चलो रे हंसा ओहे देश...

चलो रे हंसा ओहे देश...

११४७ दिन अगाडि

|

२ साउन २०८०

थारू किसानहरूको हरडहुवा अर्थात् हरढोवा

थारू किसानहरूको हरडहुवा अर्थात् हरढोवा

११४९ दिन अगाडि

|

३१ असार २०८०

अहिले असार अन्तिम चलिरहेको छ, आर्थिक बर्षको अन्त्य भैरहेको छ । नेता कर्मचारी, ब्यापारी, संघ संस्थाहरु हिसाब मिलानमा ब्यस्त छन् । पश्चिमका थारुहरुमा भने हरडहुवा अर्थात् हरढोवाको रौनक छाएको छ ।  असार अन्तिम साता भएकोले पनि होला, गाउँहरुमा दिनैपिच्छे हरढोवा चलिरहेको छ । सबैभन्दा बढी हरढोवा असार ३० मा देखिएको छ । कतिपय गाउँमा असार अन्तिम दिनमा पनि हरढोवा मनाउने समाचार प्राप्त भएको छ ।  आदिवासी थारुहरुले मनाउने हरढोवाबारे धेरैलाई थाहा नभएको पनि हुन सक्छ । हरढोवा भनेको धानबाली रोपाईं सकिएपछि मनाउने विशेष पर्व हो भनी बुझ्नु पर्दछ ।  आदिवासी थारुहरुको मूलपेशा कृषि हो । कृषि ब्यवसाय उनीहरुको जीवनको मूलआधार हो । उनीहरुका बालबालिकाहरु खेतीबारीको हिलो माटोसँग लडीबुडी गरी हुर्किन्छन् । जीवनको शुरुवात र अन्त्य खेतीपाती गर्दै बित्ने हुँदा कृषिमा गरिने धेरैजसो क्रियाकलापलाई उनीहरु पर्वको रुपमा मान्ने गर्दछन् ।   धान खेतीको शुरुवातमा ढुरिया पूजा (धर्ती पूजा, हरोट लेहाई), रोपाई गरिसकेपछि हरढोवा, धान हरियो भैसकेपछि हरेरी, धान काटिसकेपछि औली, धान डाईं गरिसकेपछि पेंडिया उनीहरुले खेतीपाती गर्दा बखतका पर्व हुन् ।  अहिले खेतीपातीका लागि ट्रयाक्टर उपलब्ध छ । तर, पहिले पहिले खेतीपाती गर्दा उनीहरुको महत्वपूर्ण हतियार भनेको हलो हुन्थ्यो, जसलाई उनीहरु ‘हर’ भन्दछन् । हर (हलो) कृषिमा नभई नहुने महत्वपूर्ण साधन हो, जसलाई उनीहरु धान रोपाईंपछि धोई पखाली, सरसफाई गरी जतनका साथ राख्ने गर्दछन् ।  रोपाईं सकिएपछि त्यही हर (हलो धुवाई) ढोवाई नै थारुहरुका लागि पर्व बन्न पुग्यो र हरढोवाको नामले परिचित हुन पुग्यो । त्यही हरढोवा बोलीचालीमा अपभ्रंश भई कतै कतै हरडहुवा हुन पुग्यो । बोलीचालीमा हरढोवा, हरडहुवा जे भनेपनि यो हर धुवाई उत्सव नै हो ।   किसानका लागि गहुँ, मसुरो, तोरी वा अन्य अन्नबाली भन्दा पनि धानबाली रोपाईं गर्दा सार्है मिहिनेत चाहिन्छ । धानखेतीमा मेनपावर पनि बढी लाग्ने, गर्मी अति हुने, कहिले लगातार परेको पानीले खेतमा टिक्नै गार्हो हुने, हातखुट्टा पानीले पाक्ने हुँदा धानबाली रोपाईलाई कठिन कार्यको रुपमा लिने गरिन्छ ।  धान रोपाईं समयमै गर्न सकिएन भने वष दिनको कमाई सकिन्छ, भोकै मर्नुपर्ने अवस्था हुन्छ । त्यसैले रोपाईं सकिएपछि सबैजना रमाउने र “अब वर्षभरी मुखमा माड लाग्ने भयो” भनी ढुक्क हुन्छन् र खुशी ब्यक्त गर्ने गर्ने गर्दछन् । त्यही कठिन कार्यमा सफलता प्राप्त गरेपछिको खुशियाली हो हरढोवा भन्दा फरक नपर्ला ।   हरढोवा गाउँभरीका मान्छे सँगै मनाउने गर्दछन् । घर घरमा मीठो खानेकुरा, परिकार तयार गर्दछन् । खेतीपातीको काममा सहयोग गर्नेहरु, जान्नेसुन्ने, सम्मानित ब्यक्तित्वहरु, चेलीबेटीहरुलाई घरमा बोलाउँछन्, खानपिन गर्दछन् र रमाउँछन् ।  हरढोवाको कुनै निश्चित तिथी, मिति वा बार छैन । यो गाउँभरीका किसानहरु धानबाली रोपाईं गरिसकेपछि सल्लाह गरेर मनाइने पर्व हो । कोही अघि, कोही पछि रोपाईं कार्यको थालनी गरे पनि गाउँमा सबैको रोपाईं सकिएपछि हरढोवा मनाइन्छ । रोपाई सकिने दिनमा पनि घर परिवार समान्य उत्सव मनाउने गर्दछन् । तर हरढोवा गाउँभरीका किसानहरु रोपाईं सकिएपछि सँगै मनाउने पर्व मानिन्छ ।  पश्चिममा प्रायः असार महिनाभित्र रोपाई सम्पन्न हुन्छ । त्यसैले, असार अन्तिम सातातिर कुनै दिन कुनै गाउँमा, कुनै दिन कुनै गाउँमा पर्व मनाइएको पाइन्छ । २०८० मा यो पवै असार ३० गते धेरै गाउँमा मनाइएको देखियो । असार ३१ गते पनि कतै कतै देखिदैछ । यसले यो बर्षको हरढोवा पर्वमा केही एकरुपता देखिएको छ, जुन जरुरी छ ।  वनविनाशका कारण वातावरण पर्यावरणमा आएको परिवर्तनले यस वर्ष वषातर्् निकै कम भइरहेको छ । असारमा धानबाली रोपार्इं गर्न सकिएन भने असोजमा धान पाक्न सम्भव हुँदैन र अर्को बाली उत्पादनमा पनि समस्या हुन्छ । त्यसैले, किसानहरु सकेसम्म असार महिनाभित्रै ट्युबवेल, बोरिङ्ग, कुलो, नहर लगायतको स्रोतबाट धानबाली रोपाई गरिसक्ने मनस्थितिमा रहन्छन् । अगावै खेती सक्नेले रोपाईंमा पछि भएकालाई सख्लहरा भई सघाउँछन्, जुन निशुल्क हुन्छ । यसले संगै हरढोवा मनाउने कार्यक्रम सफल हुन्छ ।  एकरुपतामा बल पुग्छ ।  कहिले यो गाउँ, कहिले त्यो गाउँ आलोपालो हरढोवा मनाउनु भन्दा पनि सँगै धेरै गाउँ मनाउँदा राम्रो हुन्छ । आगामी दिनमा कम्तीमा जिल्लाभरी सँगै हरढोवा होस् भन्ने कामनासहित सबैमा हरढोवा पर्वको शुभकामना ।      

