वचत तथा ऋण सहकारी संस्थाको  साधारण सभामा ‘ढकिया’को प्रचार !

वचत तथा ऋण सहकारी संस्थाको  साधारण सभामा ‘ढकिया’को प्रचार !

१४३० दिन अगाडि

|

१८ असोज २०७९

सम्भव छ त खसीबिनाको दसैँ ?

सम्भव छ त खसीबिनाको दसैँ ?

१४३० दिन अगाडि

|

१८ असोज २०७९

राजेन्द्र तारकिणी दसैँ र खसी । मानौँ यी दुई शब्द पर्यायवाची हुन् । खसीको विकल्प बोका, च्याङ्ग्रा, भेडा, कुखुरा । नेपाली समाजमा एउटा यस्तो जबरजस्त धारणा बसिसकेको (या बसाइएको ?) छ कि खसीबिना दसैँ चल्दैन ।  मानौँ दसैँको प्रसाद नै खसीको मासु, बोका या राँगाको रगत । मासुबिनाको दसैँ, के दसैँ ? मानौँ बलि नदिई या मारकाट नगरी या रगत नचढाई दसैँको अनुष्ठान नै पूरा हुन्न । के यो धार्मिक विधिविधान नै हो त ?  मलाई लाग्छ– दसैँमा मासु खानैपर्छ भन्ने केही छैन । मासुविनाको या खसीविनाको दसैँ पनि त मनाउन सकिन्छ । आजकल त झन् मासुमात्र कहाँ हो र, मदिराजस्ता पेयपदार्थ समेत यस्ता चाडबाडको अंग बन्न थालेका छन् । यसलाई संस्कृति मान्ने कि विकृति ?  तर कतिपय अहिंसावादी पण्डा–पुरोहितहरुले नै पशुबलिको सट्टा कुभिण्डो बलि दिएर या यस्तै फलफूल चढाएर (आफूले पनि फलफूल मात्र खाएर) अनुष्ठान पूरा गर्ने गरेका छन् । हो, बलिप्रथा न पौराणिक÷वैदिक ग्रन्थहरुमा व्यवस्था भएको पाइन्छ, न यो आजको सभ्यताको परिचायक बन्न सक्छ । हाम्रो सचेत पुस्ताले बलिप्रथा र मांशविनाको दसैँ संस्कृति बसाल्न चिन्तन गर्नुपर्ने बेला आएको छ । दसैँ मूलतः हिन्दू धर्मसँग जोडिए तापनि बलिप्रथा हिन्दू धर्मको अंग रहेको कुनै पनि शास्त्रहरुले पुष्टि गर्दैनन् । वेद–पुराणहरुमा पशुबलि या हिंसालाई प्रोत्साहन गर्ने कुनै पनि आधार रहेको भेटिन्न । बरु यो बलिप्रथा समय क्रममा तान्त्रिक विधि–विधानमार्फत् समाजमा स्थापित भएको र पुस्तैनी चालचलनको रुपमा जरो गाडेर बसेको भन्नेतर्फ धेरै विद्वानहरुको मतैक्य छ ।  हिन्दू धर्ममा देवीदेवतालाई रिझाउन विशेष अनुष्ठानका विधि दिइएका छन् । मूलतः यान्त्रिक, तान्त्रिक र याज्ञिक अनुष्ठानमार्फत् देवीदेउतालाई रिझाएर मनोकामना पूरा गर्न सकिने मान्यता छ । पशुबलि दिनु यही तान्त्रिक पद्धतिअन्तर्गत पर्ने बताइन्छ ।  तर यस्तो तान्त्रिक पद्धतिको पूजा गर्ने अधिकार ब्राह्मण तथा क्षत्रीय जस्तालाई तथकथित ‘उच्च जाति’लाई नरहेको समेत बताइन्छ । तामसिक गुणयुक्त मानिसहरुले मासु र मदिराजन्य पदार्थको प्रयोग अधिक गर्ने हुनाले उनीहरुबाटै पशुबलि र देउतालाई रगत चढाउने चलन चलेको भन्ने तर्कहरु पाइन्छन् । तर दसैँका बेला भने बाहुन, क्षेत्रीहरु समेतले प्रायः मासु अनिवार्य खाने गरेको भेटिन्छ । विशेष गरी खसीबोकाको मासुलाई पवित्र मानेर यी जातिका मानिसले खान्छन्, बरु कुखुरा, राँगा, सुँगुर आदिको मासुलाई अपवित्र मानेर मांशमा समेत विभेद गरिँदै आएको छ ।   नेपाल बहुल जाति–संस्कृति र सामाजिक प्रचलनले बाँधिएको देश हो । यहाँ अन्य जाति–जनजातिहरु जस्तैः नेवार, राई, लिम्बू, तामाङ, मगर, थारू लगायत सबैले प्रायः मासु खाने गर्छन् । तर खसी–बोकाबाहेक, राँगाभैसी, हाँस, कुखरा, सुँगुर र गाईको मासु समेत खाने प्रचलन केही समुदायमा रहेको छ ।  जनजातिहरु प्रकृतिपूजक रहेकाले उनीहरु पनि कुलदेवता, पितृदेवता र प्रकृतिलाई नै दैवीशक्तिका रुपमा मानेर रगत, मासु चढाएर मात्र धेरै अनुष्ठान पूरा गर्दछन् । यसबाट पनि नेपालजस्तो विशेष भौगोलिक अवस्था रहेको देशमा मासु सबैजसो जाति, समुदायले खाने गरेको तथ्य कतैबाट छिप्दैन । देवीदेवताको नाउँमा रगत चढाएर मासु भने आफू नै खानु मान्छेको धूर्त बुद्धिको उपज मान्छु म त । दसैँजस्तो चाडमा त झन् हजारौँ–लाखौँ पशुपंक्षीको बध हुने गरेको छ । बलिको रुपमा राँगा, बोका, पाठा, हाँस, कुखुरा आदिको काटमार हुन्छ । मासुका लागि भने खसी विशेष ‘ब्राण्ड’ नै बनेको छ । सट्टामा बोका, च्याङ्ग्रा, भेडा अनि नेवारजस्ता जनजातीय समुदायमा राँगा र गैरहिन्दू समुदायमा बंगुर, सुँगुर आदिको मासु यसबेला पनि उत्तिकै खपत हुन्छ ।  मासु व्यवसाय अर्थोपार्जनको साधन हो, यो अलग्गै बहसको विषय बन्ला । तर मनोकामना पूरा गर्न भनेर बलि दिनु असभ्यता हो । यति बुझेर पनि आजको सचेत पुस्ताले समेत संस्कृति या चालचलनको रुपमा यसलाई निरन्तरता दिइरहेको छ । अब खसी–बोका या बलिविनाको दसैँको परिकल्पना हामीले गर्न सक्नुपर्छ । मासु खाने कि नखाने ? यो कुरामा अहिले बहस नगर्दा हुन्छ । मान्छेले बाँच्नका लागि खानैपर्ने यावत चीजमा मासु कत्तिको जरुरत हो ? यसको वैज्ञानिक, चिकित्सकीय, जैविक एवं समाजशास्त्रीय र अर्थशास्त्रीय चिन्तन अनेक होलान् । तर दसैँमा नै किन यति धेरै मासुको खपत हुन्छ, किन मासुविनाको दसैँको परिकल्पना गर्न सकिन्न ? मेरो अहिलेको चिन्तनको विषय केवल यत्ति हो ।  अहिले ट्रकका ट्रक खसीबोकाहरु काठमाडौंजस्ता घना आवादी भएका सहरमा भित्रिएका छन् । यहाँका अधिकांश खाली ठाउँमा र विशेष गरी रिङरोडको आसपास एवं खसीबजारहरुमा हजारौँ संख्यामा खसीबोका तथा च्यांग्राहरू राखिएका छन् । ती सुदूरपश्चिमको दार्चुलादेखि सुदूरपूर्व ताप्लेजुङ र अझ सीमापार चीनको तिब्बत र भारतीय भूमिबाट समेत यहाँसम्म ल्याइका हुन् ।  गाउँघरमा पनि ती चौपायाको खोजी र खरिद–बिक्री उच्च छ । समाजमा वर्षभरि खसी, बोका, कुखुरा पालेर दसैँलाई साँचीराख्ने चलन नै चलेको छ ।  विशेष गरी अष्टमी, नवमी र विजयादशमीका तीन दिनमा बढी पशु काटिन्छन् । अनि भुटिन्छन्, खाइन्छन्, चाटिन्छन् । मान्छेले दसैँ मनाइसकेर ढ्याउ डकार्छन्, दाँत कोट्याउँछन् । तर उता पशुहरुको आधा जगत संहार भइसकेकोमा कसैलाई पछुतो र चिन्ता हुन्न ।  अझ दसैँमा टीका नलाउने, दसैँ नमान्ने कतिपय समुदायमा पनि यसबेला मासु भने खाने, रमाइलो गर्ने चलन छ । यसले के दर्शाउँछ त ? दसैँ भन्नु नै मासुको पर्व हो भन्ने जबरजस्त मानसिकता समाजमा व्याप्त रहेको देखाउँछ । दसैँलाई ‘मासुको पर्व’ हुनबाट जोगाऔँ  अब हामी परिकल्पना गरौँ त– मासुविनाको दसैँ । अर्थात् खसी–बोकाविनाको दसैँ । पशुपन्क्षीको बलि र रगतविनाको दसैँ ।  दसैँ चाडका कैयौँ सामाजिक, धार्मिक एवं सांस्कृतिक महत्वपूर्ण पक्ष छन् । टीका, जमरा, पिङ, चंगा, जाँत –जात्रा), व्रत–पूजा–अर्चना, लोकनृत्य तथा लोकभाका, नाचगान, भेटघाट, रहनसहन, शुभकामना तथा आर्शीवादको आदानप्रदान आदि ।  यी सकारात्मक पक्षहरुको अधिकता हुँदाहुँदै पनि मासु र पशुबलिजस्ता नकारात्मक पक्षले थिचिएका छन् । अझ जुवातास, जाँडरक्सी, भाँडभैलो र अन्धाधुन्ध रुपमा आयात भएर गाउँ गाउँसम्म फैलिरहेका पुँजीवादी विकृतिको चपेटामा परेर दसैँजस्ता चाडबाडको मौलिकता उडिसकेको छ ।  एउटा सामान्य ज्यालादारी गर्ने मजदूर पनि भन्छ– कमाइ छैन हजुर, एक पाउ मासुले दसैँ मनाउँछु । सामाजिक परिधिमा रहेपछि देखासिकी या अनुकरण गर्नु स्वाभाविकै हो । अब कमाइ छैन तर मासु नै किन चाहिने ? कतिले रिन गरेर पनि मासु नै किन्ने गरेको पाइन्छ ।  अझ फलानोले त त्यत्रो खसी काट्यो हामी के कम भन्दै हुने खानेहरुबीच भने प्रतिपस्र्धा नै चल्ने गरेको छ । देवीको मन्दिरमा बलि चढाउन, भाकल गर्न पनि होडबाजी चल्छ । बरु हुनेले नहुनेहरुलाई समेत दिएर चाडबाड मनाउन सके त्यहाँ कमसेकम मानवता बाँच्ने थियो ।  मान्छे सामाजिक प्राणी भएकाले ऊ सामाजिक–सांस्कृतिक धरातलभन्दा भिन्नै रहेर बाँच्न असम्भव छ । तर संस्कृति भन्नु त मान्छेले नै आविष्कार गरेर चालचलनका रुपमा अँगाली आएका निश्चित विधिविधान एवं नियमहरु नै हुन् । यी नियमहरु समयानुकूल परिमार्जन हुँदै जानु अस्वाभाविक हुँदैन ।  तर संस्कृतिमा विकृति भित्र्याउनु अस्वाभाविक र आपत्तिजनक हो । बरु संस्कृतिमा व्याप्त विकृति, रुढिग्रस्त मान्यतालाई सुधार गर्नु सभ्य समाजको परिचायक हो । सामाजिक सद्भाव, समानता र विश्वमैत्री भावना तथा समस्त चराचर जगतविरुद्ध रहेका मान्यता भत्काउँदै त्यस अनुकूल नयाँ नियमहरु बसाल्नु आजको सचेत पुस्ताका चिन्तक एवं बौद्धिक व्यक्तिहरुको कर्तव्य हो । भगवान् बुद्धले सबैप्रति करुणाभाव राख्नु नै धर्म हो भनेका छन् । हिन्दू धर्मको सार पनि ‘अहिंसा परमोधर्म’ भन्ने नै रहेको छ । तब धर्म–संस्कृतिका नाममा मनाइने चाडबाडमा हामी मांशभोज र पशुबलि रोक्न किन सक्दैनौँ ?  यदि सनातन संस्कृतिको रक्षा गर्ने हो भने हामीले सात्विक जीवनशैली अपनाउनु हितकर हुन्छ । यसबाट नै मानव जाति र सबै प्राणीका लागि भलो हुन्छ । तामसी जीवनशैलीले मानव समाजमा न त शान्ति, अमनचयन र सुसभ्य संस्कृति निर्माण हुन सक्छ, न मानवेतर प्राणीप्रति करुणाभाव जागृत हुन्छ ।  मासुबाहेक यो धरतीमा अरु पनि धेरै छन् स्वादिला, पोषिला खाद्यवस्तु । यसो भन्दा मासुको विरोध गरेको नठानियोस् । तर, दसैँलाई मासुकै पर्वको रुपमा नबुझौँ भन्न खोजिएको हो । फलफूल, मिष्ठान्न भोजन गरेर अनि मौलिक तर सकारात्मक मान्यताहरु आत्मसात गरेर पनि त रमाइलोसँग दसैँ मनाउन सक्छौँ ।  लौ त, अब हामी परिकल्पना गरौँ–  सामन्ती ठाँटबाठ र तामसी तडकभडक विनाको अहिंसापूर्ण, समतामूलक, विभेदरहित र भातृत्वपूर्ण दसैँको । रातोपाटीबाट

