेलैमा टुङ्गो लाउनैपर्छ । पीडामा पीडा थप्ने काम नहोस्, सम्बन्धित गाउँको भलमन्सा, बुद्धिजीवि, जनप्रतिनिधिहरुको ध्यान पुगोस् ।

केही कुरा धिमालबाट सिक्ने कि !

केही कुरा धिमालबाट सिक्ने कि !

८६१ दिन अगाडि

|

११ पुष २०८०

आदिवासी जनजातिहरुको मानव अधिकारसम्बन्धि वकिल समुह (लाहुर्निप) को आयोजनामा २०८० मंसिर २४ देखि २७ सम्म काठमाडौंमा एउटा गोष्ठीको आयोजना भएको थियो । गोष्ठीमा आदिवासीहरुको ठूलो समुदाय मगर, थारु र अर्को धिमाल जातिलाई बोलाइएको थियो । बोलाउनुको मूल उद्देश्य ती समुदायमा रहेको परम्परागत शासन प्रणाली भेजा, भल्मन्सा र माझी वाराङको अवस्था, कार्यशैली र प्रथाबारेमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनमा रहेको ब्यवस्थाबारे छलफल र अनुभव आदानप्रदान गराउनु रहेको थियो । तीनटै समुदायबाट स्थानिय तहका प्रतिनिधि, परम्परागत शासन प्रणालीका प्रमुख भल्मन्सा, माझी वाराङ, जातिय संस्थाका प्रतिनिधि, नागरिक समाजका अगुवाहरुको उपस्थिति थियो ।  कार्यक्रममा धेरै कुराबारे छलफल गरिएको थियो र धैरै कुराबारे जानकारी प्राप्त भएको थियो । हामीले भल्मन्सा प्रणाली र भल्मन्साले गर्न सक्ने कार्यबारे साथीहरुलाई जानकारी गराएका थियौं भने मगर साथीहरुले भेजा प्रणाली र धिमाल साथीहरुले माझी वाराङ र उसले गर्ने कार्यबारे जानकारी गराएका थिए ।  ४ दिनसम्म भएको गहन छलफलले हामी के निष्कर्षमा पुगेका थियौं भने जनप्रतिनिधिले चाहे भने देशको मौजुदा कानुनको आधारमा जनतालाई धेरै हक अधिकार दिन मिल्ने, दिन सक्ने ब्यवस्था छ । संविधानमा स्वायत्त क्षेत्र, विशिष्ट क्षेत्रको ब्यवस्था त्यसै गरेको छैन । स्थानीय तहलाई प्रदेश र संघसँग नबाझिने गरी ऐन कानुन बनाउने अधिकार पनि त्यसै दिएको हैन, जनताका हकहितको संरक्षण गर्नका लागि नै दिएको छ । तर जनता र जनताका प्रतिनिधिहरु कानुनका बारेमा राम्रोसँग नबुझेकाले समस्या भैरहेको छ । जुन स्थानीय तहमा जनप्रतिनिधिहरु कानुनबारे जानकार र जनताप्रति जवाफदेही छन्, उनीहरु आफ्ना जनतालाई हकअधिकार उपभोग गराउन प्रयास गरिसकेका छन् । सोही प्रयासअनुरुप नै बर्दिया र कैलालीका केही स्थानीय तहमा बरघर÷भल्मन्सा सम्बन्धि ऐन पास गरी ब्यवहारमा लागू गर्ने प्रयास भैरहेको छ । यो थारु बहुल सबै स्थानीय तहमा आवश्यक पनि छ ।  धिमालहरुले प्राप्त गरेको उपलब्धि    परम्परागत शासन प्रणाली रहेका आदिवासी समुदायले थारुहरुबाट धेरै कुरा सिक्न सक्छन् भने थारु समुदायले पनि अन्य आदिवासी समुदायबाट धेरै कुरा सिक्न सक्दछन् । धिमाल समुदायका अगुवाहरुले धिमाल समुदायका लागि गरेको प्रयास र उनीहरुले प्राप्त गरेको उपलव्धि थारुहरुका लागि सिकाई बन्न सक्दछ ।  जनगणना २०७८ को तथ्यांकअनुसार जम्मा २५,६४३ को संख्यामा रहेको धिमालहरुको जातीय संस्था “धिमाल जातीय विकास केन्द्र” को उर्लाबारी–३ मंगलबारेमा १० बिगहा आफ्नो जमिन रहेको छ । बेलबारी नगरपालिका मोरङ र उर्लाबारी नगरपालिका मोरङले धिमाललाई पहिलो नागरिक घोषणा गरेको छ भने दमक नगरपालिका झापा र पथरी शनिश्चरे नगरपालिका मोरङले धिमाललाई प्रथम जाति भनी घोषणा गरेको छ ।  उर्लाबारी नगरपालिका मोरङले पहिलो नागरिक धिमालहरुको सर्बाङ्गिण विकासको लागि वर्षेनी २० लाख रुपैया छुट्याइरहेको छ । सानो संख्यामा रहेका धिमाल समुदाय कसरी पालिकालाई पहिलो नागरिक घोषणा गराउन सफल भयो ? पालिकाले किन उनीहरुको हक, अधिकार र बृत्ति विकासको लागि वर्षेनी बजेट बिनियोजन गरिरहेको छ ? यो थारु लगायतका आदिवासी समुदायको लागि सिकाई बन्न सक्छ । पूर्वदेखि पश्चिमसम्म फैलिएका तराईका आदिवासीको रुपमा प्रचारित १८ लाख ७ हजार १२४ को संख्यामा रहेका (२०७८ को तथ्यांक अनुसार) आदिवासी थारु जम्माजम्मी एउटा इटहरी उपमहानगरपालिकामा नगरको पहिलो नागरिक घोषणा भएका छन् भने २५६४३ को जनसंख्यामा रहेका आदिवासी धिमाल ४ पालिकामा पहिलो नागरिक घोषणा गराउन सफल भएका छन् । थारु लगायतका आदिवासीहरुका लागि धिमालहरुले प्राप्त गरेको यो उपलब्धि एउटा राम्रो उदाहरण बन्न सक्छ ।    स्थानीय तहले गर्न सक्ने पहल  स्थानीय तहले, जनउत्तरदायी जनप्रतिनिधिले संविधानमा उल्लेख भएका हक अधिकारको बहाली गर्न संविधान, ऐन कानुनको अधिनमा रही धेरै कुरा गर्न सक्ने देखिन्छ । यो उनीहरुको ईच्छाशक्तिमा भर पर्ने देखिएको छ । संविधानमा स्वायत्त क्षेत्र, विशिष्ट क्षेत्र, संरक्षित क्षेत्रको ब्यबस्था गरिएको छ । स्थानीय तहले प्रदेश र संघसँग नबाझिने गरी कानुन बनाउन मिल्ने ब्यव्स्था गरेको छ । यही ब्यवस्थाअनुरुप बर्दिया जिल्लाको बारबर्दियामा पालिका अध्यक्ष दुर्गाबहादुर थारु (कबिर) ले पहिलो पटक  गाउँपालिकामा बरघर÷भल्मन्सा ऐन तर्जुमा गरी पास गराएका थिए ।  अहिले बरघर÷भल्मन्सासम्बन्धि ऐन बर्दिया, कैलालीका अन्य केही पालिकाहरुले पास गरिसकेका छन् । धेरै पालिकाहरुमा यसबारे बहस भैरहेको छ । तर ९५ प्रतिशत भन्दा बढी एउटै जातिको जनसंख्या रहेको पालिकाहरुले समेत स्वायत्त क्षेत्र भनेर घोषणा गर्न, गराउन सकिरहेका छैनन् । यो सुवर्ण अवसर नजानिदो तरिकाले हातबाट फुत्किरहेको उनीहरुलाई थाहा छैन ।  इतिहासले थारुहरुलाई तराई तथा भित्री तराईका आदिवासी भनिरहेको बेलामा पहिलो नागरिक घोषणा गर्न के ले रोकिरहेको छ ? जबकि पूर्वदेखि पश्चिमसम्म तराई तथा भित्री तराईका धेरै पालिकाहरुमा थारु समुदायकै प्रमुख तथा उपप्रमुख रहेका छन् । गैरथारु प्रमुख तथा उपप्रमुखहरु पनि थारुहरुकै मतबाट जितेका छन् । यो सुनौलो घडीमा गर्न सकिने काम नगर्ने हो भने समयले पर्खला ? यो आफैंले आफैलाई प्रश्न गर्दा बढी उत्तम हुन्छ कि !  त्यसैले, निचोडमा के भन्न सकिन्छ भने संविधानमा हामीले सोचेका सबै कुरा छैनन्, हामीले सोचेका चाहेका धेरै कुराबाट हामीलाई हाम्रा ठूला दलका नेताहरुले संविधानमार्फत नै बञ्चित गरेका छन् । फेरि पनि संविधानमा केही त्यस्ता ब्यवस्था छन्, जसबाट जनताका ईच्छा, चाहना केही हदसम्म पुरा गर्न सकिन्छ । संविधानमा ब्यवस्था भएका स्वायत्त क्षेत्र, बिशिष्ट क्षेत्रको धारणा र प्रावधान पनि उत्पीडित जातिहरुको घाउमा मलहम लगाउनकै लागि गरिएको कानुनी ब्यवस्था हो, जुन ब्यवस्थामार्फत् मलहम लगाउन सकिन्छ ।  त्यसैगरी, स्थानीय तहलाई संघ र प्रदेशसँग नबाझिने गरी ऐन बनाउन मिल्ने कानुनी प्रावधान पनि उत्पीडित समुदायको घाउमा मलहम लगाउनकै लागि बनाइएको प्रावधान हो । थारुहरुको परम्परागत भल्मन्सा प्रणाली, मगरहरुको भेजा प्रणाली, धिमालहरुको माझी वाराङ प्रणाली उनीहरुको आफूमाथि आफै शासन गर्ने एक लोकतान्त्रिक प्रणाली हो । यो लोकतान्त्रिक प्रणालीलाई पालिकाले ऐन बनाई शासनमा सहभागी गराउन सक्छ र सम्बन्धित समुदायलाई अपनत्वबोध गराउन सक्छ ।  प्रथम नागरिक, पहिलो नागरिकको घोषणा तत्तत् जातिलाई गरिने ऐतिहासिक सम्मान हो । जुन धेरै पालिकाले गर्न सम्भव छ । धिमाल समुदायलाई त्यहाँका पालिकाहरुले गरेको घोषणा उदाहरणको लागि काफी छ ।   