भानुभक्तीय साहित्यको समसामयिकता 

भानुभक्तीय साहित्यको समसामयिकता 

११५१ दिन अगाडि

|

२९ असार २०८०

“बिन्ती डिठ्ठा विचारीसित म कति गरुँ चुप रहन्छन् नबोली   बोल्छन् ता स्याल गरे झैँ अति पछि छिनछिन भन्छन् भोलि भोलि कि ता सक्दिन भन्नु कि तब छिनिदिनु क्यान भन्छन् यी भोलि भोलि भोलि हुँदैमा सब घर बिति गो बक्सियोस् आज झोली ।” आदिकवि भानुभक्त आचार्यलाई सम्झँदा नेपाली जनजीवनका अनेक प्रेरणादायी र लोकप्रिय कविताका पङ्क्तितहरु सहजै स्मरणमा आउँछन् । नेपाली भाषामा कवितामै बोल्न, लेख्न र गाउन सक्ने बहुआयामिक क्षमताका धनी आचार्यलाई स्वदेश र विदेशका अध्येता, समालोचक एवं अनुसन्धाताले निरन्तर पछ्याउँदै आएका छन् । आफ्नै घर–परिवार र समाजका परिवेशलाई काव्यमालामा उनेर त्यसबाट भविष्यको पुस्ताका लागि समेत मर्मस्पर्शी र प्रेरणादायी सन्देश दिन सक्ने आदिकविका कैयन श्लोकहरु सामान्य किसान र अपठित नेपालीका जनजिब्रोमा झुण्डिएकै पाइन्छन् : “भर जन्म घाँसतिर मन् दिई धन कमायो नाम क्यै रहोस् पछि भनेर कुवा खनायो घाँसी दरिद्र घरको तर बुद्धि कस्तो म भानुभक्त पनि भैकन आज यस्तो ।” संस्कृत भाषामा लेखिएको अध्यात्म रामायणलाई विविध छन्दमा नेपाली जनमानसले बुझ्ने गरी सरल नेपाली भाषामा उतारेर र अरु महत्वपूर्ण कृतिका रचनाको माध्यमबाट आदिकवि आचार्यले दिएका योगदानबारे चर्चा कुनै एक आलेखमा असम्भव हुन्छ ।  तत्कालीन समाजको वास्तविक प्रतिनिधित्व हुने रचनाका लागि भानुभक्तको भूमिकालाई नेपाली समाज र साहित्यिक इतिहासले उच्च सम्मान गर्दै आएको छ भने ती रचनाहरु अहिलेका सन्दर्भमा पनि बहुउपयोगी र सन्देशप्रद रहेका छन् । अहिले पनि शासन–प्रशासनमा ढिलासुस्ती र अनियमिता, समाजमा ढाँट–छल तथा राजनीतिक क्षेत्रका यावत् विकृतिहरुको अन्त्य भएका छैनन् । उसबेला भानुभक्तले उठाएका विषयवस्तु र अहिलेका विषवस्तुको परिवेश फरक हुन सक्छन् तर अन्तर्यमा समानता देखिन्छ । हुन त युवाकवि मोतीराम भट्टले १९४८ सालमा आदिकवि भानुभक्तको जीवन चरित्र प्रकाशित गरेर भानुभक्तको योगदानको व्यापकता फैलाए । मोतीरामले भानुभक्तका अप्रकाशित पाण्डुलिपिहरुलाई प्रकाशन पनि गराए । आजका नयाँ पुस्ताका लागि पनि धेरै मोतीरामहरु चाहिएको छ, जसले भानुभक्त र त्यस्तै योगदानकर्ता स्रष्टा र सुधारकका रचना एवं अभियानलाई समाजमा पुस्तान्तरण र हस्तान्तरण गर्न सक्रिय भूमिका खेलोस् । भानुभक्तलाई आदिकविको उपाधि पनि मोतीरामले नै दिलाएका थिए । भानुभक्तका योगदान र ज्ञान हस्तान्तरणको यही कुराको बोधका साथ नेपाली भाषा साहित्यको माउ संस्था नेपाल प्रज्ञा–प्रतिष्ठानले गत वर्ष २०७९ असार २७ गते २०९ औँ भानुजयन्तीका अवसरमा ‘भानुभक्तको जीवनी विषयक प्रवचन तथा नयाँ पुस्ताबाट भानुभक्तीय रचना वाचन’ कार्यक्रम आयोजना गरेको थियो । सोका माध्यमबाट विद्यालय तहमा अध्ययनरत विद्यार्थीमाझ भानुभक्तको व्यक्तित्व र कृतित्व थप स्थापित गराउन र उनका श्लोकहरुको उत्कृष्ट  वाचनमा प्रशिक्षण पनि दिलाएको थियो । प्रज्ञा–प्रतिष्ठानका सदस्यसचिव डा धनप्रसाद सुवेदी विगतको तुलनामा आदिकवि भानुभक्तबारे युवा पुस्तामा बुझाइ केही कमी भए पनि त्यसलाई घटोत्तरी भएको मान्न नमिल्ने बताउँछन् । ‘भानुभक्तको समग्र योगदानले देश विदेशमा रहेका नेपालीहरुका लागि सम्बन्ध सूत्रको काम गरेको छ । पाठ्यक्रम र पाठ्यपुस्तकमा उहाँका रचना नियमित पढाइएकै छ,’  सदस्यसचिव डा सुवेदीले भने, ‘हुन त शिक्षण संस्थाको ज्ञानले मात्रै धान्दैन तर आदिकविको मान्यता तथा देश विदेशमा उहाँको लोकप्रियता हुनुले उहाँलाई चिरस्थायी बनाएको छ । त्यस अर्थमा उहाँ भाग्यमानी हुनुहुन्छ कि यस प्रकारको लोकप्रियताको उचाई अरु स्रष्टाले आजसम्म पाएका छैनन् । खासगरी नेपाल बाहिर रहेका स्रष्टाहरुले अझ अधिकमात्रामा सम्मान गर्ने र उहाँका विषयमा अध्ययन–बहस र गतिविधि गर्ने काम गरिरहेका छन् । यसलाई नेपाली साहित्यको सम्पतिका रुपमा लिनुपर्छ ।’ त्रिभुवन विश्वविद्यालयका पूर्व सहप्राध्यापक तथा अनुसन्धानकर्ता विधान आचार्य अहिलेको नेपाली भाषाको व्याकरण र भानुभक्तका रचनामा समाविष्ट भाषिक प्रयोगमा कालक्रमिकका हिसाबले पनि एक प्रकारको खाडल रहेकाले नयाँ पुस्तामा उनका रचनालाई बुझ्न सहजता नहुने ठानेर भानुभक्तीय रामायणलाई सम्पादनसहित प्रकाशनमा ल्याइएको जानकारी दिए । अध्येता आचार्यले ‘एक दिन नारद सत्य लोक पुगिगया लोकको गरौँ हित भनी…’ राणाकालमा लेखिएका यस्ता  भानुभक्तका हरफहरु अहिलेको लोकतान्त्रिक गणतन्त्रमा पनि त्यही लोकको हितको सन्दर्भसँग मेल खाने पाइनु आदिकविको समाज जागरणको सोच र सन्देश भएको जनाउँछन् । त्यस अर्थमा आदिकविलाई कवि मात्र नभई एक सामाजिक अभियानकर्ता र रुपान्तरणकर्ता मान्न सकिने उनको तर्क छ । ‘उहाँको ‘लोकको हित गरुँ भनी’ भन्ने भावभित्र सामाजिक न्याय, समानता, समृद्ध नेपाल, सुखी नेपालीदेखि समाजवादसम्मको परिकल्पना प्रष्ट भेट्न सकिन्छ’, आचार्यले भने, ‘त्यसबेलाको समाज बढी धार्मिक र कम शिक्षित भएकाले भक्तिरसमा रचना गरेर भानुभक्तले नागरिकका कर्तव्य, राज्यको दायित्व र सामाजिक न्यायका कुरालाई धार्मिकतासँग जोडेर अशल चरित्रको सन्देश दिएको पाइन्छ । अहिलेको पुस्तालाई यो ज्ञान पस्कने गरी भानुभक्तीय रचनाहरुको महत्व बुझाउन सक्नुपर्छ ।’ महाकाव्यकार चन्द्रप्रसाद न्यौपानेले नयाँ पुस्ताले गहन र वास्तविक अध्ययनमा आफूलाई लिन गराएर भानुभक्तका योगदानलाई स्मरण गर्नुपर्नेमा जोड दिन्छन् । उनको विचारमा सूचना प्रविधिको व्यापकतासँगै अध्ययन र सामग्री संकलनमा परिनिर्भरता देखिएकाले आदिकवि भानुभक्त जस्ता समाज र साहित्यका लागि योगदान दिनेहरुका बारेमा विश्वविद्यालय नै खडा गरेर अध्ययन अनुसन्धान गराउन आवश्यक छ ।  भानु जयन्ती मनाइँदै आदिककवि भानुभक्तको २१० औँ जन्मजयन्तीका अवसरमा प्रज्ञा प्रतिष्ठानले यस वर्ष विगतमा झैँ भानु प्रतिष्ठानको सहकार्यमा असार २९ गते कुलपति भुपाल राईसहित प्रज्ञा प्रतिष्ठानको परिसर कमलादीदेखि प्रभातफेरि गरी दरबार हाइस्कुलसम्म हुँदै पुनः प्रतिष्ठानको परिसरमा पुगेर त्यहाँ रहेको भानुभक्तको प्रतिमामा माल्यार्पणलगायतका कार्यक्रम गर्दैछ । आदिकवि आचार्यका बारेमा विश्वविद्यालयका विभिन्न तहमा कैयन् शोधपत्रहरु तयार हुनाका साथै उनका बारेमा कविता लेखन् र जीवनी प्रकाशन नभएका होइनन्, नयाँ पुस्तका लागि ती मात्र पर्याप्त नहुन सक्छन् । भानुको जन्मस्थल तनहुँको चुँदीरम्घामा आदिकवि भानुभक्त जन्मस्थल विकास समितिको आयोजनामा काठमाडौँ र मुलुकका विभिन्न स्थानबाट पुग्ने स्रष्टाहरुको सहभागितामा असार २८ र २९ गते कार्यक्रम आयोजना हुँदैछ । नेपाल बाहिर भारतका विभिन्न स्थान र विश्वका अन्य स्थानमा पनि भानु जयन्ती मनाइन्छ । चुँदी रम्घामा हुने कार्यक्रममा भानुभक्तीय रामायण वाचन प्रतियोगिता र खुला कविता प्रतियोगिता साथमा विभिन्न कविहरूको कविता वाचन तथा गजल प्रस्तुत हुने छ  । असार २९ गते भानुको जन्मस्थलको कार्यालयबाट बिहान ७ बजे झाँकी प्रदर्शनीसहित प्रभातफेरि शुरू भई चुँदी रम्घास्थित आदिकवि भानुभक्त आचार्यको शालिकमा माल्यार्पण गरिने छ । कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलगायतको उपस्थिति हुनेछ । समितिद्वारा पहिलोपटक प्रकाशित भानुभक्तको रामायण ग्रन्थको विमोचन पनि सोही कार्यक्रममा गरिनेछ । भानुभक्तको रामायणको यस प्रकाशनलाई विधान आचार्य  र प्रभा भट्टराई आचार्यले सम्पादन गरेका छन् । पिता धनञ्जय आचार्य र माता धर्मावतीदेवीका पुत्रको रूपमा तनहूँको रम्घामा १८७१ असार २९ गते जन्मिएका भानुभक्त आफ्ना बाजे श्रीकृष्ण आचार्यबाट शिक्षा पाई पठित र समाजसेवी बन्न सफल भएका थिए । । उनले स्थानीय एक घाँसीको घाँस काटेर पाटी पौवा बनाउने इच्छाबाट प्रभावित भई ‘घाँसी दरिद्र घरको तर बुद्धि कस्तो, म भानुभक्त धनी भैकन किन यस्तो’ लेखेका थिए । आदिकवि भानुभक्तले १९१० सालमा ‘भानुभक्तीय रामायण’ महाकाव्य लेखेपछि उनको काव्यिक व्यक्तित्व थप सुपरिचित भएको थियो । उनले ‘प्रश्नोत्तर’, ‘भक्तमाला’, ‘वधूशिक्षा’ लगायतका महत्वपूर्ण कृतिहरू र अन्य फुटकर कविताहरू लेखेका छन् । ‘जिउँदै मर्याको भनी नाम्छ कस्को ? उद्यम् विना बित्तछ काल जस्को’  भनेर लोकलाई केही गरेर मात्रै भौतिक चोला बिसाउन उपदेश दिने आदिकवि भानुभक्तको निधन १९२५ असोज ६ गते तनहुँको सेतीघाटमा भएको थियो । आदिकवि आचार्यका बारेमा विश्वविद्यालयका विभिन्न तहमा कैयन् शोधपत्रहरु तयार हुनाका साथै उनका बारेमा कविता लेखन् र जीवनी प्रकाशन नभएका होइनन्, नयाँ पुस्तका लागि ती मात्र पर्याप्त नहुन सक्छन् । रासस

