देशभरका थारू साहित्यकार सुनसरीमा भेला हुँदै

देशभरका थारू साहित्यकार सुनसरीमा भेला हुँदै

९४५ दिन अगाडि

|

२२ माघ २०८०

कैलालीमा  आठजना थारू महिला चुनिए  गाउँको बरघर

कैलालीमा आठजना थारू महिला चुनिए गाउँको बरघर

९४८ दिन अगाडि

|

१९ माघ २०८०

                                                                                                                                                                         तस्विरः अविनाश दहित अविनाश दहित कैलालीमा यस वर्ष हालसम्म आठ जना थारु महिला गाउँको बरघर अर्थात् भलमन्सा चुनिएका छन् । गाउँवासीको भूरा खेलले उनीहरुलाई गाउँको नेतृत्व गर्न भलमन्साको जिम्मेवारी सुम्पेको हो । बरघर प्रथा थारु समुदायमा सदियोंदेखि प्रचलनमा छ । माघ महिनाभरि भलमन्सा चयन गर्ने गरिएकाले भलमन्सा बन्ने महिलाको सङ्ख्या अझ बढ्न सक्ने विश्वास थारु अगुवाहरुको छ । यसअघि, बरघर भएर पुरुषले मात्र काम गर्ने गरेका थिए ।  घोडाघोडी नगरपालिका –१२ कोटा गाउँमा इन्द्रा चौधरी, धनगढी उपमहानगरपालिका –१५ कनरी गाउँमा पहिलो पटक असरानी चौधरीले बरघरको जिम्मेवारी पाउनुभएको छ । यसअघि भएका भूरा खेल वा खोज्नीबोज्नीबाट दुवै गाउँमा पुरुषलाई नै बरघर छान्ने गरिन्थ्यो । दुवै गाउँमा पहिलो पटक महिलाले आफ्नो क्षमता देखाउने अवसर पाएका छन् ।  यसैगरी, कैलारी गाउँपालिका –४ मा पाँच जना महिलाले यसवर्ष बरघरको जिम्मेवारी पाएका छन् । सो वडामा गणेशकुमारी चौधरी, शिवकुमारी चौधरी, गौरी चौधरी, विनिता चौधरी र उजलीदेवी कामी बरघर बनेका छन् । धनगढी उपमहानगरपालिका –११ बासखेराका गाउँवासीले गीता चौधरीलाई यस वर्ष पनि बरघरको रुपमा निरन्तरता दिएका छन् । स्थानीय स्तरमा महिला नेतृत्वप्रति विश्वास बढ्दै गइरहेको यसअघि पनि बरघरको रुपमा काम गरिसक्नुभएकी कैलारी गाउँपालिका –४ कान्छीटोलकी बरघर गौरी चौधरीले बताउनुभयो ।  बरघरले गाउँघरमा विकास निर्माण, कुलापानीको जनश्रमदानको कामदेखि भोजभतेरमा समेत नेतृत्वदायी भूमिका निर्वाह गर्ने गरेका छन् । यसैगरी, गाउँघरमा भएको सामान्य झैझगडा मिलाउने काम पनि गर्दैआएका छन् । 

