धरानमा आज रातिदेखि निषेधाज्ञा जारी

धरानमा आज रातिदेखि निषेधाज्ञा जारी

११०७ दिन अगाडि

|

८ भदौ २०८०

कर्फ्युका बाबजुद पनि ८२ घरमा आगजनी...

कर्फ्युका बाबजुद पनि ८२ घरमा आगजनी...

११०७ दिन अगाडि

|

८ भदौ २०८०

धनगढी । २०७२ भदौ ७ गते १ नाबालकसहित ८ प्रहरीको ज्यान जाने गरी टीकापुरमा भएको त्रासदीपूर्ण घटना लगत्तै स्थानीय प्रशासनले टीकापुर क्षेत्रमा कर्फ्यु जारी गर्‍यो । संविधान लेखन चलिरहँदा थरुहट/थारूवान आन्दोलनकारी र प्रहरीबिच कैलालीको टीकापुरमा भएको झडप हिंसात्मक भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरी र सेना परिचालन गरियो । त्यसको भोलिपल्ट अर्थात् भदौ ८ गते कर्फ्युकाबिच सेना र प्रहरीकै उपस्थितिमा थारू समुदायका घर, पसल, एफएम, कार्यालयमा आगजनी भयो । तर आगजनी संलग्नमाथि हालसम्म कुनै कारबाही भएको छैन । घटनाका पीडितसमेत रहेका जानकी गाउँपालिकाका पूर्वअध्यक्ष प्रदीप चौधरीले आगजनी भइसकेपछि आफूहरु इलाका प्रशासन कार्यालय टीकापुरमा किटानी जाहेरी दिन गएको बताउँछन् । तर, प्रहरीले जाहेरी दर्ता गर्न नमानेपछि हुलाकमार्फत् जाहेरी दिन खोजेको, त्यो पनि दर्ता गर्न नसकेको उनको भनाइ छ । उनले भने, ‘२०७२ भदौ ७ र ८ गतेको आगजनीको घटना एकदमै संवेदनशील छ । हामी उक्त घटनामा संलग्न सबैलाई चिन्छौँ । तर, प्रहरीले अज्ञात समूहबाट आगजनी भएको ब्यहोरा उल्लेख गरेर जाहेरी दर्ता गर्न दबाब दिएको थियो । हामीले त्यसो गर्न मानेनौँ । त्यस बेलाको पीडा कसलाई सुनाउने ?’ आगजनीको घटनामा ३/४ थरीका व्यक्तिको संलग्नता रहेको बताउँदै उनले कोही योजनाकार, कोही सहयोगी तथा कोही प्रत्यक्ष गरी ३० जनाभन्दा बढी मानिस संलग्न रहेको सुनाउँछन् । तर राज्य नै अपराधी जोगाउन लागेपछि आफूहरु निरीह भएको उनको भनाइ छ । उनले अगाडि थपे, ‘हामीले सत्यतथ्य पत्ता लगाउन सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालको संयोजकत्वमा गठित आयोगको टोलीलाई बतायौँ । टोलीलाई प्रत्येक पीडितको घर–घरमा समेत मैले आफैँले लगेको छु । त्यस्तै, देवीराम शर्मा नेतृत्वको छानबिन समिति, संसदीय समितिलाई पनि मैले लगेको छु । यसका बाबजुद कुनै पनि समितिको प्रतिवेदन सार्वजनिक गरिँदैन भने हामीले कहाँ र कसरी न्याय पाउन सक्छौँ ?’ पीडित चौधरी हाल नागरिक उन्मुक्ति पार्टीका कैलाली जिल्ला अध्यक्ष पनि हुन् । नागरिक उन्मुक्ति पार्टी हाल प्रदेश र केन्द्र सरकारमा छ । पार्टीका संरक्षक रेशमलाल चौधरीको रिहाइपछि सो पार्टी पनि टीकापुर घटनाका सम्बन्धमा मौनप्रायः बनेको छ । पौने ११ करोड क्षतिपूर्ति २०७४ असारमा सरकारले जिल्ला प्रशासन कार्यालय कैलालीमार्फत आगजनी पीडितहरुलाई क्षतिपूर्ति रकम दिएको थियो । त्यसबेला पीडितहरुलाई १० करोड ८३ लाख ४८ हजार ८ सय १६ रुपैयाँ वितरण गरिएको थियो । घटनामा सबैभन्दा बढी क्षति व्यहोरेका रेशमलाल चौधरीले १ करोड ७४ लाख क्षतिपूर्ति पाएका थिए । निरु ट्रेडर्सका सञ्चालक शिवनारायण चौधरीले एक करोड ५० लाख र प्रदीप चौधरीले १ करोड ३९ लाख क्षतिपूर्ति रकम बुझेका थिए । एक करोड रुपैयाँसम्म क्षति भएकालाई ८० प्रतिशत, १ करोडदेखि २ करोड रुपैयाँसम्म क्षति भएकालाई ७० प्रतिशत र २ करोडदेखि माथिकालाई ६० प्रतिशत क्षतिपूर्ति प्रदान