थारू समुदायले आफ्ना पूर्वजहरू सम्झिने पर्व ‘डसिया’

थारू समुदायले आफ्ना पूर्वजहरू सम्झिने पर्व ‘डसिया’

१४३० दिन अगाडि

|

१८ असोज २०७९

प्रकृतिपूजक थारू समुदायको ‘डसिया’ र आमनेपालीहरूको महान् चाड दशैं एउटै हो भन्ने बुझाइ छ । यो पर्व लगभग उही तिथि मितिमा पर्ने हुनाले एउटै लाग्नु स्वभाविक पनि हो । तर यसको विधि प्रक्रिया र यससँग जोडिएको मिथक, मूल्य मान्यताहरू हेर्यौं भने डसिया र दशैंमा फरक छ । यहाँ खास गरी पश्चिमा थारू समुदायको ‘डसिया’बारे चर्चा गरिन्छ ।  थारू समुदायमा डसिया (डस्या) खास गरी आफ्नो पूर्वजहरूको मृत–आत्माले शान्ति पाओस् भनी उनीहरूको सम्झनामा मनाइन्छ । जसरी मृत्यु संस्कारमा छूत (जुठो पर्नु) मानेर आफ्ना सबै कुल देउतालाई पिनाले नुहाइदिने चलन छ, त्यसरी नै डसियामा पनि पूर्खाहरूको मृत्युको कारण जुठो परेकोले देउता नुहाउने काम हुन्छ । छिनोनी पानी (धातुपानी अथवा सुनपानी) छर्केर चोख्याउने गरिन्छ ।  त्यस्तै, काज–क्रियामा जिटा मार्ने चलन अनुसार जिटा पुज्ने, देउताअनुसार जल, रक्सीको छाँकी चढाउने, पिट्टर (पिण्ड) दिनेदेखि भित्तामा पिठोको बकुल्ला छाप बनाउने परम्परागत चलन छ । मृत–आत्माले शान्ति पाओस् र यिनै बकुल्लामाथि सवार गरी सकुशल स्वर्ग जाऊन् भनी बकुल्ला बनाउने चलन छ । यसलाई देउता पठाएको भन्ने चलन पनि छ । यसरी थारूहरु आफ्नो पूर्खाहरूको सम्झनामा डसिया मनाउँछन् ।  दशैंमा हिन्दू धर्मावलम्बीहरूले देवता र दानवहरू बीचको लडाईमा देवताहरूले विजयी प्राप्त गरी उल्लासका साथ मनाउने मिथक छ । मान्यजनहरूबाट रातो टीका लगाउने र दुर्गाको पूजा गरी मनाउँछन् । थारू समुदायमा कुनै पनि घरमा न दुर्गा, न रामको पूजा हुन्छ । किनकि दुर्गा र राम थारूहरूको मौलिक देउता होइनन् । थारू समुदायका आफ्ना मौलिक देउता गुर्वावा, खेखरी–मैया, लागुबासु, सौंरा, डहरचण्डी, ढमरज्वा, जगन्नठ्या, लगायतका रहेका छन् । देउताअनुसार कुनै देउतालाई जल, रक्सी, कसैलाई जल मात्रै त कसैलाई जाँड पनि चढाएर पूजा गरिन्छ । जमरा र बाबरी भने सबै देवी देउतालाई चढाएर परम्परागत मान्यताअनुसार पुजिन्छ ।  घटस्थापनाको अर्को बिहान जमरा अन्य समुदायमा जस्तो दहित थरका थारूबाहेक थारू समुदायमा घटस्थापनाको दिन जमरा राख्ने चलन छैन । त्यो दिन औंसी मुँवल डिन (मरेको दिन)को रूपमा लिने गरिन्छ । त्यसैले, औंसीको दिनलाई छुत मानिन्छ । आंैसीको दोस्रो दिन डुटिया (अर्ध चन्द्रमा) हेर्ने चलन छ । यस दिन घरमुलीले डुटिया नहेर्दासम्म भोकै रहनुपर्छ । डुटिया हेरिसकेपछि घरमुलीले नुहाई धुवाई गरी भोजन गर्छन् । पहिले पहिले डुटियालाई निशाना बनाई बन्दुक पड्काउने चलन थियो । अहिले बन्दुक नै प्रतिबन्ध गरिएकोले यो चलन पनि हटिसकेको छ ।  डुटिया हेरेर अर्को दिन तृतीयाका दिन थारू समुदायमा जमरा राख्ने चलन छ । कसै कसैले भने डुटिया हेरेकै साँझ राख्ने गरेको पाइन्छ । बिहान नुहाइ–धुवाइ गरी जमरा कोरा मल्सी (प्रयोग न गरिएको माटोको भाँडा)मा राखिन्छ । मल्सी नभए डेहुरार (देउथान)को पाटामाथि भुइँमा जमरा राख्ने चलन छ । डसियामा जमरा र बेबरी (बाबरी)बाहेक अन्य फूल चढाउने चलन छैन । उसो त थारू समुदायमा कुनै पनि पूजामा फूल चढाउने चलन छैन, जुन थारू जातिको अलग विशेषता हो ।  पञ्चमीको दिनः ‘झोलझराइ’ पञ्चमीको दिनलाई ‘झोलझराइ’ भनिन्छ । घरमा भएको माकुराको जालोलगायत कुना काप्चा सफा गरिन्छ । यसै दिन दहित थरका थारूहरूको सराढ (श्राद्ध दिने) पर्छ । सराढ पूज्न दहितहरूले चोरेर ल्याएकोसामग्रीले पूजा गर्छन् । श्राद्धको दिन पिडालु, केरा, माछालगायत तरकारी चोरेर ल्याएमा उनीहरूलाई चोर बाट लाग्दैन । त्यो दिन दहितहरूलाई चोरी गर्न छुट हुन्छ । चोर समातिए पनि जरिवाना आममाफी दिने नियम छ । तर, यो समय सापेक्ष छैन ।  पूजा गर्नका लागि गरिने चोरी पनि दुरूपयोग हुने अथवा पूजाको नाममा आवश्यकताभन्दा बढी तरकारी, केरा चोरीले विकृत रूप लिन थालेपछि अहिले पहिलेको जस्तो सहज छैन । आजकाल आवश्यकता अनुसारको तरकारी ल्याएर पूजा गरेको पाइन्छ । दहितहरूको पूजा महिलाले गर्छन् । अन्य थरका थारूहरूको भने पुरुषले नै गर्छन् ।   षष्ठीको दिनः ‘पिलोर खेलैना’ त्यसै गरी षष्ठीको दिनलाई ‘पिलोर खेलैना’ दिन भनिन्छ । पिलोर भनेको घर पोत्नका लागि तयार गरिएको ढौरा माटी (घर पोत्ने सेतो माटो) हो । यही माटोले थारू समुदायमा यस दिन घरभित्र र बाहिर लिपपोत गरिन्छ । सप्तमीको दिनः ‘मच्छिमराइ’ सप्तमीको दिन ‘मच्छिमराइ’ भएकोले त्यस दिन नजिकैको खोला, कुलो पोखरी आदिवाट माछा मार्न जाने चलन छ भने देउता भएको घरका मान्छेहरू ‘पैनस टोपी’ धुन्छन् । पैनस टोपी पुज्नका लागि बनाइएको ढिक्री उसिन्ने ढकियालाई भनिन्छ । पैनस टोपी धुने काम घरको गढुनियाँ (घरमूली महिला) ले गर्नुपर्छ अथवा उनले अह्राएको मान्छेले गर्नुपर्छ ।  