जब एक पिताले ‘डिभोर्सी’ छोरीलाई ब्यान्ड बाजासहित स्वागत गरे...

जब एक पिताले ‘डिभोर्सी’ छोरीलाई ब्यान्ड बाजासहित स्वागत गरे...

१०४५ दिन अगाडि

|

११ कात्तिक २०८०

थारु आयोगले भन्यो– मुक्त कम्लहरीहरुको मुद्दा खै सम्बोधन ?

थारु आयोगले भन्यो– मुक्त कम्लहरीहरुको मुद्दा खै सम्बोधन ?

१०४६ दिन अगाडि

|

१० कात्तिक २०८०

थारु आयोगले कम्लहरी मुक्तिको एक दशक बितिसक्दा पनि उनीहरुको आवश्यकता सम्बोधन हुन नसकेको भन्दै उनीहरुलाई व्यवस्थापन गर्न सरकारलाई सुझाव दिएको छ । कम्लहरी प्रथा उन्मूलनको १० वर्ष बितिसक्दा पनि अधिकांशले परिचयपत्र पाउन नसकेको, अभिभावकविहीन कम्लहरी अलपत्र परेको, हिंसा पीडितहरुले न्याय पाउन नसकेको भन्दै थारु आयोगले सरकारलाई ५ बुँदे सिफारिस गरेको छ । ‘थारू समुदायमा रहेको गरिबी, अशिक्षा, बेरोजगारी हटाई मर्यादित जीवन व्यतित गर्न सक्ने बनाउनु आवश्यक छ,’ आयोगको प्रतिवेदनमा भनिएको छ, ‘संघ, प्रदेश र स्थानीय तहले थारूमैत्री बजेटको अवधारणालाई आत्मसात गर्न आवश्यक छ ।’ आयोगले दुई साताअघि राष्ट्रपतिलाई बुझाएको प्रतिवेदनमा अभिभावकविहीन कम्लहरीको तत्काल बसोबासको व्यवस्था हुनुपर्ने सिफारिस छ । आयोगको प्रतिवेदनमा भनिएको छ, ‘मुक्त कमैया पुनर्स्थापनाको बाँकी काम सम्पन्न गर्न तीनै तहका सरकारहरूको एकीकृत प्रयास हुन आवश्यक छ ।’ थारु आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरीले मुक्त कमैयाका कतिपय समस्या अझै सम्बोधन हुन नसकेको बताए । ‘सरकारको तर्फबाट हेर्दा कार्यक्रमहरु भयो, मुक्त कमैयाहरुको माग सम्बोधन भएको भन्ने देखिन्छ’ उनले भने, ‘तर स्वयं थारु समुदाय र उनीहरुका संघसंगठन यो कुरा मान्न तयार छैनन् । पुनर्स्थापनाका कतिपय काम अझै बाँकी देखिन्छन् ।’ आयोगले कम्लहरीको परिचय–पत्र वितरण गर्न अनि कम्लहरी समस्याबरे अपनत्व लिन पनि सरकारलाई सुझाव दिएको छ । आर्थिक अभावका कारण मुक्त कम्लहरीका सन्तानहरुले पढ्न नपाएको भन्दै उनीहरुलाई पर्याप्त छात्रवृत्तिको व्यवस्था गर्न सुझाव दिएको छ । थारु आयोगले हत्या, वेपत्ता र यौन हिंसामा परेका कम्लहरीहरू एवम् तिनका परिवारहरूलाई न्याय दिलाउन अनि कम्लहरीहरुलाई सीपमूलक तालिम सहित रोजगारीको व्यवस्था गर्न सरकारलाई सुझाव दिएको छ । थारु आयोगले कानून संशोधन गरी सरकारसँग सम्पर्क गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयलाई तोकिनुपर्ने माग गरेको छ । थारु आयोग ऐन, २०७४ मा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई सम्पर्क मन्त्रालय तोकिएको छ । आयोगले थारु समुदायको विविध पक्षको अध्ययन, अनुसन्धानका लागि पर्याप्त बजेट व्यवस्था गर्न र बजेट परिचालनको अधिकार समेत आयोगलाई दिनुपर्ने माग गरेको छ । अझै पनि कमैया पुनर्स्थापनाको काम बाँकी रहेको, पाएको जमिन उपभोग  गर्न नपाएको, धितो राख्नका लागि जमिन फुकुवा नहुने लगायतका समस्या देखिएको भन्दै आयोगले यस्ता समस्यामा तत्काल ध्यान दिन सरकारको ध्यानाकर्षण गराएको छ । थारु आयोगका अध्यक्ष चौधरी मुक्त कमैयाहरुलाई पुनस्र्थापित गर्ने क्रममा दिइएको जग्गा चित्तबुझ्दो नभएको र कतिपय ठाँउमा त उनीहरु झनै समस्यामा परेको बताए । उनले भने, ‘बाढी, पहिरो र डुवानको जोखिममा परेको जग्गा बाँडिएको छ । पुनर्स्थापितहरुको जीवनयापन सहज होस् भनेर ध्यान दिनुपर्ने थियो । उनीहरुले अझै कठिनाइ भोग्नुपरेको छ ।’ थारु आयोगले ‘मुक्त कमैया, कम्लहरी, हलिया र हरुवा चरुवावारे सरकारले गरेको अध्ययन प्रतिवेदन कार्यान्वयन गर्न भनेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले २०७८ सालमा यसबारे अध्ययन गर्दै भूमिहीनको समस्या तत्काल सम्बोधन गर्न भनेको थियो । आयोगले थारु समुदायभित्रको गरिवी र अभाव घटाउन, मातृभाषाको पाठयक्रम निर्माण गर्न, थारु भाषालाई स्थानीय तहमा कामकाजी भाषा बनाउनका लागि पनि सरकारको ध्यानाकर्षण गराएको छ । थारु समुदायको बसोबास रहेका कतिपय ठाउँमा राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा वन्यजन्तुबाट सुरक्षा चुनौती देखिएको भन्दै आयोगले समन्वय र सहकार्यका लागि पहल गर्न सरकारलाई सुझाव दिएको छ । प्रतिवेदनमा भनिएको छ, ‘वन्यजन्तुको आक्रमणबाट आवश्यक सुरक्षाका लागि समन्वय तथा प्रबन्ध गर्न सम्बन्धित निकायको ध्यान जान जरुरी छ ।’ विभिन्न निकायहरुमा समावेशिताका लागि छुट्टै थारु क्लष्टर कायम भइसकेको भन्दै आयोगले उनीहरुलाई मधेशी वा आदिवासी जनजाति क्लष्टरमा नगाभ्न पनि ध्यानाकर्षण गराएको छ । प्रतिवेदनमा भनिएको छ, ‘शताब्दियौंदेखि आर्थिक, सामाजिक, साँस्कृतिक तथा राजनीतिक रुपमा पछाडि पारिएका थारू जस्तै अन्य समुदायहरूलाई राज्यको मूलधारमा ल्याउनका लागि आरक्षणको औचित्यता अझै आवश्यक रहेको छ ।’ थारु आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरीले संविधानमा नै प्रत्याभूत भएको थारु क्लष्टरको विषय निर्वाचन आयोग लगायतका निकायहरुले कार्यान्वयन गरेपछि रोजगार दिने निकायले कोटा छुट्याउने क्रममा सम्बोधन गर्न नखोजेको बताए । 