गर्ने मापदण्ड बनाइएको थियो । आगजनी पीडितको बेहाल राज्यबाट केही आंशिक क्षतिपूर्ति पाए पनि आजसम्म पूर्ववत् अवस्थामा आउन नसकेको आगजनी पीडितहरुले बताएका छन् । घटनामा संलग्नहरुलाई कारबाही हुन त परै जावस्, आफ्नै अगाडि खुलेआम घुमेको देख्दा मन पोल्ने गरेको उनीहरुको दुःखेसो छ । टीकापुर नगरपालिका–१, कान्छीबजारका परशुराम चौधरीको पसलमा २०७२ भदौ ७ गतेकै साँझ आगजनी भएको थियो । उनी भन्छन्, ‘आगो लगाउने समूहका मान्छे चिन्छौँ तर कसले आवाज उठाउने ? केही बोल्दा फेरि केही हुने हो कि भन्ने डर छ ।’ छोराका किताब, कापीसँगै आठ वर्षदेखि चलाउँदै आएको पसल जलेको परशुरामकी पत्नी हिरादेवी बताउँछिन् । ‘प्रहरीकै आडमा ठूलो समूह आएर आगो लगाएको हो’, हिरादेवी भन्छिन्, ‘अनुगमन टोली आउँदा प्रहरीले घर–पसल जलेको घटनाबारे भन्नसमेत दिँदैनथे ।’ अब त केही न्याय पाइन्छ कि भनेर अचेल सबैको नजर नागरिक उन्मुक्ति पार्टीतर्फ सोझिएको छ । टीकापुर घटनाबाट राजनीतिक शक्ति आर्जन गरेर नागरिक उन्मुक्ति पार्टी प्रदेश र संघीय सरकारमा गए पनि आफूहरुले न्याय पाउन नसकेको उनी सुनाउँछिन् । अर्का आगजनी पीडित पवित्रा चौधरीको गुनासो पनि उस्तै छ । हिरादेवीसँगै उनी पनि तरकारी पसल सञ्चालन गर्दै आएकी छन् । पवित्राले भनिन्, ‘रञ्जितालाई जिताउँदा आफ्ना आवाज राज्यको उपल्लो तहसम्म पुग्ने र न्याय पाउने आश्वासन दिएका थिए । पसल बन्द गरेरै चुनाव प्रचारमा पनि लागियो । उनी अहिले मन्त्री भइन् । तर, उनीहरूकै परिवारलाई मात्र न्याय भएछ । बाँकीको अवस्था उस्तै छ ।’ उतिबेला कान्छी बजारमै होटल र तरकारी पसल थियो पवित्राको । ५ वर्ष लगाएर जोडेको त्यो सम्पत्ति क्षणमै खरानी भएको थियो । त्यसमाथि ऋणमा भर्खरै नयाँ घर बनाएका थिए । गरिखाने पसल नै जलेपछि आर्थिक स्थिति पूरै खस्कियो उनको । उनी भन्छिन्, ‘अझै पहिलेको अवस्थामा फर्कन सकेका छैनौँ । कारोबार केही छैन । सरकारले २ वर्षपछि क्षतिपूर्ति त दियो तर क्षतिको ५० प्रतिशत पनि पाएनौँ ।’ टीकापुर–१ को कान्छी बजारका ममित्रा चौधरी र उनका पति कालुराम चौधरी मिलेर दुई वटा पसल सञ्चालन गरेका थिए । कालुराम तरकारी पसल र ममित्रा खाजा नास्ता पसल चलाउँथिन् ।  तर, प्रहरीकै सामुन्ने दुई वटै पसल क्षणभरमै खरानी भएको आफ्नै आँखाले देख्नुपरेको ममित्रा बताउँछिन् । उनी भन्छिन्, ‘५–७ लाख बराबरको सामान आँखा अगाडि नै खरानी हुँदासमेत केही गर्न सकेनौँ ।’ उनीहरुले मुस्किलले १ लाख क्षतिपूर्ति पाए । भदौ ८ गते सबैभन्दा बढी आगजनी फूलबारी एफएममा भएको थियो । त्यसपछि बढी क्षति निरू ट्रेडर्समा भएको थियो । घटनामै विश्राम कुश्मीको एग्रोभेट र नर्सरी पसल पनि जलाइयो । सुरक्षाकर्मीको हत्या गरेको आरोपमा उनलाई पनि पक्राउ गरियो । उनी करिब तीन वर्षपछि निर्दोष साबित भएर छुटे । थरुहट आन्दोलनका क्रममा सुरक्षाकर्मी मारिएपछि थारू भएकै आधारमा थुप्रैलाई धरपकड गरिएको र कर्फ्यूको बिचमा छानीछानी थारू समुदायको घर–पसल तोडफोड गरिएको विश्रामको भनाइ छ । उनी भन्छन्, ‘हामीले कारबाहीको माग गर्दै निवेदन दियौँ । तर, कसैलाई पक्राउ गर्नु त परको कुरा, अहिलेसम्म अनुसन्धान नै भएको छैन । आगजनी र तोडफोडमा स्थानीयले बेहोरेको क्षतिको विवरणसम्म प्रहरीसँग छैन ।’ 

