शिक्षक आन्दोलनका कारण काठमाडौँको कोर एरियामा दिनभर ट्राफिक जाम

शिक्षक आन्दोलनका कारण काठमाडौँको कोर एरियामा दिनभर ट्राफिक जाम

१०८० दिन अगाडि

|

४ असोज २०८०

टीकापुर घटनाका ३ जना कैलाली कारागारबाट रिहा भएपछि अबिर लगाएर स्वागत

टीकापुर घटनाका ३ जना कैलाली कारागारबाट रिहा भएपछि अबिर लगाएर स्वागत

१०८१ दिन अगाडि

|

३ असोज २०८०

धनगढी । टिकापुर घटना मुद्दा खेपिरहेका ३ जना कैदीबन्दी कैलाली कारागारबाट रिहा भएका छन् ।  राष्ट्रपति रामचन्द्र पौडेलबाट संविधान दिवसको अवसरमा फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन २०७४ अनुसार बाँकी कैद माफी गरिएपछि कैलाली कारागारमा रहेका टीकापुर घटना मुद्दाका ३ जना रिहा भएका हुन् । रिहा हुनेमा टीकापुर नगरपालिका–४ ठाह्रापुरका वीरबहादुर चौधरी, जानकी गाउँपालिका–७ मोतीपुरका हरिनारायण चौधरी र जानकी–७ लट्कनियाका प्रदीप चौधरी रहेको कैलाली कारागारका प्रमुख पदमराज तिमिल्सिनाले जानकारी दिए । उनीहरू टीकापुर घटना मुद्दामा ८ वर्षदेखि जेल जीवन भोग्दै आएका थिए । त्यस्तै सोही घटनामा माफी मिनाहा पाएका पोखरास्थित बाल सुधारगृहमा रहेका जानकी गाउँपालिका–७ लट्कनियाका श्रवण चौधरी पनि रिहा हुने भएका छन् । उनलाई आजै पोखराबाट काठमाडौं र काठमाडौँबाट धनगढी ल्याइने बताइएको छ । रिहा भएकाहरूको कारागारभित्रै अबिर जात्रासहित भव्य स्वागत गरिएको छ । नागरिक उन्मुक्तिका संरक्षण रेशमलाल चौधरी, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री समेत रहेकी नागरिक उन्मुक्तिकी अध्यक्ष रन्जिता श्रेष्ठ, संघीय सांसद गंगाराम चौधरी, अरुण चौधरीका साथै प्रदेश सरकारका मन्त्री, सांसदलगायतले स्वागत गरेका थिए ।

आज संविधान दिवस

आज संविधान दिवस

१०८१ दिन अगाडि

|

३ असोज २०८०

 संविधान दिवस, २०८० आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, सङ्घसंस्थालगायतले विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाउँदै छन् । आज बिहान टुँडिखेलमा आयोजना हुने संविधान दिवससम्बन्धी कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुनेछन् । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले २०७२ असोज ३ गते ‘नेपालको संविधान २०७२’ जारी भएको घोषणा गरेका थिए । संविधान निर्माण भएर कार्यान्वयनमा आएको आठ वर्ष पूरा भएको छ । नयाँ संविधान लागू भएको घोषणासँगै नेपालको अन्तरिम संविधान २०६३ खारेज भएको थियो । संविधान जारी हुँदा संविधानसभाको अध्यक्षका रूपमा स्वर्गीय सुवासचन्द्र नेम्वाङ थिए । सङ्घीयता, धर्म निरपेक्षता, समाजवादोन्मुख सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालगायतका नयाँ व्यवस्था राखिएको यो संविधान जारी हुँदा संविधानसभाको प्रक्रियामा सहभागी दलका पाँच सय ३७ जना सभासद्ले हस्ताक्षर गरेका थिए । ‘नेपालको संविधान, २०७२’ मा ३५ भाग ३०८ धारा र ९ अनुसूची रहेका छन् । थारुलगायत समुदायले थरुहटको मुद्दा सम्वोधन नभएको भनेर यो संविधान भित्री हृदयले स्वीकारेका छैनन् ।  यसैगरी, संविधान दिवसकै अवसरमा टीकापुर घटनामा रहेका बाँकी ४ जना कैदी पनि रिहा भएका छन् । 

