मेवाराम चौधरी
नेपालको पूर्वी झापादेखि सुदूरपश्चिमको कंचनपुरसम्म तराईमा बसोबास गर्ने थारूहरूले आफ्नो उद्गम थलो दाङदेउखुरी जिल्लालाई मान्दछन्। देशभरमै सबैभन्दा सुन्दर दाङ उपत्यकालाई मानिन्छ। बस्ती विकासको शुरूवातमा दाङमा थारूहरूको निकै सघन बस्ती थियो भनेर थारू पूर्खाहरूले दाबी गरेको पाइन्छ।
मानव बस्तीको विकासक्रम, चेतना र विस्तार संगै हरेक व्यक्ति, परिवार तथा जाति समुदायहरू आफ्नो गुजारा, आत्मसम्मान र स्वाभिमानका खातिर अनेकन् प्रयास, मेहनत र संघर्ष गर्नु परेको इतिहास सबैसँग छ। फरक यतिमात्र होला, कुनै विस्थापित हुनबाट जोगिए भने कुनै परिवार र समुदाय आफू बसिरहेको ठाँटथलो छोड्न बाध्य भए अथवा बनाइए। इतिहास खोतल्ने क्रममा हरेक परिवार र जाति समुदाय यस्तै यस्तै घटनाक्रमबाट कुनै न कुनै रूपमा जोडिएको इतिहास छ।
हाम्रो परिवारको छारा कथा
झट्ट सुन्दा दन्त्य कथा जस्तो लाग्ने, कतै मिथ्या त होइन जस्तो पनि लाग्ने। तर यी सबै वास्तविकतामा आधारित हाम्रो पारिवारिक इतिहास हो। यहाँ एउटा विचारणीय कुरो के छ भने अन्य जाति समुदायको भन्दा थारू समुदायको इतिहास अलि पृथक नै देखिन्छ। उनीहरू माथि जुनसुकै शासन प्रणालीमा राज्यबाट वर्गीय भेदभावका वावजूद धेरथोर जातीय भेदभाव पनि गरेको पाइन्छ।
मेरा बाजेको साथ लागेर १०, ११ वर्षका मेरो बाबा जो अहिले ८७ वर्षको हुनुहुन्छ, दाङ छाडेर २००५ सालमा बसाई सर्ने क्रममा ७ दिनको पैदल यात्रा गरेर कैलालीको धनगढी आउनु भएको बताउनुहुन्छ। त्यस्तै म ७,८ बर्षको हुँदा बाबाको साथ लागेर कैलालीबाट २०२६ सालमा कञ्चनपुरको बेलौरी बसाइँ सरेका थियौं।
दाङबाट कैलालीको धनगढी (२००५)
हाम्रा पूर्वजहरू कहिले, कहाँबाट र कसरी दाङ आउनुभयो, यसबारे हाम्रो लागि खोजीको विषय छँदै हो। मेरा बाजेहरूको बसाइँ दाङको साविक डुरूवा गाउँ विकास समिति वडा नम्बर– ९ अन्तर्गत तथा हाल तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १४ ड्वाँङपुरमा रहेको थियो। हाम्रै परिवार मध्येका त्यहाँबाट बसाइँ सराई नगरेका कैयौँ परिवार अझै पनि दाङको त्यही गाउँमा हुनुहुन्छ।
परिवार संख्या बढ्दै जाने क्रममा अहिले आएर धेरै घरधुरी हुनु स्वभाविक हो। पहिलो पटक २०५३ सालमा म दाङ जाँदा ३६ घरधुरी रहेको पाएको थिएँ । त्यसको केही वर्षपछि मेरो बाबा आमाहरू जाँदा करिब ५५, ६० घरधुरी पुगेका रहेछन्। २०५३ सालमा गएको बेला हाम्रा गोट्यार (आफ्नै सहोदर गोत्र) त्यहाँ भेटिएकामध्ये अलि टाठाबाठा र उमेरका बूढापाकाहरूसंग बसेर हाम्रो परिवारको दाङ बसाइँ र वितेका कैयौँ विविध विषयहरूबारे जानकारी लिएको थिएँ। आजपनि बेलामौकामा मेरो बाबासंग पारिवारिक विगतबारे सोधपुछ चलिरहन्छ, छलफल हुन्छ।
