मोदाहा थारूले फर्काएको माघीको रौनक

मोदाहा थारूले फर्काएको माघीको रौनक

४७६ दिन अगाडि

|

२ माघ २०८१

चिट्ठा प्रणालीबाट चुनिन्छन् महिला बरघर, निरन्तरता दिन गाह्रो 

चिट्ठा प्रणालीबाट चुनिन्छन् महिला बरघर, निरन्तरता दिन गाह्रो 

४८५ दिन अगाडि

|

२३ पुष २०८१

प्रत्येक वर्ष माघको अवसरमा चयन गरिने बरघर प्रणालीमा लामो समय कि एकैजसो व्यक्तिको हातमा छ, कि चिट्ठा प्रणालीबाट बरघर चुनिन थालेका छन् । यसरी चिट्ठा प्रणालीबाट बरघरमा महिला तथा युवा आउने गरेकोमा लामो समय पदमा टिक्न गाह्रो अवस्था रहेको अनुभव बाँडेका छन् । ढिलो गरी प्राप्त समाचारअनुसार बाँकेको कोहलपुरमा पुस १७ र १८ गते आयोजित ‘महिला तथा युवा बरघरहरुलाई प्रशिक्षण’ कार्यक्रममा तिनीहरुले आफ्नो अनुभव शेयर गरेका हुन्  । यूएसएड, नागरिक सञ्चार CSM को आर्थिक सहयोग, द एशिया फाउण्डेशनको सहकार्य तथा दाङ, लमहीस्थित थारु साहित्य तथा संस्कृति प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रममा प्रायः बरघरहरुले चिट्ठा प्रणालीबाट बरघर चयन दिगो समस्याको समाधान नभएको बताएका हुन् । बर्दिया, बारबर्दिया नगरपालिका–७, मरघट्टीकी बरघर गीता चौधरी गएको वर्ष चिट्ठा प्रणालीबाट बरघर चुनिएकी हुन् । महिला बरघर हुने भएपछि पोथी बासेको सुहाउन्न भनेर केहीले खिसी गरेको तीतो अनुभव पनि छ उनीसंग । उनलाई फेरि बरघर बन्न मन त छ । तर, चिट्ठा प्रणालीबाट बरघर चुन्ने परम्परा बसिसकेकाले आफूले पुनः दावी गर्न सक्ने अवस्था नभएको उनको भनाई छ । कार्यक्रममा सहभागी उनले भनिन्, गाउँको नेतृत्व सबैले पाउनुपर्छ भन्ने बुझाइ छ । तर, मन नभएकोलाई चिट्ठा पर्दा बरघर नाम मात्रको पनि भएका छन् । दाङ, लमही नपा–८, धनपुरवा गाउँकी बरघर सीता चौधरीले पनि उस्तै अनुभव सुनाइन् । चिट्ठा प्रणालीबाट उनको नाम बरघरमा निस्किएपछि दोह्र्याएर चिट्ठा हाल्न केहीले जोड दिएका थिए । कारण खेतीपाती नगर्ने उनको परिवार मजदुरी गर्छ । उनले कसरी समय देलिन् भन्ने धेरैको आंशका थियो । तर पुरुषभन्दा राम्ररी गाउँ चलाएको गाउँलेहरुको मूल्याङ्कन छ । उनले भनिन्, जिम्मेवारी लिएको पहिलो वर्ष त सिक्दै लाग्छ । समाजसेवामा बल्ल रुचि बढ्न थालेको हुन्छ, पद छोड्नु पर्ने अवस्था आइसक्छ । उनको गाउँमा प्रत्येक वर्ष माघ ३ गते बरघर चयन हुन्छ । उनले अगाडि भनिन्, चिट्ठा प्रणालीबाट बरघर चयन भए कुनै दुःखेसो छैन तर पुनः जिम्मेवारीका लागि आग्रह भए पछि हट्दिन । बाँके, राप्तीसोनारीकी युवा किरण कुमारी थारुले गाउँलेले चाहेमा आफूजस्ता युवाहरु गाउँको नेतृत्व गर्न तयार रहेको धारणा राखिन् । एक सहकारीमा आवद्ध बाँके, राप्तीसोनारीकी अर्की युवा टीका थारु महिला हक, अधिकारका लागि बलियो आवाज उठाउँछिन् । उनले आमाको नामबाट नागरिकता निकालेकी छिन् । उनले भनिन्, गाउँको नेतृत्व पुरुषले दयाले दिनुभन्दा महिलाहरुले अग्राधिकारको रुपमा दावी गर्न सक्नुपर्छ ।   आयोजक थारु साहित्य–संस्कृति प्रतिष्ठानका अध्यक्ष छविलाल कोपिलाले प्रतिष्ठानले परियोजनाअन्तर्गत केही महिना बरघरमा समावेशिता खोजे पनि यो अभियान दीर्घकालीन हुनुपर्ने धारणा राखे । प्रतिष्ठानका कार्यकारी निर्देशक डा कृष्णराज चौधरी सर्वहारी तथा अनुसन्धानकर्मी शेखर दहितले सहभागीहरुलाई प्रशिक्षण दिएका थिए । प्रतिष्ठानका फिल्ड अधिकृतद्वय विमला चौधरी तथा निरन्जन चौधरीले महिलाहरु थारु गाउँको नेतृत्वमा आउन चाहना राखे पनि राम्रो समन्वय नभइरहेको बताएका थिए । मुक्तिपछि स्थापित नयाँ गाउँमा महिला बरघरहरु बढ्दै गए पनि पुराना गाउँमा परम्परागत ढंगकै नेतृत्व हावी रहेको बताइएको थियो । 