नेपाली राजनीतिमा 'लेमन जुस' लूट

नेपाली राजनीतिमा 'लेमन जुस' लूट

८६३ दिन अगाडि

|

९ पुष २०८०

संजीव सत्गैंया सन् १९९५। अमेरिकाको पिट्सबर्गमा एक हट्टाकट्टा युवाद्वारा बैंक डकैती भयो। डकैतीको रमाइलो पक्षचाहिँ के भने– ती युवा, म्याकआर्थर व्हीलर, सरासर बैंकभित्र पसे, टेलरलाई बन्दुक देखाए, पैसा लिए, अनि हिँडे। न भेष बदलेका, न अनुहार नै छोपेका। डकैती गर्न यसरी गएका, मानौँ निगरानी क्यामेरामा पनि उनी देखिने छैनन्। रिपोर्टहरूका अनुसार बैंक कर्मचारीले त उनलाई बिनाप्रतिरोध नै पैसा दिए, बरु फुस्किन लागेको हाँसो दबाउने प्रयास गर्दै। यस्तो खुल्लमखुल्ला डकैतीको पटाक्षेप कसरी भयो होला त? अनुमान गर्न गाह्रो छैन। उनी केही समयपछि नै प्रहरीको फन्दामा परी त हाले।  सोधपुछका क्रममा दिएको बयानले चाहिँ प्रहरीलाई उनले चकित नै पारे– ‘तर, मैले त लेमन जुस लाएको थिएँ त!’ अर्थ थियो, उनले अनुहारभरि कागतीको रस दलेका थिए, तथापि किन अदृश्य भएनन्, कसरी निगरानी क्यामेरामा देखिए?  उनको त्यो दुस्साहस एउटा हास्यास्पद धारणाको उपज थियो– ‘लेमन जुस’लाई अदृश्य मसीको रूपमा प्रयोग गर्न सकिन्छ भने अनुहारभरि त्यही दल्दा त उनी पनि निगरानी क्यामेराले समाउन नसक्ने गरी अदृश्य हुन पर्ने! कागतीको रसको मसी, जुन तापको स्रोतनजिक नआएसम्म अदृश्य रहन्छ, बनाउने परीक्षण सायद केटाकेटी बेलामा उनले पनि गरेकै थिए। वर्तमान नेपालमा यस्तो लाग्छ कि जताततै म्याकआर्थर व्हीलरहरू छन्, विशेषगरी दलहरूमा, अझ ठूला दलहरूमा। दल र नेताहरूको व्यवहार यस्तो छ, मानौँ उनीहरू व्हीलरले झैँ आफ्नो अनुहारमा लेमन जुस पोतेकाले जति नै लूट र दोहनमा लिप्त भए पनि हामीलाई कसैले देख्न सक्दैन भन्ने भ्रममा छन्। नेपालमा भ्रष्टाचार छ भन्नु अहिले 'अन्डरस्टेटमेन्ट' नै भइसक्यो। पछिल्ला दिन समाचारमा विभिन्न आयतन र स्वरूपका भ्रष्टाचारका घटना उजागर भएकै छन्। सरल रूपमा भन्दा राजनीति गर्नु भनेकै धन कमाउनु हो र धेरै धन कमाउनु हो, भलै तरिका खराब नै किन नहोस्, भन्ने बुझाइ नेताहरूमा छ। नेताहरू आफैँ भन्छन्, ‘नियमित तवरले कमाएर त चुनाव नै लड्न सकिन्न।’  कुन दलका नेताले ‘कति कमाए' भन्ने विषय अब यति सजिलो तरिकाले घर, बजार, चिया पसल, सरकारी अड्डा वा मन्त्रालयमै छलफल हुन्छ कि भ्रष्टाचारको अत्यधिक सामान्यीकरण नै भइसक्यो। खतरनाक कुरो, भ्रष्टाचार मौलाइरहेको छ भन्दा पनि जति भ्रष्टाचार गरे पनि कसले नै के गर्न सक्छ र भन्ने अतिआत्मविश्वास जुन तवरले बढेको छ, त्यो हो। प्रशासन, भ्रष्टाचार नियन्त्रण गर्न बनाइएका निकाय, अड्डा, अदालतजस्ता राज्य संयन्त्रलाई आज नेताहरूले म्याकआर्थर व्हीलरको ‘लेमन जुस’ बनाएका छन्, मानौँ कि जति नै भ्रष्टाचार गरे पनि उनीहरू छोपिएकै छन्, देखिएकै छैनन्।  न्युयोर्क टाइम्सका पत्रकार डेक्लन वाल्सको पुस्तक ‘नाइन लाइभ्स अफ पाकिस्तान’मा एक पाकिस्तानी व्यवसायीसँगको वार्ता प्रसंग छ। ती व्यवसायी भन्छन्, "हेर्नुस्, गेम फिक्स गर्ने ५० तरिका छन्, र यहाँ पाकिस्तानमा ९० प्रतिशत जति गेम फिक्स्ड नै हुन्छन्।"  नेपालमा अहिले यस्तो लाग्छ कि गेम शतप्रतिशत नै फिक्स्ड छन्। यदाकदा भ्रष्टाचारका मुद्दामा कोही पक्राउ पर्नु या मुद्दा चल्नुलाई नेपाली समाजले ‘सेटिङ नमिलेको’ भन्ने बुझ्छ। जसको सीधा अर्थ के हो भने भ्रष्टाचार समाजको अभिन्न अंग बनिसकेको छ। बरु कुनै विकास परियोजनामा भ्रष्टाचार भएन भनियो भने त्यो अपवाद मानिने स्थिति छ।  ‘भ्रष्टाचारको अन्त्य’ आजका दिनमा सबैको सबैभन्दा प्रिय शब्दावली भए पनि दल र नेताहरूले भ्रष्टाचारको उन्मूलन त के घटाउन पनि सक्छन् भनेर समाजमा कुनै आशा बाँकी छैन। त्यसको एउटा मात्र कारण समग्र संयन्त्र नै भ्रष्ट हुनु हो। आज जुन दल र नेताहरू राज्य सञ्चालनमा छन्, तिनले प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रका लागि गरेको त्याग अतुलनीय छ। तर, जुन व्यवस्थाले सामाजिक–आर्थिक रूपान्तरण, समावेशीकरण, विकाश, विभेदजस्ता मुद्दा सम्बोधन गर्न सकेन भनेर त्यसलाई बदल्न जुन नेताहरूले आवाज उठाए, उनै नेताले आज तिनै जनसरोकारका मुद्दालाई बेवास्ता गर्दै स्वार्थ निहित राजनीति गर्दा प्रश्न त स्वाभाविक रूपमा तिनैमाथि उठ्छ।   नेताहरूले गाडी चढ्न हुँदैन, घर बनाउनै हुँदैन, राम्रो खानै हुँदैन भन्ने पक्कै हैन। तर, जनताको हितमा काम गर्छु भनेर राजनीति थालेकाहरूले आफ्नो जीवनशैली कस्तो छ र यसले समाजमा कस्तो सन्देश दिइरहेको छ हेर्नुपर्ने हुन्छ। र, कार्यकर्ताले पनि आफ्ना नेतामाथि प्रश्न गर्नुपर्छ; विशेष गरी आजको जस्तो अवस्थामा, जहाँ जनताका प्रश्न या अनुत्तरित छन् या बेवास्तामा।   ‘लेमन जुस' लूटसँगै अहिले मौलाइरहेको अर्को खतरा ‘लेमन सोसियलिजम’ पनि हो। दोहनको राजनीति यसरी फैलिरहेको छ कि संविधानमा समाजवाद उन्मुख नेपाल बनाउने प्रतिबद्धता गरेका दलहरू अहिले ‘लेमन समाजवाद’को अभ्यासमा लिप्त छन्। राजनीतिकर्मी र केही धनीमानीको समूहले जसरी राज्यसंयन्त्रको व्यापक दुरुपयोग गर्दै नाफाको निजीकरण र घाटाको सामाजिकीकरण गरिरहेको छ, त्यस्तो ‘लेमन समाजवाद’ संस्कृतिले देशलाई झनझन खोक्रो बनाउँदै छ।  विगत केही समयदेखि नेताहरूले मिलीजुली रक्षा गरिरहेको अर्को विकृत अभ्यास ‘सर्वदलीय सहमति’ पनि हो। ‘सर्वदलीय सहमति’ नेपाली नेताहरूले आविष्कार गरेको मौलिक चरित्रको यस्तो लेमन जुस हो, जसलाई अनुहारमा लगाउँदा आफ्ना हरेक भ्रष्ट क्रियाकलाप जनताको आँखाबाट छोपिन्छ भन्ने उनीहरूलाई लाग्छ। उदाहरण त धेरै छन्, तर एउटा जल्दोबल्दो उदाहरणचाहिँ के हो भने, दुई/दुई वटा अन्तर्राष्ट्रिय विमानस्थल थन्किएर बसेका मुलुकमा नेताहरूबीच अर्को एउटा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने कुरामा गजबको मतैक्य छ। गजब त के छ भने दल, नेता वा राज्यसँग हाल निर्माण सम्पन्न भइसकेका विमानस्थल कसरी उपयोगमा ल्याउने भन्ने नै नीति र योजना छैन। तर फेरि अर्को थप्दा एकअर्काको स्वार्थपूर्ति मज्जाले हुन्छ भन्ने कुरामा भने दलहरूमा प्रचुर प्रष्टता छ।     मुलुकमा भ्रष्टाचार नै एउटा त्यस्तो रसायन भएको छ, जसले विचार, सिद्धान्त, राजनीति आदिबारे आनका तान फरक धारणा भएका नेताहरूलाई पनि सँगै जोडेर राख्न सक्छ।  ‘हामीले ल्याइदिएको लोकतन्त्रमा तिमीहरू रमाउन पाएका छौ त’ भन्ने भाष्य निर्माण गरेर नेता झन‍्झन् धनी हुँदै र जनता त्यही अनुपातमा गरिब हुँदै जाने जुन बढ्दो क्रम छ, त्यसले व्यवस्थाप्रति क्रुद्ध केही समूहलाई प्रतिगामी भाष्य निर्माण गर्ने राम्रो मौका दिएको छ। तर, लोकतन्त्रलाई जीवन्त राख्ने त आखिरमा जनता नै हुन्। नेताहरूले आफूलाई जति लेमन जुसमा चोपले पनि वा अड्डा, अदालत, प्रशासन लगायतका राज्यसंयन्त्रलाई नै लेमन जुस बनाएर आफ्ना गलत गतिविधिहरू छोपिएको भ्रममा परे पनि जनताको नजरबाट चाहिँ उनीहरू उम्किन सक्दैनन्।  जनताले पछिल्ला केही दशकमा आफ्नो विवेक उत्तम तरिकाले प्रयोग गरेकै छन् र आवश्यक परे फेरि पनि गर्ने नै छन्। म्याकआर्थर व्हीलर आफ्नो मूर्खताले गर्दा प्रहरीको फन्दामा परेझैँ, भ्रष्टाचारमा लिप्त जो कोही पनि जनताको कठघराबाट उम्कन पाउने छैनन् नै। नेताहरूले आफूलाई सुधार्नभन्दा पनि लेमन जुसको आडमा दोहन जारी राखे भने जनताले एक दिन उनीहरूको अनुहार मात्र होइन, चरित्र पनि मतदान पेटिकामा देखाउने नै छन्। उकालोबाट

के नशा मदिराबाट मात्रै प्राप्त हुन्छ ?

के नशा मदिराबाट मात्रै प्राप्त हुन्छ ?

