पहिलो  पटक रानाथारू भाषा-साहित्य सम्मेलन हुँदै

पहिलो  पटक रानाथारू भाषा-साहित्य सम्मेलन हुँदै

१००९ दिन अगाडि

|

१७ मंसिर २०८०

देउखुरी साहित्य तथा सांस्कृतिक मञ्चको  भवनको उदघाटन.  श्रष्टा सम्मानित

देउखुरी साहित्य तथा सांस्कृतिक मञ्चको भवनको उदघाटन.  श्रष्टा सम्मानित

१००९ दिन अगाडि

|

१७ मंसिर २०८०

देउखुरी साहित्य तथा सांस्कृतिक मञ्चको नवनिर्मित भवनको लमही नगरपालिकाका मेयर जोगराज चौधरीले उदघाटन गरेका छन्  । दाङको लमहीमा मंसिर १६ गते शनिबार आयोजित मञ्चको १३ औं वार्षिक उत्सवको समारोहको अवसरमा भवन उदघाटन गरिएको हो । लमही नगर विकास समितिले उपलब्ध गराएको १५ धुर जग्गामा कार्यालय कक्ष, पुस्तकालय कक्ष र सभाहल समेतको भवन तयार गरिएको छ। भवन बनाउनका लागि लमही नगरपालिकाले १७ लाख, राजपुर गाउँपालिकाले २ लाख, राप्ती गाउँपालिकाले १ लाख ५० हजार र गढवा गाउँपालिकाले १ लाख २५ हजार रूपैयाँ अनुदान सहयोग गरेको मञ्चका अध्यक्ष हरि पोख्रेलले बताए । सोही अवसरमा देउखुरी साहित्य तथा सांस्कृतिक मञ्च दाङले पाँच श्रष्टालाई सम्मान गरेको छ । देवराज पाठक संस्थापक रहेको ‘पाठक कला संगीत सम्मान’ बाट संगीतकार सन्तोष श्रेष्ठ, निमबहादुर थापाले स्थापना गरेको ‘होतविष्णु साहित्य पुरस्कार’ बाट गंगानाथ कोइराला, धर्मराज पाण्डेले स्थापना गरेको ‘खिमानन्द केशरा साहित्य पुरस्कार’बाट शेरबहादुर चौधरी र शेरबहादुर चौधरीले स्थापना गरेको ‘ठागुरामपति साहित्य पुरस्कार’बाट गीतकार के. डी. शर्मालाई सम्मान गरिएको मञ्चका सचिव केशव शर्मा घिमिरेले जानकारी दिए । यसैगरी ‘अग्रज स्रष्टा सम्मान’ बाट ७५ वर्षीया दुर्गादेवी अधिकारीलाई पनि सम्मान गरिएको थियो । यसैगरी शेषमणि शर्मा घिमिरे/कृष्णा शर्मा संस्थापक रहेको ‘बाल प्रतिभा पुरस्कार’ बाट शान्ति गुप्ता (आदर्श नमूना मावि लालमटिया), अनिता सुन्दास (शंकर मावि पिपरी) र मनिष के.सी.(मा.वि. फल्कापुर) लाई पुरस्कृत गरिएको थियो । कार्यक्रममा तीन स्रष्टाका तीन कृति पनि लोकार्पण गरिएको थियो । शेषमणि शर्मा घिमिरेको कविता संग्रह ‘देउखुरीको माटो’, जागेश्वर शर्मा घिमिरेको ‘देउखुरीमा बाछिटा’ र दुर्गादेवी अधिकारीको ‘आमाको वेदना’ (गीति काव्यको दोस्रो संस्करण) लोकार्पण गरिएको सचिव केशव शर्मा घिमिरेले जानकारी दिए । मञ्चका अध्यक्ष हरि पोख्रेलको सभापतित्वमा भएको कार्यक्रममा संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. यादव प्रकाश लामिछाने, लमही नगरपालिकाका मेयर जोगराज चौधरी, राप्ती साहित्य परिषदका केन्द्रीय अध्यक्ष डा. टीकाराम उदासी, प्रगतिशील लेखक संघका केन्द्रीय सल्लाहकार पद्म प्रसाद शर्मा राप्ती साहित्य परिषदका वरिष्ठ केन्द्रीय उपाध्यक्ष कमलमणि देवकोटा, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य टीका बस्नेत, कवि तथा गीतकार गणेश विषम, नारायण नेपाल, चारु साहित्य तथा संस्कृति प्रतिष्ठानका लुम्बिनी प्रदेश अध्यक्ष तेजप्रसाद खनाल, दाङ साहित्य तथा सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष डिल्लीराज श्रीधर, शिवगढी साहित्य संगम कपिलवस्तुका अध्यक्ष अर्जुन शर लगायतको उपस्थिति थियो । कार्यक्रममा कवि तथा श्रष्टाहरुले आफ्ना रचना वाचन पनि गरेका थिए । ५ लाख रुपैयाँ बराबरको १५ प्रकारका अक्षयकोष स्थापना भएको यस मञ्चका हालसम्म १७० आजीवन सदस्यहरु छन् । मञ्चले विभिन्न विधागत कार्यक्रमहरू समेटी संस्थाको वार्षिक कार्यतालिका समेत सार्वजनिक गरेको छ जसमा रचना वाचन, कृति समीक्षा, सांगीतिक प्रस्तुति, भाषा, कला, साहित्य तथा संस्कृति विषयक अन्तरसंवाद, स्रष्टाको घर कार्यक्रम, साहित्यिक वनभोज तथा भ्रमण लगायतका कार्यक्रमहरु छन् । देउखुरी साहित्य तथा सांस्कृतिक मञ्च दाङ २०६३ सालमा स्थापना भएको हो ।