अष्टमीको दिनः ढिक्रह्वा अष्टमीको दिन देउता पूज्ने घरको गढुर्या–गढुनियाँ (घरमूली महिला–पुरुष) लाई पूजा नसकिँदासम्म दिनभरि भोकै बस्नुपर्छ । साँझ पूजा प्रारम्भसँगै ट्रासन (मृदङ उर्दी, एक बिशेष तालमा मादल बजाएर निम्तो गर्ने विधि) बजाएर सबै देउता पूर्वजहरूलाई निम्तो गरिन्छ । यसरी ट्रासन बजाएपछि पूर्वजहरूको अदृश्य रूपमा सहभागी हुने जनधारणा छ ।  सुरुमा डेहुरार रहेका र बाहिर रहेका सबै देउताका अगाडि राखिएका दियो  पिनाले पखालेर घरको गढुनियाँबाट नुहाइदिने काम हुन्छ । र, सुनपानी छर्केर नयाँ दियो बालिन्छ । त्यसै गरी प्रत्येक देवी देउताका अगाडि मालुकाको पातमा जमरा, बाबरी, गोलो ढिक्री, चढाइनुका साथै रक्सी (टौला र बजारी) र जल चढाएर पूजा गरिन्छ । नेवारहरुको योमरी जस्तै परिकार ढिक्री चढाइले भएकाले यस दिनलाई ढिक्रह्वा भनिएको हो ।  देउता भएको घरका मान्छेले भेंडाको प्रतीकको रूपमा कुभिण्डोको भेंडा बनाएर पूजा गर्छन् । त्यसै गरी गोठमा ढमरज्वा, पूर्वको आँगनमा ‘पूर्वी’ लगायत अन्य देउतालाई पनि पुजिन्छ । थारू समुदायमा प्रत्येकको घरमा देउता हुँदैनन् । विशेष गरी जेठो छोराको घरमा देउता राख्ने परम्परा छ । जो कुनै थर या कुलको गाउँभरिमा एक दुइ घर मात्र देउता राखिएको हुन्छ । अन्य घरको डेहुरार निशान भने प्रत्येकको घरमा हुन्छ र डसियामा पूजा पनि प्रत्येकको घरमा हुने गर्छ । पूजा गर्नेबेला बानधूप चढाउनु पर्छ । डसियामा यो अनिवार्य हुन्छ । बानधूप भनेको गुर्वा (थारू पुरोहित)हरूले आफ्नो निधार, जिब्रो, पाखुरा, छाती र गोडा (जाँघ) चिरेर निकालेको रगत र धान लगायत सात किसिमको फूल लोर्हके (फूल टिपेर) बनाएको विशेष धूप हो । यो डसियामा मात्रै आफ्नो देउतालाई चढाइन्छ । यो बानधूप प्रायः थारूहरू दहित थरका गुर्वाबाट ल्याएर चढाउँछन् । त्यसो त अन्य थरको गुर्वाहरूले पनि चलाउँछन् । तर अब बानधूपको नाउँमा बजारको अगरबत्ती सल्काउने चलन पनि आइसकेको छ । टीकाको रूपमा देउतालाई सिन्दुर लगाउने चलन छ । पूजा गरिसकेपछि दिनभरि भोकै बसेका गढुर्या–गढुनिया ढिक्री र अन्य तरकारी भोजन ग्रहण गर्छन् ।   आजको रात रातभरी देउता जगाउँछन् । देउता जगाउनुलाई दियो जगाउने पनि भनिन्छ । रातभरि जाग्नुपर्ने हुनाले नाचगान पनि गर्छन् । नाचगान नभए बर्किमार अर्थातु महाभारतको गीत गाएर रात काट्छन् । देउता जगाउनेहरूलाई डेहुरारको पाटा माथिको रक्सी पिउन दिइन्छ । पाटामा राखिएको रक्सीलाई ‘भेंर्वा’को रक्सी पनि भनिन्छ । नवमीको दिनः मुर्गी पुज्ना नवमीको दिन बिहान गढुरियाले नुहाएर नयाँ बह्रनी (सिरुको झारु) काटेर ल्याउनु पर्छ । प्रत्येक वर्षको दशैंमा पुरानो बह्रनी हटाएर प्रत्येक वर्ष नयाँ बह्रनी राखिन्छ । जमरा–बाबरी चढाएर कुखुराको बलि दिने चलन छ । कुखुरा (मुर्गी) को बलि दिने आजको दिनलाई मुर्गी पुज्ना दिन भनिन्छ । सबै थारूको घरमा कुखुरा बराबरी संख्यामा पुजिदैन । खास देउता भएका घरका मानिसले सातदेखि पन्ध्रवटासम्म कुखुरा र डिँवा (समयावधि) अनुसार भेंडा, बाख्रा, सुँगुर पुज्दछन् भने अन्यको घरमा एक अथवा तीनवटा आफ्नो चलनअनुसार कुखुरा पुज्दछन् । बलिसँगै जमरा, बाबरी, रक्सी, बानधूप चढाएर देउतालाई सेतो टीका लगाइन्छ । बली सबै देउतालाई चढाइँदैन ।  थारू समुदायमा गुर्वावा, खेखरी–मैया, लागुबासु, सौंरा, डहरचण्डी, ढमरज्वा, जगन्नठ्या, लगायतका देउताअनुसार दूध, पानी, रक्सी, जाँड पुज्ने चलन छ । ‘जँडछब्बा’ थारू आफ्नो ‘नक्छेडिया’ देउतालाई जाँड चढाउँछन् । जाँड चढाउने चलन अन्य थरका थारूहरूमा छैन ।  डेहुरार पिट्टर (पिण्ड) दिने चलन पनि छ । पिट्टर दिँदा बिजोर संख्याको टपरीमा भात लगायतका खानेकुरा राखेर पूजा गरिन्छ । पुस्ताअनुसार ३, ५ या ७ वटा टपरी राख्ने चलन छ । यसले टपरीको संख्याको आधारमा यति पुस्ताका पूर्वजहरूलाई पिण्ड दिइएको भन्ने बुझाउँछ ।  पूजा सकिएपछि महिलाहरू स्थानीय नदी घाट, कुलोमा पिट्टर सेलाउन जान्छन् । पिट्टर सेलाउन जाँदा करै (माटाको रक्सी राख्ने भाँडो)मा छाँकी (रक्सी), समूह–समूहमा महिलाहरू ढकियामा डेहुरार राखिएको पुरानो बर्हनी, पूजा गरेको जमरा, बाबरी, कुभिण्डोरुपी भेंडा लगायत जुन–जुन ठाउँ पूजा गरिएको हुन्छ, ती सबै ठाउँ सफा गर्दा निस्किएको फोहर लिएर जान्छन् । साथै खानपिनको लागि छाँकी र तरकारी पनि लिएर गएका हुन्छन् ।  पिट्टर सेलाई सकेपछि सबैजना मिलेर आ–आफ्नो घरबाट ल्याएको मदिरा सबै मिली खान्छन् र मनोरञ्जन गर्छन् । घाटमै अलिअलि नाचगान पनि गर्छन् । अरु दिन डसिया मनाउन आएका पाहुनाहरूलाई खुवाउने पिलाउने महिलाहरू आजको दिन अलि बढी नसामा देखिन्छन् ।  