८८८ दिन अगाडि

|

१४ मंसिर २०८०

गणेशप्रसाद गुरागाईं संसारका धेरैजसो मानिस मदिरापान गर्छन् । कसैले पीडा भुल्ने बहानामा, कसैले प्रेम वियोगको बहानामा, कसैले ठण्डी भगाउने बहानामा, कसैले खुसी साटासाटको बहानामा, कसैले पुरानो मित्र भेटको बहानामा, कसैले मौसम परिवर्तनको बहानामा, कसैले चाडपर्वको बहानामा, कसैले आफ्नो कुनै पनि सफलता र असफलताको बहानामा मदिरा सेवन गर्छन् । यी बहाना प्रतिनिधिमूलक मात्र हुन् । खोज्दै बुझ्दै जाने हो भने विश्वमा रहेका लगभग आठ अर्ब मानवमध्ये चार अर्ब जतिले त यस्ता बहानाको फेहरिस्त नै पेस गर्छन् । तसर्थ सबै बहाना यहाँ उल्लेख गर्न सम्भव छैन । बहाना जेसुकै भए पनि मानिसले नशाका लागि वा लागेको बानीलाई त्याग्न नसकेर नै मदिरापान गर्छन् । तामसी गुण अन्तर्गतको पेय पदार्थ हो मदिरा, यो साकाहारी समूहमा पर्छ । श्रीमद्भगवद्गीता अध्याय १७ श्लोक १० मा मानिसले आफ्नो खानपानमा प्रयोग गर्ने मदिरा लगायत तामसी खानाका विषयमा उल्लेख छ ।  ‘यातयामं गतरसं पूति पर्युषितं च यत् ।  उच्छिष्टमपि चामेध्यं भोजनं तामसप्रियम् ।।’ अर्थात् ग्रहण गर्नुभन्दा तीन घण्टा पहिले पकाइएको, आधा पाकेको, रसहीन, दुर्गन्धित, बिग्रिएको, सडेको, बासी, जुठो र एकदमै अपवित्र खानेकुरा तमोगुणी मानिसलाई मनपर्छ वा प्रिय लाग्छ ।  उपरोक्त अर्थबाट के बुझिन्छ भने मदिरा, मदिराजन्य पदार्थ र मदिरा समान गुण भएका जति पनि दुर्गन्धित, सडेगलेका, बासी, जुठो र एकदमै अपवित्र पेय पदार्थ र खानेकुरा छन्, ती सबै तामसी समूहमा पर्छन् । यस्ता पेयपदार्थ र खानेकुराले संक्रामक रोग बढाउँछन् । यी पदार्थ सत्त्वगुणी मानिसहरू खाँदैनन् र खान पनि मन पराउँदैनन् । त्यसैगरी मदिरापानको लत बसेको मानिस (जसलाई तमोगुणी स्वभावमा स्थित मानिस भनिन्छ)को आनीबानी, चालचलन, स्वभाव, कार्य सम्पादनको तौर–तरिका र कार्य परिणामका विषयलाई प्रस्ट्याउनका लागि श्रीमद्भगवद्गीता अध्याय २ श्लोक ६२ र ६३ को अर्थ र भावलाई उल्लेख गर्नु उपयुक्त हुन्छ ।  ‘ध्यायतो विषयान्पुंसः, संगस्तेषुपजायते ।  सङ्गात्सञ्जायते कामः, कामात्क्रोधोक्भिजायते ।।  क्रोधाद्भवति सम्मोहः सम्मोहात्स्मृतिविभ्रमः ।  स्मृतिभ्रंसाद् बुद्धिनाशो बुद्धिनाशात्प्रणश्यति ।।’ अर्थात् विषयहरूको चिन्तन गर्ने पुरुषको तिनै विषयमा आशक्ति पैदा हुन्छ, आशक्तिबाट ती विषयप्रति कामना पैदा हुन्छ र कामनामा विघ्न हुँदा क्रोध उत्पन्न हुन्छ । क्रोधका कारण अत्यन्त मूर्खताभाव उत्पन्न हुन्छ, मूर्खताभावका कारण स्मृतिमा भ्रम हुन जान्छ, स्मृतिमा भ्रम उत्पन्न हुँदा बुद्धि अर्थात् ज्ञानशक्तिको नाश हुन्छ र बुद्धिको नाश भएपछि त्यो पुरुष आफ्नो स्थितिबाट गिर्दछ । यस्तै, मदिराको स्वाद, गन्ध, बनाउने प्रक्रिया, यसको सेवनबाट प्राप्त उपलब्धि, उपभोग गर्न मिल्ने समय आदि विचार गर्दा यो पेय पदार्थ तामसी स्वभाव र गुण भएको पेय पदार्थ हो र यसको प्रयोगले मानिसलाई तमोगुणी स्वभावमा पुर्‍याउँछ । यस स्वभावमा पुग्नुलाई आध्यात्मिक नजरले विश्लेषण गर्ने हो भने मानिस कहिल्यै पनि मोक्ष हुन वा मुक्तावस्थामा पुग्न सक्दैन । मानिसले सेवन गर्ने जुनसुकै खाना समूह र प्रकारमा मदिरा परे पनि अन्ततोगत्वा यसबाट प्राप्त हुने मूलभूत तत्त्व भनेको नशा हो ।  