आठौं थारू साहित्य राष्ट्रिय सम्मेलन मोरङमा हुने तय

आठौं थारू साहित्य राष्ट्रिय सम्मेलन मोरङमा हुने तय

१००९ दिन अगाडि

|

१६ मंसिर २०८०

                              आठौं थारू साहित्य राष्ट्रिय सम्मेलनका लागि हौली परिवार मोरङको आयोजनामा भएको तयारी बैठक आठौं थारू साहित्य राष्ट्रिय सम्मेलन आगामी माघमा मोरङमा हुने तय भएको छ । थारु लेखक संघ, हौली परिवार तथा जंग्रार साहित्यिक बखेरीले आठौं थारू साहित्य राष्ट्रिय सम्मेलनको आयोजना गर्दैछन् । यसै क्रममा स्थानीय संयोजनकर्ता हौली परिवार मोरङको आयोजनामा मंसिर १५ गते तयारी बैठक बसेको छ, जसले आठौं थारु साहित्य राष्ट्रिय सम्मेलन आगामी माघ २६ देखि २८ गतेसम्म मोरङको विराटनगर, गढी वा दुहबीमा गर्ने निर्णय गरेको छ । हौली परिवारका अध्यक्ष श्रवण सुतिहारले स्थान आजैभोलि तय गरिने बताए । तयारी बैठकमा थाकस, महिला सभा, विद्यार्थी सभा, युवा सभा, पत्रकार, समाजका प्रतिष्ठित ब्यक्ति तथा बुद्धिजीवीहरुको सहभागिता रहेको थियो ।  थारू साहित्य राष्ट्रिय सम्मेलन सहयोगार्थ पुस्तक प्रदर्शनी सुरु उता, जंग्रार साहित्यिक बखेरीले आठौं थारू साहित्य राष्ट्रिय सम्मेलन सहयोगार्थ सप्ताहब्यापी पुस्तक प्रदर्शनी सुरु गरेको छ । बर्दियाको कोठियाघाटमा आयोजना गरिएको पुस्तक प्रदर्शनी मंसिर १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुनेछ ।  पुस्तक प्रदर्शनीमा खास गरी थारु भाषा साहित्यका पुस्तकका साथै स्थानीय लेखकका अन्य भाषाका पुस्तक पनि रहेको लेखक शेखर दहितले बताए । पुस्तक प्रदर्शनीको पहिलो दिन नै करिब १ सय थान पुस्तक बिक्री गरिएको जंग्रार साहित्यिक बखेरीका अध्यक्ष सोम डेमनडौराले बताए ।  यसैगरी, बखेरीले आठौं थारू साहित्य राष्ट्रिय सम्मेलन सहयोगार्थ एक कप चिया अभियान चलाएको छ । यसबाट १ लाख बढी रकम संकलन भैसकेको अभियन्ता शेखर दहितले जनाए ।  स्मरण रहोस् दाङदेउखुरीबाट सुरु भएको थारू साहित्य राष्ट्रिय सम्मेलन कैलाली, बर्दिया, रुपन्देही, सुर्खेत, कञ्चनपुर, बाँकेमा गरी सात श्रृंखला पार गरिसकेको छ । सातौं थारू साहित्य राष्ट्रिय सम्मेलन बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित सिधन्वामा भएको थियो । 

