छोरीको नजरमा पिता

छोरीको नजरमा पिता

९९४ दिन अगाडि

|

२ पुष २०८०

पुस १ मा ‘कु’ गर्दा  के भनेका थिए राजा महेन्द्रले ?

पुस १ मा ‘कु’ गर्दा के भनेका थिए राजा महेन्द्रले ?

९९५ दिन अगाडि

|

१ पुष २०८०

आज पुस १ अर्थात् प्रथम जननिर्वाचित सरकारमाथि ‘कु’ गरेर तत्कालीन राजा महेन्द्रले प्रधानमन्त्री बिपी कोइरालासहित राजनीतिक दलका नेतालाई बन्दी बनाएको दिन । नेपालका राजनीतिक दलहरूले नेपाली कांग्रेस, नेकपा एमाले लगायतले आजको दिनलाई कालो दिनका रूपमा स्मरण गर्दै आएका छन् ।   २०१७ पुस १ गते राजा महेन्द्रले तत्कालीन नेपाली कांग्रेसको बहुमतको पहिलो जननिर्वाचित सरकारमाथि कु गरी नेतालाई सेनाको बलमा बन्दी बनाएर निर्दलीय पञ्चायती शासन सुरुआत गरेका थिए ।  पुस १ गते नेपाल तरुण दलको कार्यक्रममा सहभागी भइरहेका बेला नेता प्रधानमन्त्री बिपी कोइराला लगायतका नेताहरूलाई पक्राउ गरी सिंहदरबारमा तीन महिना र सुन्दरी जलको बन्दी गृहमा लामो समय थुनिएको थियो ।  बिपीसँगै तत्कालीन सभामुख कृष्णप्रसाद भट्टराई, मन्त्री एवं पार्टी नेताहरू गणेशमान सिंह, सूर्यप्रसाद उपाध्याय, दिवानसिंह राई, रामनारायण मिश्र, योगेन्द्रमान शेरचनलगायतलाई सुन्दरीजल बन्दी गृहमा थुनिएको थियो।  प्रजातान्त्रिक सरकारलाई अपदस्थ गरी एकतन्त्रीय पञ्चायती शासन व्यवस्था लागू गर्ने महेन्द्रको उक्त कदमपछि मुलुकमा लामो समयसम्म निर्दलीय व्यवस्था कायम रह्यो। दलहरूमाथि प्रतिबन्ध लाग्यो। वाक स्वतन्त्रता हनन हुन पुग्यो। महेन्द्रको उक्त कदमले प्रजातन्त्रको घाँटी निमोठिएको भन्दै नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टीहरूले विरोध गरेका थिए । अहिलेका राजनीतिक दलहरूले पुस १ को कदमलाई जनअधिकार खोसिएका दिनका रूपमा सम्झिने गरेका छन्।      तत्कालीन राजा महेन्द्रले जारी गरेको शाही सम्बोधनको पूर्ण पाठ यस्तो थियो- आगे प्यारा प्रजा, गैह्र के यथोचित, जनताले छानेका प्रतिनिधिहरूले नै देशप्रति ज्यादा जिम्मेवारी महसुस गरी प्रजातन्त्रको जग मजबुत हुने वातावरण पैदा गर्छन् र देशमा स्थिरता आई विकास द्रुत गतिले हुन्छ भन्ने विश्वास लिई करिब दुई वर्षअघि देशमा आमचुनाव गराएको सबैमा विदितै छ । फलस्वरूप काङ्ग्रेस बहुमतमा आयो र जनताको विश्वास प्राप्त गरेको पार्टीलाई संविधानअनुसार शासन भार सुम्पी देशप्रतिको जिम्मेदारी हिस्सेदार बनाउन पाउँदा अत्यन्तै सन्तोष लाग्नुका साथै केही वर्षदेखि देशमा भएको अस्थिरताले हामीमा पैदा गरेको चिन्ता हराउनु पनि स्वाभाविकै कुरा भएको थियो । त्यसपछि देशमा घटेको परिस्थितिको अध्ययन गरी हामीबाट समय समयमा जनप्रतिनिधिहरू र सरकारमा रहेका व्यक्तिलाई समेत कर्तव्यबाट च्युत नहुने सङ्केत गरेको कुरा पनि सबैले सम्झेकै हुनुपर्छ । प्रजातान्त्रिक पद्धतिअनुसार छानिएका