छठपर्वको इतिहास

छठपर्वको इतिहास

१०२१ दिन अगाडि

|

२ मंसिर २०८०

म हारें तर थाकस जित्नैपर्छ

म हारें तर थाकस जित्नैपर्छ

१०६७ दिन अगाडि

|

१६ असोज २०८०

यतिबेला थारु कल्याणकारिणी सभा (थाकस) केन्द्र महाधिवेशनको संघारमा छ । त्यसैले, जिल्ला जिल्लामा अधिवेशन भैरहेको छ । यसै क्रममा थाकस कैलालीको जिल्ला अधिवेशन हुनु भन्दा ६÷७ महिना अगावै धनगढीमा एक छलफलको बिचमा आउँदो अवधिको लागि थाकस कैलालीको सभापति कसलाई बनाउने भन्ने कुरा उठेको थियो, जसमा केही सहृदयी मित्रहरुले मेरो नाम प्रस्ताव गर्नु भएको थियो ।  सभापतिमा पुरुष भैसकेपछि सचिवमा महिला भन्ने कुरो प्रस्ताव आएपछि बसन्ती चौधरीको नाम पनि आयो । म सुरुमा त केही बोलिन तर पछि साथीहरुको व्यापक दवावपछि प्रस्ताव स्वीकार्न बाध्य भएँ ।  थाकस कैलाली जिल्ला समितिले २०८० असोज ६ गते अधिवेशन गर्ने भनी समय तोकिसकेपछि साता दिन अगाडि मात्रै सभापतिको उम्मेदवार आफू हुने कुरा म सामाजिक सञ्जालमा जानकारी गराएँ । जानकारी गराउनुको उद्देश्य सम्भावित उम्मेदवार पत्ता लगाउनु र चुनाव नभई सर्वसम्मत अधिवेशन सफल होस् भन्ने मेरो चाहना थियो ।  तर, असोज ६ गते उम्मेदवारी दिंदा कमिटिमा जिल्ला सचिव रहेका देशराम चौधरी र सदस्य रहेका बीर बहादुर चौधरीले पनि उम्मेदवारी दिए । धेरै पहिले मेरो नाम प्रस्ताव हुँदा, चर्चा भैसक्दा ती साथीहरु किन बोलेनन् ? कसको सल्लाहमा उम्मेदवारी दिए ? किन सहमति जुरेन ? पछि मात्रै थाहा भयो ।  सामान्यतयाः अधिवेशन हुँदा त्यही दिन नसकिए रातबिरात भएपनि, त्यो पनि सम्भव नभए बिहानसम्म अधिवेशन सम्पन्न गर्ने चलन छ । तर, दलीय सोंच र दवावका कारण त्यस दिन अधिवेशन हुन नसक्ने पक्कापक्की नै भयो । अर्को शनिवार १३ गते चुनाव गर्ने मिति तोकियो । चाहँदा नचाहँदै आफू पनि नगर कमिटि, क्षेत्रीय कमिति, जिल्ला पार्षदहरुसँग भेट गरी भोट माग्नुपर्ने बाध्यता आइप¥यो ।  असोज १० गते साँझ राजबन्दी रामप्रसाद चौधरी र चुन्नीराम चौधरीसँग भेट भयो । जेलमा हुँदा दलगत स्वार्थ भन्दा आफू माथि रहेको सन्देश दिन प्रयत्न गर्ने मित्रहरु इस बीचमा बढी काँग्रेसी नेता भएको थाहा भयो । भित्री दिलमा बीरबहादुरलाई राखेपनि उनीहरु अझ पनि सहमतिको खोजीमा रहेको बिचार ब्यक्त गरेका थिए ।  प्रचारप्रसारमा निस्किएका हामी (माधव, ईन्दु, बसन्ती र म) सभापतिमा मलाई, उपसभापतिमा एक जना माओवादी र एक जना काँग्रेस, सचिवमा महिला राखौं भन्ने प्रस्ताव ग¥यौं, साथीहरु ठाडै इन्कार गरे । उनीहरु उपसभापतिमा माओवादी विचारकी सुस्मिता चौधरी निर्विरोध चयन भैसकेकीले अब उपसभापतिमा माओवादीका अर्का उम्मेदवार बतासुलाई स्वीकार्न नसकिने, दुइटै उपसभापति पद काँग्रेसलाई दिइनुपर्ने अडान लिए ।  मतदातामा काँग्रेसको पकड रहेकोले राजबन्दी साथीहरुको त्यस्तो आवाज आउनु स्वाभाविक लाग्यो । हामी कन्भिन्स गर्न सकेनौं । ११ गते पनि प्रचारमा हिँड्यो । प्रचारको लागि अन्तिम दिन भएकोले बर्दगोरियामा काँग्रेस प्यानल र हाम्रो मिक्स प्यानलको जम्काभेट भयो । नगर कमिटि, क्षेत्रीय कमिटि, जिल्ला पार्षदहरुसँग दुबै प्यानलले आआफ्ना कुरा राखी भोट माग्यौं । त्यहाँबाट हामी हिँड्यो, काँग्रेसका प्यानल कतिबेरसम्म त्यहाँ बस्यो थाहा भएन । तर, त्यस दिन काँग्रेसको दलिय ह्वीप जारी भएको कुरा भने थाहा भयो ।  दुःखको कुरा  उम्मेदवार बीचमा सहमति हुन नसकेकोले निर्वाचन मण्डलले १३ गते मतदानको घोषणा ग¥यो, दुवै पक्ष हामी सकेजति प्रचारप्रसार ग¥यौं । चुनाव भन्ने खेल सम्पन्न भयो, खेलमा एकले जित्छ, अर्कोले हार्छ, त्यो खेलमा म केवल ३ मतले हारें, बिरुले जिते ।  हार्दा मलाई रत्तिभर दुःख छैन । तर प्रचारप्रसारको दौरानमा केही काला दिल भएकाहरुले यो दिललाई लगाएको गलत आरोपले चाहिं मलाई दुःखी बनायो । सधैँ उकुसमुकुस, दुःखमा बाँच्ने ती मनुवाहरुले मलाई ढकिया पार्टी, एमाले पार्टी भनी ठाउँ ठाउँमा आरोप पनि लगाए । तिनले लगाएका आरोपले मलाई छोएन । तर ती काला दिलका मनुवाहरुले मलाई टीकापुरको थारु बिद्रोहमा मारिएको नाबालक साउद थारुहरुले मारेको रिपोर्ट बनाउनमा इन्सेकलाई सल्लाह दिने, सहयोग गर्ने ब्यक्ति दिल बहादुर हो भनी लगाएको गम्भीर आरोपले मलाई साह्रै दुःखी बनायो ।  जबकि म ती नाबालक प्रहरीको गोलीबाट मारिएको कुरा धेरैपटक आफ्नो लेखमा लेखिसकेको छु, बोलिसकेको छु । मेरो बारेमा धेरैलाई थाहा भएपनि सबैलाई थाहा छैन, थाहा नभएकाहरुलाई त्यो कपटी कुरा सही लाग्न सक्छ भनेर दुःखी भएँ ।  रमाइलो कुरा  निर्वाचनको दिनमा मतगणना भइरहेको थियो । प्रतिस्पर्धा कडा थियो । मतगणनाको क्रममा ५÷ ७ मतले म अगाडि बढिरहँदा काँग्रेसका प्यानल बनाउने मित्रहरु आत्तिईरहेका थिए । अन्तिमको २६ मत गन्न बाँकी थियो, त्यही २६ मतमा मलाई ७ र बीरुलाई १८ मत प्राप्त भयो । मेरो र मेरो टिममा रहेका मित्रहरुको हार भएपछि काँग्रेसका मान्छेमा खुशीयाली छायो ।  गम्भीर आरोप लगाउने एक खुराफाती नेता त खुशीले अक्क न बक्क थिए । काँग्रेसको टिम नै बिजयी बनेपछि उनीहरुमा खुशी छाउनु स्वाभाविक थियो । खास गरी सचिव बसन्तीको हारमा उनकै संगठनका एक ब्यक्तिको अनुहारमा निकै चमक देखिन्थ्यो ।  एकजना पत्रकारमा पनि खुशी चरम उत्कर्षमा थियो, उनको खुट्टा भुइँमा थिएन, ठूलो स्वरमा कराइरहेका थिए, म बीरुलाई बधाई दिन जाँदा ती पत्रकार एक्कासी सम्हालिन पुगेका थिए । बिरुलाई बधाई दिन जाँदा उनी खुशीले गदगद थिए र मलाई २, ३ पटक अँगालो मारेका थिए ।  अनि मलाई लाग्यो, सर्वसम्मतिले चुनाव टुंग्याउँदा मान्छेमा जति खुशी हुन्छ, त्यो भन्दा धेरै बढी खुशी प्रतिस्पर्धा गर्दा हुने रहेछ । काँग्रेस उम्मेदवारका समर्थक, शुभचिन्तकमा छाएको खुशी हेर्न लायक थियो । म जितेको भए मेरा समर्थक, शुभचिन्तकहरुमा पनि त्यही खुशी प्रकट हुन्थ्यो होला ।  थाकस जित्नै पर्छ चुनाव हुँदा परिणाम निस्कँदा ताकाको क्षण चर्मोत्कर्षमा पुगेको हुन्छ । मान्छेका हाउभाउ, बोली, ब्यबहारमै केही क्षणका लागि भए पनि परिवर्तन आइदिन्छ, त्यो देखियो ।  चुनावी खेलमा ब्यक्ति हार्छ तर संस्थालाई हार्ने छुट हुँदैन, उसले जित्नै पर्दछ । त्यसैले म हारें, तर थाकस. जित्नै पर्दछ, उसलाई हार्ने छुट छैन । जुन लक्ष्य, उद्देश्य लिएर थाकस गठन भएको छ, त्यो लक्ष्य उद्देश्य बोकेर थाकस अगाडि लम्कनै पर्दछ, बढ्नै पर्दछ ।  थाकस कुनै पनि संगठनका दादा, बाबा वा सुप्रिमोहरुका दबाब, प्रभाव, बार, बन्धन वा ह्वीपबाट मुक्त हुनै पर्दछ । यही नै उसको जित हो ।  मार्गदर्शक सिद्धान्त र मूलाधार  मानवअधिकारकर्मीहरु मानवअधिकारसम्बन्धी विश्वव्यापी घोषणा पत्रलाई आफ्नो मार्गदर्शक सिद्धान्त मान्ने गर्दछन् । थाकस पनि एक अधिकारवादी संगठन भएकोले मानवअधिकारसम्बन्धी विश्यव्यापी घोषणा पत्र उसको मार्गदर्शक सिद्धान्त हुँदै हो ।  थारु आदिवासी भएकोले आदिवासी जनजातिहरुको मानव अधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघीय घोषणा पत्र र आईएलओ महासन्धि न. १६९ पनि थाकसको मार्गदर्शक सिद्धान्त हो, जसको आधारमा उसले देशको संविधानमा आदिवासीहरुको अधिकार समेट्न दवाव दिन्छ । संविधानमा समेटिसकेपछि संविधानको आधारमा ऐन कानुन बनाउन सरकारलाई दबाब दिने गर्दछ । कुनै पार्टीको विधान थाकसको मार्गदर्शक सिद्धान्त बन्न सक्तैन ।  विशेष परिस्थितिमा थाकस आवश्यक  हाम्रा कतिपय नेताजीहरु थारु कल्याणकारिणी सभा एउटा संस्था भएकोले यसको काम छैन, यसले केही गर्न सक्तैन भन्ने आसयले कुरा गरेको देखिन्छन् । दल बराबर संस्थाले काम गर्न सक्तैन भनी अवमूल्यन पनि गरिरहेका देखिन्छन् ।  हो, दलीय ब्यवस्थामा दलको महत्व ठूलो हुन्छ, दलहरुले नै सरकार बनाउने हो, राज्य संचालन गर्ने हो । नेताहरुको सोंच विचार, योजना राम्रो भयो भने दल सबैथोक हो । तर, दल हाँक्ने नेताहरुको सोंच बिचार संकीर्ण भइदियो भने के गर्ने ?  मधेश प्रदेश दिएका नेताहरुले थरुहट प्रदेश दिएनन्, दलका भातृ संगठनले मात्रै गर्न सक्दो हो त थारुवान प्रदेश पाइहालिन्थ्यो नि तर पाइएन । त्यसैले, समय र परिस्थितिअनुसार संघ, संस्थाको पनि महत्व हुन्छ ।  कुनैबेला दलका बाबा, दादाहरुले शासक जातिहरुको लागि मात्र अधिकारको ब्यबस्था गरिदिन सक्छन्, जनताको अधिकार खोसिदिन सक्छन् भन्ने थियो । शाहकाल, राणाकालमा त्यही भएको हो । २०४७ देखि अहिलेसम्म अलिअलि मात्रै सुधार भएको छ । थारुहरुको धेरै माग सम्बोधन भएको छैन ।   थाकसले गर्नुपर्ने काम  थाकस सबै दल र सबै थारुहरुको भएकोले यसप्रति थारुहरुको विश्वास जगाउन यसमा प्रवेश गरेका जुनसुकै ब्यक्ति दलगत स्वार्थ भन्दा माथि उठेर आवाज उठाउन जरुरी छ । यो आँट सबै पदाधिकारीहरुमा हुनै पर्दछ । स्थानीय तह, प्रदेश सभा वा प्रतिनिधि सभाको चुनावमा उठ्ने बेला थाकसको कमिटिबाट राजीनामा दिनु आवश्यक छ ।  त्यसैगरी, अहिले कतिपय जिल्लामा थाकसका कमिटिमै रहेका पदाधिकारीहरुले बहुविवाह गरी बसेको कुरा चर्चामा छ । यदि साँच्चै हो भने थाकस कमिटि त्यस्ता पदाधिकारीलाई राजीनामा दिन लगाउनु पर्दछ वा कमिटिबाट निष्कासन गर्न सक्नु पर्दछ ।  थाकस अधिकारवादी संगठन भएको र २०७२ मा जारी भएको गणतान्त्रिक संविधानमा बहुविवाहलाई सामाजिक अपराध मानिएको छ । त्यसैगरी थाकसको बिधानमा बहुविवाहको अन्त्य गर्ने कुरालाई उद्देश्यमा राखेको र बहुविवाह गर्ने ब्यक्ति थाकसको लागि अयोग्य ठहरिने कुरा उल्लेख भएकोले त्यसो गर्न आवश्यक छ ।  त्यसैगरी, थाकस कैलालीले दर्जन भन्दा बढी ब्यक्तिहरुबाट २०७५ सालमा आजीवन सदस्यता शुल्क बुझी हिनामिना गरेको र सदस्यता शुल्क तिर्ने ब्यक्तिहरुमा थाकसप्रति बितृष्णा बढिरहेकोले थाकसले हिनामिना गर्ने ब्यक्तिलाई कारवाही गर्न जरुरी छ ।  यदि कारवाही गर्न नसके थाकसका पदाधिकारीहरुले नै रकमको जोहो गरी केन्द्रमा बुझाउने र शुल्क तिर्ने ब्यक्तिहरुलाई आजीवन सदस्यता दिन जरुरी छ । बिरु पहिले पनि जिल्ला सदस्यमा रहेको र अहिले झन जिल्ला सभापति भएकाले समस्या सल्टाउन जरुरी छ । त्यसैगरी, सहकार्य र समन्वय गरी धेरै काम गर्न सकिन्छ ।  समापनमा, समापनमा के भन्न चाहन्छु भने थाकस कैलालीको जिल्ला अधिवेशन अहिले ऐतिहासिक रुपमा सम्पन्न भएको छ । बिशेष गरी, थारु राष्ट्रिय मुक्ति मोर्चामा बिशेष ध्यान दिने माओवादीमा लागेका थारुहरुको पनि यो बर्षदेखि थाकसमा ध्यानाकृष्ट भएको देखिएको छ ।  काँग्रेसको त के कुरा गर्नु र ! उसले त सहसचिवबाहेक जिल्ला कमिटिका सबै ठूला पदमा आफ्नो प्यानललाई जिताउन सफल भएको छ । यसबाट उ धेरै उत्साहित भएको छ । यदि यही उत्साह टिमको काममा पनि रहिरह्यो भने पक्कै पनि थाकस कैलालीले धेरै क्षेत्रमा सुधार गर्न सक्नेछ ।  गुण र दोषको आधारमा कमिटिको मूल्यांकन पछि होला । अहिले चाहिं नवनिर्वाचित सबै पदाधिकारीहरुलाई हार्दिक बधाई दिन र कार्य सफलताको कामना गर्न चाहन्छु ।  साथै, कुनै दलको सदस्यता नलिएको, गुण र दोषको आधारमा मूल्यांकन गर्ने दलबिहीन म जस्ता स्वतन्त्र ब्यक्तिलाई काँग्रेसको ह्वीप अगाडि कडा प्रतिस्पर्धी बनाउने मेरा साथीहरु, शुभचिन्तक, हितैषी सबै मतदाताहरुलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु, सबैप्रति आभार ब्यक्त गर्न चाहन्छु ।  शान्तिपूर्ण रुपमा मतदान गर्ने सबै मतदाता, निर्वाचनमा खटिएका प्रहरी र निर्वाचन मण्डल, आयोजक कमिटि सबैलाई धन्यवाद दिन चाहन्छु । सबैको जय होस् । 