धनकुटामा पनि घोङ्घी उत्पादन सुरु

धनकुटामा पनि घोङ्घी उत्पादन सुरु

११०८ दिन अगाडि

|

७ भदौ २०८०

धनकुटा, भदौ ७ गते । अन्तर्राष्ट्रिय जगतमा सिफुड र तराईमा थारु समुदायको सांस्कृतिक खानपानको रुपमा पहिचान बनाएको परिकार घोङ्घी अब धनकुटामै व्यावसायिक उत्पादन सुरु भएको छ । धनकुटा नगरपालिका –१ का कृषि उद्यमी तेजबहादुर राईले श्री ओक्मालुङ एग्रो फर्म सञ्चालनमा ल्याई  घोङ्घी उत्पादन सुरु गरेको हो । उहँले विगत २ वर्षदेखि  घोङ्घी पालनको शुरुवात गर्नुभएको हो । दुई वर्षअघि तराईबाट ल्याएर पोखरीमा हालिएको ४ केजी घोङ्घीबाट उत्पादन सुरु भएको कृषि उद्यमी राईले बताउनुभयो ।   हाल नेपालमा खाना परिकारमा विविधता खोज्ने क्रम जारी रहेको र यस्तो परिकार खानाका लागि तराईमा थारुको परिवार वा होमस्टेमा पुग्नुपर्ने बाध्यतालाई दृष्टिगत गर्दै होमस्टेमा पुग्नुपर्ने बाध्यताको अन्त्यका लागि उत्पादन सुरु गरिएको उद्यमी तेजबहादुरको भनाइ छ । घोङ्गीको बजारीकरणमा समस्या नभएकाले व्यावसायिक रुपमै उत्पादन सुरु गरिएको उहाँको भनाइ छ ।  धनकुटामा अब चिसो हावापानीमा हुर्किएको  घोङ्घी खान पाइने भएको छ । सुरुमा परीक्षणका लागि सुरु गरिएको व्यवसाय सफल भएपछि उद्यमी राईले व्यावसायिक रुप दिएको बताउनुभयो ।  घोङ्घी स्वस्थकर मात्रै नभएर यसबाट शरीरले क्याल्सियम र प्रोटिन प्रशस्त रुपमा प्राप्त हुने चिकित्सकको भनाइ छ । यसको व्यवसाय र व्यापार संसारभर अरबौं डलरमा हुनेगरेको व्यवसायी राईले बताउनुभयो ।  धार्मिक गुफा तथा जैविक विविधता बोकेको ओक्मालुङका पर्यटकलाई लक्षित गरी  घोङ्घी पालनका साथ माछापालन, सुन्तला खेती, एभोकाडो खेती गरिएको उद्यमी राईले बताउनुभयो ।  समुद्र सतहबाट १ हजार ४ सय मिटरको उचाइमा रहेको यो क्षेत्र चैत–वैशाखको  सुक्खा समयमा समेत हरियो रहने विशेषताले समेत मानवका लागि मनोरन्जन गर्ने थलोको रुपमा ठुलो सम्भावना बोकेको क्षेत्र हो । घोङ्घी पालन गरी आन्तरिक तथा बाह्य पर्यटकको मन जित्न सकिने विश्वास राईको छ ।   यहाँको घोङ्घी चिसो पानीमा हुर्केको हुनाले ढिलो बढ्ने, प्रजनन प्रक्रिया पनि तराईमा भन्दा ढिलो हुनेगरेको उहाँले बताउनुभयो । तराईको गर्मीमा भन्दा पहाडको चिसोमा पालन गरिएको घोङ्घी सफा र स्वादिलो हुने, चिसो हावापानीमा हुने जुनसुकै वस्तु पनि तातो ठाउँको भन्दा मिठो हुने राईले बताउनुभयो । घोङ्घी तराईका थारु समुदायले मात्र होइन, अहिले प्रायः सबै समुदायका मान्छेले खान थालेका होटलमा यसको माग बढेको राईले बताउनुभयो । माग बढेपछि उत्पादित घोङ्घी खपत गर्न कुनै समस्या नरहेको उहाँको भनाइ छ ।  स्थानीय जीवनप्रसाद राईका अनुसार यहाँ मानिसहरु आउने राम्रो वातावरण रहेकाले घोङ्घीको महत्व अझ बढेर जानेछ । अहिले एक ठाउँमा उत्पादन भइरहेको घोङ्घी अन्य व्यवसायीले पनि विस्तार गर्ने उहाँको बुझाइ छ । 