प्रतिनिधिहरूद्वारा जनता र सरकारका बीचमा भएको भ्रमात्मक वातावरण राम्रोसित सुल्झाई राष्ट्रको हित र विकास गर्ने पूरा कोसिस हुनेछ भन्ने सबैले आशा एवं विश्वास राखेका थिए, तर त्यसको ठिक उल्टो प्रजातान्त्रिक पद्धतिको आडमा राष्ट्र र जनतालाई एकातिर पन्छाई व्यक्तिगत र दलगत स्वार्थ पूर्ति गर्न अधिकार प्रयोग गरियो । ऐन र कानुनको मर्यादा नराखी छिटोछरितो र योग्य बनाउने नाममा यो मन्त्रिमण्डलले देशका प्रशासनयन्त्र निष्क्रिय र आधारहीन बनाउने चेष्टामा लाग्यो । अधिकार दुरुपयोग हुँदा भ्रष्टाचार बढ्नुका साथै अनकन भ्रान्ति पैदा गराई प्रशासनयन्त्रमा पनि शिथिलता उत्पन्न भई देशमा शान्ति सुरक्षा कायम राख्न यो मन्त्रिमण्डल विल्कुल असमर्थ भएकाले र अराष्ट्रिय तत्त्वहरूले धरै मात्रामा प्रोत्साहन पाई राष्ट्रिय एकतामा समेत बाधा पुर्‍याउने वातावरण आउन लागेको पनि कसैमा नछिपेको तथा वैज्ञानिक विश्लेषण र वस्तुस्थितिको कार्यान्वयनबिना कोरा सिद्धान्तका आधारमा उठाइएका आर्थिक कदमले समाजमा चाहिने परिवर्तनको सट्टा जनतामा अशान्त र दूषित वातावरण मात्र पैदा गरेकाले राष्ट्रको हित तथा प्रजातन्त्रका निमित्त पनि देशमा यस्तो स्थिति धेरै समयसम्म रहन दिनु उचित नहुने भएकाले देशको एकता, राष्ट्रियता र सार्वभौम बचाउन, देशमा अमन चयन कायम राख्न र देशलाई कुनै कारणबाट पनि बिग्रँदो स्थितिबाट बचाउने अन्तिम जिम्मेवारी पनि हामीमा भएकाले उपर्युक्त वातावरण हटाई शान्ति सुरक्षा कायम राख्न र देशलाई सङ्क्रमण स्थितिबाट बचाउन विशेष अवस्थाको जरुरत पर्न आएकाले तथा देश र जनताको हितलाई मात्र ध्यानमा राखी संविधानको धारा ५५ को अधिकार प्रयोग गरी यो मन्त्रीमण्डल र संसद् दुवै सदनसमेत हामीबाट आज यो घोषणाद्वारा विघटन गरिबक्सेका छौँ । कुनै नयाँ व्यवस्था गर्न केही समय लाग्ने हुँदा अर्को व्यवस्था नभएसम्म मुलुकको शासनभार हामीबाटै स्वयं ग्रहण गरिबक्सेका छौँ । हाललाई यस घोषणाद्वारा संविधानका देहायका धारा निलम्बन गरिबक्सेका छौँ – भाग २ का सबै धारा, भाग ३ का सबै धारा, भाग ४को धारा ११ बाहेक अरू सबै धारा, भाग ५को धारा ५५ बाहेकका सबै धारा, भाग ९को परिच्छेद ३ तथा धारा ७३ बाहेक र भाग १० का सबै धारा । यस व्यवस्थाबाट सरकारी, जंगी तथा निजामती कुनै कर्मचारीले आफ्नो जिम्मेवारी, काम कर्तव्यबाट विचलित हुनु वा अलमलिनुपर्दैन र सबैले आ–आफ्नो स्थानबाट आफ्ना कर्तव्य पालना गर्नेछन् र साथै सबै देशवासीको सदिच्छाले नै देशमा सबै कुराको सुव्यवस्था हुनेछ भन्ने हामीलाई पूर्ण विश्वास लागेको छ । परराष्ट्र विषयमा हामीले दृढतापूर्वक आफ्नो तटस्थता अपनाई सबै मित्र राष्ट्रसँग मित्रताको नीति नै कायम राख्नेछौँ र हामी देशमा र विश्वभर शान्ति र मित्रताको कामना गर्दछौँ । श्री पशुपतिनाथले देश र जनताको कल्याण गरून् जय नेपाल ।

