म नदी
२९२ दिन अगाडि
|
३ साउन २०८२
पेशल पोख्रेल
म खोला, म नदी
बग्नु, बगिरहनु मेरो धर्म
म थोपा, म जीवनरस
रसाउनु, भिजाइरहनु मेरो कर्तव्य ।
बाफ भन कि बादल
वृष्टि भन कि वर्षा
शुष्क–सुषुप्त तिम्रा आँत, अवयवहरूमा
छर्किदै छिटा, रसाउँदै–भिजाउँदै तिम्रा धमनी
तिमीलाई पखाल्ने, चोख्याउने र बचाउने पनि त म नै हुँ ।
म छु, र त तिम्रा आँखाले देखिरहेका छन् हरियाली
म छु, र त तिम्रा सपनाले भेटिरहेका छन् फैलिने आकाश
सुकेर बञ्जर बगर बन्नुअघि
डढेर फुस्रो खरानी बन्नुअघि
म आउँछु र फेरि सुम्सुम्याउँछु तिम्रो सेरोफेरो
म आउँछु र फेरि भिजाउँछु तिम्रो तन
म बाँड्छु रस
म छर्छु शीतलता र तिमीले भेट्छौ जीवनका इन्द्रेणी ।
यसरी,
तिम्रो र मेरो सहमतिजन्य सान्निध्यका निम्ति
तिम्रो र मेरो उल्लास, उन्नयनका निम्ति
मेरा साना शर्त छन् –
मलाई आफ्नै लयमा बर्सिन दिनू
आफ्नै गति र बाटोमा बग्न दिनू
नछेक्नू मेरो प्रवाह
नठड्याउनू अवरोध
नमिच्नू मैले भोगिआएका साँधसिमाना
नहेप्नू
नजिस्क्याउनू
खोल्नू कान, आँखा र बुझ्नू – प्रकृतिको लय
त्यसले अनवरत आफ्नै ताल ठोकिरहेको वेला
कहिले सङ्गीत निस्किएला, कहिले हुण्डरी
कहिले गीत सुनिएला, कहिले क्रन्दन
नाच्न, पङ्ख फिजाउन मन लाग्ला कहिलेकाहीँ
उफ्रिने, थच्चारिने रहर बौंरिएला यदाकदा
त्यसरी
म अलिकति बिभिण्डिएको वेला,
म अलिकति मात्तिएको वेला
नभन्नू बस्तीमा खोला पस्यो
राख्नू हात छातीमा
सम्झिनू हाम्रो सहमति
र, सोध्नू आफैंलाई – ‘बाटो पानीले बिरायो कि मैले ?’