दाङ, कर्जाहीका गुमनाम ‘इन्दिरा गान्धी’ हरू

दाङ, कर्जाहीका गुमनाम ‘इन्दिरा गान्धी’ हरू

१०१० दिन अगाडि

|

१६ मंसिर २०८०

                             दाङको किसान आन्दोलनमा होमिएका कर्जाहीका महिलाहरू। तस्वीर : नेपाल पिक्चर लाइब्रेरी/निशा राई निशा राई  कहिले जमीनदार विरुद्ध धावा बोल्दै त कहिले प्रहरीसँग पौंठेजोरी गर्दै ज्यानको परवाहै नगरी चार दशकअघिको किसान आन्दोलनमा होमिएका दाङ कर्जाहीका कर्मवीर महिला अहिले गुमनाम जीवन बाँचिरहेका छन्। ६ वर्षअघि मोटरसाइकलको पछाडि सीटबाट खेतका फुलेका तोरी नियाल्दै दाङको कर्जाही गाउँ पुगेकी थिएँ। शायद शरद्को एक महीना थियो, कर्जाही सुवर्णमय देखिन्थ्यो। मोटरसाइकलवाला थिए, कर्जाहीकै लौधन चौधरी। नेपाल पिक्चर लाइब्रेरीको ‘फेमिनिस्ट मेमोरी प्रोजेक्ट’ का लागि नेपालमा महिलावादको इतिहास खोतल्ने क्रममा मैले कर्जाही आन्दोलनबारे थाहा पाएकी थिएँ। कर्जाही आन्दोलनमा अधिकांश महिला जुटेका थिए। त्यसैले पनि म कर्जाहीका पात्र भेट्न सम्बन्धित भूगोलमै पुगें। लौधन मलाई लिन घोराही आएका थिए। घोराहीबाट अघि बढेको बाइक कर्जाहीको झुरुप्प परेको थारू बस्तीमा टक्क रोकियो। नजिकै धारामा एउटी १५/१६ वर्षकी किशोरी नुहाइरहेकी थिइन्। बेपरवाह। झन्डै झन्डै निर्वस्त्र। पानीले भिजेको पातलो पेटिकोट कम्मरसम्म दोबारेकी थिइन्। वक्षस्थललाई हातले मिचिमिची मस्त नुहाइरहेकी थिइन् उनी। वरपर तन्नेरी केटाहरू तासमा रल्लिरहेका थिए। तास खेल्नेहरूको नजिकै बसेका एक जनाको आँखा चाहिं किताबका अक्षरमा दौडिरहेका थिए। उनी लौधनका जेठा छोरा रहेछन्, ओभरसीयर बन्ने तयारी गरिरहेका। लौधनले आँगनमा बाइक रोके। रातो माटोमाथि गोबरले लिपेको सानो चिटिक्क परेको घर थियो त्यो। पाहुना अनुहार देख्नासाथ लौधनकी श्रीमती आश्माकुमारी खाना पकाउन जुटिन्। आश्माकुमारी गाउँका महिलामाझ परिचित नाम हो। “झन्डै समानुपातिकमा सांसद चुनिन लागेकी थिइन्,” उनलाई खाना पकाउन सघाउँदै गरेकी महिलाले सुनाइन्। “अनि के भो त?” मैले सोधें। “प्रस्तावमा परेको तर मनोनयनमा छुटिन्,” धार नलागेको चुलेसीमा भिन्डी च्वाट्ट पार्दै ती महिलाले भनिन्। क्षणभरमै एक हुल महिला भेला भए। कर्जाहीको भूमि आन्दोलनमा होमिएका ती महिलाहरू लौधन र आश्माकुमारीले बोलाएकाले आन्दोलनबारे कुरा गर्न आएका थिए। लौधनको भान्छा बाहिरको बैठक कोठामा बसेर उनीहरूले एकपछि अर्को गर्दै आफ्नो कथा सुनाए। पत्थरकली उर्फ इन्दिरा गान्धी २०३६ सालतिरको कुरा हो। दाङमा किसान आन्दोलन चर्किरहेको थियो। दंगाली किसान जमीनदार विरुद्ध आन्दोलनमा थिए। तिनै आन्दोलनरत किसानको भीडमा पृथक् पहिचान बनाएर अघि बढ्दै थिइन्, पत्थरकली। मक्किन लागेको नीलो फरिया लगाएर टूलमा बसिरहेकी थिइन् उनी। उज्यालिएकी थिइन्। “म खतियामा बसेकोथें, हान्न मार्न आए भित्रै,” बसिरहेको टूलबाट झट्टै उठेर भनिन्। आन्दोलनका वेला एक पटक १५/१६ जनाको प्रहरी टोली उनलाई पक्रन आएको रहेछ, उनले त्यही सन्दर्भबाट कुरा शुरू गरिन्। प्रहरी आएपछि “छत्! तिमीहरू के देखुन्, मर्दाना मान्छेहरू छत्” भन्दै पूरै दादागिरी शैलीमा पत्थरकली आफ्नी भतिजी आश्माको कोठाभित्र पसिछन्। प्रहरी आँगनमा ढुकेर बसेछन्। केही बेरपछि ढोकामा निशाना ताकेर प्रहरीले भनेछन्, “अब बन्दूक छोड्छु।” कोठाभित्र पत्थरकली र भतिजी आश्मा सँगै थिए। यी दुई काकीभतिजी हुन्, मिल्ने साथी पनि हुन्। घरभित्र दुई केटी, बाहिर बन्दूक भिरेका प्रहरी। तर पनि पत्थरकली डगमगाइनन्। बरु सिंह जस्तै गर्जिइन्, “हे सरकारका कुकुर! छोड् बन्दूक अहिले। गरीबको छातीमा ल छोड् बन्दूक, तैंले कति छोड्छस्,” पत्थरकलीले भित्रैबाटै हुङ्कार गरिन्। अब प्रहरीसँग भिड्नुको विकल्प थिएन। पत्थरकलीले पनि एउटा लट्ठी उठाइन्। “आश्मा, नङगी र उदुवालाई छोड्दे, यो दुई वटा सिपाहीसँग म आफैं लडछु।” नङगी र उदुवा भोटे कुकुर हुन्। कर्जाहीमा अर्को भोटे कुकुर पनि थियो- घोडवली। आश्माले कुकुर खोलिदिइन्। पत्थरकलीले प्रहरीमाथि अन्धाधुन्ध लट्ठी बजार्न थालिन्। अरू प्रहरी र जमीनदारहरू भोटे कुकुरको भुकाइ र टोकाइको डरले भागे। “त्यही वेला हो लट्ठी भेटाउने पुलिसले मेरो नाउँ इन्दिरा गान्धी राखेका। म इन्दिरा गान्धी जस्ती छु रे! मेरो हलो काटिदिनेको हात नै भाँचिदिएँ। अझ लिखपढ भइदिएको भए म कस्तो हुन्थें होला। डाँकाहरू सब तह लाउँथे होला हगी!” भिडन्तको विजय सम्झँदै सगर्व मुस्कुराइन् पत्थरकली। त्यसपछि सात-आठ दिनजसो करीब एक दर्जन जति प्रहरीको टोली कर्जाही चहार्थे। त्यस वेला पत्थरकलीले भोको पेटमै