राज्यले ‘आपराधिक’ भनेको  टीकापुर घटनाको सम्झनामा बर्सेनि किन मनाइन्छ थरुहट विद्रोह दिवस ?

राज्यले ‘आपराधिक’ भनेको टीकापुर घटनाको सम्झनामा बर्सेनि किन मनाइन्छ थरुहट विद्रोह दिवस ?

११०८ दिन अगाडि

|

७ भदौ २०८०

धनगढी । मुलुककै बहुचर्चित टीकापुर घटना भएको आज आठौँ वर्ष । संविधान लेखन चलिरहँदा २०७२ भदौ ७ गते थरुहट आन्दोलनकारी र प्रहरीबीच कैलालीको टीकापुरमा दोहोरो झडप भयो । सो क्रममा १ नाबालकसहित ८ प्रहरीको ज्यान गयो । कर्फ्यु जारी भयो । सेना परिचालन गरियो । भोलिपल्ट भदौ ८ गते कर्फ्युका बीच, सेना र प्रहरीकै उपस्थितिमा थारु समुदायका घर, पसल, एफएमलगायत ८३ बढी संरचनामाथि आगजनी भयो । थरुहट भूगोल मागको त्यो आन्दोलन र ‘टीकापुर घटना’ आज पनि सबैको मानसपटलमा आलो घाउजस्तै छ । संविधान लेखनकै क्रममा २०७२ ताका यहाँ दुई परस्पर विरोधी अखण्ड सुदूरपश्चिम र थरुहट आन्दोलन उत्कर्षमा थियो । अखण्ड पक्षधरको माग मौजुदा सुदूरपश्चिमाञ्चल विकास क्षेत्रलाई नै प्रदेश बनाइनुपर्ने र थरुहट पक्षधरको माग थारु बाहुल क्षेत्रलाई थरुहट बनाइनुपर्ने थियो । अन्ततोगत्वा कैलाली र कञ्चनपुरसहितको सुदूरपश्चिमाञ्चल विकास क्षेत्रलाई नै प्रदेश कायम गरियो । तर टीकापुर घटनापछि कानुनी उल्झनमा जकडिएका थरुहट आन्दोलनकारीहरू राज्यबाट आफूहरूमाथि दमन र विभेद भएको भन्दै आज पनि उद्वेलित छन् । ‘अन्तिम विकल्प आन्दोलन, संघर्ष र विद्रोह’ विगतको निरन्तरता दिँदै आज पनि कैलालीको टीकापुरमा थारु कल्याणकारिणी सभा र थरुहट–थारुवान् राष्ट्रिय मोर्चाले टीकापुर विद्रोह दिवस मनाइरहेको छ । उनीहरूले थारु भूगोलसहितको थरुहट प्रदेशको माग र टीकापुर घटनाका राजबन्दीको रिहाइको माग गर्दै आइरहेका छन् । टीकापुर घटना सम्बन्धी सर्वोच्च अदालतले हालै सार्वजनिक गरेको फैसलाको पूर्णपाठको बाछिटा आन्दोलनकारीमा नपरेको होइन । यद्यपि विद्रोह दिवसलाई अधिकार प्राप्तिको आन्दोलनको रूपमा मनाइरहेको आन्दोलनकारी बताउँछन् । थरुहट आन्दोलनकारी समेत रहेका कांग्रेस नेता रामजनम चौधरी भन्छन्, ‘हाम्रो आन्दोलन विशुद्ध राजनीतिक थियो । आधिकार प्राप्तिका लागि थियो । तर सर्वोच्च अदालतले पूर्ण रूपमा आपराधिक आन्दोलनको रूपमा व्याख्या गरेको देखिन्छ । सर्वोच्चको फैसला अन्तिम भएकाले अब त न्याय माग्ने एउटै विकल्प जनअदालत हो । त्यसैले अब हाम्रो मुद्दालाई संस्थागत गराउनु र जेलमा रहेका बाँकी राजबन्दीलाई रिहाइको पहल गराउनुमा हाम्रो ध्यान केन्द्रित रहन्छ ।’ टीकापुर घटनाका कारण थरुहट मुद्दा ओझेलमा परेको बताउँदै उनले संविधान संशोधन गरेर थरुहट प्रदेशको संरचना कोर्नुपर्ने र संविधान प्रदत्त अधिकारको लागि लाग्नुपर्नेमा जोड दिए । अर्का आन्दोलनकारी नेता तथा नेकपा माओवादी केन्द्रका नेता कृष्ण कुमार चौधरीले अदालतको फैसला पूर्णतया सामाजिक न्याय विपरीत रहेको दाबी गरे । सरकारलाई नै चुनौती दिँदै सर्वोच्चको फैसला आएको बताउँदै उनले अबको अन्तिम विकल्प आन्दोलन, संघर्ष र विद्रोह रहेको बताए । केही व्यक्तिको रिहाइ तथा उन्मुक्तिका लागि थरुहट आन्दोलन र मुद्दा ओझेलमा पारिएको उनको भनाइ थियो । त्यस्तै, सरकारले टीकापुर घटनापछि तराई–मधेसमा भएका हिंसात्मक आन्दोलनको सत्यतथ्य पत्ता लगाउन सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालको संयोजकत्वमा आयोग गठन गरेको थियो । सो आयोगले १४ महिनापछि २०७४ मङ्सिर २९ गते सरकारलाई प्रतिवेदन बुझाएको थियो । तर सरकारले हालसम्म प्रतिवेदन गोप्य राखेको छ । सो आयोगको प्रतिवेदन सार्वजनिक नगरेर राज्यले अन्याय गरेको आन्दोलनकारीहरूको भनाइ छ । किन सार्वजनिक गरिएन प्रतिवेदन ? लामो जाँचबुझ तथा अध्ययनपछि तयार पारिएको लाल आयोगको ७०९ पृष्ठ लामो प्रतिवेदनमा टीकापुर घटनामा मुख्य दोष सरकारकै रहेको ठहर गरिएका कारण पनि राज्यले हालसम्म प्रतिवेदन सार्वजनिक नगरेको आन्दोलनकारीहरूको तर्क छ । घटना हुँदा सुरुमा कांग्रेसका सुशील कोइराला प्रधानमन्त्री थिए । पछि एमालेका केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा हुँदै माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भइसकेका छन् । २०७२ साउनदेखि झण्डै ६ महिना चलेको तराई–मधेस र थरुहट आन्दोलनमा सत्ता पक्षबाट गैरन्यायिक हत्या भएको प्रतिवेदनको निष्कर्ष छ । अधिकारका लागि भएका शान्तिपूर्ण आन्दोलनमा सरकारले दमन गरेको प्रसङ्ग पनि प्रतिवेदनमा छ । जिम्मेवारी पूरा नगर्ने, प्रदर्शनकारीमाथि गोली हान्न आदेश दिने तथा आदेश पालना गर्ने तत्कालीन प्रहरी र स्थानीय प्रशासनका कर्मचारीमाथि अनुसन्धान र कारबाही गर्न पनि सिफारिस गरिएको छ । प्रतिवेदनमा आन्दोलन हिंसात्मक बन्नुको मुख्य दोष सरकारलाई देखाइएको छ । यहाँसम्मकी, टीकापुर घटनामा अढाई वर्षीय बालक टेकबहादुर साउदको आन्दोलनकारीको गोलीले नभई प्रहरीको गोलीले मृत्यु भएको प्रतिवेदनमा उल्लेख गरिएको थियो । यस विषयमा केही सञ्चार माध्यमहरूमा गिरिशचन्द्र लालले प्रतिक्रिया दिँदै आएका छन् । को–को छन् कानुनी परिबन्दमा ? टीकापुर घटनामा २८ जनामाथि मुद्दा चलाइएको छ । जसमध्ये ३१ जना अझै फरार सूचीमा छन् । घटनापछि २७ जनालाई पक्राउ गरियो । पक्राउ पर्नेमध्ये जिल्ला अदालत कैलालीबाट विश्राम कुश्मी, रामनरेश चौधरी, नुरुल जागाले सफाइ पाएका थिए । उच्च अदालत दिपायलबाट विश्राम चौधरीले सफाइ पाए भने सर्वोच्च अदालतबाट सीताराम चौधरी र गंगाराम चौधरीले सफाइ पाए । त्यस्तै जिल्ला अदालतबाट ३ वर्ष कैद भुक्तान गरी चुन्नीराम चौधरी, रामकुमार कठरिया, लक्ष्मण थारु, लाहुराम चौधरी जेल मुक्त भएका थिए । थारु कल्याणकारिणी सभा कैलालीका सभापति समेत रहेका लाहुराम चौधरीको मोटरसाइकल दुर्घटनामा मृत्यु भइसकेको छ । सोही मुद्दामा राजेश चौधरी, बृजमोहन चौधरी, सुन्दर कठरिया, राजकुमार कठरिया, रामप्रसाद चौधरी, प्रेमबहादुर चौधरी, सन्तराम चौधरी, किसनलाल चौधरीलाई ५ वर्ष कैद फैसला भयो । यस्तै, संगम भन्ने सन्तोष चौधरी, दिलबहादुर चौधरी, जीतबहादुर चौधरीलाई १० वर्ष कैद सजाय भयो । रेशम चौधरी, वीरबहादुर चौधरी, प्रदीप चौधरी, हरिनारायण चौधरी, श्रवण चौधरी र करन चौधरीलाई जनही २०/२० वर्ष कैद सजाय भएको थियो । हाल रेशम चौधरी राष्ट्रपतिमार्फत कैदमाफी पाइ जेलमुक्त भए पनि सोही कसुरमा उस्तै सजाय पाएका अन्य भने जेलमै छन् । तर सेना र प्रहरीको सघन उपस्थितिमा भदौ ८ गते थारु समुदायका घर, पसल, एफएमलगायत ८३ संरचनामाथि गरिएको आगजनिप्रति राज्य बेखबर छ । उक्त घटनाको दोषीमाथि कुनै कानुनी कारबाही भएन ।

