नाउपा सुदूरपश्चिम सरकारमा जान सहमत, के के भयो सहमति  ?

नाउपा सुदूरपश्चिम सरकारमा जान सहमत, के के भयो सहमति  ?

११३३ दिन अगाडि

|

१६ साउन २०८०

 प्राज्ञहरूको भेला सम्पन्नः १० बुँदे प्रज्ञा पोखरा घोषणा पत्र जारी 

 प्राज्ञहरूको भेला सम्पन्नः १० बुँदे प्रज्ञा पोखरा घोषणा पत्र जारी 

११३३ दिन अगाडि

|

१६ साउन २०८०

भाषा, साहित्य ,संस्कृति र कला क्षेत्रका समस्याहरूको  निरूपण गर्ने उद्देश्यले गण्डकी प्रज्ञा प्रतिष्ठानको आयोजनामा नेपालका प्रज्ञा प्रतिष्ठानहरु बीच एकदिवसीय अन्तरक्रिया पोखरामा सम्पन्न भएको  छ ।  भेलामा नेपाल प्रज्ञा प्रतिष्ठान, ललितकला प्रज्ञा प्रतिष्ठान, सङ्गीत तथा नाट्य प्रज्ञाप्रतिष्ठान,गण्डकी प्रज्ञा(प्रतिष्ठान, सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान  र गण्डकी प्रज्ञा प्रतिष्ठानको सहभागिता रहेको थियो । भेलाले १० बुँदे प्रज्ञा पोखरा घोषणापत्र २०८०   जारी गरेको छ ।    प्रज्ञा पोखरा घोषणापत्र पूर्ण पाठ १. सबैभन्दा महत्त्वपूर्ण विषयका रूपमा रहेको प्राज्ञिक क्षेत्र (सांस्कृतिक सत्ता) को मर्यादालाई राजनीतिक तथा प्रशासनिक क्षेत्रले नजरअन्दाज गरेको देखिन्छ । सांस्कृतिक सत्ता नै सबै क्षेत्रको प्रमुख र आधारभूत अङ्ग हो । यसैले सांस्कृतिक क्षेत्रसँग जोडिएको प्राज्ञिक मर्यादासँग देशकै मर्यादा जोडिएको हुन्छ भन्ने कुरा बुझ्न आवश्यक छ र प्राज्ञिक क्षेत्रलाई राज्यले हेर्ने अहिलेको दृष्टिकोण बदल्न आवश्यक छ । हाल प्रचलनमा रहेको गृह मन्त्रालयबाट जारी मर्यादाक्रम, (२०७६) मा प्रज्ञा–प्रतिष्‍ठानहरूका कुलपति तथा उपकुलपतिको मर्यादाक्रम प्रज्ञा–प्रतिष्ठान ऐन, नियमावली तथा अन्य प्रचलित कानुनअनुसार छैन भने प्राज्ञहरूको मर्यादाक्रम स्पष्ट छैन । त्यसैले प्राज्ञिक गरिमा कायम हुनेगरी मर्यादाक्रम निर्धारण गरिनुपर्छ । सबै तहका कुलपति, उपकुलपति तथा प्राज्ञहरूको मर्यादाक्रम राज्यका अन्य निकायहरूको सोपान व्यवस्थाअनुसार कायम हुनुपर्दछ । २. हालसम्म पनि संस्कृति (भाषा, साहित्य, ललितकला, सङ्गीत नाट्य) नीति स्पष्ट छैन । नेपाली जनताको लामो सङ्घर्ष, त्याग र बलिदानबाट स्थापित परिवर्तनको मर्मलाई आत्मसात् गरी संस्कृति नीति बनाउनुपर्ने । ३. देशको विविधता, मौलिकता र सामाजिक–राजनीतिक परिवर्तनको मर्म र सौन्दर्यलाई आत्मसात् गरी नेपालका सबै भाषा, संस्कृति, कला, सङ्गीत, दर्शन, रैथाने ज्ञान, सीपको सैद्धान्ती करण सहित तिनको संरक्षण, संवर्द्धन र विकासमा जोड दिँदै प्राज्ञिक निकायको पुनर्संरचनामा जोड दिने । ४. परिवर्तित सन्दर्भमा प्रदेश र स्थानीय तहमा पनि प्राज्ञिक संरचना (प्रतिष्ठान, समिति, परिषद् आदि) बनेका र बन्ने क्रममा छन् । संविधानले प्रदत्त गरेका अधिकारको उपयोग गर्दै प्रदेश तथा स्थानीय तहमा प्राज्ञिक संरचनाहरू बनाउनु स्वाभाविक र खुसीको कुरा पनि हो । प्रदेश र स्थानीय तहका प्राज्ञिक संरचनाहरूको संरचनात्मक ढाँचा, मर्यादाक्रम, सेवा, सुविधामा एकरूपता नहुँदा अनेक किसिमका जटिलता सिर्जना हुने देखिन्छ । त्यसैले, सम्भव भएसम्म प्रदेश तथा स्थानीय तहका सबै प्राज्ञिक संरचनाहरूका बिचमा एकरूपता कायम गराउन पहल गर्ने । ५. प्रज्ञा–प्रतिष्ठानहरुलाई प्राप्त बजेट अत्यन्तै न्यून र अपर्याप्त छ भने भौतिक संरचनाको अभाव रहेको छ । त्यसैले, अनुसन्धान, सिर्जना, प्रकाशन लगायतका प्राज्ञिक कार्य गर्नका लागि यथोचित बजेटको व्यवस्थाका साथै आवश्यक भौतिक संरचना निर्माण गर्नका लागि सरकारले ध्यान दिनुपर्दछ । ६. स्रष्टाहरूको औषधी  उपचारका लागि राज्यले विशेष व्यवस्था गर्ने । स्रष्टाहरूको स्वास्थ्योपचारका लागि केन्द्र, प्रदेश तथा स्थानीय तहमा अक्षयकोष निर्माणका लागि सम्बन्धित सरकारसमक्ष आग्रह गर्ने । ७. स्रष्टा परिचयपत्रलाई व्यवस्थित गर्दै एकरूपता कायम गर्ने । ८. केन्द्र, प्रदेश तथा स्थानीय तहका प्राज्ञिक निकाय बिचको सम्बन्ध सेतुका आधारहरू निर्माण गर्दै सहकार्य गर्ने । ९. संस्कृति, ललितकला, साहित्य, सङ्गीतसँग सम्बन्धित कच्चा पदार्थ∕सामग्री, कलाकृति, पुस्तकहरूको बिक्री, वितरणमा भन्सार तथा अन्य कानुनी प्रावधानका कारण विभिन्न किसिमका समस्या र झन्झट बेहोर्नु परेको छ । अनावश्यक प्रक्रियागत झन्झट हटाउनु पर्ने । १०. भाषा, साहित्य, ललितकला, नाट्य, सङ्गीत, दर्शन आदि क्षेत्रमा विद्यमान मौलिक तथा रैथाने ज्ञान परम्परालाई विद्यालय तथा विश्वविद्यालयका पाठ्यक्रममा समावेश गर्ने । यस्ता पाठ्यक्रमहरू निर्माण गर्दा विश्वविद्यालय तथा पाठ्यक्रम विकास केन्द्रहरूले प्रज्ञा–प्रतिष्ठानहरूसँग समन्वय गर्नुपर्ने ।  