अन्य समुदायको तुलनामा खुसी र सुखी छन् थारू ज्येष्ठ नागरिक

अन्य समुदायको तुलनामा खुसी र सुखी छन् थारू ज्येष्ठ नागरिक

१०६९ दिन अगाडि

|

१४ असोज २०८०

परिचय  नेपालमा बसोबास गर्ने विभिन्न जनजातिमध्ये थारूहरू एक प्रमुख आदिवासी जनजाति हुन् । थारू शब्दको ब्युत्पत्ति र अर्थका सम्बन्धमा विभिन्न तर्क दिएको पाइन्छ । कसैले संस्कृतको ‘स्थास्नु’ शब्दबाट, कसैले बुद्ध धर्मको एक शाखा स्थबिरको ‘स्थेर’ शब्दबाट, कसैले ‘स्थुर’ शब्दबाट, कसैले थारूहरू ‘थारो’ (तला नपाटेको घर) मा बस्ने हुनाले ‘थारो’ शब्दबाट र कसैले रैथाने अर्थमा ठालु (ग्राम प्रमुख) शब्दबाट यसको उत्पत्ति भएको मान्दछन् (थारू, २०६९ः २७) ।  मातृकाप्रसाद कोइरालाले (उद्. सिंह मौन, २०२५ः १०–११) थारू जाति राजस्थानको थारबाट आएको भनेका छन् । त्यस्तै, ईश्वर बरालका अनुसार (२००४ः ४३) भारतको सिन्ध र राजस्थानको थार म?भूमिबाट आएका हुनाले थारू भनिएको हो । जनकलाल शर्मा र कृष्ण वम मल्लका अनुसार (२०१४ः १९) पनि शाक्य बंशीहरूमा स्थबिरबादी सम्प्रदायका मानिसहरू ‘स्थबिर’ कहलिन्थे र यसैको बिकृत रूप थारू भएको हो । टेकनाथ गौतमका अनुसार (२०४४ः १) थारू शब्द संस्कृतबाट आएको हो । उनका अनुसार संस्कृत ब्याकरणमा ‘थर्व’ धातु पुलिङ्ग, एकबचनमा ‘थर्वाण’ स्त्री लिङ्गमा ‘थर्वणी’ प्रयोग हुन्छ । यसरी थर्वावाट ‘थारू’ र थर्वणीबाट ‘थ?नी’ भएको हो । थर्वाको अर्थ एक ठाउँबाट अर्काे ठाउँमा सर्नु अथवा स्थायी घरवार बनाएर नबस्ने हो ।  डोरबहादुर विष्टका अनुसार (विष्ट, सन् २००२, पुनर्मुद्रित सन् २००६ः ४१) आजसम्म कुनै पनि थारूले न सीमापारिको भारतलाई नजिकको ठान्छ, न पहाड उक्लेर आफ्नो भाग्य नै अजमाउन खोजेको छ । यति ठूलो बथान भईकन पनि आफ्नो माटो, पानी र वरिपरिका जङ्गलसँग नङ र मासुजस्तै गरी गाँसिएको जीवन अ? कुनै पनि जातिको छैन होला । यसरी थारू नेपालको सबैभन्दा पुरानो आदिवासी जनजातिमध्ये एक हो । तराईको जनसंख्याको एक प्रमुख स्थान ओगटेका थारूहरू विभिन्न भौगोलिक क्षेत्रहरूमा फरक फरक किसिमको आ–आफ्नै प्रकारको भाषा, वेशभूषा, रहनसहन, संस्कार, मूल्यमान्यता, सांस्कृतिक रितिरिवाज आदि अंगालेको पाइन्छ । थारूहरूको मूल थलो दाङदेउखुरी जिल्लाई मानिन्छ । नयाँ मुलुक भनेर चिनिने बाँके, बर्दिया, कैलाली, कञ्चनपुर जिल्लामा थारूहरू दाङदेउखुरीबाटै गएका हुन् । थारूहरू नेपालको पूर्बी क्षेत्र झापा, सुनसरी, मोरङमा पनि पश्चिमबाटै बसाइ सराइ गरेर आइ बसेका हुन् भन्ने विभिन्न तथ्य प्रमाणित हुन्छ (थारू, २०६९ः ४४) । बसाई सराईका क्रममा दाङबाट तराईको पूर्वी भूभाग कपिलबस्तु, रूपन्देही, सिरहा आदि विभिन्न ठाउँमा बसोबास गर्दै आए, जसले गर्दा स्थानैपिच्छे थारूहरूको भाषा पनि फरक रहेको छ । नेपालको संविधान २०७२ ले थारू जातिको समस्या पहिचान गरी समस्या समाधानका लागि थारू आयोग समेत बनाई उनीहरूलाई विशेष मान्यता दिएको छ । नेपाललाई हाल ७ वटा प्रदेशमा विभाजन गरिएको छ । ती ७ वटै प्रदेशमा थारू सुमदायको बसोबास रहेको छ । २०६८ को जनगणना अनुसार थारू जातिको जनसंख्या १७ लाख ३७ हजार ४७० रहेको छ ।   कृषि पेशामा संग्लग्न थारू समुदाय धनको गरीब भए पनि मनका धनी छन् । उनीहरूले अझै पनि विभिन्न मौलिक चाडवाड, संस्कृति जोगाएका छन् । यी मौलिक चाडवाड, संस्कृति जोगाउन ज्येष्ठ नागरिकहरूको ठूलो महत्व रहेको छ ।  थारू समुदायको नयाँ वर्ष माघीको अवसरमा गाइने ढमार गीत होस् या कृष्णजन्माष्टमीको अवसरमा गाइने अस्टिम्किक् गीत होस्, यी ज्येष्ठ नागरिकहरूको मुखारबिन्दुबाट मात्रै सुनिन्छ । युवाहरूले मौलिक गीत बिर्सिदै गएका छन् । अहिले पनि संयुक्त परिवारमा बस्न ?चाउने थारू समुदायका ज्येष्ठ नागरिकहरूलाई सम्मान गर्ने संस्कार निकै पहिल्यैदेखि चली आएको छ । थारू युवाहरूले विभिन्न पेशा व्यवसाय अपनाउन थाले पनि थारू ज्येष्ठ नागरिकहरू अझै पनि कृषिकर्ममै लागेको देखिन्छ । त्यसैले छोराबुहारी विविध पेशाले सहर पसे पनि ज्येष्ठ नागरिकहरू गाउँ छाड्न मान्दैनन् । किनकी सहरमा खेती गर्ने ठाउँ नै हुँदैन । प्रस्तुत आलेख थारू जातिको धर्म, संस्कार, खानपान, उपचार पद्धति लगायत विविध पक्षमा चर्चा गर्दै समग्रमा ज्येष्ठ नागरिकको अवस्थाबारे केन्द्रित छ ।  थारू धर्म र ज्येष्ठ नागरिक थारूहरूको धर्म कुन हो ? यस बारेमा थारूहरू स्वयम् अन्यौलमा छन् । जनगणननामा प्रायःले हिन्दू धर्म नै लेखाउने गरेका छन् । तर थारूहरूले मान्ने धर्म र पुज्ने देवताहरू, उनीहरूका पूजाविधि तथा गु?वा अथवा भर्रा भन्ने पुरोहितलाई हेर्दा उनीहरूमा हिन्दू धर्मको प्रभाव ज्यादै कम परेको देखिन्छ (विष्ट, सन् २००६ ः४६) । थारू कल्याणकारिणी सभाले २०६८ सालको जनगणनामा सम्पूर्ण थारूहरूलाई बौद्ध धर्म लेखाउन आह्वान गरेको थियो । हाल पूर्वी भेगका केही थारूहरू बौद्ध धर्मसँग नजिकिए पनि पश्चिममा थारूमा बौद्ध धर्मप्रति झुकाव निकै कम छ । पश्चिमका कम संस्कृतकरण (हिन्दूकरण) भएका राना, डंगौरा र अ? थारूहरूका सांस्कृतिक प्रचलनहरू वौद्ध धर्मसँग मेल खाएको देखिदैन । उनीहरूका प्रचलनहरूलाई वौद्ध धर्मभन्दा लोक धर्म मान्न सकिन्छ (विष्ट २०६३ ः५३) । आफूले उब्जाएको खाना खानु अघि प्रकृतिलाई चढाउने भएकोले थारूहरूले प्राकृत धर्म अंगालेको देखिन्छ ।  थारूहरूले पाँच पाण्डव, शिव, पार्वती, कृष्ण भगवानप्रति बढी आस्था राख्छन् । तर समग्रमा उनीहरूले पूजाआजा गरेको तौरतरिका हेर्दा प्रकृतिपूजक लाग्छन् । किनकी उनीहरूले सिचाईको लागि कुलोको मुहानमा जलदेउताको पूजा गर्दछन् । जंगलबाट काठ, दाउरा, पात, जडिबुटी लिन जाँदा अनिवार्य बनस्पति पूजा गर्दछन् । किरा फट्यांग्राले बाली नोक्सान नग?न्, खेती हरियो भरियो भइरहोस् भनेर हरेरी पूजा गर्दछन् । अन्नबाली भित्र्याउँदा आफूले खानु अघि प्रकृतिलाई चढाउँदै लवांगी पूजा गर्दछन् । उनीहरूको देवथानमा देवताको स्व?प काठ अनि माटोको हुन्छ । प्रकृतिको पूजाआजाबाट सम्पूर्ण प्राणी वर्गको हित हुनेमा उनीहरू विश्वास राख्दछन् । यी विभिन्न पूजाआजा गर्नमा घरमूलीका ?पमा रहने घरको ज्येष्ठ नागरिकको विशेष भूमिका रहन्छ ।   थारूका सौँरा, मैया, खेँखरी, चुरिन्याँ, बेँटुक लाठी, गुर्बाबा, घोरवा, ढमराज, सौटन्या, जख्वाजखिन्या, लगुवासु, गंगाधरी, गोहुवा आदि देवताहरू रहेका छन् । त्यस्तै सामूहिक रूपमा पूजा गरिने गाउँको देउथान मरूवामा राखिएका देवताहरूमा पाँच पाण्डव, मुढा, बहिरा रक्सा, मरिवा, बघ्रसी, लोहरा, महटिनिया आदि रहेका छन् । प्रत्येक थारू घरको पूर्व उत्तर कोठामा डेहुरार (देउता कोठा) हुन्छ । तर आधुनिक घर बन्ने क्रमसंगै डेहुरार नै लोप हुने स्थितिमा पुग्दैछ । यसरी ज्येष्ठ नागरिकहरूको मरणसंगै थारू समुदायमा परम्परागत पूजाआजाको चलन पनि हराउन थालेको छ ।  थारू समुदायमा धर्म र ज्येष्ठ नागरिक बीच अटुट सम्वन्ध छ । विभिन्न पूजाआजामा घरका युवा सदस्यहरूले अनदेखा गर्दा कमसेकम आफू बाँच्दासम्म त पूजा नरोक भन्दछन् । स्वदेश तथा विदेशका धार्मिक तीर्थस्थलहरूमा घुमघाम गर्ने, पूजा गर्ने परम्परा भने थारू समुदायमा खासै छैन ।  