पौंठेजोरी गर्दै प्रहरी खेदेकी थिइन्। पत्थरकलीका दाजु ठग्गु चौधरी भूमिकै लागि आन्दोलनरत हुँदा पक्राउ परेका थिए। पत्थरकली हप्तैपिच्छे थुनामा रहेका दाइ भेट्न फचकपुरमा रहेको प्रहरी चौकी पुग्थिन्। पत्थरकलीबाट कुटाइ खाएका प्रहरी उनलाई हेर्दै भन्थे, “यो इन्दिरा गान्धी हो। यसलाई सक्दैनौं।” चौकीका एक-एक प्रहरी पत्थरकलीलाई नेपालकी इन्दिरा गान्धी भन्थे। तर पत्थरकलीलाई नै चाहिं इन्दिरा गान्धी को हुन् भन्ने थाहापत्तो थिएन। अहिले पनि उनलाई ‘इन्दिरा गान्धी भारतको ठूलो महिला नेता हुन्’ भन्ने मात्रै थाहा छ। “पुलिसले राखेको नाउँ हो यो मेरो। म पुलिसलाई काटेर फाल्छु भन्थें। सम्झिंदा नि आनन्द लाग्छ त्यो आन्दोलन। तिनीहरूले हाम्रो हलो काटिदिए। चित्त दुख्यो नि म किसानकी छोरीलाई,” उनले आन्दोलनको उद्देश्य सुनाइन्, “हुम आफ्नो हकहितका लागि लडेका थियौं। आफ्नो जग्गाको मोहियानीका लागि लडेका हौं के!” दाङको किसान आन्दोलनमा होमिएका महिलाहरू (नाम अज्ञात)। तस्वीर : नेपाल पिक्चर लाइब्रेरी/निशा राई आन्दोलन गरेकाले अहिले आफ्नै जमीनमा हलो जोत्न पाइएको उनी सुनाउँछिन्। यो अनुभव साटिरहँदा उनको छाती ढक्क फुलेको थियो। पत्थरकलीजस्तै आश्मा चौधरी पत्थरकलीपछि उनकी भतिजी आश्माले पनि आफ्नो कथा सुनाइन्।  “पहिला त पहाडीहरूको बहुतै डर। पानी चहार्न जाँदा डर। त्यस वेला त कस्तो भने पहाडीले हान्छ, मार्छ भन्ने मात्रै डर,” आश्माले भनिन्। २०३६ सालतिर आश्माहरूले जोत्ने भूमिको स्वामित्व पहाडी जमीनदारहरूसँग हुन्थ्यो। थारूले वर्षभरि जोत्थे, फसल पाक्थ्यो तर उनीहरूको पेट आधा मात्र भरिन्थ्यो। जमीनमा हक लाग्दैनथ्यो। पछि त जमीनदारहरूले हलो जोत्नै नदिएपछि उनीहरूले माटाको महत्त्व थाहा पाएका थिए। त्यसैले आश्माले पहाडी भनेर कुनै समुदायविशेषलाई जनाएकी होइनन्, माटो कैद गर्न खोज्ने जमीनदारलाई इंगित गरेकी हुन्। पत्थरकली, आश्मा र कर्जाहीका अरू थारू महिलाहरू आन्दोलनका दिनमा पैदलै २९ किलोमिटर टाढाको बिजौरीसम्म पुग्थे। बिजौरीमा जमीनदारहरूको घर थियो। “अहिलेका केटकेटी त क्यै गर्दैनन्, हामी त खानका लागि आन्दोलन गर्या हम हगी केवला!” भुइँमा थचक्क बसिरहेकी केवलातिर इशारा गर्दै आश्माले भनिन्। आन्दोलनका वेला कर्जाहीमा हप्ता दिनसम्म प्रहरी र थारू किसानहरूको भिडन्त चलिरहन्थ्यो। प्रहरीहरू राति राति आएर घरका सरसामान तोडफोड गर्थे। पाकेको खाना रछ्यानमा हुर्‍याइदिन्थे। राम्रा भाँडाकुँडा छानी छानी लग्थे।  एक पटक त प्रहरीले आश्माका मामा प्रेमलाल चौधरी र भाइ रामप्रसाद चौधरीलाई पनि पक्रेर लगेको थियो। घटनाको भोलि पल्टै सुकुवारी गाउँको प्रहरी कार्यालय पुगेर आश्माले अपशब्द सहित ‘कपाल पाकिसकेको मेरो बूढा मामालाई किन ल्याइस्?’ भन्दै थर्काएकी थिइन्। पहाडी जमीनदार प्रहरीलाई ‘हजुर’ भन्थे। आश्माले मुखै छाडिदिइन्। यो घटना सम्झँदा बहुतै आनन्द मान्छिन् उनी। “प्रेमलाल मामा र रामप्रसाद भाइलाई हतकडी लाएर थानामा राखेका थिए। काका ठाकुरामलाई पनि हतकडी लगाएर थानामा राखेको देखें। पत्थरकली, केवला, शान्ति, श्यामकला, सुसकला र लक्ष्मी सबैले हाम्रो मान्छेलाई छोडछौ कि के गर्छौ? भने,” आश्माले घटनाको बेलिबिस्तार लगाइन्, “म पनि मामालाई नछाडे काटेर फाल्दिन्छु भन्दै प्रहरीसामु जंगिएँ।” भोलि पल्ट प्रमुख जिल्ला अधिकारी सहित प्रशासन र कर्जाहीका महिलाबीच वार्ता भयो। चोरले झैं प्रहरीले घरका सरसामान र खाना चोरेर लगेको पुष्टि भयो। कुटपिट गरेको र पक्राउ पुर्जी विना मान्छे समातेको भनेर आश्मा बाझिन्। दुई पक्षकै छलफलमा प्रहरीको गल्ती ठहरियो। प्रहरीले माफी मागेर उनीहरूका आफन्त छोड्ने सहमति भयो। “म २५ वर्षे आइमाइको धम्क्याइँकै डरमा मामाहरूलाई छोडिदियो पुलिसले,” अट्टहास सहित उनले सुनाइन्, “हाम्रो अद्‌भुत शक्ति थियो भन्थे पछि पुलिसहरू।” आफूहरूले २०३६ सालमा गरेको आन्दोलनकै कारण जमीन जोत्न पाएको आश्माको बुझाइ छ। यस्ता आन्दोलन फेरि गर्नुपरे पनि आफू तयार रहेको बताउँछिन् उनी। “अझै पनि तागत छ। फेरि लड्न परे लडुँला लाग्छ,” उनले भनिन्। पहाडीको गन्ध थाहा पाउने नानची चौधरी कर्जाहीमा पहाडीको चालको गन्ध पनि थाहा पाउँथिन् रे नानची।  “पहाडीको गन्ध कस्तो हुन्थ्यो?” मैले सोधें।  