नवमीकै दिनः टीका यता पुरुषहरू घर गुर्वा, डेसबँढिया गुर्वालाई नवमीकै दिन टीका लगाउन जान्छन् । अब आएर भने एकरुपता दिन दशमीकै दिन टीकाको चलन बढ्दो छ । करैमा रक्सी, जमरा, बाबरी लिएर आफ्नो गुर्वाको घर जान्छन् । सबैजना मिलेर मासुको जोहो गर्छन् र रीति अनुसार गुर्वालाई दक्षिणा दिन्छन् । जब गुर्वाले आफ्नो डेहुरार पूजा पाठ गरी सक्छ, अनि टीका लगाउने काम शुरु हुन्छ ।  थारूहरुको टीका सेतो पीठो अथवा चामलको हुन्छ । सबैजना टीका लगाई खानपिनमा लाग्छन् । केही समयपछि सबैको देउता मिलाउनको लागि गुर्वाले आफ्नो प्रक्रिया पूरा गर्छ र गुर्वा हुन चाहनेहरू गुरै खेल्छन् । गुरै खेल्नु भनेको मन्त्रद्वारा देउता सवार भई काम्ने प्रक्रिया हो ।  गुर्वाहरूमा जब देउता चढ्छ तब काँप्दै डेहुरार, बहरी र आँगनमा अखरिया खेल्छन् । अखरिया खेल्नु भनेको मादलको तालमा लठ्ठी लिएर नाच्नु हो । आजको दिनलाई नयाँ गुर्वा बन्ने दिनको रूपमा पनि लिइन्छ । सुस्वाइबेर (गुर्वा खेल्ने बेला) पच्रा गीत गाउँछन् । जुन यस प्रकार छ ः  ‘हेरि लेओ रि मैया हेरि लेओ रि,  आपन घरडुवार हेरि लेओ रि ।’ गाउँमा सामूहिक टीका लगाउने चलन पनि छ । यसलाई ‘राजा–टीका’ पनि भनिन्छ । गाउँको अगुवा बरघर, महटाँवाले भुइँह्यार थानमा टीका लगाई सकेपछि गाउँको टीका खुल्छ । गाउँभरि घर–घर आफ्नो मान्यजनहरूको हातबाट टीका लगाउँछन् र आशीर्वाद लिन्छन् । सेतो पीठोको टीका शान्तिको प्रतीकको रुपमा मानिन्छ ।  टीका लगाई सकेपछि गाउँका बठिनियाँहरू (तरुनी केटीहरू) ले नाचगान गर्छन् । गाउँभरि घर–घर गई नाचगान गर्छन्, जसलाई ढुर झर्ना भनिन्छ । बठिनियाँहरू बर्का नाच, सखिया, पैंया नाच नाच्छन् । नाच गाउँको बरघरको घरबाट सुरु हुन्छ र गाउँभरि नाचिन्छ ।  सखिया नाच मादलको तालमा मजुराले नाच्ने नाच हो । यो नाचमा गीत पनि गाइन्छ तर गीत गौण हुन्छ । कहिले गोलाकार त कहिंले पंक्तिबद्ध भई नाचिने यो नाच हात खुट्टाको ताल मिलाएर शरीरलाई लचिलो पारी मंजिरा बजाइन्छ । सखिया नाच दशैं–तिहारमा नाचे पनि यसको गीतको सन्दर्भ भने श्रृष्टि र कृष्णको जीवनसँग सम्बन्धित छ । जस्तै  पैयाँमा पनि मादलको तालकै प्रधानता हुन्छ । यो पनि मजिराले नाच्छन् । ठरपैयाँ लगाउने बेला गाइने गीत यस किसिमको छ ‘उरि उरि भौरा टिकुलि पर बैठे रे हाँ, ए हो भौँरक छुवल मोर टिकुलि मलिन हो ।’ दशमीको दिनः नयाँ दुलहा कोसेली लिएर ससुराल दशमीको दिन घरपरिवारको बिच टीका लगाइन्छ । अब दशमीकै दिन ‘राजा–टीका’ पनि लगाउने चलन सुरु भएको छ । सेतो टीकाको स्थान रातो टीकाले लिन थालेको छ । आजको दिन नयाँ दुलहा कोसेली लिएर ससुराल जान्छ, जसलाई ‘जेंउरा लगाइ गैलक’ भनिन्छ । दुलहा ससुराली टीका थाप्न जाँदा एउटा भाले, मचिया (सुटलीले बुनेर बनाइएको मुडाजस्तै साधन), हाते पंखा लिएर जान्छन् । मचिया रातो, हरियो रंगले रंगाइएको डोरी बुनेको हुन्छ भने हाते पंखा सिरिसको डाँठ धागोेले बुनेको अथवा सिरिस नभए बाँसले बुनेको हाते पंखा लिएर जान्छन् ।  बेना (पंखा) मा चारैतिरबाट कपडाले बेरेर, मयूरको प्वाँख लगाएर सुन्दर बनाइन्छ ।  टीका थाप्न जाँदा दुलहासँगै भरिया पनि हुन्छ । भरियाको काम भारी बोक्ने मात्रै हुँदैन, दुलहाको सुरक्षाको जिम्मेवारी पनि उसको हुन्छ । घरबाट निस्किने बेला साजल चाउर (गुर्वाले साजेको अक्षता) खल्ती अथवा लुगाको एउटा कुनामा बेरेर राख्छन् । टीका थाप्न जाँदा भूत–बोक्सी नलागुन् भनेर अक्षता दिइएको हुन्छ ।  दुलहालाई ससुराली गाउँका बठिनियाँ (युवती)हरूले फूलमाला पहिराई स्वागत गर्छन् । खुट्टा धोइदिन्छन् । दुलहाले पउनीहरूलाई दक्षिणास्वरूप चुरोट, बिडी दिन चलन थियो । अहिले चुरो बिंडीको सट्टा नगद दिने चलन छ ।  ससुरालीमा मानसम्मान त हुने नै भयो । टीका थाप्न गएको बेला मासुमा कुखुराको फिलौंडा (लेग पिस) विशेष हुन्छ । पहिले पहिले नयाँ दुलहाहरू लाज सरम मान्थे । दिएको फिलौंडा खायो कि खाएन भनेर खुबै ख्याल पनि हुन्थ्यो ।  टीका थाप्दा ससुरालीबाट केही रकम अथवा कुनै उपहार दिएर बिदाई गरिन्छ । टीका ससुरालीमा मात्रै लाउँदैनन् । सके दुलहीको मामा घर, दिदी–बहिनीको घर, ठूलाबुवा, काका, फुपूहरूको घर पनि लगाउने चलन छ । तर आजभोलि यो चलन पनि बिस्तारै हराउँदै गएको छ ।  दुलहा टीका थाप्न गएजस्तै नवदुलहीहरू पनि ‘पहुनी’ जाने चलन छ । बिहे भएको झण्डै एक वर्ष गोंरी बुन्न भनेर नयाँ दुलहीलाई छुट्टी दिइएको हुन्छ । दुलहीहरू छुट्टीको समयमा आफ्नो माइतीमा बसेर गोंरी बुन्छन् । डसिया, डेवारीमा मामा, फुपू, दिदीहरूको घर पहुनी खान जान्छन् । पहुनी खान ढिक्रीको पहुरा (कोसेली) लिएर जान्छन् । त्यहाँबाट पनि उनीहरूलाई आफ्नो हैसियतअनुसार नगद या उपहार दिने चलन छ । यसरी पहुनी खाएर उनीहरू मंसिरमा आफ्नो घर (दुलहाको घर) आउँछन् ।  यसरी डसियासँग थारू समुदायको धेरै चिज जोडिएको छ । तर समय परिवर्तनसँगै थारूहरूले आफ्नो मौलिक संस्कृति छोड्दै गएका छन् र बाह्य संस्कृतिप्रति आकर्षित हुँदै गएका छन् । 