थारू जातिको मुख्य पेशा कृषि भएकाले यिनीहरूको धर्मकर्म, पूजापाठ पनि कृषिकेन्द्रित छन् । खेतीपातीमा खटिरहने भएकोले यो जाति शारीरिक रूपमा एकदमै बलिया हुन्छन् । ६÷७ वर्षको उमेरदेखि भेंडाबाख्रा चराउन सु? गरेको एक थारू बुढो भएपछि फेरी त्यही गोठालो पेशा नै अंगालेको देखिन्छ । त्यसैले, थारू समुदायमा हरवाह बन्नु चरवाह नबन्नु भन्ने कहावत नै छ । कृषिमा आधुनिकीकरण बढ्दै गएपछि खेत जोत्न टे«क्टर आउँदा पशुपालन कम भएको छ । यसले गर्दा गोठालो जिन्दगीबाट केही हदसम्म थारू ज्येष्ठ किसानहरू छुटकारा पाएको देखिन्छ । तर नजिकको तरकारी बारीमा गोडमेल गर्ने, पूजापाठ गर्नलाई बाबरी, तुलसी रोप्ने गरिरहेको देख्न सकिन्छ । हातखुट्टाले साथ दिएसम्म कृषिकर्ममै दिलोज्यान दिने भएकाले थारू ज्येष्ठ नागरिकहरूको काम नै पूजा देखिन्छ ।  कोही पढेलेखेका थारू ज्येष्ठ सदस्यहरू भने रिटायर्ड जिन्दगीपछि सामाजिक काममा खटेका देखिन्छन् । एकदमै बृद्ध भएर काम गर्न नसक्ने अवस्थामा घरकै मान्छेले नै रेखदेख गर्ने गर्छन् । थारू समाजमा एउटा सबैभन्दा ठूलो संस्कार भनेको उनीहरूले कहिल्यै आफ्ना बा आमालाई बृद्धाश्रम पठाउदैनन् । दुःख सुख गरेर जतिसक्यो आफै स्याहार सुसार रेखदेख गर्छन् । अझै पनि थारूहरू संयुक्त परिवारमा बस्ने भएकाले बुढ्यौलीमा ज्येष्ठ नागरिकले स्याहारसुसार पाएका हुन्छन् । घर छुट्टाभिन्न भएमा कान्छा छोराले बाआमालाई स्याहार्छन् । घर छुट्टाभिन्न भएमा पूजापाठ गर्ने मूल देउता भने जेठो छोराले लान्छन्  र पूजापाठ गर्ने परम्परा जोगाउँछन् । ज्येष्ठ नागरिकका सांस्कृतिक, सामाजिक पक्ष परापूर्वकालदेखि हाम्रा पूर्खाहरूले आफ्नो ज्ञान सीप र क्षमताबाट सिर्जना, संरक्षण एवं पालना गरी हामीलाई छाडेर गएका र हामीले पनि निरन्तर रूपमा तिनको प्रयोग उपयोग, परिमार्जन, संशोधन, संरक्षण एवं पालना गर्दै आएका जीवनशैली तथा हाम्रो पहिचान नै संस्कृति हो । मानिसले रचना गरेका सिर्जना र पालना गर्दै आएका संस्कारहरूलाई समग्रमा संस्कृतिका रूपमा सम्वोधन गर्ने गरिन्छ (खत्री, २०७०ः ६) ।  थारू जातिका विशेष पर्वहरूलाई रमाइलो, गुञ्जायमान तथा हर्षाेल्लासपूर्ण बनाउनको लागि गरिने विभिन्न नाचलाई जीवन्तता प्रदान गर्ने थरिथरिका गीतहरू रहेका छन् ।    थारूहरूले मनाउने मुख्य चाडपर्वहरूमा माघी, गुरही, हरडहुवा, अटवारी, अस्टिम्की, डस्या, डेवारी, ढुरहेरी आदि रहेका छन् । केही चाडबाहेक सबैमा गीत, नाच हुन्छ ।  माघीको अवसरमा नुहाएर आएपछि घरमा छुट्याएर राखिएको आफ्नो भागको चामल, दाल र नुन छोएर बुबा आमाको साथै आफूभन्दा ठूलासँग ढोग गरी आशिक लिइन्छ । यसरी आशिक लिएमा वर्ष दिनको पाप हटेर जान्छ भन्ने मान्यता रहेको छ । यसरी पुर्खाहरूको सम्मान गर्नुपर्छ भन्ने चलन ज्येष्ठ नागरिकहरूले चलाएका छन् ।  माघीमा गाउँको अगुवा बरघर चुन्ने चलन थारू समुदायमा यथावत छ । बरघर चुन्दा प्रत्येक घरका ज्येष्ठ सदस्यहरू उपस्थित रहन्छन् । बरघरको ख्याल (बैठक)ले गाउँमा नियम, दण्ड सजायको नियम पारित गर्छ । गाउँलेहरूले बनाएको नियम पहिले मौखिकमा सीमित हुने गरेकोमा अब लिखित हुन थालेको छ । माघीमा गाउँ सञ्चालनको बैठक मात्रै हुँदैन, घर सञ्चालनको पनि बैठक हुन्छ । प्रायः घरमुली जेठोबाठो नै हुन्छन् तर परिवारका सदस्यले न?चाए ज्येष्ठ सदस्यले कनिष्ठलाई पनि घरमुली सुम्पिन सक्छन् । यसरी थारू ज्येष्ठ नागरिकहरूले परिवारदेखि गाउँ समाजको परिपाटी बाँध्ने लोकतान्त्रिक विधि अपनाएको देख्न सकिन्छ ।  अस्टिमकी, डस्या, डेवारीमा गाइने नाचको लागि महिला ज्येष्ठ सदस्यहरूले गीत सिकाउँछन्, जसलाई ‘मोह्रिन्या’ भनिन्छ । त्यस्तै मादल बजाउन सिकाउने पु?ष ज्येष्ठ सदस्यहरू हुन्छन्, तिनलाई ‘अगुवा मन्डरिया’ भनिन्छ । यसरी ज्येष्ठ सदस्यहरूले गीत, संगीत पुस्तान्तरण गरेर संस्कृति जोगाउन अथक प्रयास गरेका छन् । थारू लोकजीवनमा सजना, मैना, होरी, अष्टिम्कीक्, सख्या, सुर्खेल, ढमार, मघौटा, बरमासा, रटनचवा, डिननचवा, बिरहैन जस्ता लोकगीत छन् । थारू समुदाय गीत सङ्गीतमा निकै समृद्द छ । यस जातिको बर्र्षैभरि हरेक महिना र पहरमा समेत गाउने गरी विभिन्न खालका गीतहरू रहेका छन् (पञ्जियारः २०५५ः १६) । थारू लोकसाहित्य कथ्य रूपमा अति नै सम्पन्न छ । ‘गुर्बाबक् जन्मौटी’ (थारू लोकब्रम्ह पुराण) ‘फुलवार’ (थारू लोक शिव पार्वती पुराण) ‘राम बिहग्रा’ (थारू लोक रामायण) ‘बर्किमार’ (थारू लोक महाभारत), ‘हिँउटी’, साँची, कहरा, जोगिन्या, माधो–सुन्दरी आदि थारू समुदायको जनजिब्रोमा झुण्डिएको छ (चौधरी २०६७ः ३४) । यी लोककाव्य, लोकगीत ज्येष्ठ नागरिकहरूले भाका हालेर गुन्गुनाउँछन् । ज्येष्ठ नागरिकहरूले नै मौखिक रूपमा जोगाउँदै ल्याएर यसको लिखित रूपमा दस्तावेजीकरण समेत हुँदै गएको छ ।  त्यस्तै, थारू समुदायमा गु?वा÷गुरौहरूको धार्मिक र सामाजिक कार्यहरूमा विशेष भूमिका रहने गर्दछ । घरायसी पूजाआजा बाहेक गु?वा विना धार्मिक क्रियाकलाप सम्भव हुन्न । ढकेहेर थरहका थारूहरू मन्त्रलाई जीवन्त राख्ने एक समुदाय हुन् । आम थारू समुदायमा फूलवारलगायत काव्य लोकगीतको रूपमा गाइने गरिएकोमा  ढकेहेरले विभिन्न पूजापाठमा यसका श्लोक मन्त्रको रूपमा वाचन गर्छन् (सर्वहारी, २०७७) । थारू गु?वाहरूलाई पहिले केन्द्रिय सरकारद्वारा निश्चित अधिकार सुम्पिएको इतिहास पाइन्छ । ‘धामी’ कर संकलन गर्न र त्यसैबाट जीविका चलाउने अधिकार दिइएको थियो (क्राउसकोफ, २०५८ः ५०) । सन् २००१ मा  चितवनमा थारू इथ्नोवोटनी प्रोजेक्टको सिलसिलामा पुरै जिल्ला भरिको गु?वाहरूको एक सर्भे गरिएको थियो । जसमा गु?वाहरूको संख्या १७७ मात्र देखिन्छ । तीमध्ये १५७ जनाले ५० वर्ष पार गरेका छन् । यही तथ्याङ्कलाई मिहिन ढंगले केलाउँदा १०९ जना गु?वाहरू त ६५ वर्ष नाघेको देखिन्छ । यसरी चितवनमा नयाँ पुस्ताले गु?वा (गुराउ) विद्या सिकेको देखिदैँन । थारू इथ्नोवोटनी प्रोजेक्टको रिपोर्टले भन्छ– नेपालीको सरदर आयु ७० वर्ष माने पनि अबको ३५ वर्षपछि चितवनमा एकजना पनि गुराउ हुने छैनन् (डंगोल र डंगोल, २०६६ः ३७) । यसरी ज्येष्ठ गु?वाहरू उमेरका कारण आफूमा निहित भएको ज्ञान हस्तान्तरण गर्न सकिरहेका छैनन् । गु?वा मात्रै होइन, लोकसाहित्य लगायत आआफ्नो क्षेत्रमा विशिष्टिता हासिल गरेका थारू ज्येष्ठ नागरिकहरूमा निहित ज्ञान हराउने क्रममा छ ।  थारू समुदायमा मूर्त र अमूर्त दुवै प्रकारको संस्कृतिको ठूलो महत्व छ । परम्परागत संस्कृति, ज्ञान, सीप युवावर्गमा हस्तान्तरण गर्नमा ज्येष्ठ नागरिकहरूले निकै टेवा दिएका छन् । पूर्व मेचीदेख पश्चिम महाकालीसम्म थारू समुदाय छरिएर बसोबास गरेकाले यिनीहरूको जीवनशैली, संस्कृति, पहिचान केही हदसम्म पृथक छ । तर सामाजिक सम्वन्धलाई संस्कृतिले नै जोडेको छ ।   खानपान    थारूहरू खानपानमा शौखिन छन् । उनीहरूमा परम्परागत ?पमा एक दिनमा ४ पटक खानेकुरा खाने चलन छ । एकाबिहानैको खानालाई  ‘बासी’ भनिन्छ भने १० बजेतिर खाने खानालाई ‘कलवा’ भनिन्छ । त्यसैगरी ३ बजेतिर खाने खानालाई ‘मिझ्नी’ भनिन्छ । दिन लामो भएमा थप अर्को पटक ‘मिझ्नी’ बनाइन्छ, यो खाजालाई ‘सिझ्नी’ भनिन्छ । बेलुकीको खानालाई भने ‘बेरी’ भनिन्छ । ज्येष्ठ नागरिकहरू ‘बासी’को रूपमा पनि एकाबिहानै जाँड रक्सी खाने गर्दछन् । खाजा?पी ‘मिझ्नी’मा त जाँड रक्सी नहुने कुरै भएन । गर्मी महिनामा सित्तल होस् भनेर भातमा पानी हालेर केही दिनपछि अलि अमिलो बनाएर ‘माड’ खाने चलन पनि छ । नदी किनारमा बस्न ?चाउने उनीहरूको माछा, घुंघी, सितुवा प्रिय परिकार हो । ज्येष्ठ नागरिकहरू आफै जाल, हेल्का, टापी लिएर माछा मार्न गएको देखिन्छ । माछा मार्न प्रयोग गर्ने सामग्री पनि ज्येष्ठ नागरिकहरू आफै बनाउने गर्छन् ।  घरमा कुनैपनि खानेकुरा खानुभन्दा अगाडि घरको ज्येष्ठ नागरिकलाई दिईसकेपछि मात्र अ?लाई दिने गरिन्छ । त्यस्तै खाना दिइसकेपछि पनि ज्येष्ठ नागरिकले खान शु? गरेपछि मात्र अ?