यी बहादुर थारूहरूः जसले बाघलाई पछारे 

यी बहादुर थारूहरूः जसले बाघलाई पछारे 

११३४ दिन अगाडि

|

१५ साउन २०८०

                                                                                                                                                     दुर्गा चौधरी कैलालीको भजनी नगरपालिका ९, डोङपुर गाउँका ६७ वर्षीय बुधराम डंगौरा थारुले आफ्नो घरको भित्तामा मान्छे र बाघको लडाइँ भइरहेको अवस्थाको कलाकृति कोर्न लगाएका छन् । आफू दुई डमरुसहितको बघिनीसँग लडेर जितेपछि यस्तो चित्र कोर्न लगाएको उनी बताउँछन् । २०५७ साउन १५ गते, सदाझैँ बुधराम बरका बनुवा  अर्थात् बसन्ता वन क्षेत्रमा बंगुर चराउन गएका थिए । त्यतिबेला उनले ८० भन्दा बढी बंगुरपालन गरेका थिए ।  त्यस दिन उनीसँग अरु केही साथी पनि थिए । उनका साथीहरू सोनियाताल छेउमा भेटिएको च्याउको तरकारी जंगलमै पकाइरहेका थिए । बुधराम केही साथी लिएर च्याउ खोज्न जंगल पसे । च्याउ खोज्दै गर्दा उनले नजिकै दुईवटा डमरुसहितको पाटे बघिनी देखे । उनीसँग गएका साथी रूखमा चढिसकेका थिए । उनले भने के गर्ने भनेर सोच्नै भ्याएका थिएनन् । बघिनी दौडँदै उनीतर्फ आयो । उनले छेउमा राखेको बन्चरो समाउन नपाउँदै बाघले झम्टिहाल्यो ।  बाघको पन्जा बुधरामको शरीरमा थियो । उनले बाघको दुवै कान समाउन भ्याइहाले । राति पानी परेकाले तालछेउमा घुँडासम्म पानी थियो । त्यो बेला गाउँकै बलियो मान्छे थिए बुधराम । उनले बाघको कानमा समाए । बाघले उनको शरीरभरि घाउ नै घाउ पारिसकेको थियो । ‘तैपनि मैले हार मानिनँ । मैले चिच्याएँ — तँ मलाई मार्छस् भने म पनि तँलाई मार्छु । एक हातले बाघको कान समातेँ, अर्को हातले बाघको मुखमा मुड्की बजार्न थालेँ,’ उनी भन्छन्, ‘कसोकसो बाघलाई पानीमा चोपल्न पनि भ्याएँ । केहीबेर पानीमा चोपेपछि बाघ थाक्यो । थाकेको महसुस गरेपछि छोडिदिएँ ।’                                                                                                                                               बुधराम डंगौरा थारु त्यतिबेला सँगै रहेका कन्हैया चौधरी बुधरामको साहसको प्रशंसा गर्छन् । ‘बाघलाई देखेपछि म त रुख चढिहालेँ,’ उनी भन्छन्, ‘केही गर्न सकिनँ तर साथीले साहसपूर्वक बाघसँग लड्यो र जित्यो ।’  बाघको मुखमा बोरा  धान रोपाइँ सकिएपछि कैलालीको कैलारी गाउँपालिका ८, लोहरपुरका ६० वर्षीय लौटन डंगौरा थारुको दिनचर्या नजिकैको वनमा गएर च्याउ खोज्नु हुन्थ्यो । २०५९ असोज २४ गते, उनी गाउँकै साथी फागुराम चौधरीलाई लिएर वनमा च्याउ खोज्न निस्केका थिए । च्याउ टिप्दै जाँदा उनी वनको बीच भागसम्म पुगे ।  घर फर्कंदै गर्दा उनले बँदेल खेलेको स्थान भेटे । त्यहाँ पुग्नेबित्तिकै उनलाई बाघले झम्टन पुग्यो । ‘एकैचोटि पन्जाले हानेर बाघले मेरो टाउको र घाँटीको छाला निकालिदियो । बाघ मदेखि दुई हात बराबरको दूरीमा थियो । मैले हत्तपत्त च्याउ राख्ने बोरा बाघको मुखमा कोचिदिएँ,’ उनी भन्छन्, ‘दाँतमा बोरा अड्किएपछि बाघ पर हट्यो । त्यसपछि म रूख चढेँ ।  रातभरि त्यो बाघ रुखमुनि आएर बस्यो । अर्को दिन मात्रै मलाई गाउँलेले उद्धार गरे र उपचारका लागि नजिकैको बसौटी स्वास्थ्य चौकीमा लिएर गए ।’ बाघको पन्जा लागेर उनको अनुहारको हड्डी भाँचिएको छ । अनुहारमा ठूलो दाग अहिले पनि छ ।                                                                                                                                                  लौटन डंगौरा थारु हँसिया राख्ने कट्टाले मुखमा हिर्काइदिएँ कैलारी गाउँपालिका ६, बेनौलीका परशुराम डंगौरा थारु २०५८ सालताका वनमा च्याउ खोज्न गएका थिए । साथीहरूभन्दा उनी अलि पर थिए । केही पर उनले बँदेल कराएजस्तो सुने ।  ‘एकैछिनमा त मेरो अगाडिबाट उफ्रिएर बाघ गयो । अनि तुरुन्तै मतिर फर्कियो । यस्तो बेला भाग्नु हुन्न भन्ने मलाई थाहा थियो, म भागिनँ,’ उनी भन्छन्, ‘बाघ मेरो अगाडि मुख आँ गर्दै आयो । हँसिया राख्ने कट्टाले मुखमा हिर्काइदिएँ,  बाघ भाग्यो ।’ कैलारी गाउँपालिका ८, दुधियाका ३१ वर्षीय दुर्गा चौधरी कालको मुखबाट फर्किएको बताउँछन् । २०७७ माघ ३० गते उनी बिहेका लागि आवश्यक पात टिप्न गाउँ नजिकैको सामुदायिक वनमा गएका थिए । सो क्रममा उनलाई पछाडिबाट बाघले आक्रमण गर्‍यो ।  ‘पछाडिबाट आक्रमण गरेपछि दुईपटक यताउति मलाई घिसार्‍यो । तेस्रोपटक घिसार्न लाग्दा म लौरो लिएर बाघतिर फर्किएँ, तैपनि बाघले मलाई झम्टन खोजिरहेको थियो । गाउँलेहरू आएर होहल्ला गरेपछि मात्रै भाग्यो ।’ दुर्गाको पिठ्युँमा बाघको पन्जाको निसान रहेको छ ।                                                                                                                                              परशुराम डंगौरा थारु बाघको पुस्तैनी वासस्थान कैलालीको बरका बनुवाको नामले चिनिने बसन्ता जैविक मार्ग, राजघाट, अण्डैया, तालबन्द, डुडेझारी, बारावन र फल्ले बिसौनी क्षेत्र बाघको पुस्तैनी वासस्थान रहेको बताइन्छ । राष्ट्रिय प्रकृति संरक्षण पुरस्कारबाट पुरस्कृत संरक्षणकर्मी विजयराज श्रेष्ठ कैलालीको जंगलमा बाघ धेरै पहिलेदेखि रहेको बताउँछन् । ‘समय–समयमा बाघ र मानवबीचको लडाइँले वर्षौंदेखि कैलालीमा बाघ रहेको पुष्टि गर्छ,’ श्रेष्ठले भने, ‘बाघहरू बाहिरबाट आएको नभई कैलालीकै हुन् । हामीले त वर्षौंदेखि कैलालीमा बाघ छ भन्दै आएका थियौँ, तर कसैले पत्याएका थिएनन् ।’ बाघबाट हुने क्षति न्यूनीकरणका लागि मानिसले नै संवेदनशीलताका साथ सचेतता अपनाउनुपर्ने उनको  भनाइ छ ।  रातोपाटीबाट