टीकापुर घटनाका ४ जना  कारागारबाट रिहा

टीकापुर घटनाका ४ जना कारागारबाट रिहा

१०८१ दिन अगाडि

|

३ असोज २०८०

संविधान दिवसको अवसरमा टीकापुर घटना मुद्दा खेपिरहेका ४ जना कैदी बन्दी कैलाली काराबारबाट रिहा हुने भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलबाट संविधान दिवसको अवसरमा फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन २०७४ अनुसार बाँकी कैद माफी गरिएपछि कैलाली कारागारमा रहेका टीकापुर घटना मुद्दाका ३ जना तथा पोखराबाट १ जना गरी ४  जना रिहा भएका हुन् । सो मुद्दा अन्तरगत रिहा हुनेमा टीकापुर नगरपालिका–४ ठाह्रापुरका वीरबहादुर चौधरी, जानकी गाउँपालिका–७ मोतीपुरका हरिनारायण चौधरी र जानकी–७ लट्कनियाका प्रदीप चौधरी रहेको कैलाली कारागारका प्रमुख पदमराज तिमिल्सिनाले जनाए । उनीहरू टीकापुर घटना मुद्दामा ८ वर्षदेखि जेल जीवन भोग्दै आएका थिए । त्यस्तै पोखरास्थित बाल सुधार गृहमा रहेका जानकी गाउँपालिका–७ लट्कनियाका श्रवण चौधरी पनि रिहा भएको बताइएको छ । यसअघि सो मुद्दामा ३ तहको अदालतबाट दोषी ठहर भएका रेशमलाल चौधरीलाई राष्ट्रिय गणतन्त्र दिवसको अवसरमा गत जेठ १५ गते कैद मुक्त गरिएको थियो । टीकापुर मुद्दा के थियो ? संविधान लेखनका क्रममा कैलालीमा दुई परस्पर विरोधी आन्दोलन भयो । साबिकको सुदूर पश्चिमाञ्चल विकास क्षेत्रलाई नै प्रदेश बनाउनुपर्ने माग राख्दै अखण्ड सुदूरपश्चिम र पश्चिम कञ्चनपुरदेखि नवलपरासीसम्मको थारु बाहुल्य भूगोललाई थरुहट प्रदेश बनाउनुपर्ने माग राख्दै थरुहट आन्दोलन भयो । यसैबीच २०७२ भदौ ७ गते एक नाबालकसहित ८ जनाको ज्यान जाने गरी टीकापुर घटना घट्यो । त्यसको भोलिपल्ट कर्फ्युकाबीच थारु समुदायका ८३ घर टहरा, पसल, एफएममा आगजनी भयो । सोही घटना मुद्दामा प्रहरीले लक्ष्मण थारु, रेशम चौधरी, लाहुराम चौधरीसहित २७ जनालाई पक्राउ गरी कर्तव्य ज्यान, डाँका चोरी तथा ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा चलाएको थियो । २७ जनामध्ये जिल्ला अदालत कैलालीबाट विश्राम कुश्मी, रामनरेश चौधरी, नुरुल जागा सफाइ पाएका थिए । उच्च अदालत दिपायलबाट विश्राम चौधरीले सफाइ पाए भने सर्वोच्च अदालतबाट सीताराम चौधरी र गंगाराम चौधरीले सफाइ पाए । त्यस्तै जिल्ला अदालतबाट ३ वर्ष कैद भुक्तान गरी चुन्नीराम चौधरी, रामकुमार कठरिया, लक्ष्मण थारु, लाहुराम चौधरी जेल मुक्त भएका थिए । थारु कल्याणकारिणी सभा कैलालीका सभापति समेत रहेका लाहुराम चौधरीको मोटरसाइकल दुर्घटनामा मृत्यु भइसकेको छ । सोही मुद्दामा राजेश चौधरी, बृजमोहन चौधरी, सुन्दर कठरिया, राजकुमार कठरिया, रामप्रसाद चौधरी, प्रेमबहादुर चौधरी, सन्तराम चौधरी, किसनलाल चौधरीलाई ५ वर्ष कैद फैसला भयो । यस्तै, सङ्गम भन्ने सन्तोष चौधरी, दिलबहादुर चौधरी, जीतबहादुर चौधरीलाई १० वर्ष कैद सजाय भयो । रेशम चौधरी, वीरबहादुर चौधरी, प्रदीप चौधरी, हरिनारायण चौधरी, श्रवण चौधरी र करन चौधरीलाई जनही २०-२० वर्ष कैद सजाय भएको थियो ।  यसैबीच, आज भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री समेत रहेकी नागरिक उन्मुक्तिकी अध्यक्ष रन्जिता श्रेष्ठ संघीय सांसद र प्रदेश सांसद तथा मन्त्री र नेताहरू रिहा भएकाहरूलाई स्वागत गर्न धनगढी पुगिसकेका छन् । शीर्षक परिवर्तनसहित अपडेट गरिएको)