‘थारु पाहुना घर’ मर्मतको भुक्तानी दिन आलटाल गरेको आरोप

‘थारु पाहुना घर’ मर्मतको भुक्तानी दिन आलटाल गरेको आरोप

११५२ दिन अगाडि

|

२८ असार २०८०

बारा जिल्लामा निर्माणाधीन विशेष आर्थिक क्षेत्र (सेज)ले उपभोक्ता समितिलाई भुक्तानी दिन आलटाल गरेको आरोप लागेको छ । विशेष आर्थिक क्षेत्र औराहाका स्थानीय चौधरी समुदायका महिलाले उपभोक्ता समिति मार्फत निर्माण गरेको ‘थारु पाहुना घर’ को कामको भुक्तानी रोकेर आफूहरुलाई अप्ठ्यारोमा पारेको आरोप लगाएका हुन् । जीतपुर सिमरा उपमहानगरपालिका वडा नं ४ का समाजसेवी भागवत चौधरीले महिलाहरुले उपभोक्ता समितिमार्फत ७ लाखको बजेटमा थारु पाहुना घरको अधुरो काम सम्पन्न गरेर भुक्तानीको लागि लेखाबाट टिप्पणी उठाइसकेको अवस्थामा सेजको मुख्य कार्यालय, त्रिपुरेश्वरबाट भुक्तानी दिन आलटाल गरिएको आरोप लगाए । ‘कमिसन नदिएकै कारण लेखाबाट टिप्पणी उठिसकेको फाइललाई कार्यकारी प्रमुखले भुक्तानी रोके,’ चौधरीले भने । विशेष आर्थिक क्षेत्र (सेज)ले आफ्नो मध्यवर्ती क्षेत्रभित्र सामाजिक उत्तरदायित्व अन्तर्गत बर्सेनि विभिन्न योजनामा बजेट दिँदै आएको छ । विगतमा सेज सहयोग समिति मार्फत हुने कामहरु अहिले उपमहानगरमार्फत् सम्झौता भएर काम हुने गर्दछ । चालु आर्थिक वर्षको लागि सेजले दिएको २४ लाख बजेटबाट चौधरी टोलमा थारु पाहुना घरको अधुरो निर्माण तथा मर्मत सम्भारमा ७ लाख र बाँकी १७ लाखको बाटो ढलानको काम भइरहेको छ । धनमतीया थरुनीको अध्यक्षतामा अधुरो थारु पाहुना घरको मर्मतको काम उपभोक्ता समितिमार्फत गर्न  जीतपुर सिमरा उपमहानगरपालिकासँग असार ३ गते सम्झौता भइ असार १५ अगावै सम्पन्न भएको हो । सेजका कार्यकारी निर्देशक चण्डिका भट्टले भुक्तानी दिन नमिल्ने भनेर यतिबेला पन्छिए पनि सेजकै लेखा शाखाले भने भुक्तानीको लागि फाइल उठाएर खातामा पैसा आएको घन्टी बज्ने जानकारी दिएको थियो । उपभोक्ता समितिका सचिव निलम चौधरीका अनुसार महिलाहरु भुक्तानीका लागि असार २३ गते गाडी नै रिजर्भ गरेर काठमाडौँ गएपछि लेखा शाखाले भुक्तानीका लागि टिप्पणी उठाएर ‘खातामा पैसा खाएको घण्टी भोलि बज्छ, तपाईहरु जानुस्’ भन्दै पठाएको थियो । तर काठमाडौँबाट फर्किएको २ दिनसम्म खातामा पैसा नआएपछि उनीहरुले कार्यकारी निर्देशक भट्टलाई फोन गरेर भुक्तानी किन ढिलो भएको हो भनि सोधेका थिए । जवाफमा भट्टले ‘सेजको बजेटबाट बनाउने भन्ने निर्णय कतै भएको छैन, सेजसँगको अनुमति र सम्झौता बिना बनाइएको घरको भुक्तानी सेजबाट हुँदैनु भने । सचिव चौधरी केही सामान ऋण लिएर र केही उधारोमा किनेर काम सम्पन्न गरेको तर भुक्तानी लिने बेला उपमहानगरले सेज कार्यालय काठमाडौँ जानुपर्छ भनेकाले रोपाइँको काम छोडेर सक्कल कागजपत्र लिएर पुगेको बताउँछिन् । ‘हामीले सेजको बजेटबाट उधारोमा सामान किनेर अधुरो थारु पाहुना घरको काम सक्यौँ तर आज पसलको साहु घरमा पैसा माग्न आइरहेको छ, यस्तो व्यवहार भएपछि हामीलाई भोलि कसैले पत्याउँदैन,’ चौधरीले भनिन्, ‘भुक्तानीको बेला यस्तो व्यवहार गर्दा हामीलाई धेरै चित्त दुखेको छ ।’ विशेष आर्थिक क्षेत्र सेज जीतपुर सिमराको वडा नं ४, १४, १५, १६ गरी ४ वटा वडाको ८३३ बिगाहा क्षेत्रफलमा छ । जसमध्ये ए ब्लकको ३४३ बिगाहा बाहेक सम्पूर्ण सार्वजनिक जग्गा अतिक्रमणमा परेको छ ।