ले खाने चलन छ । घरको शिर अर्थात् मुली ज्येष्ठ नागरिक नै हुन् । कुखुरा काटे ज्येष्ठ नागरिकको सम्मान स्व?प भालेको टाउको भाग छुट्याएर राखिन्छ ।  मौसम, समय, चाडपर्व, भोज विवाह, पूजापाठ लगायत विभिन्न अवस्थामा खाने थारू परिकारहरू विभिन्न थरिका हुन्छन् । जसमा दैनिक खानेमा, भात, दाल, कपुवा तरकारी आदि रहेका छन् । त्यसैगरी चाडपर्वहरूमा अनिवार्य खानेमा सुँगुरको मासु, ढिक्री, खरिया, पोंइक साग लगायत रहेका छन् । योमरी जस्तो ढिक्री बनाउने चलन छ । जसरी नेवार समुदायमा योमरी संस्कृति जस्तै रहेको छ, त्यसैगरी थारू समुदायमा पनि ढिक्री संस्कृति जस्तै रहेको छ । माघीमा ज्येष्ठ नागरिकहरूसंग ढोगभेट गरी आर्शिवाद लिने चलनसंगै लामो आयुका लागि लामो ढिक्री बनाइन्छ । झिलीमिलीको पर्व (डेवारी) दीपावलीमा दीयो आकारको ढिक्री हुन्छ भने डस्या (दसैं)मा ठोसिया जस्तो गहना आकारको ढिक्री हुन्छ । दाउराको थाकजस्तो देउतालाई चढाउने छुट्टै ढिक्री पनि हुन्छ । यसरी खाने परिकारलाई पनि पूजा गर्ने चलन थारू ज्येष्ठ नागरिकहरूले चलाएका छन् । ज्येष्ठ नागरिकको स्वास्थ्य थारू ज्येष्ठ नागरिकहरू नेपालका अन्य समुदायका तुलनामा खुसी र सुखी छन् । विधवा विवाह पनि हुने भएकाले महिलाहरूले एकल जीवन विताउने अवस्था देखिदैन । अझ लोग्ने मरेमा अर्को लोग्ने भित्र्याउन सक्ने भोंर विवाह गर्ने परम्परा पनि रहेकाले बुढ्यौलीमा पनि महिला ज्येष्ठ नागरिकले जोडीको साथ पाएका हुन्छन् । आम थारू समुदायको जीवनबृत्ति खेतीकिसानी नै हो । हिलोमैलोमा दिनचर्या गुजार्नु पर्ने हुँदा नुहाइधुवाइ, सरसफाइमा ध्यान दिन्छन् । त्यसैले, खासै विरामी पर्दैनन् । टाउको दुख्ने, ज्वरो आउने सानोतिनो रोगको लागि गु?वा (धामी) को भर गर्ने चलन अझै पनि रहेको छ । तर हाल आएर नयाँ नयाँ रोगहरूका कारण जडिबुटी उपचार, गु?वाको झारफुकमा भन्दा पनि पश्चिमा औषधोपचार पद्धतिलाई प्राथमिकता दिएको देखिन्छ ।  थारू समुदायमा जडिबुटी जान्ने बैद्यहरूको थर नै बैडवा रहेको देखिन्छ । यद्यपि बैडवा, गु?वाहरू ज्येष्ठ नागरिक मात्रै रहेका छन् । खेतीकिसानीमा खासै रकम जोगिदैन । त्यसैले, थारू ज्येष्ठ नागरिकहरू ठूलै विरामी परेमा उपचारमा भने समस्या देखिन्छ । उपचारको लागि थोरैतिनो जग्गा नै बेच्नुपर्ने अवस्था आउँछ, जो ज्येष्ठ नागरिकहरूले चाँहदैनन् । हाल आएर छोराका साथै कतिपय छोरीहरूले समेत आफ्नो अभिभावकलाई हेरचाह गर्ने, विरामी पर्दा स्याहार सुसार गर्ने चलन पनि बढेको देखिन्छ । छोरी मात्रै हुने तर छोरी विवाहिता भएर गएमा छोरी ज्वाइले नै आमाबाबु स्याहार्छन् । तराईका वनजंगल फँडानी गरी थारू पुर्खाहरूले नै बस्ती बसाले । औलो पचाए । बाघ, भालु, हात्ती जस्ता जंगली जनावरसंग लडे । अझै पनि हात्तीको माहुते प्रायः सबै थारू समुदायकै रहेका छन् । भनिन्छ, पहिले औलोसंग लड्ने प्रतिरोध क्षमता पहिले थारूहरूसंग मात्रै थियो । यही औलोको प्रकोप हाल आएर देखिन थालेको छ । पहिले औलो पचाए पनि त्यसको असर हाल मात्रै देखिदैछ । कतिपय थारू ज्येष्ठ नागरिकहरू सिकलसेल एनिमियाको सिकार भइरहेका छन् । डरलाग्दो तथ्य के छ भने वंशाणुगत रोगका कारण तिनका सन्तानमा पनि सिकलसेल एनिमिया देखिदैछ ।  थारूहरू बढी मदिरा सेवन गर्ने भएकाले बुढ्यौली क्रमसंगै, लहरे खोकी दम, उच्च रक्तचाप, ग्याष्ट्रिक, अल्सर, क्यान्सर जस्ता रोग ज्येष्ठ नागरिकहरूमा देखिन्छ । तर बेलुकी मात्रै मदिराको मात्रा मिलाएर पिउने ज्येष्ठ नागरिकहरूले यसैलाई औषधी मान्छन् । र, त्यसैको सेवनले आफ्नो लामो आयु भएको सगर्व भन्छन् ।  उपसंहारः  नेपाल सरकारले थारू जातिको समस्या पहिचान गरी समस्या समाधानका लागि थारू आयोग समेत गठन गरेको छ । तर थारू ज्येष्ठ नागरिकहरूको समस्या, तिनको सम्बोधनबारे थारू आयोगले छलफल चलाएको देखिदैन । न त थारूहरूको छाता संगठन थारू कल्याणकारिणी सभाले नै थारू ज्येष्ठ नागरिकहरूबारे चासो दिएको छ । विद्यार्थी, युवा, वकिल, महिलाहरूको भातृसंगठन बनाए पनि थारू ज्येष्ठ नागरिकहरूको संगठन छैन ।  नेपाली युवाहरू विदेश पलायन भएका छन् । अन्य पेशा, व्यवसायको सिलसिलामा घर बाहिर छन् । त्यसबाट थारू समुदायका युवा पनि अछुतो छैनन् । त्यसैले घरबारी, खेतखलियानको जिम्मा ज्येष्ठ नागरिकहरूको जिम्मेवारीमा आइपरेको छ । पहिले थारू समुदायका ज्येष्ठ नागरिकहरू नाति नातिनालाई थरिथरिका लोककथा सुनाउँथे । यसले हजुरबा, नातिनातिना दुबैको दिनचर्या सहजसाथ बित्थ्यो । तर पछिल्लो पुस्ताको मोबाइल प्रविधिमा ?चिका कारण ज्येष्ठ नागरिहक? एक्लिएका छन् । यसले उनीहरूमा नियास्रोपन बढेको देखिन्छ ।  आफ्नै छोराछोरीले बृद्धाश्रममा लगेर राखिदिएका घटना थारूहरूमा छैन, देखिदैन  । छोराछोरी र आमाबाबुबीच पारिवारिक झगडा मात्रै होइन, गाउँको समस्या भए छिनोफानो गरेर मिलाउने बरघर प्रणाली थारू समुदायमा कायमै रहेकाले थारू ज्येष्ठ नागरिकहरूले मुद्धामामिलामा दुःख झेल्नुपर्ने अवस्था छैन । स्वयम्सेवी ढंगबाट गाउँको विकास निर्माणमा टेवा दिने थारू ज्येष्ठ नागरिकहरूले चलाएको परम्परा स्थानीय निकायले सिको गर्नु जरुरी देखिन्छ ।  समाजको बदलिदो परिस्थिति, खानपान, धार्मिक र सांस्कृतिक मूल्य मान्यतामा आएको परिवर्तनको प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव ज्येष्ठ नागरिकहरूमा पर्नु स्वाभाविक हो । जस्तो कि मौलिक खानपानमा आफूलाई अभ्यस्त पारेका थारू ज्येष्ठ नागरिकहरू परिवारमा भित्रिएको फास्टफुड खान बाध्य छन् । त्यसैले, खानपान मात्रै होइन, परिवारका सदस्य, इष्टमित्रहरूबाट समेत समाजको ज्येष्ठ नागरिकहको धर्मसंस्कृतिको रुचिबारे ख्याल गरिनुपर्छ । देशमा संघीय, प्रदेश, स्थानीय तीन तहको सरकार मौजुद रहेकाले राज्यले पनि बेलैमा ज्येष्ठ नागरिकहरूको आरामदायी दिनचर्याका लागि आवश्यक नीति निर्माण गर्नु बान्छनीय देखिन्छ । सन्दर्भ सामग्री  क्राउसकोफ, जिसेल (२०५८), जङ्गलदेखि जमिनसम्मः थारू इतिहासतिर एक दृष्टि, नेपालका राजाहरू तथा  तराईका थारू, टेकबहादुर श्रेष्ठ, सं, काठमाडौः नेपाल  र एशियाली अनुसन्धान केन्द, त्रिवि ।  गौतम, टेकनाथ (२०४४), थारू जातिको इतिहास तथा संस्कृति (थारू पुराण), दाङ ः सुशील कुमार गौतम । चौधरी, कृष्णराज (२०६७), अष्टिम्की (कृष्णजन्माष्टमी) र सखिया नृत्य, समष्टी, ३१)७४, पृ.३४–३८ ।  डङ्गोल, धर्मराज र रूपक डङ्गोल (२०६६) थारू गुराउ, परम्परागत ज्ञान र संरक्षणको बाटो । हाम्रो चिनारी । ४(२), १० । पृ.३५–३८ ।  थारू, फनि श्याम (२०६९), थारू लोक संस्कृति र चाडवाड, काठमाडौः नेपाल प्रज्ञा प्रतिष्ठान । पञ्जियार थारू, तेजनारायण (२०५५), थारू भाषा एक परिचय, सप्तरीः बौली चौधरी थारू । बराल, ईश्वर (२००४), थारू जाति र तिनको संस्कृति, नेपाल सांस्कृतिक परिषद पत्रिका, १(१), बैशाख । काठमाडौंः नेपाल सांस्कृतिक परिषद । विष्ट, डोरबहादुर (२००२, पुनर्मुद्रित २००६ ई.), सबै जातको फूलबारी, ललितपुरः हिमाल किताब । शर्मा जनकलाल, कृष्णबम मल्ल (२०१४), राप्ती उपत्यका, काठमाडौः नेपाल भारत मैत्री संघ । सर्वहारी, कृष्णराज । २०७७ । थारू गु?वाहरूको परम्परागत ज्ञान र सीपको विद्यमान स्थिति तथा पुस्तान्तरण । थारू आयोग, काठमाडौबाट २०७७ मंसिर २८ गते चितवनको सौराहामा आयोजित थारू गु?वा र भलमन्साहरूको अवस्था गोष्ठीमा प्रस्तुत अवधारणापत्र । सिंह मौन, प्रफुल्लकुमार (२०२५), थारू लोकगीत, विराटनगरः पूर्वाञ्चल पुस्तक भण्डार ।  