घुम्ना सामुदायिक वन उपभोक्ता समुहको साधारण सभा सम्पन्न

घुम्ना सामुदायिक वन उपभोक्ता समुहको साधारण सभा सम्पन्न

४८६ दिन अगाडि

|

२१ पुष २०८१

घुम्ना सामुदायिक वन उपभोक्ता समुहको १५ औ साधारण सभा पुस २० गते समूहको कार्यालय परिसरमा सम्पन्न भएको छ ।  कार्यक्रमका प्रमुख अतिथि डिभिजन वन कार्यालय लमही, देउखुरीका प्रमुख महेन्द्रराज  वाग्लेले बिचमा अस्तित्व हराएको वन व्यवस्थापनलाई पुनस्थापन गरेकोमा समूह नेतृत्वको प्रशंसा गरे ।  डा कृष्णराज सर्वहारीले घुम्ना सामुदायिक वन उपभोक्ता समुहले वन संरक्षणमा केन्द्रित रहेर कथा, निवन्ध, कवितालगायत प्रतियोगिता गराउन तथा वनसंग संस्मरण जोडिएको विषयबस्तु समेटेर स्मारिका प्रकाशन गर्न सुझाए ।  कार्यक्रममा वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रकाश भुसाल, लमही–४ का वडासदस्य भोजराज चौधरी, बुट्कह्वाका ककन्दार मुकेश चौधरी लगायतले शुभकामना दिएका थिए ।  घुम्ना सामुदायिक वनका अध्यक्ष हल्लुप्रसाद चौधरीको अध्यक्षतामा भएको कार्यक्रमा उनले बार्षिक प्रगति प्रतिवेदन तथा भावी योजना तथा कोषाध्यक्ष राजकुमार चौधरीले २०८१/२०८२ को आय ब्यय प्रस्तुत गरेका थिए । गत वर्ष १९ लाख ५ हजार १०५ रहेको तथा खर्च १६ लाख ६२ हजार ११० भई २ लाख ४२ हजार ९९५ मौजदात रहेको जानकारी दिइयो । होम स्टे, राप्तीमा डुंगा सवारी, गाउँलाई पर्यटकीय हब बनाउने लगायत योजना रहेको छ । सोही कार्यक्रममा दाङदेउखुरी, लमही–४, बरका घुम्ना, छुट्की घुम्ना, बुट्कह्वा गाउँको ककन्दार समितिकता तर्फबाट गाउँका विभिन्न क्षेत्रमा योगदान पुर्याउने ब्यक्तिहरूलाई सम्मान गरियो । जसमा थारू साहित्य, संस्कृतिमा संरक्षण पुर्याएको तथा विद्यावारिधि हासिल गरेकोमा डा कृष्णराज सर्वहारीलाई, धर्मलाई संरक्षण गर्ने गुरुवाद्वय सुवेदार चौधरी तथा तुलसीराम चौधरी, पूजारी रौइनी चौधरी, घुम्ना सामुदायिक वनका संस्थापक अध्यक्ष मिश्रुलाल चौधरी, गायिका वसन्ती चौधरी लगायत सम्मानित भए ।  साथै, सोही कार्यक्रममा महेन्द्र चौधरीको संयोजनमा महिलाहरूको ढकिया दौड, बालबालिकाहरूलाई चकलेट दौड र ब्यालुन फोर्ने, पुरूषहरूलाई घैटाफोर प्रतियोगिता गरी पुरस्कृत पनि गरियो । सभाको सहजीकरण सचिव सीता चौधरी तथा स्वागत उपाध्यक्ष शिव प्रसाद चौधरीले गरेका थिए ।   