आज सहिद दिवस, देशैभर विभिन्न कार्यक्रम गरि  मनाइँदै

आज सहिद दिवस, देशैभर विभिन्न कार्यक्रम गरि मनाइँदै

९५१ दिन अगाडि

|

१६ माघ २०८०

काठमाडौं । देश र जनताका लागि शहादत प्रदान गर्ने सहिदहरूको सम्मानमा विभिन्न कार्यक्रमका साथ आज देशभर विभिन्न कार्यक्रमका साथ सहिद दिवस मनाइँदै छ ।  इतिहासको विभिन्न कालखण्डमा प्रजातन्त्र, राष्ट्र र स्वतन्त्रतासहित जनताका पक्षमा भएका आन्दोलनमा मृत्युवरण गरेका वीर सपुतहरूको सम्मानमा आज विविध कार्यक्रमका साथ देशभर सहिद दिवस मनाइने परम्परा छ । गत वर्षहरूमा जस्तै यस वर्ष पनि सहिदरूको योगदानको चर्चा गर्दै यही माघ १० देखि १६ गतेसम्म सप्ताहव्यापीरूपमा दिवस मनाउने कार्यक्रम जारी छ ।  विसं २०१२ देखि नै तत्कालीन काठमाडौं नगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते सहिदको सम्झनामा दिवस मनाउन थालिएको हो । देश र जनताका लागि प्राण आहुति दिने सहिदहरूको विशेष सम्झना गरिने दिनका रुपमा सहिद दिवसलाई लिइन्छ ।  प्रजातन्त्र, नागरिक अधिकार र स्वतन्त्रताको माग गर्दा विसं १९९७ मा सहिद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौंको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गंगालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा तत्कालीन राणा शासकले मृत्युदण्ड दिएका थिए ।  माघ १६ गते सहिद दिवसका अवसरमा बिहान शान्तिवाटिका रत्नपार्कदेखि सहिद स्मारक लैनचौरसम्म प्रभातफेरी कार्यक्रम आयोजना गरिने जनाइएको छ । प्रधानमन्त्री, मन्त्रिगण, नेपाल सरकारका उच्चपदस्थ अधिकारी, जनप्रतिनिधि, सुरक्षा निकायको ब्यान्ड टोली र मार्चपास टोलीसहितको प्रभातफेरी सहिद स्मारक लैनचौर पुगी ज्ञातअज्ञात सहिदप्रति श्रद्धाञ्जलि अर्पण गर्ने कार्यक्रम रहेको काठमाडौं महानगरपालिकाले जनाएको छ ।  सहिदलाई प्रत्येक वर्ष माघ १६ गते सम्झने गरे पनि सपना पूरा गर्न हुनुपर्ने जति काम नभएको गुनासो यस अवसरमा हुने गरेको सुनिन्छ । यस दिन हुने औपचारिक कार्यक्रममा जिम्मेवार अधिकारीहरुबाट सहिदको सपना पूरा गर्न लागिपरेको प्रतिबद्धता भने निरन्तर आउने गरेको छ । पछिल्लो समय स्पष्ट परिभाषा नगरी सहिद घोषणा गरिएको भनी जनस्तरबाट टिप्पणी हुने गरेको छ । यसैबीच नेपालमा पहिलो सहिद लखन थापालाई मानिन्छ । 

गुर्जिह्वा गाउँको ककनडारमा मंगल चौधरी चयन

गुर्जिह्वा गाउँको ककनडारमा मंगल चौधरी चयन

९५३ दिन अगाडि

|

१४ माघ २०८०

दाङदेउखुरी लमही नगरपालिका–४, गुर्जिह्वा गाउँको ककनडार (बरघर)मा मंगल चौधरी पुनः चयन भएका छन् ।  माघ १३ शनिवार बसेको गाउँको भुरा खेलले मंगल चौधरी पुनः चयन भएका हुन् । गत वर्ष पनि ककनडार रहेका उनले गाउँलेले पुनः विश्वास गरी नेतृत्व गर्ने अवसर दिएकोमा आभार व्यक्त गरे ।  ककनडारका अर्का प्रत्याशी विक्रम चौधरीले उम्मेदवारी फिर्ता लिदै जसले नेतृत्व लिए पनि गाउँको समग्र विकासमा दिलोज्यान दिएर लाग्नुपर्ने बताए । उनले गुर्जिह्वा गाउँको सिँचाई प्रणालीमा झरन पानी मात्रै भएकाले मूल कुलोबाट सिँचाईको लागि प्रगन्ना सिँचाई आयोजनासँग ककनडारबाट पहल गरिनुपर्ने धारणा राखे । यसैगरी कुलो सरसफाईका लागि कुलराज चौधरीले ठेक्का हात पारे । ४ जनाले टेण्डर दिएकोमा उनले ३६८ रुपैया ५० पैसा प्रति कट्ठा पनकर लिने शर्तमा ठेक्का पाएका हुन् । गुर्जिह्वा टोलअन्तर्गत भुरीपुर, पत्थरपुवा, चारघरुवा टोल रहेकोमा ती टोलका बरघर पनि चयन भएका छन् । यसैबीच, दाङको लमही नगरपालिकाको महटावाँ÷बरघर प्रणालीसम्बन्धी ऐन यही माघभित्र बस्ने नगरपालिका परिषदले पास गर्ने लमही नगरपालिकाका मेयर जोगराज चौधरीले जानकारी दिएका छन् ।