ठुम्रारको ९७औं थारू साहित्यिक श्रृंखला सम्पन्न

ठुम्रारको ९७औं थारू साहित्यिक श्रृंखला सम्पन्न

९९५ दिन अगाडि

|

१ पुष २०८०

ठुम्रार साहित्यिक बखेरीले कीर्तिपुरको बरघर रेस्टुरेन्टमा ९७औं थारू साहित्यिक श्रृंखला सम्पन्न गरेको छ । मंसिर ३० गते शनिवार सम्पन्न भएको कार्यक्रममा गणेश वर्तमान, भूमिका थारु, अरुण चौधरी, कृष्णराज सर्वहारी, हर्षित चौधरी लगायतले रचना वाचन गरेका थिए ।  कार्यक्रममा सिताराम चौधरी, डा रामबहादुर चौधरी लगायतले  हरेक महिनाको अन्तिम शनिवार आयोजना हुने थारू साहित्यिक श्रृंखलाबाट खास गरी थारु युवाहरुले लाभ उठाउनु पर्नेमा जोड दिएका थिए ।  त्यस्तै,  श्रृंखलाका सुत्राधार डा कृष्णराज सर्वहारीले आगामी २०८० माघ २६ देखि २८ सम्म सुनसरीको गढीमा हुन गैरहेको आठौं थारु साहित्य राष्ट्रिय सम्मेलनमा काठमाडौंबाट धेरैभन्दा धेरै सहभागिता जनाउन आग्रह गरे । २०७० मंसिर २९ गते १० वर्ष पहिले बखेरीको कार्यक्रममा प्रमुख अतिथि तात्कालीन सांसद जनकराज चौधरीलगायत सहभागी ।