संकटमा छ बरघर प्रणालीमार्फत् हुने थारु गाउँको पूजाआजा 

संकटमा छ बरघर प्रणालीमार्फत् हुने थारु गाउँको पूजाआजा 

४८७ दिन अगाडि

|

२० पुष २०८१

थारु गाउँका अगुवा बरघरहरुले आफूहरुमार्फत् हुने थारु गाउँको पूजाआजाको व्यवस्थापन संकटमा रहेको बताएका छन् । थारु समुदायका व्यक्तिहरु विभिन्न धर्म मान्न थालेकाले गाउँको सामूहिक देउथान मरुवामा गरिने पूजापाठका लागि रकम नदिदा स्रोत जुटाउन गाह्रो परेको उनीहरुको भनाई छ ।  बाँके, राप्ती सोनारी–४ स्थित वडा कार्यालयको सभाकक्षमा पुस १७ गते भएको ‘बरघर, ककनदारबाट के सिक्ने’ विषयक् अन्तक्रिया कार्यक्रम भएको थियो । यूएसएड, नागरिक सञ्चार CSM को आर्थिक सहयोग, द एशिया फाउण्डेशनको सहकार्य तथा दाङ, लमहीस्थित थारु साहित्य तथा संस्कृति प्रतिष्ठानको आयोजनामा भएको प्यानल छलफल कार्यक्रममा पूर्व अध्यक्ष लाहुराम चौधरीले उक्त अभिब्यक्ति दिएका हुन् । प्रायः बरघरहरुले उनको भनाईमा समर्थन जनाएका थिए ।  सोही कार्यक्रमअन्तर्गत बरघर प्रणालीलाई चलायमान गराउने के छ उपाय भन्ने सेसनमा पूर्व अध्यक्ष चौधरीले अगाडि भने,‘बरघरले गुरुवाको निर्देशनमा गराउने विभिन्न पूजापाठमार्फत् गाउँलेलाई एकसुत्रमा बाँध्छ । तर, अब हामी तिमीहरुको धर्म मान्दैनौ, पूजापाठको लागि रकम पनि दिन्नौ, पूजापाठको कार्यक्रममा सहभागी पनि हुन्नौ भन्ने जमात बढ्दै गएको छ । यसले सतहमा पूजापाठ संकटमा पर्दै गएको देखिए पनिसमग्रमा यो बरघर प्रणाली नै संकटमा पर्दै गएको संकेत हो ।’ राप्ती सोनारी–४ की वडा सदस्य सोहनी थारुले आफू क्रिश्चियन धर्म मान्ने गरेकाले आफ्नो गाउँ दंगपुरवाको थारु मरुवामा हुने पूजापाठका लागि रकम नदिने गरेको स्वीकारिन् । उनले भनिन्,‘धर्म नै फरक परेपछि उहाँहरुको पूजा व्यवस्थापन उहाँहरुले हेर्नुहुन्छ, हामीले चर्चको हेर्छौ । धर्ममा कसैलाई दवाव दिनु हुन्न ।’ सोही कार्यक्रममा सहभागी दाङ, लमही नपा–८, धनपुरवा गाउँकी बरघर सीता चौधरीले थारु गुरुवाले समग्र गाउँको सुरक्षा, पशुदेखि बालीनालीको सुरक्षाका लागि पूजाआजा गर्ने भएकाले जुन धर्म अंगाले पनि गाउँको पूजाका लागि सबैले रकम दिनुपर्ने धारणा राखिन् । उनले अगाडि भनिन्,‘मेरै गाउँमा पनि जयगुरुदेव धर्म मान्नेहरु ९० प्रतिशत छन्, जो शाकाहारी छन् । तर, तिनले पनि पूजाआजाका लागि रकम दिन्छन् । भागप्रसाद आफन्तलाई दिन्छन् । गाउँको पूजाआजा रोकिनु हुन्न ।’ गाउँ गाउँमा पुगेर अभियान चलाउनुपर्ने बरघरमा महिला सहभागिता बढाउन के गर्नुपर्ला भन्ने सेसनमा थारु कल्याणकारिणी सभा, बाँकेको जिल्ला अध्यक्ष संगिता थारुले बरघरहरुलाई हौसला बढाउन, महिला सहभागिता बढाउन थाकसले सहकार्य गर्ने बताइन् ।  युवा किरण कुमारी थारुले गाउँलेले चाहेमा युवाहरु नेतृत्व गर्न तयार रहेको धारणा राखिन् । पाका बरघर भरथारी थारुले भने युवाहरुलाई कसैगरी पनि बरघरका लागि मनाउन नसकिएको अभिव्यक्ति दिए ।  अर्की युवा टीका थारुले दुइ चार दिनको छलफलले बरघरमा महिला, युवा सहभागिता नबढ्ने, यसका लागि गाउँ गाउँमा पुगेर अभियान चलाउनुपर्ने बताइन् । बरघर हरि प्रसाद थारुले माघको बरघर चुन्ने समयमा महिलाहरु नआउने गरेकाले बरघरमा महिला सहभागिता नदेखिएको बताए ।   बरघरमा युवा सहभागिता बढाउन के गर्नुपर्ला भन्ने सेसनमा युवाहरु गाउँमा प्रायः शुन्य अवस्थामा भएकाले पाकाहरु जिम्मेवारी लिने बाध्यता आइपरेको प्रसंग उठ्यो । शिक्षक राम बहादुर थारुले बरघरमा युवाहरुलाई जोड्न आफू जस्ता शिक्षकहरुको पनि जिम्मेवारी रहेको बताए । पूर्व वडाध्यक्ष समेत रहेका कान्छा थारुले आफू युवावस्थामै बरघर बनेको, त्यसैको जिम्मेवारीले पनि वडाध्यक्ष हुन सम्भव भएको जिकिर गरे । उनले अगाडि भने, विडम्वना वडाध्यक्ष हुँदाहुँदै पनि बरघरबाट विदा पाइएन । अहिले पनि बरघर नै छु । कोही महिला, युवा आए बरघरको जिम्मेवारी दिन तयार छु ।’  आयोजक थारु साहित्य–संस्कृति प्रतिष्ठानका अध्यक्ष छविलाल कोपिलाले प्रतिष्ठानले परियोजनाअन्तर्गत केही महिना बरघरमा समावेशिता खोजे पनि यो अभियान दीर्घकालीन हुनुपर्ने धारणा राखे । प्रतिष्ठानका कार्यकारी निर्देशक डा कृष्णराज चौधरी सर्वहारीले संविधानमा महिला हक सुरक्षित भएकाले बरघरमा नेतृत्वमा पनि समयअनुसार परिवर्तन हुनु आवश्यक रहेको बताए ।   