मुक्तकमैया जमिन्दार भएको हेर्न मन छ : सांसद आस्मा चौधरी

मुक्तकमैया जमिन्दार भएको हेर्न मन छ : सांसद आस्मा चौधरी

९६२ दिन अगाडि

|

४ माघ २०८०

प्रतिनिधिसभा सदस्य आस्माकुमारी चौधरीलाई वर्षौंदेखि कमैया र कमलरी भएर बाँचेका थारु समुदाय जमिनदार भएको हेर्न मन छ । उनलाई लामो समयदेखि मालिकका घरमा काम गर्दै आएका कमैया र कमलरी आफ्नै जमिन भए कति खुसी हुन्थे होला भन्ने लाग्छ ।  “अहिलेसम्म अधिकांश थारुको आफ्नो जमिन छैन, तिनको पनि आफ्नो जमिन, घर भए कति राम्रो हुन्थ्यो होला”, नेकपा (एमाले) का तर्फबाट निर्वाचित सांसद चौधरीले सुनाइन्, “सम्झिँदा पनि आँसु आउँछ, सरकारले कमलरी प्रथा र मुक्तकमैया घोषणा गरे पनि कार्यान्वयन भएको छैन ।” कमलरी प्रथा अन्त्यका लागि भएको आन्दोलनमा दूधे बालक बोकेर धेरै पटक धाउँदा पनि  आजसम्म तिनका पक्षमा नतिजा नआउँदा उनलाई नमज्जा लाग्छ । उनको बाल्यकाल तथा जीवनको पढ्ने–लेख्ने–खेल्ने समय जमिनदारका घरमा काम गरेरै बित्यो । “म कमलरी भएर रहँदाको पीडा कसरी व्यक्त गरूँ, सम्झिँदा पनि मुटु फुट्लाजस्तो भएर आउँछ”,  नेत्री चौधरीले भनिन्, “अहिले पनि दाजुभाइ कमैया भएरै बसेका छन्, दिदीबहिनी कमलरी नै भएर बसेका छन्, दाङमा मात्र नभई देशभरका झन्डै ९५ प्रतिशत चौधरी कमैया–कमलरी भएरै बाँच्नुपर्ने अवस्था छ ।” सरकारले २०५७ साउन २ गते मुक्तकमैया घोषणा गरे पनि उनीहरूको अवस्थामा देखिने गरी परिवर्तन आउन सकेको छैन ।       लुम्बिनी प्रदेश, दाङ जिल्लामा २०२२ साल वैशाख १७ गते जन्मिएकी चौधरीका श्रीमान् पनि मुक्तकमैया हुन् तर उनीहरूको आफ्नो जग्गा छैन । “हाम्रो नाममा एक धुर पनि जमिन छैन, जमिनदारले बाजेकै पालामा २०१७ सालमा लालपुर्जा खोसेर लगेकामा  अहिलेसम्म फिर्ता आएको छैन”, उनले भनिन्,  “मुद्दा सर्वोच्च अदालतमा मुद्दा चलिरहेको छ, न्याय पाउने आशामा छौँ, खै कहिले हाम्रो जमिनको कागजपत्र हाम्रो हातमा पर्छ, कुरिरहेका छौँ ।”      उनलाई पुर्खाकै पालामा गुमेको जमिन  फिर्ता आउने आशा भने छ । “जमिनदारले कागजपत्र खोसेर लगे,   हामीसँग अहिले कागज नभए पनि  त्यही घरमा बस्छौँ”, सांसद चौधरीले थपिन्, “आफ्नो जमिन पनि कहिले आफ्नै हुन्छ, थाहा छैन, कुनै दिन त होला नि ।” दाङ निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद चौधरीलाई थारुका मुहारमा खुसी देख्न मन छ । “सांसद भएर मैले के गरेँ, आफैँलाई कहिलेकाहीँ प्रश्न सोध्न मन लाग्छ, तर जुन अवस्थाबाट माथि उठेर आएँ, म असाध्यै हर्षित छु”, उनले हँसिलो मुद्रामा भनिन्, “जनता खुसी रहुन्, सबैले पढ्न पाऊन्, मुलुकको विकास होस्, थारुको पनि जमिन होस्, तिनका मुहारमा