गण्डकीमा थारू, गुरुङ र मगर   भाषालाई कामकाजको भाषा बनाउन माग

गण्डकीमा थारू, गुरुङ र मगर   भाषालाई कामकाजको भाषा बनाउन माग

१११० दिन अगाडि

|

६ भदौ २०८०

आदिवासी जनजाति संघर्ष समिति, गण्डकीले गण्डकी प्रदेशमा बाहुल्यता रहेका थारू, गुरुङ र मगर  भाषालाई सरकारी कामकाजको भाषा बनाउन माग गरेको छ । मंगलबार समितिले पोखरामा पत्रकार सम्मेलन गरी भाषा आयोगको सिफारिस अनुसार यी तीन भाषालाई सरकारी कामकाजको भाषा बनाउन माग गरेको हो । संविधानको धारा ७ को उपधारा २ मा नेपाली भाषाका अतिरिक्त प्रदेशले आफ्नो प्रदेशभित्र बहुसंख्यक जनताले बोल्ने एक वा सोभन्दा बढी अन्य राष्ट्रभाषालाई प्रदेश कानुनबमोजिम प्रदेशको सरकारी कामकाजी भाषा निर्धारण गर्न सक्ने उल्लेख छ । भाषा आयोगका अध्यक्ष गोपाल ठाकुरको संयोजकत्वमा गठित समितिले गण्डकीमा गुरुङ र मगर तथा प्रदेशको दक्षिणी क्षेत्रमा थारु भाषालाई सरकारी कामकाजको भाषा बनाउन सिफारिस गरेको थियो । ‘उहाँको सिफारिस लागू गर्न आवश्यक ऐन बनाई गुरुङ, मगर र थारुलाई प्रदेशको सरकारी कामकाजको भाषा बनाउन जोड्दार माग गर्दछौं’, समितिका संयोजक धर्मबहादुर गुरुङले भने । गण्डकीमा आफ्नो मातृभाषामा पठनपाठन गर्न पाउने व्यवस्था मिलाउन पनि समितिले आग्रह गरेको छ । समितिले भदौ १३ गते पोखरामा ‘आदिवासी जनजाति आन्दोलन र अधिकार’ विषयक अन्तर्क्रिया कार्यक्रम पनि गर्ने भएको छ ।