‘युद्धका घाउहरू’ नाटक लिएर कोलम्बो पुग्दा

‘युद्धका घाउहरू’ नाटक लिएर कोलम्बो पुग्दा

१०४७ दिन अगाडि

|

९ कात्तिक २०८०

निरजबाबु चौधरी श्रीलंकाको कोलम्बो सहरस्थित युनिभर्सिटी अफ द भिजुअल एन्ड परफर्मिङ्ग आर्टसमा एकेडमिक थेस्पियनस थिएटर फेस्टिवल २०२३ भएको थियो । जुलाइ २२ देखि २८ (२०८० साउन ६ देखि १०) मा भएको सो कार्यक्रममा मण्डला थिएटरबाट ‘युद्धका घाउहरु’ (२.०) नाटक लिएर हामी १२ जना नेपालबाट प्रतिनिधित्व गरेर गएका थियोँ । फेस्टिवलको नेतृत्व सोमनाथ खनाल र त्रिलोक शर्माले गर्नु भएको थियो ।  त्यस फेस्टिवलमा मैले नाटकमा एउटा हलीको चरित्र निर्वाह गरेको थिएँ । नाटकमा मैले थारू संस्कृतिलाई पनि प्रोमोट गरेको थिएँ । हामीले त्यस युनिभर्सिटीका प्रोफेसर सौम्या र विद्यार्थीहरुको मन जित्न सफल भएका थियौं । नाटक समापनपछि प्रोफेसर सौम्याले ‘नीरज बाबु यू आर ग्रेट एक्टर’ भनेर मेरो अभिनयको खुलेर तारिफ गर्नु भएको थियो । त्यहाँको नाटकपश्चात मेरो फ्यान फलोइङ्ग ह्वात्तै बढ्यो । हामीहरुले त्यहाँ नाटक मात्रै हैन, मण्डला ड्रामा स्कुलमा सिकेको कुराहरु त्यस युनिभर्सिटीका स्टुडेन्टहरुलाई शेयर गर्ने मौका पनि पायौं । श्रीलङ्का भन्ने बित्तिकै सानैदेखि मेरो दिमागमा रावणको देश भनेर आउँथ्यो । जताततै रावणकै सालिक पो होला कि भन्ने लाग्थ्यो । तर, जब म त्यहाँ पुगे, स्टोरीमा ‘ट्वीस्ट’ आयो । कोलम्बोको एयरपोर्टमा सुरुमै भगवान् बुद्धको सालिक देखेर ‘सक’ भएको थिएँ ।  सफा सुग्घर प्राकृतिक सहर भनेर कोलम्बोलाई भन्दा केही फरक न पर्ला । जता हेर्यो, त्यतै हरियाली । जता हेर्यो, त्यतै कलाले सजिएको सहर । वास्तवमा कोलम्बो पुगेपछि मलाई थाहा भयो कि कलाको महत्व कति छ भनेर । त्यहाँका मानिसहरुको व्यवहारले झनै मोहित बनायो ।  तर, मलाई त्यहाँको सबैभन्दा चित्त नबुझेको चैँ खाना थियो । त्यहाँको खाना नमिठो भन्न खोजेको हैन, देशअनुसार भेष हुन्छ, देशअनुसार खाना पनि हुन्छ ।  त्यहाँको जुन खानामा पनि बिनबिनभेंरिया अर्थात् करि पत्ता हालेको अनि जुन खानामा पनि गुलियो हालेको कहाँ मन पर्नु । थारूको छोरालाई चिल्लो, पिरो, अमिलो खाने बानीले गर्दा होला, त्यहाँको खानामा स्वादै बसेन । त्यहाँबाट नेपाल आउने बित्तिकै मैले एक प्लेट मःम डकारेको थिएँ । त्यहाँ बस्नको लागि हामीलाई होस्टेलमा व्यवस्था गरिएको थियो । बिहान साढे ८ बजे हामीलाई लिन भ्यान आउने भएकाले हामी खाजा खाएर ८ बजे नै तयार भएर बस्थ्यौं अनि युनिभर्सिटी पुग्थ्यौं । हामी बस्ने होस्टेल र युनिभर्सिटी बिचको दुरी साढे ३ किमि थियो । हामी खाना खाएर घुम्न निस्किन्थ्यौं । बेलुका त्यहाँका स्टुडेन्टहरुको ड्रामा हेथ्र्यौ  र बेलुकाको खाना युनिभर्सिटीकै क्यान्टिनमा खाएर होस्टेल फर्किन्थ्यौं । हामीले अवलोकन गरेका ठाउँहरु कोलम्बो बिच, युनिभर्सिटी अफ केलेनियाको लाइब्रेरी र संग्रहालय, लोटस टावर, लोटस थियटर, केलानी मन्दिर, म्युजियम अफ मोडर्न एण्ड कन्टेम्पोरेरी आर्टलगायत थिए । सशस्त्र द्वन्द्व भन्ने बित्तिकै मेरो दिमागमा बम गोला, बारुद, रगत भन्ने आउँछ । त्यतिबेला जब म ६÷७ वर्षको थिएँ ।  त्यसबेला बर्दिया जिल्लाको रम्मापुर आर्मी ब्यारेकमा जन्मुक्ति सेना र सरकारी सेनाबिच युद्ध भएको थियो । २÷३ रात त हामी सुत्नै सकेको थिएनौ । यस्तो लाग्थ्यो कि अब हाम्रो आयु यत्ति हो । रातभरी बम बारुद बन्दुकको कर्कश आवाज सुनिन्थ्यो । बन्दुकको छर्राहरु घरको छानोमा आएर खस्थ्यो, कतिबेला घरको भित्तामा । त्यो आवाज अझ पनि कानमा गुन्जिन्छ । त्यही युद्धको घाउ हामीले प्रदर्शन गरेको ‘युद्धका घाउहरु (२.०)’ नाटकमा देखाएका छौं । यो नाटकको लेखन र निर्देशन प्रदिप ढुङ्गाना (अन्जान प्रदिप)ले गर्नु भएको छ, जसले पारिजातको चर्चित उपन्यास ‘शिरिषको फूल’ लाई नाटकमा रुपान्तरण गरेर निर्देशन गरिसक्नु भएको छ । श्रीलंकाबाट आएर ‘युद्धका घाउहरु (२.०)’ नाटक हामीले काठमाडौं, थापागाउँस्थित मण्डला थियटरमा पनि मञ्चन गरेका थियौं । नाटक प्रदर्शनकै बेला नेकपा माओवादीको केन्द्रीय समितिको बैठक प्रज्ञा भवन कमलादीमा चलिरहेको थियो । तर, पार्टीका एकाध केन्द्रीय नेताहरु मात्र नाटक अवलोकन गर्न आँउदा दुःख लागेको थियो ।  अब हामी छिटै नै ‘युद्धका घाउहरु (२.०)’ नाटक मोबाइल टुर जुनकीरी अभियानसहित जुन जुन ठाउँमा शसस्त्र द्वन्द्वका कारण मन्छेहरुले निकै क्षति भोग्नु परेको थियो, त्यहाँ लिएर आउँदै छौँ  ।  