नागरिक उन्मुक्ति र नेपाल सद्भावना पार्टीबीच एकीकरण

नागरिक उन्मुक्ति र नेपाल सद्भावना पार्टीबीच एकीकरण

११३४ दिन अगाडि

|

१४ साउन २०८०

नागरिक उन्मुक्ति पार्टी र नेपाल सद्भावना पार्टीबीच एकीकरण भएको छ ।  आइतबार जनकपुरधाममा एक समारोहबीच दुवै पार्टीका वरिष्ठ नेताहरुले एकीकरण भएको घोषणा गरेका हुन् ।  एकीकरण कार्यक्रमलाई सम्बोधन गर्दै नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले मधेसवादी दलहरुले आफूसँग धोखाधडी गरेको आरोप लगाए । उनले जनकपुर जान नदिनका लागि मधेसवादी नेताहरुले प्रतिबन्ध लगाउने निर्देशन पार्टी कार्यकर्तालाई दिएको आरोप लगाए ।  चौधरीले आफू साढे ८ वर्षसम्म जेलमा मधेसको आन्दोलनका लागि लड्दा बस्नुपरेको बताए ।   एकीकरण कार्यक्रममा नेपाल सद्भावना पार्टीका महासचिव राजेन्द्र चौधरी र नागरिक उन्मुक्ति पार्टीका लक्ष्मण थारु लगायत दुवै पार्टीका केन्द्रीय, प्रादेशिक र जिल्लास्तरीय नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