यी हुन् प्रतिभा पुरस्कार पाउने ३२ जना

यी हुन् प्रतिभा पुरस्कार पाउने ३२ जना

११५९ दिन अगाडि

|

२१ असार २०८०

सरकारले संस्कृति प्रवद्र्धन कार्यक्रमअन्तर्गत ४ विधामा राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कार दिने निर्णय गरेको छ ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बुधबार उक्त निर्णय गरेको हो। मन्त्रालयले बुधबार नै मन्त्रीस्तरबाट विभिन्न ४ विधानमा ३२ जनालाई पुरस्कार दिने निर्णय गरिएको बताएको छ । यसै क्रममा भाषा, साहित्यतर्फ थारू साहित्यमा योगदान गर्ने शेखर दहित (शोभाराम चौधरी) लुम्विनी प्रदेशबाट पुरस्कृत हुने भएका छन् । त्यस्तै, लुम्विनी प्रदेशबाटै संस्कृतितर्फ टिकाराम उदासी (टिकाराम बुढामगर) पुरस्कृत हुने भएका छन् ।  सुदूरपश्चिम  प्रदेशबाट संस्कृतितर्फ नन्दलाल राना पुरस्कृत हुने भएका छन् । हेर्नुहोस् सूचीः       

असार भित्रै नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम सरकारमा सहभागी हुने 

असार भित्रै नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम सरकारमा सहभागी हुने 

११५९ दिन अगाडि

|

२० असार २०८०

असार भित्रै नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम सरकारमा सहभागी हुने भएको छ ।  बुधबार प्रधानमन्त्री पुष्पकमल दाहालसँगको भेटवार्तामा सुदूरपश्चिम सरकारमा जाने सहमति भएको नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरी जानकारी दिएका छन् ।  सुदूरपश्चिम सरकारमा यस अधि नै नागरिक उन्मुक्तिलाई समेट्ने प्रयास भएको थियो । तर, आफ्नो पार्टी सुदूरपश्चिममा निर्णायक भएपनि सम्मानजनक भाग नदिएको र यस पहिले गरिएको सहमतिमा इमान्दार नबनेको भन्दै नाउपा सरकार बाहिरै थियो ।  कमलबहादुर शाह नेतृत्वको सुदूरपश्चिम सरकारले एक मन्त्रालय मात्रै दिने बताएपछि नाउपा सुप सरकारमा सहभागी भएको छैन । अब भने प्रधानमन्त्रीले नै पूर्व सहमति अनुसार मन्त्रालय दिने प्रतिबद्धता जनाएका छन् । असारको पहिलो साता काँग्रेसका प्रदेश मन्त्री पृथ्वीबहादुर सिंहको सडक दुर्घटनामा निधन भएपछि उनले सम्हालेको आन्तरिक मामिला तथा कानून मन्त्रालय बाँकी छ । त्यस्तै, भूमिसुधार मन्त्रालय पनि बाँकी नै छ । नाउपाको यी दुबै मन्त्रालयमा दावी रहेको छ ।

अरे रानी भिजै रंगि रे महलिया, पिहा हो परुडेसे .....

अरे रानी भिजै रंगि रे महलिया, पिहा हो परुडेसे .....

