रन्जिताले कवितामा किन भनिन्, ‘हामी बिकी सक्यौं’ ?
१४२२ दिन अगाडि
|
२७ असोज २०७९
लक्ष्मण थारु तथा रेशम चौधरीको उम्मेदवारी खारेजी लगत्तै नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठ चौधरीले एक कविता पोष्ट गरिन् । जसको व्यंग्य आशय थियो, ‘हामी बिकी सक्यौं’ । किन त्यसो लेख्न बाध्य भइन् त उनी ? सबैभन्दा पहिले कविता नै पढौं ।
भाइ बहिनी, फुटे बैरीले लुटे
तपाईंहरू फूटनुहोस्
अरुको जालझेलको सिकार बन्नुहोस्
स्वतन्त्र भएँ भनेर फेरि पनि
षड्यन्त्रकारीको चक्रब्यूहमा फँÞसिरहनु होस्
खुशी हुनुहोस्, खुशियाली मनाउनुहोस्
दाजुभाइलाई सड्न दिनुहोस्
मर्न दिनुहोस्, रूवाउनुहोस्
तपाईं खुशी बस्नुहोस्
तपाईंको सुख
अनि तपाईंको सन्ततिको
भविष्य उज्वल होस् भनेर
उहाँहरू कारागारमै मर्न तयार छन् !
गाली गर्नुस्, अझै सडेरै मर
हामी बिकी सक्यौं ।
हामी बिकी सक्यौं ।।
कविताको आशयबारे रन्जिताले भनिन्, कतिपयलाई पैसा दिएर स्वतन्त्र उम्मेदवार खडा गराइएको छ, हाम्रै साथीहरुलाई ठाउँमा–ठाउँमा । हामी बिकेको हैन त ? थारूहरु बिकेको हैन त ? त्यो भन्न खोजेको हो मैलै । कतिलाई थारूहरुलाई नै पैसाको लोभ देखाएर स्वतन्त्र उम्मेदवार खडा गराएको छ । त्यो भनेकै बिक्नु हो नि । त्यही भएर हामी बिकी सक्यौँ, कवितामा भाव व्यक्त गरिएको हो ।
थारु समग्रमा थारू हो । न कठरिया मात्र थारू हो, न राना मात्र थारू हो, न डेसौरी मात्र थारू हो, न डंगाहा मात्र थारू हो । सबैजना थारु नै हो नि । किन भन्छन् भूगोल समेटिएन ? पछाडि जे थर भए नि थारु त थारु नै हैन र ? म नेवारकी छोरी भएर थारू मात्रै भनेर हिँड्छु भनेदेखि तिनीहरुले किन नबुझेको ? फुटाउनेहरुले फुटाइराछन् ।
यति खेर देशको राजनीतिलाई केलाउने हो भने जुट्नेभन्दा फुट्ने काम बढी भइरहेको छ । षड्यन्त्रको जालो ओच्छ्याइदै छ । टीकापुर घटना राजनीतिक मुद्दा हो । सरकारले कहिले बुझिदिने ? निर्दोषलाई नै घटनामा मुछिदिएको छ, अनि यसलाई सल्टाउनुको साटो झनै गाँठो पार्न तम्सिएको देखिन्छ सरकार । त्यसमा पनि थारुहरुले नबुझी दिएपछि बिच बिचमा आफ्नो कवितात्मक अभिव्यक्ति आउने गरेको रन्जिताको भनाइ छ ।