दाङको किसान आन्दोलनमा होमिएका महिलाहरू (नाम अज्ञात)। तस्वीर : नेपाल पिक्चर लाइब्रेरी/निशा राई “जसको शरीरबाट पसिनाको गन्ध आउँदैन,” उनले जवाफ दिइन्, “गन्ध आउने त हामीहरूको पो! जो माटोमै जोत्छ, माटोमै पसिना बगाउँछ र माटोकै लागि खून पनि बगाउन सक्छ।” आन्दोलनका वेला दाङका एक कम्युनिस्ट पृष्ठभूमिका नेता नेत्रलाल पौड्याल गाउँका किसानलाई सामन्तवाद विरुद्ध जाग्नुपर्छ भन्थे। महिलाहरू जागेका पनि थिए। तर जमीनको आन्दोलनले जहान तितरबितर भइरहेको थियो। कतिपय आन्दोलनकारी हतोत्साही पनि भएका थिए। नानची भने त्यस्ता महिलामा उत्साह जगाइराख्न गीत गाउन थालिन्। केवला चौधरी मादल ठोक्थिन्, इन्दिरा चौधरी नाच्थिन्। उनीहरूले महीनौंसम्म गाउँदै गाउँलाई पहरा दिए। उनीहरूले गाएको गीत यस्तो थियो : कहा रे उठी जागी किसान दाजु भाइ जबसम्म रहल दि सामन्तीले दुख दिइ उठ जनता उठ जिमिन्दार के विरोध गर्न उठ आन्दोलनको तेस्रो दिन आन्दोलनबारे निर्मला चौधरी, सीताकुमारी चौधरी र केवला चौधरीको पनि आआफ्नै अनुभव छ। निर्मलालाई आन्दोलनको तेस्रो दिन अझै सम्झना छ। त्यस दिन जमीनदारहरूले निर्मला लगायतलाई रक्ताम्य पारेका थिए। निर्मला र केही साथी वरपरका गाउँ क्वाडी, पचुखा, पक्वैचौमा गुहार माग्न समेत धाएका थिए। त्यस वेला निर्मला आफ्नो बच्चालाई पिठ्युँमा बोकेरै गाउँ गाउँ पुगेकी थिइन्। सखी बेलकेशरी र उनले अरू महिलालाई आन्दोलनमा साथ दिन आह्वान गरेका थिए। कर्जाहीमा जमीनदारहरूको तीन-चार घरधुरी थियो। उनीहरू जमीनदारको घरमै पुगे। खोसिएका हलो, कोदालो सब फिर्ता लिए। घर फर्किए।  खिरिते गाउँमा जमीनदार रणबहादुर पछाईको घर थियो। निर्मला रणबहादुरको घरको बुइगलमा गइन्, बारूद भरिन् अनि बन्दूक पड्काइन्। यसपछि जमीनदारहरूको भागाभाग भयो। “मारकाट हुनलाग्या थियो। सबै मान्छेहरू लडाइँ गर्दै थिए। गाउँका सबै महिला थिए। जिमदारहरूले अचम्म माने। भागाभागको माहोल भयो,” अर्की आन्दोलनकारी सीताकुमारीले थपिन्, “केको डर। फेरि पनि आफ्नो अधिकारका लागि जान्छु म।” केवलाको अनुभव पनि कम छैन। उनले त्यस दिन आफूमाथि हातपात गरिरहेका प्रहरीको राइफल नै खोसेर हिर्काएकी थिइन्। विवाहको कथा कर्जाहीका कर्मवीरहरूले स्मरण भएसम्म आन्दोलनका स्मृति सुनाए। भित्र भान्छाबाट लौधनकी श्रीमती आश्मा आइन्। उनले स्टीलको ग्लासमा रक्सी ल्याएकी रहिछन्। आश्माले बैठक कोठामा भएका सबै महिलालाई रक्सी दिइन्। उनीहरूले स्वाट्टै पारे। अब सुन्न बाँकी कथा र जान्न बाँकी अध्याय आश्माकै थियो। आश्माले ३३ वर्षको उमेरमा विवाह गरेकी रहिछन्। उनलाई विवाहमा रुचि थिएन। घरगाउँमा जोकोहीले पनि ‘किन बिहे नगरेको?’ भनेर सोध्ने गर्थे। खासमा आश्माका मामाका छोरा हुन् लौधन। तर बिहेको प्रश्न अति नै भएपछि एक दिन लौधनले भन्दिए, “मेरो दिदीलाई मै विवाह गर्छु।” यसरी मामाका छोरा र फुपूकी छोरी श्रीमान्‌-श्रीमती भए। दम्पती हुन्, वेलावेला खटपट त हुन्छ नै। त्यति वेला आश्मा लौधनलाई ‘भाइ त होस्’ भन्दै हातले इशारा गर्दै कुरा मिलाउँछिन्। “मैले भनेको मान् भनेर हकार्छु। कुरा मिलिहाल्छ,” खितखिताउँदै उनले भनिन्। लौधनलाई श्रीमान्‌का रूपमा छुट्टै ओहोदाको सम्मान दिनुपर्ने झन्झट पनि आश्मालाई कहिल्यै आइलागेन। “अधिकांश विवाहमा महिला कान्छो उमेरको र पुरुष जेठो उमेरको हुने रहस्य पनि यही हो,” उनले ठोकुवा गरिन्। पत्थरकली उर्फ इन्दिरा गान्धीको विवाह पनि करकापमै भयो, बिरामी आमाले ढिपी कसेपछि। तर विवाहपछिको सम्बन्ध टिक्न सकेन। पत्थरकली पहिलो वर्षमै माइती फर्किइन्।  “विवाह किन टिकेन?” मैले सोधें। “म कस्तो ज्याद्री छु। पुलिसको हाँत भाँच्देको। लोग्नेको कुटाइ खाएर बसें होला त? म जस्तो आइमाईको बिहे उवेला नि टिकेन। अहिले नि टिक्दैन,” उनले सुनाइन्। वैवाहिक जीवनमा आफूलाई दासी जस्तो महसूस गरिन्। श्रीमान्‌लाई छोडेर माइतीमा स्वतन्त्र गुज्रिरहेको छ अहिले उनको बुढ्यौली जीवन। गूगलमा नभेटिने महिलावादी नेपालको अनेक आन्दोलनमा महिला सहभागिता भए पनि उनीहरूको योगदान लेखिन छुट्दै आएको छ। अहिले भने कर्जाहीका बागी महिलाहरूको कथा र भोगाइ सार्वजनिक जीवनमा महिला पुस्तकमा तस्वीर सहित छापिएको छ। कर्जाहीका महिलाको कथालाई मैले बारम्बार नेपालको महिलावादी आन्दोलनसँग पनि जोड्न खोजें। “तपाईंहरू महिलावादी हो?” मैले सोध्दा उनीहरू एकस्वरमा भन्थे, “होइन, हामी त अस्तित्ववादी हौं। माटोको अस्तित्व र आफ्नै अस्तित्वका लागि लडेको।” उनीहरूले यसो भनिरहँदा मैले काठमाडौंका थुप्रै महिलावादीलाई सम्झिरहेकी थिएँ। एक जना त अन्तर्राष्ट्रिय स्तरकै ‘फेमिनिस्ट’ छिन्। उनलाई तपाईंले गरेका कामहरू भन्दिनुस् न भन्दा “डिड यू गूगल मी?” भनेकी थिइन्। तर गूगलमा नभेटिने खाँटी फेमिनिस्टहरू चाहिं देशका कुनाकाप्चामा गुमनाम छन्। जसरी कर्जाहीमा गुमनाम बाँचिरहेका छन् थारू महिलावादीहरू। हिमालखबरबाट  