बारबर्दियाका बरघरहरुको प्रश्नः मेयरसाब, बरघर विधेयक खै ?

बारबर्दियाका बरघरहरुको प्रश्नः मेयरसाब, बरघर विधेयक खै ?

४९८ दिन अगाडि

|

९ पुष २०८१

बारबर्दिया नगरपालिकाका थारु गाउँका अगुवा बरघरहरुले पालिकाले पहिलो पटक बरघर ऐन पारित गरेको तर विधेयक नबनाउँदा बरघर सञ्जालमार्फत् कुनै काम गर्न नसकेको पीडा पोखेका छन् । लमही–५, दाङस्थित थारु साहित्य संस्कृति प्रतिष्ठानको आयोजनामा पुस ८ गते सोमवार बर्दियाको बारबर्दिया नगरसभा हल,जयनगरमा बरघरहरुको  समावेशी मापन भेलामा उक्त पीडा पोखिएको हो ।  करिब एक सय जना बरघरहरुको उपस्थिति रहेको सो कार्यक्रममा बारबर्दिया नगर बरघर सञ्जालका निवर्तमान अध्यक्ष कालीराम चौधरीले बरघर विधेयक पारित नहुँदा बरघर सञ्जालको नाममा छुट्टै खाता खोल्न नसकिएको, पालिकामै पनि कुनै प्रोपोजल दिन नसकिएको बताए ।  उता, बरघर सञ्जालका अध्यक्ष बहादुर बैरागीले सकेसम्म सबै बरघरलाई पारिश्रमिकको व्यवस्था हुनुपर्ने, नगर बरघर सञ्जालका पदाधिकारीलाई इन्धन, रिचार्जको व्यवस्था हुनुपर्ने आवाज उठाए । उनले अब बरघरहरु भोकभोकै लामो समय खट्न नसक्ने, पारिश्रमिकको व्यवस्था नगरिए बरघर प्रणाली नै धरापमा पर्न सक्ने बताए ।  नगर बरघर सञ्जालका निवर्तमान सचिव कृष्णप्रसाद चौधरी सवालले बरघरहरुले पहिलेको जस्तो सामाजिक सम्मान नपाएको, पालिकाले समेत विधेयक नबनाएकाले मान्यता दिएको अनुभूति नभएको धारणा राखे ।  कार्यक्रममा बारबर्दिया नगरपालिकाका प्रमुख छविलाल चौधरीले पालिकाले बरघर विधेयक पारित गर्ने तर यसबारे पर्याप्त गृहकार्य हुन नसकेको बताए । नगर बरघर सञ्जालका पदाधिकारीहरु सार्वजनिक कार्यक्रममा गुनासो गर्नुभन्दा विधेयक मस्यौदामा सघाउन उनको आग्रह थियो । साथै, मरुवा, भूइहार थानमा पूजा पुज्ने गाउँका बरघरहरु नै असली बरघर भएकाले विधेयकमा मरुवाको प्रसंग थपिने उनको भनाई थियो । उनले बरघरहरु पनि सरकारकै एक अंग भएकाले हीनताबोध महसुस गर्न नहुने धारणा राखे ।  बारबर्दिया–७, बौद्धनगर (मरघट्टी) की बरघर गीता चौधरीले पुरुषहरुको तुलनामा गाउँलेहरुले महिला बरघरलाई नटेरेको गुनासो गरिन् । तर यसो भन्दैमा महिलाहरु नेतृत्व लिने सवालमा पछि पर्न नहुने, केहीले जिम्मेवारी पाए अरु महिलालाई पनि हौसला बढ्ने भएकाले पुरुषहरु महिलालाई गाउँको जिम्मेवारी दिन तयार हुनपर्ने उनको भनाई थियो । २ नं वडाका वडाध्यक्ष रामफेरन थारुले आफूले कुनै काम गर्नुअघि आफ्ना वडाका बरघरहरुसंग सल्लाह लिने गरेकोमा बरघरहरुसंग सहकार्य गरेर जनप्रतिनिधिहरु सदैव अघि बढ्न तयार रहेको बताए । उनले ६० प्रतिशत बरघरहरु टोल विकास समितिमा पनि रहेकाले विकासको काममा वाधा नरहेको जिकिर गरे ।  थारु साहित्य संस्कृति प्रतिष्ठानका अध्यक्ष छविलाल कोपिलाको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिष्ठानका कार्यकारी निर्देशक डा कृष्णराज चौधरी सर्वहारी तथा फिल्ड अधिकृत विमला चौधरीले बरघरमा महिला तथा युवाहरुको सहभागितामा जोड परियोजनाबारे प्रकाश पारेका थिए । कार्यक्रममा प्रतिष्ठानका कार्यसमिति सदस्य यम चौधरीले स्वागत गरेका थिए । 