टीकापुरको गुमनाम कथा

टीकापुरको गुमनाम कथा

१०९६ दिन अगाडि

|

१८ भदौ २०८०

इन्दु थारु रमदैयाको घर पुग्दा झिसमिसे अँध्यारो भैसकेको थियो । वरपरका घरहरूमा बिजुली बत्ती बलिसकेका थिए, उनको घर भने अँध्यारै । छिमेकको आँगनमा बलेको बत्तीको उज्यालोमा उनी आफ्नो आँगनमा बेरी (रातिको खाना) पकाउँदै थिइन्, चुलोमा फुफु गर्दै । रमदैयाको घर टीकापुर घटनापहिले राति पनि उज्यालै हुने गर्थ्यो । घरमा बिजुली जडान गरिएको थियो, उनका श्रीमान्ले महसुल तिर्थे । टीकापुर घटनामा संलग्नता आरोपमा श्रीमान् गिरफ्तार भएपछि लाइन काटियो । त्यसयता उनका ससाना तीन छोराछोरीले अँध्यारो हुनुपहिल्यै होमवर्क सक्नुपरेको छ । मोबाइल फोनको टर्च बाल्दै बहरी (बैठक कोठा) मा बसेर कुराकानी सुरु भयो । रमदैयासँग ती कुरा भए, जुन गर्न वर्जितजस्तै छ । तिनका सत्य कथाहरूले पाउनुपर्ने ध्यान पाउँदैनन् । २०७२ को टीकापुर घटनापछि अधिकांश पुरुष भारततिर भागेका थिए भने कोही आफन्तको शरणमा थिए । घरमा महिला र केटाकेटी मात्र रहेको अवस्थामा प्रहरी गस्ती आयो । प्रहरीले छापा मार्दा थारू महिलाले यातना र शोषणको सामना गर्नुपर्‍यो । सोधपुछका क्रममा अत्यन्त त्रसित र आतंकित बनाइएकी एक पात्र हुन् रमदैया । उनले बहरीमा राखेको कुठ्ली (अन्न राख्ने माटाको भाँडो) देखाउदै भनिन्, ‘उनीहरू (प्रहरी) ले कुठ्ली फुटाइदिए । छुट्टाछुट्टै कुठ्लीमा राखेको धान, गहुँ र चामल एकैमा मिसाइदिए ।’ खस नेपाली बोल्न नसक्ने रमदैयाले डराउँदै ‘अइसिक ना कराडेउ’ (यस्तो नगरिदेऊ) भनी बिन्ती गर्दा उनीहरूले ‘तेरो लोग्नेले पुलिस मार्‍यो, हतियार कहाँ लुकाएको छ, भन्’ भन्दै छातीमा बन्दुक तेर्स्याए । उनीहरूले बोलेको रमदैयाले धेरै बुझिनन्, तर उनीहरूको आक्रोश, गालीका शब्दहरू उनको सम्झनामा छन् । उनीहरूले आफू र बच्चाहरूलाई जिउँदो छाड्लान् भन्ने रमदैयालाई लागेको थिएन । रमदैया थारू भाषामा पनि सानो स्वरमा बोल्छिन् । सोधेको प्रश्नको जवाफ थोरै वाक्यमा दिन्छिन् । उनको मुखले भन्दा आँखाको आँसुले बरु धेरै बोल्छ । आफ्नो भयानक स्मृति सुनाउँदा उनका ओठहरू थरथराइरहेका थिए । खस नेपाली बोल्न नसक्ने उनले अँध्यारो रातमा आक्रोश र बन्दुकले सजिएका पुरुष सिपाहीको सामना कसरी गरिन् होला ! कर्फ्युकै अवस्थामा थारूहरूमाथि भएको राज्य आतंक गैरथारू वृत्तमा बहसको विषय सायदै बनेको होला । सत्तासमर्थक थारूहरू पनि यो विषय नउठाउनुमै बढी फाइदा देख्छन्, अनौपचारिक भेटमा बाहेक सार्वजनिक मञ्चमा यी कुरा उठाउने हिम्मत गर्दैनन् । अझै आन्दोलनमा छौं भन्ने थारूहरूले त्यसरी सम्पत्ति लुटिनु र जलाइनुलाई प्रमुख विषय बनाएर प्रत्येक वर्ष खुला कार्यक्रम गर्दै आएका छन् । थारू महिलाको भोगाइ के रह्यो त भन्नेबारे चासो नगण्य रह्यो । टीकापुर घटनामा थारूहरूको सम्पत्ति ध्वस्त गरिएको अभिलेख ढिलै भए पनि व्यवस्थित गरियो । क्षतिपूर्तिका नाममा केही राहत रकम उपलब्ध गराइयो । तर थारू महिलाको कथाव्यथा कतै पनि उल्लेख गरिएन । थारू महिलाको कुनै भोगाइ नभएरै हो त ? राज्यले थारूहरूको आन्दोलनलाई आन्दोलन नै देखेन । बरु आन्दोलनकारी थारूहरूलाई आतंककारीका रूपमा हेर्‍यो । सुरक्षा कायम गर्ने नाममा थारू समुदायलाई पूर्ण रूपमा नियन्त्रण गरियो । के सुरक्षा अन्य कसैको असुरक्षा निर्माण गर्ने विषय हो ? रमदैयाजस्तै कैयौं थारू महिलाले सुरक्षाघेराभित्र असुरक्षित महसुस गरे । थारू महिलाका अनुभवको दृष्टिकोणबाट सुरक्षाको परिभाषा नै बदलिन सक्छ र तिनका लागि सुरक्षा विकृत असुरक्षामा परिवर्तित हुन सक्छ । ‘थारूहरूले प्रहरी मारे’ भनी हल्ला गर्दै बदलामा थारू महिलामाथि सरकारी पुरुषत्वको प्रदर्शन के उत्तम विकल्प थियो ? राज्य आतंकले ग्रसित रमदैया, रिमा, यमुनाका भोगाइहरू कहिल्यै बाहिर आएनन्, किनभने तिनले आधिकारिक कहानीलाई ‘काउन्टर’ गर्छन् । महिलाका कथा कहिल्यै बाहिर आउँदै नआउने होइनन् । महिलाका कथा त्यस बेला लेखिन्छन्, जब त्यसले राज्यसत्तालाई पोसिरहेको हुन्छ । जब महिलाका कथाहरू यस्तो गर्न असफल हुन्छन्, तिनलाई विभिन्न माध्यमबाट चुप लगाउने प्रयास गरिन्छ र त्यो प्रयास धेरै हदसम्म सफल बनाइन्छ पनि । कसलाई कसरी समावेश गर्ने वा नगर्ने र कसलाई कसरी प्रस्तुत गर्ने भन्ने कुरा बडो कलात्मक रूपमा सम्पादन गरिन्छ र विभिन्न माध्यमबाट बाहिर ल्याइन्छ । यो कुरा टीकापुरको सन्दर्भले प्रस्ट पार्छ । टीकापुरका थारू महिलालाई दिइएको यातना वैधानिक बनाउन एक थरी महिलाको आँसुलाई छापा र अनलाइनमा व्यापक बनाइयो । आधिकारिक रूपमा आएका समाचारका कथाहरूले राज्यनिकट रहेका महिलाका लागि नयाँ ठाउँ बनाए भने थारू महिलाको रोदनलाई बेवास्ता गरे । राज्य सञ्चालकहरूको यस्तो गतिविधिले मानवअधिकारकर्मीका साथै महिला अधिकारवादीमा समेत हानिकारक प्रभाव पार्‍यो । हैन भने टीकापुरमा कर्फ्युका बेला थारू महिलामाथि केके भयो, किन खोजिएन ? सदियौंदेखि जातीय–लैंगिक उत्पीडन खेपिरहेका थारू महिला अन्वेषणको केन्द्रमा किन कहिल्यै परेनन् ? रमदैया र कैयौंले आफूमाथि भएको व्यभिचारको रिपोर्ट नगर्नुमा उनीहरूको सचेत छनोटभन्दा पहुचको कमीले बढी भूमिका खेलेको छ । टीकापुर घटनापछि जसरी एकपक्षीय गलत प्रचारबाजी भयो, थारूहरूले न्याय पाउने निकाय कतै देखेनन् । रमदैयाका अनुसार, उनका श्रीमान् साइकलमा चिप्स, सुर्ती, बिस्कुट आदि राखेर गाउँगाउँमा बेच्ने गर्थे । श्रीमान्ले दिनभरिको व्यापारबाटै बिरामी रमदैया र तीन छोराछोरीको पेट भर्नुपर्थ्यो । आधा कट्ठा जमिनमा सानो घर छ, बाँकी थोरैमा सागसब्जी । खस नेपाली बोल्न नसक्ने, आन्दोलनबारे केही थाहा नभएका उनका श्रीमान्लाई टीकापुर घटनाको दोषी भन्दै जेलमा कोचियो । रमदैया भन्छिन्, ‘आन्डोलन करुइयन मन्टरी बन्लइ, संसद बन्लइ । मोर मनैन् जेलम डरलै ।’ (आन्दोलन गर्नेहरू मन्त्री बने, सांसद बने, मेरो मान्छेलाई जेलमा कोचे ।) शक्ति आर्जन गर्नका लागि डेमागग नेताहरूले थारूहरूलाई उक्साएको र त्यसपछि त्यो शक्तिलाई सर्वाधिक दुरुपयोग गरेको उदाहरण हो— थरुहट–थारूवान (टीकापुर) आन्दोलन । थारूभित्रका राजनीतिक सम्भ्रान्तहरू भुइँतहका थारूहरूलाई कसरी प्रयोग गर्छन् भन्ने एउटा गतिलो दृष्टान्त बन्यो टीकापुर आन्दोलन । केही थारू नेताले केवल मन्त्री पदका लागि सम्झौता गरे । कैद मिनाहा गरी आफू जेलबाट छुटे तर काम नगरी खान नपुग्ने थारूलाई जेल कोचे । यसले संकेत गर्छ, राजनीतिक सम्भ्रान्तहरूले जुनसुकै दलीय विचार वा समुदायलाई प्रतिनिधित्व गरून्, तिनले रमदैयाजस्ता निम्नवर्गीयहरूको सवाल कहिल्यै उठ्न दिँदैनन् । बरु सारा शक्ति दुरुपयोग गरि तिनैलाई फसाउँछन् । केन्द्र (काठमाडौं) बाट आन्दोलन गर्न उक्साउने थारू नेताहरूमा नैतिकता हुन्थ्यो भने थारू महिलामाथि भएको दमनविरुद्ध वकालत गर्थे, तिनको न्यायका लागि आवाज बुलन्द बनाउँथे । कुर्सीसँग थारूका मुद्दा साट्ने थिएनन् । तर थारू आन्दोलन दबाउन खोज्ने गैरथारू सम्भ्रान्त र थारू आन्दोलनको नेतृत्व गर्ने थारू सम्भ्रान्तले आखिर टीकापुर घटनापछि काठमाडौंमा कागजी सम्झौता गरे । अभिजात वर्गका पुरुषप्रधान सम्झौतामा जडित बुँदाहरूमा महिलाका सवाल कहिल्यै उल्लेख भएनन् । रमदैयाले आफू थारू भएकाले बजार जाँदा हेपिनुपरेका कथाहरू सुनाइन् । टीकापुर घटनापछि घरमै आइपुगेका सुरक्षाकर्मीले बोलेका शब्द उत्तिकै अपमानजनक थिए । रमदैयाको प्रश्न छ, ‘टीकापुर घटनाको छानबिनबिना थारूहरू नै अपराधी हुन् भन्ने फैसला कसरी सम्भव भयो ?’ रमदैयालाई खस नेपाली बोल्न आउँदैन भन्नुको मतलब उनले विभेद महसुस गर्न सक्दिनन् भन्ने होइन, उनले प्रश्न गर्न सक्दिनन् भन्ने होइन । उनमा अनुभव छ, आदिवासी ज्ञान छ र त्यो अर्गानिक छ । राज्य आतंक भोगेकामध्ये थोरै महिलाले मात्र आफ्नो कथा सुनाउन सक्छन् । ती कथालाई गम्भीरताका साथ लिइनुपर्छ । कान्तिपुरबाट