थारू बस्तीमा दसैँको रौनक

थारू बस्तीमा दसैँको रौनक

१४३० दिन अगाडि

|

१८ असोज २०७९

तस्विरः चुर्ण चौधरी थारु गाउँमा दसैँको रौनकता छाएको छ । सखिया, झुम्रा, छोक्रा, मुङ्ग्रहवालगायतका नृत्य र लोकभाकाले थारु गाउँ गुञ्जायमान भएका छन् । विगतका दुई वर्ष कोरोना सङ्क्रमणका कारण थारु समुदायले दशैँलगायतका चाडपर्व सहजरुपमा मनाउन पाएका थिएनन् । विदेश गएका कोरोनाकै कारण फर्केका थिएनन् । कोरोनको कहरका कारण घर परिवारसँगै बसेर दसैँ मनाइएको थियो । सामूहिक रुपमा टीका थाप्न पाइएको थिएन । कोरोनाका सङ्क्रमण घटेसँगै विदेश गएका यस पटकको दसैँ मनाउन स्वदेश फर्केका छन् । विदेशबाट फर्केका परिवारसँग भलाकुसारी गर्दै दसैँ मनाइरहेको कृष्णपुर नगरपालिका–२ का दुर्गाप्रसाद चौधरीले बताए ।                                                                                                                                                                                                               दसैँमा पित्तर दिन जाँदै । तस्विरः नविन चौधरी “यस पटकको दसैँ निकै रमाइलो गरी मनाइँदै छ”, उनले भने, “विदेश गएका, कामका लागि बाहिर गएका, पढाइका लागि बाह्य क्षेत्रमा गएका छोरा र भाइ सबै एक ठाउँमा जम्मा भएका छौँ, निकै रमाइलो छ”, “दसैँका बेला थारु बस्तीमा नाचगान परम्परागत रुपमा चल्दै आएको छ”, उनले भने, “महिला पुरुष, युवायुवती सबैको सामूहिकरुपमा नाचगानमा सहभागिता रहेको छ, यस बेला कुनै प्रकारको भेदभाव गरिँदैन, सबै समान हुन्छन् ।”      दसैँमा पित्तर दिन जाँदै । तस्विरः नविन चौधरी सामूहिक रुपमा आयोजना हुने नृत्यले सामूहिक भावनाको विकासमा यसले मद्दत पुर्याउने उनको भनाइ रहेको छ । दशैँका बेला नाच दशदेखि पन्ध्र दिनसम्म आयोजना गरिन्छ ।   अरु बेला जे जस्तो तरिकाले परिवारको भरणपोषण गरिँदै आए पनि दसैँका बेला थारु समुदायमा मीठो मसिनो खाने, नयाँ लुगा लगाउने चलन रहेको छ । दसैँका बेला थारु समुदायका घरमा ढिक्री, सुँगुर, कुखुरा, खसी, बोकाको मासु, घोँघी, पोइक साग, फुलौरी, ठेक्वा, माछाका परिकार बनाइने गरिन्छ । यी परिकार घरमै बनाइएको अन्ती धानको गुरी जाँड र दारुसँग खाने गरिन्छ । घरमा आएका पाहुनालाई यिनै परिकारले स्वागत गरिन्छ । थारु समुदायले असोजको शुक्ल पक्षको घटस्थापनाको दिन जमरा राखी सप्तमीदेखि दशमीसम्म दसैँ पर्व मनाउने गरेका छन । अष्टमीको दिनसम्म रातिका बेला मात्रै नृत्य देखाउने गरिन्छ । नवमीको दिनदेखि दसैँसम्म दिउँसोपख नृत्य देखाइने गरिन्छ ।                                                                                                                                                                                                                                             तस्विरः सोम डेमनडौरा नृत्य गर्न अगाडि गुरुवाले पूजा पाठ गरी नृत्य टोलीका सदस्यलाई दैवीय विपत्तिबाट जोगाउनका लागि तन्त्रमन्त्र गर्ने  गरेको दानसिंह दहितले बताए ।  उनका अनुसार नाचमा सबैभन्दा बढी बाजामा मादल, झाली, मजैरा, घुँघरुलगायतको प्रयोग बढी हुने गरेको छ ।   दसैँका दिन बाजागाजा र नृत्यसहित कोसेली बोकेर गाउँका अगुवा वरघरबाट टीका थाप्ने चलन थारु समुदायमा रहेको छ । थारु समुदायमा अरु समुदायको जस्तो दसैँदेखि कोजाग्रत पूर्णिमासम्म टीका थाप्ने चलन भने रहेको छैन । थारु समुदायले दसैँको दिनमा मात्रै टीका थाप्ने गरेका छन् । पहिला चामलको पिठोको सेतो टीका दशैँका अवसरमा थारु समुदायले लगाउने गरेका थिए । हाल सेतो टीकासँगै रातो टीकासमेत लगाउने चलन चलेको छ ।                                                                                                                                                                                                                                                  तस्विरः नरेन्द्र दहित थारु समुदायको आज मुर्गि पुज्ने दिन   नवमीको दिन आज थारु समुदायले मुर्गि पुज्ना दिनका रुपमा मनाउँदै छन् । बिहानै नदी तलाउमा नुहाएर शुद्ध भई थारु समुदायले पितृको सम्झना गर्दै देउथानमा बत्ति बालेर मुर्गा पुज्ने कार्यमा लागेका छन् । मुर्गा पुज्नु अघि देउथानमा रहेका देवताको अगाडि भात, तरकारी, घरैया दारु, पानी राख्नुपर्ने चरन चौधरीले सुनाए । उनका अनुसार टपरीमाथि बह्रनी, जमरा, वेवरी, आदि चढाउनुपर्दछ । चढाइएका खाद्य पदार्थ पितृले आएर ग्रहण गर्ने विश्वास थारु समुदायमा रहेको छ । सिन्दूरले देवतालाई टीका लगाइ जल, दूध, मदिराको धार देवतामा चढाउनुपर्दछ । त्यस पछि मात्रै मुर्गा पुज्ने क्रम सुरु हुन्छ । मुर्गा पुज्ने कार्य सकिए पछि घरका सबैसँगै सबेर सामूहिकरुपमा भोजन ग्रहण गर्दछन । पितृलाई चढाइएका सामग्री नजिकको नदी, तलाउमा विर्षजन गर्न नृत्य टोलीसहित थारु समुदायका व्यक्ति  पित्तर दिन जाने गर्दछन् । जसमा महिलाको सक्रियता बढी रहने गर्दछ । यस क्रममा नाचगान गरी रमाइलो गर्ने चलन रहेको छ । रासस