थारु विद्यार्थी सभाको पहिलो महाधिवेशन सम्पन्न, सुशीला चौधरी अध्यक्ष 

थारु विद्यार्थी सभाको पहिलो महाधिवेशन सम्पन्न, सुशीला चौधरी अध्यक्ष 

१०८४ दिन अगाडि

|

३१ भदौ २०८०

थारु विद्यार्थी सभाको पहिलो महाधिवेशन थारु कल्याणकारिणी सभा (थाकस) हल, बानेश्वरमा शनिवार भदौ ३० गते सम्पन्न भएको छ । महाधिवेशनले बाराकी सुशीला चौधरीको अध्यक्षतामा हाललाई १४ सदस्यीय कार्यसमिति गठन गरेको छ ।                                                                                                                     नवनिर्वाचित अध्यक्ष सुशीला चौधरी जसको वरिष्ठ उपाध्यक्ष सुमन कुमारी चौधरी (उदयपुर) उपाध्यक्षद्वयमा धर्मेन्द्र कुमार चौधरी (सप्तरी) र नेहा पन्जियार (सर्लाही), महासचिव सुबोध कुमार चौधरी (सप्तरी), सचिवद्वय मायाकुमारी चौधरी (सप्तरी) र प्रदुमन चौधरी (सप्तरी) तथा कोषाध्यक्ष साजन चौधरी (कैलाली) चयन भएका छन् । त्यस्तै, केन्द्रीय सदस्यमा सोभित चौधरी (बर्दिया), रुपेश राय थारु (महोत्तरी), कृति चौधरी (रौतहट), दिप्सन चौधरी (मकवानपुर), नवीन चौधरी (कैलाली) र निरन्जन चौधरी (सप्तरी) रहेका छन् । उता थाकसको केन्द्रीय पार्षदमा थाविसका संस्थापक अध्यक्ष संजय चौधरीलाई चयन गरिएको छ । 