तसर्थ मदिराबाट प्राप्त हुने अल्पकालीन नशालाई त्याग गरेर जुन नशा एक पटक मात्र लागेपछि जीवनपर्यन्त लागिरहन्छ त्यो नशाको विषयमा चिन्तनमनन गरौँ । योग, ध्यान र अध्यात्मको विषयमा चिन्तन गरौँ । मदिराले कति समयसम्म नशा दिन्छ भन्ने त्यसको मात्रामा निर्भर गर्छ भनेको पनि सुनिन्छ । मदिरा भनेर मात्रै हुँदैन, यसका पनि विभिन्न प्रकार छन् । गुणस्तर अनुसार मूल्य तोकिएको पाइन्छ । मदिराको मूल्य जति परे पनि यसको मूलभूत गुण नशा दिने नै हो । कतिपयले मात्रा मिलाएर गुणस्तरीय मदिरा पिउँदा स्वास्थ्यलाई हानि नगर्ने तर्क पनि गर्छन् । उनीहरूको तर्कको आफ्नै विज्ञान होला । तर मदिराले राम्रो गरेको भन्दा नराम्रै गरेको समाजमा देखिँदै र सुनिँदै आइएको छ । मदिराकै कारण झै–झगडा भएको, मानिसले होस गुमाएर गल्ती गरेको, लामो समय मदिरा सेवन गरेका कारण रोगको सिकार भएको हाम्रा लागि नौला होइनन् । मदिरापानको बानी लागेकाहरूको तर्क हुन्छ, मदिराको नशा भनेकै आनन्द महसुस गर्नु हो । मदिराको नशाबाट प्राप्त हुने आनन्द अन्य पेय पदार्थबाट प्राप्त हुने आनन्दभन्दा सर्वोच्च छ र यो सर्वसुलभ रूपमा उपलब्ध छ ।  के नशा मदिराबाट मात्रै प्राप्त हुन्छ ? होइन । मानव जीवनका लागि आवश्यक र सबैभन्दा महत्त्वपूर्ण नशा हो– आध्यात्मिक चिन्तन र ध्यान । यसको नशा एक पटक मात्र लाग्यो भने जीवनपर्यन्त छुट्दैन । मानिसले मदिराको नशाभन्दा अभूतपूर्व गहिरो र दीर्घकालीन नशाको विषयमा थाहा पायो भने उसले यो नशालाई चटक्कै छाड्न सक्छ । यस्तो अभूतपूर्व नशाको लतलाई छाडेर मानिस जब मदिरापानको नशामा भुल्न थाल्छ, ऊ मानव भएर जन्मनुको उद्देश्य, कर्तव्य र लक्ष्यबाट च्युत हुन थाल्छ । मदिरापान गर्ने बानी भएको मानिसले एकातिर मानिस भएर जन्मनुको महत्त्वपूर्ण उपलब्धिबाट चुक्नुपर्छ भने अर्कोतर्फ पुनः चौरासी लाखको चक्करमा पनि पर्नुपर्छ । मदिरापान गर्ने मानिसबाट प्राप्त हुन सक्ने जवाफको अनुमान गर्दा पाण्डव गीताको श्लोक ५८ र ५९ लाई यहाँ दृष्टान्तको रूपमा प्रस्तुत गर्न सकिन्छ । जस अनुसार – ‘जानामि धर्मं न च मे प्रवृत्ति– र्जानामि पापं न च मे निवृत्तिः । केनापि देवेन हृदिस्थितेन यथा नियुक्तोक्स्मि तथा करोमि ।। यन्त्रस्य मम दोषेण शम्यतां मधुसूदन ।  अहं यन्त्रं भवान् यन्त्री मम दोषो न दीयताम ।।’ अर्थात् ‘म धर्मलाई जान्दछु तर यसमा मेरो प्रवृत्ति हँदैन, यसतर्फ मेरो मनै जाँदैन । यसरी नै म पापलाई पनि जान्दछु तर उसबाट मेरो निवृत्ति हँदैन, मनले त्यो बाटो छोड्नै मान्दैन । हृदयमा बसेको कुनै देव जस्ताले जे प्रेरणा दिन्छ, म त्यही गर्दछु । हे मधुसुदन ! म यन्त्र हुँ र तपाईं यन्त्री (यन्त्रको प्रेरक) हो । यसकारण यन्त्ररूप मेरो दोषबाट तपाईं शान्त हुनुहोस् । मलाई दोष नदिनु, किनकि यन्त्रका सबै क्रियाहरू त्यसको प्रेरकको अधिनमा हुन्छन् ।’ यो श्लोकको अर्थको विश्लेषण गर्दा यस्तो अर्थ लाचार र व्यभिचारी मानिसबाट मात्र अपेक्षा गर्न सकिन्छ । साथै उनीहरूले आफ्नो कार्यदोषको परिणामको जिम्मा ईश्वरलाई लगाउने प्रयास गरेको देखिन्छ । ईश्वर भनेको यस्तो तत्त्व हो, जो सारा जीवको भावमा मात्र उपलब्ध हुन्छ । चाहे सात्त्विकी, राजसी र तामसी गुण र स्वभाव भएको जीव किन नहोस् । उसले कहिल्यै पक्षपात गर्दैन र सबैमा समभावमा रहन्छ, साक्षीको रूपमा मात्र रहन्छ । जो व्यक्तिकृत संकल्पित छ, ऊ आफ्नो कर्तव्य पथबाट डगमगाउँदैन, यस्तो अर्थको पछाडि दौडिँदैन, कसले यो अर्थ लगायो त्यसको खोजी गर्दैन, आफू पनि त्यस्तो अर्थ लगाउँदैन र अरुलाई पनि यस्तो अर्थ लगाउन प्रोत्साहन गर्दैन । तसर्थ मदिराबाट प्राप्त हुने अल्पकालीन नशालाई त्याग गरेर जुन नशा एक पटक मात्र लागेपछि जीवनपर्यन्त लागिरहन्छ त्यो नशाको विषयमा चिन्तनमनन गरौँ । योग, ध्यान र अध्यात्मको विषयमा चिन्तन गरौँ । त्यही नशालाई आफ्नो जीवनको मूलप्रवाहको रूपमा अँगाल्दै जीवन सफल बनाऊँ । आनन्दका नाममा अल्पकालीन आनन्दको कुलतमा नफसौँ र यसका पछि नलागौँ । दीर्घकालीन आनन्दका बारेमा चिन्तन गरौँ । रातोपाटीबाट