आठ वर्षकै उमेरमा बिहे गरेकी सुनिता मोचीले यसरी गरिन् सांसदसम्मको यात्रा

आठ वर्षकै उमेरमा बिहे गरेकी सुनिता मोचीले यसरी गरिन् सांसदसम्मको यात्रा

१०४७ दिन अगाडि

|

९ कात्तिक २०८०

तराईमा पहिले पहिले बालविवाह सामान्य मानिन्थ्यो । सांसद सुनिता मोचीको विवाह पनि आठ वर्षकै उमेरमा सिरहा सुखीपुरका रामकुमार मोचीसँग भयो । बिहे भएको एक वर्षपछि ससुरालमा बस्न थालेकी सुनिताको काँधमा घरको सम्पूर्ण जिम्मेवारी आइपर्यो । नाबालकमै विरामी सासु ससुराको सेवा गर्दै सुनिताको दिन बित्थ्यो । बिहे भएको केही वर्षमै उनको सासु र ससुरा बिते । जेठी बुहारी भएका कारणले घरको सम्पूर्ण जिम्मेवारी उनकै काँधमा थियो । उनी भन्छिन्, त्यतिबेला मेरो उमेर कति थियो याद छैन । सासु–ससुराको निधनपछि मैले छोरी जन्माएकी थिएँ । छोरीसँगै दुई देवरको समेत हेरचाह मेरै जिम्मामा थियो ।’ सुनिताका श्रीमान् रामकुमार काठमाडौँमा जुत्ता सिलाउने काम गर्थे । यता सुखीपुरस्थित घरमा सुनिताले देवरसहित आफ्ना छोरी गरी तीनजना बच्चा एक्लै सम्हाल्थिन् । ‘१० कठ्ठा पुख्र्यौली जमिन थियो । श्रीमान्ले काठमाडौंबाट अलिअलि पैसा पठाउनु हुन्थ्यो । त्यत्तिले खान नपुगेर कहिलेकाहीँ गाउँमा मजदुरीले गर्जो टथ्र्यो । तर, निकै गाह्रो हुन्थ्यो ।’ उनले ती दिनका दुःख सुनाइन् । किशोर वयमा जेठो देवरको बिहे भयो । तर, विहे गरेर समस्या समाधान भएन । परिवारमा सदस्य थपिएर झन् खर्च बढ्यो, आम्दानी बढेन । त्यसपछि जे जे दुःख गर्नुपर्छ काठमाडौंमा सँगै गरौंला भनेर सुनितालाई श्रीमान्ले काठमाडौं बोलाए ।  काठमाडौंको यात्रा सुनिताले आफ्ना छोरी र कान्छा देवरलाई साथमा लिएर काठमाडौं आइन् । त्यतिबेला तत्कालीन राजा ज्ञानेन्द्रको विरुद्धमा काठमाडौंमा आन्दोलन चर्किरहेको थियो, माहोल राम्रो थिएन । त्यस अवस्थामा पनि रामकुमार मोचीले बबरमहलको सडकपेटीमा बसेर जुत्ता सिलाईको काम गरिरहेका थिए । एक दिन जुत्ता नसिलाउँदा घरको चुल्हो बल्दैनथ्यो ।   गैरीगाउँको सुकम्बासी वस्तीमा महिनाको पाँच सय रुपैँयामा एउटा साँगुरो कोठा भाडामा लिएर बसेका रामकुमारले त्यसैमा श्रीमती, छोरी र भाइलाई साथमा राखे ।  यता, सुनितालाई आर्थिक अवस्थाले मात्र होइन, काठमाडौंको परिवेशले पनि गाह्रो भइरहेको थियो । यहाँको भेषभुसा, भाषाले ‘एडस्ट’ गर्न निकै गाह्रो भइरहेको थियो । उनलाई पछि लाग्न थल्यो, बरु यो भन्दा सुख त सुखीपुर गाउँमै थियो ।   उनी अधिकांश समय कोठमा नै बिताउँथिन् । छोरी र देवर स्कूल भर्ना भएकाले खर्च ह्वात्तै बढेको थियो । त्यसैले, त्यसरी सधँै कोठामै बिताउनु उचित पनि थिएन । भन्छिन्, ‘आर्थिक रुपले हाम्रो अवस्था दिनदिनै खराब हुँदै गइरहेको थियो । जुत्ता सिउन बस्दा कहिलेकाहीँ नगरप्रहरीले सडकपेटीबाट धपाउँथ्यो । आन्दोलन पनि चलिरहेको थियो ।’  अनि बेच्न थालिन् साग अब आफू पनि केही गर्नुपर्छ भनि श्रीमान्सँग सल्लाह गरेर सुनिताले तरकारी बेच्ने निधो गरिन् । उनी भक्तपुर किसानको बारीमै गएर साग ल्याउँथिन् र काठमाडौं, शान्तिनगरस्थित पिस्टन स्कूलको अगाडि बसेर बेच्थिन् । तीन चार महिना साग बेचेर १८ सय रुपियाँ बचत गरिन् । त्यसले एउटा सानो कठघारा (घुम्ती) किनेर पान पसल चलाउन थालिन् ।  