मनाङको त्यो टोपी खस्ने उकालो

मनाङको त्यो टोपी खस्ने उकालो

११३६ दिन अगाडि

|

१३ साउन २०८०

मोतीराम चौधरी ‘रत्न’ मनाङ भन्ने बित्तिकै जो कोहीलाई झट्ट सम्झना आउँछ– हिमाल पारीको देश भनेर । तराईको मान्छे यो पङ्क्तिकारलाई हिमाल पारीको देश घुम्ने हुटहुटी थियो ।  त्यो इच्छा नेवार भाषा सर्वेक्षण यात्राले जुराइ दियो । हामी काठमाडौँबाट सर्वेक्षणको यात्रामा थियौँ । काठमाडौँबाट गोर्खा, मनाङ, मुस्ताङ, जुम्ला हुँदै आफ्नो गृह जिल्ला कैलाली पुग्ने योजना थियो ।  काठमाडौँबाट नाइट बस चढी गोर्खातिर लागियो । मनकामना पुग्दा केबलकार चढ्नेहरू हुलका हुल देखिन्थे । केबलकारले मेरो पनि मन लोभ्यायो । एक मन त बसबाट ओर्लेर केबलकार चढी हाल भन्दै थियो।  तर, बसबाटै एक दुइटा फोटो खिचेर मन शान्त गरियो । अर्को यात्रामा आउँछु है भन्दै चित्त बुझाइयो । साँझतिर गोर्खा पुगियो ।  हामी गोर्खा पुगेर भाषा सर्वेक्षणको काम ठाँटी राखी गोर्खा दरबार घुम्नमा व्यस्त भयौँ । गोर्खा दरबारको शिल्पकला देखेर काठमा बुट्टा कुँद्ने कालीगढको कलालाई ‘वाह’ भन्न कर लाग्यो । दरबारबाट देखिने चाँदीको घेराजस्तो उत्तरतिरको हिमाली शृङ्खला देखेर मनमुग्ध भइयो ।  संसारको पाँचै अग्लो हिमाल मनास्लु यही भेकमा पर्छ । यहाँबाट धवलागिरिदेखि गणेश हिमालसम्मको मनमोहक दृश्य देखिन्छ । यस्तै, घना जंगल तथा हरिया पहाड, हिमालदेखि कलकल गर्दै बग्ने नदीनाला, सम्म मैदान र फाँटहरू, शीतोष्ण हावापानी, शान्त वातावरण आदिले यहाँ आउने जो कोहीको पनि मन छुन्छ । गोर्खा र लमजुङको सिमानामा रहेको छ दूधपोखरी । यही पोखरीबाट निस्केको पानी आज चेपे नदी बनी गोर्खा र लमजुङ जिल्लाको सिमाना छुट्याउँछ । नारद पोखरीबाट निकास भई गोर्खाको बीच भागबाट दरौदी नदी बगेको छ, जसलाई धर्मनदी पनि भनिन्छ । यसैको तिरैतिर गयौं हामी ।  बाटोमा लोभलाग्दो रूपमा फ्राई गरेर बेच्न राखेको माछा देख्दा भोक जाग्यो । बस रोकिने बित्तिकै माछाको स्वाद लिन बसबाट ओर्लियौ ।  भाषाको सर्वेक्षणको लागि नयाँ साँघु भन्ने ठाउँमा पुग्नुपर्ने थियो । लोकल बसमा चढ्यौ तर यात्रुको चापले बस खचाखच थियो । साँझ पर्दै थियो, सबैलाई जानै पर्ने थियो । कोचाकोचमा हामी जसोतसो गन्तव्यमा पुग्यौ । गोर्खाको बारपाक पुग्ने धोको चाहिँ यसपालि पूरा हुन सकेन । त्यो राती हामी पोखरामा साथी प्रकाश भट्टको डेरामा एक रात कटायौ । पोखराबाट एकाबिहानै बस चढेर मनाङतिर लाग्यौ । मनाङको नामको अर्थ खोज्दा मनाङ शब्द तिब्बती भाषाको ‘म्हनाङ’ शब्दबाट अपभ्रंश भएर आएको पाइयो । तिब्वती भाषामा ‘म्ह’को अर्थ सहायता र ‘नाङ’को अर्थ देउ भन्ने हुँदो रहेछ । अर्थात् विकट भौगोलिक परिवेशमा रहेको र बाह्य सहायता बिना अति कष्टकर हिमाली जीवनशैली रहेको भन्ने अर्थमा बुझ्नुपर्ने हुन्छ ।  लामो बसको यात्रापछि बेशीशहर पुगियौ । त्यहाँबाट ठुलो बस मनाङ नजाँदो रहेछ । त्यसैले, धारापानीमा बस्ने एक जना दाइ क्षेत्रबहादुर गुरुङको सम्पर्कमा एउटा सानो गाडी हाम्रो प्रतीक्षामा घण्टौँ पर्खिरहेको थियो । हामी लगभग ३ बजे पुग्यो र नास्ता खाएजस्तो गरेर गाडीमा बस्यौ ।  