थारू पौराणिक नाच प्रतियोगितामा  कठघोरी नाच पहिलो,  झुम्रा नाचमा पचुहिया गाउँको नाच उत्कृष्ट

थारू पौराणिक नाच प्रतियोगितामा कठघोरी नाच पहिलो, झुम्रा नाचमा पचुहिया गाउँको नाच उत्कृष्ट

१४३१ दिन अगाडि

|

१७ असोज २०७९

राष्ट्रिय थारू कलाकार मञ्चले दसैंको अवसरमा आयोजना गरेको दसैं बिशेष साँस्कृतिक कार्यक्रम तथा पौराणिक नाच प्रतियोगितामा शान्ति युवा क्लव लठ्ठहवाको कठघोरी नाच प्रथम भएको भएको छ ।  राष्ट्रिय थारू कलाकार मञ्च केन्द्रीय समितिले १५ असोजमा दाङ देउखुरीको गढवा गाउँपालिका–२ राप्ती रिसोर्ड एण्ड फन पार्कमा आयोजना गरेको कार्यक्रममा जम्मा १० वटा समूहले भाग लिएका थिए । सो कार्यक्रममा सखिया पैया समूह रामपुर पलासेको नाच दोस्रा तथा संघारी सांस्कृतिक मञ्च उत्तर मजगाउँको बड्का नाचले तेस्रो भए ।  विजय हुने समूहलाई क्रमशः १५ हजार, १२ हजार र ८ हजार नगद तथा प्रमाणपत्र प्रदान गरिएको थियोे । कार्यक्रममा गायकहरु अन्नु चौधरी, समीक्षा चौधरी, रोशन रत्गैया, दोषहरण चौधरी, शालिकराम चौधरी, राजेन्द्र चौधरी, डिआर चौधरी, गायक तथा हाँस्यकलाकार गौतम चौधरी, गायक मोडल समु चौधरी लगायतको विशेष प्रस्तुति रहेको थियो ।  त्यस अघि उक्त कार्यक्रमको समुद्घाटन मन्तव्यमा शहरी विकास मन्त्री मेटमणि चौधरीले थारू समाजलाई अगाडि बढाउन संस्कारयुक्त शिक्षाको आवश्यकता रहेको धारणा राखे ।  थारू समुदायका पुराना नाचगान, संस्कार, संस्कृति हराउँदै जान थालेको र नयाँ युवा पिढीले आधुनिक गीतसंगीतमा मात्र रमाउन थालेकोमा मन्त्री चौधरीले चिन्ता व्यक्त गरे । साथै, थारू समुदायको पहिचानका लागि थारू कलाकार स्थापित हुन जरूरी रहेको पनि उनले बताए । मञ्चका दाङ अध्यक्ष वीरबहादुर चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत अञ्जु चौधरी र कार्यक्रमका बारेमा मञ्चका केन्द्रीय महासचिव रोशन रत्गैयाले जानकारी दिएका थिए । बृहत साँस्कृतिक झुम्रा नाच प्रतियोगिता यसै गरी थारु कल्याणकारिणी सभा (थाकस) देउखरी गढवा इकाइ कमिटिको आयोजनामा असोज १६ गते गढवा गाउँकमिटि स्तरीय बृहत साँस्कृतिक झुम्रा नाच प्रतियोगिता गढवामा सम्पन्न भएको छ । नाच प्रतियोगिताका निर्णायक सुरेश चौधरीका अनुसार प्रतियोगितामा पचुहिया गाउँको नाच पहिलो, लोखरपुरवा गाउँको नाच दोस्रो तथा पर्नाहा गाउँको नाच तेस्रो, मक्नह्वा गाउँको नाचले सान्तवना स्थान प्राप्त गरेकको छ ।  कार्यक्रममा गढवा गाउँपालिकाबाट विभिन्न क्षेत्रमा योगदान पुर्याउनहरुलाई सम्मान पनि गरिएको थियो । जसमा समाजसेवी भगवती प्रसाद चौधरी, खेलाडी पद्मा चौधरी, गायक दोषहरण चौधरी, कमलरी अभियन्ता उर्मिला चौधरी लगायत थिए । कार्यक्रमका प्रमुख अतिथि थाकस देउखुरीका सभापति  प्रकाश चौधरी तथा गढवा गाउँपालिकाका उपाध्यक्ष शारदा चौधरीले सम्मानित गरेका थिए । कार्यक्र थाकस गढवाका सभापति  संजिव चौधरीको सभापतित्वमा भएको थियो ।   