११५९ दिन अगाडि

|

२० असार २०८०

मान्छेले गीत कि सुखमा गाउँछ कि दुःखमा । कृषिप्रधान देश नेपालका विभिन्न आदिवासी जनजातिले किसानी दिनचर्याको दुःख सुखमा गीतको राग सुसेल्छन् ।  थारूहरुको पुख्र्यौली पेशा पनि कृषि हो । धान खेतीको समय प्रायः जेठदेखि साउनसम्म होे । त्यसैले, सजना प्रायः जेठदेखि साउनसम्म गाइन्छ । जेठ लाग्दा पनि पानी नपर्दा किसानहरुले सजनाको राग छोड्छन् ।  हरे पुरुवसे उमरल कारि रि बडरिया रे,पछिउ चलि जावै, अरि परि गैला, जेठ असरिया, पनिया नहि बरसल । अर्थात् पूर्वबाट कालो बादल मडारियो अनि पश्चिममा गएर बिलायो । जेठ, असार महिना लाग्दासमेत पानी परेन ।  उता पानी नपरी खेती गर्न नपाउँदा किसानलाई दुःखी भएको देखेर उनकी  जवान छोरी पनि बिलौना गर्छिन् सजनामार्फत् ।  हरे गिउरक बिनल झलुरि छटरिया रे, उपरे पावोन डोलै अरि छि छि बुन्दा पनिया न परल, मोर चुन्डरि नै भिजल  ।  (चौधरी, २०६९ः १३०) भंगेराले बनाएको छटरी (गाउँले छाता) माथि–माथि हावा बह्यो । सामान्य एक बुँदा पानी सम्म परेन, मेरो चुनरी नै भिजेन ।  यसै गरी, पानी नपरेमा गोरु÷गैया बेंहर्ना संस्कृतिअन्तर्गत सजना गाउँदै  पानी पार्न अनुरोध गरिन्छ । प्रायः वैशाखमा गोरु÷गैया बेंढने (गाईलाई बन्दी बनाउने) चलन छ । यसमा केटीहरु केटाको पोशाक लगाई गाउँ गाउँ छाता ओढेर सजना गाउँदै हिँड्छन् । गाईलाई बन्धन बनाउने जाने बेला उनीहरु सजना गाउँछन् । आश्चर्यको कुरा के छ भने जुन दिन गोरु÷गैया बेंढना रित पूरा गरिन्छ, त्यो दिन संयोगले पानी परेको हुन्छ (चौधरी,२०५३ ः३४) । जब पानी पर्छ, किसानहरु खेतमा ओइरिन्छन् । यता पुरुष नभएको घरको महिला पानी परे पानी परे पनि खुशी हुन्निन् ।  सावन सजनि बरसे झिन बुँडिया रे, टुटे बजरा केवरियाँ अरे रानी भिजै रंगि रे महलिया, पिहा हो परुडेसे ।  खेतीपाती गर्ने बेला वर्षात्को लुगलुगले सताएको मौसममा श्रीमान् (राजा) सँगसँगै नभएको बेला कुन चाहिँ रानीको मन खुशी होला र ? रंगीन  महलमा भिजेर उसको अंगको काँडा उम्रिन्छ तर काँडा सम्याउने पति हुँदैनन् ।  यता, भर्खर भर्खर नयाँ दुलही भित्र्याएको श्रीमान् भने खेतमा कम ध्यान, घरको यादले उसलाई बढी सताइरहेको हुन्छ । काम गर्ने मित्रले उसलाई सजनामार्फत् गिज्याउँछ ।  खेट्वा टे जोटल मुरसुवा रे...कि कोडरा छनाछन कव अइहि लौलि डुल्हनिया, कलवा पानी डेहे ।  अर्थात् मुरसुवा नामक व्यक्ति खेतमा दनादन कोदालो उजाउँदै छ, उसलाई भोकले सताइसक्यो । उसकी नयाँ दुलही कलवा (बिहानको खाना) दिन कति बेला आउँदैछिन् कुन्नी ? उता नयाँ दुलही खाना पानी लिएर खेत पुग्छिन् र सजनामार्फत् यसरी भाव व्यक्त हुन्छ ।  सिरे टे लेहल गगरिया रे, हाँठे र करुवा पानी  भुजवा टे लेहल कोछियाइ, चलल खेत पानी डेहे ना मै डेखुँ रुख्वा, बरिख्वा, ना सिटल जुर छाँहि घैला छलक चुन्डरि भिजे, कहाँ रे ढारु पैला ?  (कुशुम्हिया, २०५७ः १९) शिरमा घैँटो, हातमा करुवाको पानी, कम्मरमा भोजन लिएर खेतमा गइरहेकी दुलहीले खेतमा न रुख देख्छिन्,न कुनै शित्तल स्थान । उनको घैला छल्किएर चुनरी भिजिरहेको हुन्छ । त्यसैले सोध्छिन्, ‘ए मेरा स्वामी घैलाको पानी कहाँ राखु हँ ?’  यसरी थारु किसानहरु खेतीपातीको लागि जब खेतमा छरिन्छन्, सजना गीतको रागले खेतै संगीतमय हुन्छ ।  सजनामा विछोडको पीडा परदेशमा बस्ने श्रीमान्को विछोडको पीडा कुन श्रीमतीलाई हुँदैन र ? तर भर्खरको बेहुलीको विछोडको पीडा झन् बढी हुन्छ  । बरमासा सजनामा एक नवदुलहीले लामो समयको लागि विछोडिएको स्वामीलाई महिना (ऋतु) अनुसार यसरी सम्झिन्छिन्– पुस मासकै महिना रे, जारा कैनै बहुट आज पिया मोरे हुइटै कि अग्नी जलैटैं माघ मासकै महिना रे, पाला परलै ढुसला आज पिया मोर हुइटै, कोरा लैके सुटटुँ  वैशाख मासकै महिना रे, ढारु धुप कैनै  आज पिया मोरे हुइटै कि बेनिया डोलैटुँ (चौधरी, २०५७ः २०) ओहो, पुुुसको महिनामा कति जाडो भएको, यदि पिहा (श्रीमान्) भएको भए अग्नीको धुनी जलाउने थिएँ । माघमा कस्तो असिना परेको, हुस्सु लागेको, यदि श्रीमान् भएको भए उनको काखमा हराउने थिएँ । वैशाखमा कस्तो उखरमाउलो गर्मी, यदि श्रीमान् भएको भए बेना (पंखा) हम्किने थिएँ ।  