के नशा मदिराबाट मात्रै प्राप्त हुन्छ ?

के नशा मदिराबाट मात्रै प्राप्त हुन्छ ?

१०११ दिन अगाडि

|

१४ मंसिर २०८०

गणेशप्रसाद गुरागाईं संसारका धेरैजसो मानिस मदिरापान गर्छन् । कसैले पीडा भुल्ने बहानामा, कसैले प्रेम वियोगको बहानामा, कसैले ठण्डी भगाउने बहानामा, कसैले खुसी साटासाटको बहानामा, कसैले पुरानो मित्र भेटको बहानामा, कसैले मौसम परिवर्तनको बहानामा, कसैले चाडपर्वको बहानामा, कसैले आफ्नो कुनै पनि सफलता र असफलताको बहानामा मदिरा सेवन गर्छन् । यी बहाना प्रतिनिधिमूलक मात्र हुन् । खोज्दै बुझ्दै जाने हो भने विश्वमा रहेका लगभग आठ अर्ब मानवमध्ये चार अर्ब जतिले त यस्ता बहानाको फेहरिस्त नै पेस गर्छन् । तसर्थ सबै बहाना यहाँ उल्लेख गर्न सम्भव छैन । बहाना जेसुकै भए पनि मानिसले नशाका लागि वा लागेको बानीलाई त्याग्न नसकेर नै मदिरापान गर्छन् । तामसी गुण अन्तर्गतको पेय पदार्थ हो मदिरा, यो साकाहारी समूहमा पर्छ । श्रीमद्भगवद्गीता अध्याय १७ श्लोक १० मा मानिसले आफ्नो खानपानमा प्रयोग गर्ने मदिरा लगायत तामसी खानाका विषयमा उल्लेख छ ।  ‘यातयामं गतरसं पूति पर्युषितं च यत् ।  उच्छिष्टमपि चामेध्यं भोजनं तामसप्रियम् ।।’ अर्थात् ग्रहण गर्नुभन्दा तीन घण्टा पहिले पकाइएको, आधा पाकेको, रसहीन, दुर्गन्धित, बिग्रिएको, सडेको, बासी, जुठो र एकदमै अपवित्र खानेकुरा तमोगुणी मानिसलाई मनपर्छ वा प्रिय लाग्छ ।  उपरोक्त अर्थबाट के बुझिन्छ भने मदिरा, मदिराजन्य पदार्थ र मदिरा समान गुण भएका जति पनि दुर्गन्धित, सडेगलेका, बासी, जुठो र एकदमै अपवित्र पेय पदार्थ र खानेकुरा छन्, ती सबै तामसी समूहमा पर्छन् । यस्ता पेयपदार्थ र खानेकुराले संक्रामक रोग बढाउँछन् । यी पदार्थ सत्त्वगुणी मानिसहरू खाँदैनन् र खान पनि मन पराउँदैनन् । त्यसैगरी मदिरापानको लत बसेको मानिस (जसलाई तमोगुणी स्वभावमा स्थित मानिस भनिन्छ)को आनीबानी, चालचलन, स्वभाव, कार्य सम्पादनको तौर–तरिका र कार्य परिणामका विषयलाई प्रस्ट्याउनका लागि श्रीमद्भगवद्गीता अध्याय २ श्लोक ६२ र ६३ को अर्थ र भावलाई उल्लेख गर्नु उपयुक्त हुन्छ ।  ‘ध्यायतो विषयान्पुंसः, संगस्तेषुपजायते ।  सङ्गात्सञ्जायते कामः, कामात्क्रोधोक्भिजायते ।।  क्रोधाद्भवति सम्मोहः सम्मोहात्स्मृतिविभ्रमः ।  स्मृतिभ्रंसाद् बुद्धिनाशो बुद्धिनाशात्प्रणश्यति ।।’ अर्थात् विषयहरूको चिन्तन गर्ने पुरुषको तिनै विषयमा आशक्ति पैदा हुन्छ, आशक्तिबाट ती विषयप्रति कामना पैदा हुन्छ र कामनामा विघ्न हुँदा क्रोध उत्पन्न हुन्छ । क्रोधका कारण अत्यन्त मूर्खताभाव उत्पन्न हुन्छ, मूर्खताभावका कारण स्मृतिमा भ्रम हुन जान्छ, स्मृतिमा भ्रम उत्पन्न हुँदा बुद्धि अर्थात् ज्ञानशक्तिको नाश हुन्छ र बुद्धिको नाश भएपछि त्यो पुरुष आफ्नो स्थितिबाट गिर्दछ । यस्तै, मदिराको स्वाद, गन्ध, बनाउने प्रक्रिया, यसको सेवनबाट प्राप्त उपलब्धि, उपभोग गर्न मिल्ने समय आदि विचार गर्दा यो पेय पदार्थ तामसी स्वभाव र गुण भएको पेय पदार्थ हो र यसको प्रयोगले मानिसलाई तमोगुणी स्वभावमा पुर्‍याउँछ । यस स्वभावमा पुग्नुलाई आध्यात्मिक नजरले विश्लेषण गर्ने हो भने मानिस कहिल्यै पनि मोक्ष हुन वा मुक्तावस्थामा पुग्न सक्दैन । मानिसले सेवन गर्ने जुनसुकै खाना समूह र प्रकारमा मदिरा परे पनि अन्ततोगत्वा यसबाट प्राप्त हुने मूलभूत तत्त्व भनेको नशा हो ।  