गच्छदारसँग सिआईबीले लियो बयान

गच्छदारसँग सिआईबीले लियो बयान

११११ दिन अगाडि

|

५ भदौ २०८०

                                                                                                                                                       फायल फोटो बालुवाटारस्थित ‘ललिता निवास क्याम्प’ भित्रको सरकारी जग्गा हिनामिना प्रकरणमा केन्द्रीय अनुसन्धान ब्यूरोले विजयकुमार गच्छदारसँग बयान लिएको छ । सोमबार साँझ अनुसन्धान अधिकृतहरुले गच्छदारसँग महाराजगञ्जस्थित सिआईबीमा बयान लिएका हुन् । पूर्व उप–प्रधानमन्त्री विजयकुमार गच्छदारविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भएको छ । तर, प्रहरीले उनलाई बयान लिएर छाडेको छ । सोमबारै अनुसन्धान प्रतिवेदन बुझाउने तयारी गरिएपछि पूर्वमन्त्री चन्द्रदेव जोशी र गच्छदारको बयान गराउँदा ढिला भएको सिआईबीका अधिकारीहरु बताउँछन् । संगठित रुपमा सरकारी लिखत किर्ते गरेर बालुवाटार क्याम्प भित्रको १४७ रोपनी जग्गा हिनामिना प्रकरणमा गच्छदार संलग्न रहेको सिआईबीको अनुसन्धान निष्कर्ष छ । जग्गा हिनामिना आरोपमा १८ जना हिरासत छन् । २०७४ वैशाखमा उप–प्रधान एवं संघिय मामिला तथा स्थानिय विकास मन्त्रालयको नेतृत्व गरेका गच्छदार २०६८ मा गृहमन्त्री थिए । भौतिक योजना तथा निर्माण मन्त्री हुँदा गच्छदार जग्गा हिनामिना प्रकरणमा संलग्न देखिएका थिए । गच्छदारसँगै राज्यमन्त्री थिए संजय शाह ‘टकला’ । हाल नख्खु कारागारमा थुनामा रहेका साहलाई पनिझिकाएर महाराजगन्ज स्थित सिआईबीको कार्यालयमा बयान लिइएको छ । उप–प्रधान तथा भौतिक योजना तथा निर्माण मन्त्री गच्छदारले विशिष्ट व्यक्तिहरुको निवास बिस्तार सम्बन्धमा गुरुयोजना तयार गरेर ‘टिप्पणी सदर गरेर मन्त्रिपरिषद्मा लगेको’ ब्यूरोको छानविनबाट देखिएको छ । २०६७ असार २८ मा भौतिक योजना तथा निर्माण मन्त्रालयको सचिव दीप बस्न्यातले टिप्पणी सदर गरी मन्त्री गच्छदार कहाँ पेश गरेका हुन् । सो प्र्रस्ताव राज्यमन्त्री संजय साह र उप–प्रधानमन्त्री गच्छदारले सदर गरेर मन्त्रिपरिषद्मा लगेका थिए । निवास विस्तार र ललिता निवास क्षेत्रमा बाटो बिस्तार गर्दा २७ रोपनी जग्गा हिनामिना भएको केन्द्रीय अनुसन्धान ब्यूरोका एसएसपी दिनेश आचार्यले रातोपाटीलाई बताए । सभामुख निवासबाट एनआरएनए भवन तर्फ जाने बाटोमा ८ रोपनी जग्गा परेको छ । सो प्र्रस्तावमा तत्कालिन सह–सचिव नारायणगोपाल मलेगोले टिप्पणीमा राय सहित पेश गरेका थिए । तत्कालीन शाखा अधिकृत कृष्ण राउतले प्रस्तावको लागि टिप्पणी उठाएका थिए । २०६६ चैत १९ मा सचिव दीप बस्न्यातले टिप्पणी सदर गरी प्रस्ताव पेश गरेको ब्यूरोका प्रतिवेदनमा उल्लेख  छ ।