हाँसो छाओस् ।” नेत्री चौधरीलाई आफूले पढ्न नपाएकामा पीडा महसुस हुन्छ । उनी कमलरी हुँदा विद्यालय जान पाइनन्। “मैले पढ्न पाइन, गाउँमा मेरा ससुराले रात्रि स्कुल खोज्नुभएको थियो, पाँच कक्षासम्म त्यहीँ पढ्न पाएँ”, नेत्री चौधरीले थपिन्, “म सानैदेखि तत्कालीन कम्युनिस्ट पार्टीमा लागेँ, पछि एमालेले मलाई विश्वास गरेर यो अवसर दियो ।” रात्रि विद्यालयमा पढ्दादेखि  पञ्चायतविरुद्ध गीत गाएको सम्झँदा उनको मुटु अहिले पनि फुलेर आउँछ ।  पार्टीका टोल, गाउँ र  नगर कमिटीमा सङ्गठित हुँदै हाल अखिल नेपाल महिला सङ्घका केन्द्रीय सदस्य चौधरीलाई जीवनमा कल्पना नगरेको अवसर मिलेको अनुभव भए पनि  आफू २०३६ सालदेखि आबद्ध राजनीतिक दल माले हाल एमाले प्रतिपक्षमा हुँदा सोचेअनुरूप काम गर्न नसकेको खिन्नता छ  । “सांसद भएको एक वर्ष पूरा भइसक्यो तर एक वर्षमा जम्मा एउटा कानुन बन्यो, संविधानअनुकूलका कानुन बनाउनुपर्ने त धेरै छ तर सरकारले आवश्यक कानुन ल्याएन”, सांसद चौधरीले भनिन्, “प्रतिपक्षले त कानुन बनाउनुपर्छ भनेर भनिरहेको छ, हाम्रो आवाजलाई सरकारले सुनुवाइ गरेजस्तो लाग्दैन, यस विषयमा त सत्ता पक्षले बढी ध्यान दिनुपर्ने हुन्छ ।” समानुपातिक सांसद चौधरीलाई आफ्ना दङ्गालीका काम केही पनि गर्न नसकेको महसुस हुन्छ । “सांसद त भएँ, कतिले तैले के गरिस् त भन्छन्”, उनले भनिन्, “जनप्रतिनिधि भएपछि जनताको दुःख हेर्नुपर्ने हुन्छ तर केही गर्न सकेको छैन, विकासका काम गर्नुपर्ने धेरै आवश्यकता छ, एक पैसा बजेट परेको छैन, खानेपानी, पुल, स्कुल, स्वास्थका क्षेत्र कहीँ पनि पैसा परेको छैन, सम्झेर दुःख लाग्छ ।” नेत्री चौधरीलाई मुक्तकमैया–कमलरीले अहिले पनि पढ्न नपाएकामा पीडा हुन्छ । “म असाध्यै कठिन परिस्थितिबाट गुज्रिएर आएको हुँ, हाम्रो कुरा सुन्ने कोही थिएन, अहिले पनि थारुको पीडामा सुनुवाइ हुन सकेको छैन”, उनले भनिन्, “तिनको समस्या अहिले पनि ज्यूँका त्यूँ छ, कोही यसबारे बोल्दैनन्, थारुहरू जमिनविहीन अवस्थामा छन्, तिनले कहिले जमिन पाउलान्, कहिले सुखी होलान् ?” प्रतिनिधिसभा सदस्य चौधरीलाई थारुको जीवनस्तरमा सुधार ल्याउन मन छ, ती आफ्नै खुट्टामा उभिएको हेर्न मन छ ।  विकास निर्माणमा पनि अगुवा हुनाका साथै सामाजिक र राजनीतिक सङ्गठनमा रही लामो समयदेखि महिला अधिकारका बारेमा बहस–पैरवी गर्दै आउनुभएका सांसद चौधरीलाई देशमा रोजगारी नहुँदा र युवापुस्ता पलायन भएकामा पनि नरमाइलो लाग्छ । “देशका गाउँ ठाउँमा काम गर्ने वातावरण भएको भए आज युवाले यहीँ काम गर्न पाउने थिए” उनले भनिन्, “राज्यले देशमा उद्योगधन्दा खोलेर काम दिए त तिनलाई विदेश जानुपर्ने नै थिएन ।” 