तसर्थ मदिराबाट प्राप्त हुने अल्पकालीन नशालाई त्याग गरेर जुन नशा एक पटक मात्र लागेपछि जीवनपर्यन्त लागिरहन्छ त्यो नशाको विषयमा चिन्तनमनन गरौँ । योग, ध्यान र अध्यात्मको विषयमा चिन्तन गरौँ । मदिराले कति समयसम्म नशा दिन्छ भन्ने त्यसको मात्रामा निर्भर गर्छ भनेको पनि सुनिन्छ । मदिरा भनेर मात्रै हुँदैन, यसका पनि विभिन्न प्रकार छन् । गुणस्तर अनुसार मूल्य तोकिएको पाइन्छ । मदिराको मूल्य जति परे पनि यसको मूलभूत गुण नशा दिने नै हो । कतिपयले मात्रा मिलाएर गुणस्तरीय मदिरा पिउँदा स्वास्थ्यलाई हानि नगर्ने तर्क पनि गर्छन् । उनीहरूको तर्कको आफ्नै विज्ञान होला । तर मदिराले राम्रो गरेको भन्दा नराम्रै गरेको समाजमा देखिँदै र सुनिँदै आइएको छ । मदिराकै कारण झै–झगडा भएको, मानिसले होस गुमाएर गल्ती गरेको, लामो समय मदिरा सेवन गरेका कारण रोगको सिकार भएको हाम्रा लागि नौला होइनन् । मदिरापानको बानी लागेकाहरूको तर्क हुन्छ, मदिराको नशा भनेकै आनन्द महसुस गर्नु हो । मदिराको नशाबाट प्राप्त हुने आनन्द अन्य पेय पदार्थबाट प्राप्त हुने आनन्दभन्दा सर्वोच्च छ र यो सर्वसुलभ रूपमा उपलब्ध छ ।  के नशा मदिराबाट मात्रै प्राप्त हुन्छ ? होइन । मानव जीवनका लागि आवश्यक र सबैभन्दा महत्त्वपूर्ण नशा हो– आध्यात्मिक चिन्तन र ध्यान । यसको नशा एक पटक मात्र लाग्यो भने जीवनपर्यन्त छुट्दैन । मानिसले मदिराको नशाभन्दा अभूतपूर्व गहिरो र दीर्घकालीन नशाको विषयमा थाहा पायो भने उसले यो नशालाई चटक्कै छाड्न सक्छ । यस्तो अभूतपूर्व नशाको लतलाई छाडेर मानिस जब मदिरापानको नशामा भुल्न थाल्छ, ऊ मानव भएर जन्मनुको उद्देश्य, कर्तव्य र लक्ष्यबाट च्युत हुन थाल्छ । मदिरापान गर्ने बानी भएको मानिसले एकातिर मानिस भएर जन्मनुको महत्त्वपूर्ण उपलब्धिबाट चुक्नुपर्छ भने अर्कोतर्फ पुनः चौरासी लाखको चक्करमा पनि पर्नुपर्छ । मदिरापान गर्ने मानिसबाट प्राप्त हुन सक्ने जवाफको अनुमान गर्दा पाण्डव गीताको श्लोक ५८ र ५९ लाई यहाँ दृष्टान्तको रूपमा प्रस्तुत गर्न सकिन्छ । जस अनुसार – ‘जानामि धर्मं न च मे प्रवृत्ति– र्जानामि पापं न च मे निवृत्तिः । केनापि देवेन हृदिस्थितेन यथा नियुक्तोक्स्मि तथा करोमि ।। यन्त्रस्य मम दोषेण शम्यतां मधुसूदन ।  अहं यन्त्रं भवान् यन्त्री मम दोषो न दीयताम ।।’ अर्थात् ‘म धर्मलाई जान्दछु तर यसमा मेरो प्रवृत्ति हँदैन, यसतर्फ मेरो मनै जाँदैन । यसरी नै म पापलाई पनि जान्दछु तर उसबाट मेरो निवृत्ति हँदैन, मनले त्यो बाटो छोड्नै मान्दैन । हृदयमा बसेको कुनै देव जस्ताले जे प्रेरणा दिन्छ, म त्यही गर्दछु । हे मधुसुदन ! म यन्त्र हुँ र तपाईं यन्त्री (यन्त्रको प्रेरक) हो । यसकारण यन्त्ररूप मेरो दोषबाट तपाईं शान्त हुनुहोस् । मलाई दोष नदिनु, किनकि यन्त्रका सबै क्रियाहरू त्यसको प्रेरकको अधिनमा हुन्छन् ।’ यो श्लोकको अर्थको विश्लेषण गर्दा यस्तो अर्थ लाचार र व्यभिचारी मानिसबाट मात्र अपेक्षा गर्न सकिन्छ । साथै उनीहरूले आफ्नो कार्यदोषको परिणामको जिम्मा ईश्वरलाई लगाउने प्रयास गरेको देखिन्छ । ईश्वर भनेको यस्तो तत्त्व हो, जो सारा जीवको भावमा मात्र उपलब्ध हुन्छ । चाहे सात्त्विकी, राजसी र तामसी गुण र स्वभाव भएको जीव किन नहोस् । उसले कहिल्यै पक्षपात गर्दैन र सबैमा समभावमा रहन्छ, साक्षीको रूपमा मात्र रहन्छ । जो व्यक्तिकृत संकल्पित छ, ऊ आफ्नो कर्तव्य पथबाट डगमगाउँदैन, यस्तो अर्थको पछाडि दौडिँदैन, कसले यो अर्थ लगायो त्यसको खोजी गर्दैन, आफू पनि त्यस्तो अर्थ लगाउँदैन र अरुलाई पनि यस्तो अर्थ लगाउन प्रोत्साहन गर्दैन । तसर्थ मदिराबाट प्राप्त हुने अल्पकालीन नशालाई त्याग गरेर जुन नशा एक पटक मात्र लागेपछि जीवनपर्यन्त लागिरहन्छ त्यो नशाको विषयमा चिन्तनमनन गरौँ । योग, ध्यान र अध्यात्मको विषयमा चिन्तन गरौँ । त्यही नशालाई आफ्नो जीवनको मूलप्रवाहको रूपमा अँगाल्दै जीवन सफल बनाऊँ । आनन्दका नाममा अल्पकालीन आनन्दको कुलतमा नफसौँ र यसका पछि नलागौँ । दीर्घकालीन आनन्दका बारेमा चिन्तन गरौँ । रातोपाटीबाट