पछाडि सामान लोड गरेको बोलेरो गाडीमा ड्राइभरलगायत हामी ७ जना थियौँ । सुरुमा यात्रा रमाइलो थियो । मर्स्याङ्दी नदीको तिरैतिर जाँदा विभिन्न छाँगाछहराबाट कलकल पानी बगेको देख्दा मनै खुसी हुन्थ्यो । एक ठाउँमा निकै आकर्षक छाँगा देखियो । त्यहाँ खाजा, नास्ता पनि पाइने भएकाले गाडी रोक्यौँ । अनि, झरनाको फोटो आआफ्नो मोबाइलमा कैद गर्न थाल्यौ ।  त्यहाँ इन्टरनेटको नेटवर्क राम्रो थियो । त्यसैले, कैलालीमा रहेकी आफ्नो जीवन संगिनीलाई भिडियो कलबाट त्यो मनोहर दृश्य देखाएर खुसीयाली साटेँ । लोभलाग्दो दृश्य देखेपछि अर्कोपल्ट त्यो ठाउँ म पनि जाने है भन्दै लाडिइन् । हुन्छ त भनियो । तर आफू नै यो ठाउँ पुनः आउने टुङ्गो छैन । मेरो मनको कुरा छेउमा बगिरहेको मर्स्याङ्दी नदीको सुसाईमै बिलायो ।  हामी फेरि यात्रा सुरु गर्‍यौँ । चिसो अलिअलि बढ्दै थियो । सुरुमा झ्यालतिर फोटो खिच्न बसेको एक जना साथी एकाएक डर मान्न थाले । उनले सँगै बसेको दिदीसँग सिट साटे । किनकि झ्यालबाट बाहिर हेर्दा मन सिरिङ्ग हुने मर्स्याङ्दीको गहिरो खोँच देखिन्थ्यो ।  अर्कोतिर बाटो एकदमै साँगुरो, अर्कोतिरबाट गाडी आयो कि गाडी ब्याक गरी साइड दिनुपर्ने । बीच बीचमा ड्राइभरले ठाउँ इंगित गर्दै यो ठाउँमा पहिरो आउँदा गाडीसमेत मर्स्याङ्दी नदीले निल्यो भनेर अझ डरका मात्रा बढाइरहेका थिए । त्यसैले, बाँचेर सकुशल गइन्छ कि यही मर्स्याङ्दी नदीमै जीवन विलीन हुन्छ जस्तो लाग्थ्यो । बल्ल तल्ल हामी राती ११ बजे धारापानी पुग्यौ । गुरुङ साथी त्यहाँ पर्खिरहेका थिए । चियाले स्वागत गरे । को कसरी, कहाँ कहाँ जाने भनेर उनले सबै बेलीबिस्तार लाए ।  हामीले सोचेका थियौ, अब त गन्तव्यमा पुगियो । तर, गुरुङ साथीको बेलीबिस्तारले थाहा भयो, हाम्रो यात्रा त अझै धेरै बाँकी पो रहेछ । हामी त भर्खर मनाङको अलिकति मात्र भित्र आएका रहेछौँ । फेरि अर्को गाडी खोज्नुपर्ने भयो । उहाँले धेरै गाडी रोक्नुभयो तर बेशीशहरबाट माथि आउने सबै गाडी भरिएको थियो । रात छिप्पिँदै थियो । चिसो बढ्दै थियो । अन्ततः गाडी नपाइएपछि त्यही बस्ने निर्णय भयो ।  मर्स्याङ्दी नदीको ढिकमै सानो घर थियो, बास बसेको ठाउँ । नदी सुसाएको कोठासम्मै आवाज आउँथ्यो । सिमसिमे पानी पर्न सुरु गरेको थियो। हामीले बाटोमा धेरै घर बगाएको दृश्य देखेका थियौ । त्यसैले, डरले मनमा चिसो पसेको थियो । तर, दिनभरिको थकानले निद्रादेवीको काखमा मस्तराम भयौँ ।  अर्को बिहान हामी ९ बजेतिर पो उठ्यौँ । उठ्दा नास्ता तयार भैसकेको थियो । नास्तापछि गाडी खोजियो तर कुनै गाडी पाइएन । अन्तिममा कुनै विकल्प नभएर हिँडेर जाने निर्णय गरियो । साथीले पनि २र३ घण्टा मात्र लाग्छ, रमाइलो पनि हुन्छ । हिँडेर जानुस् भनेर बाटोको नक्सा बनाइ दिएर बिदाइ गर्नुभयो ।  बाटोको लागि केही खानेकुरा, पानी बोकेर हामीले पैदलै यात्रा सुरु गर्‍यौँ । सुरुमा त रमाइलो भयो। बीच बीचमा फोटो खिच्दै, गफिँदै रमाइलो लागिरहेको थियो । तर लास्टै उकालोले हलुंगो झोला बिस्तारै गह्रौ हुन थाल्यो ।  बाटोमा आक्कल झुक्कल घर, पसल देखिन्थ्यो । लामो हिँडाइपछि एउटा सानो होटल देखियो । थकाई मार्न र नास्ता गर्न पस्यौँ । होटल मालिकलाई जाने ठाउँबारे सोध्यो । उनले त अझै २र३ घन्टा लाग्छ पो भने । हामीलाई अचम्म लाग्यो, जबकि हामी २ घन्टा हिँडेर यहाँसम्म आइपुगेका थियौँ ।  