सुनिताले खोलेको पान पसल सोचे जस्तो चलेन । कारण थियो, सुनिता दलित हुनु । वरपरका पसलेहरुले सुनिता दलित भएको जानकारी दिँदा पसलमा विस्तारै ग्राहक आउन छाडे ।  तर, त्यसमध्ये एक ग्राहक थिए, तत्कालीन सद्भावना पार्टीका नेता सुभलाल यादव, जो सुनिताको पान पसल जान कहिल्यै छाडेनन् ।  पान पसलबाट खासै आम्दानी नभएपछि सुनिताको आर्थिक अवस्था फेरि बिग्रिन थाल्यो । पसल सञ्चालनको क्रममा सुनिता मोचीको सम्पर्क विशेश्वर रजक र चन्देश्वर खत्वेसँग भयो । उनीहरुले मधेशी दलित विकास महासंघ गठन गरेका थिए । त्यसमा एकजना महिलाको आवश्यकता थियो, जसमा सुनिता मोचीको नाम इन्ट्री भयो  ।  दलित अभियानमा सक्रियता महासंघमा सुनिता केन्द्रीय सदस्य भइन् । त्यसमार्फत् उनले मधेशी दलितको अवाज उठाउन थालिन् । उनले बाल्यकालदेखि भोग्दै आएकी छुवाछूतको बारेमा बोल्न थालिन् । महासंघले आयोजना गर्ने कार्यक्रम तथा अन्य कार्यक्रमहरुमा उनी नियमित सहभागी हुन थालिन् । कार्यक्रमहरु जाँदा पाइने भत्ताले उनलाई केही सहज भयो ।  कहिलेकाहीँ कार्यक्रमहरुमा उपत्यका बाहिर पनि जान्थिन् । कार्यक्रममा धेरैसँगको सहकार्यले उनी खुल्दै गइन् । घुमाई पनि र केही आम्दानी पनि हुन थालेपछि सुनिता महासंघमै रमाउन थालिन् । तर, उता उनको पान पसल भने बन्द भयो ।   महासंघमा सक्रिय भएपछि उनको सम्पर्क विभिन्न राजनीतिक दलका नेताहरुसँग नहुने कुरै थिएन । पार्टीका कार्यक्रममा नेताहरुसँग सम्पर्क बढ्दै गएपछि पहिलो संविधान सभामा तत्कालीन सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले सुनिता मोचीको नाम समानुपातिक सूचीमा समावेश गरेका थिए । उनको नाम एक नम्बरमै थियो तर उनी संविधानसभा सदस्यमा चयन हुन सकिनन् ।  काठमाडौंमा पढाइ  आठ वर्षमै बेहुली भएपछि सुनिताका लागि शिक्षा कुन चरीको नाम हो थाहै भिएन । उनी दुई वर्षको छँदै उनकी आमाको निधन भयो । उनको लालनपालन दाइ भाउजु र बुवाले गरे । बुवा तत्कालीन गाविसमा कार्यालय सहयोगी थिए । आम्दानी थोरै, खानेमुख धेरै । त्यसमाथि छोरीलाई पढाउने चलनै थिएन ।  तर, जब उनी काठमाडौं टेकिन् र ठूलावडासँग संगत गरिन्, पढाइको आवश्यकता महसुस भयो । साग बेच्न अनि पान पसल सुरु गरेदेखि नै उनलाई हिसाब किताब गर्न गाह्रो भइरहेको थियो ।  त्यसमाथि सामाजिक काममा लागेपछि उनलाई झनै पढाईको आवश्यकता महसुस भयो । एकातिर पान पसल, अर्कोतिर दलित महासंघदेखि राजनीतिक दलको कार्यक्रमकै चटारोबिच उनी ट्युशन पढ्न थालिन् । सुनिता भन्छिन्, ‘पान पसल खोलेपछि मलाई पढाईको आवश्यकता महसुस भएको थियो तर पढ्ने मौका नै मिलिरहेको थिएन । नपढी नहुने भएपछि साइकल चढी मिथिला कर्णको घरमै गएर ट्युशन पढ्न थाले ।’ सुनिता भन्छिन्, ‘मसँग शिक्षाको कुनै पनि औपचारिक सर्टिफिकेट छैन । स्कुल पढेर सर्टिफिकेट लिउँ कि जस्तो पनि लाग्छ तर फुर्सद छैन । ट्युशनबाटै अहिले सबथोक बुझ्ने भएकी छु । नेपालीमा लेखिएका सबै विषयबस्तु पढ्न सक्छु । अलिअलि अंग्रेजी पनि आउँछ, सामान्य हिसाब सबै आउँछ ।’ उनलाई यति भए के चाहियो । सद्भावना पार्टी छाडेर सुनिता तत्कालीन मधेशी जनअधिकार फोरम पार्टीमा प्रवेश गरेकी थिइन् । फोरममा गएपछि उनले महिला संगठनमा काम गर्न थालिन् । संविधानमा मधेसको अधिकार सुनिश्चित गराउन फोरमले काठमाडौँकेन्द्रीत आन्दोलन गरेको थियो । त्यसमा सुनिताको सक्रिय सहभागिता थियो ।  आन्दोलनको हरेक ठाउँमा उनको उपस्थिति रहन्थ्यो । विहानै उठ्ने, खाना पकाउने, बच्चाहरुलाई स्कूल पुर्याएर कोठाबाट निस्केपछि एकैपटक राती फर्किन्थिन् । पसलमा समय न दिन सकेपछि १३ सयमा पान पसल बेचिन् । त्यही पैसाले श्रीमान्को पसल सडकपेटीबाट सटरमा लगिन् । बरु त्यो पसल राम्रो चल्न थाल्यो । मान्छेको हेराइमा पनि परिवर्तन भयो ।    दोस्रो संविधान सभाको चर्चादेखि प्रदेशसभा सदस्यसम्म २०७० मा भएको दोस्रो संविधान सभा चुनावमा पनि फोरमले सुनिता मोचीको नाम समानुपातिक सूचीमा राखेको थियो । तर जब सूचीबाट उम्मेदवार चयन गर्ने कुरा भयो, उनको नाम आएन । तैपनि उनी बिचलित भइनन् । उनी झन सक्रिय भएर राजनीतिमा लागिन् ।  उनले भनिन्, ‘समानुपातिकमा मेरो नाम दुई दुई पटक राखियो तर संसदमा जान सकिएन । त्यसले मलाई दुःख लागेन । बरु, मेरो मेहनत पुगेन कि, मेरा बेला अझै भएको छैन कि सोचेर राजनीतिमा झनै सक्रिय भएँ ।’ २०७४ को चुनावमा फोरमले सुनिताको नाम प्रदेश सभाको समानुपातिकमा राख्यो । अनि, प्रदेश सभा सदस्यमा चयन पनि भइन्, त्यो दिन उनका लागि सबैभन्दा खुशीको दिन थियो । सुनिताभन्दा पनि बढी उनका श्रीमान् रामकुमार मोची खुशी थिए । दुबैलाई बधाईको ओइरो लाग्यो । सुनिता भन्छिन्, ‘यसपाली पार्टीले ममाथि ठूलो विश्वास गर्यो ।’ साधारण परिवारका बुवा मकुन चमार र आमा रामरती चमारका छोरी सुनिता सांसद भएकी थिइन् ।  प्रदेश सभामा गएपछि सबैभन्दा बढी मधेसी दलितको चेतनाका लागि काम गरिन् । विभिन्न कानुन, ऐन निर्माण हुँदा त्यहाँ मधेसी दलितको अधिकार कसरी सुरक्षित गर्न सकिन्छ, त्यसका लागि उनले निकै मेहनत गरिन् ।  पछिल्लो २०७९ मंसिर ४ को चुनावमा सुनिताको नाम पार्टीले समानुपातिकमा राखेन । त्यसमा उनको कुनै चित्त दुखाई थिएन । उनको ईच्छा त प्रत्यक्ष चुनाव लड्ने थियो तर आर्थिक अवस्थाका कारण त्यो संभव थिएन ।   उनी अहिल्यैदेखि नै २०८४ को चुनावको तयारीमा लागेकी छिन् । पार्टीले समानुपातिकमा राख्यो भने ठिकै छ, नभए जेमा टिकट दिन्छ, त्यसैमा चुनाव लड्ने बताउँछिन् ।  सुनिताका एक छोरी र एक छोरा छन् । छोरीको विहे भइसकेको छ भने छोरा काठमाडौंमै ब्याच्लर अध्ययन गरिरहेका छन् । काठमाडौंमा उनको श्रीमान्को जुत्ता पसल छँदैछ । अहिले गाउँमै पक्की घर बनाएकी उनको सोच काठमाडौको पसल गाउँमै चलाउने योजना छ ।   श्रीमान् रामकुमार मोचीले बालबच्चा सम्हाल्नेदेखि घरका अन्य काममा पनि सहयोग गरेपछि सुनिता बाहिर राजनीतिलगायत पढाई, सामाजिक कार्यक्रम भ्याइन् । र, आज यो अवस्थासम्म आइपुगेकी छिन् । रामकुमार मोचीले भने, ‘सुनिताले जे गरिरहनु भएको छ, त्यो हाम्रो सोचभन्दा धेरै टाढाको कुरा थियो । तर, उहाँले गरेर देखाई दिनुभयो, त्यसमा मलाई गर्व छ ।’ रातोपाटीबाट