लुम्बिनी प्रदेश प्रज्ञा प्रतिष्ठान विधेयक अगाडि बढाउने सरकारको तयारी

लुम्बिनी प्रदेश प्रज्ञा प्रतिष्ठान विधेयक अगाडि बढाउने सरकारको तयारी

४९८ दिन अगाडि

|

९ पुष २०८१

                                                                                                                                        लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेशभित्र ललितकलाको थप अध्ययन, संरक्षण र विकासका लागि साझेदारी गरेर अघि बढ्न प्रदेश सरकार तयार रहेको जानकारी दिएका छन् । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, सदस्यसचिव देवेन्द्र थुम्केली, प्राज्ञ परिषद सदस्यहरु प्रदीप अधिकारी, दिनेश्वर महतो, सौरगंगा दर्शनधारी, पाल्साङ्मो लामालगायत प्रतिनिधिसँग मंसिर ९ गते मंगलवार  बिहान भएको छलफलमा मुख्यमन्त्री आचार्यले प्रदेशभित्रको कला, संस्कृति, साहित्य, सीप, ज्ञानविज्ञान तथा सम्पदाहरूको संरक्षण गर्न साझेदारी गरेर अघि बढ्न तयार रहेको बताएका हुन् । मुख्यमन्त्री आचार्यले प्रदेश प्रज्ञा प्रतिष्ठान गठनका लागि विधेयक अगाडि बढाउने तयारी भइरहेको जानकारी दिए । ‘प्रदेश पज्ञा प्रतिष्ठान गठनका लागि विधेयक अगाडि बढाउँछौं’, उनले भने, ‘प्रदेशभित्रको कला, साहित्य, संस्कृति, सम्पदा संरक्षणका लागि सरकार प्रतिबद्ध छ ।’ कुलपति हार्तम्छालीले प्रदेशमा ललितकलाको अध्ययन, अनुसन्धानको विषयलाई प्राथमिकतामा राख्न अनुरोध गरे । कलाकृतिहरूको सृजना तथा तिनको प्रदर्शन गर्नुका साथै कलाहरूको विविध विधामा अध्ययन, अनुसन्धान र अन्वेषण गर्न जरुरी रहेको उनले बताए । भेटमा ललितकला प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव देवेन्द्र थुम्केलीले दाङको गढवालाई सेरामिक्स हब बनाउने गरी कार्यक्रम अघि बढाएको जानकारी दिए । देशकै सेरामिक्स हब गढवा बन्ने, यहाँको माटो र माटोबाट बनेका भाँडा विश्वबजारमा पुर्याउने, वार्षिक रु १० देखि १५ करोडको कारोबार गर्न सकिने सम्भाव्यता अध्ययनले देखाएको छ । यसका साथै प्रादेशिक ललितकला प्रदर्शनीको आयोजना गर्न थालिएको बारेमा समेत जानकारी गराइएको छ । रासस   