थारू समुदायको ‘गुरही’ पर्वमा विविध आयाम

थारू समुदायको ‘गुरही’ पर्वमा विविध आयाम

१११० दिन अगाडि

|

४ भदौ २०८०

थारू समुदायमा विभिन्न चाडपर्व छन् । अहिले माघ (माघी) लाई नयाँ वर्षको रुपमा मान्न थालिएको छ । नभए पहिले पुर्खाहरुले गुरहीलाई वर्षको पहिलो चाड मान्थे । यसबारे एउटा भनाई छ, ‘जट् बर्कि जट् बोक्सिन, जट् छोटकि जट् छिनार ।’बर्कि अर्थात् ठूली, यस मानेमा सबैभन्दा जेठो चाड गुरही । यसमा भूतप्रेत मन्साउने कार्य हुने भएकाले भूत, बोक्सीको प्रसंग आउँछ । अनि छोटकि अर्थात् कान्छी, सबैभन्दा पुछारको चाड ढुरहेरि अर्थात् होली । होलीमा रंग, अविर दल्दै  हा हू गर्ने परम्परा भएकाले यसलाई उरन्ठेउलो, लाज नभएको चाडको रुपमा लिइन्छ ।  यसरी आआफ्नै किसिमको तर्क यस पर्वबारे भेटिन्छ । यहाँ थारू समुदायको प्रमुख चाडमध्ये एक ‘गुरही’को चर्चा गरिन्छ । गुरहीको मौलिकता थारू समुदायको गुरही पर्वको दिन नै आम नेपालीको नागपञ्चमी पर्व पर्छ । त्यसैले ‘गुरही’ र ‘नागपञ्चमी’ एउटै हो कि भन्ने आम बुझाई छ । थारू समुदायकै कतिपयले गुरही अर्थात् नागपञ्चमी भनेर सामाजिक सञ्जालमा शुभकामनासमेत दिएको देखिन्छ । गुरही र नागपञ्चमी एक अर्काको पर्याय पर्व होइन ।  नागपञ्चमीमा सर्पको पूजा गरिन्छ । यो अलग कुरा हो कि अरुको देखासिकीमा थारू समुदायमा पनि नागको तस्विर टाँसेर नागपञ्चमी पनि स्वीकारिन्छ । तर गुरहीमा सर्पको पूजा हुन्न, गाइने किराको पूजा हुन्छ । थारू समुदायको ‘गुरही’ पर्वको आफ्नै मौलिकता छ भने सर्प भगाउने मन्त्र पढिने नागपञ्चमीको आफ्नै । त्यसैले, गुरही र नागपञ्चमी एउटै हो भन्ने बुझाइ हटाउन, यी दुबै बीचको फरक मनन गर्न थारू समुदायले ढिलाइ गर्नुहुन्न ।  बरु अवधी समुदायको गुडिया पर्वसँग थारू समुदायको गुरही केही मिल्दोजुल्दो छ । तिनले पनि थारू समुदायले झैं कपडाको गुरही बनाएर पूजा गर्छन् ।  साहित्यकार छविलाल कोपिला ‘गुरही’लाई थारू समुदायको बाल पर्वको रुपमा चिनारी दिन उपर्युक्त ठान्दछन्  । हुन पनि हो, थारू बालिकाहरु सोह्र श्रृंगार गरेर थालमा गुरही र चना लिएर गल्लीको गौह्रि (चौराहा) मा गुरही अस्राउन जान्छन् । उता थारू बालकहरु सोंटा लिएर गुरही ठटाउन तम्तयार हुन्छन् । तर, मनोवैज्ञानिक रुपमा बुझ्दा यसले बालिकाको थालमा गुरही र चना थमाएर महिलालाई गहना गुडियामै, भातभान्सामै सीमित रहन तथा बालकको हातमा सोंटा थमाएर तिनलाई बलशाली हुनुपर्ने देखाउँछ । गुरही किराबाट ‘गुरही’ पर्व नामकरण भएको हो । भालेलाई गुरहा तथा पोथीलाई गुरही भनिन्छ । गुरही अस्राउन कपडाको गुरहन्या बनाउँदा पनि गुरही र गुरहाको अलग अलग आकार बनाइन्छ ।  लामो पुच्छर भएको उड्ने किरा गुरहीलाई नेपालीमा गाइने किरा भनिन्छ । यसले लामखुट्टेलगायत बालीनालीका लागि अन्य हानीकारक किराहरु खाएर किसानहरुलाई सहयोग गर्छ । हानीकारक किरा खाएर अन्य रोगव्याधी लाग्न नदिन भूमिका खेल्ने भएकाले गुरही किराको पूजास्वरुप गुरही पर्व मनाउन थालिएको जनविश्वास थारू समुदायमा छ । यस्तो छ ‘गुरही’को मिथक छविलाल कोपिलाको संकलनमा गुरही पर्वबारे एक मिथक रहेको छ । जसअनुसार धेरै वर्ष पहिले नरकमा विभिन्न किसिमका किराहरुको संख्या बढ्यो र अनेक रोग फैलियो, जसका कारण मान्छेहरुको अकालमै ज्यान जान थाल्यो । यसबारे स्वर्गलोकका देउताहरु पनि आश्चार्यचकित भए । देउताहरुले यसबारे यथार्थ बुझ्न एक बालिकालाई दूतको रूपमा पृथ्वीलोकमा पठाए । र, उनी एक साधारण परिवार जन्म लिइन् । उनको बाल्यकाल निकै रमाइलोसंग बित्यो । परिवारमा सबैले राम्रो मान्थे । तर, उनकी भाउजू भने उनलाई देखी सहन्नथिन्, निकै दुःख दिन्थिन् । त्यसो त अपवादबाहेक नन्द भाउजूको सम्बन्ध अहिले पनि राम्रो मानिन्न । ती बालिका ससाना बालबालिकाहरुसंग खुब खेल्न मन पराउँथिन् । अरुलाई निकै माया गर्थिन् । उनी कपडाको गुडिया अर्थात् ‘गुरही’ खुब मन पराउँथिन् । तर, उनलाई देखि नसहने उनको भाउजूले सधैँजसो गुरही लुकाइदिने, कहिले त फाल्दिने समेत गर्थिन् । यसो गर्दा उनी निकै दुःखी हुन्थिन् तर केही भन्न सक्दिनथिन् ।  भाउजूको डरले ती बालिकाले कहिले डेहरी (भकारी) मुनि गुरही लुकाउँथिन्, कहिले घरको कुनामा । यसरी लुकाउँदा लुकाउँदै पनि भाउजूले पत्तो लगाएर फालिदिन थालेपछि आजित भएर एकदिन आफ्नो खेलौनारुपी गुरही जस्तै किरा भए कति जाति हुन्थ्यो भन्ने कल्पना गरिन् । नभन्दै उनले सोचेको जस्तो किरा उत्पन्न भए ।  गुरहीजस्तै सुन्दर सुन्दर किराहरु हावामा उड्न थालेपछि उनी निकै खुशी भइन् । छिमेकी बालबच्चाहरु पनि रमाउन थाले । यता त्यही गुरही किराहरुले लामखुट्टेलगायत सुक्ष्म किराहरुलाई आहार गर्ने र मार्ने गर्न थाले । यसरी मानिस तथा बालीनालीको लागि हानीकारक किरा मारिन थालेपछि प्रकोप पनि कम भयो र रोगव्याधी पनि कम भयो । निरोगी हुन पाउँदा, बालीनाली सप्रिदा जनता खुशी भए ।  यसरी अकाल मृत्यु रोकियो । र, ती बालिका पुनः स्वर्गलोक जानुपर्ने भयो । उनी जाने भएपछि उनका सहेलीहरु निकै दुःखी भए । जान नदिने जिद्दी गरे । तर, उनको यात्रा रोकिएन । अन्तमा, विदाइको बेला गाउँका सबै बालबालिकाले उपहारस्वरुप गुरहीको प्रतीक गुडिया र बाटोमा भोक लागे चनालगायतका गेडागेडी खानेकुरा दिएर बाजागाजासहित विदाई गरे ।  माइतीको संझना घर छाडेर जाने महिलाहरुलाई माइतीको जे कुरा पनि प्यारो हुन्छ । उनीहरु घर छोडेर जाँदा बाल्यकालमा खेलेका गुडिया (गुरही) सम्झिन्छन् ।  आफूले डेहरीमुनि गुरही राखेको छु, त्यो राम्रोसंग स्याहारिदिन भनेर आमासंग आग्रह गर्छन्, जुन तलको गीतमा गुन्जिन्छ ः ‘दाङ बोले टिम्की, महदेवा बोले ढोल  डेहरिक गोरटिर मोर गुरही ।  बालिकाहरु रुखमुनि खेल्नु सामान्य हो । इमलीको रुखमुनि बसेर गुरहीसँग खेलेको सम्झिन्छन् । दाङ बोले टिम्की, महदेवा बोले ढोल  अमलिक रुखवा टिर मोर गुरही । भनिन्छ, यो बालगीत, त्यही बालिकाले संझना गरेर गाएको हो, जसलाई स्वर्गलोकका देउताहरुले पृथ्वीलोकमा दूत बनाई मृत्युको कारण बुझ्न पठाएका थिए । तिनले नै गुरही किरा उत्पन्न गरिन् र गुरही मनाउने परम्परा बस्यो । ‘दाङ बोले टिम्की, महदेवा बोले ढोल’ यस गीतको विश्लेषण पनि गर्न सकिन्छ । देउखुरी उपत्यकाको महदेवा नै यस्तो गाउँ हो, जहाँ थारू सुमदायको बर्का नाचको सुरुवात भयो । देउताहरुले नै महदेवाका एक थारू अगुवालाई वनमा नाच सिकाएका थिए । कालान्तरमा तिनले गाउँमा आएर नाच सिकाए । कतै गुरही किरा उत्पन्न गर्ने ती पौराणिक बालिका स्वर्गलोकबाट महदेवा गाउँमा आएकी त थिइनन् ? यो अर्को शोधखोजको विषय हो ।  गुरही मनाउने तरिका गुरही मनाउने तरिका गाउँअनुसार फरक फरक हुन्छ । यहाँ वर्णन गरिएको गुरही मनाउने तरिका खास गरी देउखुरी उपत्यकाको हो ।  ‘घुघरी भिजाउ रे, घुघरी । हे गाउँक् मनै, काल्ह गुरहिक लग गुरही भिजाऊ...’ । नागपञ्चमीको अघिल्लो बेलुकी गाउँको चौकीदारले यही भनेर ठूलो स्वरमा हाँक पार्छ । चौकीदारले हाँक पारे पनि, नपारे पनि गाउँलेले बेलुका कोंहरी (चना) भिजाउँछन् । चना खेती गर्नेले कुनै वर्ष राम्रो चना नफले ‘असौं टे गुरहि अस्राइ भरिक फेन चाना नैहुइल’ भनेर तिक्तता पोख्छन् ।  पञ्चमीको दिन बिहान घरको बाहिरी ढोकामाथि नाग टाँस्छन् । दिउँसो गाउँका सबैजसो घरका आमा दिदीहरुले बालिकाहरुका लागि गुरही बनाइदिन्छन् । उनीहरु गुरही बनाएको हेरेरै रमाउँछन् । बालिकाहरु आफै पनि गुरही बनाउने प्रयास गर्छन् । उता, बालकहरुका लागि बुवाहरुले रारा (काँस) को सोंटा (कोर्रा) बनाइदिन्छन् । सोंटा पनि रंगीन हुन्छ । सोंटा बनाउन फुर्सद नहुनेहरुले केराको पातको डाँठको सोंटा बनाउँछन् । यस्तो सोंटामा काजल भने लगाइ दिनुपर्छ ।  साँझ प्रत्येक घरमा सुख्खा चना पाक्छ । चना नहुनेले केराउ, बोडीलगायत गेडागुडी बनाउँछन् । यस्तो पकाइएको गेडागुडीलाई कोंहरी, घुघरी पनि भनिन्छ । साथसाथै, माछा, मासुलगायत अन्य परिकार पनि पाक्छ ।  यस अवसरमा बालबालिकाहरु नयाँ लुगा पाउँदा खुशी भएर रमाउँछन् । बालिकाहरु आफै गुरहीझैं सजिएका हुन्छन् । बेलुका दिन डुब्नेबेला गाउँको चौकीदारले पुनः हाँक पार्छ, ‘अरे, गाउँ भरिक मनै गुरही अस्राइ चोलो रे...।’ बालिकाहरु नुइयाँ (सानो ढकिया), टठिया (थाल)मा गुरही र कोंहरी लिएर तथा बालकहरु सोंटा लिएर गुरही अस्राउन (सेलाउन) निस्कन्छन् ।  भान्सेहरु ‘खाँज खुजली लैजा, रोग बिरोख लैजा, मिठ मिठ डैजा’ भन्दै घर भित्रबाट निस्किएर थाल र नाङ्लो ठटाउँदै बाटोसम्म गुरहीसंगै रोगव्याधी धपाउन जान्छन् ।  यता, गाउँको चौराहा, गौह्री (गाउँ भरिका गोरु राखिने स्थान) मा गाउँलेहरु जुट्छन् । गाउँको अगुवाले रटनजोटलगायत कुनै वनस्पतिको निशाना गाड्छ । गुरही विसर्जन गर्ने बालबालिकाहरुलाई अग्रपंक्तिमा उभ्याइन्छ । अगुवाले ‘लेउ, आब गुरही अस्रैना सुरु’ भनेपछि बालिकाहरुले थालमा ल्याएको गुरही, दुबो गाडिएको निशानामाथि फाल्छन् । बालकहरुले विसर्जन गरिएको गुरही सोंटाले ठटाउँदै ‘डे घुघरी सोंटा, खाइ मोर टोंटा’ फलाक्छन् । गुरही विसर्जनपछि प्रायः गाउँमा जहाँ बिसर्जन गरिएको हो, त्यहाँ त्यत्तिकै छाडिन्छ । तर, कुनै गाउँमा नदीमा लगेर पुनः विसर्जन गरिन्छ ।  गुरही विसर्जनपछि बालिकाहरु आमा, दिदीहरुको सहयोगमा माग्ने जति सबैलाई थोरै थोरै कोंहरी बाँड्छन् । कोंहरी लगायतको सामग्री प्रसादस्वरुप अलिकति घर लिएर आउँछन् । अनि, आफ्नो घरको छानामाथि, डेहरी (भकारी) माथि प्रसाद चढाउँछन् । यसो गर्दा भूतप्रेत नआउने, घर सुरक्षित रहने, धनचोरले अन्न नलाने विश्वास गरिन्छ ।  उता, बालकहरुले ठटाउन लगिएको सोंटा त्यो दिन लुकाएर राख्छन् । अर्को दिन बिहानै सोंटा ल्याएर बारीको थाँक्रोमा बाँध्छन् । यसो गरे किरा फट्याङ्ग्रा न लाग्ने, तरकारी राम्रो फल्ने विश्वास गरिन्छ ।  कुनै कुनै गाउँमा गुरही सेलाएकै राती किशोरहरुको समूहले प्रत्येक घरमा छिरेर घण्टा बजाउँदै अर्को गाउँको सिमानासम्म पुग्छन् । सिमानामा कुनै चिजको डाँठको टुक्राले चुरोट पिएको अभिनय गर्छन् । अनि, हाम्रो गाउँको रोग, खाँज खुजली (लुतो) अरु गाउँ सरेर जा भन्ने कामना गर्छन् । घर फर्किदा घण्टा बजाउन पाइन्न । नभए रोग आफ्नै गाउँ फर्किने भनाइ छ ।  त्यसो गरेको थाहा पाए अरु गाउँका किशोरहरु हाम्रो गाउँमा रोग सार्न आए भनेर लखेट्ने गर्छन् । यसले कहिलेकाहिँ दुर्घटना पनि निम्त्याउँछ । त्यसैले, यो चलन भने हराउँदै गएको छ ।   अन्तमा, थारू सुमदायलाई प्रकृतिपूजक मानिन्छ । यसरी गुरही पर्व पनि प्रकृतिलाई प्रेम गरेको अर्थको रुपमा लिन सकिन्छ । कृषि विज्ञहरुका अनुसार गाइने किराले एक दिनमा एक सय भन्दा बढी लामखुट्टे खान सक्छ । यसरी इकोसिस्टम बचाउने किसानको साथी गुरही किराको पूजा गर्नु प्रकृतिपूजाको ठूलो उदाहरणको रुपमा लिन सकिन्छ । अर्को कुरा बालबालिकालाई केन्द्रमा राखेर, सानैदेखि स्वास्थ्यमा सचेत रहन, संस्कृति जोगाउन सन्देश प्रवाह गर्ने गुरही पर्वको अहम् भूमिका छ भन्दा अत्यु्क्ति नहोला । त्यसैले त गुरही मनाउने परम्परा गाउँबाट सहरमा छिर्दैछ । धनगढी सहरमा चोकको नाम गुरही चोक नामकरण भएको छ । सबैलाई गुरही पर्वको शुभकामना ।