फुटपाथ व्यापार निषेधको विरोधमा  ई:ले ललितपुरमा उभिएर प्रदर्शन गर्ने

फुटपाथ व्यापार निषेधको विरोधमा ई:ले ललितपुरमा उभिएर प्रदर्शन गर्ने

१००० दिन अगाडि

|

२५ मंसिर २०८०

काठमाडौं । ललितपुर महानगरपालिकाले मंगलबजारदेखि लगनखेलसम्मको फुटपाथमा व्यापार गर्न निषेध गरेपछि अभियन्ता ईःले विरोध गर्ने भएका छन् । काठमाडौं महानगरपालिकाले फुटपाथ व्यवसायीलाई विकल्पसहित व्यवस्थापन गर्नुपर्ने मागसहित १९९ घण्टा उभिएर प्रदर्शन गरेका अभियन्ता ईःले ललितपुरमा पनि १०८ घण्टा उभिएर विरोध प्रदर्शन गर्ने भएका हुन् । सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिंदै ईःले बुधबार दिउँसो ३ बजेबाट पुल्चोकस्थित ललितपुर महानगरपालिकाको कार्यालय अगाडि उभिएर विरोध गर्ने भएका छन् । ललितपुरको सपना नमार्न भन्दै उनले साँझ-बिहान फुटपाथ निषेध गर्ने निर्णयबारे पुनर्विचार गर्नसमेत महानगरलाई आग्रह गरेका छन् । समावेशी विकास र सुशासन कायम गरिरहेको ललितपुरले फुटपाथमा व्यापार गर्नेहरुलाई निषेध गरेर सहरको आत्मा मार्ने काम नगर्न ई:ले आग्रह गरेका छन् । अभियान्ता ईःले काठमाडौं महानगरपालिकासँग सम्झौता गरेर फुटपाथ व्यवसायीहरुलाई उचित स्थानमा व्यवस्थापन गर्न पहल गरिरहेका छन् । आइतबारबाट ललितपुर महानगरले मंगलबजारदेखि  लगनखेलसम्म फुटपाथमा राखेर सामान बिक्री गर्न निषेध गरेको छ । ललितपुरका नगर प्रहरी प्रमुख सीताराम हाछेथुका अनुसार फुटपाथ व्यवसायीहरुको अत्यधिक भीड भएका कारण हिंडडुलमै समस्या हुन थालेपछि सधैंका लागि फुटपाथ निषेध गर्न थालिएको हो ।

सम्झनामा परशुनारायण

सम्झनामा परशुनारायण

१००४ दिन अगाडि

|

२१ मंसिर २०८०

छविलाल गिरी  थारू कल्याणकारिणी सभाको सांगठनिक बिकासलाई उचाईमा पुर्याउन प्रमुख भुमिका खेल्ने, काठमाण्डौंको टुडिखेलमा सर्वप्रथम माघी महोत्सव मनाउन सुरुवात गर्ने तात्कालीन राजपरिषद स्थायी समितिका सभापति,  नेपाली इतिहासका एक अविस्मरणीय व्यक्तित्व स्वर्गिय परशुनारायण चौधरी आज मंसिर २१ गते ११ औं पुण्य तिथी हो । दाङदेउखुरीको गोबरडिहामा एक जमिनदार परिवारमा १९८४ साल मंसिर ११ गते जन्मेका श्री चौधरी पढेर डक्टर हुन चाहन्थे तर श्री भरतमणि शर्माको प्रोत्साहनले २००७ सालको आन्दोलनमा लागेर राजनीतितिर ढल्किए। २५ वर्ष नपुग्दै उनी नेपालको अन्तरिम संसद (सल्लाहकार सभा) को सदस्य भए। ३२ वर्ष नपुग्दै शिक्षामन्त्री भै हाले।  तराईको थारु समुदायमा आफ्नो संगठन निर्माण गर्न उनलाई कांग्रेसले निकै प्रयोग गर्यो। "नेपालको भावी प्रधानमन्त्री !" भनेर वीपी उनलाई फुर्क्याइरहन्थे। तर चौधरीले बिस्तारै बुझ्दै गए-"कांग्रेसभित्र हामी शोपिस मात्रै हौं, कांग्रेसको खाने र देखाउने दाँत अर्कै छ"।  अन्तत: उनले २०३९ सालमा "कांग्रेसले बोकेको समाजवाद नेपालको निम्ति घातक छ" भन्ने तथ्य बुझेर पञ्चायत प्रवेश गरे। २०४० देखि २०४६ को कालखण्डमा उनी विभिन्न मन्त्रालयमा मन्त्री भए। उनी आफ्ना निकटस्थ मित्रहरूलाई भन्ने गर्थे - "डा.तुल्सी गिरि र विश्वबन्धु थापाको सल्लाह मानेर २०१७ सालमैं पञ्चायत प्रवेश गरेको भए यतिञ्जेल म प्रधानमन्त्री भैसक्थें। २२ वर्ष कांग्रेसमा बसेर समय र उर्जा खेर फालिएछ"।  २०४६ सालको परिवर्तनपछि उनी राप्रपामा आबद्ध भए। उमेर बढ्दै गएपछि राजनीतिबाट टाढा हुँदै गए। राजतन्त्र भएको देशमा राजालाई सल्लाह दिने र पारम्परिक मूल्यमान्यता जोगाउने दायित्व भएको एउटा संबैधानिक निकाय हुन्छ royal privy council, नेपालमा त्यसलाई पञ्चायत कालमा राजसभा र २०४६ सालपछि राजपरिषद भनिन्थ्यो। यसको सभापतिको पदमा पाको, अनुभवी, वरिष्ठ र निर्विवाद छवि भएको व्यक्तिलाई नियुक्त गरिन्थ्यो। २०५९ सालमा तात्कालीन  राजा ज्ञानेन्द्रबाट ७५ वर्षीय श्री परशुनारायण चौधरी राजपरिषद स्थायी समितिको सभापति नियुक्त भएका थिए। २०६३ जेठसम्म उनी सो पदमा कार्यरत रहे। नेपालमा राजसंस्थाको नजिक रहेर काम गरेका प्राय: व्यक्तिहरू पद पाउञ्जेल राजाको जयजयकार गर्ने र पद नपाएपछि राजाका खोट कोट्याएर आफूलाई "महान प्रजातान्त्रिक" देखाउने गर्दछन्। तर परशुनारायण चौधरीले त्यसो कहिल्यै गरेनन्। पञ्चायतमा हुँदा होस् या कांग्रेसमा हुँदा होस् उनले नैतिकताको राजनीति गरिरहे। उनी विचार, जात, क्षेत्र र समुहको संकीर्ण घेरोबाट माथि उठेर राष्ट्रको सर्वोपरि हितको निम्ति राजनीति गर्ने राजनेता थिए। २०६९ साल मंसिर २१ गते ८५ वर्षको उमेरमा चौधरीको देहान्त भयो। आज ११ औं पुण्य तिथिको अवसरमा राष्ट्रवादी राजनेता स्व. परशुनारायण चौधरीमा हार्दिक भावपूर्ण श्रद्धाञ्जली ।   

