काठमाडौंको वीर अस्पताल नर्सिङ क्याम्पसमा अध्ययनरत विद्यार्थी । तस्बिर : इलिट जोशी
नर्स भन्नेबित्तिकै दिमागमा झट्ट तस्बिर बनिहाल्छ– महिला स्वास्थ्यकर्मीको । तर, नेपालमा समेत पुरुष नर्सको इतिहास लामो छ । उत्पादन भने निराशाजनक ।
३६ वर्षअघि २०४३ सालमै त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान ९आईओएम० मा पुरुष नर्सिङ पढाइ सुरु भएको हो । २०४६ पछि भने पुरुषका लागि नर्सिङ अध्ययन बन्द भयो ।
काठमाडौंको वीर अस्पताल नर्सिङ क्याम्पसमा अध्ययनरत विद्यार्थी । तस्बिर स् इलिट जोशीरकान्तिपुर
अहिलेसम्म नर्सिङ परिषद्मा ७२ हजार ५ सय ५० जना नर्स, ३६ हजार ८ सय ५३ जना अनमी, ३१ जना मिडवाइफ तथा ८ सय ४८ जना विदेशी नर्स दर्ता भएका छन् । २०४३ देखि ०४६ सम्म अध्ययन गरेका ७२ पुरुष परिषद्मा दर्ता भएका छन् भने २०७५ यता १ सय २५ जना दर्ता भएको परिषद्की निमित्त रजिस्ट्रार शकुन्तला प्रजापतिले बताइन् । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् ९सीटीईभीटी० मा २०७५ यता नर्सिङ पढ्नका लागि २ सय १९ पुरुष भर्ना भएको तथ्यांक छ ।
अध्ययनमा मात्र होइन, पुरुष नर्स सेवामा पनि छन् । नर्सका रूपमा पुरुषको अध्ययन र सक्रियतालाई भने समाजमा आश्चर्यकै रूपमा हेरिन्छ । यद्यपि नर्सिङ पेसामा भविष्य उज्ज्वल देखेर अध्ययन गर्ने पुरुषको हौसला उदाहरणीय छ । पोखराका १९ वर्षीय सागर रानाभाटले एक दिन विद्यालयमा आफ्नै शिक्षकबाट सुनेका थिए– नर्सिङमा पुरुषहरूको पनि भविष्य राम्रो छ । एसईईपछि ‘ब्रिज कोर्स’ गर्दा कुन क्षेत्र रोज्ने अन्योल रहेका बेला उनले शिक्षकको भनाइ सम्झिए । र, नर्सिङ पढ्ने निधो गरे ।
‘नर्सिङ फिल्डमा केही नयाँ कुरा सिकिन्छ भनेर आएको हो । प्रयोगात्मक परीक्षामा सहभागी हुँदा कहिलेकाहीँ अप्ठ्यारो त महसुस हुन्छ तर एकदमै नयाँ अनुभव लिइरहेको छु,’ उनी भन्छन्, ‘निजी अस्पतालमा नर्सको अवस्था राम्रो छैन भनिन्छ । मिहिनेत गरेर पढिरहेको छु, हेरौं कतिको सफल हुन्छु ।’
उनले बुझ्दै गएका छन्– पुरुष नर्सको माग नेपालमा भन्दा विदेशमा बढी छ, सम्मान पनि उत्तिकै । सागरजस्तै ६ जना छात्र अहिले वीर अस्पताल नर्सिङ क्याम्पसमा पढिरहेका छन् । यसैमध्येका अर्का विद्यार्थी हुन्, जाजरकोटका १९ वर्षीय राजेश शाही । तेस्रो तथा अन्तिम वर्षका विद्यार्थी उनले हेल्थ असिस्टेन्ट ९एचए० पढ्न फाराम भरेका थिए तर नाम निस्किएन । मेडिकल लाइनमा जाने इच्छाशक्ति दबाउन नसकेपछि उनी विकल्प खोजिरहेका थिए । पुरुषहरूले पनि नर्सिङ पढ्न पाउँछन् भन्ने थाहा पाएपछि भर्ना भए ।