ड्युटीमै बित्छ डीआईजी मीरा चौधरीको दसैँ

ड्युटीमै बित्छ डीआईजी मीरा चौधरीको दसैँ

१४३२ दिन अगाडि

|

१६ असोज २०७९

राजेश भण्डारी काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापनको जिम्मेवारी अहिले प्रहरी नायव महानिरीक्षक (डीआईजी) मीरा चौधरीको काँधमा छ । आजभोलि उनी चटारोमा हुन्छिन् । काठमाडौँ महानगरपालिकासँगको समन्वयमा बेसमेन्ट पार्किङ खुलाउने अभियान चलिरहेको छ । अत्यासलाग्दो सडक जाम खुलाउन बिहानदेखि नै कडा मेहनत गर्नुपर्छ । नेपालीहरूको महान् चाड दसैँ सुरु भएदेखि मीराको काँधमा अर्को जिम्मेवारी पनि थपिएको छ । चाडपर्वमा सवारी दुर्घटना न्यूनीकरण गर्न र यातायातको सहज व्यवस्थापन गर्न गृह मन्त्रालयले समिति गठन गरेको छ । सो समितिमा सदस्य छिन् मीरा । सहसचिव फणीन्द्रमणि पोखरेल नेतृत्वको समितिले सार्वजनिक यातायातको यान्त्रिक परीक्षण गर्ने, बिमा नभएका सवारी चल्न नदिने, मादक पदार्थ र लागु पदार्थको नियमित चेकजाँच गर्ने निर्णय गरेको छ । सो निर्णय कार्यान्वयनमा मीराको टिम लागेको छ । सबैलाई दसैँ लागेको छ तर, मीरा ड्युटीमै दसैँ मनाउने योजनामा छिन् । ‘दसैँ कसरी मनाउनुहुन्छ ?’ भन्ने प्रश्नमा मीरा भन्छिन्, ‘ड्युटीमै बित्छ, कतै जान्नँ ।’ ट्राफिक कमाण्डरको जिम्मेवारीमा रहेकी उनी दसैँमा औपचारिक र अनौपचारिक कार्यक्रममा व्यस्त हुन्छिन् । सैनिक मञ्चमा आयोजित फूलपाती बढाइँ समारोह तथा प्रहरी प्रधान कार्यालयमा गरिने मौलो पूजामा उनको सहभागिता अनिवार्य हुन्छ । ‘अनौपचारिक कार्यक्रममा पनि कमाण्डरको हिसाबले मैले मनिटरिङ गर्नुपर्छ,’ मीरा भन्छिन्, ‘विजया दशमीको दिन घर जान नपाएकालाई सिनियरले टीका लगाइदिने चलन छ, मेरो कार्यालयमा सिनियर भएको हिसाबले म पनि त्यही गर्छु ।’ मीराजस्तै घर जान नपाएर ड्युटीमै दसैँ मनाउने ट्राफिक प्रहरी धेरै हुन्छन् । आफूभन्दा जुनियरलाई परिवारको न्यास्रो मेटाउने प्रयास पनि उनले नै गर्नुपर्नेछ । ती दसैँ मीराको पुर्ख्यौली थातथलो पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर–१३ मा पर्छ । बालापन र क्याम्पस जीवन उनले वीरगञ्जमा बिताइन् । स्कुल तहको शिक्षा उनले वीरगञ्जको राष्ट्रिय विद्यापीठ व्यावसायिक माविबाट पूरा गरिन् । स्नातक तह हरिखेतान बहुमुखी क्याम्पस र स्नातकोत्तर तह ठाकुरराम क्याम्पसबाट पूरा गरिन् । स्कुल र क्याम्पस पढ्दा मीरा फुटबल खेल्थिन् । घर नजिकै चउर थियो । सिनियर दाइहरुसँग खेलेर मीराले फुटबलको लय समातिन् । २०५१ मा प्रहरी इन्स्पेक्टरमा भर्ना भएपछि मीराले प्रहरीमा महिला फुटबल टिम बनाइन् । नेपाल प्रहरीको टिम क्याप्टेन हुँदै राष्ट्रिय टिमको कप्तान भएर मीराले फुटबलबाट सन्यास लिइन् । नारायणी अञ्चलबाट टिम क्याप्टेन भएर खेल्ने गरेकी मीरा सिनियर र केटा साथीहरूसँगै धेरै खेल्थिन् । ‘घर नजिक चउर भएको फाइदा मैले उठाएँ,’ मीरा भन्छिन्, ‘बेलुका भएपछि टोलका मानिसहरू त्यहाँ भेला हुन्थे, त्यहीँबाट फुटबलमा लगाव भयो ।’ स्कुल तहमा भलिबलबाट खेल जीवन सुरु गरेकी मीराले फुटबल कप्तान भएर आफ्नो खेल जीवनबाट विश्राम लिइन् । स्कुल पढ्दा ‘वीरेन्द्र शिल्ड’मा सहभागी भएको अहिले पनि उनको स्मृतिमा ताजा भएर आउँछ । प्रहरीमा भर्ना हुनुअघिका दसैँ र त्यसपछिका दसैँ मीराका लागि भिन्न छन् । जागिरमा आउनुअघि वीरगञ्जमा बुबा र आमासँग उनले दसैँ मनाउने गरेकी थिइन् । ‘पारिवारिक हिसाबले दसैँ भनेको लुगा किन्ने, मिठो खाने सामान्य चलन जुन थियो, हामी पनि त्यसरी नै मनाउँथ्यौं,’ मीरा भन्छिन्, ‘हाम्रो तराईतिर मन्दिरहरूमा मेला लाग्थ्यो साथीभाइसँग बिहानै मेलामा जान्थ्यौँ, छुट्टै रमाइलो हुन्थ्यो ।’ मीरा वीरगञ्जको थारु समुदायमा हुर्किइन् । दसैँलाई तराईमा सबै समुदायले समान रूपमा मनाउने गरेको उनी सम्झिन्छिन् । निधारमा रातो टीका र जमरा लगाउने आम परम्परालाई पछ्याएर उनी हुर्केकी हुन् । तराईमा अहिले पनि दसैँ, तिहार र छठलाई उल्लासाका साथ मनाउने गरिन्छ । बाल्यकालमा मीराले परिवार र साथीभाइसँग मनाएको दसैँ र अहिलेको दसैँमा ठुलो अन्तर छ । ‘परिवारसँग बिताएको दसैँ र अहिलेको दसैँमा त तुलना नै हुँदैन,’ मीरा भन्छिन्, ‘व्यक्तिगत र व्यावसायिक हिसाबले ती दसैँ र अहिलेको दसैँलाई दाँज्न पनि मिल्दैन ।’ बाल्यकालमा साथीभाइ र परिवारसँग बिताएको दसैँको रौनक छुट्टै थियो । २०४१ सालमा बुबाको निधनपछि मीराको दसैँ आमासँग बित्थ्यो । प्रहरीमा आएपछि २०५१ मा प्रहरीमा प्रवेश गरेपछि उनले मनाउने दसैँको स्वरुप फेरियो । मीरा उनको परिवारकी पहिलो सन्तान हुन् । त्यसैले उनको परिवारप्रति अभिभावकिय दायित्व हुनु स्वाभाविक हो । प्रहरीमा आएपछि तालिमको दौरान र शान्ति मिसनमा जाँदा उनको दसैँ छुट्न थाल्यो । वीरगञ्ज जान नपाउँदा दसैँमा आमाको हातको टीका छुट्थ्यो । तर, आफू कमाण्डर नभएको बेला कार्यालयबाट छुट्टी मिलाएर मीरा छोटो सयमका लागि भए पनि दसैँमा घर पुग्थिन् । ‘मुमा एक्लै भएको बेला मिलाएर घरमा जाने प्रयासचाहिँ गरिरहेँ,’ उनी भन्छिन्, ‘विशेष गरी तिहारमा भन्दा पनि दसैँमा चाहिँ जानैपर्छ भन्ने हुन्थ्यो ।’ जिम्मेवारीका कारण जागिरमा प्रवेशपछि उनी धेरै दसैँमा घर जान सकिनन् । उनले भनिन्, ‘मुमा हुँदा सम्भव भएसम्म जान्थेँ, कहिलेकाहीँ मुमालाई आफू बसेको ठाउँमा बोलाएर पनि दसैँ मनाएँ ।’ बडादसैँ भनेपछि घर जानुपर्छ भन्ने संस्कार छ । मीरा सो संस्कारअनुसार एक–दुई दिनमात्र भए पनि दसैँमा घर जाने गर्थिन् । यस वर्ष फुलपातीमा उनको आमा बितेको दुई वर्ष पूरा हुँदैछ । आमा बितेसँगै दसैँमा घर जाने क्रम टुटेको छ उनको । बडादसैँ भनेपछि घर जानुपर्छ भन्ने संस्कार छ । मीरा सो संस्कारअनुसार एक–दुई दिनमात्र भए पनि दसैँमा घर जाने गर्थिन् । यस वर्ष फुलपातीमा उनको आमा बितेको दुई वर्ष पूरा हुँदैछ । आमा बितेसँगै दसैँमा घर जाने क्रम टुटेको छ उनको । ‘जिल्लामा कमाण्डर भएर काम गर्दा आफ्नो काम सकाएर मिल्यो भने साँझमा भए पनि घरमा पुगेर आउँथे,’ उनी भन्छिन्, ‘दसैँमा घर जानुपर्छ भन्ने जुन भाव हुन्थ्यो, मुमा नहुँदा अब त्योचाहिँ छैन ।’ मीरा ७ कक्षामा पढ्दादेखि नै खेल्न थालेकी हुन् । बालापनमा खेल्ने र साथीसंगीसँग रमाएर दसैँ मनाउने उनी जागिरमा आएपछि काममा समय दिन थालिन् । मानिसहरू दसैँ बिदालाई घुमेर पनि मनाउँछन् । तर, उनी दसैँको छुट्टीमा अहिलेसम्म कतै घुम्न गएकी छैनन् । ‘छुट्टी पाउँदा म कहिल्यै पनि बाहिर घुम्न गइनँ,’ उनी भन्छिन्, ‘मुमा एक्लै हुनुहुन्थ्यो, घरमै जान्थेँ ।’ ड्युटीमा दसैँ सार्वजनिक यातायातको व्यवस्थापन गर्न गठन गरिएको समितिकी सदस्य भएकाले मीरा चौधरी दसैँभरि सो समितिले गरेका निर्णय कार्यान्वयनमा व्यस्त हुन्छिन् । कमिटीले सार्वजनिक सवारीको अवस्थाबारे यान्त्रिक परीक्षण, बिमाको अवस्था, चालकको मादक पदार्थ सेवन र  लागु पदार्थ सेवनको अवस्थाबारे कडाइका साथ चेकजाँच गर्ने निर्णय गरेको छ । उपत्यकामा सो निर्णय कार्यान्वयन गर्ने मुख्य दायित्व उनकै काँधमा छ । भाडामा हुने कालाबजारी नियन्त्रण र यात्रुलाई सहजीकरण गर्न काठमाडौँ, भक्तपुर र ललितपुरका १४ ठाउँमा ट्राफिक प्रहरीले यात्रु सहायता कक्ष सञ्चालन गरेको छ । त्यहाँ भाडादर र यात्रुका लागि सूचना टाँसिएको छ । ‘समस्या परेमा यात्रुले तत्काल खबर गर्न सक्नुहुन्छ,’ मीरा भन्छिन्, ‘चालकले मापसे गरेर सवारी चलाइरहेको कुरा यात्रुलाई थाहा भयो भने तुरुन्त सूचना दिन सक्नुहुन्छ, हामी तत्काल कारबाही गर्छौँ ।’ यातायात व्यवस्थापन समितिले लामो दुरीमा दुई जना चालक अनिवार्य गरेको छ । निर्णय कार्यान्वयनको अवस्था अनुगमन, औपचारिक कार्यक्रम र ट्राफिक व्यवस्थापनमै बित्छ डीआईजी मीराको यो वर्षको दसैँ ।  रातोपाटीबाट