नेता चुन्दै थारु बस्ती, ‘बरघर’ संस्थागत गर्न सुदूरपश्चिम सरकार अग्रसर

नेता चुन्दै थारु बस्ती, ‘बरघर’ संस्थागत गर्न सुदूरपश्चिम सरकार अग्रसर

९६३ दिन अगाडि

|

४ माघ २०८०

माघ मनाएसँगै पश्चिम नेपालको थारु बस्तीमा बस्ती नायक ( बरघर) हरु चुन्न थालिएको छ । कुनै बस्तीमा माघी डेवानी त कुनै बस्तीमा भुरा खेल तथा खोज्नीबोज्नी कार्यक्रममार्फत बस्ती नायकहरू चुनिन थालेका हुन् । बस्ती नायकका रूपमा बरघर, भलमन्सा, चिराकी, चौकीदार, गुरुवा, कसौकालगायतका गाउँ प्रतिनिधिहरू चुनिँदै आएका हुन् । नेतृत्व चयन कार्य कतै सर्वसम्मत हुन्छ भने कतै चुनावी विधिमार्फत पनि हुन थालेको छ । यसैबिच कैलालीको गोदावरी नगरपालिका ८ फकलपुरमा भएको गाउँको खोज्नीबोज्नीबाट गाउँको बरघर-भल्मन्सामा यमबहादुर चौधरी चयन भएका छन् । गाउँको ओर्गान-चौकीदारमा गोपीलाल चौधरी, भल्मन्सा सहयोगीमा छबिलाल चौधरी, धनलाल चौधरी र लाल बहादुर चौधरीलाई चयन गरिएको थारु कल्याणकारिणी सभा कैलालीका पूर्व सभापति माधव थारुले बताए । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ३ पिपलाडीमा भएको बोझनीबाट पुनः तेस्रो कार्यकालको लागि गहनु बखरिया बरघरमा छनोट भएका छन् । गाउँको चौकीदारमा महादेव पछलडङ्गिया चयन भएका छन् भने लेखापालमा चेतराज कुरेर्हुवा चयन भएका हुन् । साथै देश बन्धिया गुरुवा (पुजारी)मा फूलराम डंगौरा, केसौका (सहायक पुजारीमा बहिदार पछलडङ्गिया छनोट भएका छन् । साथै गाउँ समाजले सो गाउँमा टोल अनुसार पनि जिम्मेवारी दिएको छ । पछिल्लो समय स्थानीय तहहरूले बरघर प्रणालीलाई संस्थागत गर्नमा अग्रसरता देखाउँदै आएका छन् । स्थानीय पालिकाहले बरघर ऐन नै निर्माण गरेर कानुनी मान्यता दिनमा जुटेको बरघर प्रणालीका अभियानकर्ता एकराज चौधरी बताउँछन् । उत्तर टोलको नेतृत्वको जिम्मेवारी आशाराम कुरेर्हुवा, पछलडङ्गान टोलको नेतृत्व मिना पछलडङ्गिया, जलकोन्टी टोलको नेतृत्व ईन्द्र बहादुर कुश्मी, पश्चिम टोलको नेतृत्व जुगलाल पछलडङ्गिया, कुरेर्हुवा टोलको नेतृत्व श्याम कुरेर्हुवा, बखरिया टोलको नेतृत्व छेदुलाल बखरिया र दक्षिण टोलको नेतृत्व विल बहादुर दहितलाई दिइएको छ । माघ पर्व मनाएयता कैलाली र कञ्चनपुर जिल्लामा मात्रै होइन, दाङ, बाँके र बर्दिया जिल्लामा समेत भइरहेको हो । नयाँ वर्ष तथा आर्थिक वर्षको सुरुवातको रूपमा माघलाई लिने प्रचलन रहेको थारु समुदायमा गएको वर्षको समीक्षा तथा आगामी वर्षको लागि कार्य योजना समेत निर्माण गरिन्छ । स्थानीय तहले कानुन बनाउँदै, भएन कार्यान्वयन पछिल्लो समय स्थानीय तहहरूले बरघर प्रणालीलाई संस्थागत गर्नमा अग्रसरता देखाउँदै आएका छन् । स्थानीय पालिकाहले बरघर ऐन नै निर्माण गरेर कानुनी मान्यता दिनमा जुटेको बरघर प्रणालीका अभियानकर्ता एकराज चौधरी बताउँछन् । अभियानकर्ता चौधरीका अनुसार पश्चिम