आफूले नर्सिङ पढिरहेको सुनाउँदा आफन्त वा साथीभाइले अस्वाभाविक प्रतिक्रिया दिन्छन् । छोरा मान्छेले पनि नर्सिङ किन पढेको होला भन्ने प्रश्नको सामना गर्नुपर्छ । ‘तर म ढुक्क छु, बिरामीको सेवा गर्न पुरुष वा महिला दुवैले सक्छन्,’ उनी भन्छन्, ‘कहिलेकाहीँ प्रयोगात्मक परीक्षामा जाँदा बिरामीहरूले सिस्टर भनेर पनि जिस्काउँछन्, रमाइलै भइरहेको छ ।’ पढाइ पूरा गरेर राम्रो जागिर पाए नेपालमै बसेर काम गर्ने, नभए विदेशको विकल्पबारे सोच्ने उनको योजना छ ।
जोरपाटीको शंकारापुर एकेडेमीबाट अध्ययन पूरा गरेर हालै लाइसेन्स प्राप्त गरेका नर्स हुन्, ३१ वर्षीय सरोज हजारी । २०६५ मा एसएलसी पास गरेका सर्लाहीका सरोजले विज्ञानमा स्नातक गरेका छन् । नर्सिङमा राम्रो भविष्य देखेपछि यता ‘सिफ्ट’ भएको उनले बताए । उनलाई नेपालमै रहेर सरकारी क्षेत्रमा काम गर्न रुचि छ, त्यसका लागि लोक सेवाको तयारी गरिरहेका छन् । ‘जसरी पनि नाम निकालेर यस क्षेत्रमा लाग्छु, मेरो लक्ष्य नै त्यही हो,’ उनी ढुक्क छन्, ‘नाम निस्किन्छ ।’
नेपालमा नर्सिङको पहिलो ब्याचका विद्यार्थी रत्न गुरागाईं हाल हेटौंडा नर्सिङ कलेजमा अध्यापकका रूपमा कार्यरत छन् । चेतना तथा तलब सुविधा कम भएकाले नर्सिङ पेसाप्रति पुरुषको आकर्षण कम रहेको उनको बुझाइ छ । ‘पुरुषहरूलाई नर्सिङ क्षेत्रको नेतृत्व तहमा ठाउँ दिइएको छैन, हामीले पनि वकालत गर्न नसकेको होला,’ उनले भने । नर्सलाई गरिने व्यवहार, ड्युटीका समयमा कार्यस्थलमा असहज होला कि भन्ने सोचाइले नर्सिङमा पुरुषको संख्या उल्लेखनीय नदेखिएको अनुभवीहरू बताउँछन् ।
हरेक क्षेत्रमा पुरुषको सहभागिता बढी नै छ तर नर्स यस्तो पेसा बन्यो, जहाँ पुरुषको संख्या एकदम कम छ । नेपाल मात्र होइन अन्य देशमा पनि नर्सिङ क्षेत्रमा महिलाकै बाहुल्य छ । ‘नर्सिङ’ महिलाले नै गर्ने हो भन्ने सोचाइले पनि धेरै जना पुरुष नर्सिङ पढ्न हच्किन्छन् । कार्यसम्पादन भने पुरुष र महिला जनशक्तिले उत्तिकै सहज रूपमा गरेका उदाहरण प्रशस्त छन् ।
प्रथम विश्वयुद्धमा पुरुष नर्सले अग्रपंक्तिमा रहेर सेवा गरे, घाइतेलाई मद्दत गरे । ‘युनाइटेड स्ट्टेस ब्युरो अफ लेबर स्ट्याटिस्टिक्स’ का अनुसार अमेरिकामा सन् १९६० मा २ प्रतिशत पुरुष नर्स रहेकामा २०२० सम्म आइपुग्दा करिब १२ प्रतिशत नर्स पुरुष छन् । यसले पनि विस्तारै पुरुष नर्सको संख्या बढिरहेको देखाउँछ । विश्व स्वास्थ्य संगठन ९डब्लूएचओ० को ‘स्टेट अफ द वर्ल्डस् नर्सिङ २०२०’ का अनुसार विश्वव्यापी आँकडा हेर्ने हो भने लगभग १० प्रतिशत पुरुष नर्स छन् ।