सखिया नाचमा रमाउँदै थारू बस्ती

सखिया नाचमा रमाउँदै थारू बस्ती

१०५२ दिन अगाडि

|

३ कात्तिक २०८०

धनगढी । कैलालीको कैलारी गाउँपालिका–६, बेनौली गाउँमा ३ सातासम्म सखिया नाचको पूर्वतयारी भयो । दसैँको सुरुवातपछि यो नाच औपचारिक प्रदर्शन सुरु गरिएको छ । बेलुकीपख तयारीको क्रममा बजाइने मादलको ताल र मञ्जिराको छन्कारले गाउँ गुञ्जायमान छ । निकासी (पूजापाठ) गरिएसँगै औपचारिक रुपमा सखिया नाच प्रदर्शन हुँदै आएको छ । बेनौलीका भलमन्सा काजीराम महतो भन्छन्, ‘सखिया नाच मनोरञ्जनको दृष्टिकोणका साथै लोक कला–संस्कृतिको दुष्टिकोणले पनि महत्त्वपूर्ण छ । जसको संरक्षण र प्रवर्द्धनका  लागि गाउँमा सखिया नाच गराइरहेका छौँ ।’ धनगढी उपमहानगरपालिका–१,६ भादा गाउँ एक महिना यता मादलले गुञ्जायमान छ । उसो त होम स्टे सञ्चालन हुँदै आएको भादामा अरु बेला पनि सखिया नाचिन्छ । होम स्टे व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मीनारायण चौधरीले गाउँघरको माहोल उल्लासमय भएको जानकारी दिए । बेनौली र भादा गाउँमा मात्रै होइन, दसैँ आगमनसँगै पश्चिम नेपालको थारु बस्ती नै आजभोलि सखिया नाचले गुञ्जायमान बनेको छ । सखिया नाचको प्रदर्शनले दसैँको उल्लास बढाएको हो । सामूहिक लोक नृत्यको रुपमा लिइने सखिया नाचका प्रत्येक पात्रको भूमिका रहन्छ । विभिन्न थरीका मादलको तालसँगै गीतिलयमा नाचिने सखियामा मोरिन्या (गुरुमा) र पच्गुनिया (सहायक गुरुमा) मार्फत गीतिनृत्य नाचिन्छ । थारु संस्कृतिविद् अशोक थारुका अनुसार सखिया नाच्ने र गाउने विधि र प्रक्रिया आफ्नै प्रकृतिको छ । यद्यपि, पछिल्लो समय अनुकुुलता र प्रतिकुलतालाई मध्यनजर गरी समय छोट्याएको पाइन्छ । सखिया नाच दसैँको टीकाको दिन विशेष रुपमा नाच्ने गरिन्छ । लोक संस्कृतिविद् थारुका अनुसार दसैँको अवधिमा सखिया र पैंयाँ नाच विशेष रुपमा नाचिन्छ । नाच्नका लागि युवतीहरुको समूहमा १ जना अगुवा (मोरिन्या) रहने र मादल बजाउने युवाहरुमा पनि १ जना अगुवा हुन्छन् । यो नाचमा भगवान श्रीकृष्णको जन्मदेखि मृत्युसम्मको लीलामा आधारित गीत गाइन्छ । सखिया के हो ? सखिया शब्द ‘सखींआ’ बाट बनेको हो । यसको अर्थ साथी वा संगिनी हो । यो शब्द कान्हा (कृष्ण) र राधा अथवा राधा र उनका संगिनीको सन्दर्भमा आएको हो । नेपाली लोकवार्ता तथा संस्कृति समाजबाट प्रकाशित थारु लोकवार्ता तथा लोकजीवन पुस्तकका अनुसार दसैँको खुसियालीमा संगिनीहरु आऊन्’ भन्ने अर्थमा ‘सखिया’को प्रयोग भएको हो । सखिया थारु लोकभागवत पुराण हो । दसैँमा थारु जातिका महिलाहरुले सामूहिक रुपमा गाइने काव्य कोटीमा पर्ने संस्कृतिविद् थारु बताउँछन् । जसको आरम्भ नै समरौटीबाट हुन्छ । डानु डाडा डानु री डाडा डानुु. डरिउना भली र सखी र डानु री डाडा डरीउना री कहिले टोही मैं सामिरौं सरस्वती मैयाँ सखी र सरस्वती मैयाँ स्यावा री मोरी लेओ पैंयाँमा कृष्ण र गोपिनीको रसलीला सो पुस्तकमा उल्लेख भएअनुसार दसैँको अवधिमा तथा सखिया नाचको बिच–बिचमा पैंयाँ नाच पनि नाचिन्छ । थारु भाषामा पैंयाँलाई ‘पैंयाँ लग्ना’ अर्थात पैंयाँको अर्थ पाउ लागी’ वा समर्पित हुनु हो । खासमा गोपिनी रुपी बठिनियाहरु (युवतीहरु) र कृष्ण रुपी मडर्‍या (मदाल बजाउने युवा) एक अर्काप्रति समर्पित हुनु भन्ने सन्दर्भमा आएको बताइन्छ । सो पुस्तकका लेखक समेत रहेका लोक संस्कृति विद थारु भन्छन्, ‘पैंयाँलाई कृष्ण र गोपिनीबिचको रासलीला झल्काउने चरणको रुपमा लिइन्छ । यो मुलतः गीतहिन सामूहिक नृत्य हो ।’ एनरी बाहाँस हो काटी कमवा सिटैबु कमवा सिटैबु मै पिन्जला बनैबुँ पिन्जला बनैबु मै सारी सुगा पलबु वचनक बिनल पिन्जला कबु रे जिनी टुट टुटीगिल पिन्जला रे मोर उरिगिल सुगिना पुस्तकका अनुसार प्रस्तुत पैंयाँ गीतमा सारी–सुगा प्रेमपात्रका प्रतीकको रुपमा लिइएको छ । पिँजडा प्रेमको प्रतीक हो । गीतमा औंलो काटेर कलम बनाउने र रगतको मसीले प्रेमपत्र लेख्ने सन्दर्भ आएको छ । पछिल्लो समय पैँयाँलाई नाचलाई आधुनिकीकरण गरिएको पाइएको छ । यसलाई आधुनिक सखियाको नामले पनि चिनिन्छ । यसमा गाइने गीतहरु समेत आधुनिक ढंगले समेत रचना गरिएको थारु संस्कृतिका जानकारहरु बताउँछन् । त्यस्तै पैंयाँ २२ प्रकारको हुने भए पनि हाल मडरियाहरुले आफैँ नयाँ सिर्जना गरेर पैंयाको तरिकामा परिर्वतन ल्याएका छन् । यस नृत्यमा मादलको ताल र गीतसँगै नृत्य गर्ने युवतीहरु खुट्टाको पैतलासँगै शरीरलाई मोडेर विभिन्न मुद्रामा प्रस्तुत हुन्छन् । यो नृत्य हेर्न थारु गाउँहरुमा निकै भिड लाग्ने गरेको छ । यतिमात्रै होइन, सखियालाई आजभोलि सदाबहार नृत्यको रुपमा समेत लिने गरिएको छ । दसैँमा मात्रै सीमित नभइ यो नृत्य बाह्रैमास विभिन्न सभा, समारोह, महोत्सवहरुको प्रमुख शोभाको रुपमा प्रस्तुत हुँदै आएको छ । जुनकारण सखिया नाच व्यावसायिक समेत भएको भादा होम स्टेका अध्यक्ष लक्ष्मीनारायण चौधरी बताउँछन् ।  