रेशम चौधरी रिहाई हुँदा कोही किन दुःखी ?

रेशम चौधरी रिहाई हुँदा कोही किन दुःखी ?

१११२ दिन अगाडि

|

२ भदौ २०८०

राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाएर जेठ १५ गते छुटे रेशम चौधरी । उनी देशभरी नागरिक स्वागत, बधाई, अभिनन्दन थाप्न भ्याइ सकेका छन् । मेचीदेखि महाकालीको यात्रा पनि पुरा गरिसकेका छन् । त्यति मात्रै होइन, उनी केन्या र त्यहाँका आदिवासी जनजाति, उनीहरूको संगठनले गरेको स्वागत सम्मान थापेर आइसकेका छन् ।  केन्याबाट नेपाल फर्किने बेला सर्वोच्चको टीकापुर घटनासँग जोडिएको रेशम चौधरी बारेको पूर्णपाठ पनि आइसकेको छ । पूर्णपाठले अहिले देशमा ठूलै तरंग फैलिएको छ ।  तरंग ल्याउनेमा नश्लवादी सोंच भएकाहरू नै अग्रपंक्तिमा देखिएका छन् । ती मिडियाकर्मी हुन सक्छन्, कानुन ब्यबसायी हुन सक्छन्, अधिकारकर्मी हुन सक्छन् । विभिन्न दलहरूमा लागेका झोलेहरू हुन सक्छन्, तमाम निकाय, संघ, संगठनका विभिन्न पदहरूमा रहेका विभिन्न रंगरुपका ब्यक्तिहरू हुन सक्छन्, जसको सोंच सार्है संकीर्ण छ ।  जो यथास्थितिवादी छन्, जो उत्पीडितहरूले न्याय पाएको देख्न चाहँदैनन् । तिनीहरूको अनुहारमा टीकापुर मुद्दाबारे सर्वोच्चको पूर्ण पाठले खुशियाली छाएको छ । तर अधिकांश आदिवासी जनजातिहरू, थारूहरू, मधेसीहरू, दलितहरू, ब्राम्हन क्षेत्री समुदायका न्यायप्रेमीहरू गलत प्रचारले गर्दा दुःखी भएका छन् ।  सर्वाेच्चको पूर्ण पाठले रेशम पुनः जेल जानु पर्छ भनेको छैन । तर, कतिपय मिडियाहरू “रेशम जोल जाने” शीर्षक नै राखेर अदालतलाई उक्साइरहेका छन्, एक किसिमले दवाव दिइरहेका छन् ।  कथित बुद्धिजीवी, कानुन ब्यवसायी, मिडियाकर्मीहरू टीकापुर घटना सम्बन्धमा अलिकति पनि गम्भीर देखिएनन् । रेशम चौधरी कसरी २०७४ सालमा अत्याधिक मत ल्याएर चुनाव जिते ? २०७९ सालमा कसरी जेलबाटै गठिन उनको नागरिक उन्मुक्ति पार्टीले स्थानीय चुनावमा सफलता पायो ? २०८० का प्रदेश सभा र प्रतिनिधि सभामा कसरी उनको पार्टीले सफलता हासिल ग¥यो ? घोत्लिन जरुरी छ ।  विशेष गरी २०४६ पछि काँग्रेस, एमाले र २०६२÷०६३ पछिका दिनहरूमा माओवादी समेतका कर्तुतका कारण आज थारूहरू यो अवस्थामा पुगेका छन् । थारुहरूलाई आश्वासन दिइएको जातीय स्वशासन, आत्मनिर्णयको अधिकारको आश्वासन त खेर गयो, गयो, उनीहरूलाई पहिचानमा आधारित प्रदेशसम्म पनि कथित लोकतान्त्रिक, समाजवादी दलहरूले दिन चाहेनन् ।  हो, तिनै काला कर्तुतका कारण आज नश्लवादीहरूले सोंचे जस्तो अवस्थामा थारूहरू रहेनन् । उनीहरू देशमा भएका सबै दलले शुरुवात गरेका सबै आन्दोलनमा दरो उपस्थिति जनाएका छन् । तर, आन्दोलन गरेवापत आदिवासी जनजातिहरू, थारूहरूले के पाए ? आन्दोलनले सफलता पायो, थारूहरूले के पाए ?  आफूलाई जनताको बीचमा लोकतान्त्रिक भन्ने दलहरूले थरूहट क्षेत्रमा जाँदा के छातीमा हात राखेर, तुलसा तामा छोएर उनीहरूको माग पुरा गरेको भन्न सक्छन् ? मलाई त त्यस्तो लाग्दैन । थारूहरूको लागि हाम्रो पार्टीले सबैभन्दा बढी बोल्यो भनेर गफ लाउनेले पहिले स्पष्ट हुनु पर्दछ कि थारूहरूको मुख्य माग के थियो ? अहिले पनि मुख्य माग के हो ? तर त्यो हिम्मत कुनै पार्टी र गठबन्धन सरकारसँग छैन ।  थारूहरूमाथि सदावहार अन्याय अत्याचार भैरहेको छ । उनीहरूलाई जंगबहादुर राणाको पालामा बनेको बि.सं १९१० को मुलुकी ऐनले कुन दर्जामा राखेको थियो ? राजा महेन्द्रको शासनकालमा थारूहरूलाई हेर्ने दृष्टिकोण के थियो ? अहिले पनि थारूहरूलाई हेर्ने दृष्टिकोण के छ ? उनीहरू पनि मज्जाले पढिरहेका छन्, हेरिरहेका छन्, विश्लेषण गरिरहेका छन् ।  आफूहरूलाई अहिले पनि केवल लौरोको रुपमा मात्र प्रयोग गरिरहेको कुरा थारुहरु आब जानिफकार भैसके । काँग्रेस, एमालेको स्पष्ट थारूविरोधी सोंच र माओवादीको दोहोरो (दोग्ला) चरित्रका कारण आज आदिवासी जनजातिहरू, दलितहरू, थारूहरू अन्याय अत्याचार खेपिरहेका छन् । नागरिक उन्मुक्ति जस्तो क्षेत्रीय पार्टी जन्मन बाध्य छ । टीकापुर घटनामा रेशम मात्रै मुछिएका छैनन्, उनीसँग सिङ्गो थारु समुदाय मुछिएको छ । टीकापुर घटना थरुहट आन्दोलन हुँदा घट्न पुग्यो । थरुहट आन्दोलन किन भयो ? थारूहरूका माग के थिए ? न त हँसिया हथौडाले कहिल्यै बुझ्न चाह्यो, न त चारताराले, न त अन्यले ।  थारु समुदायको चाहना, माग सुनुवाई गर्नुको साटो सीमाको लागि, देशको लागि लड्ने सशस्त्र प्रहरी, सेनालाई समेत लगाएर लोकतान्त्रिक दलहरूले थरुहट आन्दोलनलाई दबाएका छन् ।  संविधान नबनेकै अवस्थामा अधिकार प्राप्तिको लागि भएको थरुहट आन्दोलनलाई राजनीतिक आन्दोलन नभन्ने हो भने स्पष्ट छ, हाम्रो देशको ब्यबस्थापिका, कार्यपालिका, न्यायापालिका नश्लवादी छ । २०७२ साल सम्मको कानुनमा गम्भीर प्रकृतिका घटनामा आममाफी दिन नमिल्ने कुरा थिएन । रेशम पक्राउपछि २०७५ सालदेखि त्यस्तो घटनामा आममाफी दिन नमिल्ने ब्यवस्था भएको देखिन्छ ।  भनिन्छ, संसारमा सबै ठूलो, अग्लो एन्टिना भनेको पुलिस प्रशासनको हुन्छ । हरेक घटना उसको निगरानीमा हुन्छ । तुरुन्त थाहा नपाएपनि ढिलो चाँडो उसले पत्ता लगाउन सक्छ । तर, जुन घटनामा उ आफैं संलग्न हुन्छ, त्यो घटना कहिल्यै टुङ्गो लाग्दैन । उ संलग्न भएको घटनालाई आफू पन्छिएर टुङ्गो लगाउने गर्दछ । त्यस अवस्थामा निर्दोषहरू दुःख झेल्ने अवस्था आउँछ ।  अख्तियार प्रमुखहरू भ्रष्टाचार गरेर अमेरिका भाग्दछन् । राजालाई प्रहरी, सेनाले बचाउन सक्तैनन् । माफियाहरूलाई कारवाही हुँदैन । निर्मला पन्तको मुद्दा टुङ्गो लाग्दैन । टीकापुरको घटनामा लाल आयोगको प्रतिवेदन सार्वजनिक हुँदैन । अनि थारूहरूलाई सिधै दोषी अपराधी भन्न भ्याउँछन् ।  अहिले सर्वोच्चको पूर्ण पाठ र मिडियाको प्रचारवाजीले रेशमको संगठनलाई झन् फाइदा भइरहेको छ । उसलाई जेल हाल्यो भने पुनः “बाबा टोहार छावा जेलम् परल बा” भन्ने बोलको गीत थारूहरूमा पुनः गहिरो स्थान पाउनेछ । उसप्रतिको समवेदना मान्छेमा सञ्चार हुन्छ । बरु बाहिर रह्यो भने उसले कुनै ठाउँमा बोल्दा, ब्यवहार गर्दा चिप्लिने डर हुन्छ ।  त्यसैले म त भन्छु, रेशम चौधरीको रिहाई हुँदा औधी खुशी हुनुपर्ने र औधी दुःखी हुनुपर्ने कारण छैन । अहिलेको दुनियाँमा रेशमको भौतिक शरीरलाई कारागारमा कैद गर्न सकिएला तर उनको विचार, उनको संगठनलाई कारागारमा कैद गर्न सकिन्न ।  फेरि सर्वोच्चको पूर्ण पाठले सरकारलाई मात्रै होइन, स्वयम् सर्वोच्चलाई समेत नैतिक संकटमा पारेको देखिन्छ । पाठको आशयअनुसार मुद्दा उल्ट्याउने वा रेशमलाई जेल हाल्ने हो भने ब्यवस्थापिका र कार्यपालिकाको महत्व के हुने ? भन्ने शक्ति पृथकीकरणको सिद्धान्तमा समेत असर पर्नेछ । आदिवासी जनजाति, आदिवासी थारूहरूले हेर्ने नजरियाको त के कुरा गर्नु र !         