मन्त्रीको सचिवालयबाट भन्दै कर्मचारीसँग धमाधम रकम उठाउँदै

मन्त्रीको सचिवालयबाट भन्दै कर्मचारीसँग धमाधम रकम उठाउँदै

१०८५ दिन अगाडि

|

३० भदौ २०८०

कैलालीको भजनी नगरपालिकाका पशु सेवा प्राविधिक त्रिलोकनाथ चौधरीलाई गत शनिबार (भदौ २३) अपरिचित नम्बरबाट फोन आउँछ । अभिवादनसँगै सो व्यक्तिले आफ्नो परिचय दिन्छ, आफू सुदूरपश्चिम सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीको स्वकीय सचिव विकास ऐर हो भनेर । अनि निकै विनम्रतापूर्व भन्छ, ‘म तपाईंलाई चिन्छु, तपाईं मलाई चिन्नु हुन्न ! मन्त्रीज्यूको मलाई आदेश छ, एकदमै इमर्जेन्सी भयो । म बाहिर भएकोले व्यवस्थापन गर्न सकिरहेको छैन । उहाँलाई थोरै पैसा चाहिएको छ । पठाइदिनुस् न ! म पछि मन्त्रालयबाट मिलाइदिन्छु ।’ यति सुनेपछि त्रिलोकनाथ चौधरी नतमस्तक हुन्छन् । चिनेकै मान्छे, त्यो पनि मन्त्री यूले मागेपछि दिनलाई कर लाग्छ । उनले ६ हजार रुपैयाँ सो व्यक्तिले भनेअनुसारको ई–सेवा आईडीमार्फत पैसा पठाउँछन् । एकछिनपछि उनले आफ्नै सहकर्मी नगरपालिकाको कृषि शाखामा कार्यरत दिनेश कुमार चौधरीले पनि सोही व्यक्तिलाई सोही नम्बरमार्फत पैसा पठाएको खबर पाउँछन् । त्यसपछि दुवै जनाले खोजी नीति गर्छन् । अनि थाहा पाउँछन्, आफूहरू ठगिएको । दिनेश कुमार चौधरी भन्छन्, ‘मन्त्रीज्यूले मागेपछि दिइदिऊ लाग्यो । मैले पनि ईसेवामार्फत २ हजार रुपैयाँ पठाइ दिए ।’ दिनेश र त्रिलोकनाथ चौधरीले मिमसरा कुमारी महतराको नाममा ईसेवा आइडी ९८५११७३३१८ मा पठाएका हुन् । भजनी नगरपालिकामै कार्यरत वैभव चौधरीसँग पनि पैसा मागेको तर उनी जोगिएको बताइएको छ । यसरी सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीको नाममा रकम असुली गर्ने गिरोह नै सक्रिय भएको पाइएको छ । सो गिरोहले प्रदेशका विभिन्न स्थानीय तह अन्तरगतका कृषि शाखामा कार्यरत कर्मचारीहरूसँग पैसा मागिरहेको पाइएको हो । प्रदेश सरकारका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री रामेश्वर चौधरी र राज्यमन्त्री कैलाश चौधरीको निजी सचिवालयका नाम उल्लेख गरेर रकम असुली रहेको पाइएको हो । कैलालीको जानकी गाउँपालिकाका कृषि शाखा प्रमुख लालवीर चौधरीले पनि सोही नम्बरबाट सोही मान्छेले फोन गरेर पैसा मागेको बताउँछन् । तर आफूले चिनैकै मन्त्री, त्यो पनि आफ्नै क्षेत्रबाट निर्वाचित भएका जनप्रतिनिधिबाटै सत्यतथ्य बुझ्नलाई राज्यमन्त्री कैलाश चौधरीलाई फोन गरेको सुनाउँछन् । आफूहरू कसैसँग पनि पैसा नमागेको राज्यमन्त्री चौधरीबाट सत्यता थाहा पाएपछि उनी पैसा पठाउन रोकिए । लालवीर भन्छन्, ‘म त दिनलाई तयार भइसकेको । अनि मन्त्रीज्यूलाई के त्यस्तो आपत् आइलाग्यो, भनेर सत्यता बुझ्न फोन गरे । र, ठगिनबाट जोगिए ।’ आफूसँग १० हजार रुपैयाँ मागेको बताउँदै लालवीर चौधरीले गाउँपालिकामै कार्यरत पशु सेवा अधिकृत नरबहादुर कार्कीसँग १५ हजार र कृषि शाखाकै चक्रप्रसाद भाटसँग ५ हजार रुपैयाँ मागेको जानकारी दिए । तर आफूहरू तीनै जना जोगिएको उनको भनाइ छ । कसैले आफूहरूलाई ठग्न खोजेको भन्दै उनीहरूले इलाका प्रहरी कार्यालय टीकापुरमा व्यक्तिको पहिचानसहित कारबाहीको लागि उजुरी दिएका छन् । भदौ २४ गते इलाका प्रहरी कार्यालय टीकापुरमा उजुरी दिएपछि प्रहरीले अनुसन्धान थालेको छ । प्रहरीलाई नेपाल टेलिकमले उपलब्ध गराएको कल डिटेल अनुसार सो पोष्टपेड मोबाइल नम्बर ९८५११७३३१८ कालिकोट मुगराहारा समाला गाउँका अम्मरराज सिजुवालको नाममा दर्ता भएको खुलेको छ । कैलालीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक देवेन्द्र पालले घटनाबारे अनुसन्धान जारी रहेको बताउँदै पैसा माग्ने व्यक्तिले जिल्ला बाहिरबाट फोन गरेर पैसा मागेको बताए ।  आफूहरूको नामबाट कसैले पैसा मागिरहेको थाहा पाएपछि आफूहरूले सबै पक्षलाई सचेत रहन आग्रह गरेको राज्यमन्त्री कैलाश चौधरीले बताए । राज्यमन्त्री चौधरीले भने, ‘कसैले हाम्रो नाम वा सचिवालयको नाम प्रयोग गरेर असुली धन्दा मच्चाएको खबरले हामी दुःखी भएका छौँ । हामी जनताका सेवक हौ । जनताबाट १ पैसासम्म माग्ने हाम्रो नैतिकताले दिँदैन । हामी कल्पनासम्म गर्न सक्दैनौ । त्यसैले त्यस्तो ठगी धन्दाबारे जानकारी पाउने बित्तिकै सबैलाई सचेत रहन अपिल गरेका छौँ । साथै आवश्यक कारबाहीको लागि प्रहरी प्रशासन समक्ष जोडदार माग समेत गरेका छौ ।’ 

जसपाको थरुहट राष्ट्रिय समिति गठन

जसपाको थरुहट राष्ट्रिय समिति गठन

१०८६ दिन अगाडि

|

२९ भदौ २०८०

जनता समाजवादी पार्टी (जसपा) नेपालको थरुहट राष्ट्रिय समिति (सुदूरपश्चिम प्रदेश) गठन गरिएको छ। प्रदेशस्तरिय विस्तारित बैठकले जनक चौधरीको अध्यक्षतामा थरुहट राष्ट्रिय समिति (सुदूरपश्चिम प्रदेश) गठन गरेको, बैठकबाट प्रदेश अनुशासन आयोगको अध्यक्षमा चन्द्रप्रकाश चौधरी र निर्वाचन आयोगको अध्यक्षमा घनश्याम कुश्मीलाई चयन गरिएको छ।  पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य राजेन्द्र श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकमा पार्टीका केन्द्रीय सदस्य, केन्द्रीय निकायका पदाधिकारी तथा सदस्य, सङ्घीय परिषद् सदस्य, प्रदेश कार्यकारिणी समिति सदस्य, प्रदेश समिति सदस्य, प्रदेश तथा जिल्ला तहका अगुवा नेता कार्यकर्ताको उपस्थिति रहेको सो पार्टीले जनाएको छ।