नास्तापछि तुरुन्तै यात्रा सुरु गर्‍यौँ । हिँडाईको स्पीड बढायौं । तर, झन् झन् उकालो बाटो पो आउन थाल्यो । उकालोमा आफ्नै झोला भारी भैरहेको थियो । म पुरै थाकिसकेको थिए । साथीहरू हिँडौँ हिँडौँ भन्दै अगाडि बढ्दै थिए ।  मेरो बोतलको पानी सकिन आँटेको थियो । त्यसैले, घाँटी मात्रै भिजाएर जोगाएर राखे । बाटो ठाह्रै उकालो मात्रै होइन, ठाउँ ठाउँमा निकै घुमाउरो पनि थियो ।  साथीहरू अगाडि बढे पनि म भने एकछिन थकाई  मार्न बसेँ ।   उकालोले न माथि चढ्न सकिन्छ, न तल झर्न । यहाँबाट अब घर फर्किन सकिन्छ कि सकिन्न । किन यस्तो ठाउँमा आइयो । मनमा निराशा छायो । मनमा नाना थरिका कुरा खेल्न थाल्यो । सुनसान साँगुरो बाटो, केही गरी लडियो भने साथीहरूले मेरो हाडखोर पनि भेट्ने छैनन् भन्ने विचार मनमा आउँदा पनि जिउ सिरिंग भयो । उता, साथीहरू माथिबाट आवाज दिइरहेका थिए । म बोल्न पनि सकिरहेको थिइनँ । अनायास आँखाबाट आँसु झर्न थाल्यो । भक्कानो छाडेर रुन मन लाग्यो । तर, लोग्ने मान्छे भएर रुन हुन्न भन्ने गीत सम्झिँदै मन बुझाएँ ।   म नहिँडेपछि साथीहरू माथिबाट फर्केर मलाई लिन आउनु भयो ।  पानीको बोतल अनि झोलाबाट केही खानेकुरा निकालेर दिनु भयो । अलिकति बल अनि ढाडस पाइयो । सँगै उकालो चढ्न लाग्यौ । केही छिनपछि हामी अलि समथर ठाउँमा पुग्यौ । थकाई मार्दै, निरन्तर हिँडाइ जारी राख्यौ ।  निकै लामो हिँडाइपछि बल्ल २र३ वटा घर देखियो । बाटोभरि मानिसहरूको नामोनिसान देखिएको थिएन । बल्ल एकजना अधबैँसे पुरुष भेट्यौ ।  हामीलाई देखेर उहाँ हामीकहाँ आउनु भयो ।   हजुरहरू कहाँबाट आउनु भयो रु यसरी हिँडेर त कोही आउँदैन भन्नु भयो ।  जंगलमा जंगली जनावर  हुन्छन् ।  डराउनु भएन रु भनी सोध्नु भयो ।   ती होटलेको प्रश्नले हामीलाई अहिले पो डर लागेर आयो । हामी थकान मार्न र चिया नास्ता गर्न उहाँको सानो पसलमा अडियौँ । चियासँगै गफिन थाल्यौँ ।  त्यहाँ ३र४ घर थियो । गाउँको सबैजना यार्सागुम्बा खोज्न गएका रहेछन् । हेरालु उनीमात्रै रहेछन् । उनको मात्रै ३०० अनि गाउँको ६०० गरी ९०० भेडा रहेछन् । २ जना भेडा चराउन गएका रहेछन् ।  मलाई अचम्म लाग्यो, ९०० भेडा चराउने २ जना मात्रै गोठाला रु  मलाई याद आयो, हाम्रो घरमा ६ वटा बाख्रा पाल्न ४ जनालाई मुस्किल थियो । उहाँहरूको मेहनतको कदर गर्नैपर्ने हो भन्दै हामीले धेरै बेरको सुस्ताई पछि पुनः यात्रा सुरु गर्‍यौँ ।  बाटोमा एक जना साथी पुरनबहादुर गुरुङको घर पर्थ्यो । करिब २ बजेतिर हामी उहाँको घर पुग्यौ । अरू साथीहरू त्यहाँ जम्मा भएका थिए । उहाँहरूसँग त्यहाँ बोलिने भाषाबारे कुरा गर्‍यौँ । खाना खाइसकेपछि हामीले तुरुन्तै बिदा लियौँ ।  उहाँहरूको भनाईअनुसार अझै २, ३ घन्टाकै उकालो हाम्रो गन्तव्य थियो । हिँड्नु सिवाय अरू कुनै विकल्प थिएन । ४ बजेपछि आक्कल झुक्कल गाडी आउन सुरु गर्‍यो तर यात्रुहरूले भरिभराउ त्यो दिन गाडी चढ्ने भाग्यमा थिएन । हिँड्दा हिँड्दै लखतरान भएका हामी लगभग बेलुकी ७ बजेतिर गन्तव्य स्थान चामे पुग्यौँ । गन्तव्य चामेले ज्यान चाम्रो बनाइसकेको थियो । तर, मनाङ जति दुर्गम थियो, त्यति नै सुन्दर पनि लाग्यो । ....... मलाई जहिले जहिले मनाङको याद आउँछ, त्यही उकालोले भयभित तुल्याउँछ । तारानाथ शर्माको घनघस्याको उकालो शायद यति गाह्रो थिएन होला ।  