दसैँका लागि घर सजाउँदै थारू समुदाय

दसैँका लागि घर सजाउँदै थारू समुदाय

१०५४ दिन अगाडि

|

२ कात्तिक २०८०

यतिबेला थारू समुदायका महिलाहरु दशैंका लागि घर सजाउन व्यस्त छन् । दसैँका लागि घर चिटिक्क पार्ने, आँगन सजाउने, माछामासु र दाउराको जोहो गर्ने र किनमेल गर्ने जस्ता कार्यमा यो समुदायका व्यक्ति व्यस्त देखिन्छन् ।   यसै क्रममा कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ का देवी चौधरी घर लिपपोत गर्नमा व्यस्त हुनुहुन्छ । उहाँले थारू समुदायमा दसैँमा घर लिपपोत गरेर सजाउनु अनिर्वाय जस्तै भएकाले घर, आँगन सजाउन लागेको बताए। ‘अहिले घर लिपपोत गर्नेदेखि किनमेल गर्ने चटारो छ’, उनले भने, ‘दशैं सुरु हुनुभन्दा अगाडि नै हामी सबै तयारी गरिसक्छौँ, दशैंमा सखिया नाच्ने र रमाउने हो ।’ उनले गाउँमा रहेका अधिकांशले घर लिपपोत गरेर सजाइसकेको बताए ।  थारू समुदायमा दसैँ  विशेष चाड भएकाले यसको रौनक एक महिनाअघि देखि नै हुने गर्दछ । ‘दसैँमा पूजा गर्दा कुखुराको मासु, माछा, कुभिन्डो, ढिक्री, रक्सी आदि चाहिन्छ’, उनले भने, ‘पूजा सएिपछि सबैजना सखिया नाच्ने र रमाइलो गर्ने गर्दछन ।” अन्य समुदायको भन्दा यो समुदायमा दशैं मनाउने चलन पृथक रहेको उनले बताए । पछिल्लो समय सामुदायिक वनले जङ्गलबाट माटो ल्याउन निषेध गरेपछि समस्या भएको उनले बताए । ‘माटोले लिपपोत गरेर खरले छाएका घर थारू समुदायका पहिचान हुन्’, उनले भने, ‘सामुदायिक जङ्गलले माटो ल्याउन निषेध गरेपछि यी घरहरु हराउन थालेका छन् ।’ स्थानीय लक्ष्मीराम चौधरी दसैँका लागि सामान जुटाउन व्यस्त छन् । उनले केही दिनअघि देखि माछाको जोहो गर्न लागेका छन् । ‘घरमा महिलाहरु घर लिपपोत गर्न लागेका छन्, म माछाको जोहो गर्दैछु’, उनले भने, ‘दसैँमा सुकाएको माछा र रक्सी थारू समुदायको विशेष हो ।’ उनले पछिल्लो समय पक्की घरहरु बन्न थालेपछि विगतको जस्तो रौनकता भने नभएको बताए । स्थानीय सीता चौधरीले दसैँका बेला थारू समुदायमा सखिया नाच महत्वपूर्ण भएको बताए । ‘दसैँको बेला सखिया नाच रातभरि हुने गर्दछ, यो नाचमा भगवान्को मात्रै महिमा हुन्छ’, उनले भने, ‘पछिल्लो समय विभिन्न कारण एक महिना खेलिने यो नाँच छोटिँदै गएको छ ।’ टीका लगाइसकेपछि सबै गाउँले भेला भएर सखिया नाच नाच्ने चलन छ । पछिल्लो समय यो नाच लोप हुँदै गएको छ । ‘पहिलेको जस्तो रातभर नाच्ने गाउने चलन त हराइसकेको छ’, उनले भने, ‘अहिले संस्कृति जोगाउनलाई भए पनि कार्यक्रमको आयोजना गरी सखिया नाच्ने गरिन्छ ।’ पछिल्लो पुस्ता आधुनिकतामा रमाउन थालेपछि सखिया नाचको मौलिकता हराउँदै गएको थारू समुदायका पाका पुस्ता बताउँछन् ।

एक नेपालीले वर्षमा सरदर कति केजी मासु खान्छन् ?

एक नेपालीले वर्षमा सरदर कति केजी मासु खान्छन् ?