उता अर्को प्रसंगमा वैशाख महिनामा सँगसँँगै भएको लोग्ने सुख निंदका साथ सुतेर आफूलाई वेवास्ता गरेको देखेर सजना सिर्जिन्छ– जाग्यो रे पिहा जाग्यो रे बैशाख भर जाग्यो  चलि जैबुँ गोहुँ कि लँवागि खाए, पाछे रे पस्टैबो ।  ए पिहा वैशाख भर त जागा होऊ । गहुँको लँवागी (नयाँ रोटी चढाएर खाइने रिति) खान माइती गएँ भने पछि पछुताउलाऊ नि । यता लोग्नेले सजनामार्फत् उत्तर दिन्छ– जायो रे ढानि जायो रे, टिकुलि छोडि जायो टिकुलि हेरि हेरि जियरा बुझैबुँ, सिरहनि ढैके सुट्बुँ ।  ए ढानी (पियारी) माइती जाने नै भए टिकुली (बिन्दी) छोडी जानु है, त्यही हेरेर चित्त बुझाउनेछुँ, त्यसैलाई सिरानीमा राखेर सुत्नेछुँ ।  यी त भए नव वेहुला–वेहुलीका प्रसंग । उता आफ्नो इच्छा विपरीत बाबुले सानै अवस्थामा विहे गरेर दूर देश पठाउँदा चेलीले रोपाइँको बेला सजनामार्फत् विछोडको पीडा ओकल्छे– हारक टे हरले बाबा रे, अइसिन डुर हरले गंगामे कुडि मरजैबुँ, खबर नहि पैबे बलटल खबर पैबे बाबा रे, बहरिम बैठल रोइबे ।  अर्थात्, ए बाबा, आफ्नो सामुन्नेबाट पठाउन त पठायो, निकै टाढा पठायो । गंगामा कुदेर मर्नेछुँ, खबर पाउने छैनौ । बल्लतल्ल खबर पाए, पिढीमा बसेर रुनेछौ ।  नयाँ बेहुलीलाई घरको यादले सताई रहन्छ तर मलाई यहाँ लिन को पो आउला र ? भन्ने चिन्तन पनि हुन्छ ।  बाबा बटाँ पुर्खा पुरनिया रे, भैया बा छोटि डाडु बटाँ अनेक घर हरोहिया, के रे लेहे आई ? अर्थात् चाडपर्व आइसक्यो । माइतीकाले लिन आउनुपर्ने हो । तर, बाबा बूढा भइसके । भाई सानै छ, दाजु अरुको घर कमैया छ, मलाई लिन को नै आउला र ?  यस्तो चिन्तनमा डुबेकी चेलीलाई जब उनकी नजिकको सखीले भन्छिन्, ‘तिम्रा श्रीमान् त अरुसँग लागेर हिँड्छन्, किन आफ्नो मान्छेलाईं सम्झाउँदैनौ हँ ?’ थकित मनस्थितिमा रहेकी उनले भन्छिन्– अरे, नोन तेल  हुइटैँ जोख्टुँ रे, पिहा कैसे जोखौं गोरु भैंस हुइटैँ बँढटुँ रे, पिहा कैसे बाँढौँ  मुर्गि चिंग्ना हुइटैँ छोप्टुँ रे, पिहा कैसे छोपौँ  मोरे पिहा मरड भँवरवा, छट्टिस फूला लोह्रहिं नुन, तेल भए कम भयो कि भनेर जोख्ने थिएँ, पिहा (श्रीमान्) लाई कसरी जोखौँ ? गोरु भैँसी भएको भए पिहालाई बाँध्ने थिएँ, पिहालाई कसरी बाँधौँ ? कुखुरा चल्ला भए छोप्ने थिएँ, पिहालाई कसरी छोपौँ । मेरा स्वामी त मर्द भमरा हुन्, छत्तीस फुल चुसुन्, म के नै गर्न सक्छुँ र ? यसरी यसमा महिलाको लाचारी व्यक्त भएको छ । यस्तो अवस्थामा जोगी भएर हिँड्न पाए नि हुन्थ्यो भन्ने भाव पलाउनु स्वाभाविकै हो ।  जोगिन्या बजावै सोनक् बसिया रे, रुपन लागल डोरी हो अइसा मन लागल मयरी, जोगीन हुइ जयबुँ ।  आँगनमा जोगीको टोली आएको छ । जस मध्येकी एक जोगिनीले बाँसुरी बजाउँदै छिन् । बाँसुरीको डोरीको रुप पनि कति सुन्दर हो, ए मेरी आमा मलाई त जोगिनी हुन मन लाग्यो ।  त्यसो त, जोगिया सजना भनेर कथावस्तु बोकेको छुट्टै सजना पनि थारू लोकसाहित्यमा छ । जसमा बयस्क युवतीले १६ सय जोगीबाट एक जोगी सुन्दर देखेको, उसैको पछि लाग्ने निर्णय बाआमालाई सुनाउँदा घर घर भिक्षा माँग्नुपर्छ, रनवन पुग्नुपर्छ, भन्दा पनि नमान्दा जोगीलाई नै सुम्पेको कथा छ ।  जोगीलाई छोरी दिएपछि विदाईमा बा आमा त रुने नै भए तर भाउजूको मन आनन्दित हुन्छ । घर छोड्दा दुलहीले गुरही (खेलौना) विर्सेर आएको, उसलाई घर छोड्न लागेको सम्झाउन नसकेकोेले दाजुलाई  स्याहारेर राख्न भन्छिन् तर भाउजुले गुरही छिन्न भिन्न पार्छिन् ।  सजनामा पौराणिक पात्रको खेतीपाती प्रसंग थारु समुदायमा गाइने सजनामा कान्हा गाई गोठालो भएको प्रसंग छ । अस्टिम्कीक् गीतमा त कान्हाका बाबुआमाले पनि खेतीपाती गरेको देखिन्छ । कान्हालाई सम्झिइने कृष्ण औतार सजनाको एउटा उदाहरणः  सुनो सुनो कृष्ण भाइ रे, टोर गौवा हेरानि  कहाँ अइलो मोरे डुवारे कि टोर रहिया भुलानि  ना मोरे गौवा हेरानी रे, ना मोरे रहिया भुलानि  कारि नाग फुला टुरबुँ, मामा रे पुजा करहिँ ।  काली नागिनले सोध्छिन्– ए कृष्ण, तिम्रो गाई हरायो कि बाटो भुलेर यतापट्टि आयो । कृष्णले भन्छन्– न मेरो गाई हराएको हो, न त बाटो नै भुलेको हुँ । ए नागिन, तिमीहरुले रक्षा गरेको फूल कंस मामाको पूजाको लागि टिप्न आएको हुँ ।  