कालो बादल देखेर कहिलेसम्म तर्सिने भजनीवासी ?

कालो बादल देखेर कहिलेसम्म तर्सिने भजनीवासी ?

११३७ दिन अगाडि

|

१२ साउन २०८०

वर्षात्को पानीले किसानलाई राहत हुन्छ । तर, कैलालीको भजनीवासीआकाशमा कालो बादल मडारिँदा तर्सिन्छन् । पानी परेको रात जाग्राम बस्छन् । भोक, निद्रा हराउँछ ।  भजनी नगरपालिका–१ की रशिला चौधरी भन्छिन्, ‘पानी पर्न साथ हामी चयनको निद्रा सुत्नै सक्दैनौ । पानी पर्नसाथ नदीको बाढी गाउँ पस्ने त्रास सुरु हुन्छ ।’ स्थानीयलाई ज्यानसँगै घर, खेत जोगिन्छ कि जोगिन्न भन्ने पिरलोले पनि सताउँछ । ‘कुनै वर्ष साउन, भदौमै ठूलो बाढी आईदिन्छ त कुनै वर्ष असोज, कात्तिकमा । गत वर्ष भदौमा ठूलो बाढी आयो । रोपेको धान बगाएर लग्यो’उनले अगाडि थपिन्, ‘बाढीको कारण हरेक वर्ष घर मर्मत गर्नुपर्छ । लिपपोत गरेको घर, बाढी आएर भत्काईदिन्छ । बाँकी काम ठाँती राखेर भए पनि पुनः घर बनाउनुपर्छ ।’ २०६४ सालयता डुबान र कटानको पीडा निरन्तर भोग्दै आएको उनी स्मरण गर्छिन् ।यस्तै पीडा सुनाउँछिन् भजनीकी शोभा चौधरी । शोभाले भनिन्, ‘खेत नभएको पनि होइन। तर, बाढीले गर्दा खेतमा फलेको अन्न कहिल्यै  भित्र्याउन पाउँदैनौं । गतवर्ष त एक गेडो पनि ल्याउन पाइएन ।’ पछिल्लो समय बाढीले बर्खे धान नजोगिने भएपछि भजनी क्षेत्रका स्थानीयहरु विकल्पको रुपमा चैते धान रोप्न थालेका छन् । भजनी नगरपालिका–९ खुरह्रिया टोलका स्थानीय सीताराम चौधरीको गत वर्षको बाढीले घर र खेत पुरै डुबानमा पर्यो । भत्किन लागेको २ कोठे कच्ची घर थामथुम पारेर परिवारसहित ओट लाग्न बाध्य भएको सुनाउँछन् उनी ।  घरसँगै रहेको १५ कठ्ठा धानखेत फुटबल मैदान जस्तै सफाचट भएको थियो । उनीसँगै छिमेकी अरु किसानको पनि लहलहाउँदो भई बाला पोसाउने बेला धानखेत बाढीले पूरै रित्तिएपछि भोकमरीको सामना गर्नु पर्याे ।  टीकापुरमा पनि कटान उस्तै बाढीले जिल्लाको दक्षिणी क्षेत्रको आमजनताको आमपीडा पनि उस्तै छ । स्थानीय मोहना, कन्द्रा, पथरैया, काँढा, कर्णालीलगायत नदीमा बाढी आउँदा भजनी नगरपालिका, जोशीपुर गाउँपालिका, जानकी गाउँपालिका, टीकापुर नगरपालिकालगायत स्थानीयतहका साढे ६ हजार बढी घरधुरी प्रभावित हुन्छन् ।  वर्षेनी हुने कर्णाली नदीको डुबान र कटानले टीकापुर नगरपालिका–८ श्रीलंकाका डोंग्ला चौधरीको वर्षा लागेपछि निद्रा हराउँछ । कर्णाली नदीले आफ्नो उब्जाउ भूमि २०६० सालबाट वर्षेनि कटान गर्न थालेपछि उनी उत्तिकै चिन्तित छन् । केही वर्ष पहिलेसम्म टीकापुरका स्थानीय दीपेन्द्र भण्डारी, खड्क साउद, कालु साउद, गोपाल साउद, बलबीरे टमट्टा, डोंग्ला चौधरीसहित दर्जनौं किसानको सयौं बिघा जमिनमा कर्णाली बगिरहेको छ । नदी कटान र डुबानले प्रभावित अधिकांश किसानहरूले नदीमा तटबन्धका लागि जिल्ला प्रशासन, प्रदेश सरकार र स्थानीय तहमा धेरैपटक धाउँदै आएका छन् । पटक–पटकको संघर्षपछि यसै वर्षदेखि कर्णाली नदी नियन्त्रण आयोजनाले ठूला बोल्डर (ढुंगा) नदीमा खसाल्यो । त्यसको प्रभावकारिता नहुँदा स्थानीयको त्रास ज्यूँका त्यूँ छ । उता कर्णाली र मोहना नदीको संगमस्थल रहेको नेपाल–भारत सीमा क्षेत्रमा पर्ने जग्गापनि नदीले कटान गर्दै आएको छ । टीकापुर नगरपालिका वडा नं. ८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्लाले भने,‘सत्ती कर्णाली सामुदायिक वन क्षेत्रदेखि वनगाउँसम्मको धेरै जमिन नदीले कटान गरिसकेको छ ।’ टीकापुर नगरपालिकाका उपप्रमुख खड्कबहादुर शाहले कर्णाली नदीको कटान नियन्त्रणका लागि आयोजनाले तटबन्धको स्वरूप नै परिवर्तन गर्नुपर्ने जिकिर गरे । त्यस्तै, भजनी नगरपालिकाका नगरप्रमुख केवल प्रसाद चौधरीले केही वर्षदेखि यस क्षेत्रका स्थानीयहरु लगातर बाढीको चपेटामा पर्दै आएको बताउँछन् । तर दीर्घकालीन समस्याको समाधान आफूहरुसँग नभएको उनी स्वीकार्छन् । पालिकाको ल्याकतले नपुग्ने, यसको लागि संघीय सरकारले नै बृहत् कार्यक्रम ल्याउनुपर्ने उनको भनाई छ ।