कैलालीमा बरघर प्रणाली जोगाउन पारिश्रमिकको व्यवस्था

कैलालीमा बरघर प्रणाली जोगाउन पारिश्रमिकको व्यवस्था

१०२० दिन अगाडि

|

६ मंसिर २०८०

कैलालीको कैलारी गाउँपालिका–६, बेनौलीका भलमन्सा काजीराम महतो र चिराकी सन्तराम चौधरीले एक वर्ष सेवा गरेबाफत गाउँलेबाट ४६ हजार ९ सय रुपैयाँको दरले बाली (पारिश्रमिक) पाए । २६८ घरधुरी रहेको बेनौलीमा प्रति घरधुरी ३५० रुपैयाँका दरले बाली सङ्कलन गरियो । उठेको आधा रकम भलमन्सा र आधा रकम चिराकीलाई दिइयो । गाउँ प्रमुख भलमन्सा र खबर वाहकको जिम्मेवारी निर्वाह गर्ने चिराकी तथा चौकीदारले मात्रै होइन सो गाउँमा पूजापाठ गर्ने गुरुवा र सहायक गुरुवा केसौकाले पनि बाली पाए । गाउँलेहरूले प्रति घरधुरी साढे १७ किलोका दरले धान र साढे दुई किलोको दरले चामल एकमुष्ठ दुवै जनालाई बाली बुझाए अर्थात् एक जनाले सालाखाला ८० हजार रुपैयाँ वार्षिक पारिश्रमिक बुझे । बेनौलीका भलमन्सा महतोले भने– ‘थारू समुदायको भलमन्सा प्रणाली सदियौँदेखि प्रचलित प्रथा हो । यो प्रथाभित्र आफ्नै नियम हुन्छन् । प्रथालाई अस्तित्वमा राख्न गाउँको सेवामा खट्ने व्यक्तिहरूलाई पारिश्रमिक स्वरूप बाली दिने चलन चल्दै आएको छ ।’ धनगढी उपमहानगरपालिका–११, बाँसखेडाका पूर्वभलमन्सासमेत रहेका धनगढी नगर भलमन्सा समिति अध्यक्ष रोहित चौधरीले आफ्नो बस्तीमा चौकीदारलाई २० किलो र भर्रा (पुरोहित) लाई ३० किलो धान बाली स्वरूप दिइएको बताए । बाली सङ्कलन कार्य सो बस्तीमा मात्रै होइन आजभोलि पश्चिम नेपालका प्रायः सबै थारू बस्तीमा धमाधम भइरहेको छ । धान बाली भित्र्याइसकेयता सो कार्य भइरहेको हो । बरघर सशक्तीकरण अभियानकर्ता एकराज चौधरीले पश्चिम नेपालको दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर जिल्लामा बरघर तथा भलमन्सा प्रथा कायमै रहेको बताउँछन् । भलमन्सा, बरघर, गुरुवा, केसौकालाई बाली दिने प्रचलन पनि कायमै रहेको जानकारी दिए । कतिपय बस्तीमा भने भलमन्सा तथा बरघरबाहेक गुरुवा र चौकीदारलाई मात्रै पारिश्रमिक दिँदै आइएको छ । समाज सेवामा तलब लिनु उचित नरहेकाले आफूहरूको बस्तीमा भलमन्सालाई नदिने प्रचलन रहेको धनगढी नगर भलमन्सा समिति अध्यक्ष रोहित चौधरी बताउँछन् । समाजमा सेवा गर्नेलाई समाजले नै सेवाको मूल्याङ्कन स्वरूपको पारिश्रमिक दिनु वैज्ञानिक र सामाजिक रहेको एकराज बताउँछन् । जसबाट समाजमा सुशासन कायम रहनुको साथै समाज सेवाप्रति अभिप्रेरित गर्ने र यो प्रथालाई अस्तित्वमा राखि राख्ने उनको धारणा छ । उनले भने, ‘समाज सेवा गर्ने व्यक्तिको पनि घरपरिवार हुन्छन् । उसको सेवाको मूल्याङ्कन गरेर पारिश्रमिक दिन कार्यले समाजमा सुशासन ल्याउँछ । सेवा गर्न प्रोत्साहित गर्छ ।’ तर कतिपय बस्तीमा भने भलमन्सा तथा बरघरबाहेक गुरुवा र चौकीदारलाई मात्रै पारिश्रमिक दिँदै आइएको छ । समाज सेवामा तलब लिनु उचित नरहेकाले आफूहरूको बस्तीमा भलमन्सालाई नदिने प्रचलन रहेको धनगढी नगर भलमन्सा समिति अध्यक्ष रोहित चौधरी बताउँछन् । ‘भलमन्सा गाउँको प्रमुख हो । उसको जिम्मेवारी समाज सेवा हो, नोकरी होइन । त्यसैले समाजबाट लिनु उचित होइन,’ नगर भलमन्सा समिति अध्यक्ष उनले भने, ‘हाम्रो लडाइँ तथा माग राज्यसँग हो । भलमन्साहरू समाजबाटै सर्वस्वीकृत व्यक्ति हो । हरेक विकास निर्माण नेतृत्वदायी भूमिका रहन्छ । त्यसैले उनीहरूको विकासमा सरकारको दायित्व रहनु पर्दछ ।’ बरघर प्रथा थारू समुदायमा स्थापित प्रथा हो । प्रथा अनुसार थारू समुदायमा बरघरले निश्चित समयका लागि समाजबाट कार्यकारी प्रमुखको जिम्मेवारी पाएका हुन्छन् । माघी पर्वलाई नयाँ वर्षका रूपमा मनाउँदै आएको थारू समुदायमा माघी पर्व मनाइसकेलगत्तै माघी डेवानी कार्यक्रम आयोजना गरी बरघर चयन गर्ने र वर्षभरिका लागि कार्ययोजना बनाउने कार्य हुन्छ । समुदायको वार्षिक कार्यायोजनाभित्र समुदायको नेतृत्वकर्तालाई बाली दिने वा नदिने तथा बालीको दररेट तोक्ने कार्य सर्वसहमतिले पारित हुने बताइन्छ । थारू समुुदायमा बरघर÷भलमन्सा, चिराकी÷चौकीदार, गुरुवा र केसौकाहरूको नेतृत्वदायी भूमिका रहँदै आएको छ । गाउँभित्रको पानी पँधेरो, सडक, सिँचाइ कुुलो, पुल पुलेसा निर्माण तथा मर्मत सम्भारदेखि जन्म, विवाह, मृत्यु संस्कारसम्ममा भूमिका रहन्छ । गाउँमा भैपरी आउने झैझगडा मिलाउने कार्यसमेत बरघरकै रोहबरमा हुँदै आएको छ । स्थानीय स्तरमा कानुनी मान्यतासँगै सुविधा पनि पछिल्लो समय बरघर तथा भलमन्सा प्रथाले कानुनी मान्यता पाउन थालेको छ । हालसम्म १५ पालिकाले कानुनी मान्यता दिइसकेका छन् । योसँगै पालिकाहरूले बरघर भलमन्साहरूको क्षमता विकास तालिमदेखि लिएर अन्य सुविधा प्रदान गर्दै आएका छन् । भलमन्सा ऐन ल्याइ सकेकोको कैलालीको कैलारी गाउँपालिकाले भलमन्साहरूलाई मासिक ५ सय रुपैयाँको दरले मोबाइल रिचार्ज खर्च प्रदान गर्दै आएको छ ।  

थारुहरुको माग पूरा गराउन साथ दिने सांसद विनोद चौधरीको प्रतिबद्धता

थारुहरुको माग पूरा गराउन साथ दिने सांसद विनोद चौधरीको प्रतिबद्धता

१०२३ दिन अगाडि

|

३ मंसिर २०८०

नेपाली कांग्रेसका नेता एवम् संघीय सांसद विनोद चौधरीले थारु समुदाय हकहितका लागि उठाइएका जायज माग पूरा गराउन आफूले पूरा साथ दिने प्रतिबद्धता जनाएका छन् । नवलपरासीका थारु अगुवा समुदायसँग शनिवार आयोजित छलफल कार्यक्रममा सांसद चौधरीले यस्तो तराईका भूमि पुत्रका अधिकारका विषयमा ध्यान दिन जरुरी रहेको बताए । नेपालको हरेक परिवर्तनमा इतिहासदेखि वर्तमान अवस्थासम्म आइपुग्दा थारु समुदायको महत्त्वपूर्ण उल्लेखनीय रहेको जनाउँदै सांसद चौधरीले थारु समुदायको जायज माग पूरा गराउन आफ्नो साथ रहने बताए । ‘यहाँ तपाईँहरूले जति पनि विषय उठाउनुभएको छ, म गम्भीर छु । यसका लागि सबैतर्फबाट मैले भूमिका खेल्नेछु’ चौधरीले भने । थारु समुदायको उत्थान र उनीहरूको समग्र समस्याका बारेमा गहन छलफल भएको भन्दै चौधरीले भने, ‘ मैले उहाँहरूले उठाउनुभएका विषय सम्बोधनका लागि संसद् र सरोकारवाला निकायमा गम्भीर रूपमा उठान गर्नेछु । तपाईंहरुसँगै म पनि अगाडि बढ्नेछु ।’