यसरी दाङदेउखुरीको उपत्यकामा थारू जातिमा प्रचलित लोकसाहित्यका सामग्रीमा सजना मात्रै होइन, अन्य सामग्रीहरुमा आएका राम सीता, कृष्ण राधा तथा पाण्डवजस्ता दैवीशक्तियुक्त पात्र पात्राहरु पनि थारू जातिकै सदस्यका रुपमा उपस्थित हुन्छन् (आचार्य,२०६२ः १०९) ।  कृष्ण मात्रै होइन, थारू गुरुवाहरुले वाचन गर्ने जति पनि मन्त्र छन्, त्यसमा महादेव पार्वतीको दुहाईमा तिनलाई संझिएको प्रसंग छ । सजनामा पनि यिनका प्रसंग छन् ।  गौरी टे गैनै जगाई रे, उठो हो महादेव बसहा बरडा बेचि डारो, छिन भर सुटो ।  अस्टिम्कीक् गीतमा जसरी कृष्णका बाबुलाई हलो बनाउने सामग्री लिन वन पठाएको, खेत जोताएको प्रसंग छ, हुँदा–हुँदा महादेवलाई पनि खेती प्रणालीमा थारू लोकसाहित्यमा ल्याएको देखिन्छ । यहाँ निदाएका महादेवलाई गौरी (पार्वती) ले भन्छिन्– कति सुत्छौ ए महादेव, यहाँ ग्राहक आएका छन्, बसहा (गोरु) बेँच अनि फेरि सुत्नु ।  सजनाका अन्य पक्ष सजना र सजनी (प्रेमी र प्रेमिका) को प्रसंग सजनामा स्वाभवतः आउँछ । प्रेममा घात, प्रतिघात हुन्छ । विहे भएकी महिलाले अर्को प्रेमीसँग वार्तालाप गरेको प्रसंग हेरौँः  गोरे पहिरे चन्दन खरौला रे, जिउ रे पहिरे धोती  मोरे अंगना होके गैलो छैला, महि नै जगैलो ।  चन्दन काठको खराउ लगाएर, धोती कुर्तामा चमक दमक गरी राती मेरै आँगन भएर गयो रे तर मलाई किन ब्यूझाएनौ ए मेरा प्यारा ?  डुवारे टोर बाटै सग्गे ससुरवा रे, बरि टोर जेठवा सेज पठरि बाटैँ टोर समिया, कैसे रे टुहिन जगैबुँ ।  ढोकामै तिम्रो सहोदर ससुराको ओच्छ्यान छ, पिढीमा तिम्रा जेठाजु सुत्छन्, तिम्रो ओच्छ्यानमा तिम्रो स्वामी (पति) पनि छन् । यस्तोमा मैले तिमीलाई कसरी ब्यूझाउन सक्थेँ र ? प्रेमीले लाचारी व्यक्त गर्दा प्रथभ्रष्ट महिलाले नै उपाय सिकाउँछे ।  गोरियम मारि जगैटो रे, हम ढानि जगटुँ छोडि जैटुँ पिहवा रे, टोहारे सँगे लगटुँ ।  (थारू, २०५७ः ११) गोडामा सामान्य छोएजस्तो हानेको भए म ब्यूँझिहाल्थेँ नि । त्यसपछि त पिहा (स्वामी) लाई छाडेर तिम्रै साथ लाग्ने थिएँ । यसरी बहुविवाहको प्रसँग मात्रै होइन, अन्तर्जातीय विवाहको संभावनाको प्रसंग पनि सजनामा देखिन्छ ।  सटरंग गोन्ड्रि विछैनै रे, डरजि भैया बैठे सुटुर सुटुर डरजि सिएनै कि सुवरनि मुस्कि मारे यहाँ आफ्नो घरमा लुगा सिउन आउने दर्जीलाई रंगीन गुन्द्री ओच्छ्याएर स्वागत गरी लुगा सिएको हेर्ने र मुसुक्क मुस्कान छाड्ने सुवरनी नामक् जवान केटीको वर्णन छ ।  समग्रमा थारू लोकगीत सजनामा मायाप्रेम, पौराणिक पात्रका गाथा, खेतीप्रणाली तथा पशुपालन वर्णन नै बढी भेटिन्छ । त्यस्तै, थारूहरुको शिकारप्रतिको मोहले शिकारी युगको झल्को पनि सजनामा पाइन्छ ।  भाग्यो रे सुगा भाग्यो रे, कजरि वनमे भाग्यो  गोहिक पिहा बटाँ रे सिकरिया बट्टिस गोलि मरहिँ  यहाँ सजनाको सामान्य अर्थ लगाउँदा एक चेलीले आफ्नो सखीको लोग्ने निकै शिकारी भएकोले सुगालाई बत्तीस गोली मार्न सक्ने भन्दै कजरी वन अर्थात् घना जंगलमा भाग्न अनुरोध गछ्र्रिन् । प्रस्तुत सजनाको लाक्षणिक अर्थ केलाउँदा भने पोथी सुगालाई महिलाको रुपमा चित्रण गरिएको छ र सखीको लोग्नेबाट जोगिन अनुरोध छ । उनले घरमा आफ्नी श्रीमती छँदाछँदै अन्य एकतीस जनालाई प्रेमजालमा फँसाइसकेको तिमी बत्तीसौं नम्बरको शिकारमा पर्न सक्छ्यौ भनी सचेत गराइएको छ ।  यसरी सजनाको सामान्य व्याख्या गर्नुभन्दा यसभित्र लुकेको भावार्थलाई विश्लेषण गर्नु जरुरी देखिन्छ, जसले थारू लोकसाहित्यको पाटोलाई बुझ्न अझ दरिलो बाटो खोल्नेछ ।  विडम्वना मूल नेपाली भाकामा रहेका असारे गीत नै ओझेलमा छन् । यस्तोमा थारू गायक, संकलकहरुको ध्यान पनि सजना जस्तो रोपाइँ गीतको रेकर्डिङमा जान सकेको छैन ।  सन्दर्भ सामग्री आचार्य, गोविन्द । २०३२ । थारू लोकसाहित्यमा स्थानीय रंग । गरिमा । माघ, पृ.१०९–११३ । कुशुम्हिया, बालगोविन्द चौधरी । २०५७ । सजना । विहान, पृ.१९ ।  चौधरी, रुपशंकर । २०६९ । थारू लोकगीत चिनारी । स्मारिका । देउखर,  चौधरी, शान्ति । २०५३ । गोरु बेंढना । विहान, पृ.३४–३५ ।  चौधरी, कनैयाँलाल । २०५७ । बरमासा सजना । विहान, पृ.२० ।  थारू, कुलप्रसाद । २०५७ । सजना । बिहान, पृ. ८ –१४ ।  सर्वहारी, कृष्णराज । २०६९ । सावन सजनी । गोरखापत्र, २१ साउन, पृ.१२ ।