नेपालमा २०४३ सालमा आईओएममा पुरुष नर्सको अध्यापन सुरु भएको हो । चार ब्याचसम्म मात्र पढाइ भएर २०४६ सालमा बन्द भयो । त्यो समयसम्म नर्सिङमा ७२ जना पुरुष जनशक्ति उत्पादन भएका थिए । लैंगिक मूल प्रवाहीकरण गर्ने नीतिबमोजिम शैक्षिक सत्र २०७५र७६ देखि लागू हुने गरी नेपाल सरकारले नर्सिङ अध्ययनमा १५ प्रतिशत पुरुष सहभागी गराउने नीति लियो । सबै विश्वविद्यालय, प्रतिष्ठान तथा नर्सिङ शैक्षिक संस्थाहरूमा लागू हुने भनिएको थियो । यो नीति पूर्ण लागू नभए पनि नर्सिङमा आउने पुरुषको संख्या उत्साहजनक नै मान्नुपर्ने अध्यापकहरू बताउँछन् ।
२०७५ मा आएको चिकित्सा शिक्षा ऐनले नर्सिङ कलेज सञ्चालनका लागि अनिवार्य रूपमा एक सय शय्याको अस्पताल हुने व्यवस्था गरेको छ । अस्पताल बनाउन नसक्ने कलेजले विद्यार्थी भर्ना अनुमति पाएका छैनन् । सीटीईभीटीअन्तर्गत देशभर ११२ कलेज सञ्चालनमा थिए तर चिकित्सा शिक्षा ऐन आएपछि ३३ कलेजले मात्र विद्यार्थी भर्नाको अनुमति पाएका छन् ।
पुरुषले पनि ‘नर्सिङ’ अध्ययन गर्न पाउनुपर्छ भनेर वकालत गर्दै आएकी नेपाल नर्सिङ संघकी पूर्वअध्यक्ष तारा पोखरेल नेपालमा पुरुष नर्सको आवश्यकता टड्कारो देख्छिन् । लैंगिक समानताका लागि पनि पुरुष नर्स चाहिने उनको भनाइ छ । ‘कुनै पनि पेसालाई विस्तार गर्न महिला र पुरुष दुवैको आवश्यकता पर्छ, अझ इमर्जेन्सी तथा कुनै प्रकोपका बेला पुरुष नर्स बढी उपयोगी हुन सक्छन्,’ उनी भन्छिन् । नेपालमा अभाव हुन सक्ने भएकाले कुनै दिन विदेशबाट नर्स ल्याउनुपर्ने अवस्था आउने जोखिम पनि उनले देखेकी छन् । ‘यहाँ न नर्सको अभाव हुन लागिसक्यो । बिरामी र नर्सको अनुपात मिलेकै छैन । नर्सिङ कलेज बन्द हुन लागिसके, तर सरकार भने नर्सलाई विदेश लग्न खोज्दै छ,’ उनले भनिन् ।
पोखरेलले भनेझैं पाँच लाखभन्दा बढी खर्चेर पढेका विद्यार्थीले उचित तलब सुविधामा काम गर्ने अवसर पाएका छैनन् । पढेकाले जागिर नपाउने, पाए पनि कम तलबमा सम्झौता गर्नुपर्ने अवस्थाले नेपालमा नर्सिङ पेसाकर्मीको अवस्था नाजुक देखिन्छ । तर, विदेशमा राम्रो अवसर हुने भएकाले नर्सिङ अध्ययनप्रति आकर्षण भने बढेको छ । शून्य लागतमा नेपाली नर्स लैजान बेलायत र नेपाल सरकारबीच भर्खरै मात्र सम्झौता भएको छ । सम्झौताअनुसार नेपाली नर्सले बेलायती नर्ससरह सेवासुविधा पाउनेछन् ।
नेपाल नर्सिङ संघका वरिष्ठ उपाध्यक्ष तथा चितवन मेडिकल कलेज स्कुल अफ नर्सिङको मानसिक विभाग प्रमुख रमेश सुब्बा भने नेपालमा पुरुष नर्सको अवस्था सुधारोन्मुख नै देख्छन् । उनका अनुसार नेपालमा पुरुष नर्स प्राध्यापक, नर्सिङ निरीक्षक, एनेस्थेसिया नर्स, पब्लिक हेल्थ जनशक्तिका रूपमा कार्यरत छन् । ‘नर्सिङ भनेको छोरीको मात्र पेसा भनेर सम्झिनुभएन । यहाँ नेतृत्व र सोचको अभाव छ । नर्सिङ क्षेत्रलाई सुधार्ने विषयमा सोचिएको छैन,’ उनी भन्छन्, ‘त्यसैले पनि सोचेजस्तो पुरुष जनशक्ति उत्पादन भएका छैनन् । तर, यसमा भविष्य राम्रो छ ।’