छठपर्वको इतिहास

छठपर्वको इतिहास

९०० दिन अगाडि

|

२ मंसिर २०८०

सूर्यकुमार पण्डित छठ पर्व हरेक वर्ष कार्तिक शुक्ल चतुर्थीदेखि चार दिनसम्म मनाइन्छ ।  यस वर्ष (२०८०) यो पर्व मङ्सिर २ र ३ गते परेको छ । षष्ठीका दिन अस्ताउँदो सूर्यलाई सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ दिनुपर्ने परम्परा हो तर तिथिको घटबढले गर्दा ३ गते बिहान ७ः५२ मा नै षष्ठी सकिएर सप्तमी लाग्छ । त्यो सप्तमी पनि ५ः ३९ बजे नै सकिन्छ । पवित्र मनले सूर्यलाई अर्घ दिँदा पारिवारिक कल्याण, सन्तानसुख तथा मनोकामना पूरा हुने विश्वास गरिन्छ ।  यो पर्व नेपालको तराई र भारतको उत्तरी क्षेत्रका हिन्दुहरूले मनाउने पवित्र र महत्त्वपूर्ण सांस्कृति पर्व हो । यो पर्वलाई भाषागत रूपले हेर्दा भोजपुरी र मैथली संस्कृतिमा मौलाएको पाइन्छ । पहिला पहिला नेपालको तराई क्षेत्रमा मात्र छठ मनाएको देखिन्थ्यो । तर हाल नेपालको पहाडी भूभाग र विश्वको विभिन्न भागमा जहाँ जहाँ हिन्दु धर्मावलम्बीहरू बसेका छन् त्यहाँ त्यहाँ यो पर्व श्रद्धा एवं भक्तिपूर्वक मनाउन थालेको पाइन्छ । यसमा सूर्यको उपासना र षष्ठी भगवतीको पूजाअर्चना गरी पुत्र, पति र परिवारको कल्याणको कामना गरिन्छ ।  कार्तिक शुक्ल चतुर्थीका दिन व्रतारम्भ वा पूवाङ्ग गरिन्छ । पहिलो दिन विधिवत् रूपमा सुरु भएको दिनलाई खर्ना भनिन्छ । पहिलो दिन व्रतालुहरूले निष्ठापूर्वक पवित्र नदी वा जलाशयमा स्नान गरी बेलुकीपख दूध, चामल र सक्खरको खीर पकाई एक छाक मात्र प्रसादका रूपमा आफूले खाने र व्रत नबस्ने परिवारका सदस्यलाई पनि खुवाउने चलन छ ।  छठको दोेस्रो वा पञ्चमीका दिनमा व्रतालुहरू पानीसमेत नपिई निराहार बस्छन् । साँझपख नजिकैको पोखरी, तलाउ, इनार, कुवा जस्ता जलाशयमा गई पानीमा डुबेर स्नान गर्दछन् । तेस्रो वा षष्ठीका दिन व्रतालुहरूले त्रिवेणी वा ठूला नदी दोभान वा नदी सागर पोखरीको किनारमा सूर्यलाई र छठीमैयालाई चढाउने सामग्रीहरू नदी वा पोखरीको किनारमा लगेर सजाइन्छ । यस पर्वमा धेरै किसिमका फलफूल नैवद्य तयार गरिन्छ । यसका साथै चामलको पिठोको खीर तयार गरिन्छ । व्रतालुहरू पानीभित्र पसेर बअस्ताउँदो सूर्यलाई अर्घ दिएर पूजा आराधना गर्दछन् । सूर्यार्घमा निम्न चिजहरू राखिन्छ । पानी, दूध, कुश, दही, तिल, अक्षता, दूबो र सस्र्युं गरी आठवटा वस्तु राखिन्छ । एउटा सिङ्गो फल पनि राखिन्छ । यी चिज राख्दै गर्दा निम्न मन्त्र उच्चारण गरिन्छ । अर्घसँगै शङ्खअर्घ पनि तयार गरिन्छ । शङ्खअर्घ भनेको पूजा गर्ने सानु शङ्ख उत्तानो पारी राख्ने र माथिका सबै वस्तु यसमा पनि राख्नु हो । आपः क्षीर कुशाग्राण्री दध्याश्च तिलतण्डुलान् ।  दूर्वा सिद्धार्थकं चै व अष्टाङ्ग अर्घउच्चते                   अर्घको पूजा गर्ने मन्त्र : ब्राह्मणो दर तीर्थानी करैः पृष्ठाति ते रवे ।  तेन सत्वेन देवेश तीर्थदेहि दिवाकरम् ।   शङ्ख अर्घ : शङ्खादौ चन्द्र दैवत्यं कुशावारुण देवताम् ।  पृष्टे प्रजापतिश्चैव तस्मात शङ्ख प्रपुजयते ।। अर्घलाई चन्दन अक्षताले ४ पटक पूजा गरिन्छ :  ॐ गङ्गादि सर्वतीर्थेभ्यो नम  ॐ धर्मपद दशकलात्मने बन्हिमण्डलाय नमः ॐ अर्थपद द्वादशकलात्मने सूर्यमण्डलाय नमः  ॐ कर्मपद षोडसकलात्मने चन्द्रमण्डलाय नमः ।    धेनुमुद्रा, अंकुश मुद्रा र मत्स्य मुद्रा देखाइन्छ । सूर्यार्घस्तुति, सूर्यलाई अर्घः  अर्घ दिँदै गर्दा अर्घको आधा चिज मात्र सूर्यलाई चढाएर आधा जति बाँकी त्यही राखिन्छ । बाँकी भोलिपल्ट सूर्योदय हुँदा दिने अर्ध यसैले दिइन्छ । सूर्यार्घ दिँदा भन्ने मन्त्र ।   सुन्दर वर्णाय सुमङ्गलाय, सुवर्ण वर्णा भरणाय तुभ्यम् । पद्माभ नेत्राय सुपङ्कजाय, ब्रह्मेन्द्र नारायण कारणाय ।। सु–रत्त पूर्ण स–सुवर्ण तोयं, सु–कुङ्कुमाद्य सु–कुशं सु–पुष्पम् । प्रदत्त मादाय सहेम पात्रं, प्रशस्त अघ्र्यं भगवान नमस्ते ।। नमः शिवाय शान्ताय सगणय दि हे तवे ।  रुद्राय विष्णवे तुभ्यं ब्राह्मणे सूर्यमूर्तये ।। एहि सूर्य सहस्रांशो तेजोरासी जगत्पते ।  अनुकम्प मयां भक्त्या गृहाणार्थ दिवाकरम् ।। रातभर सूर्यको आराधनामा मग्न भएका भक्तहरूले भोलिपल्ट वा सप्तमीका दिन बिहान उदाउँदो सूर्यको पुनः पूजाआजा गर्दै व्रतालुहरूले हिजो अर्घ दिँदा बाँकी रहेको अर्घ र शङ्खअर्घ दिन्छन् । साथै पुुनः अञ्जुलीमा जल भरेर सूर्यार्घ चढाइन्छ । पालैपालो पक्वान्न, ऋतुफल र सुक्खाफल  पठकुवा, भुसुवा, फलफूल र मिठाई जस्ता प्रसाद अर्पण गरिन्छ । प्रसादमा उखु, केराउ, केरा, नरिवल, मिठाई, चना, ठेकुवा, कसार, कागती र अदुवा राखिन्छ । शुद्ध घिउमा गहुँको पिठोबाट निर्मित ठेकुवा र चामलबाट निर्मित कसारको विशेष प्रसाद चढाइन्छ ।  उदाउँदो सूर्यलाई अर्घ दिँदा निम्न श्लोक पाठ गरिन्छ ।  तापत्रय हर दिव्यं परमा नन्दलक्षणाम् ।  तापत्रय विनासाय तावार्घ मर्पयामह्यम् ।।  अर्घ गृहाण ब्रह्मज्ञ गन्धपुष्पाक्ष तैर्युक्तम् ।  करुणाकर विप्रेषेण प्रशन्नो भव सर्वदा ।। सूर्यार्घको काम सकेपछि षष्ठीदेवीको पूजा आराधना गरिन्छ । षष्ठीदेवीको मुर्ती सिँगारेर झकिझकाउ बनाइन्छ । षष्ठीका देवीलाई पूजा गर्दा भने निम्न श्लोक पाठ गरिन्छ । जगन्मातार्जगदात्री जगदा नन्दकारिणी ।  प्रशिद मम कल्याणी नमस्तु षष्ठी देवते ।। यसरी उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठी माताको पूजाआजा गरिन्छ । भाकल गर्नेहरूको सबै मनोकामना पूरा हुने धार्मिक विश्वास छ । यो व्रत गर्नाले चर्मरोग छिटो निको हुने पनि विश्वास गरिन्छ  छठीमैयाको पूजा सकेपछि त्यो वर्षको छठ पर्व विसर्जन भएको मानिन्छ । व्रत विसर्जन गरेपछि सूर्य र छठीमैयालाई चढाएका प्रसाद आफन्त तथा छिमेकीलाई वितरण गरिन्छ । नदी तथा तलाउमा सिँगारिएका वस्तुहरूलाई पनि विसर्जन गरिन्छ । पाउना आएका आफन्तहरूलाई पनि यथोचित भोजन गराई बिदाइ गरिन्छ ।  छठ पर्वको इतिहास सृष्टिको सुरुदेखि नै मानिसले सूर्यको उपासना गरिँदै आएको पाइन्छ । अग्नि पुराणमा पनि षष्ठीदेवीको व्रतको प्रसङ्ग उल्लेख छ । चौध वर्षको वनवास र एक वर्षको अज्ञातवास बसेको बेला द्रौपदीसहित पाण्डवले पनि यो व्रत गरेको वर्णन महाभारतमा पाइन्छ । त्रेता युगमा राजा दशरथकी रानी कौशल्याले पनि यो व्रत गरेको बताइन्छ । कात्तिक महिनामा मनाइने छठलाई शारदीय वा ठूलो छठ भनिन्छ । चैत्र शुक्ल षष्ठी तिथिमा पनि केही ठाउँमा यो पर्व वसन्तीय षष्ठी मनाइन्छ ।