जनयुद्धको निशानः‘बेनीको खम्बा घर फर्कँदै’ 

जनयुद्धको निशानः‘बेनीको खम्बा घर फर्कँदै’ 

१००४ दिन अगाडि

|

२१ मंसिर २०८०

हिमाल मिडियाका सञ्चालक कनकमणि दीक्षितले माओवादी जनयुद्धका क्रममा म्याग्दीको बेनी आक्रमणमा गोली लागेको बिजुलीको पोल फिर्ता गरेका छन् । म्याग्दीको सदरमुकाम बेनीमा तत्कालीन माओवादी र नेपाली सेनाबिच २०६० चैत ७ गते भएको भिडन्तमा दुवै पक्षको गोली लागेर छिया छिया भएको बिजुलीको पोल म्याग्दी फिर्ता पठाएका हुन् । बिहीबार दीक्षितले बेनी नगरपालिकाका प्रतिनिधिलाई सो पोल हस्तान्तरण गरेका हुन् । उनले २०६७ साल असोजमा म्याग्दीबाट गोली लागेको बिजुली ल्याएर पाटनमा राखेका थिए । दीक्षितले सामाजिक सञ्जालमा ‘बेनीको खम्बा घर फर्कँदै’ शीर्षकमा सो पोल बेनी नगरपालिकालाई हस्तान्तरण गरेको विवरण राखेका छन् । पाटनको मदन पुरस्कार पुस्तकालय हाताभित्र राखिएको उक्त बिजुलीको पोल फिर्ता गराउन म्याग्दीको नगरपालिका, राजनीतिक दल, अधिकारकर्मी र नागरिक अधिकारकर्मीले पटक पटक आग्रह गर्दै आएका थिए । फिर्ता लगिएको बिजुलीको पोल बेनी नगरपालिका वडा नम्बर ७ मा बन्न लागेको शान्ति पार्कमा राखिने बेनी नगरप्रमुख सुरत केसीले जानकारी दिएका छन् ।