थारु समुदायमा गुरही पर्वको उल्लास, पालिकाहरूद्वारा सार्वजनिक बिदा

थारु समुदायमा गुरही पर्वको उल्लास, पालिकाहरूद्वारा सार्वजनिक बिदा

१११२ दिन अगाडि

|

३ भदौ २०८०

पश्चिम नेपालको थारु बस्तीमा गुरही पर्वको उल्लास बढेको छ । नाग पञ्चमीकै दिन मनाइने यस पर्वको उल्लास बढेको हो । नाग पञ्चमी तथा गुरही पर्व भोलि भदौ ४ गते परेको छ। कैलाली, कञ्चनपुर, बाँके, बर्दिया, दाङ, सुर्खेत जिल्लाका साथै पछिल्लो समय काठमाडौँमा समेत भव्यताका साथ पर्व मनाउन थालिएको छ ।  यस वर्ष भृकुटी मण्डपमा अग्रासन थारु महिला समूहको संयोजनमा भदौ ४ गते विहान ११ बजे विविध कार्यक्रम गरी गुरही मनाउन थालिएको समूहकी अध्यक्ष चम्पा चौधरीले बताइन् ।  गुरही भनेको एक किसिमको गाइने किरा हो । सोही किराको प्रतीकको रूपमा यो पर्वमा कपडाको पुतला, खेलौना बनाइन्छ । थारु बसोबास रहेका कतिपय स्थानमा यसलाई गुरही पर्व भन्ने गरिन्छ भने कतिपय ठाउँमा गुरिया पर्व पनि भनिन्छ । पर्वमा थारु समुदायका घरहरूमा घुघरी (चना, केराउ, मटरा, मकैको भुजा) तयार गरिन्छ । आफ्नै हैसियतअनुसार अन्य खानेकुरा पनि बनाइन्छन् । केटीहरू कपडाका रङ्गीचङ्गी कपडाका गुरही बनाउने गर्दछन् । केटाहरू सोंटा वा केराको डाँठ तयार पार्छन् । साँझपख बालिका तथा युवतीहरू परम्परागत पोशाकमा आ–आफ्नो थालीमा गुरहीको प्रतिमा र भुटेका मकै वा केराउसहित गाउँका सीमा वा चोकमा जम्मा हुन्छन् । यसैबीच केटाहरू सोटा लिएर जम्मा हुन्छन् ।  जम्मा भएका बालिकाहरु गुरही विसर्जन गर्छन् र केटाहरू सोंटा, कोर्राले पिट्छन् । केटीहरू गुरही विसर्जन गर्ने बेला र केटाहरू पिट्ने बेलामा रोगब्याध नलागोस, आफूमा भएको अवगुण जाओस् भनी कामना गर्दछन् । पिटिसकेपछि केटाहरूले केटीसँग घुघरी  माग्छन् र प्रसादस्वरुप ग्रहण गर्दछन् । कतिपय गाउँमा पिटिएका यी विसर्जन सडकमै चौराहामै छोडेर हिँडिन्छ भने कतिपय गाउँमा बाजागाजाका साथ नदीमा सेलाउन पनि लाने गरिन्छ । यो पर्व बालबालिकाको सहभागिताबिना अपूर्ण मानिन्छ । यस पर्वलाई बाल पर्वको रूपमा समेत लिइन्छ । पर्वको प्रभावले गाउँ समाजबाट दुःख, कष्ट, रोग, व्याधि हट्ने जनविश्वास छ । यसैबीच कैलाली, कञ्चनपुरका थारु बाहुल क्षेत्रका स्थानीय तहले स्थानीय बिदा समेत दिएका छन् भने थारु अधिकारवादी सङ्घ संस्थाले प्रदेश सरकारसँग विदाको माग समेत गरेको छ । थारु समुदाय आबद्ध ६ संस्थाले एक विज्ञप्ति जारी गर्दै बिदा माग गरेका हुन् । थारु कल्याण कारिणी सभा कैलाली, सखी सञ्जाल कैलाली, थारु लेखक सङ्घ, राष्ट्रिय कलाकार मञ्च, थारु नागरिक समाज र थारु विद्यार्थी समाजले संयुक्त विज्ञप्ति जारी गर्दै बिदा माग गरेका हुन् ।