म हारें तर थाकस जित्नैपर्छ

म हारें तर थाकस जित्नैपर्छ

९४६ दिन अगाडि

|

१६ असोज २०८०

यतिबेला थारु कल्याणकारिणी सभा (थाकस) केन्द्र महाधिवेशनको संघारमा छ । त्यसैले, जिल्ला जिल्लामा अधिवेशन भैरहेको छ । यसै क्रममा थाकस कैलालीको जिल्ला अधिवेशन हुनु भन्दा ६÷७ महिना अगावै धनगढीमा एक छलफलको बिचमा आउँदो अवधिको लागि थाकस कैलालीको सभापति कसलाई बनाउने भन्ने कुरा उठेको थियो, जसमा केही सहृदयी मित्रहरुले मेरो नाम प्रस्ताव गर्नु भएको थियो ।  सभापतिमा पुरुष भैसकेपछि सचिवमा महिला भन्ने कुरो प्रस्ताव आएपछि बसन्ती चौधरीको नाम पनि आयो । म सुरुमा त केही बोलिन तर पछि साथीहरुको व्यापक दवावपछि प्रस्ताव स्वीकार्न बाध्य भएँ ।  थाकस कैलाली जिल्ला समितिले २०८० असोज ६ गते अधिवेशन गर्ने भनी समय तोकिसकेपछि साता दिन अगाडि मात्रै सभापतिको उम्मेदवार आफू हुने कुरा म सामाजिक सञ्जालमा जानकारी गराएँ । जानकारी गराउनुको उद्देश्य सम्भावित उम्मेदवार पत्ता लगाउनु र चुनाव नभई सर्वसम्मत अधिवेशन सफल होस् भन्ने मेरो चाहना थियो ।  तर, असोज ६ गते उम्मेदवारी दिंदा कमिटिमा जिल्ला सचिव रहेका देशराम चौधरी र सदस्य रहेका बीर बहादुर चौधरीले पनि उम्मेदवारी दिए । धेरै पहिले मेरो नाम प्रस्ताव हुँदा, चर्चा भैसक्दा ती साथीहरु किन बोलेनन् ? कसको सल्लाहमा उम्मेदवारी दिए ? किन सहमति जुरेन ? पछि मात्रै थाहा भयो ।  सामान्यतयाः अधिवेशन हुँदा त्यही दिन नसकिए रातबिरात भएपनि, त्यो पनि सम्भव नभए बिहानसम्म अधिवेशन सम्पन्न गर्ने चलन छ । तर, दलीय सोंच र दवावका कारण त्यस दिन अधिवेशन हुन नसक्ने पक्कापक्की नै भयो । अर्को शनिवार १३ गते चुनाव गर्ने मिति तोकियो । चाहँदा नचाहँदै आफू पनि नगर कमिटि, क्षेत्रीय कमिति, जिल्ला पार्षदहरुसँग भेट गरी भोट माग्नुपर्ने बाध्यता आइप¥यो ।  असोज १० गते साँझ राजबन्दी रामप्रसाद चौधरी र चुन्नीराम चौधरीसँग भेट भयो । जेलमा हुँदा दलगत स्वार्थ भन्दा आफू माथि रहेको सन्देश दिन प्रयत्न गर्ने मित्रहरु इस बीचमा बढी काँग्रेसी नेता भएको थाहा भयो । भित्री दिलमा बीरबहादुरलाई राखेपनि उनीहरु अझ पनि सहमतिको खोजीमा रहेको बिचार ब्यक्त गरेका थिए ।  प्रचारप्रसारमा निस्किएका हामी (माधव, ईन्दु, बसन्ती र म) सभापतिमा मलाई, उपसभापतिमा एक जना माओवादी र एक जना काँग्रेस, सचिवमा महिला राखौं भन्ने प्रस्ताव ग¥यौं, साथीहरु ठाडै इन्कार गरे । उनीहरु उपसभापतिमा माओवादी विचारकी सुस्मिता चौधरी निर्विरोध चयन भैसकेकीले अब उपसभापतिमा माओवादीका अर्का उम्मेदवार बतासुलाई स्वीकार्न नसकिने, दुइटै उपसभापति पद काँग्रेसलाई दिइनुपर्ने अडान लिए ।  मतदातामा काँग्रेसको पकड रहेकोले राजबन्दी साथीहरुको त्यस्तो आवाज आउनु स्वाभाविक लाग्यो । हामी कन्भिन्स गर्न सकेनौं । ११ गते पनि प्रचारमा हिँड्यो । प्रचारको लागि अन्तिम दिन भएकोले बर्दगोरियामा काँग्रेस प्यानल र हाम्रो मिक्स प्यानलको जम्काभेट भयो । नगर कमिटि, क्षेत्रीय कमिटि, जिल्ला पार्षदहरुसँग दुबै प्यानलले आआफ्ना कुरा राखी भोट माग्यौं । त्यहाँबाट हामी हिँड्यो, काँग्रेसका प्यानल कतिबेरसम्म त्यहाँ बस्यो थाहा भएन । तर, त्यस दिन काँग्रेसको दलिय ह्वीप जारी भएको कुरा भने थाहा भयो ।  दुःखको कुरा  उम्मेदवार बीचमा सहमति हुन नसकेकोले निर्वाचन मण्डलले १३ गते मतदानको घोषणा ग¥यो, दुवै पक्ष हामी सकेजति प्रचारप्रसार ग¥यौं । चुनाव भन्ने खेल सम्पन्न भयो, खेलमा एकले जित्छ, अर्कोले हार्छ, त्यो खेलमा म केवल ३ मतले हारें, बिरुले जिते ।  हार्दा मलाई रत्तिभर दुःख छैन । तर प्रचारप्रसारको दौरानमा केही काला दिल भएकाहरुले यो दिललाई लगाएको गलत आरोपले चाहिं मलाई दुःखी बनायो । सधैँ उकुसमुकुस, दुःखमा बाँच्ने ती मनुवाहरुले मलाई ढकिया पार्टी, एमाले पार्टी भनी ठाउँ ठाउँमा आरोप पनि लगाए । तिनले लगाएका आरोपले मलाई छोएन । तर ती काला दिलका मनुवाहरुले मलाई टीकापुरको थारु बिद्रोहमा मारिएको नाबालक साउद थारुहरुले मारेको रिपोर्ट बनाउनमा इन्सेकलाई सल्लाह दिने, सहयोग गर्ने ब्यक्ति दिल बहादुर हो भनी लगाएको गम्भीर आरोपले मलाई साह्रै दुःखी बनायो ।  जबकि म ती नाबालक प्रहरीको गोलीबाट मारिएको कुरा धेरैपटक आफ्नो लेखमा लेखिसकेको छु, बोलिसकेको छु । मेरो बारेमा धेरैलाई थाहा भएपनि सबैलाई थाहा छैन, थाहा नभएकाहरुलाई त्यो कपटी कुरा सही लाग्न सक्छ भनेर दुःखी भएँ ।  रमाइलो कुरा  निर्वाचनको दिनमा मतगणना भइरहेको थियो । प्रतिस्पर्धा कडा थियो । मतगणनाको क्रममा ५÷ ७ मतले म अगाडि बढिरहँदा काँग्रेसका प्यानल बनाउने मित्रहरु आत्तिईरहेका थिए । अन्तिमको २६ मत गन्न बाँकी थियो, त्यही २६ मतमा मलाई ७ र बीरुलाई १८ मत प्राप्त भयो । मेरो र मेरो टिममा रहेका मित्रहरुको हार भएपछि काँग्रेसका मान्छेमा खुशीयाली छायो ।  गम्भीर आरोप लगाउने एक खुराफाती नेता त खुशीले अक्क न बक्क थिए । काँग्रेसको टिम नै बिजयी बनेपछि उनीहरुमा खुशी छाउनु स्वाभाविक थियो । खास गरी सचिव बसन्तीको हारमा उनकै संगठनका एक ब्यक्तिको अनुहारमा निकै चमक देखिन्थ्यो ।  एकजना पत्रकारमा पनि खुशी चरम उत्कर्षमा थियो, उनको खुट्टा भुइँमा थिएन, ठूलो स्वरमा कराइरहेका थिए, म बीरुलाई बधाई दिन जाँदा ती पत्रकार एक्कासी सम्हालिन पुगेका थिए । बिरुलाई बधाई दिन जाँदा उनी खुशीले गदगद थिए र मलाई २, ३ पटक अँगालो मारेका थिए ।  अनि मलाई लाग्यो, सर्वसम्मतिले चुनाव टुंग्याउँदा मान्छेमा जति खुशी हुन्छ, त्यो भन्दा धेरै बढी खुशी प्रतिस्पर्धा गर्दा हुने रहेछ । काँग्रेस उम्मेदवारका समर्थक, शुभचिन्तकमा छाएको खुशी हेर्न लायक थियो । म जितेको भए मेरा समर्थक, शुभचिन्तकहरुमा पनि त्यही खुशी प्रकट हुन्थ्यो होला ।  