मुहार फेरिएको काठमाडौँ

मुहार फेरिएको काठमाडौँ

११४० दिन अगाडि

|

६ साउन २०८०

बालिका चौधरी बर्दिया बस्ने म पछिल्लो पटक सन् २०२२ को फेब्रुअरीमा काठमाडौँ आएकी थिएँ । सायद त्यतिवेला एमसीसी विरोधको आन्दोलनको चर्किरहेको थियो । काम विशेषले निस्किदा त्यसबेला माइतीघर मण्डलादेखि संसद भवन, तीनकुनेसम्म सबै गाडीघोडा बन्द थियो । बाटो पुरै सुनसान थियो । आन्दोलनकारी र प्रहरीबिच ढुुंगामुढा थियो । अनिकालमा बीउ जोगाउनु, हुलमालमा जिउ जोगाउनु भनेझैँ जोगिएर हिँड्नु पर्‍यो ।  काठमाडौँ आउँदा म प्रायः पैदल हिँड्ने गर्छु । इमरजेन्सी नपरेसम्म गाडी चढ्दिन । यसपालि असारको पहिलो साता काठमाडौँ आउँदा मैले निकै फरक पाएँ । पहिलाको जस्तो काठमाडौँ रहेन अब । पहिला पहिला सुन्धारा, न्यूरोड हुँदै असन छिर्दा युपी विहारको भीडभाडमा आएजस्तो लाग्थ्यो । जता गए पनि पाइला टेक्ने ठाउँ नै हुँदैनथ्यो । पेटीमै पसल हुँदा हिँड्दा ठेलमठेल गरेर हिँड्नुपर्थ्यो ।  बाटोमै कोही मकै पोलेका हुन्थे त कोही बाटोमै चिया, नास्ता बेचिरहेका हुन्थे । फलफूल बेच्ने, जुत्ता सिउने मान्छेदेखि सेकुवा भुटुवा बेच्ने मान्छे उस्तै, अनि खानेहरूको झनै भीड ।  यसपालि बाटोको पेटीमा रहेको सबै बजार उठाएर सुनसान भएको रहेछ । अहिले ती दृश्य नदेख्दा अनौठो लाग्यो । कस्तो शान्त र स्वच्छ वातावरण पाइयो काठमाडौँमा । तर, भीड हटाउनु मात्रै समस्याको समाधान होइन, तिनको व्यवस्थापन ठुलो कुरा हो । वानेश्वर एरिया लगायतका फुटपाथ पसललाई अलि भित्र व्यवस्थापन गरेको सुन्दा खुसी लाग्यो । बागबजारको पद्मकन्या क्याम्पसको अगाडि, प्रदर्शनी मार्ग, जमल चोक, रत्नपार्क, सुन्धारा, वीर अस्पतालको वरपर, अनि पुरानो बसपार्क त भन्नै परेन, जहिल्यै आउँदा देखिने फोहरको थुप्रो देखिन्थ्यो । यस पटक भने छ्याङ्ग सफा देखेँ । न दरबारमार्गमा, न त बागबजारमा पार्किङले बाटो साँगुरिएको थियो । बागबजारमा त अहिले बोटविरुवा सहितको गमला राखेको सुनेकी छु । मान्छेहरूको व्यवहार परिवर्तन गर्न एक्सन लिनैपर्ने देखियो । यदि काठमाडौँ महानगरपालिकाले एक्सन नलिएको भए संघीय राजधानीमा यो सब सम्भव थिएन । एक्सन लिएकैले होला, यहाँकाले जथाभाबी फोहर फाल्न छोडे । यहाँका मान्छेको व्यवहार परिवर्तन भएको देखेर खुसी लाग्यो ।  बाटोभरी सानो स्पिकरमा रेकर्ड गरेको हल्ला सुनिन्थ्यो, हेल्लो दाई यता फर्केर हेर्नुस् त ! हजार बाह्र सयको जुत्ता मात्र ६ सय पचास, ६ सय पचास मात्र । यसपालि त्यस्तो कान खाने आवाज पनि सुनिनँ । बाटोभरी माग्ने मान्छेको उत्तिकै भीड हुन्थ्यो त्यो पनि देखिएन । दृष्टिविहीनहरू बाटो बाटोमा गीत गाएर बसेका हुन्थे, ती पनि देखिएनन् ।  त्यस्तै, ससाना बालबालिकाहरु खुट्टै ढोगेर माग्न आउँथे । काखमा साना नानी च्यापेर आमाहरू पनि माग्न बसेका हुन्थे, ती भेटिएनन् । वास्तवमा ती मानिसहरूको पनि व्यवस्थापन भएको हो भने निकै नै सह्रानीय काम हो । अन्य पालिकाहरूले पनि सिक्नुपर्ने काम हो यो । राम्रा काम अनुसरण गर्दा के फरक पर्छ र ?                                                                                                                                        लेखिका बालिका चौधरी म लाजिम्पाटबाट हिँडेर लैनचौर हुँदै जमल, रत्नपार्क, सुन्धारा, सिंहदरबार हुँदै हनुमानथान अनामनगर पुगें । बाटोको सरसफाइ अनि मान्छे हिँड्ने बाटोको पेटी हेर्दा साँच्चै परिवर्तन भएछ काठमाडौँ । हरेक चोकमा ट्राफिक प्रहरीको सक्रियता, नगर प्रहरी र ट्राफिक प्रहरी मिलेर काम गरेको देख्दा साँचै परिवर्तन भएकै हो त भन्ने कुरा मनमा खेलिरह्यो ।  हरेक स्थानमा जथाभाबी पार्किङ गर्न रोक लगाइएको रहेछ । सिंहदरबारको दक्षिण गेटभन्दा अगाडि अनामनगर जाने बाटोतर्फ जथाभाबी मोटरसाइकल पार्क गरेकोमा नगर प्रहरीको गाडीले मोटरसाइकल लोड गरेर लगेको पनि देखेँ । नियम भनेको नियम हो । अब बल्ल पो भएछ, “काठमाडौँ सहर हेर्न लाग्छ रहर” । त्यसो त नेपालमा धेरै नियम कानुन बनेका छन् । यदि भएको नियम कानुन सबैले यसरी नै पालना गरे भने त देश सिंगापुर बन्न के बेर । नियम बनाउनमा कोही पछि परेको छैन । चाहे नगरपालिका होस् या गाउँपालिका । प्रदेश होस् या संघ, सबैले आपआफ्नो नियम कानुन बनाएका छन् । तर, केवल कागजको खोस्टामा सीमित छन्, हाम्रा नियम कानुनहरू । त्यसैले त, देशमा भ्रष्टाचार हुने तर साना माछा मात्रै समातिने, ठुला माछालाई कुनै नियम कानुन नै नलाग्ने चलन छ यहाँ । काठमाडौँका आकाशे पुलमा पनि सामान फिँजाएर विक्री गर्नेहरूले गर्दा हिँड्न सकस थियो । अहिले काम परेका मानिसहरू मात्र आकाशे पुलमा सुुईंसुईं हिँडेको देखेर खुसी लाग्यो । तर, मैले जान्न चाहेको कुरा महानगरपालिकाको कार्यालयमा सेवाग्राहीले सेवा कसरी पाइरहेका छन् ? उनीहरू सन्तुष्ट छन् कि छैनन् । सेवा प्रदायकले सेवाग्राहीसँग कस्तो व्यवहार गरिरहेका छन् ? भन्ने हो ।  कतै सेवाग्राही सेवा लिन जाँदा महानगरका कर्मचारीहरू टिकटक बनाएर त बसेका छैनन् ? कतै फेसबुकमा व्यस्त भएर अहिले फुर्सद छैन, पछि आउनुस् त भनेका छैनन् ? कतै सेवाग्राहीसँग झर्केर बोलेका त छैनन् ? मेयर बालेनज्यू, यस्तो त पक्कै छैन होला है । नहोस् पनि ।  कतिपय सरकारी निकायमा गएर सेवा लिन जाँदा मेरो भोगाइको आधारमा माथिका प्रश्नहरू मेरो मनमा उब्जेका हुन् । हालै, कर कार्यालयमा कर बुझाउन गएको थिएँ । निवेदन दर्ता गर्ने ठाउँमा दर्ता गर्ने कर्मचारी मेरी बास्सैको भिडियो हेरेर बसेको थियो । अनि, मेरो फाइल नै नहेरी ४ नं कोठामा जानुस् भनेर पठायो । म ज्ञानी भएर उतै लागेँ ।  ४ नं कोठामा ३ जना कर्मचारी थिए, तिनै जना एउटै मोबाइलमा झुन्डिएका थिए । त्यहाँ पनि फेसबुकको भिडियोमा व्यस्त देखेँ । एक मनले उनीहरूलाई डिस्टर्व नगरूँ जस्तो लागेको थियो । डिस्टर्व नगरी सुखै थिएन । बल्लतल्ल एउटा कर्मचारीले मेरो फाइल समात्यो र हेरेझैँ गरेर दर्तामा जानुस् भन्यो ।  मैले भनेँ, दर्ताले यहाँ पठाएको हो, राम्रोसँग हेर्नुस् भनेपछि यो कागज पुगेको छैन भनेर फिर्ता पो दियो । अन्तमा, बिचौलियाको सहाराले त्यही दिन काम सम्पन्न भयो । नपुग कागज पनि चाहिएन । वडा कार्यालयमा गयो, त्यहाँको पारा पनि उस्तै । जिल्लामा म जस्तो सामाजिक अभियन्तालाई त बाल दिँदैनन् भने सर्वसाधारणलाई कस्तो व्यवहार गर्छन् होला भनेर निकै सोच्ने गरेको छु । त्यसैले, सम्झिदा दुःख लाग्छ, जनप्रतिनिधि अनि सरकारी कर्मचारीको पारा देखेर ।  अब काठमाडौँ महानगरपालिका जस्तै सबै निकाय तह तप्काले भएको कानुन र नियम सबैले सही तरिकाले पालना गरिदियो भने सबैलाई न्याय हुने थियो । लैङ्गिक हिंसा, बालविवाह, बालश्रम न्यूनीकरण गर्न ऐन कानुन बनेको छ । जबाफदेहिता, सुशासनदेखि बाल अधिकार, महिला अधिकार, दलित अधिकार, जनजाति सबैको न्यायको लागि नियम ऐन कानुन बनेको छ । अझ भन्ने हो भने आमाको नामबाट नागरिकता दिने भन्ने कानुन पनि बनिसकेको छ । तर, व्यवहारमा पो लागू भइरहेको छैन ।  छोरीले पनि छोरा सरह बराबर अंश पाइन्छ भनिए पनि व्यवहारमा निकै कम छ । अर्थात् परिवारले छोरीलाई अंश दिनै मान्दैन । त्यसको लागि मुद्दै लड्नुपर्ने देखिन्छ । जतिसुकै कानुन बने पनि सहज रूपमा कार्यान्वयन हुन सकिरहेको छैन । के नियम कानुन कार्यान्वयन गर्न बालेन जस्ता स्वतन्त्र जनप्रतिनिधि नै आउनु पर्छ त ?