बाँकेको राप्तीसोनारीमा बरघरहरुको समावेशी मापन भेला सम्पन्न

बाँकेको राप्तीसोनारीमा बरघरहरुको समावेशी मापन भेला सम्पन्न

५०१ दिन अगाडि

|

६ पुष २०८१

बाँकेको राप्तीसोनारीमा बरघरहरुको समावेशी मापन भेला पुस ५ गते शुक्रवार सम्पन्न भएको छ । लमही–५, स्थित थारु साहित्य संस्कृति प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रममा करिब ६ दर्जन बरघरहरुको उपस्थिति रहेको थियो ।  सो अवसरमा राप्तीसोनारी गाउँपालिकाका थारु गाउँका अगुवा बरघरहरुले आफूहरु सक्रिय भएको गाउँठाउँमा टोल विकास समितिबाट नभई बरघरहरुकै सञ्जालबाट काम हुनुपर्ने आवाज उठाएका थिए । आफू युवावस्थामै बरघर बनेको बताउने टरवा गाउँका बरघर इतवारी थारुले भने,‘पालिकाले बरघर ऐन पारित त गरेको छ । तर, हामीलाई पत्याउँदैन ।’ टोल विकास समितिले बरघरहरुसंग समन्वय गरेर काम गरेमा थारु गाउँको विकास तीव्र गतिमा हुने उनको धारणा थियो । अर्को प्रसंगमा उनले बीसौ वर्ष बरघर बन्नेहरु बरघरमा मात्र सीमित नभई समाजसेवाको दायरा फराकिलो पार्न राजनीतिमा पनि हात हाल्नुपर्ने राय दिए ।  कार्यक्रममा राप्तीसोनारी गाउँपालिकाका पूर्व अध्यक्ष लाहुराम चौधरीले आफ्नो पालामा टोल विकास समितिबाट नभई बरघरहरुकै सञ्जालबाट काम गराएको स्मरण गरे । अझै पनि यस्तो अभ्यास फलदायी हुने उनको भनाई थियो । ‘बरघर प्रणाली स्वयम्सेवी छ, श्रमदान गरेर लाखौंको काम उनीहरुबाट छोटो समयमा सम्भव हुन्छ । त्यसैले, थरुहटका पालिकाहरुले बरघरहरुको सञ्जाललाई सदुपयोग गर्न सक्नुपर्छ ।’ पूर्व अध्यक्ष चौधरीले भने ।  पेडारी गाउँका बरघर रतिराम चौधरीले भने, ‘आयोजक थारु साहित्य संस्कृति प्रतिष्ठानको बरघरमा महिला र युवा समावेशी हुनुपर्छ भन्ने आवाज जायज छ । तर, बरघरमा महिला र युवाहरुको चाहना देखिदैन ।’ बरघर रतिराम चौधरी तथा अर्का बरघर सुन्दरसिंह चौधरीले आफ्नो बाजे, बाबु हुँदै बरघर आफूमा सरेको बताउँदै गाउँका कसैले बरघर बन्न चाहना गरे सुम्पिन तयार रहेको बताए ।  २०५४ सालबाट लगातार २७ वर्षदेखि बरघर चलाइरहेका बजारु थारुले युवाहरुलाई लौन अब त काँध फेरदेऊ भन्दा नमान्ने गुनासो गरे । बरघर चलाउन गाह्रो छ । बरघरसंगै पूजापाठ पनि जोडिएकाले सबैलाई यो पद शुभ नहुने उनको भनाई थियो ।  पद्नाहा गाउँकी बरघर जुगमानी थारुले पालिकाले गाउँको भूंइहार बनाउन थोरै बजेट दिएकोमा नपुग भई गाउँलेहरुबाट चन्दा उठाउनु परेको जनाइन् । उनले भनिन्, महिलाहरु पनि बरघर बन्न इच्छुक हुन्छन् तर पुरुषले साथ दिनुपर्छ । पूजाआजा गराउन झन्झटिलो भएकाले पनि महिलाहरु बरघर बन्न मन नगर्ने उनको भनाइ थियो ।  अर्का बरघर कान्छा चौधरीले महिलाहरुले चलाएको सहकारी उत्कृष्ट रहेको उदाहरण दिदै महिलाहरुलाई बरघरको जिम्मेवारी गाउँको समन्वय अझ मजबुत हुने बताए ।  राप्तीसोनारी ७ नं वडाका वडाध्यक्ष रामलखन चौधरीले पालिकाबाट बरघर ऐन पारित गराउन निकै पापड पेल्नु परेको बताउँदै अब छिटै नै विधेयक पनि पारित गरेर व्यवस्थित गरिने जनाए । अर्को प्रसंगमा उनले प्रत्येक थारु गाउँको मौलिक नामसंग इतिहास, पहिचान जोडिएको तर हाल आएर बंग्याउने काम भएकाले मौलिक नाम जोगाउन आग्रह गरे । उनले बरघरहरुसंग भने, तपाईहरुको गाउँको नामको साइनबोर्ड बिग्रिएको छ भने, पालिकामा सच्याउन निवेदन दिनोस्, हामी सहयोग गर्छौ । पुरानो जमिन्दारको नाममा गाउँको देउता रहेकाले त्यो सकार्ने अर्को व्यक्ति नहुँदा आफ्नो गाउँ बरघरविहीन रहेको, यसलाई सल्टाउने काम भइरहेको उनले बताए ।  थारु साहित्य संस्कृति प्रतिष्ठानका अध्यक्ष छविलाल कोपिलाको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिष्ठानका कार्यकारी निर्देशक डा कृष्णराज चौधरी सर्वहारी तथा फिल्ड अधिकृत विमला चौधरीले बरघरमा महिला तथा युवाहरुको सहभागितामा जोड परियोजनाबारे प्रकाश पारेका थिए । कार्यक्रममा प्रतिष्ठानका कार्यसमिति सदस्य यम चौधरीले स्वागत गरेका थिए । कार्यक्रममा राप्तीसोनारी गाउँपालिकाको ७८ जना बरघरमा ४० मुनिका ४ युवा अनि ३ महिला बरघरले समावेशी नभएको देखाउँछ । बरघरमा महिला तथा युवाहरुको सहभागितामा जोड परियोजना यूयसएडको सहयोग तथा द एशिया फाउण्डेशनको सहकार्यमा नागरिक समाज र सञ्चार परियोजनाअन्तर्गत भइरहेको छ।