नेपालको दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर जिल्लास्थित थारु बहुल क्षेत्रमा बरघर प्रणालीमार्फत जन्मदेखि मृत्यु संस्कारसम्मको गतिविधि तथा विकास निर्माणको कार्य हुँदै आएको छ । हालसम्म १५ पालिकाले बरघर ऐन ल्याइसकेको उनी बताउँछन् । उनी भन्छन्, ‘बरघर प्रणाली प्रथाजनित कानुन हो । आफ्नो नेतृत्व आफै छनोट गरिने, विगतका कार्यहरूको समीक्षा गरिने र आउँदो वर्षको योजना बनाइन्छ । जुन एकदमै लोकतान्त्रिक विधिबाट हुन्छ । यसलाई अन्तर्राष्ट्रिय श्रम महासन्धि १६९ ले मान्यता दिएको छ । नेपाल सरकार पक्ष राष्ट्र पनि हो । नेपालको संविधान र स्थानीय सरकार सञ्चालन ऐन अनुसार पनि थारु बाहुल क्षेत्रका स्थानीय तहहरूले बरघर प्रणालीलाई संरक्षण र विकास गर्न ऐन निर्माणमा जुटेका छन् ।’ केही पालिकाहरूले ऐन ल्याउने तयारीमा रहेको पनि उनको भनाइ छ । तर ल्याइएका ऐनहरू भने कार्यान्वयनमा देखिएका छैनन् । बरघर प्रथाप्रति सुदूरपश्चिम सरकारको चासो यसैबिच केही समययता सुदूरपश्चिम प्रदेश सभामा बरघर भल्मन्सा प्रणालीलाई संस्थागत गर्नुपर्ने आवाज उठ्दै आएको छ । प्रदेश सरकारले नै ऐन बनाएर संस्थागत गर्नुपर्नेमा प्रदेश सभा सदस्यहरूले जोड दिँदै आएका छन् । प्रदेश सभा सदस्यहरूको जोडले प्रदेश सरकारले बरघर प्रणालीलाई संस्थागत गर्नमा चासो देखाएको छ । मुख्यमन्त्री कमलबहादुर शाहले सो प्रणालीलाई संस्थागत गर्न बजेट समेत विनियोजन भएको बताएका छन् । हालै नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज)को केन्द्रीय भेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहले भनेका थिए, ‘बरघर र भलमन्सा प्रथा संस्थागत गर्न हामी अगाडि बढेका छौ । जसको लागि बजेट समेत विनियोजन भएको छ । थप बजेट समेत व्यवस्था गर्न सकिने छ । जसको लागि तपाईहरुको सहयोग पनि जरुरी छ ।’ बरघर संरक्षण अभियानकर्ता एकराज चौधरीले बरघर ऐन आएसँगै लोप हुने क्रममा रहेको बरघर प्रणालीलाई संरक्षण गर्नु राज्यको दायित्व बनेको र स्थानीय सरकारको योजना निर्माणमा सहभागिता सुनिश्चित हुने बताउँछन् । उनले भने, ‘उहिल्यैदेखि आर्थिक, सामाजिक तथा विकास निर्माणमा बरघरहरुको प्रत्यक्ष सहभागिता छ । गाउँघरमा न्याय निसाफको काम पनि बरघरकै नेतृत्वमा हुन्थ्यो । तर राज्यबाट उपेक्षा हुँदैआएको थियो । उनीहरूको कुनै अस्तित्व तथा पहिचान थिएन । अब ऐन आएपछि उनीहरूको सर्वप्रथम पहिचान गरिने काम होला । राज्यको संरचनामा पहुँच बुद्धि हुने देखिन्छ । स्थानीय सरकारको विकास योजना निर्माण प्रक्रियामा सहभागिता भई बजेट बाँडफाँटमा समेत पहुँच पुग्ने देखिन्छ । अन्ततः उपभोक्ता समितिको काम पूर्णतः बरघर प्रणालीमार्फत हुनेछ । बरघर प्रणाली आफैमा भाषा, संस्कृतिको एक पाटो भएको हुँदै जसको संरक्षण पनि सँगैसँगै हुने चौधरीले विश्वास व्यक्त गरे ।