लेखक मेवाराम चौधरी
कैलालीबाट कञ्चनपुरको बेलौरी (२०२६)
धनगढीबाट बसाइँ सरेर आउँदै गर्दाको परिदृश्य सम्झेर ल्याउँदा मेरो मानसपटलमा अझैपनि फिल्मको पर्दामा तस्वीरहरू नाचे झैँ झल्झली सम्झना आउँछ। कैलालीको बंगरा गाउँबाट हाम्रो घरायसी प्रयोजनका विभिन्न सामग्रीहरू बोकेर केही गाउँलेहरू काठे गाडामा हामीलाई बेलौरीसम्म पुर्याउन आउनु भएको थियो। त्यसबेला कञ्चनपुरमा पुनर्वास बस्ती बसेको थिएन। धनगढीबाट बेलौरीसम्म आइपुग्न ठूला सालका रूखले भरिएका दुईओटा घना जंगल लालझाडी र खोप्री (यदाकदा रानीवन पनि भन्ने गरेको सुनिन्थ्यो) थियो। धनगढीदेखि बेलौरीसम्म पुग्ने कुनै सडक थिएन। काठेगाडा हिँड्ने सांगुरो कच्ची लिक मात्रै थियो।
कैलाली र कञ्चनपुरको बीचमा सिमानाको रूपमा बग्ने मोहना नदी पार गर्ने बित्तिकै कञ्चनपुरको ठूलो लालझाडी जंगलमा हिँड्नु पर्थ्यो। लालझाडी जंगल पार गर्ने बित्तिकै रानाथारूहरूको मात्रै बसोबास रहेको जंगल किनार खल्लामा अवस्थित पच्कडिया गाउँमा पुगिन्थ्यो। त्यतिबेला पनि पच्कडियामा वन कार्यालय थियो।
हाम्रो बाजे दाङबाट बसाइँ सरेर आउनुको पछाडि सबैभन्दा ठूलो कारण त्यसबेलाको राणाकालीन सामन्ती प्रथा तथा जमिन्दारी प्रथा नै थियो। ड्वाँङपुरमा हाम्रो संयुक्त परिवारमा ८४ विगाहा दर्ता जग्गा थियो। तर तत्कालीन सामन्ती प्रथा अनुसार शासकले हाम्रो ड्वाँङपुर गाउँतिर तेघ्राको काजी मातहत जिम्मा लगाएको रहेछ। त्यस उसले बेलामौकामा काजीले हाम्रो गाउँमा आएर आफ्नो हैकम जमाउने गर्थ्यो। हाम्रो हजुरबुबाले तारन्तार काजीको थिचोमिचो सहेर बस्नु भन्दा आफ्नो भागको जग्गाको लोभ नगरी बुह्रान बसाइँ सर्ने निधो गर्नु भएको रहेछ। क्रमशः
प्रकाशित:
८९९ दिन अगाडि
|
९ चैत २०८०
७ दिन अगाडि
|
१५ भदौ २०८३
९ दिन अगाडि
|
१३ भदौ २०८३
९ दिन अगाडि
|
१३ भदौ २०८३
१४ दिन अगाडि
|
७ भदौ २०८३
२३ दिन अगाडि
|
२९ साउन २०८३
३५ दिन अगाडि
|
१८ साउन २०८३
३६ दिन अगाडि
|
१६ साउन २०८३
१४२७ दिन अगाडि
|
२५ असोज २०७९
१४६१ दिन अगाडि
|
२१ भदौ २०७९
१४७१ दिन अगाडि
|
१२ भदौ २०७९
१४२६ दिन अगाडि
|
२६ असोज २०७९
१३७५ दिन अगाडि
|
१५ मंसिर २०७९
१४३१ दिन अगाडि
|
२० असोज २०७९
१३६४ दिन अगाडि
|
२७ मंसिर २०७९