सेती प्रादेशिक अस्पताल धनगढीमा अस्पताल नर्सिङ निरीक्षकका रूपमा कार्यरत शेरबहादुर महतारा नर्सिङ भनेको महिलाको मात्र पेसा हो भन्ने धारणा बदलिँदै गएको बताउँछन् । नर्सिङ पढाइको पहिलो ब्याचका विद्यार्थी उनी भन्छन्, ‘महिला र पुरुषको सहभागिता सबै ठाउँमा समानुपातिक भयो भने सहकार्य सहज हुन्छ, जनशक्ति बढाउन पनि नेपालमा पुरुष नर्स अपरिहार्य देखिन्छ ।’
सबै पेसामा महिलालाई ३३ प्रतिशत आरक्षण चाहिन्छ भनिन्छ तर यो मात्र एउटा पेसा होला जसमा महिलाको संख्या अधिक छ । कतिपय पेसाकर्मीले पुरुष नर्सप्रति विभेद हुने गरेको बताए पनि नेपाल नर्सिङ परिषद्की अध्यक्ष सरला केसी त्यस्तो ठान्दिनन् । ‘पहिलेदेखि नै नर्सिङ पेसा महिलामुखी भन्ने बुझाइका कारण पनि यो यसमा पुरुषको आकर्षण कम भएको त हो, त्यसैले महिलाको संख्या बढी भए पनि पुरुषमाथि विभेद छैन, बरु विभेद महिलामाथि नै हुन्छ,’ उनी भन्छिन् ।
बेलायतमा स्वास्थ्यसम्बन्धी परियोजनामा १२ वर्षदेखि काम गर्दै आइरहेका नर्स विनोदविकास सिम्खडा पनि नर्सिङलाई महिलाको मात्र पेसा भन्ने मान्यताबाट बाहिर आउनुपर्ने बताउँछन् । ‘म पुरुष नर्स भनेर सगर्व चिनिएको छु । किनकि पुरुष नर्सका लागि पनि राम्रो अवसर छ,’ भन्छन्, ‘विदेशमा धेरै नेपाली पुरुष नर्स काम गरिरहेका छन्, नेपालमा भने मौका नदिएर संख्या बढ्न नसकेको हो ।’
त्यसो त महिला सशक्तीकरण वा आरक्षणको पाटो एकातिर भए पनि कुनै पेसा व्यवसायलाई लैंगिक रूपमा हेरिनुहुन्न, बरु यसमा ज्ञान, लगन र सीप महत्त्वपूर्ण हुन्छ । ‘यो पेसामा भविष्य छ भनेर प्रोत्साहन गर्नुपर्छ, लैंगिक रुढि तोड्न जरुरी छ,’ सिम्खडा भन्छन्, ‘ढिलै भए पनि पुरुषका लागि पनि नर्सिङ पढाइ खुला भएको छ । नेपालमा विस्तारै परिवर्तन देखिँदै छ, यो सुखद हो ।’ कान्तिपुरबाट
प्रकाशित:
१४४४ दिन अगाडि
|
६ असोज २०७९
५ दिन अगाडि
|
१५ भदौ २०८३
७ दिन अगाडि
|
१३ भदौ २०८३
७ दिन अगाडि
|
१३ भदौ २०८३
१३ दिन अगाडि
|
७ भदौ २०८३
२२ दिन अगाडि
|
२९ साउन २०८३
३३ दिन अगाडि
|
१८ साउन २०८३
३५ दिन अगाडि
|
१६ साउन २०८३
१४२५ दिन अगाडि
|
२५ असोज २०७९
१४६० दिन अगाडि
|
२१ भदौ २०७९
१४६९ दिन अगाडि
|
१२ भदौ २०७९
१४२४ दिन अगाडि
|
२६ असोज २०७९
१३७४ दिन अगाडि
|
१५ मंसिर २०७९
१४३० दिन अगाडि
|
२० असोज २०७९
१३६२ दिन अगाडि
|
२७ मंसिर २०७९