डेंगुका कारण धरानमा ७ जनाको मृत्यु

डेंगुका कारण धरानमा ७ जनाको मृत्यु

११३८ दिन अगाडि

|

११ साउन २०८०

धरानमा डेंगुका कारण ७ जनाको मृत्यु भएको छ ।  जेठ महिना देखि धरानमा डेंगु फैलिएको थियो । धरान उपमहानगरपालिकाका स्वास्थ्य प्रमुख उमेश मेहताकाअनुसार ३ हजार ५ सय ३२ जना डेंगु परीक्षण गर्दा २ हजार ६६ जनामा डेङगु सङ्क्रमण देखिएको छ । यो कुल सङ्ख्या मध्ये ५८ प्रतिशत हो । उपमहानगरपालिकाले डेंगी नियन्त्रणका लागि भन्दै सर्च एण्ड डिस्ट्रोयलाई नै प्रभावकारी उपायाको रुपमा लिएर काम अगाडि बढाइरहेको दावी गरेको छ । धरानका प्रमुख हर्क साम्पाङ, उपप्रमुख आइन्द्र विक्रम बेघा, स्वास्थ्यकर्मीसहितको टोलीले धरानको ११, १५ र १६ नम्बर वडामा खोज र नष्ट गर ‘सर्च एण्ड डिस्ट्रोए’ अभियान चलाएको छ । धरानको ११, १५, १७ र १८ नम्बर वडा बढी प्रभावित देखिएको छ । डेंगुको १९ वर्ष नेपालमा पहिलो पटक २०६१ सालदेखि डेंगु रोग देखिन सुरु भएको हो । त्यसपछि प्रत्येक वर्ष डेंगु रोग कहिले महामारीको रूपमा त कहिले छिटफुट रूपमा देखा पर्ने गरेको छ ।  २०७९ सालमा ७७ वटै जिल्लामा सङ्क्रमण पुष्टि भएको थियो । त्यस वर्ष पुस मसान्त सम्ममा ५५ हजार धेरै केस पुष्टि भएको थियो भने ८८ जनाको मृत्यु भएको थियो ।  १९ वर्षको अवधिमा सन् २००४ देखि हालसम्म ८३ हजार ६८१ मा डेंगुको केस पुष्टि भएको छ । यसरी जोगिन सकिन्छ  डेंगी सङ्क्रमणबाट  –पुरा बाहुला भएको लुगा लगाउने । –झुलभित्र मात्र सुत्ने । –घरको झ्याल, ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने । –घर, कार्यालय, विद्यालय वा सार्वजनिक क्षेत्रमा पानी जम्न नदिने । –खाल्डाखुल्डी पुर्ने र खानेपानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने । –गमलाको प्लेट, फूलदानी, कुलर आदिको पानी कम्तीमा हप्ताको एक पटक फेर्ने । –साँझ, बिहान करेसाबारीमा जाँदा, घर बाहिर टहलिँदा वा पार्कमा जाँदा बालबालिकालाई लैजाँदा लामखुट्टेले नटोकोस् भनेर विशेष सावधानी अपनाउने ।