'मगर संस्कृतिमा मगर भाषाको प्रयोग' विषयक विचार गोष्ठी सम्पन्न 

'मगर संस्कृतिमा मगर भाषाको प्रयोग' विषयक विचार गोष्ठी सम्पन्न 

१००६ दिन अगाडि

|

२० मंसिर २०८०

काठमाडौँ । नेपाल प्रज्ञा-प्रतिष्ठान र नेपाल साहित्य मन्दिरद्वारा संयुक्त रूपमा 'मगर संस्कार र संस्कृतिमा मगर भाषाको प्रयोग' नामक कार्यपत्रसहित विचार गोष्ठीको आयोजना मङ्सिर १९ गते मङ्गलवार प्रतिष्ठानको देवकोटा सभाकक्षमा सम्पन्न भएको छ । । उक्त ग‍ोष्ठीको समुद्घाटन प्रज्ञा-प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीले गर्नुभएको थियोे । कार्यक्रममा कार्यपत्र प्रस्तुत प्रज्ञा-प्रतिष्ठानका प्राज्ञसभा सदस्य डा.विष्णुकुमार सिञ्जालीले गर्नुभएको थियो । यस कार्यपत्रमा नेपाली समाजमा मगर भाषा र यसको महत्त्व ,मगर संस्कार र संस्कृतिमा मगर भाषाको प्रयोगको अवस्था,जन्म संस्कार ,छेवर तथा गुन्यूचोलो संस्कार,विवाह संस्कार ,मृत्यु संस्कार,मगर भाषाका कर्मकाण्डीय पुस्तक,पुजाआजा,मगरका थान ,मन्दिर,चाडवाड ,नातापाता,खानाका परिकार ,नाचगान,मगर संस्था,मगर दर्शन,विस्थापन र संस्कारमा मगर भाषाको प्रयोगका बारेमा चर्चा गरिएको थियोे । यस अवसरमा सदस्य सचिव सुवेदीले 'प्रत्येक जातजातिको मातृभाषा,संस्कृति र संस्कारका विषयमा सम्बन्धित पक्षसँग रहेर अनुसन्धान र बहसलाई प्रतिष्ठानले अघि बढाउँदै जाने कुरामा जोड दिनुभएको थियोे । यसैगरी कार्यक्रमका सभाध्यक्ष ,प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा भाषा (मातृभाषा कोश र व्याकरण) विभाग प्रमुख त्रैलोक्यमान बनेपाली (अगिब)ले स्वागत मनतव्यका क्रममा संस्कार, संस्कृति, शिक्षा, स्वास्थ्य, धर्म, व्यवहारमा मगर भाषाकाे प्रयाेग कसरी भइरहेकाे छ र भाषा बाेल्नमा किन ह्रास आइरहेकाे छ भन्ने कारण खाेज्ने प्रयत्न कार्यपत्रले गरेकाे छ ।साथै उक्त भाषाका उपलब्धि, समस्या र समस्याका समाधानका उपायहरूका बारेमा सम्बन्धित निकायहरूसँग छलफल गर्ने पनि जानकारी गराउनुभएको थियो। यसैगरी कार्यक्रमका विशिष्ट अतिथि तथा संस्कृतिविद् प्रा.डा. प्रेमकुमार खत्रीले प्रत्येक भाषा,संस्कृति र संस्कारको उत्खनन् र संरक्षण आफैँलेे गर्नुपर्छ । त्यसले मात्रै भाषा र संस्कृति बाँच्छ' भन्नुभएको थियोे। यसै क्रममा भाषाविद् पूर्ण रानाले उक्त कार्यपत्रमाथि टिप्पणी गर्नुभएको थियोे ।यस्तै सहभागीका तर्फबाट सुरेन्द्र थापा,डा.लालबहादुर पुन मगर ,नरकुमारी घर्तीमगर ,हेमबहादुर पुलामी मगर ,माया रोका मगर,उत्तमनारायण मल्ल र सञ्जोग लाफा मगर लगायतले आआफ्नो धारणा राख्नुभएको थियोे ।