थाकस जित्नै पर्छ चुनाव हुँदा परिणाम निस्कँदा ताकाको क्षण चर्मोत्कर्षमा पुगेको हुन्छ । मान्छेका हाउभाउ, बोली, ब्यबहारमै केही क्षणका लागि भए पनि परिवर्तन आइदिन्छ, त्यो देखियो ।  चुनावी खेलमा ब्यक्ति हार्छ तर संस्थालाई हार्ने छुट हुँदैन, उसले जित्नै पर्दछ । त्यसैले म हारें, तर थाकस. जित्नै पर्दछ, उसलाई हार्ने छुट छैन । जुन लक्ष्य, उद्देश्य लिएर थाकस गठन भएको छ, त्यो लक्ष्य उद्देश्य बोकेर थाकस अगाडि लम्कनै पर्दछ, बढ्नै पर्दछ ।  थाकस कुनै पनि संगठनका दादा, बाबा वा सुप्रिमोहरुका दबाब, प्रभाव, बार, बन्धन वा ह्वीपबाट मुक्त हुनै पर्दछ । यही नै उसको जित हो ।  मार्गदर्शक सिद्धान्त र मूलाधार  मानवअधिकारकर्मीहरु मानवअधिकारसम्बन्धी विश्वव्यापी घोषणा पत्रलाई आफ्नो मार्गदर्शक सिद्धान्त मान्ने गर्दछन् । थाकस पनि एक अधिकारवादी संगठन भएकोले मानवअधिकारसम्बन्धी विश्यव्यापी घोषणा पत्र उसको मार्गदर्शक सिद्धान्त हुँदै हो ।  थारु आदिवासी भएकोले आदिवासी जनजातिहरुको मानव अधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघीय घोषणा पत्र र आईएलओ महासन्धि न. १६९ पनि थाकसको मार्गदर्शक सिद्धान्त हो, जसको आधारमा उसले देशको संविधानमा आदिवासीहरुको अधिकार समेट्न दवाव दिन्छ । संविधानमा समेटिसकेपछि संविधानको आधारमा ऐन कानुन बनाउन सरकारलाई दबाब दिने गर्दछ । कुनै पार्टीको विधान थाकसको मार्गदर्शक सिद्धान्त बन्न सक्तैन ।  विशेष परिस्थितिमा थाकस आवश्यक  हाम्रा कतिपय नेताजीहरु थारु कल्याणकारिणी सभा एउटा संस्था भएकोले यसको काम छैन, यसले केही गर्न सक्तैन भन्ने आसयले कुरा गरेको देखिन्छन् । दल बराबर संस्थाले काम गर्न सक्तैन भनी अवमूल्यन पनि गरिरहेका देखिन्छन् ।  हो, दलीय ब्यवस्थामा दलको महत्व ठूलो हुन्छ, दलहरुले नै सरकार बनाउने हो, राज्य संचालन गर्ने हो । नेताहरुको सोंच विचार, योजना राम्रो भयो भने दल सबैथोक हो । तर, दल हाँक्ने नेताहरुको सोंच बिचार संकीर्ण भइदियो भने के गर्ने ?  मधेश प्रदेश दिएका नेताहरुले थरुहट प्रदेश दिएनन्, दलका भातृ संगठनले मात्रै गर्न सक्दो हो त थारुवान प्रदेश पाइहालिन्थ्यो नि तर पाइएन । त्यसैले, समय र परिस्थितिअनुसार संघ, संस्थाको पनि महत्व हुन्छ ।  कुनैबेला दलका बाबा, दादाहरुले शासक जातिहरुको लागि मात्र अधिकारको ब्यबस्था गरिदिन सक्छन्, जनताको अधिकार खोसिदिन सक्छन् भन्ने थियो । शाहकाल, राणाकालमा त्यही भएको हो । २०४७ देखि अहिलेसम्म अलिअलि मात्रै सुधार भएको छ । थारुहरुको धेरै माग सम्बोधन भएको छैन ।   थाकसले गर्नुपर्ने काम  थाकस सबै दल र सबै थारुहरुको भएकोले यसप्रति थारुहरुको विश्वास जगाउन यसमा प्रवेश गरेका जुनसुकै ब्यक्ति दलगत स्वार्थ भन्दा माथि उठेर आवाज उठाउन जरुरी छ । यो आँट सबै पदाधिकारीहरुमा हुनै पर्दछ । स्थानीय तह, प्रदेश सभा वा प्रतिनिधि सभाको चुनावमा उठ्ने बेला थाकसको कमिटिबाट राजीनामा दिनु आवश्यक छ ।  त्यसैगरी, अहिले कतिपय जिल्लामा थाकसका कमिटिमै रहेका पदाधिकारीहरुले बहुविवाह गरी बसेको कुरा चर्चामा छ । यदि साँच्चै हो भने थाकस कमिटि त्यस्ता पदाधिकारीलाई राजीनामा दिन लगाउनु पर्दछ वा कमिटिबाट निष्कासन गर्न सक्नु पर्दछ ।  थाकस अधिकारवादी संगठन भएको र २०७२ मा जारी भएको गणतान्त्रिक संविधानमा बहुविवाहलाई सामाजिक अपराध मानिएको छ । त्यसैगरी थाकसको बिधानमा बहुविवाहको अन्त्य गर्ने कुरालाई उद्देश्यमा राखेको र बहुविवाह गर्ने ब्यक्ति थाकसको लागि अयोग्य ठहरिने कुरा उल्लेख भएकोले त्यसो गर्न आवश्यक छ ।  त्यसैगरी, थाकस कैलालीले दर्जन भन्दा बढी ब्यक्तिहरुबाट २०७५ सालमा आजीवन सदस्यता शुल्क बुझी हिनामिना गरेको र सदस्यता शुल्क तिर्ने ब्यक्तिहरुमा थाकसप्रति बितृष्णा बढिरहेकोले थाकसले हिनामिना गर्ने ब्यक्तिलाई कारवाही गर्न जरुरी छ ।  यदि कारवाही गर्न नसके थाकसका पदाधिकारीहरुले नै रकमको जोहो गरी केन्द्रमा बुझाउने र शुल्क तिर्ने ब्यक्तिहरुलाई आजीवन सदस्यता दिन जरुरी छ । बिरु पहिले पनि जिल्ला सदस्यमा रहेको र अहिले झन जिल्ला सभापति भएकाले समस्या सल्टाउन जरुरी छ । त्यसैगरी, सहकार्य र समन्वय गरी धेरै काम गर्न सकिन्छ ।  समापनमा, समापनमा के भन्न चाहन्छु भने थाकस कैलालीको जिल्ला अधिवेशन अहिले ऐतिहासिक रुपमा सम्पन्न भएको छ । बिशेष गरी, थारु राष्ट्रिय मुक्ति मोर्चामा बिशेष ध्यान दिने माओवादीमा लागेका थारुहरुको पनि यो बर्षदेखि थाकसमा ध्यानाकृष्ट भएको देखिएको छ ।  काँग्रेसको त के कुरा गर्नु र ! उसले त सहसचिवबाहेक जिल्ला कमिटिका सबै ठूला पदमा आफ्नो प्यानललाई जिताउन सफल भएको छ । यसबाट उ धेरै उत्साहित भएको छ । यदि यही उत्साह टिमको काममा पनि रहिरह्यो भने पक्कै पनि थाकस कैलालीले धेरै क्षेत्रमा सुधार गर्न सक्नेछ ।  गुण र दोषको आधारमा कमिटिको मूल्यांकन पछि होला । अहिले चाहिं नवनिर्वाचित सबै पदाधिकारीहरुलाई हार्दिक बधाई दिन र कार्य सफलताको कामना गर्न चाहन्छु ।  साथै, कुनै दलको सदस्यता नलिएको, गुण र दोषको आधारमा मूल्यांकन गर्ने दलबिहीन म जस्ता स्वतन्त्र ब्यक्तिलाई काँग्रेसको ह्वीप अगाडि कडा प्रतिस्पर्धी बनाउने मेरा साथीहरु, शुभचिन्तक, हितैषी सबै मतदाताहरुलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु, सबैप्रति आभार ब्यक्त गर्न चाहन्छु ।  शान्तिपूर्ण रुपमा मतदान गर्ने सबै मतदाता, निर्वाचनमा खटिएका प्रहरी र निर्वाचन मण्डल, आयोजक कमिटि सबैलाई धन्यवाद दिन चाहन्छु । सबैको जय होस् ।