गंकी धुस्वाँ–बसुन्धरा पुरस्कारबाट सर्वहारी सम्मानित

गंकी धुस्वाँ–बसुन्धरा पुरस्कारबाट सर्वहारी सम्मानित

९६५ दिन अगाडि

|

१ माघ २०८०

सरला चौधरी थारू भाषामा उपन्यास लेखनको माध्यमबाट मातृभाषा साहित्यको श्रीवृद्धि गर्न महत्वपूर्ण पु¥याउनु भएकोमा सिर्जनशीलताको कदर गर्दै वरिष्ठ साहित्यकार डा. कृष्णराज सर्वहारी यस वर्षको गंकी धुस्वाँ–वसुरन्धरा पुरस्कारबाट सम्मानित  भएका छन् ।  उता वरिष्ठ गायक एवम् सङ्गीतकार योगश वैद्य धुस्वाँ सायमी सिर्जना पुरस्कारबाट सम्मानित भएका छन् । गंकी धुस्वाँ–वसुन्धरा प्रतिष्ठानले माघ १ गते प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको कार्यक्रममा जनकवि दुर्गालाल श्रेष्ठले स्रष्टाद्वयलाई पुरस्कार अर्पण गरेका थिए ।  योगश वैद्य बिरामी भएकाले उनको पुरस्कार छोरा लोकेश वैद्यले ग्रहण गरेका थिए ।  गंकी धुस्वाँ–वसुन्धरा प्रतिष्ठानले नेपाली भाषा र नेपालको राष्ट्रिय भाषामा लेखिएका उपन्यासकारहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले २०४९ सालदेखि स्रष्टाहरुलाई पुरस्कृत गर्दै आइरहेको छ ।  सो अवसरमा डा.सर्वहारीले थारु समुदायको नयाँ वर्ष माघकै दिन पुरस्कृत हुन पाउँदा यो सिंगो वर्ष साहित्य लेखनमा आफ्नो फलदायी वर्ष हुने बताए । उनले पुरस्कारबाट प्राप्त ५० हजार राशीले आफूले लेखेको थारु भाषाको पहिलो उपन्यास ‘फुटल करम’ रिप्रिन्ट गर्ने बताए ।  पुरस्कृत व्यक्तित्व डा.सर्वहारीको चिनारी विमल भौकाजीले दिएका थिए । उनका अनुसार डा सर्वहारीको जन्म विस २०२८ भदौ ६ मा लमही नपा–४, दाङ्ग देउखुरीमा भएको हो । नेपाल संस्कृत विश्वविद्यालयबाट वि.सं. २०७६ मा थारु संस्कृतिमा कृष्णचरित्र परम्पराको अध्ययन शीर्षकमा विद्यावारिधि गरेका सर्वहारीका नेपाली र थारु भाषामा झन्डै तीन दर्जन विभिन्न विधा (उपन्यास, लोककथा, लघुकथा, हास्यब्यङ्गय, मुक्तकका साथै अनुसन्धानमुलक) का पुस्तक प्रकाशित छन् ।   वि.सं २०५५ सालमा थारु भाषामा ‘फुटल करम’ नामक् पहिलो उपन्यास लेख्ने उनले दर्जनौ पुस्तक, पत्रिकाको समेत सम्पादन गरेका छन् । साथै, उनका रचना पाठ्यपुस्तकमा समेत समावेश गरिएका छन् ।  डा सर्वहारी थारु लेखक संघ नेपालको केन्द्रीय अध्यक्ष एवं नेपाल बाल साहित्य समाज, लोकवार्ता परिषदका आजीवन सदस्य छन् । उनले नेपाल सरकारबाट वि.सं. २०६७ को क्षेत्रीय प्रतिभा पुरस्कार, सोही वर्ष साझा प्रकाशनबाट साझा लोकसाहित्य पुरस्कार, लुम्विनी प्रदेश सरकारबाट गत वर्ष लुम्विनी रत्न पदक (२०७९) समेत प्राप्त गरेका छन् ।  पत्रकारितामा समेत दख्खल राख्ने सर्वहारीले थारु पत्रकार संघ नेपालबाट वि.सं.२०५७ सालमा राष्ट्रिय थारु पत्रकारिता पुरस्कार, नेपाल प्रेस युनियन, दाङबाट शिव गिरी स्मृति पत्रकारिता पुरस्कार (२०८०) लगायत प्राप्त गरेका छन् ।