१०५४ दिन अगाडि

|

२ कात्तिक २०८०

सरिता थारू एक व्यक्तिले वर्षमा सरदर १४ किलोसम्म माछा–मासु खाँदा स्वास्थ्यका दृष्टिले उपयुक्त हुने अन्तर्राष्ट्रिय खाद्य तथा कृषि संगठन (एफएओ)को मापदण्ड छ । तर नेपालीले वार्षिक रूपमा औसतभन्दा सात किलो बढी अर्थात् २१ किलो माछा–मासु खाने गरेको पशु विभाग बताउँछ । पशु विभागका सूचना अधिकारी डा. चन्द्र ढकालका अनुसार, माछा–मासुमा अत्यधिक पौष्टिक तत्त्व पाइने भएकाले नेपालीले बढी खाने गरेको देखिन्छ । ‘मासु आपूर्तिको उपलब्धताका आधारमा हामीकहाँ सबैभन्दा बढी कुखुराको मासु खाएको पाइन्छ,’ उनले भने, ‘त्यसपछि राँगा, भैँसी, खसी–बोकाको मासु पर्छ ।’ शरीरलाई आवश्यकभन्दा बढी मासु खाएमा पाचन प्रणालीमा गडबड, झाडापखाला, बान्ता लगायत  समस्या हुने चिकित्सक बताउँछन् । ‘एक व्यक्तिले एक हप्तामा पाँच सय ग्राम अर्थात् आधा किलो मासु खान सक्छ,’ फिजिसियन डा. रोशनकुमार झा भन्छन्, ‘एक दिनमा ७० ग्रामभन्दा बढी मासु खानु हुँदैन, केही बेसी भइहाले अर्को दिन सागसब्जी खानुपर्छ ।’ एक व्यक्तिले वर्षमा सरदर १४ किलोसम्म माछा–मासु खाँदा स्वास्थ्यका दृष्टिले उपयुक्त हुने अन्तर्राष्ट्रिय खाद्य तथा कृषि संगठनको मापदण्ड छ । तर नेपालीले वार्षिक रूपमा औसतभन्दा सात किलो बढी अर्थात् २१ किलो माछा–मासु खाने गरेका छन् ।  पहिलेको तुलनामा कतिपय ग्रामीण भेगमा समेत माछा–मासुको उपलब्धता बढेसँगै मांसाहारी मानिसको स्वास्थ्यमा सुधार आएको विभागका सूचना अधिकारी डा. ढकाल बताउँछन् । ‘माछा र मासुको उपभोग दर बढेर मातृ मृत्युदर र शिशु मृत्युदर घटेको छ,’ डा. ढकाल भन्छन्, ‘अहिलेका बच्चा इन्टेलिजेन्ट र शारीरिक रूपमा स्वस्थ छन् ।’ ढकालका अनुसार ग्रामीण क्षेत्रका महिलाले मासुका लागि पशुचौपाया पालन गरी आय आर्जनमा समेत वृद्धि गरेका छन् ।  राष्ट्रिय चरन तथा घाँसेबाली अनुसन्धान कार्यक्रमका संयोजक तथा पशु आहारविज्ञ डा. तुलसीप्रसाद पौडेलका अनुसार, देश मासुमा आत्मनिर्भरतर्फ उन्मुख रहेकाले पनि मासुको उपभोग दर बढेको आकलन गर्न सकिन्छ । ‘मासुको उपभोग खाद्य पोषण सुरक्षासँग जोडिएको विषय हो,’ उनी भन्छन्, ‘यसले भावी पुस्ताको पोषण सुरक्षामा सुधार हुन्छ ।’  सहर–बजारमा उपभोग बढी  कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार, देशमा वार्षिक ६ लाख मेट्रिक टनभन्दा बढी माछा र मासु उत्पादन हुन्छ । यही उत्पादनलाई जनसंख्याका आधारमा भाग लगाउँदा एक व्यक्तिको भागमा सरदर २१ किलो मासु पर्ने पशु आहारविज्ञ डा. पौडेलको भनाइ छ । उसो त पशु वध गरी मासु खानु न्यायोचित होइन भन्नेहरू पनि छन् । यहाँ सरदरमा वार्षिक २१ किलो भनिए पनि मासु नखाने र यो औसतभन्दा बढी मासु खाने पनि छन् ।  ‘ग्रामीण भेगको तुलनामा मासुको उपभोग सहरबजारमा बढी हुने गर्छ,’ डा. पौडैल भन्छन्, ‘मासुको उपभोगमा सबैको समान पहुँचका लागि बजारीकरण र मासुको परिकारको विविधिकरणमा जोड दिइनुपर्छ ।’  पशु विभागका अनुसार, दसैँमा मात्रै करिब ८५ हजार मेट्रिक टन मासु खपत हुने गर्छ । यसमध्ये पनि काठमाडौं उपत्यकामा मात्रै ५० देखि ५१ हजार मेट्रिक टन माछा–मासु खपत हुने विभागका सूचना अधिकारी डा. ढकाल बताउँछन् । ग्रामीण क्षेत्रमा मासुको पहुँच पु¥याउन स्थानीय तहबाटै उत्पादनमा जोड दिनुपर्ने पशु आहारविज्ञ डा. पौडेल सुझाउँछन् । उनका अनुसार, आर्थिक स्थिति कमजोर र मासुको पहुँच कम भएका नागरिकको पोषण सुरक्षाका लागि  कुखुराको मासु उत्तम हुन्छ, कारण अन्यको तुलनामा कुखुराको मासु सस्तो छ । ‘बालबालिका र गर्भवती महिलालाई प्राथमिकतामा राखेर स्थानीय तहले कुखुरा उत्पादनका विभिन्न कार्यक्रम सञ्चालन गर्नुपर्छ,’ डा. पौडेल भन्छन्, ‘एक किलो च्याङ्ग्राको मासु आउने पैसाले ६ किलो कुखुराको मासु आउँछ । कुखुराको मासु खाँदा पनि पोषण सुरक्षामा टेवा पुग्छ ।’  मासुको उत्पादन घट्दो, माछाको बढ्दो  मन्त्रालयका अनुसार मुलुकमा राँगा, खासी बोका, बङ्गुर लगायतको मासु आर्थिक वर्ष २०७६/७७ मा ५ लाख ५२ हजार मेट्रिक टन उत्पादन भएको छ । यस्तै, वर्ष २०७७/०७८ मा ५ लाख २० हजार मेट्रिक टन मास र ०७८/७९ मा  ५ लाख १२ हजार मेट्रिक टन उत्पादन भएको उल्लेख छ ।   मासुको उत्पादनमा बर्सेनि केही कमी देखिए पनि माछाको उत्पादन भने बढेको मन्त्रालयको तथ्याङ्कले देखाउँछ । आर्थिक वर्ष २०७६/७७ मा ९७ हजार मेट्रिक टन माछा उत्पादन भएको छ । वर्ष २०७७/७८ मा १ लाख ४ हजार मेट्रिक टन र ०७८/७९ मा  १ लाख ८ हजार मेट्रिक टन माछा उत्पादन भएको तथ्याङ्कमा उल्लेख छ ।