निसराउद्वारा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा ६७० जना लाभान्वित

निसराउद्वारा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा ६७० जना लाभान्वित

१४३३ दिन अगाडि

|

१५ असोज २०७९

शहरी विकास मन्त्री मेटमणि चौधरीले स्वास्थ्य सेवा अभावका कारण अब अकालमा कसैले पनि ज्यान गुमाउने नपर्ने बताएका छन् । देउखुरी निसराउ समूहले गढवा–५ स्थित, श्री मावि चैनपुरमा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरको उद्घाटन गर्दै प्रमुख अतिथि मन्त्री चौधरीले उक्त धारणा राखेका हुन् ।  देउखुरी निसराउ समूहका उपाध्यक्ष शत्रुघन चौधरीका अनुसार निःशुल्क स्वास्थ्य शिविरबाट ६७० जना लाभान्वित भएका छन् । जसमा महिला ३७८ तथा पुरुष २९२ जना रहेका छन् ।  सबैभन्दा बढी जनरल मेडिसिनबाट ३६४ जनाले सेवा लिए । त्यस्तै, आँखा जाँच २०५ जनाले सेवा लिए, जसमा मोतिविन्दुको २४ जना तथा आँखामा मासु पलाएको ३ जनाले सेवा पाएकोमा ८२ जनालाई चश्मा वितरण गरियो । अन्य सेवा लिनेमा दन्तसेवा ३४ जना, गाइनाकोलोजी २३ जना, अर्थोपेडिक स्पाइन सेवा १२३ जना, फिजोयोथोरापी ४६ जनाले सेवा पाए ।    सो अवसरमा मन्त्री मेटमणि चौधरीले स्तरीय जनशक्ति, आवश्यक उपकरण र पूर्वाधार निर्माण तथा व्यवस्थापनसँगै नागरिकको स्वास्थ्य उपचार सेवा फेरिँदै गइरहेको धारणा राखे । उनले नागरिक स्वास्थ्यप्रति सरकारले आफ्नो जिम्मेवारीबोध गर्दै एक वडा, एक सामुदायिक स्वास्थ्य संस्था निर्माण तथा सञ्चालन गरी हरेक सहरदेखि गाउँसम्मको स्वास्थ्यवस्थालाई मजबुत बनाउँदै लग्ने विश्वास दिलाए ।  उनले भने, ‘ नेपाली नागरिकले अब औषधोपचार नपाएर ज्यान फाल्नुपर्ने अवस्थो छैन ।’  अर्को प्रसंगमा मन्त्री चौधरीले आसन्न प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा गठबन्धनका साझा उम्मेदवारलाई जिताउन अपिल गरे । मुलुकको भविष्य निर्माण र जनताको अधिकार जोगाउन गठबन्धन उभिएकाले अब मुलुकको भविष्य निर्माण गर्न पनि सत्ता गठबन्धन आवश्यक देखिएको उनको जिकिर थियो ।  कार्यक्रमका विशिष्ट अतिथि लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री इन्द्रजित चौधरीले स्वास्थ्य सेवा हरेक नागरिकको पहुँचमा हुनुुपर्ने त्यसका लागि सरकारले आवश्यक योजनासहितको संरचना, जनशक्ति र आवश्यक उपकरण व्यवस्थापन सँगै अघि बढेको जनाए । देउखुरी निसराउ समूहका अध्यक्ष शिव चौधरीको अध्यक्षतामा उद्घाटन भएको कार्यक्रममा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल,  गाउँपालिका उपाध्यक्ष शारदा चौधरी, ५ नं का वडाध्यक्ष लेखबहादुर थापा, देउखुरी निसराउ समूहका उपाध्यक्ष शत्रुघन चौधरी लगायतले मन्तव्य राखेका थिए ।  गढवा गाउँपालिका, फ्लोरेन्स हस्पिटल, ट्रमा सेन्टर, लमही आँखा अस्पताल, नोभा केयर फिजियो थेरापीको सहकार्य तथा थारु कल्याणकारिणी सभा, गढवाको सहआयोजनामा कार्यक्रम भएको थियो । शिविरमा  हाड जोर्नी विशेषज्ञ डा राजेश कुमार चौधरी, इन्डोक्राइनोलोजिस्ट डा सुनिल चौधरी, आँखा विशेषज्ञ लगायतको सेवा उपलब्ध थियो । साथै,  मेडिकल अफिसरहरु डा पुष्पा भुसाल, डा कृष्णऔतार चौधरी, डा केदार अधिकारी, डा श्रवण चौधरी, डा सुदीप चौधरी, रेडियोलोजिष्ट डा अमरिश चौधरी लगायतले विरामी जाँच गरेका थिए । सो अवसरमा कार्यक्रममा सेवा उपलब्ध गराएका चिकित्सक, नर्स, स्वयम्सेवक लगायतलाई देउखुरी निसराउ समूहले सम्मानपत्र प्रदान गरेको थियो । यस्तो कार्यक्रम आफूहरुबाट पहिलो पटक गरिएकोमा निरन्तरता दिने जनाउँदै कार्यक्रमबाट आफूहरु सन्तुष्ट रहेको अध्यक्ष शिव चौधरीले बताए । २०७० सालमा स्थापित निसराउ समूहले यसअघि देउखुरीमा हाफ म्याराथुनको आयोजना, थारु साहित्यिक कार्यक्रम, कोभिडको  समयमा राहत वितरण, बाढी पीडितहरुलाई सहयोग, लमहीमा अक्सिजन प्लान्ट स्थापनामा सहयोग लगायत सामाजिक कार्यमा सहभागिता जनाएको छ ।